म्लान

- सञ्जु बजगाईं

प्रभातकालीन प्राथना गर्दा देउताले केही भनेन् । मैले दैनिक गन्तब्य पुग्ने ट्रेन पक्डिसकेकी थिएँ । डिसेम्बर महिनाको मध्यदेखि झर्न थालेका हिउँ फूल झेलेर हैरान भएको यो मन र तनलाई आज बिहानैदेखि निख्रिएको नील गगन अनि सुरिएको सुर्यको उपस्थितिले स्वप्निल आनन्द दिएको थियो । ट्रेनको भ्यालसँगै जोडिएर कुद्ने बाहिरका दृष्यहरु मैले पढेको लियोनार्दोका क्यानभाषभन्दा कम मुल्यका देखिएका थिएनन् । म दङ्ग थिएँ । म जस्तै आ–आफ्ना काममा निस्किएका अरुहरु पनि दङ्ग थिए ।

“अहो ! अब राम्रा र घमाईला दिनहरु शुरु हुने भए । म त दुइ दिनदेखि चराहरुका चिरबिर पनि सुन्न पाईरहेकी छु । पक्कै यो हप्ता बसन्त भित्रिन्छ ।” छेउमै बसेकी एक अधवैशेले मन खोलेर हामीले सुन्ने गरी भनिन् ।

भ्यालबाट छिरेको सूर्यको किरण ठोक्किएर तिनको ओठको रातो लाली अरु चम्किएको थियो । उनी साह्रै राम्री देखिएकी थिईन् । उनको रातो ह्याटको त कुरै नगरौ ; फक्रिएको गुलाफ जस्तो सुन्दर ! अघिल्लो दिनको ‘भ्यालेन्टाईन डे’ सकेर निस्किएका तन्नेरी मनहरु सधैभन्दा बढी प्रफुल्ल भेटिए आज । आफ्नो त ब्वाईफ्रेण्ड कता हो कता ! भ्यालेन्टाईनको रोमान्स नभएपनि ढिलोसम्म काम गरेर थप पैसा कमाएकाले खुशी थियो मेरो मन पनि ।

सधैंको निर्धारित समयभन्दा दश मिनेट ढिलो आईपुगेको ट्रेनले गन्तब्यमा पनि दश मिनेट ढिलै पु¥याउनेमा निश्चिन्त थिएँ म । तैपनि एकपटक घडी हेरें । आठ बजेर उन्नाईस मिनेट भएको थियो । बिसौं मिनेट हुन नभ्याउँदै एकाएक कम्पन.....अनि अजङ्गको पहाडी भित्तो जस्तो बस्तु मैले गाला जोडेर बसेको भ्यालतिरबाट बत्तियो । अर्कापट्टि हेर्न नभ्याउँदै म चढेको रेलको डब्बा उछिट्टिएर पल्टियो । मान्छेहरु समुद्री छाल जसरी माथिपट्टीकाहरु तलपट्टीकाहरुतिर बढारिएयौं । म कतै थिचिएकी थिएँ । मेरो टाउको भत्भत पोलिरहेको थियो । बसन्तको कुरा गर्ने अध्बैंशे जिजसलाई पुकार्दै हालेलुईया........हालेलुईया.... भन्दै थिइन । अरु यात्रीहरु चिच्याईरहेका थिए । मेरो अर्धचेतमा यत्ति मात्र रजिस्टर भएको थियो ।

त्यसको एक घण्टामा होश खुलेपछि थाहा भो दुई ट्रेनहरुले एक अर्कामा भेडा जुधाई जुधेछन् । तिनको जुधाईमा दर्जनौले धुकधुकी बिसाएछन् । म उद्धार टोलीले राखेको आपतकालीन टेन्ट मुनी थिएँ । टाउको ब्याण्डिजले छोपिएको थियो । हातको माथिल्लो भागमा पनि चोट लागेछ । टीसर्टमा रगतका टाटाहरु झण्डै–झण्डै सुक्न लागेका थिए । परिपरी हेरे । घाईतेहरु हस्पिटलतिर लगिदै थिए । सामान्य चोट लागेकाहरुको मल्हमपट्टी चलिरहेकै थियो ।

मृत्युको झट्का झेल्नु सामान्य कुरा थिएन । म काँपिरहेकी थिएँ । बोली अड्किरहेको थियो डक्टर र नर्सहरु यता र उता कुदिरहेका थिए । साईकोलोजिस्टहरु हमीहरुलाई हृदय खोलेर सुम्सुम्याईरहेका थिए । भयावह झेलेर बाँचेकाहरुलाई सान्तवना दिन पुरैराज्य लागि परेको थियो । ताता हिटरहरु बालिएका थिए परिपरी । भोलेन्टियर्सहरु कफी, चिया, हट चक्लेट बाँड्न खटिएका थिए ।

मैले मृत्यु देख्दै नदेखेको हो र ! मेरै आँखा अगाडि कति मरे मरे ! तिनका लाशमाथि खुट्टा गाडेर हिडेकै हुँ म पनि । मृत्यु अघिको क्रुर पीडा आफैं भोगेकी छु । तर आज एउटा फरक मृत्युको ज्ञात भो मलाई ।

ज्युँदै थिएँ म ! बिजुलीको करेन्ट सहँदा–सहँदा सुकेका दाउराका ठुटा जस्तै मेरा पैतालाहरु मरेर ब्युँतिएका थिए । बिहान बेलुकी राष्ट्र सेवामा खटिएका भन्नेहरुको यातना खप्न नसकेर मरिसकेको शरीर किन हो जिउँदै थियो त्यो बिहान ।

मैले स्वतन्त्रता बुभ्न नहुने ? मैले समानता खोज्न नहुने ? फुसको छानोभित्रको हाम्रो चिसो चुल्हो जलाउने आधार खोज्न होमिएँकी थिएँ म । तर भुँडी भरिएकाहरुलाई त्यो सह्ैय भएन । तिनले फलामे साङ्गलोको नेल हालेर जेलमा कोचिदिए मलाई । मेरो तरुनी देहको चिरफार गरे । मैले प्रतिकार गर्ने मेरो आवाज चार दिवालभित्र अनुकम्पित हुन्थ्यो जसलाई संगीत मानेर देश रक्षा गर्नेहरु नाच्ने गर्थे ।

मेरो आफ्नो देश, आफ्नो माटो, आफ्नो परिवेश अनि आफन्तको सामुन्ने पटक–पटक मृत्यु झेलेकी मान्छे म । कहिले भोकको मृत्यु, कहिले रोगको मृत्यु, अभावको मृत्यु, अनि कहिले शोषण र अत्याचारको मृत्यु । खालखालका मृत्यु झेल्दा–झेल्दै थोरै श्वास बोकेर यहाँसम्म आईपुगेकी । तर परदेशमा पनि पछ्याउँदै आईपुग्यो यो मृत्यु ।

“कस्तो अचम्मको भिन्नता !” मेरो देहमा एउटै अर्थ बोक्ने मृत्युका दुई फरक चित्र सलबलाउन थाले ।

त्यत्रो भट्का झेलेर कमजोर भएको शरीर ! दुई कप तातो कफी पिएपछि जीउमा रक्त संचार हुन थाल्यो । एकछिन पछि चराहरुको चिरबिर सुनेर सुन्दर बसन्तको आशा थाँतेकी मेरै छेउकी सहयात्रीको संझना भो । मलाई होश रहँदासम्म उनी हालेलुईया...हालेलुईया... गर्दै थिईन् । मलाई राम्ररी थाहा छ । मेरा आँखा उनैलाई खोज्न थाले । टेन्टभित्र कहीं देखिन । खुल्दुली भो । उनीसँग केही अनर्थ नहोस् भन्ने चाहन्थेँ म । बिचरा ! नजिकिएको बसन्त ऋतु जिउने कत्रो ईच्छा थियो उनको ! मन अशान्त भो नदेख्दा ।

“रातो ह्याट् लागाएकी म्याडम....?” सामान्य उपचार सकेर मेरो छेवैमा बस्न आईपुगेको तन्नेरीलाई सोधें ।

“उनी अब हामीसँग छैनन् ।” उसले आँशु गलामा दबाउँदै भन्यो ।

बिचरा ऊ त ती अधवैशेको ठीक सामुन्नेको सीटमा बसेको थियो । उनको हँसिलोपन अनि सुन्दर अनुहारभन्दा पनि सुन्दर मनले हामी धेरैलाई आउँदै गरेको यसबर्षको बसन्तलाई धित मरुन्जेल भोग्न भनेको थियो । तिनी आखिर बिदा भैछन् सदाका लागि ।

तिनको मृत्युले जीवनको सही अर्थ बोध गरायो मलाई ।

यस माटोका लागि म केवल बिदेशी नागरीक । मेरो आफ्नो माटो धेरै टाढा छोडेकी छु जसलाई केवल कल्पना गर्न सक्छु अहिले । मेरी बुढी आमा, केही मेरा आफन्त र साथीभाई, सबै यहाँ कहाँ छन् र ! म नितान्त एक्ली छु ः एक्लै बेहोर्नु परेको छ जे परेपनि । यो सब संझिदा मनको बाँध फुटेर आँखाबाट छताछुल्ल पोखिन थाल्यो ।

“तिमीलाई असाध्यै दुखिरहेको छ हो ?” छेवैमा आईपुगेकी एउटी भोलेन्टियरले म रोएको देखेर सोध्न लागि ।

“थोरै....!” मैले टाउकोमा बाँधेको पट्टी छुँदै भने ।

म रोईरहेंकी थिएँ । म रोएको देख्नेहरु एक पछि अर्को गर्दै मेरो शरीर सुम्सुम्याएर सान्त्वना दिन थाले । तीनिहरु कोही साईकोलजिस्ट थिए, कोही डक्टरहरु थिए, कोही रेल बिभागसँग संबन्धित कर्मचारीहरु । उनीहरुको आत्मियता र करुणा भाव पाउँदा म पुलपुलिएको बालक भएर अझ रुन थालेँ । मलाई सान्त्वना दिनेहरु थपिदै जान थाले ।

घटनाको दुई घण्टा बित्न नपाउँदै राज्यका प्रमुख संयन्त्र सम्हालेका उच्च ओहदाका व्यक्तिहरु धमाधम घाईतेहरु माझ आईसकेका थिए । दक्षिण फ्रान्समा सपरिवार छुट्टी मनाउन पुगेका राष्ट्राध्यक्ष घटना भएको सुचित हुनासाथ आफ्नो देश हानिएका रहेछन् । सकेजति सबै घाईतेलाई एकएक गरी भेटे उनले ।

“यो दुखद घटनामा हाम्रो पुरै देश शोकमा डुबेको छ आज । मृत्यु हुने सबैमा मेरो हार्दिक श्रद्धाञ्जली । बाँच्नु भएका सबैलाई ईश्वरले सधै रक्षा गरुन् ।” राष्ट्राध्यक्ष भावुक भएर बोले ।

आफ्नै दुख ठानेर देशको प्रमुखले बोलेका बाक्यांशहरु म बिश्वास गर्न सकिरहेकी थिईन । देश हाँक्नेहरुलाई जाबो दुर्घटनामा मर्ने मान्छेप्रति के को चासो परेको !? उनीहरुले यस्ता ट्रेन चढ्नु परे पो चिन्ता गर्नु !? म भए त त्यस्तो रमाईलो पारिवारीक जमघट छोडेर के आउँथे ! तात्तो न छारो !

त्यसैगरी नगरप्रमुख, क्षेत्रप्रमुख, रेलबिभाग प्रमुख, लिक मर्मतसंभार शाखा प्रमुख, बिद्युत शाखा प्रमुख आदी आफ्नो जिम्मेवारीप्रति उस्तै गम्भीर देखिन्थे । हामी वरीपरि प्रमुखै–प्रमुखहरुको संबोधनको थुप्रो लागिसकेको थियो ।

राष्ट्राध्यक्षको संवेदना देखेर म छक्कै परेँ ।

उद्धार टोलीले राखेको टेन्ट मुनिको वातावरण एकतमासकै थियो अझै । दुईवटा डब्बाहरु धुजा–धुजा भएकाले त्यसभित्र किचिएर ज्यान गुमाउनेहरुको संख्या बढ्ने आशंका बाँकी नै थियो । दुर्घटना कसले टार्न सक्ने ? जे हुनु थियो भएरै छोड्यो । सबै घाईतेहरु तम्तम्याईलो मन लिएर बसिरह्यौ ।

रेडक्रसका गाडीहरुको ताँती लाग्यो टेँन्ट छेउको सानो सडकमा । मलाई लाग्यो– सामान्य उपचारपछि घर जान सक्नेहरुलाई घरैसम्म पुर्याईदिने रहेछन् क्यारे ! हो नि ! यस्तो अवश्थामा कतिलाई घरसम्म पुग्ने आत्मविश्वास नै हुँदैन । म आफ्नै हिसाबमा थिएँ ।

“सिक्स पर भ्यान ।” रेडक्रसको ज्याकेट लगाएको बुढो मान्छेले भन्यो ।

उसको आदेश अनुसार संबन्धित मान्छेहरु घाईतेहरुलाई भ्यानसम्म पुर्याउने काम गर्न थाले । आफुसँगै यात्रा गरेको छोरो गुमाएको एउटा वृद्ध वेदनामा छट्पटिएर मुर्छा पर्दै ब्यँुतिदै थियो । हेर्दै मुटु निचोरिएर आउने । कसरी बिर्सनु त्यसले आफ्नो छोराको अनुहार ? सबैको वेदना देखेर मेरो पनि आत्मविश्वास शुन्य भएको थियो । साँच्चै भनुँ त उभिने आँटै थिएन ।

“हामी तपाईंलाई अस्पतालसम्म पुर्याउँछौ । केही बिषेश जाँच सकेर मात्र घर पठाउन मिल्छ ।” मलाई भ्यानसम्म लैजान आएकोले भन्यो ।

म झस्किएँ । साँच्चै भित्रि चोट पो छन् क्यारे ! मनमा त्रास बोकेर भ्यानभित्र बसेँ ।

...........................


अस्पतालकोे कोठा सफा र शान्त थियो; झण्डै–झण्डै घरको बैठक जस्तो देखें मैले त । खालखालका मिशिनहरु थिए कोठाको एउटा कुनातिर । सुक्सुकाउँदो सेतो ईलेक्ट्रिक बेडमा थिएँ म । नर्सले भनी –‘पालो आउने बित्तिकै एक्स–रे गर्न लैजाने छु ।’ मलाई बेडमा राखेदेखि नै छेउमा बसेर साईकोलोजिस्टले संझाएकी–संझायै गरी । ‘डरलागे जस्तो हुन्छ ? कहाली लाग्ला जस्तो भएको छ ? ऐया–ऐया गरेका, रगतले लछप्पै झिजेका अनि किचिएर मरेका यात्री अझै आँखामा घुमेझैं लाग्छ ?’– नौनी घिउ भएर सोधिरही उसले । उसका निला कञ्चन आँखाभन्दा सफा र कमलो मन भएकी हो कि उसको पेशा नै यस्तो हो ? मैले पत्तो पाउन सकिन ।

राम्रा मान्छे, राम्रो पेशा भएका मान्छे अनि ठुलो ओहदामा बसेका मान्छे त यस्ता नहुनु पर्ने !? खै उसको रवाफ ? मैले सोधे जवाफ दिन झर्को मान्नु पर्नेमा ऊ पो मलाई झर्को लाग्ने गरी प्रश्न सोध्छे । व्यक्तित्व हेरेर उपेक्षा गर्नु पर्ने । मेरो अल्पज्ञान देखेर हप्काई–दप्काई गर्नु पर्ने । रगतले भिजेका मेरा हातहरु अझै सफा भैसकेका छैनन् । उसमाथि मेरो कालो छाला ! कस्तो घिन नमानेकी मेरो छेवैमा बसेर ढाडस दिन । मलाई उदेक लाग्यो ।

“केहीबेर लाग्ला तिम्रो पालो आउन । बेडमा आरासँग ढल्किएको राम्रो ।” उसले मेरो बेडको बटन थिचि र बेडको उचाई मलाई ठिक्क हुने बनाईदिई ।

“मेरो टाउकोको एक्स–रे गर्ने हो ?” मैले बेडमा ढल्किदै सोधें ।

“मलाई लाग्छ तिम्रो पुरा शरीरकै स्क्यान गर्नु पर्छ । साना फ्याक्चर भित्रीभागमा छन् कि भनेर ।” बोकेको फायल पल्टाउँदै बोली साईकोलजिस्ट ।

“ओ............! चोट त मेरो टाउकोमा मात्र हो ।” म अक्मकाएँ ।

ढोका चुँईकियो । नर्स भित्र पसि । साथमा डाक्टर पनि आएछ । बेडसम्मै आएर हात मिलायो मसँग । नर्स केके हो तैयार गर्न थालि । डाक्टर र साईकोलोजिस्ट गुनगुन गरेको मात्र सुन्थे म । के भन्थे बुझिन्नथ्यो ।

“स्क्यानिङ्गका लागि कपडा यहीं चेञ्ज गराऊ । उताको चेन्जिङ्ग रुम आज दिनभरको ब्यस्तताले अस्तब्यस्त छ ।” डाक्टरले नर्सलाई निर्देशन गर्यो ।

अब भने म साच्चै घाईते भएँ । म चाहन्न मेरो सर्वाङ्ग शरीरको जाँच । चोटपटक जे छन् सब शान्त भैसकेका छन् । दुख्दैनन् । अलि आला चोट पनि सुक्न थालेका छन् । धाईते म, मेरा घाउ मलाई दुख्दैनन् भने यीनलाई खोतल्ने के खाँचो !? म क्रुद्ध थिएँ मनभित्र ।

“म त टाउकोको मात्र एक्स–रे गर्ने । पुरा शरीरको स्क्यानिङ्ग गर्न डर लाग्छ मलाई ।” मैले बहाना बनाएँ ।

“कति बर्षकी भयौ ? नर्सले ठिक पारेको मेरो रेकर्ड फायल हेर्दै डाक्टरले सोध्यो– अँ....चौबिस ?”

उसको मजाक मैले बुझेँ तर मेरो बहाना उसले के बुझोस् ।

“तिमी केही चिन्ता नमान । हामी सब छौ तिम्रा लागि ।” साईकोलोजिस्ट भावुक भएर भन्न थाली ।

“तिमी माईन्ड गर्दिनौ......? ओरिजिनली कहाँकी हौ ।” डाक्टरले मेरो जन्म थलो अन्दाज गरे जस्तो गरी सोध्यो ।

“नेपाल । तपाईं पुग्नु भएको छ ?” मैले पनि सोधिहाले ।

कस्तो बाठो ! मलाई घुमाएर आफ्नै हो जस्तो पार्यो । गफाडी !

“ओहो ! तिमी त मेरो हातले उपचार गरेको पहिलो नेपाली पो हुने भयौ ।” जोशियो ऊ ।

“हाम्रो गरिबि हेर्न जानु होला ।” यस्तै भनुँ जस्तो लाग्यो तर देशको पीडा अर्कालाई के सुनाउँनु ? म बोलिन ।

“दक्षिण अमेरीकी देशहरु ईक्वेडर, बोलिभिया, पेरु, चिली, कोलम्बिया साथमा भेनेजुएला रोगीहरुको उपचारकै शिलशिलामा पुगेको भएपनि एशियन देशहरु घुमेको छैन । शायद जानु पर्ला अब ।” निकै चाख मानेर कुरा बढायो उसले ।

नर्सले मेडिकल चेयर ल्याएर कोठाको एक साईडमा राखि । कपडा पनि तैयार थियो । मात्र म तैयार थिईन त्यसका लागि । यति असल मान्छेहरुसँग ढिपी गर्नु कसरी ? टाउको जस्तो संवेदनशील भागमा त्यत्रो चोट लागेको छ । ग्लानीले आलसतालस हुँदैथिएँ म । के भन्लान् मेरो सवाङ्ग शरीर देखेर ? मेरो निजी शरीरमा मेरो हक नलाग्ने कस्तो बिडम्बना !?

“म त पुरै शरीरको स्क्यानिङ्ग नगर्ने ।” नर्सलाई हेर्दै उही कुरो दोहोर्याएँ मैले ।

मेरो ढिपी देखेर सबै मुखामुख गर्न थाले ।

“डियर, आफूले भनेको मात्र चल्ने भए म त खास बुर्जुवा, नेता, माफिया, ब्यापारी या कुनै ईन्टरनेशनल कम्पनीको मालिक हुनुपर्ने ! रोगीको सेवा गर्ने डक्टर हैन । म उबेलाको मन्त्रीको छोरो पो त !” डाक्टर कडा भएर बोल्न लाग्यो– “जुनबेला युरोपका कयौं मान्छेसँग केही थिएन मसँग सबथोक थियो । त्यो पनि अलिअलि हो र ! ओखाई–पोखाई । मेरो बाबुको नाममा चल्ने त हो नि सेन्टरल स्टेशनको तिमीहरु सबले चढ्ने ‘मेट्रो द ला ख्व्रा’ ।”

“मेट्रो द ला ख्व्रा !?” म चकित भएँ । स्टेशनको नामै उसको बाबुको नाममा रहेछ ।

हल्दार त परको कुरा ! मौका परे पावरवाला अफिसका पालेसँग दोहोरो कुरा गर्न डर मान्नु पर्ने देशकी मान्छे म । अर्काको देशको डाक्टर, त्यसमाथि भुतपूर्व मन्त्रीको छोरोसँग साक्षात कुरा गर्दै थिएँ । डक्टरको कुरा सुनेपछि नर्स र साईकोलाजिस्टको हात समाएर लुरुक्क बेडबाट आर्लिएँ म ।

नर्सले बेड माथिको पर्दा परिपरी घुमाई । बेडभरीको क्षेत्रफल कोठा जस्तो भो । मेरा कपडाहरु खोल्नु पर्ने नै भो । मैले आफुलाई युरोपकै सुन्दर तरुनीको ढाँचामा बदलेकी छु । हल्का खैरो रङ्ग हालेर ‘सर्ट वेज’ हेयर स्टायल राखेकी छु । आज पनि लामा काला बुट, कालो म्याचिङ्ग ब्याग, ‘ब्राण्डका’ ब्रासलेट र नेकलेस अनि लामो खैरो कोट लगाएकी थिएँ । मैले लगाएको टीसर्ट पो बरु रगत लागेर टाटैटाटा भएछ । सामान्य अवस्थामा तलबाट माथिसम्म हेरे कसैले नेपाली भन्दैन । तर मेरो बाहिरी ढाँचाको कुनै काम रहेन अहिले ।

म मेडिकल चेयरमा बसेर मेरा लामा बुट खोल्न थाले । बुट तानेर नर्सले एकातिर राखिदिई । मेरा खुट्टाहरु भने ‘लेगिङ्गस्’ ले छोपिएकै थिए । मैले बिस्तारै टीसर्टको बटन खोल्न शुरु गरेंँ । मेरा हातका औलाहरु तागत नपुगेर काँपिरहेका थिए ।

“पीर नगर म खोलिदिन्छु ।” नर्सले मुस्कुराएर मेरा हात पन्छाउँदै टीसर्ट खोलिदिन थाली ।

“ओहो चोट निकै छन् जस्तो छ ।” मेरो टीसर्ट बेडमाथि फ्यात फ्याँक्दै भनि –“तिम्रो जिन्सभित्र पनि हेरौ ।”

म मरेर उभिएँ । मेरा घुँडाहरु कक्रिए थिए । नर्सले हतारिदै हस्पिटल गाउनले मेरो शरीर ढाकिईि र जिन्स खोल्न मद्यत गर्न लागि । म जिन्स खोलेपछि निर्वस्त्र प्रायः भएँ । मेरो शरीर ढाडतिर बटन भएको पातलो गाउनले मात्र ढाकिएको थियो । म हीनताबोधले कायल भएँ । मैले बिर्सिएको कुरुपता परायाका सामु हुन्न पनि भन्न नपाई पुनः ब्युँतिएको थियो हस्पिटलको गाउनभित्र । मैले हृदयभित्र जबरजस्ति हुर्काएको सुन्दरताको भ्रुण यहाँनेर पुगेर तुहियो । आखिर म उही भएँ जो थिएँ ।

“खै त म गाउनको बटन लगाईदिउँ ।” मलाई उभिन सहयोग गर्दै नर्स बोली ।

“ओ माई गुडनेस.......! ”उसका आँखा एकटक भए ।

उसले मेरो नितम्ब नियाँली । मेरा खुट्टाका औला देखी । मेरा पिँडुला र स्तन परिपरीको भाग पनि खोतलेरै हेरी । उसले उसको पेशा अनुसारको भूमिका पुरा गरी ।

“के यो सब........!?” उसले हत्केलाले मुख छोप्दै आधा वाक्य बोली अनि पर्दा सारेर बाहिर निस्किदै भनि – “डक्टर, उसका भित्री चोटहरु थुप्रै देखिए ।”

“ईमर्जेन्सि चेक भएनछ ।” डक्टर मेरो अगाडि हातमा पन्जा लगाएर उभिईसकेको थियो ।

“खै म हेरौ ।” उसले भिजिटर बस्ने कुर्सी तान्यो र मेरो सामुन्ने भएर बस्यो ।

मैले आँखा कस्सेर चिम्लिएँ । साईकोलोजिस्टले मेरो एउटा हत्केला समाएर सान्त्वना दिन थालि । नर्स मेडिकल ट्रे बोकेर एकटक उभिईरही ।

“नितम्बमा यत्रो गहिरो चोट ! ढाडमा दागैदाग ! स्तनको माथिल्लो भाग काटिएको छ ! ओहो पिँडुलाको एकपटिको छाला मरेजस्तै देखिन्छ ! खै देब्रेखुट्टाका दुई औलाहरु !?” डक्टरको आवाज मेरो घाईते मष्तिस्कलाई प्वाल पार्दै भित्र छिरिरहे ।

“यो आलो चोट हैन । के तिमी पहिले कुनै दुर्घटनामा परेकी थियौ ?” जाँच गर्दै डक्टरले मलाई सोध्यो ।

म के बोलुँ ? सबै खुल्ला त थियो । आफ्नाले चिथोरेर छोडेका घाउहरुको बेलीबिस्तार यी परायालाई कसरी लगाउनू ? आफ्नो घरको ईज्जतको पोको परायाको सामुन्ने कसरी फुकाउनु ? कस्तो दुर्भाग्य ! मैले छोपेकै त थिएँ आजसम्म । तर उही मृत्युको झट्काले यहाँ ल्याएर उघार्न बाध्य पारिदियो । मैले भन्ने नै निणर्य गरे किनकी असल मान्छेलाई दुविधामा राख्नु पाप हुन्थ्यो ।

“खासमा यो सबै मेरो आफ्नै देशमा जेल पर्दा भएको ।” जे भन्न नचाहेको उही कुरा भन्दै थिएँ म ।

“जेल....! के क्राईम गरेकी थियौ त्यस्तो ?” साईकोलोजिस्टले मेरो समाई राखेको हत्केला छोड्दै सोधी ।

चिम्लिएका आँखा खोलेर हेर्दा डक्टर, नर्स र साईकोलजिस्ट सबैको अनुहारमा शंकाको रङ्ग पो सलबलाई रहेको पाएँ । ठीकै त हो ! अपराधी र अपराध कसले स्वीकार्छ ?

“क्राईम हैन । पन्ध्र बर्षको उमेरमा राज्य–क्रान्तिमा लागेकी थिएँ ; रोग, भोक र रहरहरु पुरा गर्न । बाठाहरु लुके, भागे । मजस्ता समातियौं अनि कोचियौं जेलभित्र । मान्छेका खुट्टाभएका रेलहरुको दुर्घटनामा परेर यस्तो घाईते भएँ । यति नै हो त्यस्तो क्राईम–स्राईम केही गरेको हैन ।” खण्ड–खण्ड गरेर के सुनाउन !? भन्दिएँ एकै सासमा ।

“जेलभित्र यस्तो कसरी हुनसक्छ ?” नर्सले पत्याउन सकिन ।

“मैले बुझें । बोलिभिया र क्यूवा जाँदा यस्तै ‘केश’ समाचारमा सुनिन्थ्यो । कतिको उपचार पनि गरेको थियो हाम्रो टीमले । लामो कथा छ । सुनाउँला कुनैदिन ।” डक्टरले नर्स र साईकोलोजिस्टलाई सुनायो ।

बाठो छ डक्टर । बोलिभिया र क्यूवाको कुरा ल्याएर संसारभरकी अभागी म मात्र होईन रहेछु भन्ने पारिदियो ।

“अब बुभ्यौ, म मन्त्रिकको छोरो राजनेता नभएर डक्टर किन भएछु ?” सबैलाई हेरेर हाँस्दै कोठाभित्रको गम्भीरता तोडिदियो उसले ।

म पनि फिस्स हाँसे । साईकोलोजिस्टले मेरो हात पुनः समाई । नर्सले म बसेको मेडिकल चेयर गुडाई स्क्यानिङ्ग रुमतिर । अब केवल लुकेका चोटहरुलाई स्क्रीनमा हेर्न मात्र बाँकी थियो ।


लण्डन, बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 13 बैशाख, 2070

लेखकका अन्य रचनाहरु