नेपाली जीवन र समाजका यथार्थ प्रतिध्वनि

- छविरमण सिलवाल

‘जताततै ईष्या, द्वेष, हत्या, हिंसा, कलह, चाकडी, चाप्लुसी, ठगी, झुट, फटाई, भ्रष्टाचार, घुसखोरी यी सब देखेर मन खल्लो हुँदै आयो । भनौं कसलाई भनौं ? फेरि भनेर पनि के फाइदा ? अझ आफैलाई घाटा । जताततै डरै डर । ठूला भनाउँदाहरूले जे गरे पनि हुने । ‘जो होचो उसको मुखमा घोचो’ भने झैँ, गरिब दिनप्रतिदिन गरिबीले थिचिदैंछन्, धनि महल ठड्याएको ठड्यायै छन् । हुनेले खिर खाएका छन्, नहुनेले रित्तोे बटुको हल्लाएका छन् ।’ समाजमा भएका यी र यस्ता धेरै कुरिती, कुसंस्कार, कुकाम देखेर दिक्क भएका यशु श्रेष्ठले यीनै समाजका कुरिती विरूद्ध कलमको सहारा लिए । यसरी सिर्जना गरिएका सिर्जनाहरू कहीँ कथा ,कहीँ कविता भएर पुस्तकका पानाहरूमा छरिए । अनि एउटा नविनतम कथा सङ्ग्रह ‘आँसुको पूmल’ लिएर देखा परे । १६ ओटा कथाहरू भएको प्रस्तुत पुस्तकलाई रत्नसागर प्रकाशनले प्रकाशनमा ल्याएको छ ।
मैले यशुलाई पढ्दा बालकथाकारको रूपमा पढिरहेको थिए । निकै सुन्दर बालकथा सिर्जना गर्ने यशु प्रौढ कथामा पनि उक्तिकै शसक्त भएर देखिएका रहेछन्, ‘आँसुको पूmल’ कथासङ्ग्रह मार्फत । बालसाहित्यमा यशुका करिब डेढ दर्जन पुस्तकहरू प्रकाशित भैसकेका छन् । प्रोढकथामा भने यो उनको पहिलो कथाकृति नै हो । उनको प्रस्तुत गर्ने विषयवस्तुहरू हाम्रै समाजले दिएका दर्दका पाटाहरू नै हुन् । समग्र मानवीय संवेदनाका स्वरहरूलाई उनका कथाले प्रतिनिधित्व गरिरहेका छन् । दर्द र पीडाका पाटाहरू भित्र पनि सकारात्मक सोचको सिर्जना भएको पाइन्छ उनका कथाहरूमा । शसस्त्र युद्धको डोबले उजाड बनाएका वस्तिहरूमा उमङ्ग र शान्ति छाउनेछ भन्ने झिनो आशा लिएर कथाका पात्र देखिएका छन् उनका कथाहरूमा । हेरौं ‘अवशेष’ शिर्षक कथाको एक अंश ः–‘ए बाबु ! किन आत्तिन्छौ । म बुढो, डाँडामाथिको घाम । म त आत्तिएको छैन । मेरो पनि आफ्नै दुःख र बेदना छ । तर नआत्तिऔं । सधैँ समय एउटै रहँदैन । रातपछि अवश्य बिहान आउँछ । पर्ख ! त्यो बिहान छिट्टै आउँछ । आत्तिएर हामीले लत्तो छाड्नुहुँदैन ।’ आऊ ! तिम्रो दुःखमा म सक्दो सहयोग गर्नेछु । मेरा पनि त जीवनधार कोही छैनन् । सबै परिवार गुमाइसकें मैले । बाँकी छ त एउटा छोरो त्यो पनि अर्धमृत । तैपनि म आशा गरेर बाँचेको छु । बाँच्नुको अर्थ नरहे पनि मर्नुको त अर्थ होस् । आऊ तिमी हिम्मत लिएर आऊ । गाऊँमा धेरै बाँझा खेतवारीहरू छन् । धेरै घरहरू युद्धले प्वाल पारेका छन् । छानो चुहिएका छन् । झुत्रिएका छन् । मिलेर काम गरौंला । मिलेर बसौंला । यस्तो जल्दोबल्दो उमेरमा पनि निराश हुने ? बुढाले अँगालो हाले त्यस चोरलाई ।’
यशु युवा जोश र जागरले भरिएका नौजवान हुन् । केही गरौं भन्ने भावना उनमा यथेष्ट रहेको छ । उनलाई समाजका कतिपय कुराहरू सामन्त सोचका लाग्छन् । यसलाई परिर्वतन गर्नुपर्छ भन्ने भावना राख्छन् । समाज भित्रका बेमेल परिस्थितिबाट छुटकारा दिलाउन साहित्यले मद्दत गर्छ भन्नेमा विश्वस्त छन् । र, यी परिवेशलाई कथाका माध्यमबाट पोखिरहेका छन् । उनी निकै रोचक शैलीमा कथा प्रस्तुति गर्छन् । ‘दुखेको घर’ शिर्षकको कथाभित्र एउटा पीडित परिवार पहाडको दुःख सहन नसकेर तराईँ झर्छ, त्यहाँ वसोवास गर्ने मधेशीबृद्धले त्यस परिवारलाई आश्रय दिन्छ । मधेश आन्दोलनमा पहाडीयालाई शरण दिएको भन्दै ति बृद्धाको घर जलाइन्छ, अन्ततः ति दुबै परिवार घरवार विहिन हुन्छन् । आफ्नै देशमा शरणार्थी जीवन भोग्न पुगेका यी परिवारहरूको पीडा सत्य हो । राजनीतिक प्रतिशोधका नाममा जातजातीलाई लडाएर फाईदा लुट्नेहरूले देशलाई नराम्ररी डसिरहेछन्, उता दुःखी पिडितहरू चाहिँ आफ्नो कर्म यस्तै रहेछ भनेर चित्त बुझाई रहेका छन् । दुःखीको पुकार कसले सुन्ने खैं ? यी र यस्तै मानविय संवेदनाहरू बोकेर कथा प्रस्तुत गरेका छन् यशुले आँसुको पूmल कथासङ्ग्रहमा । उनका हरेक कथाले यस्तै संवेदनाको प्रतिनिधित्व गरिरहेका छन् । कहीँ प्रेमका कुरा गर्छन्, कतै लडाईका, जे जस्तो परिवेशमा पनि उनी जीवनको अर्थ खोजिरहेका छन्, आँसुको पूmल मार्फत । उनका कथाका सन्दर्भमा कवि साहित्यकार नवराज रिजाल यसरी लेख्छन् ः–‘कतै उकाली चढ्नेहरूको साहसमा आँटको पोयो लगाउँछन् त कतै ओरालीमा चिप्लिनेहरूलाई भविश्यको आशा देखाएर गन्तव्यसम्म पुग्न हौस्याउँछन् । यसैगरी अठोटको दियो बालेर अगाडि बढ्न, उद्देश्य प्राप्तिका निम्ति कठिन सङ्घर्षको बाटो रोज्न पनि प्रोत्साहित गर्छन् । उनी बुझ्छन्, बाटो हिड्नेहरुको हो, जीवन भोग्नेहरूको हो, पीडा अनुभूति गर्नेहरूको हो, विश्वास फुलाउनेहरूको हो, आँट आस्थामा गोडमेल गर्नेहरूको हो, खुशि आफैलाई विश्वासमा लिनेहरूको हो, त्यसैले उनी तिनीहरू सबैलाई खोकिलामा राखेर अगाडि बढेका छन् गन्तव्य भेट्टाउन ।’ प्रायः उनका केही कथाहरूमा बालकथाको झझल्को साथै परिपक्कताको अभाव महशुस भएपनि नेपाली समाजका यथार्थ प्रतिध्वनि बोकेका छन् उनका कथाहरूले । उनी सफल बालसाहित्यकार त हुन् नै, भविश्यमा सफल कथाकार बन्ने लक्षण ‘आँसुको फूल’ कथासङ्ग्रहले देखाएको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 13 बैशाख, 2070

लेखकका अन्य रचनाहरु