ब्रह्माण्ड र मान्छे

- पुष्कर रिजाल ”शुभेच्छुक”

जब-जब मान्छेको पुरुषार्थ संझन्छु लाग्छ मान्छेले कुनै दिन यो आकाश नै खसाल्ने छ। आकाशमा भएका, कल्पनाको दुरिमा अबस्थित ताराहरु त प्रेममा कमजोर भएकाहरुले (भाबुक भएका/भएर) खसाल्ने कुरा गरिरहेका हुन्छन भने बहादुरहरुको त झन के कुरा गर्नु? तिमी अहिले जहाँ छौ ठीक ठाउमा छौं तारा ! मान्छेको पहुँच भन्दा टा..ढा। सायद तिमी मान्छेको नजिक भएकी भए नि:सन्देह उहिल्यै मान्छेले हिलो छ्यापी सक्ने थिए। अनि के को प्रकाश? तिमी त बाध्य भएर अँध्यारो छरिरहेकी हुने थियौ। मान्छेहरुलाई सपना बाँडिरहेकी हुनेथियौं। तर पनि म निश्चिन्त छुईन तिम्रो अस्तित्व र अबस्थितिमा। कुनै दिन ब्रहमाण्ड आकाश बिहिन हुने हो कि भन्ने भय आउन थालेको छ यो साँघुरो मन मस्तिष्कमा।
आकारको महत्व छैन भन्दिन म। तर आकार छ भन्दैमा त्यो नै सब थोक होईन। आकार के को छोइन? अनि के-के को छ? यो पृथ्वीको, हामीले मान्ने गरेको भगवानको, देख्दै नदेखेको स्वर्गको, आकाशको या यो पुरै ब्रह्माण्डको? र मनुस्य आँखाले देख्न नसक्ने तर अधिक शक्तिशाली किटाणु, जिबाणु, ब्याक्टेरिया अनि भाइरसको? कसैले कहिल्यै देख्दै नदेखेको भुत-प्रेतको समेत आफैं आकार बनाएर आफै डराउने मान्छेको संसारमा आकारको महत्व छैन पनि कसरी भन्ने? मनोरोगको परिबन्धमा घेरिएको मान्छे देख्दा बडो असमञ्जसमा पर्छु म कहिलेकाहिं। घरी घरी त लाग्छ यो दुनियाँको संक्रमणकालिन युगमा जन्मिएकोमा वैचारिक तनाबको ऋण तिरिरहेछु म पनि। हुन त अब विचारले पनि आकार लिदै गैरहेको छ, सरीर भन्दा गाढा भएर। अब आउने संसारमा मान्छेको पहिचान विचारको क्याटवाक बाट सुरु हुनेछ र अन्त्य पनि। धेरै भयो सरीर र कपडाको प्रदर्शन यो विकसित भनाउदो समाजमा। विचारको क्याट्वाक हुन छाडेको दिन हो संसारको अन्त्य हुने र यो कुरा ग्रिसको मायावी क्यालेण्डरमा लेख्न छुटाइएको हो। यती जाबो कुरा छुटेकाले हो या मान्छेको बाँच्ने रहर प्रतिको उमंगले हो २०१२-१२-१२ पछी मायावी क्यालेण्डर लेख्ने महा-मानवलाई अब मान्छेले बिर्सन सुरु गरिसके। मिती गुज्रेपछी औषधी नै बिष भनेको यही हो। अनि यो मान्छे जता पनि छ। आकार देखी निराकार, निरन्जन सम्मको यात्रामा। दुईटा आँखा भएर पो हो की? आकार-अनाकार, सत्य-असत्य दुबैमा उत्तिकै जोडदार प्रस्तुति मान्छेको।
सत्य सुन्न र भन्न जति सजिलो छ भेट्न उत्तिकै गार्हो छ। हज्जारौ असत्यहरुको मृत्युईमा, आडमा बल्ल एउटा सत्य भेटिन्छ। भैतिकवादीहरु बिज्ञानको जगमा सत्यको रहस्योद्घाटन गर्छन, गरिरहन्छन। स्थापित बस्तुको जगमा टेकेर नयाँ बस्तुको पहिचान दिन त बिज्ञान सफलै छ तर प्रथम बस्तुकै उत्पत्तिको बारेमा बैज्ञानिकहरुको तथ्य बाझिदा बिज्ञान आफैं दुर्योधन सत्ताको धृतराष्ट्र जस्तो देखिन्छ। अनि बाकि उत्तर आध्यात्मवादीहरुले दिने गर्छन। यसरि हेर्दा भौतिकवाद र आध्यात्मवाद एउटै ब्रह्माण्डको दुई ध्रुब हो कि जस्तो पनि लाग्छ। यात्राको दौरान कोहि बैज्ञानिक भएका छन कोहि धार्मिक गुरु, पण्डित। यी दुबैका पछि आधा-आधा विश्व र आधा-आधा मान्छे। एउटा सिंगै मान्छे एकातिर लागेको अहँ अझै मैले देख्न सकेको छैन। आफ्नु कुरा बुझाउन कुनै सुत्र समाते पनि भयो, श्लोक समाते पनि भयो। आफुलाई बौधिक भनाउन रुचाउनेहरुलाई यि दुबै आधारहरुको उत्तिकै आबश्यकता छ। त्यसैले संसारमा यि दुबै वाद चिर स्थाई रहने मेरो अनुमान।
आफ्नै जिन्दगी भन्दा प्यारो संसारमा अरु के होला र? जिन्दगी प्यारो भएर नै हो यो जिन्दगीको आबश्यकता अनि जिन्दगीको अन्तर-कुन्तरमा टाँसिएको स्वार्थ समेत प्यारै हुन्छ। अनि यसैले त हो मान्छेलाई दिनहुँ अन्धा बनाउदै लगेको। संसार जति जति भिजिबल बन्दै छ उति उति मान्छे इनभिजिबल। मान्छे र संसार एक आपसका रिभरसिवल…। त्यसकै उदाहरण मान्छे अति इच्छाको रिले म्याराथुनमा आफ्नै स्वार्थको पछि पछि भागिरहेको छ। मनुष्यत्व र चेतनालाई कतै भूमीको गर्भमा राखेर। हुन पनि हो, यो जुनि फेरि मान्छेले कहिले प्राप्त गर्ला? यि आफै भित्र उम्रिएका स्वार्थि इच्छा कस्ले पुरा गर्देला ? कहिले?? अनि फेरि उम्रन दिएपछि हुर्काउनु अनिबार्य छ, बिरुवा जस्तो सुकै होस। हे भगवान ! तिमि त यसै पनि अजर अमर छदै थियौं। आफ्नैं हज्जारौं रुपको परिकल्पना गर्नु भन्दा यो मनुष्यलाई कम्तिमा तिम्रै एक रुप र त्यतिनै आयु थपि दिएको भए के नै जान्थियो र? यसै पनि तिम्रा कति रुपहरु त अभिशाप सिद्ध भएका छन। कैयौं बृन्दाहरुको सारिरिक सौन्दर्य र सतित्व हमलामा गएर टुंगिएका छन। अनि मान्छेलाइ चाहिं एउटा घस्रिदै हिड्ने कछुवाको भन्दा कम जिन्दगी, त्यो पनि तिम्रो आफ्नै प्यारो भक्तलाई? हेर त! कति गार्हो छ तिम्रो सेवकलाई रक्षा र पुर्ति गर्न याबत स्वार्थहरु एउटा जिन्दगी लिएर…। जुन दिन पृथ्वीले ब्रह्माण्डको परीक्रमा गर्न छोड्छ त्यसै दिन छोड्ने छ स्वार्थले पनि मनुष्य जिन्दगीको परिक्रमा गर्न। अत: स्वार्थको निर्मुलिकरण होइन उचित ब्यबस्थापन जरुरि छ। स्वर्थ रहित मान्छे जन्माउने प्रयत्न गरियो भने मान्छे हैन सायद पशु-‘गधा’ जन्मदो हो। जस्को खानको सिवाय अरु बाँच्नको समेत स्वार्थ हुदैन।

ब्रह्माको अन्डा- ब्रह्माण्ड फुटेपछि यो आकार बिहिन भयो। पानीको के आकार? अण्डा भित्रको पानीको यो सानो बिशेषताले चेतना भएका समस्त प्राणिको ब्रह्माण्डमा(टाउकोमा) रहस्योद्घाटन गरेको छ। गरिरहने छ। त्यहि रहस्यको क्षतिपुर्तिको निम्ति उम्रिएका छन ब्रह्माको अण्डाबाट सबै- ब्रह्मा ! बिष्णु !! महेश !!! दैत्य, मनुष्य अनि ॐ…। चल्ला एक अण्डा अनेक भने झै। ब्रह्माण्डको फुट्ले सबै उछिट्टिएका छन। के मानव, के दानव। स्वंम देउताहरु पनि उछिट्टिएका हुन भन्ने मलाई लागेको छ। त्यहि भएर कोहि कमलको फूलमा,कोहि समुद्रमा,कोहि पहाडको टाकुरामा,कोहि जमिनमा अनि कोहि चाहि जमिन मुनि-पातालमा। हे भगवान ! तिम्रो मात्र नाम जपेर पनि बाँच्न नसकिने भो। कत्ति धेरै नाम? कत्ति धेरै रुप? तैपनि मनुष्यहरु दानवको शरण नपरि नहुने। क-कस्लाइ रिझाउने? आकाश देखि पाताल सम्म। म आफैं पनि धेरै चोटि दानवबाट समेत प्रभाबित भा छु। उनिहरुको स्वाभिमान,परिश्रम,कडा अनुशासन र वचनले मलाई तान्छ। एउटै घमण्ड छोड्ने हो भने म उनिहरुको परिचयको लागि जिवन भर सम्पुर्ण प्रयत्न गरिरहने थिएँ। ‘’आक्रमण गर्नु नपरोस प्रत्याक्रमण भन्नु नपरोस’’ यहि मुलमन्त्र अंगालेर हिंडेको हुनाले म जाबो मनुष्य देव र दानवको समदुरिमा रहन सकेको छुइन। नत्र रावणलाई देउता मान्ने जमात खोज्न टाढा जानु पर्दैन।
मैले पढेको छु। धेरै पटक धाराबाहिक चलचित्रहरुमा देखेको पनि छु। भगवानहरु राक्षस भएको अनि कहिलेकाहि राक्षस पनि भगवान भएको। यो सबै कर्म न हो, को के बन्ने। मलाई दु:ख लाग्छ जब आफैले बरदान दिएको दैत्यलाई मार्न भगवानलाई हम्मे हम्मे परेको देख्दा-अदुरदर्शि भगवान देखेर। चाकरि गर्नेलाई जे पनि दिन तयार भगवान देखेर। मार्नको लागि सृष्टि गरेको देखेर। जाबो आफ्नु एउटा रुपको बचाउको लागि त्यत्रा सकलि राक्षसको हनन? के राक्षस जाती मर्नकै लागि जन्मेका हुन त? यदि कर्मकै फल दिएको हो भने हरेक पटक इन्द्रलाई किन छुट? भगवानको लागि डिस्को,बार खोलिदिएककाले वा सुरा-सुन्दरीको फेशन शो गरिदिएकाले? देउता भएर पनि यत्रो विभेद। आफ्नै प्रत्यक्ष निगरानिमा भएको महाभारत युद्ध होस् या आफ्नु चिरायूको लागि गरिएको समुद्र मन्थनमा। आबश्यक पर्दा खोजि खोजि ल्याउने अनि उपयोगिता सकिएपछि आफ्नै अस्त्र शस्त्रको खजाना बनाउने? भगवान भएर पनि झ्यालि गर्ने? कसरि भनौ म मेरा पुस्ताहरुलाई सत्यको पुजा गर, तिम्रो पुजा गर भनेर? तिमि करुणाको प्रतिमुर्ति हौ भनेर। मैले भन्नै पर्ने भो अब शक्तिको पुजा गर, हतियारको पुजा गर, डरको पुजा गर भनेर। यिनै केहि प्रश्नहरुले हो ‘म’ र म जस्ताले मन्दिर गएको बेला घन्टि त बजाउछौं तर मन्दिरलाई नै सधैं आफै भित्र स्थापना गर्न भने सक्दैनौ। मान्छे भएर जन्मे पछि भगवानको समेत अन्याय सहनु पर्ने यो बैदिक ब्रह्माण्डलाई मेरो पनि प्रणाम छ। जय शिव शम्भु ! जय ब्रह्माण्ड ! जय हतियार धारि-शक्तिशालि मान्छे ! जय ब्रह्माण्ड र मान्छे ! जय !!

हाल: वाइमार जर्मनी

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 22 आसाढ, 2070

लेखकका अन्य रचनाहरु