कृष्णप्रसाद नेपाली उर्फ प्रमिथस

- सञ्जय बिष्ट

पॉंच फुट 6 इन्चजति अग्लो, गोरो होइन, कालो झन हुँदै होइन, त्यसैले ठिक्कको, मोटे-मोटे युवक जो मेरो कथाको नायक हो—लाई आफ्नो वीर्य र आफ्नै डिम्बाणुको समागमद्वारा सकष्ट मस्तिष्कबाट जन्माएपछि नाम दिएँ—कृष्णप्रसाद।
कृष्णप्रसाद मभन्दा इमान्दार, सत्यवादी र निडर पनि छ भन्ने कुरो म अहिल्यै नै स्पष्ट गर्दछु।
अरूतिर कतै केही नदेखेको हुँदा जन्माउनसाथ कृष्णप्रसादलाई मैले काम लाग्दैन भनेर जान्दा-जान्दै पनि कलेज पठाएँ, उही पनि कलाको विद्यार्थीको रूपमा। एक विद्यार्थीकै रूपमा मात्र सीमित नराखेर कृष्णप्रसादलाई मैले महाविद्यालयको विद्यार्थी सङ्गठनमा प्रवेश गराउनुको मूल कारण कृष्णप्रसादको उज्ज्वल भविष्यनिर्माणको आधार बनाउनु थियो। बिचरो मेरो मानसपुत्रले निर्विरोध महाविद्यालयको स्वतन्त्र विद्यार्थी सङ्गठनमा प्रवेश गर्यो। अब निस्कन सक्तैन त्यो त्यहॉंबाट—म ढुक्क भएँ। त्यसरी मैले आफ्नो एउटा गल्ती छोो र सुधार्ने पनि काम गरेको थिएँ।
राम्री स्वास्नी, राम्रो आयस्ताको सजिलो काम; एक छोरा, एक छोरी; अत्याधुनिक सभ्यताको सम्पूर्ण मनोरञ्जनका साधनहरू भएको सुन्दर घर, पस्नलाई फलामको फाटक, दुईवटा अल्सेसियन कुकुर, केही नोकर-चाकर र अफिस आवात-जावतको निम्ति एउटा मारुती गाड़ी, छोरा र छोरीलाई अङ्ग्रेजी स्कुल छाड़्न र घर ल्याउन पनि होस्।—मैले कृष्णप्रसादको बारेमा सोचेका सपनाहरूमध्ये हुन्।
‘‘म काम गर्छु, मलाई चौकी चॉंहिदैन,’’ भनेछ सङ्गठनका साथीहरूलाई कृष्णप्रसादले। बेलुकी भक्कु हकारेँ। चुपचाप उभिरह्यो त्यो। तर प्रभाव प्रतिदिन बढ़्दैछ कृष्णप्रसादको कलेजमा भन्ने थाहा पाएर म एक प्रकारले ढुक्क थिएँ।
सङ्गठनको सभामा एकजना विद्यार्थी नेताले ‘‘यसरी स्वतन्त्र रूपमा रहेर हामी यत्तिका विद्यार्थी समस्याहरू समाधान गर्न सक्दैनौँ। एउटा आधार चाहिन्छ बलियो हामीलाई, कुनै पनि राजनैतिक दलको,’’ भन्यो अरे।
पहिला ‘‘गोटी बनाउँछ, गोटी। स्वार्थसिद्धिको निम्ति विद्यार्थीको कॉंधमा तेर्साएर बन्दुक चलाउँछ। हामीले आफ्नो स्वतन्त्रता गुमाउनु हुँदैन,’’ कृष्णप्रसादले भनेछ।
भन्ने अन्तिम विरोधी विद्यार्थी पनि कृष्णप्रसाद नै भयो अरे भन्ने सुनेँ।
सुनेर ‘‘कसको वाक्य बोल्दैछस् तँ? कसको बुद्धिमा हिँड़्दैछस्? तेरो र मेरो विचारधारामा कसरी आयो पार्थक्य?’’ हकारेँ कृष्णप्रसादलाई।
‘‘भविष्य देख्दिनँ तेरो,’’ पनि भनिदिएँ।
त्यो नबोली उभिरह्यो।
बिस्तारै महाविद्यालयको विद्यार्थी समूहमाझ एउटा विभाजक रेखा कोरिएछ। कोसिस गरेकै हो भन्छ कृष्णप्रसादले रेखा मेटाउने विभाजनको। सफल भएनछ। ‘‘हामी छौँ’’ मुखले थोरैले भने अरे तर धेरैले राजनीतिक दलको झन्डा समाएछन्, त्यसपछि महाविद्यालयमा कृष्णप्रसादको प्रभाव प्रतिदिन घट्दै गएको मैले सुनेँ। नराम्रो लागिरह्यो निक्कै दिन। राजनीति गरेर कृष्णप्रसादले एउटा एम.आर. सप पनि पाउँदैन भन्ने मलाई त्यसै समय थाहा थियो।
नायक न हो मेरो कथाको। जहॉं चाहन्छु उहीँ पठाउँछु म कृष्णप्रसादलाई। बी.ए. को परीक्षा सकिनसाथ ‘‘जा अब नेपाल’’ भनेँ।
गयो त्यो नेपाल। त्यो पनि गयो नेपाल। कृष्णप्रसाद पनि गयो नेपाल।
पुग-नपुग 6 वर्षमा 6 पल्टै कृष्णप्रसाद यता आयो। आयो के मैले बोलाएँ अर्थात् ल्याएँ। आएको त्यसले मलाई भन्यो ‘‘खालि बॉंचै मात्र नेपाल जानु? हामी जन्मनुको सार्थकता बॉंचु मात्रै?’’
‘‘पहिला बॉंचुपर्छ,’’भन्थेँ म।
‘‘जान्नँ अब म,’’ छैठौँ वर्षमा अन्तिमपल्ट आएको कृष्णप्रसादले निर्णय बोल्यो।
सोध्नै परेको थियो,‘‘किन?’’
‘‘एउटा भुँड़ी यॉं भर्नु सक्दिनँ म?’’ त्यसको त्यस्तो प्रश्नको जवाब मसित थिएन।
ठिकै हो—लाग्यो। ‘‘ठिक छ,’’ भनेँ। ‘‘अर्कै भइसकेको छ दार्जीलिङ। एताउता नगर्नू।’’ थपेँ।
त्यो मौन रह्यो। सोच्दाको जस्तो भयो।
दिउँसो म आफ्नो कामसित हुन्थेँ। जब म कृष्णप्रसादसित हुन्थेँ, कामसित हुन्थिनँ। यसो भनुँ अधिकत्तर कृष्णप्रसाद मसित राति हुन्थ्यो।
‘‘दिनभरि के गरिँदैछ?’’ एक रात सोधेँ।
सुनेर हेर्यो मात्रै त्यसले मलाई।
‘‘गरिँदैछ केई?’’
फेरि हेरेर ‘‘साथीहरूसित’’ भन्यो।
सुत्छु सोचेँ। कृष्णप्रसाद मसँगै निदायो।।
निक्कैपछिको एक रात मलाई कृष्णप्रसादलाई सम्झाउनु पर्यो। सम्झाउनु-हकार्नु पर्यो। हकारेँ, ‘‘के-के हुँदैछ अरे तिमारको सल्ला?’’ जवाब पर्खेर पर्खिनरही अझै सोधेँ, ‘‘तँलाई यता बस्नु मन छैन हैन? तेरो लाटा विचार चल्छ यॉं?’’
‘‘मैले भोगेको छु,’’ अरे साला।
‘‘मतलब मैले तँलाई फेरि उतै पठाउनुपर्छ?’’ भनेर सोधेको जस्तो चेताउनी दिएँ।
‘‘अब जान्नँ म उता। जानु दिन्नँ कसैलाई। नदिनु म जान्नँ।’’ त्यसलाई नसुहाउने ठुलो कुरो त्यसले गर्यो।
‘‘हुट्टिट्याउँ...’’
‘‘मलाई स्वतन्त्रता चाहिन्छ,’’ यो वाक्य पहिलोपल्ट त्यो दिनको रात त्यसले मलाई भन्यो।
सुनेर,बुझेर कानहरू आफ्नो तातो भएको थाहा पाएँ। कल्पनाले रातो भएको देखेँ।
कृष्णप्रसादले शिर उठायो आँट गरेर अनि ओठहरू त्यसका चले, ‘‘दु:ख पाएको, सबैले बिचराऽऽऽ सोचे, मायाको गीत गाउने, जसो गर भन्यो त्यसै गर्ने राम्रो नायक म बन्दिनँ अब तपाईँको कथाको। मेरो विचारले अभिव्यक्ति पाउनुपर्छ। म कठपुतली होइन कसैको।’’
‘‘तपाईँको भन्न। किन भन्छस् कसैको?’’
‘‘यो प्रेमकथा लेख्ने समय होइन,’’ लेख्ने मेरै विचार भनिदिने त्यसले मलाई नै त्यसको विचार भन्यो।
सोधेँ, ‘‘के लेख्ने समय हो त? के छ लेख्नुपर्ने ठुलो त्यस्तो? छ केई?’’
‘‘आँट छैन भन्नोस् न,’’ सुन्नसाथ मारिदिउँजस्तो लागेको थियो त्यही रात त्यसलाई।
माया लाग्यो। मान्ला सम्झाउँदा लाग्यो। सम्झाउँछु —सोचेँ। सुतेँ। फेरि सुतेँ।


कत्ति वर्ष भयो मैले एउटै कथा पूर्ण गर्न नसकेको? लेखेर सक्न नसकेको किन होला? सक्छु तर। छिट्टै सक्छु।‘बिचरा’ छ मेरो नायक कृष्णप्रसाद गरिबजस्तो। एउटै छोरी धनी बाबुकी। दुष्यन्तकी शकुन्तलाजस्ती। परीकथामा वर्णित राजकुमारीजस्ती एउटी नायिका खोज्दैछु म मेरो कृष्णप्रसादलाई। केही छैन अप्ठ्यारो। भइहाल्छ कथा। प्रेम, प्रेममा बाधा, कारण आर्थिक त्यसैकारण जैविक स्तरको वैभिन्य पनि, सङ्घर्ष, खलपात्रहरूमाथि विजय, सफलता। चाहियो के कथालाई अरू? खोज्दैछु म कृष्णप्रसादको निम्ति एउटी नायिकाजस्ती नायिका।

‘‘एक दिन हामी पनि अरूतिरको नेपालीजस्तै खेदिन्छौँ यहॉंबाट—गलत भन्दा रहेछन् थुप्रै,’’ त्यसले मैले केही भन्नै नपाई भन्यो।
‘‘हो,गलत हो भन्नेले भनेको, तेरो कुरा ठिक,’’ भनेँ।
अचम्म मान्दा हुने अनुहारले त्यसले मलाई हेर्यो।
भनेँ, ‘‘भूमिपुत्र हौँ हामी यहॉंको। कसले खेद्नु सक्छ? खेद्नु सोचु पनि सक्दैन।’’
भनेन त्यसले केही पनि।
भनोस् केही सोचेर ‘‘जिजु,च्याप्जुदेखिन् बसिआएको,’’ पनि भनेँ।
त्यसले मलाई घृणाको जस्तो दृष्टिले हेर्यो र भन्यो,‘‘नेपालमा चालिस हजारजति युवा-युवती छन् यताका। खालि खाली पेट भर्न गएकाहरू। खुशीले गएका हुन् तिनीहरू? खेद्नु सक्दैन भन्नुहुन्छ, खेदिइसकेका छौँ हामी धेरै वर्षअघि।’’
‘‘कसले खेद्यो तिनीहरूलाई? कसले? खुशीले गएका हुन् तिनीहरू। स्वेच्छाले। विदेश गएका हुन्। तँलाई खेदेको थियो कसैले?’’ टेड़े हेरेर ठुलो स्वरले सोधेँ।
‘‘तपाईँ लेखनलाई के ठान्नुहुन्छ?’’अरे।
‘‘कुरा किन बङ्गाउछस् तँ? जवाब दे न मेरो प्रश्नको।’’ त्यसको प्रश्न अलिक नबुझ्दा, जवाब फट्ट नआउँदा कुरा मैले बङ्गाएँ।
‘‘सोख कि कर्तव्य?’’ प्रश्न जोड़्यो त्यसले।
प्रश्न त बुझेँ मैले जवाब कहिल्यै नसोचेकोले ‘‘तँलाई किन चाहियो?’’ सोधेँ।
‘‘लेखनको एउटा धर्म हुन्छ। कर्तव्य हुँदछ लेख्नेहरूको। लेखकहरू भविष्यद्रष्टा हुन भन्छन्, खै हाम्राहरू? अघिल्तिर उठेको भीमकाय समस्याहरूको पाहाड़ त देख्तैनन्, अन्त साहित्य केको समाजको ऐना? अवस्था दिनदिनै बिग्रँदो छ हाम्रो सम्पूर्ण दृष्टिकोणबाट।’’ भन्यो कृष्णप्रसादले।
‘‘खाइरहेका छन्, लाइरहेका छन्, मोजसँग घुमिरहेका छन्। ओठमा सधैँ मुस्कान छ। बिल्डिङको टुप्पोमा छातादार सेतो एन्टिना छ। नाङ्गो नाच हुलिदिएको छ प्रत्येक नेपाली घरभित्र। चारैतिर मनोरञ्जन छ। नेपालीहरूले कसैको अघि हात फैलाएका छैनन्। अरू के चाहियो तँलाई? फेरि तँ मेरो कथानायक कि म तेरो? कथाकार तँ कि म?’’ रिसाएर भनेर सोधेँ?
‘‘दार्जीलिङमा खालि दुई स्तरका नेपाली छन्—एक मध्यम स्तरका, जसलाई पाश्चात्य देशहरूमा निम्न स्तरका भन्न सकिन्छ। अर्को निम्न स्तरका जुन स्तरका मानिसहरू पाश्चात्य देशहरूमा खोज्दा पनि पाइँदैन। बेलुकी घर फर्किँदा एउटा अङ्ग्रेजी दैनिक र केही भिडियो क्यासेट लिएर फर्किने अनि वर्षमा चार-पॉंच लाखको ठेक्का लिने केही नेपाली हाम्रा प्रतिनिधि होइनन्। फेरि यस्ता केही नेपाली वर्षको तीन महिना आइस्क्रीम बेचेर नौ महिना विदेश भ्रमण गर्नसक्ने युरोपियनजत्तिका पनि होइनन्। ‘पृथ्वी गोलो छ’ भन्दा विपक्षमा ‘त्यसो भा पारिकाहरू कहिले यता र हामी कहिले पारि किन हुदुङनँ?’ भनेर तर्क दिने भोका-नाङ्गा र निरक्षर नेपाली पनि छन् कमान बस्तीतिर, थाहा छ तपाईँलाई? गएर बुझ्नोस् अनि लेख्नोस् साहित्य हाम्रा प्रतिनिधिहरूको।’’
मैले कहिल्यै नसोचेको विषय यो। घॉंटीमा के आएर अड़्किरह्यो शब्दहरू जम्मैलाई थुनेर।
‘‘जानुभएको छ कैले उक्कालो ठाड़ो ओरियन्ट रेस्टुरेन्टको? नमस्कार मामा, सन्चै भाइ? बड़ा अहिले कस्तो हुनुहुन्छ, नमस्ते छेमा—हरू कहिल्यै भन्नु पाउनुभएको छ उक्कालो जॉंदा दॉंया-बॉंयापट्टिका पसलहरूभित्रकाहरूलाई?’’ यति भन्नु कत्ति साह्रो परेको त्यसलाई? शरीरमा कम्पन किन?
दॉंत किटेको किन होला? आँखामा पानीजस्तो छ त। रातो छ अनुहार डल्लै। मुठ्ठी बॉंधेको किन त्यसले?
‘‘तँ आवेशमा नआ। पग्ला हुन्छस्।’’ हकारेँ।
‘‘हो म पग्लै हुन्छु। क्यावेन्टर्सदेखिन् चौरस्ता पुग्नु पर्दा पनि म पग्लै हुन्छु। पाल हालेर बनाएको छ नि बाटोको भित्तापट्टि भुक्क सानो-सानो दोकानहरू, त्यै ननेपाली दोकानेहरूले त्यहीँ ठुलो-ठुलो बिल्डिङ बनाएन भने मेरो मुखमा थुकिदिनू।’’ शब्दहरूसम्म पनि भॉंचिँदै निस्क्यो त्यसको मुखबाट।
एक छिन मैले त्यसलाई हेरेँ। अचम्म लागेर, मानेर।
त्यो मौनतामा ‘‘कथा त्यहॉं छ,’’ त्यसको स्वर बज्यो।
‘‘एउटा जिन्दगी सुरूबुरू बित्यो भने भएन तँलाई? दुनियॉंभरको कुरा किन सोच्छस्? चुपचाप बस्न सक्तैनस् तँ?’’ के विघ कराउनु परेको मैले कृष्णप्रसादलाई?
‘‘सक्दिनँ। सक्दै-सक्दिनँ म। मेरो यो बिल्डिङ बनिएपछि एउटै नेपालीलाई पनि पस्नु दिन्न म यहॉं भनेर बाटोदेखि पैँतिस फिटभन्दा अग्लो बिल्डिङ बनाउनै पाइँदैन भन्ने सरकारी नियमलाई उल्लङ्घन गरेर जताबाट हेर्दा पनि देखिने बिल्डिङमा एउटै नेपालीलाई पनि पस्न नदिँदा लेख्यो केई लेख्नेहरूले? गर्यो केई प्रशासनले? पस्नु नि कुनै दिन त्यहॉं, दार्जीलिङको अर्थतन्त्र कसको हातमा छ भनेर थाहा हुन्छ।’’ जवाब थियो कृष्णप्रसादको।
‘‘त्यसो होइन...’’
‘‘त्यसै हो। हाम्रो बाजे-बराजुले बेतधारी फॉंड़ेर बनाएको जगा हो यो। घर हामीले नै बनाउनु पाउनुपर्ने होइन यॉं?’’क्षमै नमागी कुरा काट्यो त्यसले मेरो।
‘‘तर तँ एकजनाले गर्नु के सक्छस्?’’भनेर सोधेँ।
‘‘तपाईँ सक्नुहुन्न? केई गर्नु सक्नुहुन्न तपाईँ? यी सब लेख्नु सक्नुहुन्न?’’त्यसले अर्कै सोध्यो।
‘‘साहित्य सङ्कुचित हुन्छ। साहित्यिक तत्त्व सर्वदेशिकता आउँछ त्यहॉं? सर्वदेशीय हुनुपर्दैन साहित्य जम्मै भाषाको? तँ के बुझ्छस् कलाकारको भाषा, जाति र देश हुँदैन भन्ने कुरो।’’भनेँ।
‘‘तपाईँको यो भनाइ अरूलाई त होइन दार्जीलिङकै नेपाली कलाकारलाई मात्रै लागु हुन्छ,’’ मुसुक्क हॉंसेर त्यसले भन्यो।
भनेँ, ‘‘बाट्ठे नहू।’’
‘‘सुनेको भरमा हामीले सोमालियाको पीड़ित जनताको विषयमा कथा लेख्दा, युगान्डाबारे कविता लेख्दा हुन्छ? बारिक डल्लै पहिला हाम्रो मान्छेको थियो, अहिले साझाबाहेक जम्मै हाम्रो छैन। चोकबजारमा भैया र कैँयाहरू थिएन। महम्मद गल्लीको भीमबहादुरले हेर्नेहरूलाई हेरेको हेरेकै भइन्जेल खाएको हाम्रो मान्छेको दोकान खै? सुन्नु भो, दार्जीलिङ... यो दार्जीलिङ डल्लै हाम्रो थियो। अहिले छैन किन? खोजेर लेख्नु नि साहित्य। त्यो हुन्छ सर्वकालिक र सर्वदेशीय पनि।’’ बिसायो त्यो एकै छिन अनि फेरि शुरू गर्यो भाषण त्यसको ‘‘वर्ण वैभिन्यको आधारमा वॉं सेताहरूले कालालाई अत्याचार गर्दा जम्मै कालाहरूको साहित्य सेताहरूको विरोधमा हुन्छ। सङ्गीतमा पनि विक्षोभ नै अभिव्यक्त गर्छन् उनीहरू सेताहरूप्रति। हुँदैन त उनीहरूको साहित्य र सङ्गीत सङ्कुचित। पढ़्छ त विश्वभरि। सुन्छन् त हाम्राहरूले पनि। गाउँछन् त कनी-कनी।
‘‘हाम्रा मान्छेहरू सबै एकपल्टचाहिँ पञ्जाब जानुपर्छ,’’ चुप किन बस्थ्यो त्यो शुरू गर्यो फेरि फत्फत् ‘‘पठानकोटदेखि उता धारीवाल। सम्पूर्ण जातिको अवस्था कसरी उँभो लाग्छ—देखिन्छ त्यॉं। दाल-चामल बेचे पनि पञ्जाबी, ढाबा चलाउने पनि, केश काट्ने पनि पञ्जाबी, क्लर्क पनि पञ्जाबी, अफिसर पनि पञ्जाबी, किताब बेचे पनि पञ्जाबी, उमार्ने पनि आफै खाने पनि आफै। पञ्जाबीको रुपियॉं पञ्जाबीहरूमै घुमिरहन्छ, सुँध्नै पाउँदैन अरूले। यॉं हाम्रोचाहिँ सुनदेखि नुन बेचेसम्म ननेपाली, कपालदेखि मासु काट्नेसम्म ननेपाली। घर न थरकाहरूले हुप्सियो बेचेर पुस्तौँ नढल्ने बिल्डिङभित्र पुस्तौँ पुग्ने सम्पत्ति हुले। जॉंड़ बेचेर हामीलाई, शरणार्थीहरू हामीमाथि नै कानुन चलाउने अफिसर भए। रगत र पसिना बेच्दा पनि हाम्रोहरूको मुखमा माड़ जुरेन। लेख्यो कुनै लेख्नेले? बोल्यो कुनै बोल्नेले?’’
‘‘हेर तँ धेर कम्युनल नहू। बॉंच नपाउलास्।’’डर देखाएँ।
के डराउँथ्यो त्यो। भन्यो, ‘‘अहिलेसम्म त मुखमत्तै, हेर्नोस् न भोलिदेखि क्रियाकलाप। मारेछ भने मारोस् म एकजना कृष्णप्रसाद नेपाली। सयौँ कृष्णप्रसादहरू तयार छन्। एक न एक दिन मर्नै पर्ने हो, विरोध गरेर मर्छु, विद्रोह गरेर एक सम्पूर्ण नेपाली मर्छु।’’
‘‘विरोधले बिग्रेको होस् तँ। कलेजमा झन्डाको विरोध गरिस्। झन्डा समाउने त्यो तेरो साथी अहिले आफ्नै सेतो मारुती कुदाएर प्याच्च मैला पानी छेपेर जान्छ मलाई। थाहा छ तँलाई?’’
‘‘पचाउनु साह्रो पर्छ,’’ कि के यस्तै भन्यो त्यसले।
‘‘भो नकरा अब। सुतौँ। निद्रा लागिसक्यो।’’
‘‘नसुतौँ निद्रा भगाऔँ न अहिले। अहिले निदाएनौँ भन्देखि शान्तिले निदाउन पाउँछौँ भविष्यमा। निदाउन पाउँछन् सबैले सधैँ। नेपाली जातीयता, संस्कार,संस्कृति र विश्वासमाथि यसरी लगातार घात गरिँदा पनि तपाईँ निदाउन सक्नुहुन्छ?’’
भने, ‘‘जातीय उन्नतिको ठेक्का म एकजनाले लिएको छुइनँ। सोचलाई स्थानीय राजनीतिक दल छ, नेताहरू छन्। जातीय हित-अहितको जिम्मेवारी हाम्रो राजनीतिक प्रतिनिधिहरूलाई जॉंदछ, लेख्ने नेपालीहरू राजनीति गर्छु भन्दा बिग्रेको देखेको छस्? एउटा विशाल समुद्र पार गर्नुपर्छ साहित्यदेखि राजनीतिको संसार पुग्नलाई; अविश्वास क्रुरता, स्वार्थ र भ्रष्टाचारहरूको। म मलाई मारेर अर्को म बन्न सक्तिनँ। राजनीति गर्नु सक्तिनँ म। बुद्धिजीवी र ठुला नेताहरू छन् गर्नलाई।’’
‘‘स्थानीय राजनीतिक दलले के गर्छ जातिको निम्ति। भाजपाले वॉं मुगलसराय र इलाहाबादको नामै हिन्दूकरण गर्न आटिसक्यो। हाम्रो जातीय राजनीतिक दलका नेताहरूले मार्गरेटस् होप कमानको नेपाली नाम हुनुपर्छ भन्ने कुरासम्म सोच सकेको छैन। के सोचोस् पनि मारुतीमा कुद्नु र बुढ़ी साटेर आनन्द गर्नुलाई मात्रै जिन्दगी ठान्नेहरूले।’’ भयो र फेरि भन्यो,‘‘मैले तपाईँलाई राजनीति गर्नोस् भनेको होइन। नेता भनाउँदाहरू छन् दार्जीलिङले बुझेको राजनीति गर्नलाई। तर प्रत्येक समाजमा लेखकभन्दा नेता ठुला होइनन्। नेताहरूका दोषहरू निर्देश गरेर लेखकको अर्थ निर्वाह गर्नोस्।—मैले भनेको यही र यति मात्र हो।’’अनुरोधको भाकामा।
‘‘म सक्दिनँ। गर्दिनँ म। कोसिस पनि गर्दिनँ।’’भनिदिएँ।
कृष्णप्रसादले ‘‘सोचुहोस्। एकपल्ट राम्ररी सोचुहोस्। लेख्छु भन्दा पछि अवस्था र व्यवस्थाले कलम भॉंच्ला,’’मलाई चेताउनीजस्तो दियो।
‘‘यतिका वर्षसम्म सोचियो। अब के सोचु?’’भनेँ।
‘‘परिवर्तन हुन सक्तैन तपाईँमा?’’ अरे।
‘‘भो दिक नलगा,’’भनेँ।
‘‘उसो भए मलाई स्वतन्त्रता चाहियो,’’ दृढ़ स्वरमा त्यसले भन्यो।
‘‘कृष्णे तँलाई म एउटा कुरा भनुँ?’’
‘‘भन्नोस्।’’
मैले भनेँ,‘‘चम्कायो-चम्कायो अन्तमा एक्लै पारिदिनुचाहिँ नेपालीहरूको रगतमै छ, यसकारण तँ नचम्की।’’
त्यो मुसुक्क हॉंस्यो।
मैले ‘‘सब से भला चुप,’’थपेँ।
‘‘न तँ लेख्न सक्छन् न भाषण दिनु सक्छस् । रुपियॉं त तँसित हुने कुनै कुरै छैन। प्रत्येक कुराको विरोध गर्नु नेपालीको जातीय विशेषता हो। तँ एक्लो के गर्नु सक्छस्?’’ सम्झाउने कोसिस गरेँ मैले कृष्णप्रसादलाई।
‘‘एउटा मान्छेले गर्नुसक्ने जे पनि गर्नुसक्छु म। शरणार्थी शब्दको अर्थ फर्काइल्याउन म जे पनि गर्छु। यदि मैले केही गर्न सकिनँ भने पनि कुनै कारण बनाएर ती बासहीन सम्प्रदाय जसलाई हामीले आधा रातमा बास दियौँ, गॉंस दियौँ, उज्यालो र शीतल दियौँ र जो हाम्रो गॉंस, बास, उज्यालो र शीतल खोस्न तत्पर छन्—उनीहरूबाट दुई-तीन झापट खान सक्छु म तर त्यसको सामूहिक साम्प्रदायिक प्रतिक्रिया मेरो इच्छानुकूल होस्। ती दुई-तीन झापटको प्रतिक्रियामा शुद्ध दार्जीलिङे नेपाली समाजको निर्माणको बीज आङ्कुरित होस्। त्यति भए पुग्यो मलाई। गर्न सक्छु म त्यति।’’
‘‘मूर्ख नहू कृष्णप्रसाद। भनेका मान्। बरू सुतौँ। साम्प्रदायिक भावनालाई प्रबल गराउन तँ दुई-तीन झापट खान सक्छु भन्छस् तर तँलाई थाहा छ त्यसको प्रतिक्रिया के हुन्छ?’’ भनेर सोधेँ।
‘‘आगो बल्न आँटेको छ चारैतिर। माचिस लगाउने मान्छेको आवश्यकता छ यहॉं। ती दुई-तीन झापट माचिस हुनेछ। म लगाउँछु आगो। सल्काउँछु आगो म।’’ कति सजिलो जोडे़का शब्दहरू त्यसले।
‘‘सपना नदेख्। आगो-सागो केई लाग्दैन यॉं। तँ यत्रो आशा लिएर दुई-तीन झापट खान्छस्, प्रतिक्रियामा कृष्णप्रसादलाई एकजना कसले कुटेछ भन्ने हल्ला हुन्छ। ज्यादै भयो भने फेदमा सम्पूर्ण दार्जीलिङे नेपाली लेखेर तेरो दुई-तीन साथीहरूले विरोधमा चौकबजारअघि एउटा पोस्टर टॉंस्छ। हुन्छ अरू केई? हुन्छ?’’ फेरि हकारेँ।
सुनेर त्यो चुपो लाग्यो।
‘‘साम्प्रदायिक भावना ल्याउँछु भन्छ साला। हालिदिन्छ लगेर, छुटाउनु आँउछ कोई? खुट्टा-सुट्टा भॉंचेर नचल्ने दुआनी बनाइदिन्छ अन्त मरेको जस्तो बॉंच्,’’ पनि कराएँ।
मेरो आँखामा छक्कै पार्ने के छजस्तो हेरेर त्यसले सोध्यो, ‘‘कुन दार्जीलिङे नेपाली आजसम्म बॉंचेको जस्तो बॉंचेको छ?’’
‘‘बच्चा छस् तँ? हेर्न छक्कै पर्छस् तँ पछि दार्जीलिङको नेपाली सोच्दा। लाज लाग्छ तँलाई आफ्नै कर्म र धारणा सम्झँदा।’’ हितको लागि भनेको थिएँ मैले मेरो कृष्णप्रसादको। त्यसको जवान मस्तिष्कले उल्टो अर्थ लगायो।
यदि त्यसले मलाई ‘‘जातीय प्रगतिमा सबैभन्दा ठुलो बाधा आफ्नो जीवन सुरूबुरू बिते भैगो ठान्ने थोरै नेपालीहरू हुन्। तपाईँजस्तै थोरै नेपाली।’’ नभनेको भए म भन्ने थिइनँ, ‘‘कृष्णप्रसाद म तँलाई अहिल्यै मार्न सक्छु।’’
‘‘केही नगरी मर्दिनँ म। मर्दै मर्दिनँ।’’ स्वरमा अटल विश्वास थियो त्यसको।
‘‘मानसपुत्र होस् तँ मेरो। तेरो जीवन र मरण मेरो इच्छामा निर्भर गर्दछ। इच्छामृत्यु मर्छस् तँ मबाट। तेरो मुटुको स्पन्दन...’’
‘‘झुट्, सक्नुहुन्न तपाईँ मलाई मार्न।’’ बिचैमा विश्वाससित भन्यो त्यसले।
भावनालाई अलिक परतिर सारेर भनेँ, ‘‘तँ खालि मेरो लेखिन लागेको कथाको पात्र होस्। मैले सृष्टि गरेको कथाको संसारमा मेरो निर्देशनमा चल्ने र मेरो वाक्य बोल्ने केटा। नाम कृष्णप्रसाद। मैले दिएको, मैले। जातसम्म छैन तेरो। कथाको भाषा नेपाली हुनाले तँ नेपाली। कृष्णप्रसाद नेपाली। खालि मेरो निम्ति जन्मेको छस् तँ। केही नलेखेर अरूको निम्ति मार्न सक्छु म तँलाई। केही लेख्नु-नलेख्नु मेरो इच्छा, त्यसैले तँ इच्छामृत्यु मर्छस् तर मबाट।’’
‘‘किन ढॉंट्नु हुन्छ आफैलाई? त्यै मार्न नसकेर त जन्माउनु भएको हो मलाई। बचाउनु भएको हो। हास्यस्पद सुनिने र घृणित लाग्ने नबोल्नोस्। तपाईँको इच्छानुरूप कथानायक हुन सक्तिनँ। त्यसैकारण साम्प्रदायिक भावनाले ग्रस्त एक नेपाली युवाको रूपमै मलाई स्वतन्त्रता दिनोस्। म साहित्यकै निम्ति मात्र नभएर जाति, समाज-संस्कृति सबैको निम्ति हुन चाहन्छु। म सम्पूर्ण नेपालीको निम्ति हुन चाहन्छु।’’ अनुरोध गर्यो कृष्णप्रसादले मलाई।
निक्कै भयो यसरी ओछ्यानमा ढल्किएको। निद्रा कता गएछ? बाह्रपल्ट घण्टी बज्यो अहिल्यै घड़ीमा। खिड़की भएकोबाट बाहिर हेर्दा केही देखिँदैन कालोबाहेक। आँखाकै छेउमा डम्म कालो छ। मेरो दाहिने भित्तामा बाजेको दौरा-सुरुवाल झुन्ड्याएको थियो। ज्ञान आएदेखि नै देखेको मैले, शिरपट्टि नै झुन्ड्याउँदथे, खुकुरी थियो। कति हेरिसकेँ, देखिँदैन त्यो पनि। देब्रे हातपटि भित्तामा ठोकिएको कॉंटीमा झुन्ड्याएको मादल निकालेर बजाउनु हुन्थ्यो बा। बजाएर तृप्त भएपछि झुन्ड्याउनु हुन्थ्यो त्यहीँ। अँध्यारो धेर छ, त्यो पनि देखिँदैन अहिले। गीता थियो। महाभारत, रामायण थिए। लालहीरा, मुधमालती, स्वस्थानी, पञ्चतन्त्र थिए। अँध्यारो धेर भएर, मध्यरात भएर नदेखिएको? यो धेर अँध्यारो हो? अब हुँदैन योभन्दा अँध्यारो। बिस्तारै-बिस्तारै हट्दै जान्छ अँध्यारोहरू। घट्दै जान्छ अनि देखिँदै जानेछ सब थोक।
तपाईँ मलाई मार्न सक्नुहुन्न?—मनको कुरा भन्यो त्यसले। मर्छ होला भनेर कत्ति डराएको थिएँ म त्यसलाई जन्माएपछि। कहॉं सक्छु मार्न म त्यसलाई? कृष्णप्रसाद नेपालीलाई म मसँग पनि मर्न दिन्नँ। अमरता दिन्छु म त्यसलाई। कृष्णप्रसादलाई अमरत्व दिलाउन म जे पनि गर्नसक्छु। त्यसले चाहेको स्वतन्त्रता मात्रै सायद कृष्णप्रसाद नेपालीको अमरत्व हो। त्यसैकारण म कृष्णप्रसाद नेपालीलाई स्वतन्त्रता दिनसक्छु।
नो रिस्क, नो गेन भनिन्छ। त्यो विशाल प्राप्तिको निम्ति भोलिको झिसमिसेमै म कृष्णप्रसादलाई भन्नेेछु, ‘‘आजदेखि तँ एक कट्टर नेपाली भएर बॉंच्। सम्पूर्ण नेपालीको निम्ति नेपालीमाझ एकदम नेपाली मर्। ढिलो गरेर हिजो राति नै मैले तँलाई मुक्ति दिइसकेँ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 1 आसाढ, 2070

लेखकका अन्य रचनाहरु