कैलशिया

- विश्वराज अधिकारी

“भदौ महिनामा गाउँका सबै बाटाहरु हिलोले गर्दा हिँड्न नसकिने हुनु गाउँका मानिसका लागि अप्रत्यासि भने थिएन। अप्रत्यासित थियो भने गाउँका चौकिदारले साँझ सुनाएको खबर। चौकिदारले सारा गाउँ घुमेर भनेको थियो “आज राति मुखिया साहेबको दुरामा जम्मा हुनु। पंचैति छ। सबैले आउनु पर्ने मुखिया साहेबको आदेश छ।” यो खबरले सबैलाई अचम्म र दिक्कदारी, दुबै स्थितिमा उत्तिकैमा पुर्याएको थियो। त्यस्तो हुने कारणहरु पनि थिए। एक त, पाँच सात दिन देखि लागेको झरि बल्ल त्यो दिन, बिहान रोकिएको थियो र अर्को त्यो दिन रोपाई धुम धामले गाउँ भरि चलेकोले सबै थाकेर घर फर्केका थिए, आराम गर्ने मनस्थितिमा थिए। त्यति मात्र होइन, त्यो दिन औंसिको रात परेको थियो, रातिमा हिँड्दा छेउको मानिस पनि नदेखिने स्थिति थियो, को अगाडि छ अनि को पछाडि, आबाजले थाहा पाउनु पर्ने समस्या थपिएको थियो। तर मुखिया साहेबको आदेशको अटेरि गर्ने हिम्मत कसैमा थिएन पनि। गाउँको त्यो टोलबाट, कैलशियाको छर छिमेकबाट त घराहिं एक जाना जानै पर्ने आदेश थियो, मुखिया साहेबको।”
“पंचैतिको मुख्य विषय थियो- कैलशियालाई जरिबाना गर्ने अनि आउने दिनहरुमा त्यस्तो नगर्न कडा चेतावनी दिने। उता कैलशियाले छरेको हल्ला पनि एक कान दुई कान हुँदै मैदान भएको थियो। कैलशियाले भनेकी थिइ- मलाई डण्ड, जरिबान, यसो उसो केही गरे भने यो गाउँ नै छाडेर जान्छु। कलैशियाएको धम्की चैत बैशाषको अग लग्गी जस्तो फैलिएको थियो, गाउँ भरि। उसको यो धम्कीले गाउँका धेरैलाई हल्लाएको थियो, तर सबै भन्दा बढी हल्लेका थिए मुखिया साहेब नै।”
“पंचैति प्रारम्भ भयो अनि साथै कैलशिया माथि आरोप लगाउने शिलशिला पनि। जय मंगलले कड्केर भने -यो छिनार मौगीले गाउँलाई बिगार्नु सिबाए केही गरेकी छैन। केटा र केटीलाई एक अर्कासँग मिलाइ दिने बाहेक कुनै राम्रो काम गरेकी छे, यसले? छ भने भन्नुस, पंच भलादमीहरु।”
“जटाशंकरले हातमा रहेको बाँसको, तेल पिआएको, पाँच हातको लठ्ठी भूँइमा बजार्यो अनि कड्किंदौ भन्यो- एक महिना पहिले एक जोडी उढरा उढरी भागे यो गाउँबाट, सबैलाई थाहा भएकै कुरा हो, छ कसैबाट छिपेको? तिनीहरुलाई मिलाउनमा र उढार्नमा यै कैलशियाको हात छ. बच्चा बच्चालाई थाहा छ, यो कुरा।”
“जामुनले थप्यो- गाउँका जवान केटा केटी त के, उमेरदारहरु पनि बिग्री सके कैलेशियाको कारणले गर्दा। रात बिरात केही बुढाहरु समेत पस्न थालेका छन, अर्काको घरमा। यस्तो आइमाइलाई त यो गाउँबाट नै निकाल्नु पर्छ। एउट सडेको आलूले बाँकी सब आलूलाई सडाउँछ। अब त्यै सडन बाँकी छ, सारा गाउँ, यो कैलशियाले गर्दा।”
“आरोपहरुको क्रम चुलिंदै गएको स्थितले नन्दलाललाई यति बढी उत्प्रेरित गर्यो कि उसले आफूलाई रोक्न सकेन। मुखिया साहेबले सुनाउनु भन्दा पहिले नै उसले पंचैतिको फैसला सुनाए झै गरी भन्यो -यस्तो छिनार मौगीलाई त चार पाँच जना पठ्ठाहरुले लग्नु पर्छ रहरीको खेतमा, अनि ठीक गर्नु पर्छ। अनि मात्र तल आउँछ यसको बढेको करतुत, कहिले नाम समेत लिन्न त्यस्तो कामको, यो सत भत्तरीले।”
“केवल कैलशियाको विपक्षमा रहेको बलियो जनमत लामो समय सम्म भने कायम रहन सकेन। गोगाइले हाँस्दै भन्यो -कैलशियालाई भेट्न त तिमी नै पुग्छौ धेरै, नन्दलाल। अस्ति पूर्वारी टोलाको, त्यो मुस्मातको घरमा आधा रातमा तिमी पसेर हल्ला हुँदा …………बिर्सेउ त्यो घटना? पंचभालदमीहरुले केवल दण्ड गरेर छाडि दिए तिमीलाई, अरु बढी केही गरेनन्, गरेको भए अंग भंग हुन सक्थ्यो। अहिले कैलशिया माथि कुनै रीस साँधेको जस्तो छ, तिमीले। तिमी कस्तो छौ भन्न कुरा त जग जागेर छ, कि छैन, पंचभलादमीहरु?”
“गोगाइको यो प्रतिवाद पछि नन्दलालको मुखमा दही नै जम्यो। उता कैलशिया भने पंचैति भइ रहेको आँगनको छेउमा बसेकी थिइ तर मौन। कैलशिया बाहेक अरु कुनै महिलाको उपस्थित थिएन, यो पंचैतीमा, त्यो भरि सभामा। औशीको त्यो रातमा, चलिरहेको त्यो पंचैतिमा, को कता बसेको थियो, राम्रो गरी देखिने स्थिति थिएन। एउटा पुरानो लालटेन थियो, मुखिया साहेबको छेउमा। त्यो लालटेनबाट प्रकाश कम धूआँ भने बढी आइ रहेको थयो। लालटेनको सिसाको आधा भागमा कालो पोतिएको थियो, बाँकी आधा भागबाट आएको प्रकाशले धानेको थियो उज्यालोको जिम्मेवारी, त्यो सारा पंचैतिका लागि।”
“मुखिया साहेबले मौनता तोडे- पन्च भलादमीहरु, भन्नुस, के मुनासिब सजाए हुनु पर्छ कैलशियालाई? अनि, भिखरलाई लालटेनको सिसा पुछ्न आदेश पनि दिए। मुखिया साहेबको आग्रह मिश्रित त्यो निर्देशनमा कसैले तत्काल प्रतिक्रिया जनाएन। वातावरण लामो समयसम्म मौन रह्यो, छेउमा कराई रहेका किरा, फट्यांग्रा र भ्यागुताहरुको ध्वनी बाहेक, भदबारीको त्यो कालो रातमा।”
“झगडुले असहमति प्रकट गर्यो- कसै माथि त्यतिकै आरोप लगाएर हुन्छ? कैलशियाले धेरैका छोरा छोरीहरुलाई बिगारेको प्रमाण पनि त हुनु पर्यो नि। कोइ आफ्नै मनले उढेर जान्छ भने त्यसमा पनि कैलशिया कै दोष?”
“मुखिया साहेबलाई नजिकबाट बुझेको बलदेवले भन्यो- कसैले बिना मतलबको नालिस, उजुरी दिंदैमा मुखिया साहेबले पंचैति गराउनु जरूरी नै थिएन। पंचैति नभएको भए, यो खेति गृहस्थी, यो रोपनीको कामबाट हारे थाकेकाहरु, मस्त मस्त सँग सुतेका हुन्थ्ये यति बेला। एक त त्यसै पनि मछ्छडले सुत्न दिंदैन रात भर, जस्तो सुकै ठूलो घुर लगाउँदा पनि। धूआँ धुकुर गर्दा पनि।”
“वातावरण निकै बेर शान्त रह्यो। कैलशियाको बिरोधमा कुनै स्वर निस्केन।”
“केही समय पछि रामसहाय कड्क्यो- कोइ आफै इनारमा डुब्न जान्छ भने यसमा कैलशियाको के दोष? सबैसँग कैलशियाले हाँसेर बोल्दैमा उ छिनार हो भन्नु मुनासिब हो, भन्नुस पंचभलादमीहरु?”
“रामसहायले थप्यो- कैलशियालाई कमजोर देखेर सबैले दबाउन खोजेका हुन, बाँकी केही पनि होइन।” “रामसहायले सचेत पनि पार्यो- कैलशियाको बारेमा मतलब बेमतलबका पचास कुरा चलेकोले रिसाएर, ऊ मोरंग जान थालेकी छ। उतै खाने कमाउने रे, यो गाउँ सदाका लागि छोडि दिने रे।”
“पंचैति भइ रहेको ठाउँको पुछारबाट मधुरो आबाजमा कोही बोल्यो- कैलशियालाई अर्को गाउँ जान देखि रोक्नु पर्यो, पंचभलादमीहरुले। कैलशिया हिंडे भने यो गाउँमा ……………………। यति भनेर त्यो भन्ने मान्छे अध्यारोमा कता हरायो देख्न सकिएन। तर त्यो हराउने व्यक्तिको आबाजलाई भने बिसौं जनाले बुलन्द पार्दै भने- को हो त्यो टाढाबाट भन्ने? यहाँ, यो भरि सभामा, बीचमा आएर भन्नु पर्यो।”
“मुखिया साहेबले भने- सबैको कुरा सुनियो। कैलशिया अन्त कतै जान्न। र ऊ कुनै खराब कामका लागि कसुरबार पनि छैन। न त उसको बिरोधमा कुनै दषि प्रमाण नै छ।” यो घोषणा गरे पछि मुखिया साहेबको मुखमा तेजीलो चमक देखियो। लालटानको ज्यादै कमजोर प्रकाशमा उनको मुहारमा फैलिएको रौनकता कसैले पनि देख्न पाएन। मुखिया साहेबको मुहारमा झै उपस्थिति धेरैको मुहारमा खुसीको बिजुली चम्मेको थियो, कलैशियाको बिरोध गर्ने दुई चार जनालाई छोडेर।”
“कैलशिया भने मनमन मै हाँसि रहेकी थिइ। लाग्थ्यो त्यो पंचैयतिको निर्णय के हुने हो उसलाई पहिले देखिन नै थाहा भए जस्तो।”
“एउटा कालो छाया कैलशियाको नजिक हुँदै, उसँग टाँस्सिने किसिमले अगाडि बढ्यो। छायाले भन्यो –कैलशियाSSSSSSS……………..।
पहिले त डराइ कैलशिया त्यो आवाजबाट, तर आवाज परिचित भएकोले क्षणभर मै ढुक्क भई। कालो छायाले कैलशियाको कान नजिक मुख लग्दै भन्यो- हेर कैलशिया, यो पटक त जोगाई दिएँ तिमीलाई, तर अब गर्हो छ, त्यसरी जोगाउन। किन गर्छेऊ यस्तो काम छाडिदेऊ न, हुँदैन्?”
“कैलशियाले हाँस्दै भनी- यो काम छोड दिए भने फेरि ………………………………………?”
आज भन्दा चालिस वर्ष पहिले, म र पाण्डे मास्टर साहेब गौर जाँदै थियौ, पाण्डे मास्टर साहेबले जग्गा किन्नु भएको थियो, त्यै जग्गाको रजिष्ट्रेशन पास गर्न, आफ्नो गाउँबाट, पैदल, सात आठ घण्टाको बाटो। त्यस बेला अहिले जस्तो चन्द्रनिगहापुर र गौरको बीचमा न त बस चलथ्यो न त कुनै अन्य सबारी नै, बैल गडी बाहेक। यो कथा बाटोमा सुनाउनु भएको थियो मास्टर साहेबले। पूरै कथा बाटोमा सकिएको थिएन, गौरको गुदरी बजार नजिक रहेको एउटा होटलमा दही चिउरा खाँदा भने कथा सकिएको थियो। कथा सकिए पछि मास्टर साहेबले भन्नु भएको थियो- देखो, दिनकर, कपडे के अन्दर सब नङ्गें है। त्यस बेला म, मात्र दस एघार वर्षको भएकोले मास्टर साहेबको भनाइको आशय बुझ्न सकेको थिन, न त त्यो कथाको अर्थ नै। कथा मेरो आग्रहमा होइन, आठ दस कोषको, पट्यार लाग्दो बाटो काट्नका लागि भन्नु भएको थियो, मास्टर साहेबले। उमेरले आधा सप्ताब्दिको यात्रा पार गर्दा बल्ल बुझ्दै छु, राम्रो गरी, मास्टर साहेबको त्यो भनाई- कपडे के अन्दर सब नङ्गें है को आसय, अनि त्यो कथाको अर्थ। त्यो बेला त्यो कथा पटक्कै नबुझेता पनि।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 13 जेठ, 2070

लेखकका अन्य रचनाहरु