उल्टा रुखहरु

- भूपिन व्याकुल

बाल्यकालमा
बालसाथीहरू भन्थे-
"फलफूल खाँदा बियाँहरू ननिल्नु
निलेपछि
पेटमा उम्रिन्छन् बियाँहरू
पेटमा नै बिरुवा लाग्छ
पेटमा नै जराहरू पलाउँछन्
रूख बन्छ
र मानिसको मृत्युहुन्छ ।"
रातभरि सपनामा म
आफ्नो पेटमा रूख देख्थेँ
रूखका हाँगा र जराहरू देख्थेँ
मृत्युदेखि भयभित
म सधैँसधैँ
फलफूलका बियाँहरूसँग र्सतर्क रहन्थेँ ।
थाहा छैन कहिले निलेँ मैले
अञ्जानमा फलफूलका बियाँहरू -
कहिले उम्रियो यो उल्टो रूख
मेरो शरीरभित्र -
कहिले हाँगाहरू पलाए मभित्र -
मेरो मस्तिष्कभरि
कहिले झ्याङ्गिए रूखका जराहरू -
थाहा छैन
कहिले र कसरी हुर्काएँ मैले
यो सुन्दर उल्टो रूख आफूभित्र -
यद्यपि थाहा छ-
मभित्र हुर्किएपछि
त्यो उल्टो रूख
कोर्न थालेको छ आस्थाको ब्रसले
मनको रङ्गहीन क्यानभासमा-
एक सुन्दर देश र एक सुन्दर विश्व,
मन पराउन थालेको छु-
सम्झौताहीन मान्छे
र सम्झौताहीन जीवन,
माया या घृणा गर्न लागेको छु जीवनलाई
माया या घृणा गर्न लागेको छु मृत्युलाई
र खोज्न थालेको छु उत्साहले-
मान्छेकै बस्तीमा मान्छेहरू
मनको बस्तीमार् इश्वरहरू ।
हामी सबैले निल्छौँ अञ्जानमा
फलफूलका बियाँहरू,
उम्रिन्छन् तिनीहरू-
हाम्रो मलिलो छातीभित्र
र हुकाँउँछौँ हामीले आफूभित्र
सुन्दर तर उल्टा रूखहरू !
बाल्यकालमा
बालसाथीहरू भन्थे-
'फलफूल खाँदा बियाँहरू ननिल्नु !'

-बागलुङ, हाल-भरतपुर

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 10 फागुन, 2064

लेखकका अन्य रचनाहरु