तुलना

- राजु शर्मा

सामाजिक कार्य कर्ता राम बाब गांउमा कहलिएका व्यक्ति हुन् । उनको सामाजिक चेतनाको स्तर गांउलेको नजरमा उत्तम सावित हुदै आईरहेको छ । उनलाई गांउलेले सामाजिक कार्यकर्ताको नजरले मात्र ननियांलि सामाजिक ,राजनितिक र आर्थिक उन्नतिका अगुवाका रुपमा पनि नियाल्ने गर्छन् । यस्ता गांउलेको नजरमा गडेका आस्थाका पुन्ज राम बाबु आफनो हितैषि मित्र नगरकोटे साईलोको साथ लागेर पल्लो गांउ जांदै थिए । बाटोमा बडेमाको अक्करे भिर अजङ संग उभिरहेकै थियो । भुक्षयले जिर्ण त्यो भिर नाङगौ र उराठ देखिएको भएता पनि वर्षारितुको आगमन संगै अस्तीत्वमा आउन खोज्दै थियो । त्यसैले होला ! भर्खर टुसाएका हरिया घांस र वोट वृक्षको कलिलो अस्तित्वले अक्करेभिरको ढाडमा अलिकति भए पनि हरीयाली पोतिदै थियो । कलिलो घांसको निमन्त्रणामा लठठ परेर जिब्रो फटकार्दै एउटा कलिलो पाठो अर्थात कलिलो बोका अक्करे भिरको ढाडमा गएर एक्लियर म्या.... म्या.... गर्दै उददारको लागि पुकार्दै थियो । पाठोको मायांलाग्दो प्रतिध्वनित स्वर रामबाबुको कानमा आएर सोजै ठोकियो । सामाजिक कार्यकर्ता रामवावुले वरि परि नजर घुमाएर प्रतिध्वनि स्वर तर्फ ध्यान केन्द्रित गरे । त्यो बिशाल अक्क्रे भिरको सामुन्ने त्यो बबुरो पाठो कता विलायो कता ! राम बाबुका कान ठाडा भए । पुन प्रतितध्वनि स्वर म्या.... म्या...झिनो स्वर आएर सामाजिक कार्यकर्ता रामबावुको कानैमा ठोकियो । तत्कालै उनले नगरकोटे साहिंला सामु जिज्ञासा पोखि हाल्य ।

“ए साहिला त्यो पाठो भिरमा फसे जस्तो छ ! हेर हेर ” उनले चोर औला तेर्साएर अक्करे भिर तर्फ ईङ्कित गरे ।

नभन्दै एउटा चिल्लो खिरिलो पाठो उनको नजरमा देखा पर्यो । उनि हतार हतार त्यो भिरको नजिक पुगे । पछि पछि दौडदै नगरकोटे सांहिलो पनि आएर ठिङ्ग उभियो ।

“ए होत कस्तो खिरिलो पाठो रहेछ ।” उनको सामाजिक उदारता जुरमुरायर फुस फुसायो ।

सकिनसकि त्यो पाठोको उद्यार गरि छाडे । उनको अदम्य साहास र पाठो प्रतिको स्नेह भाबनाले नगरकोटे सहिलाको नजरमा उनि औधि धर्मात्मा ठहरिय । सामाजिक कार्यकर्ता त उनि थिएनै , अब उनि गांउलेको नजरमा धर्मात्मा पनि साबित हुने भए !

पाठो अगि लाएर उनि पल्लो गाउजाने कार्यक्रमलाई थांति राखि घरै फर्किए । वाटो भरी गाउंलेहरुको जिज्ञासा र उनको उत्तर संगै साहिलाको साबिति बयानले उनको ब्यक्तित्वको उचाई ह्वतै वडाईदियो । पल भरमै पहिलाका राम बाबु र अहिलेका रामबाबु विच आकाश जमिनको अन्तर देखा पर्यो । गाउँले सवै मुक्त कन्ठले उनको प्रशंसा गर्न थाले ।

भोलि पल्ट विहानै गाँउमा उर्दि जारी भयो । सवै गाउलेहरु रामबाबुको आंगनमा भेलाहुन आ आप्mनो घरबाट रमाना भए ।

नगरकोटे साहिंलोले पनि गांउलेहरु संगै रामबाबुको आंगन तर्फ छिटो छिटो पाईला चाल्यो । हिजोका घर्मात्मा रामबाबुको दर्शनमा उ झन ब्याकुल देखिन्थ्यो ।

रामबाबु स्वं आंगनको फलैंचामा बसेर आदेश दिदै थिए । आगनको मध्य भागमा सुकुल ओछयाईएको थियो । सुकुल माथि मासुका चोक्टाहरु छरपस्ट थिए ।

गाउलेहरुको आउने क्रमजारी थियो । गाउलेहरुको आउने क्रम रोकियो । रामबाबुले आदेश जारी गरे । “ल आवो गाँउले हो....! वजारमा चार शय पर्ने मासु मैले तिन शयका दरले भाग लगाएको छु । मेरो हातमा तिन शयका हरिया नोट राख अनि एक एक थुप्रो मासु लिएर जावो ।

नगरकोटेको आँखा बारीको डिलमा गएर ठोकियो । कालोरौंहरुले बारीको पाटा ढाकिएको थियो । कलिलो पाठोको पिलन्धरे खुट्टाको खुर उस्को सामुन्ने फालिएको थियो । त्यहि कालोरौं भएको बोको म्या....म्या....गर्दै उदारताको पुकार गर्दै गरे जस्तो देखियो । उस्ले रामबाबुको नजरमा पुलुक्क हेर्यो । घृणले दांत चपायो । सुकेको थुक घुटुक्क निलो ।

“ए नगरकोटे साहिंला यत आईज ....आईज....” रामबाबुको आदेशमा उस्को पाईला नचाहंदा नचाहंदै रामबाबु तर्फ बड्यो । अभ्यस्त पाईलालाई उस्ले रोक्न सकेन् ।

भित्रबाट रामबाबु की कान्छी बुहारी हातमा दुई कचौरा लिएर आई । एउटा रामबाबुको हातमा र अर्को नगरकोटे सांहिलाको हातमा थमाई दिई । रामबाबु कालो बोकोको खुट्टाको सुंप सुरुप सुरुप गर्दै पिउन थाले । नगरकोटे साहिंलाको हातमा रहेको कचौराबाट त्यो कालो पाठोले म्या....म्या...गर्दै पुकारी रहे जस्तो देखियो । हातमा रहेको कचौरा भुंईमा बजारीयो । कचौराको आबाजले प्रतित्ध्वनि गुन्जियो । सबै रामबाबुका परिवार आंगनमा देखा परे । नगरकोटेसाहिंलो भने एक तमासले टोलाई रहेको थियो ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 9 चैत्र, 2069

लेखकका अन्य रचनाहरु