राजुबाबु श्रेष्ठको ‘मृत्युमेला’ हेर्दा

- छविरमण सिलवाल

प्रायः सर्जकहरूले विदेशको यात्रा गर्दा संस्मरणहरूनै वढि लेखेको पाइन्छ । त्यहाँको भौगोलिकस्थिति, परिवेश, रहनसहन, विकासका नमुनाहरू आदि कुराहरूको बारेमा लेखेका संस्मरणहरू हामीले पढेका छौं । त्यहाँ पुग्न नसकेका व्यक्तिहरू पुस्तकबाटै घुमेको महशुस गर्छन्, र जानकारी पनि प्राप्त गर्ने गर्छन् । यहाँ राजुबाबु श्रेष्ठले चाहीँ विदेशी भूमिमा पुगेर कुनै गन्थनमन्थन नगरीकनै त्यहाँका समग्र मानविय संवेदनाहरूका कथा समेटेर पुस्तक ‘मृत्युमेला’ प्रकाशनमा ल्याएका छन् । अत्यन्तै कलात्मकताले बुनिएका उनका यी कथाहरू समकालीन नेपाली कथा साहित्यमा अग्रपंक्तिमा रहनुका साथै विशिष्ट स्थान राख्न सक्षम देखिन्छ ।
पन्ध्र्रबटा कथा रहेको ‘मृत्युमेला’ भित्र विदेशका जनजीवन र उनीहरूको आम भोगाईका पाटालाई कथात्मकथताका साथ पोखिएका छन् । कथाकार राजुबाबु लेख्छन् ः–‘म अक्सर देखेको र भोगेको कुराहरू मात्र लेख्ने गर्दछु । मलाई नदेखेको, नसुनेको लेख्न आउँदैन । इमान्दार भएर बोल्नुपर्दा कुनै काल्पनिक विषयवस्तुमा काल्पनिक पात्रहरू खडा गरेर साहित्य सिर्जना गर्न नसक्नु मेरो कमजोरी हो । आफूले लेखेका कथाहरूमा आफूले भोगेको, सुनेको र देखेको संसारको कुरामात्र समेटिएकाले कहिलेकाहीँ लेखकभन्दा पनि देखक मात्र पो हुँ कि जस्तो लाग्दछ । तर पनि विश्वका विभिन्न कुनामा रहेका मानिसहरूको संस्कार, जीवनशैली र चरित्रहरूलाई नेपाली साहित्य भण्डारमा भित्र्याउन पाउँदा एउटा मीठो अनुभूति भने भइरहन्छ ।’
हुनतः अब कल्पनाको कुरा गर्ने बेला होइन । संसार यस्तो विचित्रको भइसक्यो कि जहाँ कल्पना भन्दा पनि यथार्थताले मान्छेलाई पोलिरहेको छ । सपना भन्दा पनि विपनाले नै मान्छेलाई आजित बनाई सकेको छ । यस्तो अवस्थामा कल्पना मात्र गरेर केही हुँदैन । हामीले यथार्थतालाई पहिल्याउँनै पर्छ । उनी मिसनमा गएका बेला वस्तिहरूमा जिउँदै जलाइएका मान्छेहरूका चित्कार सुनेका छन् । भोक र रोगले पिल्सिएका मान्छेहरूका कारुणिक आवाजहरू सुनेका छन् । भोका बालबालिकाहरूले अरूले छोडेका जुठा खानेकुराहरू खाएका दृश्यहरू देखेका छन् । सुडानका सदिकहरु शिर्षकको कथा यस्ता कारुणिक चित्कारले भरिएका छन् । उनी आफ्नो देशमा पनि यस्ता दृस्यहरू दोहोरिएला कि भन्ने चिन्तामा देखिन्छन् वर्तमान राजनैतिक परिवेश देख्दा । हेरौं छोटो कथा अंश ‘डार्फरमा आगो लगाइएका बस्तीहरूको उजाड चित्र र मान्छेहरूको चीत्कारको कथाले मलाई मेरो देशको भावी दुर्घटनाप्रति खबरदारी गरिरहेको थियो । ओसामा, वाहिद र हमिदहरूको नियति मेरो देशका बच्चाहरूमा दोहोरिएला कि भन्ने चिन्ताले पिरोलिरहेको थियो । नेपाल आइपुगेपछि पनि मैले ती अबोध सात अनुहार विर्सन सकिरहेको छैन । घरीघरी भोक र प्यासले छटपटिएर लखतरान परेका ती अनुहारहरू आएर मसंग पाउरोटी मागिरहन्छन् । कहिले मेरो सपनामा आएर उनीहरू आफ्नो सुरक्षाको ग्यारेन्टी मागिरहन्छन् ।’ हामी अमेरिकालाई हाम्रो सपनाको देशको रूपमा देख्छौ त्यहाँ पुगेपछि आफ्नो सपना साकार भएको ठान्छौं । तर त्यहाँ पुग्नेको व्यथा अलग्गै छ । कति सपनाहरू चकनाचुर बनेका छन् । बाह रे अमेरिका शिर्षकको कथा पनि यसैको उजागर गरिरहेको छ । अमेरिका पुगेको रविनलाई अरूले देख्दा प्रगति भएकै देखे पनि रविनको पीडा अर्कै छ उनी भन्छन्–‘वसन्त जोसँग आफ्नो देश छैन, आफ्नी आमा छैन र आफ्नो परिचय छैन त्यो भन्दा गरिब र कमजोर मान्छे अरू को हुन्छ ? यो त तिम्रो दृष्टि भ्रम मात्र हो । सत्यता तिमीले सोचेभन्दा धेरै फरक छ ।’
अमेरिकाकै अर्को कथा छ ‘नाइट क्लबकी मारिया’ शिर्षकको कथा न्युयोर्कको नाइट क्लबमा काम गरिरहेकी मारियाको कथा हो । उनी अमेरिकन नै हुन् । उनका बाबु आमा छदैँ छन् । तर उनको पीडा भने भनिसाध्यको छैन । उनी आफू दैनिक नाङ्गिरहेकी छिन आफ्नो दैनिकी टार्नको लागि । यो विकशित देशको विकृति पनि हो । संधै व्यस्त र बच्चाहरूले पारिवारिक वातावरण राम्रो नपाएको नमूना मात्र हुन यी कथाहरू । मानवले नै बुझ्न नसकेका मानविय संवेदनाहरूका प्रतिनिधि कथा हुन् मृत्युमेलाका यी कथाहरू । मान्छे एकपटक मर्नेले केही व्यहोर्नु पर्दैन होला, तर जिउँदा रहेर पटक पटक मर्नेहरू धेरै छन् यो संसारमा । मान्छेले मान्छेको भावना बुझ्न सकिरहेका छैनन् । त्यसैले त हुन्छ युद्ध अनि मान्छेले मान्छे मारिरहेका छन् । आफ्नी आमाको ममता बुझ्न नसकेर नै त हो हामीले बाटो विराएको । कथाका पात्रहरूले यस्ता कुराहरू बुझे पनि शासकहरूले कहिले बुझ्ने खैं निरास छन् सुडानी जनता । अहिले देखिरहेको मान्छे क्षणभरमै गायब हुन्छ । उनीहरूको विपक्षमा बोल्ने जो कोही पनि जीउँदो रहन पाउने अवस्था छैन त्यहाँ । जर्जर परिस्थितिको बाबजुद पनि हाँसिरहेका व्यक्तिहरूका कथा हुन यी मृत्युमेलाका कथाहरू ।
एउटा कथा अलि फरक संवेदना समेटिएको कथा छ । ‘एउटा हुमरको कथा’ हुमर भन्नाले गधा । एउटा गधाको कथा हो यो । मान्छेहरूलाई पानी बोकेर खुवाउँने एउटा हुमरको पानी खानै नपाएर मृत्यु हुन्छ । हुमरका मालिकहरूले कहिल्यै उसका पीडालाई बुझेन वा बुझ्ने कोशिस नै गरेनन् । यो कथा लेखेर राजुबाबुले नेपाली साहित्यमा विशिष्ट प्रदान गरेका छन् । गधाको आमाछोराको जीवनलाई मानव कसरी दया र करुणारहित निष्ठुर हुँदैछ भन्ने जीवन्त तथ्य यस कथाले देखाएको छ ।
बहुपत्नीप्रथाले पीडित महिलाहरू र पैसा नभएपछि बिहेँ नहुने पुरुषहरूको कथा पनि मृत्युमेलामा भेटिन्छन् । रत्न पुस्तक भण्डारद्धारा प्रकाशित उनका यी कथाहरू नेपाली साहित्यमा नवीन मोडका साथ प्रस्तुत भएका छन ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 21 बैशाख, 2070

लेखकका अन्य रचनाहरु