हेलो साथी कि भलो साथी

- ऋषिराम भुसाल

पूर्वको विराटनगर जाने धोको धेरै समय पछि मात्र पूरा भएको थियो २०७० वैशाख २७ गतेको दिन । पूर्वको ठूलो शहर । पूर्वका धेरै साथीहरुसँग संगत भए पनि जाने मौका पाउन सकिएको थिएन । केवल उनीहरुका कुरा मात्र सुनेर अनुमान मात्र गरेको हुन्थे विराटनगर र वासपास यस्तो होला भनी । पूर्व घुम्ने मेरा ३ वटा मात्र कारण थिए । मधेशका जिल्लाहरु घुम्ने, देख्ने र त्यहाको वस्तुस्थितिको बारेमा थोरवहुत जानकारी लिने । तराईमा रहेको दहेज प्रथाको शुक्ष्म अध्ययन गर्ने र अर्को मुख्य कारण थियो मायाकुमारीलाई भेटने । सोसियल साईट फेसवुक, टयूवेली जस्ता विभिन्न माध्यमबाट बनेका साथी मध्ये मायाकुमारी पनि मेरो एक जना अनन्य मित्र ठानेको थिए । किनभने मेरा धेरै मित्रहरु फेसवुक मार्फत साथी बने पनि मलाई राम्रै भएको छ । उनीहरुसँग धेरै कुरा आदान प्रदान हुने गरेको छ । मायाकुमारीसँग पनि फेसवुकमा फोटा टयाग गर्ने, म्यासेज आदान प्रदान गर्ने र एकले अर्कोको भलाईका कुरा हुने गरेकोले मायाकुमारी मेरो निकटस्थ साथी बनेको मेरो ठम्याई थियो । त्यहि भएर पनि उनीलाई एक चोटी देख्ने धोको थियो मनभरी । म जानुका कारणमध्ये घुम्ने र त्यहाको दहेज प्रथाको जानकारी लिने दुई उद्धेश्य छिटै पूरा हुने खालका थिए । अर्को उद्धेश्य मायाकुमारीलाई राम्रोसँग भेटने थियो । सम्भव भए विराटनगरका मुख्य मुख्य ठाँउहरु उनी मार्फत जानकारी लिने र त्यँहाको वास्तविकता थाहा पाउने गुहय उद्धेश्य थियो । त्यसको लागि मैले उनीसँगको कार्यक्रम नै ३ दिनको लागि अलग्गाएको थिए । विराटनगर जानुपूर्व फेसवुक मार्फत उनको मोवाईल नम्बर मागे । उनको नम्बर पनि पाए । ज्यादै खुसी लाग्यो । पक्कै साथी राम्रै छन । केही समस्या परे पक्कै सहयोग पाईन्छ भन्ने मनमा दृढ विश्वास थियो । फोन गरे तर उठेन । व्यस्त भएर होला भने । जाने दिन उत्कट अभिलाषा सहित मनमा निकै ठूलो विश्वासका साथ म पूर्व लागे । पैतीस मिनेटको मेरो विराटनगरको यात्रा सकियो । विराटनगर पुगेर म आएको जानकारी एस.एम.एस.मार्फत गराए । म सिरहा र सप्तरीको भ्रमणमा लाग्नु थियो । म सिधै सिरहा लागे । उँहा पुगेर फोन गरे उठेन । माया कुमारी पक्कै व्यस्त भएर होला भन्ने सिधा सोंचे । २ दिनको वँसाई थियो सिरहामा र सप्तरीमा । सिरहा र सप्तरी जानुको उद्धेश्य त्यहाँका स्थानीयवासीहरुसँग सोधपुछबाट टिपोट गर्न सके । कतिपय कुराहरु सुन्दा नरमाईलो पनि लाग्यो । दहेजको कारण मानिसले मृत्युवरणसम्म गर्ने गरेका कतिपय विषयहरु पत्रिका मार्फत पनि नसुनेका होईनन । अझ प्रत्यक्ष पीडित व्यक्तिबाट समेत यस्ता विषयहरु सुन्दा यात्राको बेमोज ठाने । जे होस मैले त्यहाँको गतिविधिको धेरथोर जानकारी लिन सफल भए । अव मेरो त्यँहा वसाँईको उद्धेश्य सकिएपछि मेरो ठूलो उद्धेश्य विराटनगर घुम्ने र मायाकुमारीसँग भलाकुसारी गर्ने थियो । मनभरी ठूलो आशा लिएर विराटनगर घुम्ने र मायाकुमारीलाई भेट गर्ने थियो । तीन दिनको कार्यक्रम भएकोेले कसरी विताउने र कँहा जाने भन्ने कुरा मायाकुमारीकै प्लान अनुसार चल्ने भन्ने मेरो योजना थियो । पर्सीपल्ट विराटनगर फर्कनुपर्ने भएकोले मैले मायाकुमारीलाई यदि तपाईले समय दिने हो भने म त्यँहा आउछु तीन दिन मसँग समय छ के गरौं भनी म्यासेज गरे । म्यासेज गरेको भोली पल्टसम्म पनि केही उत्तर आएन । फेरी गरे म के गरु भन्नु न प्लीज भनी लगातार म्यासेज गरे । रोही हत्ते गरे पनि केही प्रतिक्रिया नपाएपछि मनमा निरासाको तुवाँलो भरिन थाल्यो । जे भएपनि एक पटक त विराटनगर त घुम्नै पर्छ भन्ने लालसासहित म विराटनगर लागे । हुनत सिरहाबाट धनुषा हुँदै काठमाण्डौ आउन नजिक पनि पर्ने र सस्तो पनि हुन्थ्यो मेरा लागि । तैपनि जे उद्धेश्यले हिडेको हो त्यो पूरा हनै नपाएकोले म उतै विराटनगरतर नै लागे । मध्यान्ह दिँउसो विराटनगर पुगे दिनभर यताउता सोध्दै घुमफिर गरे । जोगवनी नाकातिर पनि पुगियो । चिनेजानेका साथीहरु कोहि कता कोही कता भएकोले विराटनगरमै भेटन नसकेको कारण एक्लै पर्नु अस्वभाविक थिएन । मेरो गन्तव्यतिर लाग्न कठिनता भने पक्कै भयो । मायाकुमारीलाई सम्र्पक गरेर जाउँ की भन्ने सोंच आयो । किन कर गर्ने मेरा लागि समय दिन ईच्छा र रुचि लाग्ने भए त म आएको जानकारी पहिले नै दिईसकेकै थिए । उनीले वास्ता गर्दैनन भने किन सोधीखोजी गर्ने त भनी एक्लै भएपनि जोगवनी, विराटचोक, महेन्द्रचोक, जिल्ला प्रशासन तिरका मुख्य मुख्य बजार एरियातिर घुमियो । कतै रिक्सावालासँग सम्र्पक गरेर कतै पसलवालासँग सम्र्पक गरेर । धेरै सोधिखोजी गरिरहनुपर्दा म विचरा भएपनि नँया ठाँउमा म जे जति घुमे मैले त्यो उपलब्धि नै ठाने । भोलिपल्ट काठमाण्डौ फर्कने निश्चित गरी टिकट काटे । वेलुका थकित हुँदै चिसो पिउदै अन्तिम एक पटक मायाकुमारीलाई म्यासेज गरे । थ्याङ्क्यू फर पोरभाईडिङ् मी यूअरर्स टाईम आई अम.हेयर ईन विराटनगर भनी म्यासेज गरे । तत्काल रिसिभ भयो कँहा हुनुहुन्छ भन्ने म्यासेज आयो । म आफू भएको ठाँउको जानकारी दिए । भेट गर्न मिल्छ भने भेटैं भन्ने प्रस्ताव राखे । छ बजेपछि अलिक चिसो पनि हुन्छ त्यतिबेला भेटौ भन्ने म्यासेज आयो । मैले कँहा र कतिबजे भनेर म्यासेज गरे । अहिले नै भेटौं भन्ने म्यासेज आयो । ल कँहा आउ म की तपाई आउनुहुन्छ भनी प्रश्न गरे । त्यसको उत्तर आएन । रिक्सा लिएर सररर् घुम्न निस्के । एक राउण्ड पूरा बजारका मुख्य मुख्य नाकाहरुमा पुगे । वेलुकापखको विराटनगरको दृश्यावलोकन रमणीय नै लाग्यो । साँझ पर्ने बेला चिसो पिउदै होटलमा वसेको थिए । म्यासेज ढिलो आयो । कँहा हुनुहुन्छ भनी उताबाट म्यासेज आयो । म आफू रहेको एरियाको जानकारी दिए । धेरैबेर म्यासेज आदान प्रदान भयो । उनीलाई अझै पनि भेट गर्न सकिने भए आउनुस भने । भोली विहान भन्ने उत्तर आयो । भोली विहान म जाने भन्ने खबर गरे । उनी आउने रुचि देखाईनन् । ठीकै छ भनि म मेरो गन्तव्यतिर लागे ।
मेरा साथीहरुमध्ये मायाकुमारी पनि मेरो अनन्य मित्र र माया गर्ने मध्येका थोरै मान्छेभित्र पर्थिन । उनी एक प्रसिद्ध मान्छे । उनीले मलाई शायद नराम्रो र तेस्रो दर्जाको नागरिकको हैसियतमा राखिन होला । मेरो अनुमान र ठम्याई त्यहि भयो । म नराम्रो नियतको मान्छे पनि होईन आखिर । हुन त मान्छे व्यवहारमा नपरि थाहा हुदैन । उनीले मलाई राम्रो मान्छे भन्ने ठानेकी भए एक पटक त भेट गर्थिन नै । मबाट उनीले खतराको शंका गरिन होला वा किन संगत गर्ने वाईहात मान्छेसँग भन्ने सोंच भयो होला । जो पायो त्यससँग वसे हिडेको गर्दा उनीलाई चिन्नेहरुले खिसी गर्लान भन्ने भय जाग्यो होला । मसँग हिड्दा दुनियाँले जिस्काउलान भन्ने भय र आफू लज्जित हुनुपर्ने हो की भन्ने शंका जागे होला उनीलाई शायद । म पनि त माया कुमारीसँग लभ गर्न हिडेको थिईन । उनीसँग विहे गरुला भन्ने आशाको खातिर पनि धाएको थिईन । वासनाले अन्मत्त भएर वासनाको प्यास मेटाउने ध्याउन्न पनि त थिएन मेरो । एक जना मन पर्ने मान्छेको नाताले एक पटक देख्न रुचि लागेर उनीलाई भेट गर्ने मनसायले हिडेको मान्छे थिए । भेट हुँदा आत्मियता बढ्थ्यो । साथिथ्यको आत्मियताले धेरै कार्यहरु गर्न पनि त सकिन्थ्यो । खाली साथी भनेको केवल लभ गर्नकै लागि वा विहे गर्नकै लागि पनि त हुदैनन् । सबै मान्छे स्वार्थले प्रेरित भएर पनि त हिड्दैनन् । ढुंगाको भर माटोलाई माटोको भर ढुंगालाई न हो । मानवीयताको नाता पनि त हुन्छ मानवमा । समस्या पर्दा एकले अर्कोलाई सहयोग गर्ने न हो । समस्या त जो कोहिलाई पनि त पर्न सक्छ । पूर्ण त आखिर कोहि हुँदैन । आज सम्पन्न भएको मान्छे भोली कंगाल हुन सक्छ । आज दुःखमा रुमल्लिएको मान्छे भोली सुखमा आहाल खेल्न सक्छ । आज अकेला भएको मान्छे भोली धेरैका माझमा हुन सक्छ । खाली सोंचाईको कुरा न हो । हुन त मायाकुमारीलाई माया गर्ने थुप्रै मान्छे होलान । शायद विहे गरेकी होलीन वा लभ गरेकी होलीन त्यो विषय मेरो लागि ठूलो विषय नै रहेन । आजको दुनियाँ हातमा हात र काँधमा काँध मिलाएर जान नसक्ने हो भने कसरी चल्छ र ? जटिल बन्दै गएको मानवीय जीवनचक्रमा साथिथ्वको महत्व बढदै गएको सन्र्दभमा एक जना मान्छे जसको पूरा विश्वास गरिएको थियो उसैबाट मेरोलागि २ मिनेटको पनि समय पाउन नसक्दा अति दुःख लाग्यो । म एउटा निष्कर्षमा के पुगे भने सबै मान्छेलाई सहजै र पूरा विश्वास गर्नु हानिकारक रहेछ । हेलो साथीको ठाँउमा मलाई भलो गर्ने भलो साथी भैदिएको भए के म विराटनगर एक्लै भौतारिनु पथ्र्यो र ? भलो साथी भैदिएको भए शायद मलाई विराटनगरको ईतिवृतान्त सुनाउथ्यो, मलाई घुमाउथ्यो, साथ दिन्थ्यो, मेरो दुःखलाई आफ्नो पनि दुःख सम्झन्थ्यो । त्यसैले हेलो साथी र भलो साथीमा रहेको भिन्नतालाई आत्मवोध गर्दै भलो साथीको महत्ववोध मलाई विराटनगरमा साच्चिकै खटकियो । भलो साथको मात्र संगत गर्नु र हेलो साथीमा विश्वास नगर्नु नै जीवनमा कल्याण हुने मेरो निष्कर्ष रहेयो ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 13 जेठ, 2070

लेखकका अन्य रचनाहरु