डाइभर्सिटी भिसा

- हरिहर खनाल

अमेरिका पुग्न मात्र पाए आफ्नो भाग्यको रूपरेखा नै फेरिने थियो होला भन्ने सोचेर वर्षेनी डाइभर्सिटी भिसा (डि.भि.) फाराम भर्ने मानिसहरूको सङ्ख्या केही समय यता आएर नेपालमा समेत तिव्र रूपमा वृद्धि भैरहेको छ । निजामती कर्मचारीदेखि विश्वविद्यालयका प्राध्यापक, अस्पतालका डाक्टर, स्कुल–कलेजका शिक्षक–कर्मचारी, विद्यार्थी, किसान, ब्यापारी र जो कोहीका लागि पनि यो एउटा आकर्षणको विषय सावित भएको छ । प्रत्येक वर्ष फाराम भर्न सूचना प्रकाशित भएपछि शहरका गल्ली–गल्लीमा आकर्षक विज्ञापनसहित खुलेका साइबर सञ्जालमा मानिसहरूको भीड उल्लेख्य रूपमा लागेको देख्न सकिन्छ ।
मरूभूमिको पल्लो छेउमा टल्केको बालुवालाई पानी संझेर जीवनको दौडमा सकी–नसकी घस्रँदै गरेको मृगजस्तै कहिल्यै भेट्न नसकिने तृष्णारूपी भोकको कुवातिर लम्केका ती हजारौं मानिसहरूकी प्रतिनिधि पात्र हो सरिता । प्रमाणपत्रतह सरासर पास गरेकी त्यसको जीवनमा स्नातकतहमा प्रवेशसँगै विस्तारै परिवर्तनका रेखाहरू कोरिन थाले । पढाइतिर भन्दा पनि लवाइ–खवाइ र साथी–सँगातीहरूसितको बसउठमा त्यसको समय बढी खर्च हुन थाल्यो । पहिलो वर्षको परीक्षामा मूल विषयको एक पेपरमा मात्र असफल भएकी ऊ दोस्रो वर्षमा पुगेपछि त अनिवार्य विषयसमेत तीन पेपरमा फेल हुन पुगी ।
परीक्षाको नतिजा प्रकाशनपछि घरमा पास–फेलका विषयमा चासो बढ्न थालेपछि त्यसको आन्तरिक मनमा विगतको बेढङ्गी र बिना मेसोमा बरबाद गरिएको समयप्रति बढो पश्चाताप लाग्न थाल्यो । तर गैसकेको समयलाई फर्काउने त्यसका अगाडि कुनै उपाय थिएन । समय जो बितिसकेको थियो त्यसलाई पुनः फर्काएर ल्याउन सकिने कुरा पनि भएन । कोठामा एक्लै बसेर जब ऊ घोरिन थाल्थी, अन्धकार रातबीच कतै अनकन्टार ठाउँको निर्जन चौबाटोमा पुगे झैं हुन्थी त्यो, र भित्रभित्रै त्यसै छट्पटाउन थाल्थी । गत वर्ष स्नातकतह दोस्रो वर्षको परीक्षा सकिएपछि एक प्रकारले भन्दा फुक्काफाल भएकी त्यसले साथीहरूको लहैलहैमा लागेर डि भि. फाराम भरी ।
समय त्यसको गतिमा निरन्तर चलिरहेको थियो । दोस्रो वर्षको पूरा परीक्षा पास नगरे पनि तेस्रो वर्षमा अध्ययन गर्न पाइने विश्वविद्यालयको नीतिअनुरूप उसले पनि अरू साथीहरूसरह तेस्रो वर्षको कक्षा लिन थालेकी थिई । त्यै बीचमा डि भी को नतिजा प्रकाशित भयो । सरितालाई चिट्टा प¥यो । त्यसले डि भि. पारी । त्यसपछि त्यसको हर्षको सीमा रहेन ।
घरमा, टोलछिमेकमा, इष्टमित्रहरू र साथीभाइहरूबीचमा सरिता एउटी भाग्यमानी चेली बन्न पुगी । क्याम्पसमा र जहाँकहीँ पनि साथी–सँगिनीहरूबाट बधाइको ओइरो लाग्न थाल्यो । नचाहँदानचाहँदै पनि, करैसान्ती कति सँगातीहरूलाई त त्यै नाममा उसले चकलेट नख्वाई सुखै पाइन ।
त्यसपछिको त कुरै अर्कै । के निहुले उम्कन पाऊँ भैरहेको त्यसको चञ्चले मन त्यसपछि झन् अधीर हुँदै गयो । पढाइतिर ध्यान दिन त्यसको मनले पटक्कै मानेन । त्यसका मनमा अमेरिकी जीवनको चित्र आएर नाच्न थाल्यो । कल्पनामा नै त्यसले त्यसको सुदुर भविश्यका अनेक चित्रहरू कोर्दै भत्काउँदै गर्नथाली ।
त्यसको मन पढाइतिर नगए पनि क्याम्पस जान भने त्यसले छाडेकी थिइन । एउटा लामो सुरुङमार्गमा छिरेको बटुवा झैं त्यसको डि.भि. पनि प्रकृयाका अनेक नतिजा पार गरेर अघि बढ्नु पर्ने बाटामा प्रवेश गरेको थियो । नतिजा प्रकाशनको खबर बोकेर आएको पहिलो पत्रले त्यसको जीवनमा ल्याएको उथलपुथल कन्फर्मेशनको दोस्रो पत्र हात नपरेसम्म हुरीको चरा झैं कल्पनाको आकाशमा कावा खाँदै रह्यो । पढाइतिरबाट पटक्क मन भाँचिएको निकै समय भैसकेको थियो । आकलझुकल रूपमा क्याम्पस जानु–आउनु त अरूका लागि देखाउने काम मात्र हुन पुगेको थियो उसको ।
कन्फर्मेशनको सूचना बोकेर आएको दोस्रो चिठ्ठी हात परेको दिन त्यसका खुट्टा भुईंमा थिएनन् । सगरमाथाको चुचुरोमा पुगेजत्तिकै आनन्दानुभूति भएको थियो त्यसलाई । निकै दुःखपूर्वक तय गरेको यस अघिको त्यसको लामो यात्रा त्यसलाई केहीजस्तो पनि लागेन । त्यो त्यसैत्यसै फुरुङ्ग परी । त्यसपछि त्यसले अहोरात्र खटेर आवश्यक कागजपत्र तयार गरी र प्रवेशाज्ञाका लागि अमेरिकी दुतावासको कन्सुलर शाखामा आवेदन दर्ता गराई । अन्तर्वार्ताको मिति तोकिएपछि सरिताले त्यसलाई अधैर्यतापूर्वक पर्खेर बसी ।
अन्तर्वार्ताको मितिमा तोकिएको समयमा त्यो दुतावासको कन्सुलर शाखामा पुगी । बाहिर फाट्टफुट्ट मात्र देखिएका मान्छेहरू, भित्र पुगेपछि भने हलैभरि एउटा ठूलै जमात देखी त्यसले । युवा–युवतीहरू, अधबैंसेहरू, वृद्धवृद्धाहरू, सबै प्रकारका मानिसहरूको जमघट थियो त्यहाँ । सबै आ–आफ्नो पालो कुरेर शान्तपूर्वक बसिरहेका । सरिता पनि तिनीहरूकै लहरमा मिसिएर त्यसरी नै बसी ।
के होलाको अत्यासले पिरोलिँदै धुरमुर मन लिएर समय घचेटिरहेकी त्यसले अन्तर्वार्तामा सहभागी अरू मानिसहरूका अनुहार पढ्ने प्रयत्न गर्दै बसी । उसले त्यो दिन जे जति मानिसहरू देखी ती सबैका अनुहारको वर्ण दुई किसिमका भावभूमिमा बदलिएको देखी त्यसले । अन्त्यमा कसैको अनुहारमा शुक्लपक्षको चन्द्रमा जग्मगाएको हुन्थ्यो, कसैकोमा भने औँसीको रात ।
आफ्नो पालो आएपछि त्यसले अत्यासले भरिएको मनलाई समाल्ने प्रयत्न गरी र भरसक सामान्य हुने कोसिस गर्दै झ्यालतिर गै ।
“नमस्ते ।” ऊ तोकिएको झ्यालमा पुगेर उभिने बित्तिकै भित्रपट्टि बसेकी महिलाले अनुहारमा मुस्कान छर्दै त्यसको अभिवादन गरी । नचिनेको ठाउँमा पुग्दा अनायास भेटिएकी त्यो महिलाको बोली आफन्तको जस्तै लाग्यो सरितालाई । त्यसले उसैको शैलीमा उत्तर दिई । त्यसपछि त्यसको आधा डर त्यसै भाग्यो । उसले पेश गरेका कागजपत्रहरू पल्टाउँदै त्यो बिदेशी महिलाले उससित केही सामान्य प्रश्न सोधी । सरिताले पनि ती सबै प्रश्नहरूको सहज तरिकाले उत्तर दिई ।
“तपाईंलाई बधाई छ । तपाईंले अमेरिका जाने अनुमति पाउनुहुने भयो । पासपोर्ट लिन पर्सि आउनुहोला ।” उसको अगाडिको फाईलमा केही लेख्तै त्यो महिलाले भनी । त्यो सुन्ने बित्तिकै सरिताको मन हर्षले रमायो । कति बेला बाहिर निस्केर साथीहरूसित खुसी साटासाट गरौंजस्तो लाग्यो उसलाई ।
“थ्याङ्क् यु म्याम ।” उल्लासपूर्ण मुद्रामा सरिताले उसलाई धन्यवाद दिई र बाहिरतिर लागी । ढोकाबाट निस्कने वित्तिकै त्यसले उसलाई पर्खेर बाहिर बसिरहेको उसको भाइलाई उसको सुखद खबर सुनाउँदै खुसी बाँडी । त्यसपछि तिनीहरूले घरमा बा–आमालाई खबर गरे । त्यसपछि तिनीहरू नजिकैको साइबरमा पसे र नेभडाको हेन्डरसन शहरमा बस्ने छिमेकी अन्टी पूर्णिमालाई फोन गरे ।
त्यसपछिका केही दिनसम्म घरको वातावरण उल्लासपूर्ण रह्यो । साथीभाइ, इष्टमित्र, छरछिमेक सबैतिरबाट बधाइको ओइरो लाग्न थाल्यो । कतिपय मानिसहरूले त भित्रभित्रै अनेक प्रकारका टिप्पणी गरेर सरिताका विषयमा चाहिंदा–नचाहिंदा कुरा काट्न समेत भ्याए । तर उसले त्यस्ता सबै कुरालाई विल्कुलै वास्ता गरिन । त्यसले भित्री मनमा त्यसको सुदुर भविश्यको एउटा सपना बुनेकी थिई र त्यो सपनालाई कुनै हालतमा पनि पूरा गरेर छाड्ने त्यसको आन्तरिक अठोट थियो । त्यसैको सहारामा त्यो जीवनको बाटोमा अघि बढ्दै थिई ।
आजआज भोलिभोलि गर्दागर्दै अमेरिका उड्ने दिन पनि नजिकै आइपुग्यो । घरबाट हिँड्ने बेलामा आमाले निधारमा रातो टिका र घाँटीमा सयपत्रीको माला लगाइदिइन् । बाबु–आमा र भाइ सबै उसलाई बिदा गर्न एयरपोर्टसंम पुगे । परिवारजनसित अन्तिमपटक बिदा हुने बेलामा सरितालाई खुवै नरमाइलो लाग्यो । त्यसको गला अवरूध्द भयो । आँखाबाट बरबरती आँसु झरे । त्यो बा–आमालाई अँगालो हालेर डाँको छोडेर क्वाँक्वाँती रोई । त्यसको त्यो अवस्था देखेर परिवारजनको पनि मन कुँडियो । सबैका आँखा भिजे । त्यो आमाको छातीमा मुख लुकाएर केही बेरसंम हुँक्कहुँक्क गर्दै रोइरही । आमाले त्यसको टाउको मुसारेर सान्त्वना दिन खोजिन् । बाबुचाहिँले “धैर्यधारण गर” भन्दै संझाए । यसरी भारी मन लिएर ऊ परिवारजनसित बिदा भएर प्रस्थानकक्षभित्र छिरी ।
यसरी, मे महिनाको मध्यतिरको एक दिन, कतारको दोहा ट्रान्जिटबाट क्यालिफोर्नियाको सन् प«mान्सिस्को बिमानस्थलको इन्ट्री प्वाइन्ट हुँदै काठमाडौं छाडेको ठीक तेत्तीस घण्टापछि झन्डै एघार हजार माइल लामो दुरी तय गरेर सरिताको हवाइजहाज साँझ सात बजे लास भेगासको म्याक्यारन इन्टरनेशनल एयरपोर्टमा अवतरण ग¥यो ।
जहाज अवतरण गर्नैलाग्दा विमानको झ्यालबाट सरिताले बिजुलीबत्तीको उज्यालो प्रकाशमा भेगास शहर झल्झली बलिरहेको देखी । इमिग्रेशन पार गरेर भन्सारको प्रकृया पूरा गरिसकेपछि लगेज कलेक्शन सेन्टरतिर जाँदैगर्दा सरिताले पूर्णिमालाई फोन गरी ।
“ए, सरिता ! तिमी आइपुग्यौ ?” पूर्णिमाले उत्सुक हुँदै सोधी ।
“हजुर अन्टी, आधा घण्टा पहिले आइपुगेकी हुँ । सबै काम सकेर अब बाहिरतिर आइरहेकी छु” । सरिताले भनी । सँगै आएका अरू यात्रुहरू जता जान्छन् त्यतै जाँदै र जेजे गर्छन् त्यैत्यै गर्दै सरिता एउटा निकै ठूलो आयतनको स्टिलको घुम्ने पेटी अगाडि गएर उभिई ।
स्वचालित किसिमले घुमिरहेको त्यो पेटीमा यात्रुहरूका थरीथरीका लगेजहरू घुमिरहेका थिए । हुलमुलमा पहिल्याउन सजिलो होओस् भनेर सरिताले कागजको एक टुक«ामा आफ्नो नाम लेखेर शुटकेसमा टाँसेकी थिई । त्यसले आफ्नो शुटकेस सजिलै पहिल्याई ।
शुटकेस तानेर यसो उभिएकी मात्र के थिई, उसले परतिरबाट आउँदै गरेकी पूर्णिमालाई देखी । नजिकै आइपुगेपछि सरिताले पूर्णिमालाई आदरसाथ अभिवादन गरी । पूर्णिमाले भने त्यसको प्रत्युत्तर स्वरूप उसलाई एक पटक आफ्नो न्यानो अँगालोमा बाँधी । सरिता खुसीले भाव विभोर भै ।
पहिलो पटक पुगेको त्यो कहाँ न कहाँको बिरानो ठाउँमा ऊ अपरिचित मान्छेहरूको भीडमा हराउन थालेकी थिई । त्यसलाई पूर्णिमाको न्यानो अँगालो उसकै आमाको काखजस्तै लाग्यो । त्यो औधी रमाई । हर्षले त्यसका आँखाबाट आँसु झरे । पूर्णिमा शुटकेस गुडाउँदै अघिअघि लागी । सरिता उसैका पदचापलाई पच्र्याउँदै पछिपछि गै ।
एयरपोर्टको मुख्य भवनबाट बाहिरिने वित्तिकै हपक्क गर्मी भयो । बहुतले विशाल भवनहरूका भित्रभित्रै तलामा नै कार पार्किङ् र सडकहरू, अनि ग्यारेजको गर्मीलाई कम गर्नका लागि ठाउँठाउँमा राखिएका ठूल्ठूला पङ्खाहरू ।
तिनीहरू त्यै बाटो अघि बढे । त्यो भीमकाय भवनको बीचतिर पुगेपछि पूर्णिमा केही कदम अगाडिबाट देब्रेतिर मोडिई र लिफ्टको बटन थिची । भित्र पसेपछि फेरि त्यसले चार अङ्क थिची । निमेषभरमा माथि पुगेको लिफ्ट चौथो तलामा पुगेपछि रोकियो र तिनीहरू बाहिरू निस्किए । केही कदम पर गएपछि पूर्णिमाले रिमोट थिचेर उसको कारको ढोका खोली । अलिकति आवाजसँगै गाडीको अगाडि–पछाडिका बत्ती बले । डिक्की खोलेर शुटकेस राखेपछि पूर्णिमाले सरितालाई दाहिनेतिर अगाडिको सिटमा बस्नका लागि ढोका खोलिदिई र आफू ड्राइभिङ सिटमा बसेर गाडी स्टार्टगरी । उसले ए सी खोली । गाडी चलेको एक्कै छिनमा गर्मी पनि हरायो ।
त्यस बीचमा पूर्णिमा र सरिताले एकाध विषयमा सामान्य सोधपुछ गरे । पूर्णिमाको अनुहारमा प्रौढ पन र गाम्भीर्य झल्किइरहेको थियो । सरिताको मुहारमा भने अज्ञात स्थानको नौलो परिवेशमा थोरै संकुचित प्रकारको भाव छचल्किइरहेको देखिन्थ्यो । तथापि, त्यो पूर्णिमाको सामिप्यले साह्रै प्रफुल्ल बन्न पुगेकी थिई ।
साउथ–इस्टर्नएभको पश्चिम किनारामा अवस्थित हेन्डरसन लग्जरी होम्स कोलोनीभित्र छिर्ने बेलामा पूर्णिमाले रिमोट थिचेर कम्पाउण्डको मूलद्वार खोली । स्क्वायर बारको लामो फलामे ढोका विस्तारै किनारा लाग्यो र तिनीहरू भित्रिएपछि त्यो फेरि आफै वरवर सर्दै आएर बन्द भयो । सरिताले गाडीको सीसाबाट बाहिरतिर हेरी । देखी, धरतीमा भखरभखर मात्र रात खस्न थालेको थियो ।
घर अगाडि पुगेर पूर्णिमाले गाडी रोकी । घरको देब्रेतिरको खण्डमा ग्यारेज, दाहिनेतिर अलिकति हरियो चउर । त्यसको छेवैमा उष्णप्रदेशीय जलवायुमा पाइने मसिना पात भएको मझौला प्रकारको एउटा बोट र त्यसको दाहिनेतिरबाट भित्रतिर गएको तीन फिट जतिको फुटपाथ । गाडीबाट ओर्लेर घरभित्र नपस्दासंम सरिताले हप्प गर्मी भएको महसुस गरी ।
बाहिरतिर सिरसिर हावा चलिरहेको थियो । घर अगाडिको गोलाकार रूखका मसिना पातहरू हावाको झोक्काले फिरफिर हल्लिइरहेका थिए । तथापि वातावरण भने निकै तातो थियो । ग्यारेजको अग्रभाग छोडेर अलिकति भित्रतिर मोडिएको अङ्ग्रेजी अक्षर एल् आकारको घर । मूल ढोकाबाट घरभित्र छिर्ने वित्तिकै बैठक कोठामा पुगिन्छ ।
घरभित्र पसेपछि बाहिर छँदा अनुभव गरिएको तातोपन एकाएक लोप भयो । ती दुवैले आनन्ददायक शितल महसुस गरे । बैठक कोठाको अगाडिपट्टि भित्तामा मझौला आकारको भित्तेघडी टाँसिएको छ । सरिताका आँखा सबभन्दा पहिले भित्ताको त्यै घडीमा पर्नपुगे । देखी, त्यति बेला साँझको साडे आठ बजेको रहेछ ।
भुईंमा भेडाको उन रङ्गको भुवादार कार्पेट, भित्ताको उत्तर–पश्चिम किनारामा एल् आकारको लग्जरी सोफासेट, बीचमा सीसाको हेभी टेबल, दक्षिणतिरको भित्ताको बीचोबीचमा बयालीस ईञ्चको फ्ल्याट स्कि«नवाला तोशिबा टि भी । भित्तामा ठाउँठाउँमा थरीथरीका तस्बीरहरू झुण्ड्याइएका छन् । बुबा–आमा, सासु–ससुरा र आफूहरू अनि छोराहरूका फोटोग्राफहरू । अगाडिपट्टिको भित्तामा बाह्र बाइ छत्तीस इञ्च साइजको नेपालको ताज सगरमाथा हिमालको चित्र छ । टि भी ¥याकमाथिको खाली ठाउँमा पूर्णिमाले मझौला आकारको नेपालको झण्डा थमपिनले चिप्काएर टाँसेकी छ । बैठक कोठाबाट दक्षिणतिर हेर्ने बित्तिकै दुईटा ढोका देखिन्छन्, किचेन र डाइनिङका । ती दुईका बीचमा भित्रपट्टि चारफिट जति उचाइको सानू आटीको बार छ, यताबाट पुगेर उताको वोसार–पसार गर्न मिल्ने । भित्र किचेनमा नै ससानू डाइनिङ टेबल छ, तयारी परिकार राख्न सकिने खालको । त्यसको दाहिनेतिरबाट बाहिर करेसाबारीतिर निस्कने ढोका छ । तर त्यो साँचैको करेसाबारी भने होइन । अधिकाङ्श अमेरिकी करेसाबारीमा झैं नै कुनै पनि प्रकारका तुलफुल र तरकारी रोपिएको छैन त्यहाँ । उत्तर–पश्चिमी र दक्षिण–पश्चिमी दुवै कुनामा निकै मोटा तर उचाइ कम भएका एक–एकवटा ताडका बोट छन, बीचमा एउटा स्विमिङ् पुल । त्यो भन्दा वर एउटा ससानो फलामे गोलाकार टेबल र त्यसको दायाँ–बायाँ त्यै प्रकारका केही थान फोल्डिङ् कुर्चीहरू । घर वरिपरि घुम्न मिल्ने ससानु पेटी । उत्तर–पूर्वतिर प्रयोगहीन अवस्थामा रहेको जमीनको सानू खाली भाग जहाँ गेरू रङ्गका गिटीका टुक्राहरू छपक्कै बिर्याइएका छन् ।
“यो तिम्रो कोठा ।” शुटकेस तान्दै ढोकाबाट भित्र पसेपछि पूर्णिमाले भनी । भित्र उत्तर दक्षिण मोहडा बनाएर राखिएको खाट देखिन्छ । मुडी हातजति बाक्लो खाटमा त्यति नै बाक्लो कडा खाले म्याट्रेस र त्यो माथि सुन्तला रङ्गको बुट्टे कटन बेडसिट । भित्ताको किनारामा पट्याएर राखिएको ब्ल्याङ्केट, दाहिनेतिरको भित्तामा कपडा राख्ने वालड्रब र त्यसलाई छोप्ने र्लाइडिङ् डोर । पूर्वतिर भित्ताको बीचोबीचमा सिलिङ भन्दा छ इञ्चजति तल भित्रै फिट गरेको ए सी र पश्चिमतिर कोठाको आकारसित मिल्दो झ्याल ।
परदेशको आफ्नो बासस्थान देखेर सरिताको मन निकै प्रफुल्ल भयो । त्यसले पूर्णिमाको अनुहारतिर हेरी, पूर्णिमा पूर्ववत् प्रसन्न र हार्दिक थिई । त्यो देखेर सरिता कृतकृत्य भै ।
“तिमी थाकेकी छौ, एकछिन आराम गर । प«mेस हुन मन लागे सावर लेउ । बाथरूम ती त्यो हो ।” विपरित दिशातिरको ढोकातिर देखाउँदै पूर्णिमाले भनी र आफू बाहिरू निस्किई ।
०००
नरेन्द्रहरू नेपालमा छँदा सरिताको परिवारसित उनीहरूको संबन्ध एकदमै सामान्य प्रकारको थियो । एउटै टोल–छिमेकका भएका हुनाले सामान्य आउ–जाऊ र बोलचाल बाहेक धेरै घनिष्टता थिएन । फेरि सरकारी जागिरे नरेन्द्रको दश–पाँचमा नै अधिकाङ्श समय व्यतित हुन्थ्यो । त्यसमा थप, अन्तर्मुखी स्वभावको मान्छे ऊ, निकै कम बोल्थ्यो । सीमित मानिसहरूसित मात्र उसको अलि बाक्लो उठ–बस थियो । सरकारी जागिर, कहिले कता कहिले कता सरुवा भैरहन्थ्यो । देश द्वन्द्वको भुमरीमा परेको थियो । सरकारी कर्मचारीहरू राजनीतिक र क्षेत्रीय प्रकारका जातीय पार्टीहरूका प्रहारका निशाना बन्न पुगेका थिए । जहाँतहीँ चन्दा–आतङ्क ब्याप्त थियो । थप, देशका कतिपय क्षेत्रमा त जातीय सद्भावसमेत खल्बलिन पुगेको थियो । मारिन, काटिन र अपहरित हुनका लागि कुनै किसिमको अपराधको आवश्यकता थिएन । अनुहारको वर्ण अनि आफ्नो पहिचानको वेशभुषा नै शत्रुताको पहिचान बन्न पुगेका थिए । मानिसहरू थर्कमान मन लिएर बाँचिरहेका थिए ।
त्यस्तै समयमा एक दिन, सामान्य प्रशासन मन्त्रालयमा कार्यत नरेन्द्रलाई दुई हप्ते छोटो कार्यक«मका लागि अमेरिका जाने अवसर प्राप्त भयो । सरकारी कामको सिलसिलामा अमेरिका पुगेको नरेन्द्रसँगै आएका अरू सबै कर्मारीहरू काम सकिएपछि नेपाल फर्किए, तर ऊ यतै लुक्यो । सधैँ लुकेर बसेर त के साध्य हुने कुरा थियो र ? केही समयपछि उसले असाइलम फाइल ग¥यो । बाबु, आमा, दश वर्षको ठूलो छोरो प्रमोद, काखको सानो छोरो सुदीप अनि स्थानीय स्कुलकी शिक्षिका पत्नी पूर्णिमालाई उतै छाडेर आएको नरेन्द्रको दरखास्त स्वीकृत भयो र उसले अमेरिका बस्ने अनुमति पायो । सिभिल इंजिनियरिङको प्रमाणपत्रतह दोस्रो वर्षमा पढ्ने ठूलो छोरो प्रमोद हजूरबुबा–आमासित नेपालमा नै बस्छ । यति बेला त पूर्णिमा अमेरिका आएको पनि नौ वर्षभैसकेको छ ।
०००
डि भी चिठ्ठाको नतिजा प्रकाशित भएर पहिलो चिठ्ठी हात परेको दिन सरिताका खुट्टा भुईँमा थिएनन् । साँझ घर फर्केपछि हर्षले विभोर हुँदै त्यसले त्यो खुसीको खबर सबैलाई सुनाई । पहिलो पटक त्यो कुरा झट्ट सुन्दा सबैलाई रमाइलो लाग्यो । तर एकै छिनपछि सरिताका बाबुको दिमाग भने अत्यास र छट्पटीको भुमरीमा परेर फन्फनी घुम्न थाल्यो । बिहे–दान गर्ने उमेरमा पुगिसकेकी बढेकी छोरी, चिन्नु न जान्नुको कहाँ न कहाँको त्यो बिरानु मुलुक । कसरी पठाउन सकिन्छ त्यसै ? ऊ भित्रभित्रै आत्तियो ।
“यो सरिते किन बुर्लुकबुर्लक उफ्रिएकी छे तेसै ? छोरीमान्छे भएर पनि चाहिँदा नचाहिँदा कुरा गर्ने ? अमेरिका कहाँ पर्छ थाहा छ तँलाई ? यहाँ मध्य दिन हुँदा त्यहाँ मध्य रात हुने यो दुनियाको पल्लो छेउ हो त्यो बुझिस् ? अनि कोसित जान्छेस्, कहाँ बस्छेस् ? क्यै सोचेकी छेस् ?” दामोदर रन्कियो । सरिताकी आमालाई पनि बुढाको कुरो एक हिसाबले हेर्दा ठीकैजस्तो लागेको थियो, तर उघ्रनै लागेको छोरीको भाग्यको ढोका बन्द हुने हो कि भन्ने कुराले ऊ भित्रभित्रै आन्दोलित र दुःखित भई ।
“आ, नचाइँदो कुरा । अ‍ैलेको जमानामा पनि तेस्तो के कुरा गर्नु भको ? हुर्केका बचरा सँधै गुणमै बसिराख्छन् कि क्या हो ? पँखेटा लागेपछि उड्चन् नै । भगुमान्ले लाउँचन् नै यौटा बाटो ।” छोरीको समर्थमा बूढी यसरी बोली ।
“भन्छेस् नि तँ, जान्नु न सुन्नुकी राँण ।” बुढीको कुरा ठीकै लागे पनि बाहिर भने दामोदरले यसो भन्यो । अचानक आइलागेको त्यो झ्याउलोमा परेर रन्थनिएको दामोदरको दिमाग केही दिनसम्म निकै अस्थीर रह्यो । त्यै मेसोमा एक दिन ऊ दुःख बिसाउन नरेन्द्रको घर पुग्यो । नरेन्द्रको बाबुसित उसको फोन र ठेगाना लिएर फर्केपछि बजारको साइबरमा पुगेर उसले नरेन्द्रसित संपर्क ग¥यो । उता नेपालका छिमेकीको फोन पाउँदा यता अमेरिकामा नरेन्द्रलाई निकै खुसी लाग्यो ।
“तपाईंले कुनै चिन्ता लिनु पर्दैन दाजु । ढुक्क हुनुस् । सरिताको भिजा लाग्यो भने यहाँ हामी सकेको मद्दत गरौँला । हाम्री पनि छोरी नै त हो त्यो ।” नरेन्द्रले ढाढस दिँदै भन्यो । त्यो सुनेर दामोदरलाई निकै आनन्द लाग्यो । ऊ प्रशन्न चित्त लिएर घर फक्र्याे ।
त्यसपछिका दिनहरूमा समय–समयमा नरेन्द्र र पूर्णिमासित तिनीहरूले फोन संपर्क गर्दैराखे । अन्तर्वार्ताको दिनमा समेत, भिसा पाउने कुराको निधो हुने वित्तिकै पनि सरिताले पहिले आमाबाबुलाई र त्यसको लगत्तै पूर्णिमालाई खबर गरेको कुरा त्यसको संझनामा अझैसंम पनि ताजै छ ।
०००
नुवाइ–धुवाइ गरेर निस्केपछि सरिता पनि किचेनतिर लागी । पूर्णिमा टेबुल सजाउन व्यस्त थिई । तामा र बोडीको ग्रेभी तरकारी, एकथोक काँक्रो र केराउ अनि अर्को भटमास र गुन्द्रुकको अचार । देख्तैमा पनि आनन्द लाग्ने एक प्रकारको नेपाली पन । मासुका विविध परिकार, सलाद अनि सीसाको ट्रेभरि राखिएका स्याउ, सुन्तला, अङ्गुर र ब्ल्याकबेरी । अर्को ट्रेभरि खरबुजाका स्लाइसहरू । डाइनिङ् टेबल खानाका परिकारहरूले खचाखच भरिएको थियो । आज सरिता आउने भएको हुनाले नै नरेन्द्र र पूर्णिमाले त्यहाँ बस्ने केही नेपाली साथीहरूलाईसमेत डिनरका लागि बोलाएका थिए ।
नरेन्द्र घर पुगेको केही बेरमा नै पाहुनाहरू आउने क«म सुरु हुनथाल्यो । मिलन र उषा, नरेश अनि शोभा, सुरेश र दुर्गा अनि केटाकेटीहरू । केही बेरसम्म सबैले औपचारिकताबस कुशलक्षम सोधपुछ गरे । सबैसित सामान्य परिचय भयो । सरिताले सबैलाई आदरपूर्व अभिवादन गरी । वातावरण क्रमशः सामान्य र सौहार्द बन्दै गयो । केही समय अघिको सुनसान वातावरण एकै छिनमा गुल्जार भयो । सात समुद्र पारिको यो बिरानो ठाउँमा पनि यति धेरै नेपाली परिवारहरूसित सँगै हुन पाउँदा ऊ हुनसम्म खुसी भै । त्यसको मन भित्रभित्रै फुरूङ्ग परेर खुवै रमायो ।
केही समयपछि सुरु भयो खानपिन । खानाको मुख्य कोर्सभन्दा पहिले एपेटाइजरका रूपमा ती सबैले आ–आफ्नु ईच्छा अनुसारका परिकार खाए । पुरुषहरू बैठक कोठामा बसेर जम्न थाले । तिनिहरूले स्कच ह्वीस्कीका ग्लासमा आइस राखे र ग्लास ठोकाउँदै चियर्स गरे । महिलाहरू भने किचेनपछाडि बाहिरको टेबल वरिपरि बसेर हल्का पेय खाँदै गफिन थाले ।
करिव बाह्र बजेतिर खानपिन सकियो र पाहुनाहरू बिस्तारै बाटो लाग्न थाले । हुरीपछिको वातावरण जस्तै एकैछिनमा घर फेरि साबिक सरह प्रायः सुनसान भयो ।
नरेन्द्र, पूर्णिमा र सानू छोरो सुदीप अनि सरिता । नरेन्द्रको तीन सदस्यीय सानू परिवारमा आजदेखि थपिन पुगेकी छ सरिता । गत अप्रिल महिनामा नवौँ जन्मदिन मनाउनु भन्दा यता आएर आजकै झैं यसरी जमघट हुने अनुकुल मिलेको थिएन उनीहरूका लागि । हेन्डरसन कम्युनिटी स्कुलमा कक्षा चारमा पढ्ने सुदीप नेपाली बोल्नुपर्दा निकै सास्ति खप्नु परे झैँ गर्छ तर त्यसले बोलेको सुन्दा भने सबैलाई एक प्रकारको आनन्द लाग्छ ।
बिहान बिउझँदा धरतीमा उज्यालो खसिसकेको थियो । सरिताले घडी हेरी, बिहानको सबा पाँच बजेको रहेछ । ए सी चलेको मधुरो आवाज बाहेक कहीं कतै कुनै साइँसवद छैन । झ्यालबाट बाहिरतिर हेरी, सुस्तरी हावा चलिरहेको छ र घर अगाडिको लाउनमा, फुटपाथ किनाराका ठाउँठाउँमा बिछ्याइएका स्पर पाइपहरूबाट पानीका सिर्काहरू छरिइरहेका छन् । लाउन भिजेर त्यसको हरियो पन झन् सुन्दर र जीवन्त देखिएको छ । बाहिरू पार्क गरिएका गाडीहरू, पिचबाटो, फुटपाथ, अलिकति परको मिनी प्ले–ग्राउन्ड र त्यस परको नीलो आकाश क्रमशः त्यसका नजरमा पर्छ्न् ।
कोही उठेको छैन । आफूमात्र अहिल्यै उठेर के गर्ने ? सरिता दुबिधामा पर्छे । बाथरूम जान्छे, प«mेस हुन्छे र कोठामा फर्कन्छे । एक छिनसम्म त्यसै टोलाएर बस्छे । त्यसपछि फेरि ओछ्यानमा पल्टिन्छे ।
साडे सात बजेतिर भान्छाबाट टाकनटुकनको आवाज आयो । त्यो सुनेर सरिता उठी र त्यतै लागी । देखी, पूर्णिमा छोराका लागि ब्रेकफास्ट तयार गर्ने तरखरमा लागेकी छ ।
“सुदीपको स्कुल आठ बजेबाट सुरू हुन्छ । म यसलाई पठाइहाल्छु पहिले । तिमी एकछिन बस्तै गर है ।” सरितालाई त्यसो भनेर ऊ फेरि भित्र पस्छे । सरिता स्वीकृतिसूचक भावमा मुन्टो हल्लाउँछे र बस्छे ।
आठ बज्न दश मिनेटजति बाँकी छँदा स्कुलबस कम्पाउण्डगेट बाहिर आएर रोकियो । पूर्णिमाले सुदीपलाई बसभित्र हुली र फर्किई । त्यसपछि नुवाइ–धुवाइ गर्न भित्र पसी ।
त्यो दिन बिहान पूर्णिमा र नरेन्द्र सरितासित सँगै बसेर हल्का ब्रेकफास्ट खाए । त्यै बीचमा तिनीहरूले नेपालका छरछिमेक, आफन्तहरू र देशको विविध पक्षका विषयमा सामान्य कुराकानी गरे । त्यसपछि साडे नौ बजेतिर नरेन्द्र आफ्नो गाडी लिएर काममा गयो ।
“सरिता, तिमी भर्खर आएकी छौ । लामो हवाइ–यात्राले तिमी थाकेकी पनि छौ । अल्लि दिन आराम गरेर बस । त्यसपछि बिस्तारै सोचौँला । सबै खाने कुरा फ्रिजमा छ । भोक लागेको समयमा जे इच्छा लाग्छ झिकेर खानु । कुनै कुराको पिर मान्नु पर्दैन । तिम्रो आफ्नै घर सम्झ यो । तिम्रै घर हो ।” नरेन्द्र गएको पाँच–सात मिनेटपछि बाहिर निस्कन लागेकी पूर्णिमाले सरितालाई भनी र ऊ पनि काममा जान आफ्नो कार हाँकेर हुइँकिई ।
किचेन र डाइनिङको बीचको आटीमा टोकरी भरि थरीथरीका फलफुल, विविध किसिमका तयारी खानाका परिकारहरूले टनाटन भरिएको फ्रिज । भित्तामा सटेको विद्युतीय चुलो र सँगैको डिस वासर, त्यसको आडैमा लुगा धुने मसिन । लुगा धोएपछि सुकाउन पनि नपर्ने, ड्रायरले नै सुकाउने ।
दिउसो सरिता सुत्न खोजी, तर त्यसलाई निद्रा लागेन । भोक लागेपछि इच्छा लागेअनुसारका परिकार झिकी, खाई र दिनभरिजसो टि भीको रिमोट थिचेर मन लागी–नलागी समय धकेली । साडे तीन बजेतिर सुदीप स्कुलबाट फक्र्यो । बल्ल त्यसको सास आएजस्तो लाग्यो । सरिताले त्यसलाई जुस, फलफुल र आइसक्रिम झिकेर दिई र त्योसित गफिन खोजी, तर सुदीप लाज माने झैं गरी मुन्टो बटारेर आफ्नो कोठातिर गयो ।
साँझ साडे आठ बजे पूर्णिमा कामबाट फर्किई । हल्का खाजा खाई र त्यसपछि तिनीहरू सुदीपलाई समेत लिएर बाहिर निस्के ।
घाम पश्चिमको क्षितिज किनाराबाट भर्खै मात्र तलतिर डुबेको थियो, तर त्यसले दिनभरि फालेर वातावरण भरि फैलिएको प्रकाशको राप भने अझैसम्म पनि निकै तातो महसुस भैरहेको थियो । करिव दश मिनेटजति हिँडेपछि तिनीहरू नर्थवेस्टएभेन्यु पार गरेर सेन्ट्रलमल परिसरमा पुगे । विशालकाय पार्किङस्थलहरू, त्यही माफिकका सपिङसेन्टरहरू लहरै छन् त्यहाँ । साम्स क्लब, प«mेड मायर, कोस्को, रसदेखि नाइन्टी नाईन डलर सपसम्म त्यही लाईनमा एकै ठाउँमा छन् त्यहाँ । प्रत्येक चिजमा मूल्यको ट्र्याग टाँसिएको छ, मोलतोलको झन्झट गर्न नपर्ने । सबै सामान चिटिक्क पारेर मिलाएर राखिएका । भित्र मानिसहरूको हुल छ, तर वातावरण निकै शान्त छ । मानिसहरू आफ्नो चाहना अनुसारका बस्तुहरू रोजीरोजी ट्रलीमा राख्तै छन् । कसैले कसैलाई डिस्टर्ब गर्दैन । आउनेहरू, जानेहरू, सबै पालो कुरेर लाइनमा बसेका छन् । एक प्रकारको अनुशासन कायम छ त्यहाँ ।
खासै किनमेल गर्न पर्ने कुरा केही नभए पनि पूर्णिमाले सरितालाई एकछिन त्यसै घुमाइदिई । सामान्य किनमेलपछि प्लास्टिकका ससाना झोला झुण्ड्याएर तिनीहरू सवा नौ बजेतिर घर फर्के ।
ग्याँस स्टेशनमा कार्यत नरेन्द्र घर पुग्दा सधैँ साडे दश बजिसकेको हुन्छ । आज पनि ऊ अघिपछिकै झैं साबिक सरह साडे दश बजेतिर घर पुग्यो । त्यसपछि तिनीहरूले सँगै बसेर खाना खाए ।
“हेर सरिता, अमेरिकन लाईफ यस्तै हो, सधैं व्यस्त । यहाँ त कोही पनि काम नगरी खाँदैन । खानै पाइँदैन । राम्रो पनि मान्दैनन् मान्छेहरूले । सुरुमा मेसो नमिलुन्जेलको कुरा भिन्दै हो । तिमी भर्खरै मात्र आइपुगेकी छौ । केही दिन थकाइ पनि मार्नुपर्छ । विक एण्डमा त राम्ररी सास फेर्ने फुर्सत पाउन पनि मुस्किल पर्छ । मङ्गलबार मेरो अफ डे छ । त्यै दिन तिम्रो सोसल सेक्युरिटी नंबरका लागि अप्लाइ गर्न जाउँला । त्यो नभै यहाँ काम गर्न पाइँदैन । नंबर आएपछि कतै न कतै काम पाइहालिन्छ । केही दिन पछि त तिम्रो ग्रिनकार्ड पनि आइपुग्छ ।” सरिताले पूर्णिमाका सबै कुरा ध्यानपूर्वक सुनी । तर भर्खर प्रवीणता प्रमाणपत्रतह पास गरेर विश्वविद्यलयको पहिलो कक्षामा प्रवेश गरेको एक जना अजनवीले झैं उसले पनि पूर्णिमाका ती कुरा आधा बुझे झैं र आधा नबुझे झैं लाग्यो उसलाई ।
हप्ताको एक दिन छुट्टी हुन्छ नरेन्द्रको । छट्टीका दिन ऊ निकै ढिलो उठ्छ । पूर्णिमा पिनट्स्मा काम गर्छे, स्टोरमा सामान मिलाउने । सुरुमा त त्यो काम गर्न उसलाई पटक्कै मन लागेको थिएन । काम सम्झ्यो कि असाध्यै दिक्क लागेर आउने । तर पछि बानी पर्दै गयो । बानी परिसकेपछि भने उसलाई त्यै काम सजिलो लाग्न थाल्यो ।
एक हप्त बित्यो । समय बिस्तारै घर्कदै गयो, तर सरिताको मनमा भने अत्यास र छट्पटीका खातहरू एकपछि अर्को गर्दै दिनदिनै थपिंदै जान थाले । सरिताले उताको र यताको जीवन दाँजेर हेर्नथाली ।
चौबीसै घण्टा आइरहने तातो–चिसो पानी, सधैं बलिरहने बिजुली बत्ती । धूवाँ धुलोको कुनै शङ्केत छैन कतै । फराकिला, चिल्ला सडकहरू । प्रत्येक भनेजसो मानिससित आ–आर्ना गाडी छन्, व्यक्तिगत । सबै मानिस काममा व्यस्त छन् । कसैलाई कसैको कुरा काटेर बस्ने फुर्सद छैन । खानपिनका लागि कुनै कुराको अभाव छैन । कुनै भेदभाव छैन । ईच्छाअनुसार रोजीछाडी किन्न पाइने । हरेक कुरामा मूल्य लेखिएको छ । मोलतोलको कुनै झन्झट छैन । सबैलाई पुगिसरी आएजस्तो । तर किनकिन सरिता यी सबै कुराबाट सन्तुष्ट हुन सकेकी छैन । जतिजति दिन बित्दै जान्छन् त्यसको नियास्रोपनको मात्रा पनि त्यतित्यति नै बढ्दै जान थालेको महसुस गर्नथालेकी छ ऊ ।
अमेरिका पुगेको नवौं दिन । आज पनि सुदीपको स्कुलबस सदा झैं बिहान साबिक समयमा आयो र कम्पाउण्ड बाहिर रोकियो । पूर्णिमा त्यसलाई भित्र हुलेर फर्किई । एक छिनपछि दुवै जोई–पोई नुवाइ–धुवाइ गरी प«mेस भए, ब्रेड र चिया खाए र आ–आफ्ना काममा जान बाटो लागे । सरिता हिजो अस्तिकै झैं फेरि आज पनि एक्लै परी । उसले झ्यालबाट बाहिरतिर हेरी । बाहिर आँखा तिर्मिराउने किसिमले एक टङ्कारको चर्को घाम लागिरहेको छ । सडकमा गाडीहरू नित्य कुदिरहेका छन्, तर मान्छेको नाम–निशान देखिंदैन कतै । त्यो भित्रभित्रै छट्पटाउन थाली । त्यसको मन यसै यसै निकै भारी भएर आयो । भोक–तिर्खा केहीको पनि आभाष हुन छाड्यो त्यसलाई । त्यसलाई घर, बा–आमा, भाइ, साथी–सँगिनी, इष्टमित्र टोल–छिमेक र गाउ–घरको खुबै याद आयो । त्यसले कति प्रयत्न गर्दा पनि समाल्न सकिन आफूलाई । त्यो भित्र पसी र ओछ्यानमा घोप्टो परेर एक्लै घुँकघुँक गर्दै रून थाली ।
बेलुकी पूर्णिमा कामबाट फर्की । उसले देखी, सरिताको अनुहार अत्यास र बेचैनीने फुरुुङ्ग उडेको छ । उसले बुझी, सरितालाई होम सिकनेसले छोएछ ।
“के भयो सरिता ? अलिकति मलिन देखिन्छयौ । बिसञ्चो त लागेन तिमीलाई ?” एउटी अनुभवी महिलाको गलाबाट निस्केको आवाज थियो त्यो ।
“होइन अन्टी । केही भएको छैन । म ठीकै छु ।” सरिताले निकै समालिएर उत्तर दिन खोजी । तर त्यसको गला बीचैमा अबरुद्ध भयो र त्यो घाँटीमा बेरिराखेको सलको फुर्कले आँसु पुछ्दै घोप्टेमुन्टो लगाएर बेस्सरी रोई । त्यो त्यसरी रोएको देखेर पूर्णिमालाई पनि नरमाइलो लागेर आयो । त्यसले सरितालाई अनेक तरहले संझाएर फुल्याउन थाली ।
सोसल सेक्युरिटी नंबर आएपछि पूर्णिमाले सरितालाई ऊ आफै काम गर्ने पि–नट्समा काम खोजीदिई । तर ती दुईको कामको प्रकृति भने फरक थियो । पूर्णिमा स्टोरमा सामान मिलाउँथी । सरितालाई उठीउठी, अझ हिंडीहिंडी लामो स्टीक भएको डन्डी समातेर स्टोर बढार्ने र पुछने काम गर्न पर्ने भयो । कामको प्रकृतिबारे सुनेपछि सरितालाई झन दिक्क लागेर आयो ।
“भो अन्टी, भयो । म अब नेपालै फर्क्छु ।” त्यो स्थितिबाट उम्कन खोज्दै सरिताले भनी ।
“त्यसो होइन सरिता । हाम्रो जिन्दगी भनेको फूलैफूलको बिछ्यौना होइन । सुनेकी हौली नि कविता र गीतमा पनि यस्ता कुरा । त्यसै लेखेका होईनन् कविहरूले । रातपछि दिन आए झैं दुःखपछि सुखका दिन पनि आउँछन् हेर एक पटक । तिमीले त के दुःख पाएकी छौ र ? यहाँ हाम्रा साथमा छौ । यो घर तिम्रो आफ्नै घरजस्तो छ । कस्ताकस्ता आपत् आइलाग्छन् मान्छेका जीवनमा ? केही समय धैर्य गरेर काम गर्दै गएपछि तिमीलाई विस्तारै सबै कुरा सहज लाग्न थाल्छ । तिमीले त्यति धेरै मिनिनेत, दुःख र खर्च गरेर उति टाढाबाट कुन मुस्किलले यहाँ आइपुग्यौ । आउन नपाई फर्केर जाँदा देख्ने मान्छेले पनि के भर्लान् ? जोरीपारी कति हाँस्लान् ? कुरा काट्ने मान्छेहरूको कुनै कमी छैन हाम्रो ठाउँमा । हो कि होइन भन त ?” सरिताले उसको कुरा सुनी मात्र तर कुनै जवाफ फर्काईन ।
भोलिपल्टदेखि तिनीहरू सँगै काममा जान थाले । सधैंजसो तिनीहरू साडे नौ बजे घरबाट निस्कन्छन् । पच्चीस मिनेटको ड्राईभमा तिनीहरू एक–आपसमा अनेक प्रकारका कुरा गर्दै जान्छन् । पूर्णिमा धेरैजसो बेलामा नेपालका विषयमा सोधपुछ गर्छे । सरिता पनि उसित अमेरिकी जीवनशैलीका विषयमा सोधपुछ गर्छे । स्टोर्स पुगेपछि ती दुवैजना कपडा बदलेर कम्पनीको ड्रेस लगाउँछन् र ठीक समयमा काममा लाग्छन् । उताण् सरकारी काम, कहिले जाला घाम जस्ता कुरामा बानी परेकी सरिताले यता आएपछि समयको महत्व धेरै बुझेकी छ ।
०००
यहाँ पनि आमाले जस्तै माया गर्न अन्टी पूर्णिमा छ । धेरै नबोले पनि कहिल्यै कुनै खराब बचन नलगाउने काका नरेन्द्र छ, घरको भाइकै ठाउँको भाइ सुदीप छ । कमाइ–धमाइबाट हुने आम्दानी पनि ठीकै छ । आफ्नै नामको ब्याङ्क खाता छ र हरेक हप्ता कम्पनीले उसको एकाउण्टमा पारिश्रमिक जम्मा गरिदिन्छ । बिमा गरेकी छ । यस बीचमा, सरिताले आमा–बाका लागि नेपालमा दुई–दुई पटक पैसा पठाइ सकेकी छ । बाबु आमा पनि छोरीको राम्रो प्रगति देखेर दङ्ग परेका छन् । यसो हेर्दा सबै कुरा ठीकठाक जस्तो देखिन्छ, तथापि किन हो किन, अमेरिका पुगेको नौ महिनासम्म सरितालाई निकै नरमाइलो लागिरह्यो ।
यति बेला आएर भने सरिताको जीवनमा धेरै कुरा फेरिइसकेका छन् । उसको आफ्नै गाडी छ, बंैकको ऋणमा किनेको । आफै गाडी चलाएर अफिस जान्छे । अफिस समयपछि साँझमा प्रायः ऊ घुम्न जान्छे । भेगासको नाईट लाईफ निकै रङ्गिन छ । नेपालमा अरूले मिनी–स्कट लगाएको देखेर लजाउने सरितालाई अमेरिकामा भने अनौपचारिक भ्रमणमा निस्कँदा क्याजुवल ड्रेस खुबै मन पर्छ । त्यसमा पनि गर्मी महिनामा त स्लिभलेस स्यान्डो र तिघ्रामा टिपिक्क टाँसिने छ ईन्चजति लामो हाफ प्यान्ट त्यसका प्रिय ड्रेस हुन् । यस बाहेक भेगास स्ट्रिपमा यत्तिकै टहलिँदा भेट भएको एकजना गोरेकान्छो प«mेडलाई साथी बनाएकी छ त्यसले ।
हप्तामा एक दिन अफ हुन्छ । अफ डेमा सरिता बिहान अबेलासम्म सुत्छे । दिउँसो फ्रेड र ऊ आउटिङमा जान्छन् । नजिकका, भेगास बे, टेम्पल हिलदेखि लस एञ्जेलसको न्यु पोर्टबीच अनि सन प«mान्सिसको प्वाइन्ट रिआईज् सबै सँगै चाहारिसकेका छन् ती दुईले । डाउनटाउन भेगास र सिटी सेन्टर त तिनीहरूका प्रिय क्रिडास्थल नै हुन् । पैसावालहरूको गन्तव्य प्याराडाइज नामले प्रसिद्ध भेगासको सिटी सेन्टरका भेगास स्ट्रिप, पेरिस स्वायर र त्यहाँको संगीतमय पानीनाच, कृतिम आकाशयुक्त सिजर प्यालेस र आर्गस अनि साउथ प्वाईन्ट, त्यहाँका क्यासिनोहरू र त्यहाँको रात्री जीवन प«mेड र सरिताका लागि पनि खुवै रमाइला ठाऊँ बन्न पुगेका छन् आजकल ।
डे अफका दिन उठेपछि सरिता सधैंजसो प«mेडको घर पुग्छे । तीन महिना पहिले मात्र आफ्नी पुरानी केटी साथीसित संबन्ध तोडेको प«mेडले केही समय पहिलेदेखि सरितासित नाता गाँसेको कुरा उसका ड्याड–मम दुवैलाई थाहा छ । कहिलेकाहीँ बाबु–आमालाई भेट्न जाँदा पहिले ऊ जेनीको हात समातेर घरभित्र पस्थ्यो, बीचमा एक्लै जान थाल्यो र कुराको प्रशङ्गमा एक पटक उसित नाता तोडिएको कुरा उनीहरूलाई सुनायो प«mेडले । अहिले, कहिलेकाहीं ऊ त्यसरी नै सरिताको हात समातेर त्यहाँ पुग्छ र केही समय बसेर फेरि आफ्नै अपार्टेन्टमा फर्कन्छ । साँझ सरिता र प«mेड दुवैजना सँगै घुम्न, बस्न र खान मन पराउँछन् । तर तत्कालै एउटै अपार्टेन्टमा बस्ने कुरा भने ती दुवैले निधो गरिसकेका छैनन् । ती दुई भेट भएको साँझ असाध्यै चाँडै, एक्कैछिनमा घर्किएर गएकोजस्तो लाग्छ ती दुवैलाई । त्यस्तो समयमा सरिता रात निकै छिप्पिएपछि, अबेला मात्र घर फर्किन्छे ।
उता नेपालमा बा–आमा र भाइसित पनि समय–समयमा स्काइपमा कुरा भैरहन्छ सरिताको । एक–आपसमा हेराहेर गर्दै आमने–सामने बसेर कुरा गर्नपाइने । विज्ञान र प्रविधिको त्यो चमत्कार देखेर सरिताका बा–आमा औधी हर्षित छन् ।
“नरेन्द्र काका र पूर्णिमा काकीलाई पनि हाम्रो तर्फबाट धेरैधेरै संझना सुनाई दिएस् है छोरी ।” छोरीको सबै हाल–खबर सोधेर आधा घण्टासम्म आफूतिरका पनि झिना–मसिना कुरासमेत भनीसकेपछि बिदा हुने बेलामा सरिताका बा–आमा सधैंजसो यही कुरा दोहो¥याएर भन्छन् ।
“हस्, हुन्छ, म अङ्कल–अन्टीलाई सबै भनीहाल्छु नि ।” सरिता पनि बा–आमासित कुरा गरिसकेपछि सधैँजसो यसो भन्दै स्काइप डिस्कनेक्ट गर्छे ।

टकोमा, वासिङ्टन, अमेरिका ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 15 आसाढ, 2070

लेखकका अन्य रचनाहरु