मेरी आमा बहादुर छिन्

- डीग बहादुर तामाङ्ग

मेरी आमा एउटी नारी भन्दा ठूली छिन् ,
मेरी आमा एउटी श्रीमती भन्दा पनि सम्मानित छिन्
आमाले नै जन्माएकी हुन् संसारका समस्त मानवहरु
आमाले नै देखाएकी हुन् मानवलाई यो संसार
एउटी आमासंग मात्रै हुन सक्छ
माया र सम्मानको अर्थ
एउटी आमाले नै दिन सक्छिन्
सच्चा मातृत्व र वात्साल्य
जस्तै अपठित हुन आमा
तर उनैले मात्र पढाउन सक्छिन्
हर पल यस धर्तीमा जन्मनेहरुलाई
कुशल जिन्दगीको किताब
उनी नै हुन् हर मानिसको पहिलो स्कूल
र सिकाउने गर्छिन्
राम्रा, नराम्रा, ज्ञान र विज्ञानका कुरा ।

एउटी आमाको हृदयले नै थाहा पाउँंछ
आफ्नो सन्तानको सुर्ता
आमाले नै अनुभूत गर्न सक्छिन् हाम्रो हृदयको सुख
आमाले नै थाहा पाँउछिन् हामीलाई परेको दुःख
आमा नै हो त्यो देवी
जसलाई थाहा हुन्छ आफ्नो सन्तानको सबै अन्तरंग ।

तै पनि आमालाई हाम्रो माया र सम्मान चाहिन्छ
आमाको चाहना हुन्छ, हाम्रो अनुहार सँधै उज्यालो होस्
यो भन्दा ठूलो कोशेली के हुन सक्छ आमाको लागि
त्यसैले सदा सर्वदा उज्यालो अनुहार लिएर
आफ्नो आमालाई माया र सम्मान गर्न सिकौ
तब मात्रै हरेक आमाले
गर्ब गर्नेछिन् आफ्नो राम्रा आज्ञाकारी नानीका लागि ।

मातृ देवो भवाः

अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 9 चैत्र, 2069

लेखकका अन्य रचनाहरु