सेतो धरतीमा रातो फूल

- कृष्णादेवी शर्मा (श्रेष्ठ)

जति छन् विधुवा बाला यिन्कै आत्मा वृत्तान्त हो
धराको गुण धार्नाले, यो सेतो धरती भयो ।

कला अमरको राम्रो, वाङ्मय सूक्त साधना
छताछुल्ल छ नारीका, सुस्केरा मन वेदना ।
(अनुष्टुप)
परिचय ः
आजभोलि मेरो लेखनीले गद्यविधातर्फ आकर्षण थपेको छ । म जुन कृतिको अध्ययन गर्ने अवसर पाउँछु, त्यस विषयमा लागेका कुराहरूबारे केही लेख्ने गर्छु । यसै प्रसङ्गमा युवा आख्यानकार अमर न्यौपानेको सेतो धरती शीर्षकको उपन्यास पढ्ने अवसर पाएँ । यो कृतिले वि.सं. २०६८ सालको मदन पुरस्कार र रामराज पन्त स्मृति पुरस्कार प्राप्त गरिसकेको छ ।
यसो त उपन्यास चरित्रप्रधान गद्य महाकाव्य नै मानिन्छ । धेरै अध्याय वा खण्डहरूमा लेखिने लामो साहित्यिक कथा नै उपन्यास हो । वि.सं. २०६८ चैत्र महिनामा पहिलोपटक मुद्रण भएको यो उपन्यास सेतो धरती फेरि २०६९ असोजमा दोस्रो मुद्रण पनि भइसकेको छ । फाइनप्रिन्ट आइएनसी धुम्बाराही काठमाडौँ प्रकाशक रहेको यो उपन्यासमा ३७३ पेज रहेका छन् । पहिलो आख्यान कृति पानीको घाम (२०६६) प्रकाशन गरेर पद्मश्री साहित्य सम्मान र बालकथासङ्ग्रह कलिलो मन (२०६७) लेखेर यसैवर्षको पारिजात बाल साहित्य पाण्डुलिपि पुरस्कार प्राप्त गरेका अमर न्यौपाने आज फेरि सेतो धरती सजाउने रातो फूल बनेर फक्रिएका छन् । मूल्य रु. ३५७ (तीनसय सन्ताउन्न) रहेको यो उपन्यासको आवरण पनि क्रान्तिको प्रतीक रातो रङमा पोतिएको छ । दुई बालिकालाई उभेटो आकारमा हरियो र नीलो वस्त्रले सजाएर राखिएको व्यङ्ग्य चित्र ज्यादै अर्थपूर्ण छ । श्रीनाथ बोल्ड फन्टमा प्रिन्ट भएको बालविधवाहरूलाई समर्पित यो उपन्यासमा सेतो धरती शीर्षक असाध्यै मार्मिक छ र सुहाएको पनि छ । यो उपन्यासमा उनान्सत्तरीऔँ (६९) खण्ड मा अध्याय छन् भने सबैभन्दा लामो खण्ड ६३ औँ र छोटोमा ३१ औँ खण्ड रहेको छ । सरल अनुहारका युवा उपन्यासकार अमर न्यौपानेको फोटो पछाडि पृष्ठमा राखिएको छ । चिराग वाङ्देलले आवरण चित्र निर्माण गरेका छन् भने ले आउट संयोजनमा सुवर्ण हुमागाई रहेका छन् । क्ष्क्द्यल् स् ढठड(ढढघठ(डछटघ(द्धड रहेको यो उपन्यासको भ्mबष् िस् तष्mभउचष्लत२धष्लिप।अयm।लउ ठेगाना रहेको छ ।

विषयवस्तु ः
भनिन्छ कति मान्छेहरूले नामअनुसारको कार्य गर्ने औकात लिएर आएका हुन्छन् । जस्तो मोतीराम भट्ट, जसले नेपाली साहित्यलाई मोतीजस्तै चम्काए, त्यस्तै भानुभक्त आचार्य जो, नेपाली साहित्याकाशमा भानु बनेर उदाए । अब अमर न्यौपाने पनि पानीको घाम, कलिलो मन र सेतो धरतीजस्ता अमर कृति नेपाली साहित्यलाई हस्तान्तरण गरेर अमर रहने मार्ग अवलम्बन गर्दै अगाडि बढिरहेका छन् ।
अब म नेपाली साहित्यका पाठकहरूसामु सेतो धरतीभरि छरिएर रहेका मर्मच्छेदी विषयका विविधताहरू खोज्दै यो उपन्यासको समीक्षार्थ अगाडि बढ्ने अनुमति माग्दछु । हो, नायकको जन्मदेखि अन्त्यसम्म भएघटेका घटनावली उनिएको एउटा लामो माला हो
उपन्यास । उपन्यास गद्य भाषामा लेखिन्छ भने यस्तै विषयवस्तु समेटेर पद्यात्मक शैलीमा लेखिन्छ महाकाव्य । मर्मभेदी विषयवस्तु र अभिव्यक्ति शैलीको आधारमा यो बेजोड कृति सेतो धरती महाकाव्य बराबर छ । यो उपन्यासको मुख्य नायिका हुन् ‘तारा’ । नेपाली नारी समाजका हुबहु चित्र उतार्दै नारी दमनका हतियारहरूबारे निर्भीक भएर लेखेका छन् युवा उपन्यासकार अमर न्यौपानेले । धार्मिक कुसंस्कारको आडमा अडेसो लगाएर नेपाली नारीलाई दिइने फाँसी बराबरको सजायँ यो उपन्यासको मूल विषयवस्तु हो । उमेर नपुग्दै अनजान अवस्थामा विवाह गरिदिएर पराइको घरमा दासीबराबर भई जानुपर्ने बाध्यताकी ज्वलन्त उदाहरण हुन् अबोध बालिका ‘तारा’ । नेपाली समाजमा जरा गाडेर रहेको बाल–विवाह, अनमेल विवाह र बहु–विवाहको परम्परालाई उदाङ्ग पारिएको अक्षरले कोरिएको चित्रपट हो सेतो धरती । आजका युवायुवतीहरूमाझ नेपाली विवाह पद्धतिको ऐतिहासिक दस्तावेजको रूपमा उभिएको छ सेतो धरती उपन्यास ।
बाल–विधवाको मनोविज्ञानमा आधारित एक विज्ञान हो सेतो धरती । धर्मको आडमा कुनै पनि विधवा नारीहरू कसरी यौनेच्छा दबाउँदै तड्पेर बाँच्दछन् भन्ने विषयको एक सैद्धान्तिक, मनोवैज्ञानिक ग्रन्थ हो सेतो धरती । नारीहरू जसलाई समाजले पुरुषको आधा अङ्ग भन्ने गर्दछ तर विधवा भएपश्चात् त्यही समाजको कु–दृष्टि रहन्छ । यो उपन्यासमा रहेका विविध उनान्सत्तरी वटा खण्डमा सबै सुहाउँदो शीर्षकले पाठकको मनमा कौतूहल जन्माउँछन् ।
यसरी, मात्र समाजको लागि आफ्ना सम्पूर्ण चाहनाहरूलाई काल्पनिक भगवान्प्रति समर्पण गर्दै भगवान्लाई नै आफ्नो पुरुषको रूपमा आरोपित गरेर जीवनभर डर, त्रास, शङ्का, विश्वास र अविश्वासको द्वन्द्वमा होमिएर जीवन गुजारेकी नायिका ताराका अमूल्य भावनाहरूको कविता हो सेतो धरती उपन्यास । नायिका ताराका मार्मिक कवितात्मक अभिव्यक्तिहरूले भरिएको सेतो धरतीले पाठकका आँखा रुझाउँछन्, बिझाउँछन् अनि भत्भती पोल्ने बनाउँछन् ।
नारी मातृत्वकी खानी हो । जब सन्तानबाट ऊ विमुख हुन्छे, उसको मन कुण्ठाग्रस्त बन्छ । प्रत्येक पल अभावग्रस्त बनेर जीवन गुज्रन्छ । विधवा नारीलाई समाजबाट अनेक लाञ्छनाहरू लगाइन्छ अनि उनीहरू आधारहीन अवस्थामा पुग्न बाध्य हुन्छन् । न जन्मघरको आधार न कर्मघरको आधार । आखिर त्यही काल्पनिक भगवान्को सेवा र आराधनाले मुक्ति मिल्छ भन्ने अन्धपरम्परामा रुमलिएर जीवन सिध्याउनुबाहेक अरू सबै चाहनाहरू कल्पनामा मात्र सीमित राख्नुपर्ने बाध्यता हुन्छ ।
दाम्पत्य जीवन एउटा रहर हो, एउटा चाहना हो उमेर अवस्थाको । यस्तो जीवनबाट वञ्चित हुनुपर्ने विधवाहरू अरूको सफल जीवन देखेर लोभिन्छन्, कल्पन्छन् र मिल्ने साथी अनि दिदीबहिनीका कुरामा आफूलाई घटाएर सन्तुष्ट पार्दछन् । यो यस्तो काव्य हो, नारीमनलाई चित्रण गरिएको छ । म अचम्म परेँ ४०÷५० वर्ष पहिले हाम्रा आमाहरूले सुनाएका मौखिक कुराहरू सम्झँदा मलाई दन्त्यकथाजस्तो लाग्छ । त्यसबेलाका दम्पत्तिहरूबीच हुने यो उपन्यासमा उल्लेख भएका कुराहरूको ज्ञान कसरी भयो अमरलाई । अमरको यो कल्पनाशक्तिले मलाई अचम्भित बनायो । हो, हुन त उनी आफै देवघाटमा तीन महिना बसेर बाल–विधवाहरूसँग अन्तर्वार्ता लिई यो उपन्यास तयार गरेको कुरा बताउँछन् । तर ती बाल–विधवाका कुराले मात्र यो उपन्यास बन्न गाह्रो कुरा हो । त्यसैले अमर न्यौपानेको काल्पनिक शक्ति र अभिव्यक्ति कला प्रशंसनीय रहेको छ । सिमान्तकृत विषयवस्तुमा आधारित यो उपन्यासले नेपाली बाल–विधवा नारीहरूको जनजीवनलाई मात्र उजागर गर्दैन । यो उपन्यास त नेपाली भाषाको भाषिका (ग्रामीण) र आध्यात्मवादी चिन्तनले गरेको दमनको समेत प्रयोगशाला हुन सकेको छ । बालक अवस्थामा विवाह भएर विवाहको वर्षदिन नपुग्दै विधवा हुनु, घरमा सौतेनी सासू, माइतमा सौतेनी आमा, सबैको हेलाको पात्र, साना भाइबहिनीलाई हुर्काएर माइतीघरमा बस्नु र अन्त्यमा गएर तिनै भाइले विवाहपश्चात् अपहेलना गरेर दुःखी हुनु, अन्त्यमा देवघाट नामक तीर्थस्थलमा आश्रय लिन आउनु र जीवन तड्पेर बाँच्नु पर्नेजस्ता यो उपन्यासकी नायिका ‘तारा’ का जीवनमा आइपरेका कुराहरू सामाजिक विकृतिभित्र पर्दछन् । सरकारले बाल–विवाह, बहु–विवाह र अनमेल विवाहजस्ता कुराहरूमा अझै ध्यान पु¥याउनु पर्ने हाम्रा जिल्ला र अञ्चलहरू छन् जस्तै ः बझाङ, बाजुरा र कालिकोटजस्ता सुदूर–पश्चिमका गाउँ–गाउँमा गएर अध्ययन गर्ने हो भने बाल–विवाह, अनमेल विवाह र बहु–विवाहजस्ता कु–संस्कारहरूले जरा गाडेकै छन् । यो क्षणमा यसैबारे दुई श्लोक कविता ः
हटेको छ अझै हट्नु, पर्छ बालविवाह यो
नारी दमनको यौटा कु–संस्कार प्रमुख हो ।

नारी सिगार्नु पर्दैन, फूल बुट्टा भरी–भरी
धरतीझैँ छ नारीमा, प्रतिभापुञ्ज बेसरी ।
प्रत्येक हरफ व्याख्यात्म भएको यो उपन्यासबारे जति लेखे पनि लेखिरहन मन
लाग्दछ । त्यसकारण म यो उपन्यासभित्रका केही मर्मच्छेदी हरफहरूबारे लेख्न चाहन्छु ः
विवाहिता महिलाले आफ्नो सिउँदोको सिन्दूर पखाल्दा कति पीडा हुँदोरहेछ एउटा उदाहरण पढौँ ः
‘मेरो शिरबाट रातो पानी चुहिँदै छ – मानौँ मेरो सिउँदोमा कुनै धारिलो हतियारले चिर्दैछन् तिनले र रगत बग्दै छ ।’ (पृ. ८९ को अन्तिम दफा)
नढाँटी लेख्नुपर्दा बाल–विधवाको हृदयक्रन्दन हो सेतो धरती । उत्तरआधुनिकताको आभास दिने यो कृतिले यौनवादी चिन्तनलाई पनि बोकेको छ । यसरी यो कृति फ्रायडवादमा सलबलाएको कुरा पक्कै हो । उदाहरणको रूपमा केही हरफ – ‘कोही मान्छेसँग भावनात्मक रूपमा नजिक भएपछि उसमा गोविन्दलाई आरोपित गर्छु ।’ (पृ. २४६ को अन्तिम दफा)
गोविन्द बाल–विधवा ‘तारा’ को बाल्यसखा हो । जोसँग केटाकेटीमा खेल खेल्दा ताराको विवाह भएको थियो । जोगी र संन्यासी बनेका महात्माहरूको जीवनचर्या र उनीहरूभित्रको यौनाकाङ्क्षासमेत अमरले उदाङ्ग पारेका छन् । जहाँ सत्यता छ, विधवा नारीलाई पनि भोगिनी नभै जोगिनी हुने चाहना हुँदैन भन्ने कुराको प्रमाण यस्तो छ ः
‘वैराग्य लागेर होइन, बेवास्ता र अपमानले लखेटिएकी छु ।’ (पृ. २३७ को पाँचौँ दफा) एउटी बाल–विधवालाई घरसंसार गरेर बस्ने चाहना कति धेरै हुन्छ भन्ने कुराको उदाहरण – ‘मेरा लोग्ने भएका भए ती बसाइँ सरेका परिवारझैँ, हामी पनि चितवन बसाइँ जान्थ्यौँ होला आफ्नो जायजेथा बोकेर ।’ (पृ. २४० को अन्तिम दफा)
विधवा नारीलाई मीठो खान र राम्रो लुगा लगाउन पनि बन्देज गरिन्छ । अर्काको लोग्नेमान्छेको मुखमा हेर्नसम्म हुँदैन रे । त्यसो त आज एक्काइसौँ शताब्दीमा आएर पनि नेपालका ग्रामीण समाजमा ६१ प्रतिशत महिलाहिंसा भई नै रहेका छन् । नेपाली भाषाको भाषिका प्रयोग गरी लेखिएको यो उपन्यासले नेपाली गाउँहरूको परिवेशको परिदृश्यलाई उजागर गरेको छ । कथा र उपन्यासका पात्रहरूले प्रयोग गर्ने भाषा पात्रहरूको स्तरअनुसार सुहाउने बनाउनु पनि लेखकको एउटा महत्त्वपूर्ण विशेषता मानिन्छ । लेखकले आफै आफ्नो कृतिको भूमिका लेख्ने प्रचलन पनि अमर न्यौपानेबाटै थालिएको होला । यसरी उपन्यासकार पूर्ण सफल भएका छन् यो कृतिको माध्यमबाट ।
यो उपन्यासमा नेपाली भाषाभित्रका भाषिका शब्द यसरी प्रयोग भएका छन् । उदाहरण ः
(१) कसरी जान्यौ यमुना, मामालाई त्यसरी छक्याम्न ? (पृ. १९४)
(२) भन्थे – सप्पै साथेहरू भेटिए अनि ? (पृ. २४२)
(३) कइले जानुन्च आमा ? (पृ. २९१)
(४) इनलाई हिनाम्नुउन्न नि आज । (पृ. २६)
माथिका उदाहरण (१), (२), (३) र (४) नं. वाक्यमा अन्डरलाइन गरिएका शब्दहरू नेपाली भाषाका भाषिका हुन् । यसरी गोविन्द, पवित्रा, यमुना, मनाँ, नर्वदा नानी, सानिमा र स्वामिजीजस्ता पात्रहरूले पनि यस उपन्यासमा राम्रो भूमिका निभाएको कुरा बिर्सनुहुँदैन । म के भन्छु भने, विसङ्गतिवादमा आधारित शैलीमा जीवनदृष्टि र अभिव्यक्तिको झलक दिन्छन् सेतो धरतीमा अमर न्यौपाने पनि पारिजात र ध्रुवचन्द्र गौतमजस्तै । वास्तवमा सेतो धरती नारीवादी उपन्यास र अमर न्यौपाने एक युवा नारीवादी उपन्यासकार हुन् । अमरको साहित्यिक यात्रा सुलभ बनोस् शुभ–कामना ।
अन्त्यमा दुई श्लोक कविता ः
गाऊँ अमरका गीत, स्वर–ताली लगाउँदै
अनुसन्धानमा लागौँ, बस्ती र गाउँ धाउँदै ।

साक्षात्कार त्यहीँ हुन्छ, नारी दमन भेदको
हेरौँ कहाँ पुगेको छ, रेखाङ्कन विकासको ।
हस् त धन्यवाद !

प्रगतिनगर–३, नवलपरासी

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 22 आसाढ, 2070

लेखकका अन्य रचनाहरु