फ्रिडम टु डाइ

- निर्मल ज्ञवाली

“नमस्कार! म पत्रकार खुशी ।” मैले हात जोडेर नमस्ते गर्दै भने “हिजो हजुरलाई अन्तर्वार्ताको लागि फोन पनि गरेकी थिएँ नि !”
“नमस्ते! हजुर मलाइ याद आयो ।” उसले मुस्कुराउदै अगाडीको कुर्ची देखाउदै भन्यो “बस्नोस न ।”
एक जना अधबैसे मानिस मेरो अगाडी थियो । सायद उ त्यो कुर्चीमा नबसेको भए मैले चिन्ने थिइन होला । सेतो सिल्क सर्ट, कालो पाइन्ट, अलिकति अगाडी झरेको सिल्की कपाल, सर्लक्क परेको जिउ अनि हँसिलो अनुहार । मैले कल्पना गरे भन्दा पूर्ण रुपमा फरक ।
जब मैले संस्थाको नाम सुने तब मेरो मनमा आएको थियो यसको संस्थापक पक्कै पनि बुढो, जिन्दगी देखि हारेको, फ्रस्ट्रेड, कुनै झ्याउ लाग्दो मान्छे होला । तर उ मेरो सोच बिपरित प्रसन्न मुद्रामा एक ह्याण्डसम मानिस अगाडी देखिएको थियो, आफ्नै आँखालाई बिश्वास नलाग्ने गरि ।
अफिस पनि सोचे भन्दा फरक । सोचेकी थिएँ मृत्यु सूचक कालो रंगले पोतिएका भित्ता र लथालिंग भएको कोठाहरु होलान । जसरी उनीहरु मृत्युको लागि काम गर्छन त्यसै गरि अफिस पनि मृत अवस्थामा होला भन्ने मेरो अनुमान थियो । तर त्यो त पूर्ण रुपमा जीवन्त थियो ।
“मेरो कल्पना भन्दा यहाँको वातावारण फरक लाग्यो ।” मैले एकैछिनको मौनतालाइ चिर्दै कुरा शुरुगर्ने बिचारले भने ।
उ हाँस्यो ।
“प्राय मान्छेहरु यहाँ आउनु अघि यस्तै सोच्छन ।” अलिकति घमण्ड मिश्रित भावले उसले भन्यो ।
सायद यो संस्था चलाउनुमा उसले आफुलाई अत्यन्त गर्व गर्छ ।
“तपाइँको संस्था ‘फ्रिडम टु डाइ’ को बारेमा केहि भनिदिनुहुन्छ कि?” मैले कपि र कलम ठिक पार्दै उतिर फर्केर भने ।
“हामी मान्छेहरुलाई मर्न प्रोत्सहान गर्छौं ” उसले कुर्ची अलिकति अगाडी सार्दै भन्यो ।
कत्रो आत्मबल उसको? यसरि बोल्दै थियो लाग्छ कि उ मान्छेहरुलाई चन्द्रमामा बसाइ सराइ गराउदै छ ।
“भन्नाले?” मैले अस्पष्टोक्ति व्यक्त गरें ।
“कफी पिउनुहुन्छ?” उसले मेरो प्रश्नलाइ वेवास्ता गर्दै भन्यो ।
“भैगो, म कफी पर्सन होइन ।”
“ठिकै छ” उ फेरी गम्भीर मुद्रामा फर्कदै भन्यो “हामी कहाँ थियौं रे?”
“अँ, हाम्रो संस्थाको बारेमा …… त्यो त स्पष्टै छ । यसको मुख्य उद्देश्य नै मान्छेले मृत्यु वरणलाइ स्वतन्त्र रुपले छान्न पाउनु पर्छ भन्ने हो । जसरी खाने, लाउने, पढ्ने, काम गर्ने आदि कुराहरुमा मान्छेले स्वतन्त्र भएर आफु खुशी निर्णय गर्न पाउछ । त्यसरी नै उसले मृत्युको समय र तरिका पनि छान्न पाउनु पर्छ ।”
“यो त अमानवीय भएन र?” मैले आश्चर्य व्यक्त गरें “यो त सिधै अपराध भो नि होइन र?”
“हो! तपाइँले भनेको ठिक हो । यसलाई कानुनीले रुपले हेर्ने हो भने पनि अहिले सम्म अपराध नै भनिन्छ । र अहिले चलनचल्तीका आत्महत्याहरु अमानविय पनि छन । जब मान्छेले कुनै काम लुकेर गर्छ त्यो अपराध ठहरिन्छ र त्यसको प्रक्रिया पनि अमानवीय हुन्छ । हामी त्यसैको बिरोधमा छौं । मान्छेले अब यो लुकेर गर्न नपरोस र अमानवीय तरिकाले पनि गर्न नपरोस ! हामी त्यहि चाहन्छौ । त्यसैले हामी यसलाई बैधानिक बनाउने कोशिश गर्दै छौ ।”
“म त तपाइँको कुरामा अझै स्पस्ट हुन सकिन नि । वास्तवमा तपाइँ किन मान्छेले मर्न पाउनुपर्छ भन्नुहुन्छ?”
“हेर्नोस, यो संसार यति भ्रस्ट हुदै गएको छ कि जताततै समस्या नै समस्या छन । मान्छेहरुले धेरै दुख पाइरहेका छन, शहर होस या गाउँ मान्छे पिडित भएका छन । जीवन अत्यन्त कस्ट हुदै गैरहेको छ । यस्तो अवस्थामा मानिस मुक्ति चाहन्छ । यी सब समस्या, गन्जागोलबाट पर बस्न चाहन्छ । हामी ति मानिसहरुलाई मुक्तिको लागि मर्न प्रोत्साहन गर्दै छु । के यो मान्छेको स्वतन्त्रता होइन र?”
“त्यसरी त मान्छे गैर जिम्मेबार हुदैन र?”
“जिम्मेबारी केलाइ भन्नुहुन्छ तपाइँ? तपाइँ सानो घर भित्र हुनुहुन्छ । बाहिर निस्कनुहोस, संसार ठुलो छ । भावुक भएर मात्रै हुदैन । अनि यो संसारको जनसंख्या पनि त बढेको बढयै छ । यसलाई पनि त कन्ट्रोल गर्नु पर्यो ।”
“जनसंख्या कन्ट्रोल गर्ने नाममा मानवको हत्या नै गर्नु त भएन नि ?”
“हेर्नोस! तपाइँ गलत बुझ्दै हुनुहुन्छ । हामीले यहाँ हत्या गर्ने भन्न खोजेका छैनौ । हामी त मानव स्वतन्त्रताको कुरा गर्दै छौं । हामी कसैलाई दबाब दिन चाहदैनौ । बरु समस्यामा परेका हरुलाई हामी प्रोत्साहन गर्छु । काउन्सेलिंग गर्छौं । र उनीहरुलाई उसको अगाडी भएका बाटाहरु देखाउछौ । जसले गर्दा उसले स्वतन्त्र रुपले आफ्नो इक्षा अनुसारको बाटो छान्न पाओस ।”
“यदि कोहि मान्छेले मर्ने निणर्य गर्यो भने तपाइँ के गर्नु हुन्छ ?”
“हेर्नोस! हाम्रो संस्थालाइ यो सम्पूर्ण प्रक्रियाको व्यवस्थापन गर्न त्यति सजिलो त छैन । तर पनि हामी हाम्रा ग्राहकहरुलाई पूर्ण रुपमा सन्तुष्टि दिने कोशिश गर्छौ ।”
“कसरि?”
“अहिले सम्म यो हाम्रो काम गैर-कानुनि छ । त्यसैको लागि त हामी लड्दै छौं । गैरकानुनि हुदाँहुदै पनि हामीले अत्यन्त सावधानीका साथ इक्षुक ग्राहकहरुको राम्रोसंग सेवा गर्दै आएका छौं । र प्राय सबै सन्तुस्ट नै छन् । कसैको कुनै कम्प्लेन दर्ता भाको छैन । त्यो मृत नगरको डाडोमा हाम्रो अड्डा छ । जहाँ हामीले सार्वजनिक कार्यक्रम गरेर मान्छेलाई स्वतन्त्र रुपमा मर्ने प्रावधान मिलाउछौँ ।”
“मृत नगर?”
“हो तपाइँलाइ नाम नयाँ लाग्यो होला । यो हाम्रो संस्थाले नै राखेको नाम हो । यसको कुनै निश्चित स्थान हुदैन । यदि निश्चित स्थान मै हामीले यो कार्यक्रम गर्यौं भने त सरकारले सिधै हस्तक्षेप गरिहाल्छ नि । त्यो स्थानको जानकारी हामीले अघिलो दिन हाम्रा संस्थाका सम्पूर्ण सदस्य र मृतक स्वयं र उसका परिवार, आफन्त हरुलाई म्यासेज द्वारा जानकारी गराउछौं । तर यो कुरा ढुक्क हुनुहोस कि त्यो कार्यक्रम स्थल प्राकृतिक र स्वच्छन्द हुन्छ । त्यस कुरामा हामी सधै सचेत छौं र सक्दो रुपमा उत्कृष्ट सेवा दिने कोशिश गर्छौं ।”
“अनि यस कार्यक्रमलाइ प्राइभेट नगरेर सार्वजनिक गर्नु पर्ने आवश्यकता किन?”
“तपाइँले अझै हाम्रो उद्देश्य बुझ्नु भएनछ । हामी त्यो अपराधिक रुपमा लुकेर गरिने आत्महत्यालाई बैधानिक र स्वतन्त्र बनाउने कोशिश गर्दैछौं । हाम्रो उद्देश्य नै मर्ने मान्छेलाई अपराध गर्दैछु भने फिल नहोस र स्वन्त्र रुपले खुशीका साथ मर्न पाओस भन्ने हो । र अर्को कुरा हामी सार्वजनिक रुपमा मान्छेहरुको भेला गरेर उनीहरुलाई मृत्युवरण गर्नलाइ प्रोत्साहन गर्दैछौं । यो कुरा भन्दै छौं कि मृत्यु अपराध होइन, विशुद्द प्राकृतिक कुरा हो र हरेकले यो छान्न पाउने अधिकार हुनुपर्छ ।”
“मृत्यु कसरि प्राकृतिक हुन सक्छ?”
“हेर्नोस! यो संसारमा मानव जातीको लागि एउतै कुरा सत्य छ त्यो हो मृत्यु । जन्मको कुनै निश्चिन्ता छैन । गास, बास कपासको कुनै ठेगान छैन । कुनै कुरा यो संसारमा नित्य छ भने त्यो हो मृत्यु । मानिस मात्र होइन कि हरेक प्राणि यो संसारमा आइसकेपछि मर्ने पर्छ र त्यसको टिकट हामी सबैले लिएर आएका हुन्छौं । कुरा ढिलो चांडो को न हो?”
“आफै काल आएर हुने मृत्युलाइ पो प्राकृतिक मृत्यु भनिन्छ, होइन र?”
“तपाइँको सोच सहि हो ! तर यो पुरानो सोच हो । मान्छे जति बुढो हुदै जान्छ यति क्षीण हुन्छ कि उ मृत्युका लागि पनि असक्षम हुन्छ । उ चाहेर पनि मर्न सक्दैन । जिउनु त उसको वस भन्दा पर भइसकेको हुन्छ तर मृत्यु पनि उसको अधिन बाहिर हुन जान्छ । त्यो मान्छेको अत्यन्त पीडादायी समय हो । हामी मान्छेलाई त्यो स्टेज सम्म पुग्नु भन्दा अघि नै उसले सजिलो बाटो रोजोस भनेर प्रोत्साहन गर्छौं ।”
“मृत्युका लागि पनि असक्षम? मैले अलि बुझिन नि !”
“हेर्नोस तपाइँले समाचारमा पनि सुन्नु भएको होला । क्यान्सर, प्यारालाइसिस लागेको मान्छेले हस्पिटलको शैयबाट सरकारसंग मृत्युको लागि भिख मागेको । आफ्नो मृत्युका लागि सरकारसंग भिख माग्नु पर्ने अवस्था कहाँ बाट आयो? त्यहि नै हो मर्नकालागि असक्षमता भनेको । त्यो परिस्थितिमा मान्छे मर्नकालागि पनि असक्षम रहन्छ । त्यसैले हामी यस विरुद्द लडाई लड्दै छौं र मान्छेलाई पनि आफ्नै मृत्युको लागि सचेत गराउदै छौं !”
“तपाइँहरुको मृत्युको प्रोसेस कस्तो हुन्छ? के पूर्ण रुपमा प्राकृतिक नै हुन्छ?”
“हेर्नोस! ग्राहकहरुको सन्तुष्टि नै हाम्रो प्रमुख उद्देश्य हो । हामी उनीहरुलाइ सक्दो सहज मृत्यु दिन्छौं । अहिले सम्म हामीले भेटाएकोमा पोटासियम साइनाइड नै सबै भन्दा छिटो र प्रभावकारी बाटो हो । तर हामी यो भन्दा पनि अझ प्रभावकारी औषधिको लागि रिसर्च गर्दै छौ । त्यसको लागि हामीलाई सरकारको सहयोग चाहिएको छ ।”
“यो त मान्छेले घरमै गर्न पनि त सक्छ नि । तपाइँको संस्था सम्म किन आउनु पर्यो?”
“तपाइँले सही भन्नु भो । हाम्रो मुख्य बिशेषता भनेको मृत्युको प्रोसेस पनि हो । सबै मान्छेले पोटासियम साइनाइड सजिलै चाहेको बेला प्राप्त गर्न सक्दैन । अनि मान्छेले अनेकौ कस्टकर उपाए अपानाउछ । सिलिंगमा झुन्डिने, चक्कुले नशा काट्ने, मुषा मार्ने बिष खाने, छत बाट हाम फाल्ने, नदीमा डुब्ने, ट्रेनको लिकमा सुत्ने, आफैलाई आगो लगाउने आदि । यी सब कस्टकर प्रोसेस हुन । जुन अमानविय हो । हामी यसको अन्त्य गर्न चाहन्छौं । र धेरै जसो मान्छेले मृत्युलाई सजिलै स्वीकार्न नसक्नु पनि यसको डरलाग्दो प्रोसेसले हो । यदि मान्छेले अनान्ददायी मृत्युको बाटो रोज्न पाउथ्यो भने अहिले संसारमा अहिले धेरै मान्छेले गरिसक्थे । यत्रो जनसंख्या, यो कम्पिटिसन, संघर्ष सबै कुरा कम हुन्थ्यो र जीवित हरुको जीवन स्तर पनि धेरै माथि हुन्थ्यो ।”
“अर्को कुरा बिपीले जेल जर्नलमा भने जस्तै संसारमा जाँगरको कामीले धेरै आत्महत्याहरु रोकिएका छन् । मान्छे जब सबै कुरा बाट बिरक्तिन्छ नि उसंग आत्महत्या गर्ने पनि जाँगर बाँकी रहदैन । र अघि मैले उदाहरण दिए जस्तो मृत्यका लागि पनि असक्षम मान्छेहरुको लागि पनि त कुनै उपाए हुनु पर्यो नि । उनीहरुको पनि अधिकारको कुरा आउछ ।”
“अनि तपाइँको संस्था रातारात प्रख्यात हुदै छ रे? त्यसको बारेमा के भन्नुहुन्छ?”
“हो हामीले यो बर्ष राम्रो उपलब्धि गरेका छौं । अहिले विश्वका २० वटा देशहरुमा मान्छेहरुले हाम्रै नाममा संस्था खोलिसकेका छन् । र अन्य धेरै देशहरुबाट पनि इमेलहरु आइरहेका छन् । हामीले यसलाई फ़्रन्चाइज्को रुपमा अगी बढाउने पनि सोच बनाएका छौं । जसले हाम्रो संस्थाको आर्थिक स्थिति पनि धान्न सजिलो हुन्छ र ग्राहकलाइ अझ धेरै गुणस्तरीय सेवा पनि प्रदान गर्न सक्ने छौं ।”
उसका कुराहरु सुनिरहँदा लाग्छ कि यो कुनै मानव अधिकारको लागि काम गरिरहेको ठुलै संस्था हो । उसको काम र उद्देश्यहरु प्रति पूर्ण रुपमा भने बिश्वस्त हुन नसके पनि म भने उसबाट प्रभावित भैसकेकी थिएँ ।
“खुशी लाग्यो । तपाइँको महान विचारहरु सुन्न पाउदा ।” मैले मुश्कुराउदै भने “आजको अन्तर्वार्ताबाट म व्यक्तिगत रुपमा पनि तपाइँ, तपाइँको सोच र तपाइँको कामबाट प्रभावित भएँ ।”
“मलाइ मेरो बिचारहरु राख्न दिएर म र मेरो संस्थाको कामलाई प्रचार प्रसार गर्न सहयोग गर्नुभएकोमा तपाइँलाइ पनि धेरै धन्यबाद ।”
“फेरी भेटौंला ।”
म हात जोडेर कोठा बाट बाहिर निश्कन्छु ।
अझै पनि म उसकै कुरामा अल्झिरहेछु । लाग्दै छ कि मनले सजिलै स्वीकार्न नसके पनि उ सहि नै छ, उसका बिचारहरु जायज नै छन् ।
एकैछिन जहीं को तहीं अडीन्छु । के कुरा खड्किए जस्तो लाग्छ । अनि एक्कासी अन्तरद्वन्दी विचार सल्बलाउदै आउछ – के म पनि मुक्तिको बाटो रोज्न सक्दिन र?
म पुन उसको कोठामा फर्कन्छु । मलाई थाहा छैन म किन फर्कदै छु ।
“फेरी आउनु भो त?” उसले म तिर हेर्दै भन्छ “आउनुस आउनुस! केहि बिर्सनु भो कि?”
उ त्यहि नै कुर्चीमा त्यसरी नै बसेको छ ।
म एकै छिन मौन हुन्छु । यस्तो लाग्छ कि यो कोठामा म पहिलो पटक प्रवेश गर्दै छु । र उसलाई पनि म पहिलो पटक देख्दै छु ।
“तपाइँको अबको कार्यक्रम कहिले छ?” म केहि डराएको भावमा उ तिर नहेरी गरि प्रश्न गर्छु । लाग्छ कि मलाई उसंग आँखा जुधाउने कुनै हिम्मत छैन । के म उसबाट सम्मोहित भएकी छु?
“आउदो शनिवार ! दश जना दर्ता भएको छ ।” उसले फाइल पल्टाउदै भन्छ ।
“अबको दुइ महिना पछिको लागि नाम दर्ता गर्न मिल्छ?” मैले आँखा भुइँ तिर झुकाएर भन्छु ।
“हुन्छ, २२ तारिकमा दुइटा सिट खाली छ ।” उसले अर्को फाइल निकालेर हेर्दै भन्छ “कसको लागि?”
म भावुक हुन्छ । बोल्न खोज्छु तर शव्द निश्कदैनन ।
“मेरै लागि” म त्रसित मुद्रामा भन्छु “खुशी सापकोटा”
के म अपराध गर्दै छु? किन म यति त्रसित छु? मलाइ लाग्दै छ म डरले पुरै राती भएकी छु ।
“बधाई छ ! स्वतन्त्र निर्यणको लागि!” उ कुर्ची बाट उठेर म तिर आउछ र हात अघि बढाउदै भन्छ ।
म उ तर्फ हात अघि बढाउछु । ओहो कस्तो अचम्म ! उसको स्पर्शले ममा छुट्टै उर्जा पैदा गर्छ । उसमा जादु छ ! अकल्पनीय जादु!
“अनि किन दुइ महिना पछि?”
“म जानु अघि संसार घुम्न चाहन्छु !” म अलिकति आफै देखि प्रशन्न भएको मुद्रामा भन्छु । के उसको स्पर्श पछी मेरो निर्णयमा उर्जा थपिएको हो?
“मर्नु अघि संसार देख्ने र बुझ्ने रहर कसको हुदैन र?” म थप्छु ।
उ हाँस्छ ।
“एकदम सहि बिचार” उ मुस्कुराउदै म तर्फ फर्केर भन्छ “मैले पनि छ महिना पछिको लागि दर्ता गरेको छु ।”

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 15 आसाढ, 2070

लेखकका अन्य रचनाहरु