धरावासीको 'आधाबाटो' हिंडेपछि

- विजय सुब्बा

कवि, निवन्धकार, समालोचक र पछिका उपन्यासकार कृष्ण धरावासीको 'आधाबाटो' 'शरणार्थी' पछिको उपन्यास हो २०५९ सालमा प्रकाशित भएको । उनको 'शरणार्थी' उपन्यास चाहिं २०५६ चैत्रमा प्रकाशित भएको थियो । पत्रकारको पनि विशेषण गाँसिएका उनी आफ्ना कलममा कति विश्वस्त रहेछन्, भन्ने कुरा नयाँ उपन्यास (भनिएको) आधाबाटो' ले प्रष्ट पारेको छ । 'आधाबाटो' उपन्यासको नाममा निक्लेको छ । यसलाई कसैले धरावासीको 'शरणार्थी'ले दिएको उँचाइ घटाउने पुस्तक भने, कसैले यो मात्र जीवनी हो भने मात्र आत्मवृत्तान्त । तर म धरावासीको भनाइमा सहमत छु त्यो पनि शत प्रतिशत । 'आधाबाटो'लाई उपन्यास भन्दा केही बिग्रँदैन। स्थापित व्यक्तित्वहरूले चाहिं जे लेख्यो त्यही प्रयोगको नाममा मान पाउने अनि साना तिनाले गर्दा अप्रयोग हुने - नेपाली साहित्यको आकाशमा यस्तो मनपरि छानी छानी छेक्ने बादल अब लाग्नुहुन्न । बरु के कमी छ, के बढी छ त्यसो भनिदिनु उपयुक्त हुनेछ ।

'आधाबाटो' पढ्न थालेपछि सकेर मात्र छाड्न मन लाग्छ । एकै बसाइमा त पढ्न सकिन्न । त्यसैले वीचवीचमा अरु काममा हिंडेको बेला पनि कतिबेला काम सकिन्छ र 'आधाबाटो' पढ्ने हो भनेर चाहिं हतार हतारमै समय बित्छ ।

म न उपन्यासकार हुँ, न समालोचक नै । म यौटा पाठक मात्र हुँ उपन्यासहरूको । तर यो उपन्यास पढेपछि भने मलाई चूप लाग्न मनै लागेन । शायद यसका लेखक (स‌ङ्कलक) संगको निकटताले पनि होला केही लेखूँ केही लेखूँ लागिरह्यो र यो हिम्मत गरेको छु । यो मेरो दुस्साहसले 'आधाबाटो'का उपन्यासकारको भावनालाई कति ठाउँ नबुझेको प्रमाण पेश हुने हो भन्न सकिन्न। यो समालोचना होइन ।

'आधाबाटो'को भूमिकामै धरावासीले समालोचक वा समीक्षकले केलाउनु पर्ने विषयहरू सबै आन्द्राभूँडी छरिदिएका छन् । उनको 'आधाबाटो' कस्तो छ, त्यसले के भन्न खोजेको छ त्यो भूमिका हेरेपछि नै र्छलङ्ग हुन्छ । तर सिङ्गो उपन्यास नपढी छाड्यो भने आफूलाई ठूलो धोका हुनेछ । 'आधाबाटो' पढेपछि पाठकलाई जे लाग्न सक्छ त्यो सबै उनलाई लागेको रहेछ र लेखिसकेका छन् भूमिकामा । यो उपन्यास हो कि हैन भन्ने धरावासीलाई नै लागेको छ । तर म धरावासीसंग सहमत छु अघि नै भनिसकेको छु । मलाई लाग्छ परम्परागत वा वर्तमानमा स्थापित औपन्यासिक मान्यतालाई मात्र पछयाइरहने हो भने उपन्यास विधा मात्र होइन कुनै पनि विधा वा विषयको अग्रगमन संभव हुदैन । न त यस क्षेत्रको विकासक्रम यहाँसम्म आइपुग्ने नै थियो । अतः जसले जे सुकै भनुन् 'आधाबाटो'लाई, तर धरावासी जे भन्छन् सही भन्छन् । अरु त म केही भन्न सक्दिन, म र मेरो जस्तै मनोभावना र सामान्य भावुकता भएको मान्छेले 'आधाबाटो' पढे भने कम्तीमा दर्जनौं ठाउँमा आँशु खसाल्नेछन् । पढ्दा पढ्दै अक्षरहरू देखिन छाड्नेछन् आँखाभरि आँसु अघि कतिबेला भरिइसकेका हुनेछन् ।

यौटा सानो मरन्च्याँसे लिखुरे कृष्ण प्रसाद भट्टराइले पाँचथर अमरपुरको फलाँटेदेखि मामली साङरुम्बा, झापाको जुकेखाडी, गरामनी, हल्दीबारी, शरणामती, शिवगञ्ज, महाभारा, गौरीगञ्ज आदि विभिन्न ठाउँहरूमा आफ्ना बुबासँग बडो कष्टकासाथ भोक भोकै कहीं मागी खाँदै, अर्काको पेटीमा सुत्दै कसरी आफूलाई कृष्ण धरावासी सम्म पुर्‍याए भन्ने बुझ्न पाइन्छ 'आधाबाटो'मा । अन्त्यमा डुलुवा जीवनको टुङ्गो शनिश्चरेमा कसरी भयो ती सब पढ्दा पढ्दै धरावासीकी आमालाई भेट्ने मन हुन्छ, त्यस्ती आमा कस्ती नै होलिन् भनेर । तर पढिसकेपछि भनौं उपन्यासको अन्त्यमा पुगेपछि मन अत्यन्त खिन्न हुन्छ । धरावासीकी ती चुर्वाल्नी आमा बितिसक्नु भएको रहेछ साना कदका धरावासीलाई छाडेर । कस्तै दुखपूर्ण स्थितिमा पनि अविचलित चट्टान भएर बरु बुबालाई समेत हिम्मत बँधाएर जीवन रथ अघि हाँक्न सक्ने महिला धरावासीकी आमा रहिछन् । हो तिनै आमालाई भेटिहाल्ने इच्छा जाग्छ । त्यस्तो अपार दुखमा बाँचेर हुर्कनुपर्दा पनि लिखुरे, रोगी तर आमाको ठूलो र भरलाग्दो छोरो कृष्णे कसरी बिलकूल दाँया बाँया नगरी संयमका साथ अहिले कृष्ण धरावासी भएका रहेछन् त्यो 'आधाबाटो'ले देखाएको छ ।

'आधाबाटो'मा उपन्यासका संकलकले सबै पात्र पात्राहरू साँच्चैका वास्तविक मान्छेहरूलाई राखेका छन् । 'आधाबाटो' नै उनको जीवन चर्या र आत्म वृत्तान्त भएपछि त्यसमा उनीसंग २०२४ सालदेखि २०५८ सालसम्मको ३५ वर्षसम्म जो जो भेटिए, संगतमा आए सबैको नाम परेका छन् । यस्तो लाग्छ मूलपात्र धरावासी वरिपरि संसारै घुमेको छ । धेरै धेरै घटनाक्रमहरू त जोडिएका छन् तर 'आधाबाटो' पढिसक्दा आमा र छोरामात्र दिमागमा घुमिरहन्छन् पाठकको । धरावासीकी आमा घोकाइ नै पहिलो सूत्र लाग्छ उपन्यास पढ्न । साँच्चै जीवन नै यौटा उपन्यास हैन त - हो । यो 'आधाबाटो' भन्दा भिन्न औपन्यासिक नियमभित्र वसेर लेख्ने उपन्यासकारहरूले लेखेका उपन्यासहरू पनि मान्छेको जीवनसंगै सम्बन्धित विषयमा नै लेखिएका छैनन् र - छन् । त्यसकारण कृष्ण प्रसाद भट्टर्राईले धरावासी हुनु सम्म बिताएका ३५ वर्षपनि यदि जीवन नै हो भने यो आधा बाटोलाई कस्ले उपन्यास हैन भन्छ - बरु यसो भन्न सकिन्छ, खुला हावामा विचरण गर्दै लेखिएका कल्पनामय उपन्यास भन्दा आफ्नै जीवन (जो कल्पनामय थिएन, बरु दुखको पानीमा गहिरो डुबेको थियो) मा अडिएर लेखिएको यो 'आधाबाटो' कता हो कता माथि देखिन्छ ।

'आधाबाटो'ले आफूभित्र राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक, साहित्यिक, पारिवारिक गतिविधिहरूलाई समेटेर सिंगो मान्छेको परिवेशलाई हिंडाएको छ ।

शैलीको आधारमा भन्दा वर्णनात्मक र मूलतः आत्मकथात्मक उपन्यास 'आधाबाटो' पढ्नै पर्छ सबैले । यसमा इतिहास पनि छ राजनीति, साहित्य र मान्छेको । यसमा प्रजातन्त्रवादीका कट्टर पक्षधर कृष्ण धरावासीले आफ्नै पार्टीका शीर्षस्थ नेताहरू कृष्ण प्रसाद भट्टराइ (किसुनजी) र गिरिजा प्रसाद कोइराला आदिका समेत गलत पक्ष उजागर गरिदिएका छन् । अरु त्यहाँ भन्दा मुनिका नेताहरूको कुरा गर्नु त मामूली भएको छ उनलाई । राजनीतिक घटनाक्रमलाई लेख्दै जाँदा उनले यौटा पात्र कुमार दाई (झापाका एक बेलाका चर्चित युवा नेता केशव कुमार बुढाथोकी) लाई बारम्बार उल्लेख गरेका छन् । कुमार दाईको अवसरवादी चरित्र उदाङ्गिएको छ र कुमार दाई अस्ताएका भेटिन्छन् । कुमार दाईको बारेमा उपन्यासकार धेरै बोल्न सक्दैनन् र बोल्न सक्ने कुरै छैन । धरावासीको ठाउँमा अरु कोही भएपनि सक्दैन । त्यति राम्रो अभिभावकत्व प्रदान गर्ने कुमार दाई मात्र हैन जो कोहीको विरुद्धमा पनि केही बोल्दैनन् । जस्तो कि हामी हाम्रा बाबु, आमा, दाजुभाई, काका, काकीहरूसंग राजनीति र विचार नमिल्दा आक्रामक बन्न सक्दैनौ । धरावासी नामका मान्छे पनि हामी भन्दा परका प्राणी हैनन् । त्यसो गर्न सक्दैनथे । तर 'आधाबाटो'मा जति गरे त्यो धेरै गरेको मान्न सकिन्छ । साँच्चै कुमार दाई र कुमार दाईहरूले त हो जनता कार्यकर्तालाई खेलाएर देश र जनतालाई डुबाएका । कुमार दाईहरू छयापछयाप्ती छन् आजभोलि नेपालमा । २०५१ सालका थोरै बाहेक बाँकी भ्रष्ट र अवसरवादी सांसद, मन्त्रीहरू र अरु बेलाका त्यस्ताहरू कुमार दाईका नयाँ संस्करणहरू मात्र हुन् । धरावासीका कुमार दाई त यौटा थोपा मात्र हुन् भ्रष्ट सागर भित्रका । जसलाई अवसरवादी मात्र भनिएको छ भ्रष्टाचारी भनिएको छैन । शायद हुन् पनि त्यस्तै नै ।

'आधाबाटो'ले मूलपात्र धरावासीको साहित्यक क्षमताको विकासक्रम, उनले सामाजिक वर व्यवहार, पारिवारिक सरसम्बन्ध, मान्छेको परिवेशलाई हेर्ने बुझ्ने तरिका, तार्किक क्षमताको विकास आदिका बारेमा पूर्ण जानकारी दिन्छ । उपन्यासका मूल पात्र धरावासी भलै आफ्नो जिन्दगीको आधाबाटो तय गरें भनि ठान्छन् तर उनको त्यसो भन्नुलाई यसरी विवादको घेरामा तान्न सकिन्छ । के धरावासी यहाँ सम्मलाई साँच्चै आधावाटो हिडें ठान्छन् त ? के धरावासी यस भन्दा पछाडि यस अघिका जस्ता घटना परिवेश आदि जे जे छन् त्यति मात्र वजन राख्ने दिन आउलान् भन्ने ठान्छन् त ? यति मात्र विवाद तेर्स्याउन ? के धरावासीको साहित्यिक यात्राले जिन्दगी भरिमा जति उपलब्धि पाउनु छ त्यसको आधा उपलब्धि पाइसकेको हो ? मलाई त्यस्तो लाग्दैन । हुन त मान्छेलाई त्यस्तो लाग्न सक्छ किनकि आफ्नो क्षमता, औकात आफूलाई थाहा हुन्न । उपन्यासभित्र जति चोटि 'म संग केही छुट्टै विशेषता, क्षमता रहेछ ठानेर पुक्क फुलिएको थिएँ' भनेर धरावासीले लेखेपनि त्यो थाहा हुन्न । सानो पुड्को धरावासीलाई आफ्नो वास्तविक उँचाइ थाहा नहुनु स्वाभाविकै हो र उनको उँचाइको आधारमा अरुले माथिको जस्तो विवाद उछाल्नु पनि त्यतिकै स्वाभाविक हो जस्ले धरावासीको वास्तविक क्षमतालाई चिन्छ । साँच्चै धरावासीलाई आफ्नो उँचाइ थाहा भएको भए त धरावासी नै हुने थिए कि थिएनन् । फेरि विवाद तिर लागौं । अँ उमेरका आधारमा नै बोल्दा पनि धरावासीले ३५ को ७० वर्षसम्म वाँच्न पाउलान् भन्ने के त्यस्तो धरावासीको ज्योतिष शास्त्रीय ज्ञानले ग्यारेन्टी गरेको छ र ? के उसवेलाका ज्योतिष शास्त्रमा रुचि राख्ने र अहिले नेपाल-१ टेलिभिजन च्यानलमा ज्योतिष विभागमा काम गर्ने चर्चित कवि उदय निरौलाले त्यही भनेका छन् र ? अझ उनको 'आधाबाटो' बाहिरै छ ७ वर्षजति त । जे होस् तर 'आधाबाटो' नाम राम्रो छ। सामान्यतः मान्छेले बाँच्ने आशा राखेको उमेरको आधा बाटो तय गरें भन्ठानेर उनले 'आधाबाटो' नाम राखे त केही बिग्रेको छैन । अघि उठाइएका विवादका प्रश्नहरू नै पो सही हुन्छन् भन्ने पनि के ग्यारेन्टी र हैन त धरावासी जी ?

उपन्यास चरित्रप्रधान र घटनाप्रधान दुवै छ । जे जे भने पनि धरावासीले मात्र हैन धरावासी तहका जो कोहीले पनि बेहोरिरहेका यथार्थ भन्दा परको चीज मान्ने कुनै आधार भेटिन्न उपन्यासमा । यति भन्दा भन्दै पनि घटना र चरित्र दुबैको वाहुल्य देखिनाले र उपन्यास लेखिँदै जाँदा विभिन्न पात्र, चरित्रहरूको चित्रण हुँदै गएको साथै समाजकै स्पष्ट चित्र उत्रिएको देखिनाले यस उपन्यासलाई मिश्रित उपन्यासको श्रेणीमा राख्न पनि मिल्ने देखिन्छ ।

प्रसिद्ध हिन्दी उपन्यासकार प्रेमचन्दको उपन्यासको परिभाषालाई पनि 'आधाबाटो'ले पुष्टि गरेको छ । प्रेमचन्द यसो भन्थे "म उपन्यासलाई मानव चरित्रको चित्र मात्र संझन्छु । मानव चरित्रमाथि प्रकाश पार्नु, त्यसको रहस्य खोल्नु नै उपन्यासको मूल तत्व हो । "

हो 'आधाबाटो'मा मानव चरित्रको चित्रै चित्र छ । मानव चरित्रको मिहिन भन्दा मिहिन तरिकाले चित्रण गरिएको छ । मान्छे कतिसम्म स्वार्थी, कतिसम्म इमान्दार, अवसरवादी र कति सम्म संर्घषशिल हुन्छ भन्ने पनि यही उपन्यास भित्र भेटिन्छ ।

'आधाबाटो'लाई वादमाथि उभ्याउनै पर्दा भने आदर्शोन्मुख यथार्थवादमा उभ्याउन सकिन्छ भन्छु । अर्थात् दुवै वादलाई पर्यायवाची शब्दका रूपमा प्रयोग गर्नेहरूको आधारमा बोल्दा यसलाई आलोचनात्मक यथार्थवादको आँखाले हेर्दा पनि हुन्छ । उपन्यासकार यथार्थलाई राम्रो बुझेका र्सजक हुन् । उनले आफ्नो धारालाई बुझेकै कारण यति राम्ररी आफू सम्बद्ध परिवार र समाजको चित्रात्मक प्रस्तुतिको क्षमता पाठक सामु उगेलेका छन् । हामी बाँचेको यथार्थ पनि त्यही हो । तर उनी आदर्शवादमा पनि आस्था राख्ने मान्छे हुन् । जसरी आदर्शवादमा आस्था राख्ने मान्छेले अन्ततः समाजलाई अग्रगति दिन सक्दैन त्यसरी नै उपन्यासका मूल पात्र धरावासी पनि राजनीति र आर्थिक परिवेश चित्रणका बखत चुकिहाल्छन् र मूलतः यथास्थितिवादी भएर ठीङ्ग उभिन्छन् प्रगतिशील हुँदाहुँदै पनि ।

धरावासी आफू निम्न वर्गका मान्छे हुन् । उनी त्यही वर्गका जीवनी चित्रणले नै पाठकलाई आधाबाटो पढ्दा वारम्वार रुवाउँछन्, धरावासीलाई भेटुँ भेटुँ पार्छन् । उनका आमा, बाबुलाई मात्र हैन खाते भगि, टुहुरी आता, धरावासीका अंगरक्षक झैं लाग्ने लेखनाथ भट्टर्राई, काली, कालीकी आमा, सीता आदि विशेष गरी अत्यन्त करुणामयी, दर्दमयी र दुखका घटनाहरूसंग जोडिएका पात्र पात्राहरूलाई तुरुन्त भेटुँ भेटुँ हुन्छ पाठकलाई । उपन्यासकारको सफलता पनि यही हो भन्न सकिन्छ ।

उपन्यासभित्र काली र कालीकी आमाको मनै रुवाउने सानो शब्द चित्र यस्तो छ -

सीतालाई विस्तारै सोधें -"आज आमाको अनुहार बेग्लै देख्छु नि! के भयो ?"

मेरो कुरा सुनेर उनले भनिन् -"आज आमाको मात्र होइन, यो टोलका धेरै आइमाइको अनुहार यस्तै छ"

- "किन के भयो ?"

- "आज आमाको मुख हेर्ने दिन रहेछ । पर साझा अगाडि भुइंमा बसेर कालीकी आमा भुइं कोरिरहेकी रहिछे । घरबाट मासुभात र मीठा मीठा कुरा पकाएर आमाको मुख हेर्न आएकी रहिछे काली । एक फन्को बजार घुमेर खोज्दै जाँदा त्यहाँ भेटिछ । आमाको छेउमा बसेर रुँदै आमालाई खानेकुरा खुवाइ रहेकी रहिछ । त्यो देखेर धेरै आइमाइहरू भेलाभए । अनि हेर्दा हेर्दै सबै रुन थाले । आज कालीले यो गाउँ नै रुवाइ दिई ।"

२०२९/३० सालतिर शनिश्चरे बजारमा आएकी एउटी अधवैंसे पागल आइमाई र साथमै ल्याइएकी एक डेढ वर्षी बच्ची (पछि काली नाम पाएकी) को बारेमा उतारिएका पंक्तिहरू हुन् यी । बच्चीले काली नाम पाएपछि मात्र कालीकी आमा नाम पाएकी ती अधवैंसे आइमाई जहिलेदेखि शनिश्चरे बजार झरिन् तहिलेदेखि बाँचुञ्जेल शनिश्चरेमै रहिन् रे । उनकी छोरी काली यस्सो काम गर्न सक्ने भएपछि वरपर भाँडा माझ्ने काम गर्दा गर्दै हुर्किइ, बढी र शनिश्चरेमै बिहे गरी घरजम गरेकी छिन् रे । तिनलाई नबोल्ने पागल आमाले काम गर्न छाडिसकेको मुरली गट्टनीको घरमा कसरी फेरि काम गर्न वाध्य पारी जस्ता साना तर मनै फाट्ने घटनाहरू छन् यस उपन्यासमा । तिनै काली र कालीकी आमाका जस्ता उपकथाहरू 'आधाबाटो'मा थुप्रै छन् जसले पाठकलाई द्रवीभूत गराउँछन् । 'आधाबाटो' हिँडदा कति रिसाउँछन् होला त कति खुसाउँछन् पनि त्यस्को धरावासीलाई किंचित् पर्बाह छैन । उनले त जे दे&

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 3 आश्वीन, 2064

लेखकका अन्य रचनाहरु