यसरी हुनसक्यो रामप्रसाद ‘लोग्ने’

- सञ्जय बिष्ट

झगड़ा गरेर रामप्रसादकी श्रीमती रामप्रसादसित, आज बिहानसम्म पनि माइत गएकी थिइन।
विवाह गरेको दुई वर्षमा रामप्रसादकी एउटी छोरी जन्माई रामप्रसादकी श्रीमतीले। अहिले छोरीको उमेर पन्ध्र भइसक्यो। तर यो पन्ध्र वर्षभित्रमा रामप्रसादकी श्रीमतीले रामप्रसादको अर्को सन्तान जन्माउन सकिन। लोग्ने-स्वास्नी दुवै छक्क परे।
छोरीको उमेरमा छोरी जन्मनुअघिको दुई वर्ष जोड़्दा रामप्रसादले एउटी स्त्रीलाई स्वास्नीको स्थान र मर्यादा दिएर एक थप्पड़ पनि नलगाई सँगै बसेको समय निस्किन्छ।
रामप्रसाद छोरीलाई साह्रै माया गर्छ। यसरी छोरीले बाबुबाट ज्यादै माया पाउनुको आधार दोस्रो सन्तान नहुँदा रामप्रसादको मायाको अंश अरूतिर नलागेरचाहिँ होइन। जे होस्, माया गर्छ रामप्रसाद छोरीलाई।
चिनेकाहरू कतिले ‘‘रामप्रसाद दाजु’’, ‘‘रामप्रसाद भाइ’’, अनि धेरैजसोले आर.पी. सर भनिसकेर पछिल्तिर जोड़्छन्, ‘‘साह्रै सोझो छ।’’
घर रामप्रसादको शहरभित्र छैन। छेउमा पनि छैन शहरको। तर साह्रै टाढ़ो पनि छैन शहरदेखि। उसको घर भएको ठाउँलाई गाउँ भनिहाल्नु पनि सकिँदैन। मिल्दैन । हेर्दा-हेर्दै अनेक नयॉं घरहरू बनिसकेका छन् वरिपरिका खाली जग्गाहरूमा। केही वर्ष पहिले नआएर हालमा आइपुग्ने कति मान्छेहरूले भनेका ‘‘छक्कै पर्नु! अर्कै भइसकेछ। रूपरङ्ग नै बद्लिसकेछ यो ठाउँको त।’’ रामप्रसाद र वरिपरिका थुप्रैले सुनिसकेका छन्।
त्यो हरियो रङ्ग लगाएको छानामा, नाम त कुनि के हो—सुब्बाको। केही महिनाअघि बनाएको पल्टनकै रुपियॉंले घरेटी पनि किनेर। त्यसको माथिको पनि पहिल्यै थिएन, हवल्दारले हालै बनाएको। रामप्रसादकै घरदेखि दस-पन्ध्र पाइला दाहिनेतिरको नयॉं दुईतले सिमेन्टेड घरको ब्रिटिश आर्मीबाट अवकाश प्राप्त त्यो हट्टाकट्टा गुरुङले कहिल्यै वरिपरिकाहरूसित हेलमेल बढ़ाउन रुचाएको छैन। उसकी स्वास्नी र छोरीहरू पनि उस्तै छन् तर प्रत्येक कुराको प्रदर्शन गर्छन् उनीहरू। त्यस घरबाट आएको प्लेयरको अङ्ग्रेजी र हिन्दी गीतका धुनहरू रामप्रसाद र अरूहरूले सधैँ सुन्नुपर्छ। त्यो तलको कर्णको घरछेउको बनाई नसकिएको तर मान्छेहरूचाहिँ बस्न थालेका घर कर्णकै भाइ पर्नेको अरे। ‘‘घरेटी कर्णले नै दिएको’’ सुन्छन् छेउछाउकाहरू। त्यसको उत्तापट्टिको नयॉं घरको नयॉं दैलोमा कुनि के-के नयॉं लुगाको झ्यार्ल्याङझुर्लुङ झुन्ड्याएको त्यो भोटेको। हिजो-अस्तिसम्म गोरु काटी-काटी एकैचोटि यत्रो घर बनाउँदा मान्छेहरू छक्कै परे। त्यो कचहरीमा काम गर्नेको, त्यो...।
बाटोतिर भेट हुँदा मुसुक्क एउटा हासेपछि हॉंस्छन् मुसुक्कै अर्को पनि यिनीहरू। तर एउटा धुरूधुरू रुँदा अर्को सुन्नेको आँखाबाट एकै थोपा पनि आँसु झर्दैन। तर एउटा घरकाहरू अर्को घरको कुनै कुरामा वास्तै गर्दैनन् भन्नेचाहिँ होइन। रामप्रसाद आज कति बेला स्कुल गयो? रामप्रसाद स्कुल गएपछि उसकी श्रीमतीले के गरी? रामप्रसाद स्कुलदेखि कति बेला आयो? आउँदा उसको हातमा खाद्राक-खुद्रुक सौदाहरू माथि दोकानमा किनेको थियो कि थिएन? स्कुलबाट आएपछि उसकी श्रीमतीले रामप्रसादलाई तातो चिया बनाएर दिई कि रामप्रसाद आफैले चिया बनायो? आज रामप्रसादकी श्रीमतीले उसलाई गाली गरी कि गरिन?—अति आवश्यक दैनिकीजत्तिकै छ माथितल, यताउताका घरकाहरूको। स्वास्नीसित दबिएर रहने, स्वास्नीले सधैँ गाली गरिरहँदा पनि एक वचन फर्काउनु नसक्ने, कुट्नु त परै जावोस्। स्वास्नीले जे-जे भन्यो सबै मान्ने। लोग्नेमा हुनुपर्ने गुण र पुरुषार्थ नभएको, नामर्दजस्तो।—छ रामप्रसाद वरिपरिका स्वस्नीमान्छेको आँखामा। आफ्नो लोग्नेबाट कतिपल्ट कुटाई खाइसकेकी वरिपरिका स्वास्नीहरू रामप्रसादलाई ‘छि ...’ पनि भन्छन् तर लोग्ने रामप्रसादजस्तै पनि चाहन्छन्।
रामप्रसाद ठिक समयमा स्कुल जान्छ। गल्ती गर्ने विद्यार्थीहरूलाई कुट्दैन। गाली पनि गर्दैन। ठिक समयमा घर फर्किन्छ। ठुलो-ठुलो स्वर निकालेर उसकी स्वास्नी उसलाई गाली गरिरहन्थी। रामप्रसादको स्वर सानो छ। ऊ स्वास्नीलाई गाली गर्दैनथ्यो, कुट्दैनथ्यो।
रामप्रसाद कविता लेख्छ। निक्कै भयो उसले कविता लेख्न शुरू गरेको। एक वर्षअघिसम्म उसलाई ठुला लेखकहरूले यादै गर्दैन थिए। केही कविताहरू उसका स्थानीय पत्र-पत्रिकामा प्रकाशित भइसकेका थिए अघि नै तर साहित्यिक संस्था,स्थानीय पनि कति लेख्ने मानिइसकेकाहरू रामप्रसादलाई वास्तै गर्दैन थिए। एक वर्षअघि कुनि कताबाट के-के मिलाएर रामप्रसादले आफ्नो एउटा कविताको सङ्ग्रह छाा सक्यो। धेरैले रामप्रसादको त्यो सङ्ग्रह पढ़ेका छैनन् तर देखेका छन्। अहिले रामप्रसादलाई साहित्यिक संस्थाहरूबाट साहित्यिक कार्यक्रमको निम्ति निमन्त्रण आइरहन्छ। ऊ जान्छ। कविता पढ़्छ। रेडियोले पनि कहिलेकहीँ बोलाउँछ उसलाई। ऊ जॉंदैन। रेडियोमा कविता पढ़्नु ‘बेचु हो कविता’ भन्ने धारणा छ रामप्रसादको। ‘समर्पण’ कुनै कविता कहिल्यै कसैलाई गरेको छैन उसले। आफ्नो सिर्जना अरूलाई दिइनु सकिँदैन—रामप्रसाद भन्छ। ‘समपर्ण’-को अर्थ माया मार्नु लगाउँछ रामप्रसाद । आफ्नो सिर्जनाबाट चटक्क माया चुँड़ाउनु सक्तैन ऊ। ऊ आफ्ना कविताहरूलाई पनि ज्यादै माया गर्छ।
घरवरिपरि गमलाहरूमा ऊ फूल रोप्छ। फूल र मान्छेमा उस्तो पार्थक्य देख्दैन ऊ। साह्रै माया गर्छ फूललाई पनि रामप्रसाद।
थाहा लाग्छ—छोरी, कविता र फूललाई साह्रै माया गर्छ ऊ। यसैले यीहरू रामप्रसादको निम्ति यस्ता छन् —
छोरी _ कविता _ फूल
रामप्रसादले माया गर्नुपरेको चौथो कुरो अब थपिन्छ —
=झगड़ा गरेर रामप्रसादकी श्रीमती रामप्रसादसित, आज बिहानसम्म पनि माइत गएकी थिइन।ळ

जी.एम. सरको टेबलमा कुनि केको बिरुवा देखेर कमल सरले सोधे, ‘‘के हो त्यो?’’
‘‘कोपी’’ भन्नसाथ ‘‘फूल’’ पनि भनेको आर.पी. सरले पनि सुने।
‘‘खुप फलाउन आँट्नु भो कि कसो?’’ दीक्षित सरले सोधे जी.एम. सरलाई।
मुसुक्क हॉंसे जी.एम. सर।
‘‘तपाईँको तिर हुन्छ?’’ आर.पी. सरले सोधे।
‘‘हुन्छ तर कोपी फलाउनु दु:ख छ,’’ भने जी.एम. सरले।
दीक्षित सरले ‘‘तपाईँको तिर अझ राम्रो हुन्छ होला,’’ आर. पी. सरलाई भने।
‘‘हाम्रो तिर हुँदैन सर,’’ भने आर. पी. सरले दीक्षित सरलाई। तर आर.पी. सरले अहिलेसम्म फूलकोपी फलाउने कोसिस गरेको भने थिएन।
‘‘हैन, तपाईँको तिर त राम्रो हुनुपर्ने,’’ थपे जी.एम. सरले।
आर. पी. सरले ‘‘हुँदैन सर,’’ फेरि भने।
‘‘ट्राइ गर्नोस्, रोपेर हेर्नोस्,’’ कमल सरले भने।
सब्जी रोो रामप्रसादको बारी छैन तर जी.एम. सरकै कोपीका बिरुवाहरूबाट जी.एम. सरले नै दिएका पॉंचवटा फूलकोपीका मसिना बिरुवाहरूसित रामप्रसाद बेलुकी घर फर्क्यो।
पॉंचवटा गमलाहरूमा माटो हालेर औँलाले बिचमा खोपिल्टा पारेर कोपीका बिरुवा रोपेपछि गमलाहरूमा अलि-अलि पानी हाल्यो रामप्रसादले। उसको तिर कोपी फल्छ कि फल्दैन राम्रो— अब ऊ ट्रायलमा छ।
फूलहरूको लहरमा फूलहरूजस्तै छन् फूलकोपीका पॉंचवटा गमलाहरू। अब फूलहरूसँगसँगै बढ़्छन् फूलकोपीहरू।
फूलहरू फुल्छन्, फूल नै तर कोपीहरू फल्छन् अब।
तीनवटा फूलकोपीहरू हरिया हुँदैछन् । दुईवटा पहेंला। कोपीहरूमा पार्थक्य देख्दैछ रामप्रसाद।
‘‘मर्छ क्या हो यो दुइटा त,’’ एक दिनको बेलुकी रामप्रसादले आफ्नी श्रीमतीले सुन्ने गरी भन्यो।
‘‘मरोस्, मरोस् सप्पै। आमाको दुध चुसेर पुग्दैन, बाउको घुँड़ा चुसेर हुन्छ? दुई-तीनवटा कोपी रोप्छ, त्यै पनि गमलामा,’’ रामप्रसादकी श्रीमती झर्किई।
रामप्रसादले केही भनेन। चुपचाप दुईवटा पहेंला कोपीलाई हेरिरह्यो।
खाना खॉंदा पनि रामप्रसादको अनुहार अँध्यारो थियो।
केही दिनपछि रामप्रसादले पहेंलो भएर सुकेर पातहरू झरिसकेका कोपीका दुईवटा सिन्कालाई गमलाबाट तानेर उखेलेर फ्यॉंकिदियो।
त्यस दिन पनि रामप्रसादको अनुहार उज्यालो थिएन तरै पनि उसले तीनवटा गमलाका तीनवटा हरिया कोपीहरूमा पानी हाल्यो।
रामप्रसाद सधैँ कोपीहरू हेर्थ्यो। मनमनै भन्थ्यो, ‘‘बढ़ेन। साह्रै ढिलो बढ़्दो रहेछ।’’ तर कोपीहरू बढ़्दै नै थिए। सधैँ हेरिरहने रामप्रसादका आँखाले भने कोपी बढ़िरहेका देख्दैन थिए।
तर एक दिन अचानक रामप्रसादले कोपीहरूले बढ़ेको देख्यो। कोपीहरूका पातहरूको बिच-बिचमा मसिना-मसिना फूल पनि रामप्रसादले देख्यो। तीनैवटा कोपीमा उसले आफ्नी एउटै छोरी देख्यो, ऊ छक्कै पर्यो। सधैँ सानै देखिरहेको आफ्नी छोरीलाई केही अघि उसले यस्तै अचानक बढ़ेकी, ठुली भइसकेकी देखेकी थियो। मुसुक्क हॉंस्यो रामप्रसाद। कोपीहरूलाई हेरिरह्यो। रामप्रसादमा छोरी र कोपीप्रति अझ माया बढ़ेर आयो।
दिन प्रतिदिन कोपीहरू बढ़ेको देख्दैछ रामप्रसाद। ‘‘हाम्रो तिर कोपी राम्रो हुने रहेछ,’’ भनिसकेको छ उसले स्कुलमा कमल, जी.एम. सरहरूलाई।
कोपी त ठुलै हुँदैछ। अब गमलाहरू सानो हुने रहेछ कोपीलाई —रामप्रसादले सोचिसकेको छ।
रामप्रसाद स्कुल गएको थियो। फर्किएर बेलुका घर आइपुग्दा अलिक उठेको ठॉंउमा राखेको तीनवटा कोपीका गमलाहरूमध्ये एउटा त लड़ेर तल झरेर फुटेर कोपीको फेद ठक्कै भॉंचिएछ। देखेर उसलाई साह्रै नमिठो लाग्यो, लागिरह्यो।
‘‘चिया खानुहोस्,’’ भनी रामप्रसादलाई उसकी छोरीले।
चिया सेलाइसकेको रहेछ। उसले आफ्नी छोरीलाई हेरिरह्यो। चिया भएको गिलास उठाइहालेन।
‘‘एउटा त लड़ेर भॉंचिएछ,’’ भन्दै थिए आर. पी. सर अर्को दिन स्कुलको अफिसमा सरहरूलाई।
तर दुईवटा कोपीले बढ़्न छाड़ेन। रामप्रसादको चित्त बुझाउने ठाउँ यहीँ थियो। नरहेका, रहनु नसकेका तीनवटा कोपीहरूको याद रामप्रसादलाई सधैँ नआइरहने भइसकेको थियो।
दुईवटा फूलकोपी भइसकेका थिए।
एक दिनको बिहान रामप्रसादकी श्रीमतीले रामप्रसादलाई भनी, ‘‘खाइदिऊँ हौ अब यो कोपी।’’
सुनेर रामप्रसाद झस्कियो। कोपी खानुपर्छ, खानु हुन्छ भन्ने कुरा उसले बिर्सिसकेको थियो। सब्जी हो कोपी भन्ने कुरा पनि रामप्रसादले भुलिसकेको थियो। ‘पछि खानुपर्छ यसलाई’ सोचेर पनि उसले रोपेकै थिएन पहिले कोपीहरू।
‘‘कोपी ऐले नखानू,’’ भनिराखेर स्वास्नीलाई रामप्रसाद स्कुल हिँड़्यो।
स्कुलमा घरिघरि आर.पी. सर झस्किरह्यो। दिनभरि उसका दुई आँखामा दुईवटा सुन्दर-सुन्दर कोपी थिए। उसले कुनै क्लासमा पनि राम्ररी पढ़ाउन सकेन।
अर्को दिनको बिहान पनि श्रीमतीले कोपी खाने कुरा निकाली। रामप्रसाद मान्दै मानेन।
‘‘तीँ कुओस्। कुवाउनुको लागि त रोपेको होला।’’ श्रीमती कराई।
‘‘नखानू कोपी ऐले,’’ भनिराखेर रामप्रसाद स्कुल हिँड़्यो।
कोपी खानु नसक्ने भइसकेको थियो रामप्रसाद। ऊ कोपीलाई कोपी नदेखेर अरू नै के-के धेरै देख्ने भइसकेको थियो। दिनभरि आर. पी. सरको अनुहार अँध्यारै देखे अरू सरहरूले।
बेलुका घर पुग्दा दुवैवटा कोपी गमलामा देखेन रामप्रसादले। उजाड़ गमला दुवैवटा, सधैँको ठाउँमा थियो।
‘‘कोपी खै?’’ रामप्रसादको स्वर सामान्य थिएन।
‘‘किन रोपेको त्यो कोपी? किन रोपेको? पकाउँदैछु म यॉं।’’ श्रीमतीले गाली गरेकै जस्तो भनी।
दुई-तीन झापट हिर्काइसकेपछि मात्र रामप्रसादलाई आफ्नी स्वास्नी कुटिसकेको थाहा भयो। रामप्रसादले आज पहिलोपल्ट स्वास्नीलाई गाली गर्यो र पिट्यो पनि।
रामप्रसाद एक्लै आँगनमा धुमधुम्ती उभिरहेथ्यो। उसकी छोरी उभिएकी थिई त्यसरी नै घरको दैलोमा। रामप्रसाद घरि आफ्नो छोरीतिर हेर्थ्यो घरि खाली गमलातिर।
के भा’को म?—रामप्रसाद एकोहोरो आफैलाई सोधिरहेथ्यो मनमनै।
सानो झोलामा केही लुगाहरू हालेर रामप्रसादकी श्रीमती पहिलोपल्ट लोग्नेसित झगड़ा गरेर नजिकैको माइत हिँड़िसकेकी थिई।
वरिपरिका स्वास्नीमान्छेहरूले रामप्रसादलेे स्वास्नी कुटेको थाहा पाइसकेका थिए। रामप्रसादकी स्वास्नी माइत हिँड़िसकेकी थिई। थाहा पाउने प्रत्येकको दृष्टिमा रामप्रसाद यसरी अचानक अर्कै भइसकेको थियो—उनीहरूलाई कुट्ने, कुट्नसक्ने आफ्नो-आफ्नै लोग्नेजस्तो। यति छोटो समयमै वल्ला-पल्ला घरहरूका स्वास्नीमान्छेहरूका दृष्टिमा रामप्रसादले कॉंचुली फेरिसकेको थियो। नयॉं भइसकेको थियो रामप्रसाद। मर्द भइसकेको थियो। पक्का लोग्ने भइसकेको थियो। तर अहिले पनि रामप्रसाद उनीहरूका निम्ति ‘छि...’ भएको थियो।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 4 जेठ, 2070

लेखकका अन्य रचनाहरु