मिडिया मुस्कान

- कृष्ण बजगाईं

सम्पादकको अस्तब्यस्त टेबलमा सुन्दर फोटो अवतरण भयो । मुस्कुराई रहेकी सुन्दरी ! कामको तनाव । समाचार ‘अन एयर’ हुने बेला । हतार हतार, जहिले पनि हतारमा रहने थकित सम्पादक । फोटोमा सुन्दरीको मुस्कान देखेर एकछिन ‘रिल्याक्स’ भए । नयाँ स्टाफ । मिडियामा बिकाउ हुने अनुहार । हाँसिरहेकी सुन्दरीलाई फोटोमा देखेर सम्पादक एकपटक मुस्कुराए ।
पत्रकारको जागिर खाएदेखि यो पेशामा उनले जहिले पनि हतार मात्र देखेका छन् । काम गर्दा गर्दा थाकेपछि कहिलेकाहीँ भन्छन् ‘यी मालिकहरुले निचोर्न सम्म निचोरेर काम लदाएका छन् ।’ उसो त हरेक दिन दिमाग रित्तुन्जेल घोट्छन् आफैँलाई ।
सम्वाददाताबाट बढुवा भएर सम्पादकसम्म पुग्दासम्म उनको हतार र दौडधुप घटेको छैन । कामको चटारो, दवाव र रिस्क सँधै छ । तर नाम पनि चलेकै छ उनको बाहिर तिर । अलिक फोटोजेनिक फेस नभएर मात्र हो नत्र उहील्यै ‘अन एयर’ गइसकेका हुन्थे उनी । समाचार सम्पादक मात्र भन्नु छ । सबै काम गर्नु पर्दछ । प्रायोजित कार्यक्रम पनि हेर्ने जिम्मा उनैको हो । कामको जिम्मेवारी कति कति ? ‘मिडिया क्रेज’का कारणले होला तनावको बीचमा पनि रमाई रहेका ।
‘नमस्ते सर ! मेरो नाम सामना । नयाँ प्रोग्राम प्रेजेन्टर ।’ न्यूज एजेन्सीको वेबसाइटमा बे्रकिङ न्यूज खोजिरहेका सम्पादक मिठो नारी स्वर सुनेर टक्क अडिएँ । हिजो फोटोमा देखेको मुस्कुराई रहेकी सुन्दरी आज आफ्नै अगाडि प्रत्यक्ष ।
‘नमस्ते !’ सम्पादकले पनि अभिवादन फर्काए र अगाडिको कुर्सी देखाउँदै बस्नु भने ।
सुन्दरी फेरी मुसुक्क हाँसी । सम्पादकले यस्तो मिठो मुस्कान कहिल्यै देखेका थिएनन् । क्या ब्यावसायिक मुस्कान ! कुनै दम होस् नहोस् यीनको प्रोग्राम खुब चल्ने छ । सम्पादकका अनुभवि आँखाले भविष्यवाणी गर्यो ।
सम्पादकले उनीसँग सामान्य भलाकुसारी गरे । अनौपचारिक गफ । उनले टी भीमा चलाउने प्रोग्रामको बारेमा पहिला नै थाहा थियो सम्पादकलाई । ‘लाईभ’ नभै ‘रेकर्डेड’ प्रोग्राम हुनेछ भनेर डाइरेक्टरले पहिल्यै नै बताईसकेका थिए ।
नयाँ प्रेजेन्टरलाई लिएर कार्यक्रमको ‘डमी’ बनाउन स्टुडियो भित्र प्रवेश गरे । सबै प्राविधिक कुरा तयार भएपछि भिज्युल रेकर्डिङ सुरु भयो । उसले बोल्न सुरु गरी । वाह क्या मुस्कान ! क्या आइकन्ट्याक्ट ! क्या कन्फिडेन्ट ! क्या ओजपूर्ण आवाज ! पहिलो पटक मै सम्पादकलाई उनको सबै कुरा मन पर्याे । स्क्रिप्ट अनुसार कार्यक्रम अघि बढेर एकै पटकमा समाप्त भएपछि सम्पादक चकित भए ।
‘यो केटी पक्कै कुनै प्रोफेशनल प्रोग्राम प्रेजेन्टर हुनुपर्दछ ।’ सम्पादकको मनमा लाग्यो । लागेर के गर्नू यो अनुहार कुनै मिडियामा देखेकै थिएनन् उनले । नाम कतै न त पढ्नू न त सुन्नू ! उसो त दश वर्षे पत्रकारिता जीवन बिताएका सम्पादकमा गज्जबको कन्फिडेन्स छ । दश वर्ष अघिदेखिका सबै पत्रकारको बायोडाटा उनको दिमागको ‘हार्ड डिस्क’मा सुरक्षित छ भन्थे अरुले ।
‘वेल डन् !’ स्टुडियोबाट बाहिर निस्केपछि सम्पादकले प्रशंसा गरे ।
‘थ्याङ्क्यू !’ मुसुक्क हाँसेर भनी, सम्पादक घाइते भए ।
सम्पादकले कफी मगाए । उसले मुसुक्क मुस्कुराएर पिउँदिन भनी । सम्पादककले अघि कार्यक्रम रेकर्ड गर्दा जस्तो मुस्कान देखेनन् । त्यो कहाँ पाउनू ? त्यो त मिडिया मुस्कान मात्र थियो । अविबाहित सम्पादक घाइते भए ।
‘यो केटी कहाँ कि हो ? यसको विबाह भएको छ कि छैन होला ? वा कुनै ब्याइफे्रन्ड छ कि ?’ उसले बिदा मागेर गएपछि कुमार सम्पादकको मनमा खुल्दुली जाग्यो ।
भोलिपल्ट उसको फाइनल कार्यक्रम रेर्कड भयो । सम्पादकले भर्खरै रेकर्ड गरिएको ‘भिज्यूल’ सम्पादन अघि नै हेर्न चाहे । प्रोग्राम प्रेजेन्टर, प्राविधिक र सम्पादक सँगै बसे । रेकर्डेड प्रोग्राम ‘प्ले’ गरियो । सम्पादकका धारिलो कैँची जस्ता आँखाले पुरै कार्यक्रम हेर्यो । वाह ! क्या मिडिया मुस्कान... ! क्या म्याजिक ‘आइ कन्ट्याक्ट... !’ ‘क्या ओजपूर्ण आवाज...!’ हरेक ठाउँमा तानाशाही कैची चलाउने सम्पादक लट्ठ भए । अहँ कहीँ कतै कैँची चलाउने ठाउँ देखेनन् ।
दुइदिन पछि ‘अन एयर’ हुने कार्यक्रम । सम्पादकलाई त्यो कार्यक्रम टीभीको पर्दामा हेर्ने तिब्र ईच्छा लाग्यो । उसो त आफ्नै अगाडि रेकर्ड र सम्पादन भएको कार्यक्रम ‘अन एयर’ हुँदा उति साह्रो हेर्दैनन् । यस पटक भने त्यो प्रेजन्टरको कार्यक्रम प्रति सम्पादकले विशेष चासो राखेका छन् ।
कार्यक्रम तालिका अनुसार ‘अन एयर’ भयो । सम्पादकले आँखा एकटक स्क्रिनमा लगाएर हेरे । कार्यक्रमको विषयवस्तु भन्दा पनि कार्यक्रम प्रस्तुत गर्ने शैली, कन्फिडेन्स र उही मुस्कानले सम्पादक भुतुक्कै भए । यही स्तरको प्रस्तुति कायम राख्न सकी भने के थाहा कुनैदिन मेरै कुर्सी यसले खान बेर लाउँदिन ! सम्पादकको मनमा अलिकति डर र धेरै ईष्र्या पलायो ।
‘कति नरम, सभ्य छे । कति आदरपूर्वक बोल्छे । आफ्नो काम प्रति उत्तिकै जिम्मेवार छे । भखैरै यो पेशामा हात हालेकी । यसले यत्रो हिम्मत त नगर्ली ।’ एकैछिनमा प्रेजन्टर प्रति सहानुभूति पलायो । सम्पादकको मन अलकि शान्त भयो ।
उसको कार्यक्रम ‘अन एयर’ भएपछि कार्यक्रमको तारिफ गर्दै भकाभक फोन तथा इमेल आउन थाले । सम्पादक छक्क परे । यी सबै प्रतिकृया डाइरेक्टरलाई सुनाए । डाइरेक्टर मुुसुक्क हाँसे । ब्यावसायिक मुस्कान !
अर्को साताको कार्यक्रमको लागि उसले खुब मेहनत गरेर सामाग्री आफै खोजेर ल्याई । उसको कार्यक्रममा आफ्नो अध्ययन र खोजलाई मिसाई । उसको क्षमता त छँदै थियो । त्यो कार्यक्रम गज्जब राम्रो देखियो ।
दिनदिनै उनको कार्यक्रमको लोकप्रियता बढ्न थाल्यो । उनका फ्यानहरुले सो कार्यक्रमको नाममा फेसबुक फ्यान पेज खोले । ट्वीटरमा हल्लाखल्ला गर्न थाले । कार्यक्रमको लोकप्रियता सँगै उनको चर्चा शहरमा चल्न थाल्यो ।
उनका फ्यान बढेकोमा सम्पादक चिन्तित भए । सम्पादको कुमार मन उनको मुस्कान देखेपछि अलिक बैंशालु भएको थियो । उनको बारेमा धेरै कुरा जान्न चाहेका थिए । तर सम्पादकले कसैलाई पनि सोध्ने आँट गरेका थिएनन् । अन्ततः कसैलाई थाहै नदिई आफैँ पत्ता लगाउने विचार गरे ।
प्रेजेन्टरको बारेमा थाहा पाउन उनलाई पछ्याउँन थाले । अफिसबाट बाहिर निस्कने बित्तिकै ऊ गम्भिर भएको देख्दथे । उनको मुस्कान गायब हुन्थ्यो । सधैँ माइक्रो बस चढ्थी । ऊ कहिले असनको भीडमा हराउँथी । कहिले ठमेलका सडक बालबालिकाहरुसँग गफिदै गरेको हुन्थी । कहिले सुकुम्वासी बस्ती अगाडि हुन्थी । कहिले अनाथ आश्रम भित्र प्रवेश गर्दै हुन्थी । कहिले महिला पुर्नस्थापना केन्द्रबाट बाहिर निस्कदै हुन्थी । कहिले बृद्धाश्रमको ढोका ढक्ढकाउँदै हुन्थी ।
उनको क्रियाकलाप देखेर सम्पादक छक्क परे । ‘यत्रो टिभीमा चर्चा कमाएकी केटी, माइक्रो बसमा सवार ! त्यो गन्धे वस्तीमा किन छिरी होला ? ती खातेसँग के भलाकुसारी गरी होली ?’ सम्पादकको मनमा नानाभाँती कुरा खेलिरहे । शंका उपशंकाको पहाड चुलिदै गयो ।
डाइरेक्टरले उनको कार्यक्रमको लोकप्रियता धेरै बढेको कुरा सम्पादकलाई बताए । उनको कार्यक्रममा विज्ञापन प्रशारण गर्न चाहाने विज्ञापनदाताहरु पालो पर्खेर बसेको कुरा सुनाए । केही एनजिओहरुले त्यस्तै प्रकृतिका कार्यक्रम उही प्रेजेन्टर मार्फत प्रायोजन गर्न चाहेको कुरा बताए । तर उसले त्यस्तो कार्यक्रम चलाउन अस्विकार गरी भन्ने कुरा सुन्दा सम्पादक छक्क परे । कस्ती पागल र घमण्डी केटी रहिछ भन्ने लाग्यो ।
हुन त महिला, बालबालिका र द्धन्द्ध पिडित सम्बन्धी उनको कार्यक्रम घरघरमा चर्चा हुन थालेको थियो । सचिवहरुलाई बोलाएर हायल कायल पार्दथी । अल्छे कर्मचारीहरुलाई हप्ता भरको लागि गफ गर्ने विषय हुन्थ्यो । नेताहरुको सातो लिन्थी । कार्यकर्ताहरुलाई उर्जा हुन्थ्यो । वरिष्ठ पत्रकार र प्रकाशकहरुलाई कार्यक्रममा बोलाएर पसिना काढ्ती । पत्रिकाका पाठकहरु र टेलिभिजनका दर्शक दंग पर्दथे ।
सहरमा अब उनको चियो चर्चा गर्ने आफू बाहेक अरु पनि भएको कुरा पत्रिका पढेर सम्पादकले थाहा पाए । एउटा पत्रिकाले त विदेशी खैरेसँग ठमेलमा कफी पिउँदै गरेको कुरा समाचार छापेछ । पत्रिकामा छापिएको समाचार पढेपछि सम्पादकको मन कुँढियो । देख्दै नदेखेको त्यो खैरेको मनमनै उछित्तो काढे ।
प्रोग्राम प्रेजेन्टरका बारेमा जति पनि नकारात्मक खबर छापिन्थ्यो सम्पादक दुःखी हुन्थे । पेशागत जिम्मेवारी बाहेक अन्य कुरामा किन सम्पादकले त्यत्रो चासो लिएका हुन ? सम्पादकले एकदिन ठण्डा दिमागले सोचे । कतै यो केटी प्रति मेरो माया त पलाएको हैन ? अहँ हुनै सक्दैन । तपस्यारत म ब्रम्हाचारी । मैले मिडियामा ठूलो नाम कमाउनु छ । यस्तो प्रेम तथा विबाहको चक्करमा फस्नु हुँदैन । मान्छेलाई पथभ्रष्ट बनाउने भनेको नै आइमाई, रक्सी र अबैध कमाई अर्थात पैसा हुन । सबैबाट टाढा रहेको म जस्तो शुद्ध पत्रकार छैनन् यो मुलुकमा । म किन बिग्रनू ! सम्पादकले आफ्नो कठोर निर्णयको पुनः स्मरण गरे ।
भोलि पल्ट ऊ कार्यालय आई । उस्तै मुस्कान फेरी कार्यलयमा देखे । भुतुक्कै भए सम्पादक । स्वर्गमा भगवानको तपस्या भंग गराउने अप्सराको मत्र्यलोकमा पुनरागमन भएको ठाने । पग्लिए उनका अगाडि । आफ्नो मुटुमा उनको लागि अलिकति स्थान खाली गराइ हाले ।
‘यसले मुस्कुराएर किन भुतुक्क पार्छे हँ मलाई ?’ उनको मुस्कानको बारेमा सम्पादकले एकदिन शाहास निकालेर सोधे ।
‘मानिसले कसैलाई सित्तैमा दिन सक्ने कुनै वस्तु छ भने त्यो मुस्कान हो । त्यो दिएपछि सकभर त्यो भन्दा बढी नभए पनि उति नै त अवश्य फिर्ता हुन्छ । बजारमा मुस्कानको माग छ । अहिलेको जमानामा मानिसको सबै भन्दा ठूलो योग्यता भनेको नै मुस्कान हो । हरेक ठाउँमा अहिले प्रतिस्पर्धा छ । प्रतिस्पर्धामा जाने हो भने मुस्कान लिएर हिँड्नु पर्दछ । अरुलाई पराजित गर्ने यो भन्दा ठूलो अर्को अस्त्र छैन ।’ उनको मुस्कान शास्त्र सुनेर सम्पादक एकाएक गम्भिर भए ।
सम्पादक गम्भिर भएको देखेपछि प्रेजेन्टर छक्क परी । उनलाई डर भयो कतै आफ्नो कुराले सम्पादककलाई चोट त परेन ? उसले साहास निकालेर मुुसुक्क हाँस्दै सोधी–‘सर मेरो कुराले तपाई गम्भिर हुनु भयो । मैले तपाईंलाई चोट त पुर्याइन ?’
‘सित्तैमा दिन सकिने मुस्कान पनि बाँढ्न नसक्ने म कति धेरै कञ्जुस रहेछु भनेर दुःखी भएको । अरु कुनै कारण छैन ।’ सम्पादकको जवाफले प्रेजेन्टर खुब हाँसी ।
ऊ हाँसेको देखेपछि सम्पादकले आफूलाई रोक्न सकेनन् । सम्पादक पनि खुब जोडले हाँस्न थाले । सम्पादकलाई साथ दिँदै प्रेजन्टर झन् हाँस्न थाली । हाँसोको निरन्तरता चलिरह्यो । लाग्दथ्यो त्यो कोठामा ‘लाफिङ योगा’ चलिरहेको छ ।
हाँसो रोकिएपछि मुसुक्क हाँसेर प्रेजन्टरले ‘बाई’ भनेर निस्की । सम्पादक फेरी घाइते भए । सम्पादकले ऊ निस्केको लगत्तै झ्याल खोलेर बाहिर हेरे । गम्भिर मुद्रामा ऊ लुरुलुरु अगाडि बढी रहेकी थिई ।
दश वर्षे पत्रकारितामा धेरै जनासँग संगत गरेका सम्पादक मानिसलाई राम्ररी पढ्न सक्दछन् । छोटो भेटमा सम्पादकले प्रोग्राम प्रेजेन्टरको तीनवटा भाव अध्ययन गरिसकेका थिए । भेट्दा औपचारिक मुस्कान । टीभीमा मिडिया मुस्कान । कामसकेर घर जान विदा माग्दा गम्भिर मुस्कान ।

उसले टीभीमा देखाएको मुस्कान त पुरै नक्कली हो ठिकैछ । कृत्रिम नै होस्, त्यो मिडियाको लागि हो । तर सहकर्मीहरुलाई देखाउन मुहारमा ल्याएको नक्कली मुस्कान अर्थात दोस्रो श्रेणीको मुस्कान के को लागि ? किन यस्तो गर्नु परेको होला ? जे छ त्यही देखाउनु नी । उनको गम्भिर मुद्रा मन परेन सम्पादकलाई । नानाभाती नकारात्मक कुरा खेलाउँदै सम्पादक झ्यालमा टोलाइरहे ।
एकछिन पछि कुर्सीमा आएर बसे । ऊ निस्केपछि सम्पादकलाई कोठामा के के कमी भए जस्तो लाग्यो । के हुनु थियो र उही मुस्कान ! तर सम्पादकले आज धेरै समय पश्चात आफूलाई निक्कै हलुका र ताजा महशुस गरेका थिए । आज दिल खोलेर सँगै हाँसेका थिए । उनलाई लाग्यो यो स्फूर्ति सायद त्यसैको परिणाम हो ।
उसले के खान्छे ? कहाँ जान्छे ? को को सँग बोल्छे ? आदि विषयमा उनको समाचार पत्रपत्रिकामा आउन थालेको थियो । त्यो समाचारको सत्यता कति प्रतिशत छ ? कोही खोज्दैनन् थिए । उनको लोकप्रियताको ईष्र्या गर्नेहरु कुरा काट्थे । तर उनलाई केही मतलब थिएन । त्यो त मेरो लागि उर्जा हो भन्थी ।
एक दिनको कुरा हो । पत्रिकाको पाना पल्टाउँदै जाँदा सम्पादकको आँखाले विश्वास गर्नै नसकिने फोटो सहितको समाचार शिर्षक देखे । ‘प्रोग्राम प्रेजेन्टर एउटा विदेशीसँग नगरकोटमा !’ सम्पादकले समाचार पुरै पढे । समाचारको सार थियो– मोजमस्तीमा रमाउने, कुनै गुप्तचर संस्थाको एजेन्ट.....आदि ।
‘पापराची’हरु पछाडी नै लागेछन् अब । सम्पादकले मनमनै भने ।
एक पटक वरिष्ठ पत्रकार तथा पत्रिकाका प्रकाशकहरुलाई कार्यक्रममा ल्याएकि थिई । महिला तथा बालबालिका प्रति जिम्मेवार हुन पाठ सिकाएर पठाई । त्यो कार्यक्र हेरेपछि महिला सम्बन्धी बकम्फुसे, काल्पनिक समाचार तथा नारीका कामुक फोटाहरु राखेर पत्रिकाको ब्यापार गर्नेहरु रिशले चूर भए होलान् । त्यही भएर त्यस्ता पत्रपत्रिकाहरुले उनको बारेमा नकारात्मक समाचार छापेको होला । ‘चोरको खुट्टा काट्...!’ भन्दा तर्से जस्तो । पत्रकारहरु उसका पछाडि लागेका हुन सक्दछन् । सम्पादकले अनुमान गरे ।
केही दिन यता पत्रिकामा उनको बारेमा केही समाचार छ कि भनेर खोज्ने बानी परेको थियो सम्पादकलाई । कुनै पनि पत्रकारले त्यो प्रेजेन्टरको विगत पत्ता लगाउन सकेका थिएन । जे जति लेख्दथे वर्तमानको मात्र । सम्पादक चाहान्थे –‘त्यसको विगत कसैले लेखिदिए पनि हुने ।’
हुन त उसले आफ्नो विगत बढो कष्टप्रद थियो भनेर भनेकी थिई । सुदुर पश्चिमी विकट पहाडी जिल्लाको हुँ भन्थी । तर उसलाई चिन्ने मानिस आजसम्म फेला परेको थिएन । उसको काम गर्ने तौर तरिका, शिष्टता र ज्ञानको असिमित भण्डारले ऊ कुनै राम्रो विश्वविद्यालयको उत्पादन हो जस्तो लाग्दथ्यो । तर सम्पादकलाई बाँकी कुरा सोध्न अनुकुल मिलिरहेको थिएन ।
‘के त्यसले हामी सबैलाई ढाँटिरहेकी त छैन ? आफ्नो वास्तविक परिचय लुकाएर अर्कै नाममा प्रस्तुत भएकि त हैन ? फेरी टीभी जस्तो कुरा । नाम बदले पनि अनुहार त बदल्न सकिन्न । को हो यो रहश्यम केटी ? हुन त ब्यापारीको कता के हिसाबकिताव हुन्छ । फाइदाको लागि कसैको दवाव वा अनुरोधमा पनि मानिस भर्ती गर्दछन् । जे गरे पनि यो चाहीँ राम्रै क्षमता भएको ब्यक्ति भर्ती गरेका छन् ।’ सम्पादकको मनमा यस्तै विभिन्न कुराहरु आइरहे ।
त्यो प्रेजेन्टर आएदेखि सम्पादकमा ठूलो परिवर्तन आएको थियो । यो कुरा सहकर्मीहरुले पनि अनुभव गर्न थालेका थिए । हरेक समय गम्भिर रहने सम्पादक बोली पिच्छे मुस्कुराउन थालेका थिए । उनको मुस्कानको कारण त्यो नयाँ प्रेजेन्टरसँगको अफेयर हो भनेर कार्यालयमा खासखुस चलेको थियो । उनीसँग कुनै अफियर छैन । एक तर्फी आकर्षण मात्र हो भन्ने कुरा सम्पादकलाई मात्र थाहा थियो । कठोर मनका सम्पादक कोमल भएका सबैले थाहा पाएका थिए । हुन त एउटा संक्रमण जस्तै उनको मुस्कान फैलिएको थियो कार्यालयभरि । नयाँ प्रेजेन्टर आएपछि मुस्कुराउनु पर्दछ भन्ने कुरा सबैले सिक्न थालेका थिए ।
त्यो समाचार छापिएकै दिन ऊ कार्यालय आई । समाचारले कार्यलयमा ठूलो चर्चा पाएको थियो । टिकाटिप्पणी हुँदै थियो । तर ऊ कति पनि विचलित थिइन । उसको मुहारमा उस्तै मुस्कान थियो ।
‘महिलाका बारेमा तथानाम खबर छाप्ने पुरुष पत्रकार कसरी मेरो चरित्र निर्माता हुन सक्छ ? न बिराउनू नडराउनू । कानूनको कठघरामा उभ्याएर छाड्छु त्यसलाई ।’ सहकर्मीहरुलाई सुनाई । उसको साहासको सबैले प्रशंसा गरे ।
सम्झौता अनुसार कार्यक्रम चलाउने समय सकिन लागेको थियो । म्यानेजमेन्टले उनीसँग थप सम्झौता गर्न चाह्यो । उसले अस्विकार गरी । कार्यक्रम खुब लोकप्रिय थियो । विज्ञापनहरु प्रशारण हुने पालो पर्खेर बसेका थिए । म्यानेजमेन्टले उनलाई बढी रकम तथा कमिशन लगायतको थप सुविधा दिने भयो । अहँ पटक्कै मान्दै मानिन् ।
‘मिडियामा महिलाहरुलाई काम गर्न जोखिम छ । हतोत्साहित गरिन्छ । बदनाम गराईन्छ .....।’ चर्चा परिचर्चा कार्यालयमा केही दिन चल्यो । उनको ईष्र्या गर्ने सहकर्मीहरुले पनि सहानुभूति प्रकट गरे । केही समयपछि कार्यालयमा उनको बारेमा चर्चा हुन छाड्यो ।
ऊ मिडियाबाट पनि हराई । ऊ हराएपछि सहरबाटै हराए जस्तो भयो । पत्रिकाहरुले उसका बारेमा लेख्न छाडे । उनका बारेमा नलेखेपछि सम्पादकले पनि बिर्से ।
एकदिन न्यूज एजेन्सीको वेबसाइटमा समाचार खोज्दै थिए सम्पादक । एउटा समाचारमा शिर्षकमा उनका आँखा टक्क अँडे ।
‘बालबालिका र महिलाका सवालमा नेपालका मिडिया’ विषयमा हाम्रा सम्वाददाता सामनाले ख्याति प्राप्त विश्वविद्यालयबाट पिएच्डी उपाधी प्राप्त गरेकी छिन् । उनको जन्म नेपालको सुदुर विकट पहाडी जिल्लामा भएको हो । द्धन्द्ध पीडित बालिका उनी तेह्र वर्षको हुँदा आफ्ना बुबाआमा गुमाएकि थिइन । उनको घरमा भाडा बस्ने पिसकोर भोलेन्टियरले उनलाई धर्म पुत्री बनाएर अमेरिका ल्याएका थिए ।’
समाचार पढिसकेपछि सम्पादक छक्क परे । फोटोमा हेरे । उही प्रोग्राम पे्रेजन्टर युवती गम्भिर मुद्रामा थिई । हर समय मुस्कुराउनु पर्दछ भनेर सबैलाई सिकाउदथी । बाबुआमा गुमाएकी अनाथ कत्रो पीडामा बाचेकी रहिछे ! त्यसपछि सम्पादक एकाएक गम्भिर भए ।

लन्डन, बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 16 आसाढ, 2070

लेखकका अन्य रचनाहरु