इमानपूर्वक लेखिएका अग्नीको गाथा

- छविरमण सिलवाल

समकालिन कविहरूका माँझ विष्णु सुवेदी चर्चित कविका रूपमा चिनिन्छन् । कवि जस्तै छन्, कविता र कविता जस्तै छन् कवि । उनको पछिल्लो कवितासङ्ग्रह ‘बूढो माझी’ भित्रका कविताहरू यसका उदाहरण नै हुन् । ‘बूढो माझी’ उनको चौथो कवितासङ्ग्रह हो । यस सङ्ग्रहभित्र चौतिस थान शसक्त कविताहरू रहेका छन् । बिष्णु आफ्ना कविता मार्फत लामो समय द्धन्द्धको पीडामा छटपटाईरहेका असख्य मान्छेहरूका चित्कार लेखिरहेका छन् । कलिलै उमेरमा सिन्दुर पुछिएका चेलिहरूका कथा लेखेका छन्, युद्धले घाइते बनाएका घाइते मनहरूका कथा लेखेका छन् । बाबु आमा गुमाएका टुहुराहरूको व्यथा समेटेका छन् । आफ्ना सन्तान गुमाएका बाबुआमाका रित्ताकोखका कहानी लेखेका छन् । शहरको भिडभाडबाट टाढा रहेर गाँऊ गाँऊमा कविता मार्फत जनचेतना जगाई रहेका छन् । उनी आफ्ना कविताका बारेमा लेख्छन् ः–‘म कहिलेकाँही हैन धेरै जसो घोत्लिन्छु निमुखाहरूका लागि, ती शक्तिशाली तर निरीह बनाइएका महान् मान्छेहरूका लागि, त्यसैले त लेख्छु कविता । जहिल्यै आएर आग्रह गर्छन् उनीहरू हाम्रो मूल्य खोजीदेउ न, हाम्रो आवाज आवाज बोलिदेउ न । त म कसरी सक्छु उनीहरूको आँसु, पीडा, रोदन र अभाव देखी–देखी शासकहरूको कविता लेख्न । सामन्तवर्गको कविता लेख्न । आधुनिक भोगिरहेको मान्छेहरूका कविता लेख्न र । आखैं अगाडि सामाजिक अन्याय, राजनीतिक विकृति र विसङ्गति, सामाजिक विभेदहरूले उत्पन्न गरेका डर लाग्दा पर्खाल र खाडलहरू छन् । यस्तो बखत म कसरी चैनले सुतेर गीत गाउन सक्छु तिनीहरूका । त्यसैले त म छातीमाथि हात राखेर लेख्छु इमानपूर्वक अग्नीको गाथा ।’ बिष्णु सुवेदीमा लेखकिय इमान्दारीता छ, उनी जे भन्छन् त्यही गर्छन्, त्यसैले त दोलखामा रहेर पनि राजधानीलाई धावा बोलिरहेका छन् कविता मार्फत । हेरौं कविताको एक अंश ः–
मेरी आमाको पाठशालामा
पढाइने छैन
बम र बन्दुकको महत्व
र घोकाइने छैन
युद्धसम्बन्धी नियमहरू ।
खुवाइने छैन
मेरी आमाको पाठशालामा कुनै शपथ
निधक्क पढ्न सक्नेछन् सबैले
आफ्नो आफ्नो जीवन ।

कवितामा सुन्दर बिम्बहरू प्रयोग गर्न खप्पिस छन् बिष्णु सुवेदी । कविता मार्फत बम्बैमा नरकिय जीवन विताउन बाध्य चेलीका व्यथालाई पोखेका छन् । द्धन्द्धको पीडाले बेपत्ता बनाएका आफन्तहरूलाई खोज्दा खोज्दा सुकेका आँसुले उनीहरूलाई साहसी बनाएका कुराहरू कवितामा व्यक्त गरेका छन्, फूलमायाको डायरी शिर्षक कविता मार्फत । कविताकी पात्र फूलमाया आफ्नो श्रीमान बेपत्ता भएपछि निदाउन सकेकी छैनन् । उनको जीवनमा आएको आँधीबेहरीलाई कसैले पनि शान्त पार्न सकेनन् । र, उनी रोएर मात्र नबसेर आफ्नो श्रीमानको खोजी गर्ने निधो गरिन । अगाडि हेरौंः–‘मेरा प्यारा ! म त्यती कमजोर छैन, अब रोएरै बस्ने, प्रश्न गर्न सक्ने भएकी छु । कि सास कि लास माग्न सक्ने भएकी छु । तपाईको जस्तो आँट र विश्वासमा हिक्मत साथ बाँच्न सक्ने भएकी छु । हो प्यारा मलाई समयले बदलिदिएको छ ।’ बेपत्ता भएका आफन्तका फोटो बोकेर सडकमा दिनदिनै धाइरहेका व्यक्तिहरूको यो प्रतिनिधि कविता भन्दा पनि हुन्छ । यो सत्य कुरा हो, कविले कविता मार्फत यथार्थ लेखिरहेका छन् । कवि दोलखामा बसोवास गर्छन् । जमर्को साहित्यिक यात्रा मार्फत कविहरूलाई दोलखाका दुर्गम स्थानहरूको भ्रमण गराउँछन् । उनीहरूको रहनसहनमा एकदुई रात सहभागी हुुन्छन् । अनि उनीहरूकैै कविता लेखेर उनीहरूलाई सम्मान गर्छन् । यही यात्राको एउटा कोसेली पनि हो बूढो माझी कवितासङ्ग्रह । उनले भने जस्तै दुःखी र पीडितका कथाहरू नै हुन उनका कविता । उनका कविताहरूमा समस्यामात्र देखाएर उम्केका छैनन् । समाधान तर्फ पनि उन्मुख भएका छन् । हामीले नै हाम्रा समस्याहरू समाधान गर्ने हुन अरूलाई दोष देखाएर पन्छिन खोज्नु मूर्खता हो भन्ने सन्देश प्रवाहित गरिरहेका छन् । बूढो माझी त एउटा प्रतिनिधि पात्र न हो । उनका कविताभित्र कवि विप्लव ढकाल लेख्छन्–‘उनका कविताहरूमा लामो द्धन्द्धको पीडामा छटपटाईरहेका असंख्य मानिसहरूको चित्कार सुन्छु । मान्छेको स्वतन्त्रताका आवाजहरू सुन्छु । आज लेखिदै गरेका कविताहरूले भोलिको युगलाई पनि झस्काईदिनेछन् । आजका कविताका बिम्बहरूमा उनिएको जीवन हेरेर भोलिको समय रूनेछ । सन्त्रस्त बनेर काँप्नेछ भोलिको इतिहास । अक्षरको आँखाबाट बग्नेछ अविरल आँसु ।’ कवि बिप्लवले भने जस्तै विष्णुका कविताहरू समयका दस्तावेज नै हुन । हामीले भोगेका वर्तमानका कहानीहरू हुन् । कवि जस्तै सरल छन् कविताहरू । सरलता भित्र लुकेका असख्य पीडालाई लुकाएर हाँसेका वर्तमानका घाउहरूलाई कवितामार्फत सान्त्वना दिइरहेका छन् । समयले हानेका वाछिटालाई सहेर पनि नौलो युगको निर्माणमा जुटेका असख्य पौरखी हातहरूले लेखिएका यी कविताहरू युग सुहाउँदो र प्रगतिवादी चेतनाले भरिपूर्ण छन् । सम्पदा अन्वेषण तथा विकास मञ्च, नेपालद्धारा प्रकाशित बूढो माझी कवितासंङग्रहले हामीले भोगेका दुःखान्त युगको प्रतिनिधित्व गरिरहेका छन् ।
समयसँगै
जातो घुमिरहेछ
घुमाइरहेछन्
म सोचिरहेछु
सन्याकालको एकान्तमा
यो टाउकोमाथिको जाँतो
एकदिन कसो नघुम्ला
तिनीहरुकै टाउकोमाथि ।









































प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 18 जेठ, 2070

लेखकका अन्य रचनाहरु