तेस्रो कुकुर

- कृष्ण बजगाईं

‘स्टोकल’ स्टेशनको अध्यारो सुरुङ्ग मार्ग हुँदै तिब्र गतिमा हुँइकियो मेट्रो । त्यसको गति भन्दा अझ धेरै गतिमा मेरो सपना दौडदै थियो उज्यालो तिर । ‘ज्याक ब्रेल’ मेट्रो स्टेशन बाहिर मेरो सपना मलाई पर्खिरहेको हुनुपर्दछ । एक सुन्दरी मेरो प्रतिक्षामा हुनुपर्दछ । आधा घण्टाको सुरुङ्गी यात्राभर देखिरहेँ सपना ।
‘आर यु मिष्टर रवी ?’
ज्याकबे्रल मेट्रो स्टेशन बाहिर एक महिला आवाजले प्रश्न गरी ।
‘यस्’ ।
मैले त्यस युवतीलाई जवाफ दिएँ ।
अब कुनै शंका रहेन । मलाई प्रतिक्षा गर्ने युवती त्यही नै थिई ।
निलो जिन्स पेन्ट र पहेँलो टि सर्टमा सजिएकी सुन्दरी । सुनकेस्रा कपाल, कतै कुनै दाग नभएको सुक्सुकाउँदो सुन्दर अनुहार । उचाईमा म भन्दा करिव आधा फुट अग्ली । छरितो कम्मर, उन्नत वक्षस्थल । वक्षस्थल माथि ट्याटू खोपेर रातो गुलाफ फुलाएकि थिई उसले । पहिलो नजर मै त्यो सुन्दर गुलाफको आकर्षणले तान्यो मलाई । मैले पत्तै पाईन । फूलका डाँठ र जरा हेर्न भित्रैसम्म पुगेछन् क्यारे मेरा आँखा ।
‘इडियट’ । बेस्सरी रिसाई ऊ ।
सरमले रातो हुँदै ‘सरी’ भनेँ मैले ।
छातिमा फूल फुलाए पनि मन भरि काँडा उम्रेका रहेछन यसका । मनमनै सम्झिएँ ।
प्रथम भेटमा नै मेरो पुरुषत्वलाई निमोठी त्यसले ।
मेट्रो स्टेशनमा मलाई लिन आउने त्यो युवती मेरी श्रीमती अर्थात सम्झौताकी श्रीमती हो । केही मिनेटको पैदल हिडाएर मलाई उसको घर पुर्याई । घरभित्र पस्ने बित्तिकै उसले पालेका दुइ कुकुरले पुच्छर हल्लाएर हाम्रो स्वागत गरे । कुकुर देखेर म भने डराएँ, घिनाएँ ।
उसले घर भित्रबाहिर घुमाई घुमाई सबै देखाई । र अन्तमा म सुत्नु पर्ने अलग्गै कोठाको चाबी थमाई । एउटै कोठामा सात जनासँग मिलेर बस्ने म । अहिले सुविधा सम्पन्न घरमा बसाई सरेर पुगेको छु । कोठा बदले पनि मेरो भाग्य बदलिएको छैन् । भाग्यवश पाएको मैले पाएको पूर्ववत् ‘कार वाशर’को काम छँदैछ ।
यत्तिकैमा उसको घरमा बसे बापत मैले गर्नु पर्ने कामको लिस्ट थमाईसकेकी थिई ।
आइतवार कार वाशमा मेरो छुट्टि हुन्छ । तर त्यस घरमा मेरो बिना तलबको जागिर सुरु हुन्छ । त्यो दिन कारवाशमा भन्दा पनि धेरै काम गर्नु पर्दछ मैले । घरको सफाई, लुगा धुने, बगैचाको गोडमेल तथा काँटछाँट र दुइवटा कुकुरलाई नुहाउनु पर्ने हरेक आइतवारको नियमित कार्य हुन् । फेरी परिवारलाई नेपालमा फोन गर्ने समय बचाउनु पर्दछ सोही दिन ।
कार वाशमा गाडी धुनु भन्दा पनि कुकुर नुहाउनु गाह्रो लाग्थ्यो मलाई । बाथरुममा लगेर कुकुरका लागि बनेको विशेष स्याम्पूले मिचिमिचि जब जब कुकुरलाई नुहाउँनु पथ्र्याे, तब तब मलाई आफ्ना साना छोराछोरीहरुलाई उता नुहाइदिएको सम्झना आउथ्यो ।
‘बाबा आँखा पिरो भो साबुनले......’
‘आछु...छु.... पानी चिसो भयो.....’
‘नाई अबदेखि कहिल्यै नुहाउँदिन....’
यी शब्दहरु चलचित्रका दृष्यझैँ सजिव भएर घुम्थे मेरा वरिपरि ।
आफ्नो घर नेपालमा कुकुर कहिल्यै पालेनन् मेरा बाआमाले । कुकुर विरोधी होइन म । न त पशु बिरोधी नै । तर पनि कुकुर मन पर्दैन मलाई । अझ त्यस माथि कुकुरको स्याह सुसार गर्ने काम ! शिप नभएको मानिसले मन नपरेको काम गर्दिन भनेर बाँच्न सकिन्न विदेशमा भन्ने कुरा उतै थाहा भएको भए केही केही न केही शिप सिकेर विदेश हानिन्थे होला ।
आफूले एम ए पास गरेको डिग्री र दुइचार वर्ष अरबको चक्कर काटेर आएको आठ कक्षा फेल कमल गिरीको शिपसँग दाँज्छु । उसैले धेरै कमाएको देख्छु । त्यसो त आफू कति पढेको हो कसैलाई भनेको छैन । नेपालको बोक्रे शिक्षाको धाक उतै मात्र चल्छ । यता त शिप वा पाखुरी चाहिन्छ बाँच्न । यी सबै थाहा पाएर बाँच्न सिक्दैछु । यो सबै बाध्यताले सिकाएको हो मलाई । पढेर पाएको विश्वविद्यालयको भन्दा ठूलो डिग्री बाध्यतामा परेर पाएको छु ।
कार वाशको कामको थकाई मार्न नभ्याउँदै उसको घरको काम धन्दा र कुकुरलाई गर्नु पर्नेे स्याहार सम्झँदा दुःख लागेर आउँछ । के पाप गरेको थिएँ र यो विदेशमा हैरानी खेप्नु परेको ? ‘दुईवटा कुकुर पाल्ने कुकुर्नीसँग बस्नु परेको छ बाध्यताले’ – मन मनै भनेको छु कैयौं पटक । उसलाई कुकुर्नी भन्ने शाहास छैन ममा । त्यो मेरी श्रीमती हो छरछिमेकको नजर र कागज पत्रमा । वास्तवमा हामीहरुबीचमा लोग्ने स्वास्नीको बीचमा हुनु पर्ने कुनै भावनात्मक सम्बन्ध छ न त शारिरिक नै । एउटा सपनाका कारण मात्र बसिरहेको छु उसैसँग ।
एक पटक आधा रातको कुरो हो । पार्टीबाट मातेर ट्याक्सीमा फर्केकी त्यसले ढलपलिँदै मेरो कोठा ढक्ढकाई । मैले ढोका खोलेँ । मेरो बेडमा आएर गम्लङ्ग अँगालो हालेर पल्टी । प्रथम पटक भेटमा वक्षस्थलमाथि फूलेको गुलाफको सौन्दर्य हेर्दा मेरो पुरुषत्वको सातो लिएकोले त्यसपछि न त पुरुषत्व जगाउने शाहस थियो । न त त्यस कार्यको बिरोध गर्ने शक्ति नै थियो । रात त्यतिकै बित्यो । बिहान ब्यूँझेपछि रक्सिको नशामा भएको बेला मैले फाईदा उठाएँ भनेर बेस्सरी झगडा गरी । त्यति एक पटक मात्र हो उसको र मेरो बीचको त्यो हदसम्मको सम्बन्ध करिव तीन वर्षको बीचमा । बाँकी उही कागजका लोग्ने स्वास्नी भएर सँगै रह्यौं हामी ।
यौन प्रतिको उसको अरुची देख्दा ‘लेस्बियन’ पो हो कि जस्तो लागेको थियो पहिले पहिले । तर त्यस्तो कुनै गतिबिधि देखिएन र मिथ्या जस्तो लाग्यो । ऊ सँगै सुत्ने बुल डग देख्दा अनेक कुरा कल्पिएँ मनमा । धेरै लामो अनुसन्धान र चियो चर्चाबाट मैले निचोड निकाले, ‘ब्यर्थैमा मैले पाप मात्र चिताएको रहेछु ।’
किन उसलाई लोग्ने मानिसको शारिरिक उष्णतामा रुची छैन ? किन तीस बत्तिस वर्षको उमेरमा पनि यौनका ज्वारभाटा देख्दिन ? जे छ जनावर प्रति नै माया मोह देख्दछु । त्यसमा पनि कुकुर प्रति अति श्रद्धा र विश्वास । त्यसो त कुरैकुरामा उसले भनेकी थिई –‘यो एक्काइसौं शताब्दीमा मानिससँग विश्वास गर्नुभन्दा कुकुरसँग विश्वास गर्नु भरपर्दो हुन्छ । कुकुर भन्दा इमान्दार साथी कोही पनि छैन यो संसारमा ।’
ऊ पेशाले कुकुरको हजाम । अर्थात कुकुरको ब्युटिशियन । उपलब्ध क्याटलग अनुसार कुकुरका भुत्ला काटेर ‘न्यू लूक’ दिनमा माहिर ! त्यति मात्र होइन ऊ आफै पनि नयाँ नयाँ स्टाईल दिनमा सिपालु थिई । त्यसकारण त्यस सहरमा ऊ प्रसिद्ध थिई । किन पनि नहोस त्यत्रो ठूलो ब्रसेल्स सहरमा उ जस्ता कुकुरका हजाम हातका औंलामा गन्न सकिने संख्यामा थिए । उसको पेशा गज्जब कमाई हुने र सुरक्षित लाग्दथ्यो मलाई । खासगरी कुकुरहरुको प्रदशर्नी, कुकुर दौड जस्ता समयमा उसलाई कामको चाप धेरै हुन्थ्यो । कमाई पनि अति धेरै । कहिले काहीँ कामको तनाव साँझमा मलाई आएर झार्थी । म चुपचाप सुनिरहन्थे ।
‘कुकुरको हजाम’ ! यो पेशा मलाई बिल्कुलै मन पर्दैनथ्यो । हजाम, त्यो पनि कुकुरको ! मलाई साथीहरुले कुकुरको हजामसँग बसेको भनेर गिज्याउलान् भनेर उसको पेशा कसैलाई भनेको थिइन । भन्नलाई शरम लाग्दथ्यो । तर उसले मेरा सबै साथीहरुलाई आफ्नो पेशा सगौरव बताइ सकिछे । हुन त होे युरोपमा सबै काम प्रति उत्तिकै श्रद्धा र सम्मान हुन्छ । उसको पेशा मैले मन नपराएर के गर्नू ? कुनै शिप नभएको मानिस म ।
दिनभर ‘कार वाश’ मा सयौं गाडीलाई धोएर साँझ लखतरान भएर फर्कनु मेरो दैनिकी । केही दयावान कार मालिकले खुशी भएर दिएको टिप्सले फाष्ट फुड खान पुग्दथ्यो । उतै खाएर कोठा फर्कन्थे । नत्र खानाको चक्कर गर्ने हो भने झन् कत्रो सास्ती हुने थियो ।
साँझ सम्झौताकी श्रीमती खुशी पार्न उसको दुइ कुकुरको सेवा सुसार गर्नु पर्दथ्यो । उसले कैयौं पटक भनेकी थिई – ‘मलाई खुशी राख्न मेरा कुकुरहरुलाई ठिकठाक राख्नू ।’ कामबाट फर्केपछि ती कुकुरहरुलाई बाहिर दिशा पिशाव गराउन लैजानु त छदैँछ । अलिक परको चोक सम्म तिनीहरुलाई घुमाएर ल्याएन भने कराएर हैरान पार्दथे । र हरेक साँझ बेग्ला बेग्लै परिकारका डिब्बाका खाना खोलेर उनीहरुलाई ख्वाउनु.....। जब कुकुरहरुलाई खाना ख्वाउने बेला हुन्थ्यो हरेक पटक घरको यादले सताउथ्यो मलाई । मेरा दुई छोराछोरीहरुले खाना खाए कि खाएनन् । यता कुकुरले स्वस्थ्यकर डिब्बाका खाना खाँदा मेरा छोराछोरीहरुले मासुभात खाए कि खाएनन् सम्झी बस्थे । आफ्नो मुलुकमा पुस्तैनी सम्पत्तीमा ईज्जत साथ जीवन यापन गरिरहेको म यी सबै भोग्दा कहिले काहीँ आफू कुकुर भन्दा पनि तल्लो स्तरको जीवन बाँचीरहेको छु जस्तो लाग्दथ्यो ।
कामको खटाई, घर परिवारको चिन्ता र अनिश्चित भविष्यले गर्दा म विस्तारै सुक्दै गएको थिएँ । पहिले भन्दा करिव दश केजी वजन कम भएको भइसको थियो । मेरो पीडा मलाई नै थाहा छ । तर सम्झौताकी श्रीमती त मेरो यस्तो ज्यान देखेर ईष्र्या पो गर्न थाली । र एक दिन मुख खोलेरै भनी– ‘कसरी आफूलाई यति स्लिम र स्मार्ट राख्न सकेको हो ? आफ्नो मात्र शरिरको बारेमा ध्यान दिने होईन । ठूलो कुकुर ‘टमी’ मोटाएर उसको वजन निक्कै बढ्यो । तिमीले साँझमा एकै नासको ‘हाई क्यालोरी’ भएको खाना धेरै दिनदेखि दिए जस्तो छ । हिजो डक्टर फिलिपले भनेको छ, यस्तो क्रम केही महिना रह्यो भने यसलाई ‘कार्डिक प्रोब्लम’ हुन्छ रे । यसलाई हप्तामा कम्तिमा दुइ पटक पार्कमा करिव एक एक घण्टाको दरले ‘एक्सरसाईज’ गराउनु भनेको छ । यो तिम्रो काम भयो ।’
सम्झौतामा नपरेको काम दिनानुदिन थपिदै छ । मनले मानेको छैन । तर गर्नु पर्ने बाध्यता रह्यो । अब केही दिनपछि हाम्रौ सम्झौता मात्र सकिन्न मेरो उज्जवल दिनको पनि सुरुवात हुने आशामा छु र यी सबै चुपचाप सहिरहेको थिएँ ।
पार्कमा कुकुरसँग खेल्नु पर्ने । उसको बोसो पगाल्नु पर्ने । उसको वजन कम गराउन सँगसँगै दौडनु पर्ने । कुकुरसँग बल खेल्नु पर्ने आदि आदि.... । यी सबै अवसर घरका छोराछोरीहरुलाई दिनुको साट्टो यो विदेशमा कुकुरलाई खेलाउनु पर्ने । धिक्कार्छु आफैलाई । मेरा छोराछोरीहरु कुकुर जतिका पनि भएनन् । मनमनै सोँच्थे र भित्रभित्रै कुकुरसँग ईष्र्या गर्थेँ ।
.............................

भोलि मेरो नयाँ भाग्य उदाउने दिन । हाम्रो सम्झौता सकिने दिन । सम्झौता मैले पूर्ण इमान्दारिताका साथ निभाएको छु । सम्झौता बापतको सातहजार युरोको अन्तिम किस्ता गत हप्ता मात्र उसलाई बुझाई सकेको थिएँ । अब बाँकी थियो पुलिस चेकिङ । हामी लोग्ने स्वास्नी भएर बसेको हेर्न घरमै भोलि पुलिस आउने दिन थियो । त्यसो त हामी सँगै बसेको तीन वर्ष पुगिसकेको थियो । बस् यो त औपचारिकताका लागि प्रहरीले दिने एउटा कागजको पर्खाई थियो । सोही कागज लिएर स्थानिय नगरपालिकामा गएपछि म त्यस देशको नागरिक हुने ।
सम्झौता अनुसार फेरी हाम्रो बिचमा डिभोर्स गर्नुछ । अनि मेरी प्राण प्यारी श्रीमती र दुई चिचिलाहरुलाई यता ल्याउनु छ । यी सबै नाटक त मेरो परिवारको राम्रो भविष्यका लागि गरेको हुँ नि ! आखिर यो सब गर्न मेरी प्राण प्यारी श्रीमतीको ठूलो सहयोग छ । जिल्ला अदालतमा गएर उसले सजिलै सम्बन्ध विच्छेदको कागजमा हस्ताक्षर गरी र आवश्यक सबै कागजपत्र यता पठाईदिई । र त यता यी बाटा खुलेका हुन् । यी सब मैले मेरै श्रीमती र छोराछोरीकै खातिर गरेको हुँ । उनीहरुको उज्ज्वल भविष्य सम्झेर आजसम्म धेरैथोक सहँदै आएको छु ।
म ढुक्क छु पछि त्यसले कुनै हैरानी दिने छैन । बेइमानी गर्दिन होला । उसैले धेरै पटक भनि सकेकि छे– ‘तिमीलाई फाइदा हुने तिम्रो र मेरो तीन वर्ष सम्मको सम्झौता हो यो । त्यही सम्झौता अन्तर्गतको हाम्रो सम्बन्ध । म तिम्री स्वास्नी हो भन्ने कुरा बिर्सनू । बस् यति ठान मैले तिमीलाई दया गरिरहेको छु ।’
भोलि हुने खुशीयालीमा उसले साँझ घरमा सानो पार्टी राखेकी छे । यस्ता पार्टी, भेटघाट सबै ऊ आफै तय गर्दछे । मैले थाहा पाएदेखिकै बानी हो उसको । केही मेरा साथीहरु, केही उसका केटी साथीहरु र हाम्रो कागजी विवाह गराईदिने पाकिस्तानी दलाल नदिम पनि आइसकेको छ । रेड वाईन, ह्वाईट वाईनका थुप्रै बोतलहरु रित्तिदै गए । हामीले कति पियौं भन्ने साक्षी त्यस घरका दुई कुकुर मात्र भए ।
नदिमले दुइ मध्येको एक कुकुरलाई सुम्सुम्याउँदै प्रशंसा गर्यो– ‘तपाईंले दुबै कुकुर चाहीँ राम्ररी पाल्नु भएको रहेछ ।’
सम्झौताकी श्रीमतीले भनी– ‘मैले दुईवटा हैन तीनवटा कुकुर पालेकी छु ।’
उसका कुरा सुनेर सबै गलल हाँसे र मलाई हेर्न थाले । म अपमानबोधले क्रोधित भएँ भित्रभित्रै । सबै बन्द बोतल पिएर रित्तिए, पार्टी पनि सकियो ।
सबै जना उठेर घरतिर लागे । उनीहरु गएपछि उसको र मेरो विवाद बढेर ठूलो झगडामा परिणत भयो । उसले मलाई अपमानित गर्दै गाली बेइज्जत गर्दै रही । आफ्नो मूलुकमा भएको भए धेरै थोक हुनसक्थ्यो होला । तर आईमाईको हक भएको देश भएकोले चुपचाप लागिरहेको थिएँ । तर पनि ऊ कराइ रही ।
अन्ततः म बुद्ध भएर चुप लाग्न सकिन । र मैले भने, ‘भो अब हाम्रो सम्झौता भङ्ग भयो ! सम्झौता बमोजिम मैले तिमीलाई दिएको सात हजार युरो फिर्ता गर ! मेरो परिचयपत्रमा तिम्रो नाम झुण्ड्याउनु छैन !’
‘ए त्यसो हो कुरो ! पैसा त मैले त साढे तीनहजार मात्र पाएको हो । बाँकी त्यही पाकिस्तानी नदिमसँग माग्नू ।’ उसले भनी ।
‘पुरा पैसा तिम्रै हातमा थमाएको हो अरु कुरा म जान्दिन ।’ मैले भने ।
आवेशमा थुप्रै कुरा दोहोरोरुपमा भनिए ।
‘अहिले नै घर खाली गरेर जा’ भनी मलाई ।
मसँग के नै थियो र ? एक जोर लुगामा भित्रिएको थिए त्यसको घरमा ।
मलाई काम दलाउन उसैले विभिन्न बहाना गिफ्ट भन्दै दिएका केही जोर लुगा र केही सामानहरु थिए । जस प्रति मेरो कुनै मोह भएन कहिल्यै ।
‘मेरो पैसा भोलि नै फिर्ता गर्नू’ । यति भनेपछि जस्तो आएको थिएँ त्यस्तै खाली हात फुत्त बाहिरिए ।
घडी हेरेँ । रातको १२:४० भएको थियो । १२:४५ को अन्तिम मेट्रो छ । सो पक्डिन दौडे । ‘ज्याक बे्रेल’ मेट्रो स्टेशनमा पाइला मात्र के टेकेको थिएँ, हुँइकिदै मेट्रो आयो । अन्तिम डिब्बामा प्रवेश गरे । छिट्छिटो सास चल्दै थियो, मुटुको धड्कन तिब्र थियो । आफूले आफैलाई सम्हाली रहेको थिएँ । प्रायः मैले देखिरहने दुइटा कुकुर लिएर हिँड्ने घरवार बिहिन माग्ने रहेछ त्यो डिब्बामा । त्यसको गन्हाउने कुकुर र रक्सिको गन्धले बसि सक्नु थिएन सो डिब्बा ।
मेरो हतास् अवस्था देखेर फ्रेन्च भाषामा भन्यो, साभा(ठिक छ) ?
मैले मुन्टो मात्र हल्लाए ।
मेरो इमान्दारिता र आज्ञाकारितालाई नै कुकुर भनेकी हो त त्यो आइमाईले ? मलाई कुकुर भन्ने साहास कसरी गरी उसले ? आखिरमा मानिसलाई घृणा गरेर कुकुरलाई जति चाटे, काखमा राखेर खेलाए या आफ्ना बिस्तारामा सुताए पनि आखिर मानिसको ठाउँ कुकुरले कहिल्यै लिन नसक्दो रहेछ । मानिसलाई अपमानित गर्नु पर्दा कुकुरसँगै दाँज्दा रहेछन् । आखिर किन स्वाङ् पार्दछन् मानिसहरु ? मनमा ज्वारभाटा उठिरहे यात्राभर ।
मेट्रो ठाउँठाउँका स्टेशनमा यात्रु ओराल्दै, बोक्दै, दौडी रहेको थियो आफ्नो गन्तब्यसम्म पुग्न । तर मेरो गन्तब्य कहाँसम्म हो ? कहाँ जाने मेट्रो छुट्न लागेकोले म त्यस्तरी दौडेको ? पेट काटेर कमाएको दुःखको पैसा त्यसले फिर्ता दिन्छे र ? कुकुरलाई मासु पैचो दिनु र त्यसले पैसा फिर्ता दिनु उस्तै होइन र ?.......!? यात्राभरि मन उथलपुथल भइरह्यो । यी सब सम्झिदा भोलि उज्यालो होईन अन्धकारमय देख्न थालेँ ।
आफ्नै अगाडिको त्यो माग्नेलाई हेर्छुे आफ्ना दुइ कुकुरलाई काखमा लिएर स्वर्गिय निद्रामा मस्त सुतिरहेछ ।
आँधीबेरी चलिरह्यो मन भित्र । अँध्यारो सुरुङ मार्ग भित्र भित्रै हुँइकिरहेको थियो मेट्रो तिब्र गतिमा ।

लन्डन, बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 28 बैशाख, 2070

लेखकका अन्य रचनाहरु