शब्द

- हेमन्तकुमार नेपाल

लोक ब्यवहारमा शब्द र अर्थको सम्बन्ध नित्य देखिन्छ । सम्पूर्ण लोकव्यवहार सम्पादन गर्न शब्दार्थ ज्ञानको अनिवार्यत्व रहन्छ । न अर्थ विना शब्दको अस्तित्व रहन्छ र न नै शब्द बिना अर्थ अभिव्यक्त हुन सक्छ । त्यसैले भन्न सकिन्छ अर्थ शब्दको जीवनधायक तत्व हो र शब्द अर्थको सारिकिक स्वरुप हो । शब्द र अर्थको विचमा सम्बन्ध दर्शाउन कुनै एउटा तत्व विशेषको
भूमिका अनिवार्य रुपले रएको हुन्छ । त्यही तत्व विशेषलाई शब्दशक्ति भनिन्छ ।अर्को शब्दले भन्नु पर्दा शब्द गाडी हो भने अर्थ त्यसको पहीया हो र शक्तिले चालक भएर लोकव्यवहार सञ्चालन गराउने काम गर्छ । त्यसैले शब्द र अर्थ विचको सम्बन्ध राख्ने कडिको नाम नै शब्दशक्ति हो त्यसैलाई साहित्य सास्त्रीहरुले संस्कारविशेष वीजरुप मानेका छन् ।
अर्थ विना शब्दको कल्पना असम्भव प्रायनै भए पनि यो प्रसङ्ग शब्दविवेचनाको भएकोले अर्थ बाट शब्दलाई अलग्याएर प्रतिपादित गर्नुपर्ने छ । कुनै पनि वस्तुलाई देखेर वा सम्झेर जुन ज्ञान हुन्छ। जस्तै गाई, मान्छे, पलङ, आदि । ज्ञानका विषयभूत भएका जति पनि पदार्थहरु छन् अर्थात जति पनि वस्तुहरुको ज्ञान हुन्छ तिनीहरुमा कुन पदार्थ शब्द हो र कस्लाई शब्द भन्ने ? यो प्रश्नको उत्तरमा महाभाष्यकारले उक्त्त ज्ञानमा भासितहुने गोव्याक्त्ति, त्यसको क्रिया, त्यसको रङ्ग र त्यसमा रहने सामान्य धर्म (जाति) मा शब्दत्वको विचार राखेका छन् । सबै व्यक्त्ति (द्रव्य) आदि हुन् शब्द होइनन् भनेर खण्डन गरेका छन् ।यो प्रसङ्गमा उनले उल्लेख गरेका छन् – अथ गौरित्यत्र कः शब्दः अथवा यो गाई हो यो ज्ञानमा शब्द तत्व कुन हो ? गाईको घाटिमा भएको गलकम्मल वा माला, पुच्छर, जुरो, खुर, सिङ्ग आदिले युक्त्त पदार्थरुप शब्द हो ? यसको उत्तर आँफै यसरी दिन्छन् – होइन त्यो द्रव्य हो किनकी नेत्रद्वारा ग्राह्य हुनाले द्रव्यलाई शब्द मान्न सकिदैन । त्यसोभए अभिप्रायलाई सूचित गर्ने चेष्टा आदि शब्द हो त ? यसको उत्तरमा भन्छन् – यसो भनेको पनि होइन त्यो त क्रिया हो । त्यसो भए सेतो, नीलो, कालो आदि रङ्ग पो शब्द होला ? यसको उत्तरमा उनले वैयाकरण यस्तो भन्दैन त्यो गुण हो भनेका छन् । त्यसो भए भिन्नमा अभिन्न (अनेक पदार्थमा एक) छिन्नमा (नष्ट) अच्छिन्न (नष्ट नहुने) सामान्यभूत (जाति समान) शब्द हो त ? यसको प्रत्युत्तरमा भन्छन् यसो पनि होइन त्यो त आकृति (जाति र संस्थान) हो शब्द होइन । त्यसो भए शब्दतत्व कुन हो ? यो प्रश्नको उत्तरमा महाभाष्यकारले निम्न लक्षण प्रस्तुत गरेका छन् –
यनोच्चारितेन सास्नालाङ्गूलककुदखुरविषाणिनां सम्प्रत्ययो भवति, स शब्दः ।।
उच्चारित ध्वनिवाट अभिव्यक्त हुने जसद्वारा गलकम्बल, पुच्छर, जुरो, खुर, सिङ्ग आदिले युक्त्त गाईरुप पशुको ज्ञान हुन्छ त्यो (स्फोट) शब्द हो ।
लोकव्यवहारमा पदार्थको प्रतीति वा ज्ञान गरउने ध्वनिलाई शब्द भनिन्छ । जस्तै कुनै मन्द स्वरमा बोल्ने व्यक्त्तिलाई यदि श्रोताले स्पष्ट सुनेन भने आवाज निकाल भन्ने आदेश दिन्छ । त्यस्तै हल्लाले क्रुद्ध भएको व्यक्त्तिले ठुलो स्वरले बोल्ने व्यक्त्तिलाई आवाज मन्द गर्ने आदेश दिएको देखिन्छ । यस उदहारणले स्पष्ट हुन्छ कि व्यवहारिक रुपमा ध्वनि नै शब्द हो ।
वैयाकरणिकहरुको विचारमा शब्द यस्तो तत्व हो जुन वैखरी ध्वनिले अभिव्यक्त्त हुन्छ र वस्तुरुप अर्थको वाचक हुन्छ । पारिभाषिकरुपमा यसलाई स्फोट भनिन्छ । वैयाकरणिक मतमा यसलाई नित्य, विभु र अखण्ड मानिएको छ ।यो स्फोटलाई पनि दुई प्रकारले व्युत्पत्ति गरेका छन् । (क) स्फुट्यते = अभिव्यज्यते वैखरीध्वनिरुप वर्णैरिति स्फोटः अर्थात जुन उच्चार्यमाण वैखरी क ख आदि ध्वनिहरुले अभिव्यक्त हुन्छ । (ख) स्फुटति = व्यक्त्तीभवति अर्थोsस्मात् इति स्फोटः अर्थात जसवाट अर्थको अभिव्क्त्ति (प्रतीति) हुन्छ त्यो स्फोट हो । त्यो नै अर्थको वाचक पनि हो ।
वास्तवमा भन्नुहो भने स्फोटात्मक शब्दको ज्ञान साधारण मानिसहरुलाई हुँदैन त्यसैले उनिहरु ध्वनिलाई नै शव्द मान्दछन् । अतः जुन ध्वनिले अर्थको प्रतीति हुन्छ त्यो ध्वनि नै शव्द हो ।पूर्वीय साहित्यसिद्धान्तमा ध्वनिलाई काव्यको आत्मा मानेर ध्वनिवादका प्रवर्तक आनन्दवर्धनाचार्यले यसलाई सहृदयीहरुको हृदयद्वारा संवेद्य प्रतीको स्वरुप भएको मानेका छन् । उनका विचारमा सहृदय जनद्वारा प्रशंसनीय जुन अर्थ काव्यको आत्माका रुपमा व्यवस्थित छ त्यसका वाच्य र प्रतीयमान दुई भेद छन् । उनको विचारलाई हेर्दा के बुझिन्छ भने वाच्य अर्थ र प्रतीयमान अर्थलाई अभिव्यक्त्त गर्ने शब्द नै ध्वनि हो ।
व्याकरण,मिमांस र न्यायवैशेषिक पद, वाक्य र प्रमाणको आधार लिएर शब्दार्थको प्रतिपादन गर्ने प्रमुख शास्त्र हुन्। यिनिहरुमा शब्दको वाचक र लाक्षणिकका भेदले दुई भेद स्विकार गरेको भेटिन्छ । शब्दलाई विभाजन गर्ने क्रममा भने साहित्यशास्त्रीहरुको मत केहि भिन्न देखिन्छ । काव्यप्रकाशकार मम्मटले शब्दार्थको स्वरुप बताउने क्रममा काव्यगत शब्दका तीन प्रकार वा भेदको उल्लेख गरेका छन् ।
स्याद्वाचको लाक्षणिकः शब्दोSत्र व्यञ्जकस्त्रिधा ।।भनेर काव्य वा साहित्यमा शब्दका वाचक, लाक्षणिक र व्यञ्जक तीन भेद छन् भनेका छन् ।आचार्य मम्मट कै मतलाई अनुसरण गर्ने कविराज विश्वनाथले आफ्नो साहित्यदर्पण नाम भएको ग्रन्थमा अर्थका आधारले शब्दका तीन भेद वाचक, लाक्षणिक र व्यञ्जक नै मानेका छन् ।
वास्तवमा व्यवहारिक रुपमा पद या रुप र शब्दलाई सामान्यतया एकार्थक मान्ने चलन छ तर त्यो ठुलो भूल सिवाय अरु केही होइन ।अष्टाध्यायीको 1-2-45 अर्थवदधातुरप्रत्ययः प्रातिपदिकम् सूत्र अनुसार सार्थक मूलरुपलाई शब्द भनिन्छ यसैलाई प्रातिपदिक वा प्रकृति भनिन्छ । कोशग्रन्थहरुमा सार्थक शब्द वा प्रतिपदिकहरुको सङ्कलन गरिएको हुन्छ। यिनिहरुद्वारा वस्तु, व्यक्त्ति या क्रियाको बोध गराइन्छ ।
व्याकरणगत आधारमा शब्द प्रकृति र प्रत्ययको संयोगले निर्माण हुन्छन् या हुदैनन् ? यसैलाई आधार बनाई शब्दलाई तीन भेदमा विभाजन गरिएको छ (1) रुढ (2) यौगिक र (3) योगरुढ ।
(1) रुढ – रुढ शब्द त्यस्तालाई भनिन्छ जुन शब्दमा प्रकृति र प्रत्ययलाई स्पष्ट रुपमा छुट्यउन सकिदैन जस्तै – मणि, रत्न स्थूल आदि ।
(2) यौगिक – जुन शब्द प्रकृति र प्रत्ययको संयोगले निर्माण भएको हुन्छ जस्तै- कृ+तृ= कर्तृ, कृ+अक= कारक, भूत+इक= भौतिक त्यस्तै धनवान, बलवान, श्रीमान आदि ।
(3) योगरुढ –कुनै शब्द कुनै विशेष अर्थमा यौगिक भएर पनि रुढ हुन्छन् त्यस्तालाई योगरुढ भनिन्छ । जस्तै – सरसिज, पङ्कज आदि तलाव या हिलोमा उत्पन्न हुने भन्ने यो यौगिक अर्थ हो र कमल अर्थमा रुढ छ ।
रुढ शब्दलाई अव्युत्पन्न प्रातिपदिक र यौगिक शब्दलाई व्युत्पन्न प्रातिपदिक भनिन्छ । पाणिनिले कृत्तद्धितसमासाश्च (अ0 1-2-46) सूत्रमा यौगिक शब्दलाई पनि प्रतिपदिक मान्ने नियम बनाएका छन् । कृत प्रत्ययान्त, तद्धित प्रत्ययान्त र समासयुक्त्त पद पनि प्रातिपदिक हुन्छन् त्यसैले यिनिहरुमा पनि सुप् प्रत्यय हुन्छ । यो आधारलाई मानेर सबै सार्थक शब्दहरुलाई प्रातिपदिक भनिन्छ ।
कनै पनि शब्द जबसम्म पद बनिदैनन् तबसम्म तिनीहरुको प्रयोग हुन असम्भव हुन्छ । शब्दलाई पदरुपदिन शब्दमा कुनै विशेष अर्थवोधक प्रत्यय लगाइन्छ । अर्थवोधक प्रत्यय लगाउनाले शब्द प्रयोग योग्य पद बन्दछन् । महाभाष्यकारले भनेका पनि छन् –
न केवला प्रकृतिः प्रयोगतव्या, नापि केवलः प्रत्ययः । अपदं न प्रयुञ्जीत ।
केवल प्रकृतिको (मूलशब्द, धातु) प्रयोग नगर्नु र केवल प्रत्ययको पनि प्रयोग नगर्नु । अपद वा शब्दलाई पद नबनाई कदापि प्रयोग नगर्नु ।त्यसैले भन्न सकिन्छ कि कुनै पनि शब्द प्रत्ययको योगले मात्र प्रयोगयोग्य हुन्छ ।कुनै पनि पदको प्रयोगमा आउनु भन्दा पूर्वको मूलरुपलाई शब्द भनिन्छ र वाक्यमा प्रयोगयोग्य सार्थक वाक्यको इकाई पद हो । पदको लक्षण क्रममा विश्वनाथले भनेका छन् –
वर्णाः पदं प्रयोगार्हानन्वितैकार्थाबोधकाः ।।
पद ती वर्णहरु हुन् जो प्रयोगयोग्य हुन्छन् र कुनै एक अनन्वित अर्थको बोधक हुन्छन् । भनाईको आशय के हो भने पद स्वतन्त्र वर्ण समूहको वाक्यको सार्थक इकाई हो जसको कुनै अर्को पदको अर्थसङ्ग सम्बन्ध हुदैन । जस्तै – घडा यो एउटा वर्ण समुदाय स्वरुप हो जो प्रयोगयोग्य र एक अनन्वित अर्थको बोधक पद हो ।
त्यसैले सामान्यरुपमा शब्द र पदलाई एकै मान्नु ठूलो भूल हुन्छ व्याकरण र भाषाविज्ञानका दृष्टिले दुवै भिन्न अर्थबोधक हुन् ।

गान्तोक, सिक्किम

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 5 श्रावण, 2070

लेखकका अन्य रचनाहरु