विस्थापित

- जगदीश घिमिरे

अवश्य मेरो पनि कतै घर छ ... किनभने मलाई कताकता झझल्को लाग्छ, मेरो कतै घर छ र त्यहाँ पुग्न नै म यसरी हतारिएको हुँ ... साँच्चै म घर जाने बाटामा हुनु पर्छ, अवश्य मेरो टुंगो हुनु पर्छ ... मेरो मस्तिष्कले भन्छ, मेरो मुटुले भन्छ, मेरो ब्रम्हले भन्छ मेरो पनि ठेगान छ । साँच्चै ।
मेरो बा पनि हुनु पर्छ । आमा पनि हुनु पर्छ । कुत्रि किन, मलाई थाहा छैन । तर मलाई लाग्छ मेरो बा आमा हुनु पर्छ । बाबु आमा नभई म कसरी हुन सक्छु ?
कुरा के भने, बेला बेलामा मलाई कुत्रि के हुन्छ । मलाई, भित्र – मुटुभित्र, मस्तिष्कभित्र के–के नमिलेको जस्तो लाग्छ । के–के नपुगेका जस्तो लाग्छ । असजिलो लाग्छ । अनि म आफ्नू घर, परिवार, देश, साथीभाई संझिन खोज्छु । तर पटक्कै सक्तिन् । अनि अतालिन्छु । तिमी कैल्यै छङ्गाछुर भीरमा अड्केको भए कल्पना गर्न सक्छौ, त्यस बेलाको मेरो मन–स्थिति, आफूवरिपरि भविष्यका विशाल खाल्टाहरु देख्नु थाल्छु । म ठाडो भीरमा अड्केको अनूभव गर्छू आप्mनू सन्तुलन हराउँछू । मेरा हात खुट्टा काम्ने रोग लागेको मान्छेजस्तो काम्न थाल्छन् । मेरो बोलीमा सुर हुँदैन । भनाइमा संगति हुँदैन । म त्यस स्थितिबाट मूक्त हुन सक्दो जोड लगाउँछु । बल गर्छु त्यही बलले मेरा मूठी बाँधिन्छन् । दाँत बाँधिन्छन् । जीउ बटारिन्छ । म बेहोश भएर पछारिन्छु । मलाई छारेले छोप्छ ।
मेरो खल्तीमा एक पैसा पनि छैन । मैले कहाँबाट यात्रा थालें, त्यो पनि पत्तो छैन । बाटो हिंड्नेसँग हुनु पर्ने कमभन्दा कम सामान पनि मसँग छैन – यौटा झोला र बर्कोसम्म पनि छैन । तर कता–कता मलाई लाग्छ म सित्थै बरालिएको छैन । लाग्छ मैले सोच विचार गरेर यात्रा थालेको हुँ । लाग्छ मेरो पुग्ने टुंगो निश्चय थियो र सामल बोकेको थिएँ ।
आमाले रूदैं बिदा दिनुभयो होला । बाले लक्ष्य–भेद गर्ने साहस दिनुभयो होला । दाजुले बाटा खर्च दिनुभयो होला । भाउजुले शूभकामना दिनुभयो होला । भाइ बैनी भञ्ज्याङसम्म पु¥याउन आए होलान् । पक्का आए होलान् । कता–कता मेरो भित्री मुटुले भन्छ यो सबै थोक भए होलान् । कहाँ ? कसरी ? किन ? कैले ? म जान्दिन । पक्का पनि यो सबै थोक भएकै हुनपर्छ, किनभने यस्तो भएको मैले देखेको छु । सुनेको छु । पढेको छु । र, किनभने मेरो ब्रम्हले भन्छ, इन्ट्यूशनले भन्छ, इलहामले भन्छ मेरो बाबु–आमा, दाजु–भाइ, दिदी¬–बैनी, घर, साथी, मुलुक र पृथ्वी भएको हुनु पर्छ । म यसै पृथ्वीमा जन्मेर हुर्केको हुनुपर्छ । अवश्य हुनु पर्छ । हुनै पर्छ ।
मेरो अर्थ हुनु पर्छ । म बाँच्नुको उद्देश्य हुनु पर्छ । मैले निर्माण गर्ने चौतारो हुनु पर्छ । मलाई जोत्न जग्गा धरतीले दिनु पर्छ । मेरो अस्तित्वको प्रयोजन हुनु पर्छ । मेरो गन्तव्य हुनु पर्दछ । मेरो आरम्भ हुनु पर्दछ । मैले कहाँबाट यात्रा थालें, कहाँ पुगेको छु र कहाँ पुग्नु छ, मलाई सम्पूर्ण खुलस्त थाहा हुनु पर्दछ । म लडाइंमा जाँदैछु भने पनि क्यै छैन, म फाँसीमा झुण्डिन जाँदैछु भने पनि क्यै छैन, तर मलाई यसरी बेहोश नपारिदेऊ । मलाई यसरी नलठ्याइदेऊ । मेरो यसरी हावा नखूस्काइदे ऊ । आह । भनिदेऊ । मेरो इतिहास – मेरो बर्तमान – मेरो अर्थ – यसरी यातना नदेऊ – जनिगर – बिन्ती ... ।
छारेबाट ब्यूँझदा मैले थाहाँ पाएँ, म भीडले घेरिएछु । कसैले भीड हटाइदिएछ, थोर बहुत आँखा मतिर चियाउँदै थिए । तिनीहरुले मलाई जुत्ता सुघाँएछन् – कति राम्रो ओखती । म जस्तो मान्छेले जुत्ता त सुँघ्नूपर्छ नि । यसै त दुर्गन्धी त्यसमाथि गुहु लागेका जुत्ता । म जस्तालाई अति उचित पुरस्कार ।
झिलिमिलि देखेर त्यस्तो हुन्छ रे, तिमीहरुले गफ गरेझैं लाग्यो । ... साँच्चै झिलिमिलि देखेर त यस्तोहुन्छ होला ... आँखा अगाडि सय सूर्यका उज्यालो फ्याँक्ने एटम बम विस्फोटन भयो भने झिलिमिलीमात्रै होइन तिरिमिरी भएर अन्धो होइन्छ । बल्न थालिन्छ । तर बम विस्फोट मेरो आँखा अगाडि भएको छैन – कानअगाडिमात्रै भएको छ । शान्तिको लागि युद्धमा म परेको छैन, म जस्तामात्रै परेको छन् ... झिलिमिली मैले देखेको छैन, सुनेको मात्रै । सुनेर मात्रै त मलाई छारेले छोप्छ, आह ।
मैले आफ्नु अनूहार छामेर आफूलाई चित्रे चेष्टा गरें, तर अहँ भेउ पाइन । कस्तो छू म ? मैले आफ्नु नाक भेट्टाइन । मेरो नाक रैनछ, अतअ वातावरणको सहिनसक्नु दुर्गन्ध, लडाइंका लाश, बारुद, बमको गन्ध र गुहुका गन्ध थाहा पाउन सकेको रैनछु । मैले जसलाई भीड भनिठानेको थिएँ – ती सिनु रहेछन् र तिनमा गिद्ध चर्दै रहेछन् । गिद्धको देशमा लडाइं भएको रैनछ, ती नाशिएका रैनछन्, किनभने आकाशमा साँध–सीमाना र वाद–व्यवस्था क्यै रैनछ – मेरो ब्रम्हले भन्यो । यो मैले देखेको होइन, किनभने मेरो आँखा पनि त रैनछ – र यो कूरा मैले छामेर थाहा पाएँ । ... र यो लडाइंको गन्ध र सीनाहरु पनि ठीक म वरिपरि हैन रहेछन्, कता–कता वरपरबाट आएको झझल्को रहेछ ... ।
मैले आपूm रहेका ठाउँ सम्झने प्रयास गरें, तर कुनै पत्तोफाँट पाइन । कति अक्षांश देशान्तरमा मेरो “मुलुल” छ र त्यसको नाउँ के हो, त्यो पनि थाहा पाइन ।
मैले घर सम्झन खोजें । गाउँ सम्झन खोजें । म गाई चराउन जाने पाखा सम्झन खोजें । मलाई “कपुरी क” चिनाउने बाबु सम्झन खोजें । दाजु, भाइ, दिदी, बैनी, इष्ट–मित्र सम्झन खोजें । मैले बाँच्नुको अर्थ थाहा पाउन खोजें । मैले आफ्नू प्रस्थान–बिन्दु, गन्तव्य र उद्देश्य खोजें ।
तर केही पनि त पाइन ।
ती सारा विलाईसकेछन् ।
ती छँदै रैनछन् ।
छन् भत्रे भ्रममात्रै भैदिए पनि त हुन्थ्यो ।
आह । अलिकति भ्रम सापट देऊ न, दिन्छौ ?
म साधारण मान्छे । भ्रमभुक्त भएर बाँच्न सक्तिन् । यो यथार्थ खप्न नसकिनेछ मेरो लागि । खप्नको लागि म बल गर्छु ... मेरा मुठी बाँधिन्छन् ... जीउ बटारिन्छ ... मलाई सके फेरि छारेले छोप्तैछ ... अवश्य पनि ... ऊ मेरो कानमा बमको शव्द आउँदैछ भ्रातृत्वको नाउँमा खसेको .... ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 18 जेठ, 2070

लेखकका अन्य रचनाहरु