अन्धो बूढो

- परशु श्रेष्ठ

छामछाम, छुमछुम गर्दै एउटा बूढो मानिस मेरो अघिल्तिर आइपुग्यो । उमेर त्यस्तै पचास या पचपन्न हुनुपर्छ । उसको हातमा एउटा लौरो थियो, जो उसको एकमात्र बाटो पहिल्याउने सहारा थियोे । उसका दुबै आँखा टालिएका थिए । काँधमा एउटा थोत्रो उनी धागोको बुनुवा झोला भिरिराखेको थियो ।
“कता जान खोज्नुभएको बाजे ?” मैले उसलाई सोधें । लठ्ठीको मात्र सहारा लिएर हिंडिरहेको उसलाई बाटो पहिल्याउन गाह्रो भइरहेको बुझ्न मलाई समय लागेन ।
“ट्वाइलेट्,” झर्किए जस्तो आवाजमा उसको छोटो उत्तर आयो ।
तर ऊ विपरित दिशातिर हिंडिरहेको थियो । बूढोको अवस्था देखेर मेरो मनमा ऊ प्रति सहानुभूति जाग्यो । त्यसैले मैले ऊ समक्ष सहयोगका निम्ति प्रस्ताव अघि सारें — “त्यता होइन बाजे, ल आउनुहोस् म पुर्याइदिन्छु ।”
तर मैले सोंचेझैं बूढोले हाँसेर मलाई धन्यवाद दिंदै मेरो पछि लागेन । उसले त फेरि टर्रो स्वरमा “पर्दैन, पर्दैन” भन्यो । उसको अनुहारको मुद्रा मैले स्पष्ट देख्न सक्ने गरी नराम्रो गरी बिग्रियो । अनि दुबै हातले लठ्ठी उज्याएर मलाई हानिहालुँलाझैं गर्दै हपार्यो — “पर हट्, भाग् ।”
म छक्क परेँ । छेउछाउका केहि मानिसहरु मलाई नै हेरिरहेका रैछन् । लाज लाग्यो । एकाएक त्यो बूढोप्रति मेरो मनमा पलाएको सहानुभूति घृणामा परिणत भयो । मनमा लाग्यो — “कस्तो बैगुनी बूढो रै छ ।”
पुन मनमा लाग्यो — “विचरालाई यसअघि कसैले झुक्याएको पो थियो कि ? कुनै स्वार्थीले उसको अपाङ्गता र निरीहताको फाइदा उठाएको पो थियो कि ? र, सम्भवत त्यसैले अहिले ऊ सचेत भएको हुनसक्छ । आँखा देख्नेहरुले त अचेल अरुको अनुहार हेरेर भित्री स्वार्थ अनुमान गर्न सक्दैनन् भने ऊ त दुबै आँखा देख्न नसक्ने बूढो मान्छे ।”
पुनः ऊप्रतिको सहानुभूति मनमा पलायो । तर उसको स्वाभिमानमा धक्का पारेर फेरि सहयोगका निम्ति प्रस्ताव राख्ने आँट पलाएन ।
ट्वाइलेट मेरो पसलबाट त्यस्तै पचास मिटरजति टाढा उत्तरतर्फ थियो । बूढो बिस्तारै हातको लठ्ठीले भूईंमा ट्वाक् ट्वाक् ट्वाक् हान्दै उतैतिर लाग्यो । त्यति नै बेला पसलमा आएका ग्राहकतिर मेरो ध्यान मोडियो ।
केहिबेर पछि त्यो बूढो मान्छे पुनः मेरो पसल अगाडि देखा पर्यो । ऊ अघिझैं लठ्ठीले भूईंमा हान्दै मेरो पसलबाट दक्षिणतिर (ट्वाइलेटको ठीक विपरित दिशा) अघि बढ्दै थियो ।
“कति चाँडो ट्वाइलेट पुगेर फर्किएछ” — मनमा लाग्यो । एउटी महिलासित झण्डै ठोक्कियो बूढो । अर्कैतिर हेर्दै हिंडिरहेकी ती महिला पनि एकपटक त नराम्रोसित झस्किइन् । आफ्नो अघिल्तिर अन्धो बूढो मान्छे देखेर सहानुभूतिपूर्वक उनले सोधिन् — “कता बाजे ?”
“ट्वाइलेट,” बूढोको जवाफ आयो ।
“यता होइन, उता पो त ।” बूढोलाई पुनः उत्तरतिर फर्काइदिएर ती महिला आफ्नो बाटो लागिन् । बूढो मान्छे पुनः मेरो पसलछेउमा भूईं छाम्दै आइपुग्यो । मैले उसलाई सहानुभूतिपूर्वक हेरिरहें, तर फेरि सहयोगको प्रस्ताव राख्न सकिनँ ।

इटहरी ५, सुनसरी

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 16 आसाढ, 2070

लेखकका अन्य रचनाहरु