मीरा मनले मन छोएपछि

- पञ्च विस्मृत

खेवारा
श्रमले लछप्प भिजेको शरीरले सुक्न पाएको थिएन । निठूर समय भाग्दै गएको थियो । ढल्किंदै गएको दिनको खुशीयालीमा मान्छेहरू चार आँखा बालेर सडक उत्रँदै थिए । उल्टो समाज, उल्टै नियम कानूनको देशमा म पनि चारै खुट्टा उचालेर सडकमा उत्रिएँ । मलार्इ दम्मामको अत्यन्त चर्चित बजार सिकोमा मीरा उर्फ ‘माटो मुटु र मन’ सँग मीठो भेट गर्नु थियो ।
जसको लेखनमा दम छ, जसको लेखनले मनलार्इ छुन्छ र जसले साहित्यको मूलधारलार्इ खुट्याएर कलम चलाएको छ, उनैको नाम मीरा मन थापा हो भन्ने मैले बुझेको हूँ । माइधार झापामा जन्मिएकी मीरा प्रवासमा ‘काफियाहरूलार्इ गजलको मुटु बाँध्दै रदीफहरूको बन्धनमा रहेर मीठा शब्दमा भावनाको लेपन लगाएर कोमल अनि शालीन शब्द र शेरहरूमा’ गुनगुनाउछिन् । कवितामा ‘पूर्व रातो हुन’ अघि जसरी एक दिन घरपुग्ने सपना देख्छिन् । प्रवासी साहित्यको उत्तम नमूना उनका सृजनाहरू पढेर जो कोही भोलिको त्यो उज्यालोको कल्पना गर्न सक्छ जहाँ मीरा प्रतिनिधि नारी स्रष्टाहरूको पङ्तीमा उभिन्छिन् । फेसबुकको दुनियाँमा उदाएकी मीरालार्इ हजारबीचबाट सजिलै छुट्याएर ल्याएर एक प्रतिभाशाली नारी श्रष्टाको रूपमा उभ्याउनुमा अतिशयोक्ति हुने छैन ।
बजारमा हजार सृजनाहरू उपलब्ध छन्, वरिष्ठदेखि कनिष्ठसम्मका । गुटउपगुटमा बाँढिएका, थरीथरीका स्रष्टाहरू छन् । सबैजना यस युगको अन्तिम उत्कृष्ट गजल, अन्तिम उत्कृष्ट कविता लेख्न अवैतनिक कलम जोतिरहेका छन् । शब्दबीज छरिरहेछन् । ती मध्ये कोही आफूलार्इ परिचित र स्थापित गराउन इमेल, फोन र च्याटको सहायता लिंदै कसरत गर्छन् भने कोही सिर्फ सृजना र सृजना प्रकाशित गरेर सन्तुष्टी लिन्छन् । र, कोही भने ठूल्ठूला संगठनहरूको नाम्लो शीरका चर्काएर साहसिक बाटोमा हिंड्छन् । साँचो कुरा त के हो भने तिनका सृजनाहरू यदि अकबरी नै हुन् भने ती टाढैबाट छुटिन्छन्, कुनै कसैले कसी लगाइरहनु पर्दैन । मलार्इ मीराका अकबरी सृजनाहरूले छोए । उनको अभिव्यक्ति, विचारले उसैलार्इ तानेर ल्याएर मेरो मनमा राखे । यसरी उनी मेरो लागि अत्यन्त कुशल स्रष्टामा दरिन पुगिन् । मीरा जस्तै तिनका सृजनाद्वारा चिनेका स्रष्टाहरूको सङ्ख्या बढ्दो छ । म कुनै इमेल, च्याट र फोनकलमा विश्वास गर्दिन पनि । यदि त्यो स्रष्टा असल हो भने उनको केवल एउटा सृजनाले उसको पूर्ण लेखन क्षमता दर्साउदछ । र उसलार्इ त्यहीं रूपमा चिनिन्छ ।

फेसबुक साहित्य
यतिबेला फेसबुक साहित्यको समालोचनाको आवश्यकता तड्कारो खट्किएको लाग्छ । सन् २००४ मा मार्क जुकर्बर्ग र उनका साथीहरूले फेसबुकको निर्माण र स्थापना गर्दा यो साहित्यानुरागीहरूका लागि अति उत्तम स्थलको रूपमा शायदै कल्पना गरेका थिए । तर, नेपालीका लागि वास्तवमै यो एउटा राम्रो स्थल भएको छ । केही व्यक्ति भेला भएर गरिने दर्शक, श्रोताहीन स्रष्टाहरूको कविगोष्ठीको आधुनिक रूप नै यी सामाजिक सञ्जाल फेसबुक बन्न पुगेको छ जहाँ तर धेरै फेसबुकका लागि कलम चलाउछन् भने केही मात्र साहित्यको लागि कलम चलाउछन् । कोही भने कलम चलाउन भन्दा बढी खोक्ने गर्दछन् ।
नारी स्रष्टाहरूकै कुरा गर्ने हो भने मीरा बाहेकका यी नामहरू फेसबुकको भित्तोमा अगाडि देखिन्छन् यतिबेला — दीप्स शाह, निर्मला खड्का, सुस्मा बस्नेत, आचार्य शुविसुधा, गङ्गा पौडेल, शान्ती पाख्रिन, कल्पना भावुक, अस्मी जीएम, भगवती कँडेल, शारदा सुबेदी, मनु लोहरूङ् रार्इ, सुचित्रा खनिया, भगवती बस्नेत, सुमित्रा पौडेल आँचल, कृष्ण कला वनेम, आचार्य प्रभा, गीता खत्री, रीता खत्री, समा श्री, सीमा आभास, स्वप्निल निरव, उमा सुवेदी, शर्मीला खड्का दाहाल, सुस्मा मानन्धर, अन्जु अञ्जली, सरस्वती प्रतीक्षा, गीता थापा, इन्दिरा प्रयास, सञ्जना गुरूङ, माया लिम्बू इम्सङ, आदि ।
मीरा साहित्यको लागि कलम चलाउने स्रष्टा हुन् । यसको पक्षमा उनका सृजनाहरूले आफैं बोल्ने गरेका छन् । यस्ता सुन्दर सृजनाका स्रष्टा मीरा आफैं भने सिकारू सम्झन्छिन् । उनले जे भने पनि उनका सृजनाहरूले भने उनी सिकारू नभएर एक सिद्धहस्त भइसकेकी स्रष्टाको वकालत गर्छन् । वास्तविकता त यो हो कि उनले कलम धेरै समय पहिलेदेखि चलाउदै आएकीहुन् । बीचमा केही व्यवहारिक समस्याका कारण सुस्ताउनु परेको थियो । रोजगारको सिलसिलामा इजरायल पुगेकी मीरामा रमेशहरि लट्ठकको साहित्यमा लाग्ने प्रेरणा र हौसला जिवित थियो । अतीत लिङ्देनका गजलहरूले उनलार्इ लेख्न उत्प्रेरित गरेको थियो भने सन्तोष सिटौलाको सल्लाह सुझाव पनि उनलार्इ उल्लेख्य मिलेको थियो । उनी फेरि जुर्मुराउन पुगिन् नेपाली गजलको आकाशमा यिनै कारण । उनका सृजनाहरू फेसबुकको भित्तोमा देखिन थाले । उनी फेरि परिचित बन्न पुगिन् । उनको नाम नसुन्नेले उनका सृजनाले लोभ्याएरै उनको नाम कण्ठस्थ पार्न कर लगायो । उनै प्रतिभाको नाम नै मीरा मन थापा हो जसको नवीन गजल कृति ‘माटो मुटु र मन’लार्इ काखी च्यापेर यतिखेर यो शब्द दौड दौडिरहेको छु ।

माटो मुटु र मन
गजलको इतिहास पुरानो छ । यसको स्वरूप छैठौं शताब्दीको अरबिक कविताबाट आएको हो जुन बाह्रौं शताब्दीमा दक्षिण एसिया आइपुग्यो । र उर्दुमा एक गजलको सक्कली रूपमा स्थापित भयो । पछि मोतिराम भट्टले त्यसलार्इ नेपाल भित्र्याए । यसरी नै नेपाली साहित्यमा पनि गजल एक साहित्यिक विधाको रूपमा स्थापित भयो । यसरी मोतिराम भट्ट नेपाली गजलका पीतामा दरिए । आधुनिक नेपाली गजलका प्रवर्तक भने ज्ञानुवाकर पौडेललार्इ मानिन्छन् । यतिबेला गजल लेखन नारी, पुरूष दुवैका लागि अत्यन्तै लोकप्रिय विधाको रूपमा स्थापित भएको छ । पुस्तकाकारमा महिलाको उपस्थिति वि. सं. २०५३ मा मात्रै भए पनि तिनको सङ्ख्या पुरूषको भन्दा कम छैन । सो मितिमा प्रकाशित श्रेष्ठ प्रिया पत्थरकृत ‘पग्लिएका व्यथाहरू’ नै महिलाकृत प्रथम प्रकाशित गजल सङ्ग्रह हो । गजलको निश्चत संरचना हुने भएकोले झण्डै वि. सं. २०५८ सम्म ठूल्ठूला कलमबाजहरूबाट समेत गजलको नाममा फजलको खेती हुँदै आएको बुझिन्छ । नाम चलेका मधुपर्क, गरिमा जस्ता राष्ट्रिय साहित्यिक पत्रिकामा नाम चलेकै सर्जकहरूबाट लेखिएका फजलहरू प्रकाशित गरिनु यसका उदाहरण हुन् । अहिले आएर गजलका अनुरागीहरूले गजलको बहर या छन्दको ज्ञान हासिल नगरे पनि यसको संरचनासम्म ध्यानमा राखेर गजल पढ्ने र लेख्ने गरेका छन् ।
साहित्यकार तथा अमूर्तबोधीदर्शनका प्रवर्तक खगेन्द्र पन्धाक लिम्बूको सुन्दर आवरणमा प्रकाशित छयान्नब्बे पेजको उक्त गजल सङ्ग्रहमा मीठा, रसिला उनासी गजलहरू सङ्गृहित छन् । ब्रदर्स बुक काठमाण्डौंबाट प्रकाशित र वितरित सो गजल सङ्ग्रहको मूल्य रू १२५ र विदेशमा ५ डलर राखिएको छ । करूण थापाको भूमिकामा बाँधिएको सो सङ्ग्रहमा नारायण गाउँले, भक्ति प्रसाद पौडेल, दीप्स शाह, खगेन्द्र पन्धाक लिम्बू, मबी सिंह र निर्मला खड्काले शुभकामना मन्तव्य व्यक्त गरेका छन् । पुस्तक बिक्रिबाट प्राप्त रकमको निश्चित प्रतिशत संघ संस्थालार्इ प्रदान गर्ने पूण्य योजना बनाइएकीछिन् मीराले । यस अर्थमा उनमा समाजसेवाको बिशाल हृदयको पनि सहजै अनुमान लगाउन सकिन्छ ।
विश्व मूख्यतः प्रेम, धर्म र राजनीतिको जगमा उभिएको हुन्छ । धर्मको नाममा विश्वमा ठूल्ठूला यद्धहरू भएका छन् । ती र त्यस्ता युद्धहरूको समाधान राजनीतिबाट भएको छ । र, राजनीति गर्ने शासक,
जनता− जनार्दनको जीवनवृत्ति प्रेममा अल्झिएको हुन्छ । यसअर्थमा यी बिनाको संसारको कल्पना असम्भव देखिन्छ । मीरा यी तिनैपक्षप्रति अति संवेदनशील भएर विचार र भावना संप्रेषण गर्छिन् आफ्ना गजलमा । सृजना कोमल र शालीन हुनुपर्छ — को सिद्धान्तमा अडिएर सृजित उनका गजलहरूले कोमलता र शालीनताको धर्म कहीं पनि भूलेका छैनन् । वस्तुतः जति पुरूष स्रष्टाहरू कर्कश स्वरमा चिच्याउछन् त्यति नै नारी स्रष्टाहरू कोमल रूपमा प्रस्तुत हुन्छन् । प्राकृतिक कुरा नै हो यो, यद्यपी पुरूषहरूले पनि कोमल हुन सिक्नुपर्छ भन्छु म सृजनामा । के विद्रोह गर्न सडकमै उत्रिन आवश्यक छ र ? आगो ओकल्न के चिच्याउनै पर्छ र ? यदि कोमल र शालीन शब्दद्वारा पनि यी सबै कुरा अभिव्यक्त गर्न सकिन्छ भने !
प्रेमः आफू जन्मेको माटोप्रतिको प्रेम, भविश्य कल्पेको देश, समाज र झनै व्यक्तिवादी बन्दै गएका व्यक्तिप्रतिको प्रेम यस सङ्ग्रहमा मीराले अत्यन्त रोचक ढङ्गले प्रस्तुत गरेकी छिन् —

आफ्नो देश आफ्नो माटो नहेरी नै आफ्नो लाग्छ
गाउँ पाखा पखेरो र सल्लेरी नै आफ्नो लाग्छ

व्यक्तिगत प्रेमको मामलामा मीरा प्रष्ट छिन् —

म यो वैंश वन्दी बनार्इ संसारभरि नाम छर्छु
तिमी कसको साथ दिन्छौ ‘मीरा’को या जवानीको ?

धर्मः पलिथिएज्म संसारमा धार्मिक सहिष्णुताकोलागि अति उत्तम सिद्धान्त हो जसमा सबै देवी, देवता र र्इश्वरको अस्तित्व स्वीकार गरिन्छ । तर विडम्वना त के भने केही धर्मभिरूहरू एकलकाँटे सोचले ग्रसित छन् । ती आफ्नो र्इश्वरभन्दा दोस्रो र्इश्वरको कल्पनासम्म गर्न सक्दैनन् या मान्दैनन् । क्रिष्चियनकालागि क्राइष्ट नै सृष्टीकर्ता हुन् । मुस्लिमको लागि संसारमा अल्लाहबाहेक दोस्रो कुनै र्इश्वरको अस्तित्व छैन । यता हामी व्रम्हा, विष्णु र शिवप्रति नतमस्तक छौं । यहीं नै प्रमूख कारण हो धर्मयुद्धको । आफ्नो र्इश्वरलार्इ सर्वश्रेष्ठ भनाउन दोस्रोको र्इश्वरमाथि धावा बोलिन्छ यहाँ । यसैको एक उदाहरण थियो संसारकै सबैभन्दा कट्टर मुस्लिम देश साउदी अरेबिया बन्न पूर्वका घटनाहरू जहाँ मुहम्मदका पुर्खादेखि चल्दै आएको मुर्ती पूजा जुन हामी अहिले पनि मान्दै आएका छौं, को विरोध मात्र भएन; थुप्रै मुर्तीहरू तोडिए । मुर्तीको पूजा गर्ने स्थानहरू भत्काइए । तीर्थयात्रा गर्ने चिहान (Tomb), पूजा गर्ने रूख, गुफा आदि सबै भत्काइए । वस्तुतः इस्लाम धर्मलार्इ चोख्याउन र र्इश्वरको नाममा स्थानीय जनताको इच्छा विपरित यस्ता वितण्डा मच्चाइएको थियो । धर्मप्रति अनुदारताको यो भन्दा दोस्रो के नमूना हुनसक्छ ? तर मीराको लागि र्इश्वर खोज्न कहीं टाढा जानु पर्दैन न त र्इश्वरको नाममा कुनै युद्ध नै गर्न आवश्यक छ । किनभने —

तिम्रो र्इश, अल्लाह र ॐकारमा हुन्छ
खोज्छु म त गरिबको सँघारमा हुन्छ

त्यस्तै अर्को शेरः

धर्मभीरू बनि हैन, मेरो झुप्रोभित्र
त्रिपिटक र गीतासँगै कुरान लिर्इ आउनु

यी शेरहरूले धार्मिक शहिष्णुको माग गरेका छन् । पलिथिएज्मलार्इ उन्मुलन गर्न चाहने मुस्लिमको धर्मग्रन्थ कुरान र हिन्दु धर्मग्रन्थ गीतालार्इ एकसाथ देख्न चाहनुमा धार्मिक उदारता झल्किन्छ । पोलिथिएज्मको उन्मुलन भन्दा त बरू गरीबी उन्मुलन को वकालत गर्छिन् मीरा । यो उनको एक उत्तम विचार हो । जातभात, धर्म, लिङ्गभेदप्रति पनि उनमा विश्वास पटक्कै देखिन्न । यहीं नै नेपाली जनतालार्इ युगसापेक्षतः दिनै पर्ने एक सन्देश हो ।

राजनीतिः
आमाका ती पाउ राख्ने धाम बेचि आए
केही धूर्त यो माटोको नाम बेचि आए

मीरामा राजनीतिक चेत गजबले दुःखेको छ । प्रवासीहरू अक्सर विदेशको विकाश र सभ्यता हेर्छन् र आफ्नो देश सम्झन्छन् । विदेशका साना−साना सहरका ठूला−ठूला सडक देख्छन् र आफ्नो देशको राजधानीका ठूला−डूला खाल्डे सडक सम्झन्छन् । जाबो राजधानी मर्मत गर्न नसक्ने नेपालका नेता सिङ्गो नेपाललार्इ सपार्छु भन्छन् । देशमा रोजगारी, सामाजिक, आर्थिक विकाशको कुराभन्दा बढी राजनीतिक कुरा हाँकेर एकआपसमा लड्छन् यी । राजनीतिलार्इ कमाइखाने भाँडो सम्झन्छन् । तिनै नेताहरूप्रति शब्दवाण फ्याँक्छिन् मीरा —

रोल्पा रूकुम भोकै−प्यासै छट्पटिंदै रूँदै गर्दा
सहरमा कुर्सीको नै तानातान भइरह्यो

अन्य मन छुने शेरहरू हुन् —

मुटु किन दुख्थ्यो होला तिम्रो याद नआए त
आकाशका तारा बनि आँखाभरि नछाए त

त्यस्तै —

कैले आँशु परेलीमा ठोक्किएर बिलाउँछ
कैले आँशु बलेंसीमा पोखिएर बिलाउँछ

मध्यरातको सन्नाटामा यो घडीको सुइसँगै
तिम्रो अभाव कलेजीमा रोपिएर बिलाउँछ

र त्यस्तै —

माटो छोडि आउनुपर्दा छातीभरि देश दुख्छ
परार्इ प्रीति लाउनु पर्दा छातीभरि देश दुख्छ

झरनाको चिसो पानी सम्झिएर भौतारिंदै
मरूभुमि धाउनुपर्दा छातीभरि देश दुख्छ

मैले यहाँ बहर या छन्दलार्इ अनुशीलनको विषय बनाइन र सिर्फ भाव र नौला विम्वहरूलार्इ हेरें । किनभने मलार्इ लाग्छ बहर या छन्द भनेको कारागारको अर्को नाम हो । मैले स्वतन्त्रता रोजें । कवितामै पनि छन्दलार्इ लेखनको रूपमा कहिल्यै अँगालिन । किनभने मलार्इ लाग्छ लेखन भनेको कट्टर नियमहरूमा बाँधिएर मनोरन्जनको रूपमा खेलिने कुनै खेल हैन जसको सिर्फ जित्नुसँग सरोकार हुन्छ । लेखन जिताउनुसँग सम्बन्धित हुनुपर्छ । बरू निश्चित नियमहरू, ती नौला विम्व र प्रतीकहरूको सर्त हुनसक्दछ, मा रहेर सर्वसाधारणले बुझ्ने र जनमुखी साहित्य सृजना गर्नु आजको आवश्यकता हो । विडम्वना अहिले के देखिएको छ भने साहित्य सिर्फ साहित्यकारले बुझ्दछ । अर्थात् साहित्यको पाठक सिर्फ साहित्यकार भइरहेका छन् । पाठक बढाउनतिर सोच्ने भन्दा पनि अहिलेका साहित्यकार अनावश्यक नियमहरूको व्याख्या गरेर स्वयम् साहित्यकारहरूका लागि समेत दूर्बोध बनाइरहेका छन् साहित्यको कुनै पनि विधालार्इ । यो एक दुःखद पक्ष हो नेपाली साहित्यको ।

मैझारो
समग्रमा ‘माटो मुटु र मन’ एक असल कृतिको रूपमा प्रकाशनमा आएको छ । एउटा कुरा सबैलार्इ थाहा छ, त्यो के भने यदि टिप्पणी नै गर्नु पर्यो भने एक सुन्दर फूलको पनि कुरूप ढङ्गले टिप्पणी गर्न सकिन्छ । एक सुन्दर व्यक्तिको पनि कुनै न कुनै खोट हुन्छ । कुनै पनि कुरामा परिपूर्णता हुँदैन । फेरि यसको मतलव यो हैन कि ‘माटो मुटु र मन’को कुनै खोट नहेरे हुन्छ । झमक घिमिरेले एक पत्रमा मलार्इ लेखेकिछिन्— “प्रशंसा र आलोचना मलार्इ दुबै मन पर्छन् ।” कोही मान्छे आलोचनादेखि डराउछन् । नकरात्मक टिप्पणीदेखि घबराउछन् । सत्य कुरा त यो हो कि प्रशंसाले मान्छेलार्इ अन्धो बनाउछ । आलोचना या नकरात्मक टिप्पणी झट्ट सुन्दा तीतो लागे पनि त्यसले कालान्तरमा मीठै मीठो फल दिने गर्दछ । मीराको गजलचेतले यस तथ्यलार्इ आत्मसात् गर्ने नै छ ।
कुनै पनि साहित्यक रचनाका उत्कृष्टताका मापदण्ड हुन् तिनमा प्रयुक्त विम्ब र प्रतीक । तिनलार्इ प्रयोग गर्दा केही प्राविधिक कुरामा ध्यान पुर्याउनु पर्ने हुन्छ ।

आफू जली प्रकाश छर्ने चर्चा यहाँ छ ज्ञानीको
एकै रङ्ग कैल्यै हुन्न ढोगीको र खरानीको

यस शेरमा जल्ने र ज्ञानको कुनै तादात्म्य देखिन्न र त्यस्तै ढोँगी (जसलार्इ ‘ढोगी’ भनिएको छ) र खरानीको । यसैलार्इ मैले प्राविधिक कुरा भनेको हूँ । एक दृष्टीमा खरानी एक बलियो प्रतीकको रूपमा आएको छ भने अर्को दृष्टीमा जोगीको स्थान ढोँगीले ओगटेको हो कि भन्ने भान हुन्छ । त्यसैले यस शेरलार्इ झट्ट सुन्दा सरल लागे पनि भाव बुझ्न गाह्रो छ । कविताको स्वरूप बोकेका यस्ता हरफ गजलमा उति उचित देखिन्न । गीत या गजल सरल भएकै राम्रो मानिन्छ । मीराका गजलहरूमा यस्ता प्राविधिक त्रुटीहरू कहीं−कहीं भेट्न सकिन्छ । यता ‘ढोगी’ शब्दबाट भाषाको कुरा पनि सँगै उठेको छ वरै त्यसको ‘प्रुफरिडिङ्’ नै कारकतत्त्व किन नहोस । शुद्ध होस् या अशुद्ध, पढिएका कुरा मस्तिष्कमा अमित छाप भएर बस्ने हुनाले पठन सामग्री सधैं असल हुन आवश्यक छ । र पठन सामग्री तैयार पार्ने हामी जस्ता लेखकहरूको साथमा कुनै शब्दकोष छैन र अशुद्ध लेख्छौं भने हामीले लेखेर भाषा साहित्यको विकाश कसरी हुन्छ ? म विश्वस्त छ मीरा यसकुरामा सचेत छिन् ।
अहिले इन्टरनेटको युग प्रारम्भ भएको छ । यससँगै सत्य धरापमा पर्दै गएको छ । असत्यले जित्दै गएको छ । सकरात्मक नकरात्मक सबै कुरा पाइने ठाउँ इन्टरनेटमा असत्यलार्इ पराजित गर्न सकरात्मक भाव बोकेका सामग्रीहरूको सङ्ख्या बढाउदै लगे मात्र सत्यले जित्ने अवस्था छ । चौबीसै घण्टा ध्यान तान्ने सामग्रीहरू, खोजेजति सबै कुरा इन्टरनेटमा उपलब्ध हुने भएकोले पुस्तकका पाठकहरूको सङ्ख्या घट्दै गएको अनुमान गर्न सकिन्छ । यस्तो सङ्गिन परिस्थितिमा हामीले आफूलार्इ ‘अपडेट’ गर्दै लैजान आवश्यक छ । यसको लागि पुस्तकका नयाँनयाँ अनुहारहरू आउन जरूरी छ । यसमा मीराको ध्यान अलिक नपुगेको हो कि !
एक सर्जकले कति वटा कलमका मसी सक्यो या कति कापीका कतिपाना कोरेर सक्यो या कतिपल्ट पुस्काकार बजारमा झुण्डियो भन्ने कुरा महत्त्वपूर्ण हुँदै हैनन् । कुनै गजलकारले दिनमा दश गजल लेख्लान् । त्यो पनि महत्त्वपूर्ण कुरा हैन । महत्त्वपूर्ण कुरा त त्यो हो कि एक सर्जकले कति जोर जुत्ता खियायो र एक गजलकारले कुन कुन स्मरणीय, मनमा सधैं गुञ्जिरहने, उत्कृष्ट गजल लेख्यो । किनभने नेपाली साहित्यको इतिहासमा कोही छिचिमिरा झैं केहीबेर उडेर भुइँमा खसेका छन् र सकिएका छन् । कोही दश पल्ट पुस्तकाकार झुण्डिएका छन् तर तिनका एक कृति चर्चायोग्य देखिन्न । रूपियाँको आडमा अघि बढ्न खोज्ने कोही रूपिया सकिएपछि रित्तैफर्किएका छन् ।
त्यसैले लेखनको सबैभन्दा महत्त्वपूर्ण शर्त लेखनमा निरन्तरता हो । अध्ययन अनुसन्धान र साधनालार्इ आत्मसात् गर्दै, ‘शिक्षाको उज्यालो बाटोमा स्ववलम्बी भर्इ’ मीरा अनवरत लेखन यात्रामा अडिग रहनेछिन् भन्ने कुराको सङ्गो नेपाली गजल साहित्यले आशा गर्नेछ ।

अँ, म भन्दै थिएँ —
सिको बजारमा मीरा ‘उर्फ माटो मुटु र मन’सँग अविश्मरणीय भेट भयो । यो शब्द दौड उही दुर्लभ भेटमा समर्पित । मुरी साधुवाद नविन मल्ल जीमा त्यो सुनौलो मौकाको लागि ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 3 जेठ, 2070

लेखकका अन्य रचनाहरु