मध्यधार

- सञ्जु बजगाईं

सन् २०११:

“टी. भी. अन गर ।”

हतारिदै मेरी श्रीमती अनन्तीले मलाई आदेश गरी । मैले टी. भी.बजाउँदा सबैजना एउटा घोडाले तानेको बग्गीमा गुडिरहेका थिए ।

“क्या रोमान्चक यात्रा........!” हँसमुख देखिने एउटी उत्साहित हुँदै बोली ।

“कसरी एउटा घोडाले यत्रो बग्गी तानेको होला !” अर्कीले खस्रो आवाज गरी ।

“अश्व शक्ति !” भ्याम्ल्याङ्ग कपाल भएकोले थप्यो ।

टक्.....टक्.....टक्.......! बग्गीभित्रका बेलायती तन्नेरीहरुका आवाज नसुनेझैं गरेर बग्गी भने आफ्नै गतिमा गुडिरह्यो ।

“गोरु गाडा र यो बग्गीमा के फरक ?” म बोलें । अनन्तीले आँखा तरी ।



चारैतिर हरियाली ! कलकलाउँदा मकैका बोट हुर्किएका फराकिला टार, छेवैमा सानो पोखरी, बैंश पोखेर फुलेका रङ्गीबिरङ्गी फुल, नासपाती र आरुका बगैँचा, घाँसे चरनमा छाडा छाडेका चिल्ला लरक्क परेका घोडा अनि चराहरुको चिर्बिराहट ! छेउछाउ ठुला सेता घरहरु ! आँगनमा टाँगेका डोरीमा लस्करै सुकाएका निला र सेता सुक्सुकाउँदा लुगाहरु ! आनन्दै लाग्दो देखिन्थ्यो वरिपरी ।



“योभन्दा रहरलाग्दो छ हाम्रातिर ।” मैले अनन्तीले सुन्ने गरी फेरी थपें ।

“तिमी उस्तै रहरलाग्दो !” अनन्तीले होच्याएर बोली ।

हेर्दाहेर्दै गुडेको बग्गी एउटा बस्ती छेउको चौकमा पुगेर रोकियो ।

‘मिडलफिल्ड पेन्सिलभेनिया........!’ सडक किनाराको एउटा बोर्डमा लेखिएको थियो–‘शेयर द रोड !’ मेरा आँखा त्यसमा परे । कस्तो घत लाग्दो कुरा ! सडक कसैको निजी बनाउन मिल्छ त ? थोरै शब्दले कति ठूलो अर्थ बोकेको ।



बग्गी रोकेको अर्को छेउमा चाहिँ जुँगा खुर्किएर लामा दाह्री मात्र राखेका, ‘सस्पेण्डर’ हालेका पाईन्ट अनि भूसे गोलाकार टोपी पहिरेका केही लोग्ने मान्छेहरु अनुशासित भएर उभिएका थिए । देख्नमा मभन्दा भिन्न तर म जस्तै लोग्नेमान्छे सलबलाउन लागे । म भाव शुन्य हुन पुगेँ ।

लोग्नेमान्छेहरु देखेर तन्नेरीहरु भने उत्साहित हुँदै बग्गीबाट ओर्लन थाले । तन्नेरीहरु कसैका कानमा आईफोनका तारहरु जोडिईएका, कसैका हातमा बोकेका फोनमा फेसबुकका पानाहरु खुला थिए । कसैका टाउकामाथि ‘हेड फोन’ अडिएका । केटी जतिका हाईहिल र छोटा स्कर्ट ! केटाजतिका घुँडासम्म जाँङ् झोलिएका पाईन्ट ! राता र बैगुनी रङ्ग पोतेका कपाल !! हात्तीकाने काला ‘सनग्लास’ले आधा अनुहार छोपेका ‘अल्ट्रा मोर्डन’ भन्न रुचाउने तिनीहरु एक अपरिचित ठाउँमा पुगेर लस्करै उभिएका थिए । तिनैमध्येको एक थियो– मेरो छोरो अम्बरीश !

“संसारकै ठुलो ‘एमिश’ बस्तीको केन्द्रमा तपाईंहरुलाई स्वागत छ ।” बग्गी छेउ उभिएका मान्छेहरुको बीचबाट झुस्स लामो दाह्री कन्सिरीसम्म जोडेर पालेको पातलो ज्यानको मान्छे अघि सर्दै बोल्यो ।

“जे थियो त्यो पनि गुम्यो अब ।” मेरो अन्र्तमन छड्किएर भन्न थाल्यो यता – अब पानीमा डुबाउनै के बेर लाग्ला र !”

अठारौं शताब्दीमा युरोपको अत्याचार र उत्पीडन खप्न नसकेर भागेका आएका लामा दाह्रीवाला कट्रपन्थी क्रिश्चियनहरुको बस्तीमा अनन्तीले के–के न सिक्न भनि पठाएकी अम्बरीशलाई । पुरातनवादी धार्मिक सिद्धान्त मान्ने यीनीहरु आधुनिक संसारलाई बहिस्कारै गर्छन् अरे ! अम्बरीले के सिक्ला ? म अलमलमा थिएँ ।

“मेरो छोरो अम्बरीश ! नेपाली मूलको क्षेत्रीको सन्तान पो त ! उसले जे सिक्नु र बुभ्नु पर्ने हो त्यो कुरा न सिकेको छ, न बुझेको । स्वार्थी गुजरातीले उसलाई कुरा बुझ्न दिएकै छैन । म त लाछी बाबु !” हीनताबोधमा आफ्ना पाखुराका बाक्लो छाला आफ्नै हातले सुम्सुम्याउँन थालें ।

पश्चातापमा हुँडलिएर मात्र के गर्नु ? मैले हेर्दाहेर्दै उता अम्बरीश भने दाह्रीवालको घरको आँगनसम्म पुगिसकेको थियो ।

“हाम्रो घरमा तपाईंहरु सबैलाई स्वागत छ ।” घरको मुल ढोकातिर देखाउँदै दाह्रीवाल बोल्यो ।

सेतो विशाल आकर्षक घर । घरभन्दा पनि ‘भिला’ भन्न रुचाएँ मैले ।

‘गड ब्लेस आवर होम !’ घरको ढोका माथि काठको टुक्रामा खोपिएका अक्षरहरु प्रष्ट देखिए ।

अम्बरीश दाह्रीवाललाई पछ्याउँदै त्यही ढोकाबाट भित्र पस्यो । म जिल्ल परें ।

“यो घरको मूली म, उनी मेरी श्रीमती मारियाना र यी दुई मेरा छोरीहरु सारा र हाना ।” घरभित्र पस्नासाथ दाह्रीवालले तन्नेरीहरुलाई आफ्नो परिवारको औपचारिक परिचय गरायो ।

लामा सुनकेस्रे कपाल, कैला आँखी भौं अनि निला आँखा भएका दाह्रीवालका गोरा सुन्दर छोरीहरु अपरिचित पाहुनाहरु देखेर मुस्काउन लागे । श्रीमती उस्तै हँसिली । गोरो अनुहारमा, नीला आँखाहरु अनि गुलाबी ओठ ! बिना श्रृगार नै सुन्दर देखिएकी थिई ऊ । उसका तरुनी दुई छोरीहरुलाई देखे पछि त मेरो होशै हरायो ।

......................

“स्पोन्सर्ड बाई होन्डा.............!” एक खण्ड सकिएर टीभीमा अर्को खण्ड शुरु भैसकेको थियो ।

दाह्रीवालाको घरको डाईनिङ्ग हल देखियो । गज्जबको ठूलो डाइनिङ्ग टेबलका परिपरी दश–बाह्रवटा कुर्सीका लस्कर देखिन्थे । संग्राहलयमा सजाए जस्ता मुल्यवान चित्रहरु भित्तामा झुण्डिएका थिए । चम्किला फुलदानीहरु कोठाका चारै कुनामा सजिएका थिए । भुँईमा ओछ्याएको कार्पेट उस्तै सुन्दर । काठका फर्निचरहरु हेर्दै लोभलाग्दा । कोठाका ठुल्ठुला भ्यालबाट बाहिरको बगैचाको सुन्दरता कोठा भित्र बसिबसि देखिने । बाहिरबाट छिरेको उज्यालो भरिएर सुक्सुकाउँदो कोठा झन् झलमल । बयान गरि नसक्नुको सुन्दरता देखेँ मैले ।

“यता कुर्सीमा बसौँ । खानेकुरा खाँदै कुरा गरौँ ।” बैठकबाट निस्किएर डाईनिङ्ग टेबलतिर संकेत गर्दै दाह्रीवालले भन्यो ।

दाह्रीवाल बस्ने मुख्य स्थानको कुर्सी छोरीले तानिदिई । उसले प्रेमपुर्वक छोरीको टाउको सुम्सुम्यायो । अरु पनि आ–आफ्ना कुर्सीमा बसे । पाहुनाहरुलाई स्वागत गर्ने मौका दिएकोमा भगवानलाई धन्यवाद दिदै सबैको खुशी र सुखको कामना स्वरुप दाह्रीवालले छोटो प्राथना गर्यो ।

“कस्तो सुन्दर डाईनिङ्ग हल !” यता अनन्ती तीनछक्क पर्दै बोली “मान्छे हेर्दा त्यस्ता भएपनि क्या गजबको घरमा बस्दा रहेछन् !” “हठी आईमाई !” उसको एकाङ्कीपनले पश्चाताप गरोस् न कुनैदिन भनेर मैले उसका कुरामा सही थपिन । फेरी बोल्यो कि पोल्यो ! मैले उतिर ध्यान नदिए जस्तो गरें ।

“तिमीहरु भिन्न संस्कार र संस्कृतिबाट आएकाहरुलाई म हाम्रो संस्कार र संस्कृतिको छोटकरीमा ब्याख्या गर्न चाहन्छु ।” आलमण्डका दाना हातमा लिएर दाह्रीवाल क्याप्टेन शैलीमा बोल्न शुरु गर्याे ।

मेरो मनमा चिसो पस्यो । उही चिसो जसको भयले म कठयाङ्ग्रिएको छु । मैले कान ठाडा पार्दै अम्बरीशको अनुहारतिर पुलुक्क हेरें । “अब के भन्ला........!?” सबका अनुहार मलिन देखिन्थे । अम्बरीशका आँखीभौं खुम्चिसकेका थिए ।

“हाम्रो संसार तपाईहरुले भोगेकोभन्दा भिन्न छ ।” टेबलमा कुहिना अड्याएर उसले कुरा शुरु गर्यो र बिस्तार लगायो– “हामी परिवारलाई सबथोक मान्छौ ; बाहिरी संसारसँग सम्बन्ध राख्दैनौ । तपाईंहरुले बोक्नु भएका जतिपनि इलेक्ट्रोनिक्स सामान छन् सबै कोठामा भएको सानो काठको बाकसमा बन्द गरेर राख्नु होला । लत्ताकपडा हातले सिलाएका पहिरन्छौ जुन सबैका एकै किसिमका हुन्छन् । यहाँ बसुन्जेल तपाईंहरुलाई त्यस्तै कपडा लगाउन दिईने छ । हामी मेहनतमा विश्वास गर्छौ त्यसकारण साना केटाकेटी बाहेक सबैले बिहान चारबजे उठ्नु पर्छ । अनि सबैभन्दा महत्वपूर्ण कुरा हामी ईश्वरको नियम पालन गर्छौ र एकअर्काको सम्मानमा आँच पुर्याउँदैनौ । अहिलेलाई थोरै जानकारी बाँकी बिस्तारै भन्ने छु ।” यति भनेर दाह्रीवाला सबैलाई हेर्दै मुस्कुरायो ।

“अम्बरीश चार बजे कसरी उठ्छ ?” दाह्रीवालाका कुरा सुनेर यता अनन्ती जङ्गिईसकेकी थिई ।

तन्नेरीहरु सबै आ–आफ्ना कोठातिर लागे । अम्बरीश र उसका साथीहरु आफ्ना ओछ्यानमाथि राखिदिएका कालो रङ्गका बिना गोजीका ‘सस्पेण्डर’ हालेका पाईन्ट, सेतो रङ्गका कमिज, गोलाकार भूसे टोपी र खुट्टामा काला जुत्ता लगाउन थाले । केटीहरु पनि तिनका कोठामा पुगिसकेका थिए । उनीहरुलाई दाह्रीवालकी श्रीमतीले ‘एमिश’ समुदायका आईमाईहरुले पालन गर्ने नियम र कर्तव्यको ब्याख्या गरी अनि नयाँ पहिरन पहिरीन अह्राई । केटीहरुले अनुहारको श्रृगार पुछपाछ गरे, लगाएका गहना उतारे अनि बुट्टा नभएको निलो कपडाको पिडुलासम्म छोप्ने जामा, निलै रङ्गको अगाडिपट्टि फुर्का हालेको टोपी लगाएर बैठकमा आए । बदलिदोे पहिरनमा एकअर्कालाई हेरेर तन्नेरीहरु बेस्सरी हाँसे । दाह्रीवालको परिवार पनि हाँस्यो ।

म हाँस्न सकिन । ‘एमिश’ पहिरनमा मेरो छोरो ‘एमिश’ जस्तै देखिएको थियो । कति छिटो !? पहिरन बदलेझैं उसको बुझाई बदलिन के बेर ? चारहप्ता कम हो र !? म आतिएको थिएँ । उता दाह्रीवाल भने अझै हाँसिरहेको थियो । “घोडाको तबेला देख्नु भएको छ ?” एकैछिनको हाँसो पछि दाह्रीवालले तन्नेरी केटाहरुलाई सोध्न लाग्यो । “कुखुरा फार्म देख्नु भएकै होला ।” दाह्रीवालकी श्रीमती पनि केटीहरुलाई सोध्दै थिई । बिचरा आधुनिक संसारमा हुर्किएका हरुलाई के थाहा तबेला ? के थाहा कुखुरा फार्म ? सबै तन्नेरी अलमल परेका जस्ता देखिन्थे । “हाम्रातिर गोठ, तबेला,गोठाला अनि कुखुराका हुल त कति कति !” म भनें एक्लै बोल्न लागें । तन्नेरीहरुलाई दाह्रीवालको परिवारले वरिपरीको करेसाबारी, बगैंचा, तबेला र कुखुरा फार्म देखाउन थाले ।

“वाक्...वाक्....वाक्......!” कुखुरा फार्मभित्रको गन्ध खप्न नसकेर एउटी वाक्वाक् गर्दै बाहिर निस्किई । उसको आवाजले फार्म भित्रका कुखुराहरु एक कुनाबाट अर्को कुनातिर दगुर्न थाले । “ओ गड ! मबाट घोडाको लिदी सोर्ने काम हुने छैन ।” अम्बरीशले नाक छोपेर भन्दै थियो । तबेलामा बाँधेका चिल्ला घोडाहरु तन्नेरी केटाहरुलाई देखेर फुँ–फँ गर्न लागे ।

“उसका जीजुबा हजुर बा यस्तै काम गर्थे ।” म भने बिचबिचमा बोलिरहेकै थिएँ । तन्नेरीहरुलाई दाह्रीवाल र उसकी श्रीमतीले तरकारी बारी अनि फलफुल बगैंचा एकसरो घुमाए । रहरलाग्दा फलफुलका बोटबाट आफ्नै हातले फल टिप्दाको आनन्दले भने सबै रमाए । “स्पोन्सर्ड बाई होन्डा.............!” आजको श्रृखला सकियो । म ओछ्यानमा गएर पल्टिए पनि अम्बरीशको मायालु आकृति आँखाभरि नाचिरह्यो ।

...............................

मेरो अस्तित्व धनगडीको एउटा गाउँमा शुरु भएर अमेरीकाको एउटा राज्य पेन्सिलभेनियामा पुगेको छ– भिन्न संसारको अनुभव गर्न रे ! कत्रो परिवर्तन ! के यो जरुरी थियो ? अर्काको घरमा पाले थिए मेरा बाबु, आमा त भँुडीभरी खान नपाएरै मरिन् । झिंगटी छाएको सानो झुप्रे घरमा जन्मिएको म ! मैले भुल्न भ्याएकै छैन मैले खेल्ने ढुङ्गेबगर, गाईबस्तुसँगको ठस्स गोबर गन्हाउने समीप्यता, फाँटेर ठाउँ–ठाउँमा टालेको कमीज, मयलको कस बसेको थोत्रो ढाका टोपी, दिनभरको भोक साँचेर साँझ घर फर्किने मेरो घ्याम्पे भुँडी, अनि गुजरातीको घर आइपुग्दासम्मको सास्ती र अन्यौल ।

बिगत जे भए पनि वर्तमानमा छोरोले पेन्सिलभेनिया पुग्ने सामर्थ राख्दा मैले खुशी हुनु पर्ने नि ! तर त्यस्तो भएको छैन । जन्मेदेखि गुजरातीले मेरो परिचयबाट अलग्याएको मेरो छोरो आफ्ना नजरबाटै टाढा हुँदा झन् छटपटिएको छु ।

“अनन्तीले गर्नु गरी ।” स्वास्नीसँगको झोंकमा पलङ्गछेउको खरानीदानीमा अड्काई राखेको मार्लबोरोको आधा सिगरेट सल्काएँ । दुइ सर्को तानेर पीरो धुँवा सिलिङ्गतिर फ्याँके । धुँवाको अमुर्त आकार टेवल ल्याम्पको मधुरो उज्यालोमा कोठाभर सलबलाउन थाल्यो । मैले त्यही धुँवामा टोलाउँदै मनमा कुराहरु खेलाईरहेँ।

सिगरेटको धुँवाले टर्रो भएको एक मनले किन हो मलाई उक्साएर भन्न थाल्यो –म त लोग्ने मान्छे पो ! त्यसमाथि यी बलिष्ठ पाखुरा ! चम्किलो धार हालेको छर्लप्प छिनाल्ने खुकुरी नचाउन डर नमान्नु पर्ने ! नाथे स्वास्नीसँगको सम्बन्धसँग डराएर बाँचेको छु । म कस्तो मर्द ? फेरी अर्को मनले चित्त बुझायो – मेरो के चल्यो र ? पहलमानी मानसिकता, स्वभिमान, गौरव सबै–सबै गुजरातीले किनिहाल्यो । थुक्क ! पत्तै पाईन मैले उबेला । अहिले त उबेलाको आफ्नो सोझोपनसँग मुर्मुरिनु त हो ! छिपिदै गएको रातझैं अम्बरीशको माया मेरो मनभित्र छिपिदै थियो । छोरो टाढिदा मेरी श्रीमतीले कस्तो अनुभुति गरी मलाई के थाहा ? ऊ आफ्नै कोठामा छे । उसको कोठामा घन्काएको म्युजिक मात्र सुन्छु म मेरो कोठाबाट ।

“यस्तो शहेर जीन्दगी बाँच्नु !? गोरखपुर रेलवे का लीगमा उतिखेरै किचिएर बिलाएकै जाति हुँदो नि !” म एक्लो हँुडलिन्छु बिस्ताराभित्र ।

.........................

सन् १९७७ :

माघको लुगलुग मुटु कमाउने जाडो । आमाले प्राण त्यागेको दुई महिना पछि कोलकतामा ‘पाले’ को नोकरी गर्ने बाबु धनगडीको गाउँको हाम्रो घर फर्किए – हकारपकार र हाट्हुट पारे हामीलाई । आमा मरिगईन् । हामीलाई खानदिने अरु को थियो र ? नाँईं भन्ने कुरै भएन । दुइ दाइभाइले भएका झुत्रामुत्रा लत्ताकपडाको पोको बाँध्यौ र लाग्यौ बाउका पछिपछि ।

दशबाह्र बर्षका हामी दाजुभाइलाई हिडेको केहीदिनमा बाबुले गोरखपुर रेल स्टेशनको प्लेटफर्ममा पुर्याए । चारपाङ्ग्रे गाडीसम्म नदेखेका हामी दुई भाइ खालखालका मान्छे अनि रेलको छुकछुक सुनेर तीन छक्क पर्यौ ।

हामी रेलमा चढ्यौं । चढेको रेल हुँईकियो । म र दाजुलाई बाउले मिठाईका गेडा किनेर हातमा थमाईदिएका थिए । उनी त रेलमै निदाए । हामी मिठाई चुस्दै थियौ । बाटैभरी आमा संझिए । रोउँ–रोउँ जस्तो भो मलाई । ‘सग्लो र ठूलो निधार हुने भाग्यमानी हुन्छन्’ – मेरो निधार मुसार्दै यस्तै भन्थिन् आमा । आमाको विश्वास निधारमा बोकेर भाग्य खोज्न हिडेका थियौ हामी बाउको पछि लागेर ।

हावा जसरी कुदेको रेल रोकिएको थियो । रेलमै निन्द्रा पुर्याएर फुर्तिला भएका बाबुले हकार्दै रेलबाट उतारे हामीलाई । कहिल्यै नदेखेका मान्छेको भीड । हराउँला भन्ने त्राहिमाम ! पिठ्युँमा आ–आफ्ना पोका बोकेर बाउको कमिजको फेर समाउँदै उनी जता लागे उतै लाग्यौं हामी । अन्ततः उनले कोलकताको ‘अलिपुर’ भन्ने ठाउँमा बस्ने एउटा धनी गुजरातीको घरमा पुगेर पोका बिसाउँन लगाए । बेलायतमा रासोबासो भएको गुजरातीका घरमा कोलकताको ब्यापार हेर्ने दुई भतिजाका परिवार र एउटी बिधवा फुपू मात्र बस्दा रहेछन् । हामीले तिनीहरुको सेवा गर्नु पर्ने रहेछ । गुजराती भने बेलायत र कोलकता ओहोर–दोहोर गरिरहँदो रहेछ ।

“दिल लगाएर काम गर्नू, ईज्जतले बोल्नू मालिकसँग ।” काँधमा भिरेको झोला भित्ताको किलोमा झुण्ड्याउँदै बाउले अह्राएको अहिले जस्तो लाग्छ ।

बाउको आज्ञा अनुसार मैले अठार बर्षे तन्नेरी हुन्जेल गुजरातीको सेवा गरिरहेँ ।

सन् १९८९:

मेरो दुर्भाग्यको शुरुवात भो ! गुजरातीले उसकै छोरी अनन्तीसँग बिवाह बन्धनमा बाँधिदियो मलाई । म प्रेममा फसेको थिईन । केटी कालो बर्णकी, एउटा आँखा डेढो हेर्दिरहिछे । होची ! बेलाबेला अड्किएर बोल्ने । हिस्सी परेका केवल उसका सेता दाँत थिए । गुजरातीका बाबु, छोरा र भतिजाले मलाई एकलौटी पारे । नाईं भन्न सकिन मैले । बाउको बुढेसकाल र दाजुका अनगिन्ती रहरहरु संझेर गुजरातीकी छोरी अनन्तीलाई स्वीकारें ।

सन् १९९०:

बाउ र दाजुले बिदा गरे । म बेलायत उत्रिएँ अनन्तीकासाथ लागेर । त्यसको एक बर्ष पछि छोरो जन्मियो । अनन्तीले गुजराती नाम जुराई– अम्बरीश । म भने उसको ‘अफिसियल’ लोग्ने र छोराको ‘बायोलजिकल’ बाबु मात्र बन्न पुगें ।

गुजरातीको भीडभित्र बढ्दै गएको मेरो छोरो आफूलाई पक्का गुजराती ठान्छ अहिलेसम्म यद्यापी उसका ओठमाथिका जुँगाका रेखी काटीकुटी मेरै रङ्गका छन् । कालो वर्णकी अनन्ती आफ्नो छोराका जुँगाका रेखीमा कत्रो गौरव गर्छे ? निर्धो म ! स्वास्नीको गौरवताबाट आफ्नो अस्तित्व अनुभूत गर्न बाध्य छु ।

“हरे ! चार हप्तामा छोरो अब अर्कै भएर फर्किन्छ ।” जति गरे पनि आज मन थाम्न सकिरहेको थिईन म । निस्किएँ कोठाबाट । “अनन्ती तेरो ढाँचाले अब छोरो अर्कै भएर फर्किन्छ ।”, आजसम्म चुपचाप शहँदै आएको सोझो मान्छे अनन्तीको कोठाको ढोका अगाडी पुगेर बेस्सरी च्याँठिदै बोल्न थालेँ – “मैले मेरो छोरालाई उसका बाबुबाजेको थलो देखाएर ल्याउँछु भन्दा चाहिं किन आकाश खसे जस्तो भो तँलाई ? घोडाको लिदी सोर्न, आफ्नो काम आफैं गर्न, बिहानै उठ्न, करेसाबारी गोड्न पेन्सिलभेनिया जानु पथ्र्यो र ? मेरो पो भोको भुँडीको बाध्यता थियो तेरो बाबुको कुरा स्वीकार्ने.................. ।”

“तिम्रो थर जोडिएको छ त, अरु के चाहियो ?, ढोकाभित्रैबाट ततर्किदै उसले भनी– तिम्रो पुस्तैनी हैसियत छोराले थाहा नपाएकै राम्रो ।” “राम्रो–नराम्रो जान्दिन ।” म अझ चर्किएँ –“म नेपाली, गुजरातीको कैदी भएँ ! मेरो छोरोलाई पुरातनवादी क्रिश्चियन हो कि ‘एमिश’ मा बदल्नु छैन मलाई ।”

पहिलोपल्ट म कु्रद्ध भएर बोलिरहेको थिएँ । आत्मसम्मान दबिएपछि उम्रिएका कुण्ठाहरु ओकलिरहेको थिएँ । मेरी स्वास्नी मलाई सुनिरहेकी थिई । धेरै बोलेँ, मन मज्जैले खोलेको केहीबेरपछि चुप भएँ । मसँगै रात पनि चुपचाप भो । ...........................................

दिन बिते । अन्तिम हप्ताको शो हेर्न अनन्ती र म टी.भी. अगाडी बस्यौ ।

तन्नेरीहरुले नयाँ एमिश परिवारको घर बनाउन सघाई रहेका थिए । हेर्दा सबै पक्का सिकर्मी देखिएका थिए । मध्यान्हको घामले अम्बरीशका निधारबाट पसिना बगेको देखियो ।

“तिमीहरु यति धेरै सीप र मेहनत गर्न सक्ने क्षमता भएका रहेछौ । मैले पत्याएकै थिईन ।” एउटा एमिश ठिटो तन्नेरीहरु छेउ आएर जिस्कदै भन्न थाल्यो– “लन्च टाईममा हाम्रा सुन्दर युवतीहरुलाई सुनाईदिनु पर्ला ।”

‘एमिश भएर सुन्दरीका कुरा !’ तन्नेरीहरु डराए ।

नभन्दै लन्च टाईम भो । एमिशहरुका श्रीमती, छोरी र दिदीबहिनी सबैले एक बगैंचामुनिको ठुलो टेबलमा खानाका परिकारहरु सजाएका थिए । घर बनाउन खटेका सबै लोग्नेमान्छे खाना खान भेला भए ।

हेर्दा बनभोजझैं लाग्यो । सबैले प्लेटमा खाना लिएर खान थाले । बुढा खालहरु केही रमाईला कुराहरु जोडेर सबैलाई हँसाउन लागे । “हाम्रा बाबुहरु हाम्रा लागि रोलमोडल हुन् ।”, फेरी उही ठट्यौलो एमिश ठिटो तन्नेरीहरुको छेउ आएर भन्न थाल्यो– तिमीहरुका रोलमोडल त सिनेमाका हिरो होलान् हगि !”

“एमिश भएर सिनेमाको हिरोको कुरा गर्ने ।” एउटा तन्नेरीले हप्काएझैं गर्यो ।

“म चाहिं बिग्रेको एमिश ।” ठिटोले थप्यो ।

सबै गलल हाँसें तर अम्बरीश हाँसेन ।

“वाह, मेरो छोराले भिन्न संसार देख्यो ।”, अनन्ती गर्वले फुली र भन्न थालि– “अब दुई दिनमा फर्किछ । तिमीले तिम्रो हैषियत नदेखाउनु ।”

...................

अम्बरीशको गाडी घर अगाडी आईपुग्यो । स्वागत गर्न गुजरातीका सन्तान सबै भेला भएका थिए । म आफ्नै कोठामा बसिरहें । “के सिकेर आयो अम्बरीश ? कतै आजबाट एमिश भएँ भन्ने त होईन ?” म आफैसँग सोध्न थालें ।

अनन्ती गाडीको ढोकैसम्म पुगि । आरती उतारी छोराको । अम्बरीशले अनन्तीको निधारमा म्वाईं खायो र सिधैं घरको ढोकातिर हान्नियो । म आँट हराएको लाछी भएर मेरै कोठाको भ्यालबाट चिहाएर बसेको थिएँ ।

“ढक्...ढक्....ढक् ।” सिगरेट सल्काउन लाग्दै गर्दा मेरो ढोका ढकढकाएको आवाज आयो ।

ओठमा सिगरेट च्याप्दै भारी मन लिएर ढोका खोलें ।

अम्बरीश भित्र पस्यो र गम्लङ्ग अँगालो हाल्यो मलाई । म जरा भासिएको बुढो रुख जस्तो हलचल नगरी खडा भएँ उसको अँगालोमा । ‘बायोलजिकल’ बाबु मानेको मान्छेको अँगालो कसरी पत्याउँनु ?

म उसको अँगालोबाट निस्किएँ । कस्तो–कस्तो असजिलो भैरह्यो तन्नेरी छोराको अचानकको आत्मियता । ढोका बाहिर गुजरातीका सन्तानको हल्ला सुनिन्थ्यो । अम्बरीश भने शान्त भएर मेरै कोठामा उभिई रह्यो ।

“दाह्रीवालकी छोरी बिहे गर्ने बाचा गरेको त होईन नि ? कि धर्म बदलेको ?” निकैबेर पछि हिम्मत जुटाएर अम्बरीशलाई मैले सोधें । “धर्म किन फेर्नू ? मैले त विचार र चरित्र मात्र फेरेको । ‘एमिश’ का छोरीले नेपालीसँग बिहे गर्ने सपनामा पनि सोच्दैनन् ।” अम्बरीशले ठट्यौली गर्यो ।

लण्डन, बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 1 आसाढ, 2070

लेखकका अन्य रचनाहरु