फरक स्वादका निबन्धहरू

- छविरमण सिलवाल

वर्तमान राजनैतिक परिवेशले सिर्जना गरेको थुप्रै विकृतिहरूलाई सर्जकले आफ्ना सिर्जना मार्फत व्यक्त गरेका छन् । कविता, कथा, निबन्ध, उपन्यास, गजल, मुक्तक आदि विविध विधाहरू मार्फत वर्तमान समयका पीडा पोख्ने माध्यम बनेको छ, साहित्य । प्रायः खुसीका समयमा भन्दा पीडाका दर्दनाक पाटाहरूमा वढिनै सिर्जनाहरू कोरिएका पाइन्छन् । समय आफ्नै रफ्तारमा चलिरहे पनि समयले दिएका झड्काले हामीलाई बारम्बार थला पारि नै रहेको छ । यस्तै समयसंग रमाउन नजान्ने हाम्रो देशका अगुवाहरूलाई घोेचपेच गरेर उनीहरूको व्यवहार सुधार गर्नाका खातिर सर्जकहरू लागिरहेका छन् । यद्यपी हात लाग्यो शुन्यको स्थिति भए पनि स्रष्टाहरूको प्रयास भने जारी छ । यस्तै प्रयासलाई निरन्तरता दिइरहेका साहित्यकार हुन् मोहन चापागाईँ । निबन्ध, कविता, नियात्रा आदि विधाका छ ओटा पुस्तक प्रकाशन गराई सकेका चापागाईँले सातौं पुस्तकको रुपमा ‘आकाशको अंगालो’मा निबन्धसङ्ग्रह प्रकाशनमा ल्याएका छन् । यस सङ्ग्रहका निबन्धहरू पनि यीनै वर्तमान समयले दिएका झटाराहरूका उपज नै हुन् । देश हाक्नेले समयसंग चल्न नसके पछि उनीहरू कस्तो हुनु पर्छ भन्ने कुरा चापागाईँले निबन्ध मार्फत पोखेका छन् । ‘दर्शन, द्रव्य र दृष्टिकोण’ शिर्षकको निबन्धभित्रको हेरौं एउटा अंशः–‘देश हाक्नेहरू दहीचिउरे हुनु हुन्न । देश बनाउनेहरू दपेटाहा हुनु हुन्न । देश बनाउँछु भन्नेहरू गन्धेझार हुनु हुन्न । सके सपार्नुपर्छ तर बिगार्नुहुन्न । सके सिर्जनाको बीउ रोप्नुपर्छ तर बिरुवा उखेलेर बेमाख पानुहुन्न । सके संरक्षण गर्नुपर्छ तर जरैसमेत उखेल्नुहुन्न । आगो लागिसकेपछिको दमकलको के काम ? मरिसकेपछिको ओखतीको के काम ? बोलीको गोली प्रहार भइसकेपछि सान्त्वनाको के काम ? हामीले त सर्वेपरि संस्थालाई पो मान्नुपर्छ । संस्थाको मूलभूत सिद्धान्तहरूलाई मान्नुपर्छ । परिणामलाई मान्नुपर्छ र आफ्ना परीक्षणका प्रहरलाई पहिल्याउनुपर्छ ।’
छोटा, मिठा र रोचक शैलीका छब्बिस निबन्धहरू रहेका छन् ‘आकाशको अंगालो’भित्र । निबन्धहरूमा प्रायः निजात्मकता झल्किएका हुन्छन् नै । एउटा व्यक्तिले देखेका भोगेका कुराहरूलाई आफ्नो बन्धनमा बाधेर कलात्मकता देखाउनु एउटा स्रष्टाको कला हो । जसरी एउटा कलाकारले फ्याकेका ढुङ्गाहरूलाई पनि पुजनिय बनाउने गर्छ, त्यसरी नै एउटा स्रष्टाद्धारा सिर्जित सिर्जनाहरूले हरेक मान्छेको मनमस्तिक भित्र अमिट छाप बनाउन सक्नु पर्छ । यो खुवि मोहन चापागाईँमा देखिन्छ । उनका निबन्धहरू पढ्दा लाग्छ, हामीले जीवनका यथार्थहरू पढिरहेका छौं । मान्छेका जीवन पढिरहेका छौं । प्रकृतिका अनमोल छटाहरूसंग लुकामारी गरिरहेकाछौं । उनको प्रस्तुत गर्ने शैली आम निबन्धकारको भन्दा फरक छ, यद्यपी उनले आफ्नो पहिचानलाई अझै फराकिलो बनाउनु पर्ने भने देखिन्छ । उनका निबन्धका विषयवस्तु हाम्रै समाजभित्र छरिएका कुरितिहरू नै हुन् । कतै प्रकृतिका कुराहरु गर्छन्, कतै काठमाण्डौंले भोगेका दुःखका कुरा गर्छन् । कवि र कविताका कुराहरू पनि गरेका छन्, जीवन केका लागि हो भन्ने प्रश्न गर्छन । चराहरूको देशको कुरा गर्छन निबन्ध मार्फत । हेरौं चराहरूको देशमा शिर्षक भित्रको एउटा अंशः–‘सकस देखिन्न चराहरूमा खान नपाएका जस्तो देखिन्न चराहरूको जीवनमा सक्रियता बोकेर सखारै उठ्छन् चराहरू । सघाउ र सखल्ल व्यहोरा बोकेर निर्मग्न निदाउँछन् चराहरू । मान्छेको जस्तो साखुल्ले र स्वाहा पार्ने षड्यन्त्र रच्दैनन् चराहरू । सगर–सगरमा हावामा कावा खाँदैं, हावासँगै पखेटा फिजाउँदै बिनापासपोर्ट र नागरिकता संसार बिचरण गर्छन चराहरू । शकुनि चाल छैन बरु अर्काे देशको सगुन बोकेर संघार संघार पुग्छन् चराहरू । न भाषा बुझिन्छ न भावको सङगारो बुझिन्छ किन्तु एउटा मिठो होडबाजीमा सधैं दौडिरहन्छन् चराहरू ।’ विविध स्वादले भरिएका छन् उनका निबन्धहरु, उनी कल्पना गर्छन आकाशको अंगालोमा बाधिन पाए कस्तो होला ? आकाशको जत्रो र आकाशकैजस्तो छाती कसको हुन्छ ? आकाशको जस्तो उचाई, बुझाइ र हेराई अरु कसको हुन्छ ? यस्ता धेरै प्रश्नहरूको उत्तर खोजिरहेका छन् उनले निबन्ध मार्फत । यात्रा अनुभूतिका केही झलकहरूलाई पनि प्रस्तुत गरेका छन् । हाल सम्मको आफ्नो जीवन भोगाईको समिक्षा आफै गर्छन् र निष्कर्ष निकाल्छन्, मात्र एक सपना एक मात्र तपना जीवन मात्र एक अभिनय अनि हामी सबै त्यही नाटकका खोक्रा पात्रहरू । कतै आक्रोश पोख्छन् देश बनाउछु भन्ने ठेकेदारहरूलाई । कतै यात्राका रमाइला कुरा गर्छन्, आफ्नो भाग्यनिर्माता आफै पो भनेर जन–जनलाई जाग्रित गराउछन् । देश आक्रान्त भएर दुखिरहेको छ, हामी सबै मिलेर मलमपट्टि गरौं भनेर सचेतवर्गलाई आह्वान गर्छन । लेखक निकै चिन्तित देखिन्छन्, आफ्नो देशको दुर्दशा देखेर तैपनि दुःखमा हाँस्न सिक्नु पर्छ, अवश्य सुखका दिनहरू आउनेछन् भनेर आशाका दियो बाल्न तम्सिरहेका छन् मोहन चापागाईँ आफ्ना निबन्धहरु मार्फत । उनी भन्छन्– प्रकृतिसंग पौठेजोरी खेल्दा होस् वा दुखेको बेला होस्, दर्शन, द्रव्य र दृष्टिकोणले हारेको समयमा होस् वा समय र अनुभूतिले पखेटा फिँजाएका बेला होस् नितान्त निजात्मक र आत्मपरक निबन्धहरूले मलाई बेस्मारी लघारिरहे, उनीहरूले जिते, मैले हारें ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 1 आसाढ, 2070

लेखकका अन्य रचनाहरु