पलायन कमरेड

- कृष्ण बजगाईं

‘हिथ्रो टर्मिनल फोर अगाडि हुन्छु म पीर मान्नु पर्दैन ।’ कमरेड विश्वासले फोनमा भनिसकेका थिए । एयरपोर्टबाट बाहिर निस्कने यात्रुहरुको भीड देखेर कमरेड अटल एकछिन आत्तिए । उसो त हजारौंको जुलुसको नेतृत्व गरेर हिँडेका कमरेड अटललाई रंगरंगका मानिसका भीड देखेर अत्यास नलाग्नु पर्ने हो ।

‘कमरेड नमस्कार !’ विश्वास कमरेडको आवाज चिने अटल कमरेडले ।

कमरेडहरुले कस्सेर हात मिलाए । हेराहेर गरे । विश्वास कमरेड अविश्वसनिय तरिकाले मोटोघाटो देखिएका थिए । राता पिरा भएका थिए । ब्रान्डका कपडा लगाएका थिए । अटल कमरेड त उस्तै थिए– लुते, ख्याउटे, झुस्स दाह्री पालेका !

‘कमरेड गणतन्त्र आएपछि पनि मोटाउनु भएन छ । सिद्धान्तमा एक छेउ हलचल नगरि अटल रहेको त ठिकै छ । तर शारिरिक अवस्था चाहीँ अलिकति परिवर्तन गर्नु पर्ने कमरेडले ।’ विश्वास कमरेडले ब्यङग्य हाने ।

‘यो प्रजातन्त्र र गणतन्त्र चतुर बेइमान नेताहरुलाई मात्र आएको हो । म जस्ता पार्टीका कैयौं बफादार शिपाहीको हालत उस्तै छ ।’ कमरेड अटलले रोश प्रकट गरे ।

कमरेडले ह्याण्ड ब्याग आफैले बोके । विश्वाश कमरेडले दुइटा सुटकेश घिसारे । कमरेडहरु गफिदै कारपार्क तिर बढे ।

कमरेडको कार भित्र ब्याग र सुटकेश राखे । अटल कमरेडका त्यति धेरै ब्याग देखेपछि बसाई नै सरे जस्तो लाग्यो कमरेड बिश्वासलाई । थाहा पाएदेखि कमरेडको श्रीसम्पत्ती भनेकै एउटा झुम्के झोला र सानो ब्याग थियो । अहिले दुइटा सुटकेश र ह्याण्ड ब्याग देखेपछि कमरेड बिश्वासको मनमा चिसो पस्यो । यतै सेटल गराइदिनु पर्यो भनेर भन्ने त होइनन् ? एक हप्ता मात्र घुमाउने हो भनेर बोलाएको !

कमरेडले गाडी हुँइक्याए । गाडीभित्र सिडी प्लेयरमा डङ... डङ... गर्दै कानको जाली फुटाउने अंगे्रजी गीत बजिरहेको थियो ।

‘हाम्रा जनगायकहरुले भर्खरै निकालेको जनवादी गीतको नयाँ सिडी छ सुटकेशमा त्यो सुनौं न कमरेड ।’ अटल कमरेडले त्यो गीत मन नपरेको कुरा घुमाएर राखे ।

‘त्यो पछि सुनौला कमरेड ।’ विश्वास कमरेडले कुरा टुङ्ग्याए । तर उनलाई झोँक चल्यो । बजिरहेको गीत बन्द गरे ।

ठूल्ठूला चौंडा सफा बाटाघाटा, अग्ला, ठूल्ठूला भवन । मान्छे, गाडीको ताँती । झ्यालबाट कमरेड अटलले ती सबै दृष्य हेरे । पहिलो पटक यस्तो दृष्य देखेर कमरेड चकित भए ।

‘हामी कहाँ पनि साम्यवाद आएपछि यस्तै विकाश हुन्छ होला ।’ कमरेड अटलले भने ।

‘जनताको लागि सुख सुविधा पुर्याउन साम्यवाद नचाहिँदो रहेछ । नेताहरु इमान्दर, नैतिकवान र भिजन भएको भए सबै पुग्ने रहेछ । गैर साम्यवादी मुलुकको विकाश र जनताको लागि पुर्याएको सुविधा हेर्दा यस्तो भन्न सक्ने भएको छु म ।’ कमरेड विश्वासले भने ।

उनको कुरा अवसरवादी लाग्यो कमरेड अटललाई । लागेर के गर्नू उनको सहयोगले यो सब हेर्ने अवसर पाएका हुन् ।

‘धन्न तपाईं जस्ता सहयोगी कमरेडले यता बोलाइदिनु भयो । टिकट पठाई दिनु भयो । नमरी यो स्वर्ग देख्ने मौका मिल्यो ।’ कमरेडले कृतज्ञता प्रकट गरे ।

‘तपाईंकै सहयोगले त हो नी म पनि बेलायत आएर सपरिवार जम्न पाएको छु ।’ विश्वास कमरेडले उनको गुन सम्झाए ।

‘धेरै वर्षपछि भाउजुको हातको खाना खान पाइने भयो आज ।’ अटल कमरेडले विगत भूमिगतकालको स्मरण गराए । कमरेड विश्वासले त्यो कुराको जवाफ दिएनन् ।

केही समयपछि गाडी हाइड पार्क छेउको ‘होटल रोयल गार्डेन’ अगाडि रोकियो । कमरेड विश्वासले गाडीबाट झोला र सुटकेश निकाले । सुटकेश र ब्याग लिएर उनीहरु होटेलको रिशेप्सनमा पुगे ।

‘कमरेड तपाई बस्ने ठाउँ यही हो ।’ कमरेड विश्वासले यसो भनेपछि उनी छाँगाबाट खसे जस्तो भए । उनलाई लागेको थियो घरमा लैजालान । भूईँमा पलेटी मारेर बसेर गफ लडाउँला । हात चाटीचाटी दालभात खाउँला ।

‘मन लागे जति खानु पिउनु होला । सुत्नलाई सजिलो छ । सुविधाको पुरै उपयोग गर्नु होला । पैसा तिरिसकेको छु । भोलि आउँछु ।’ यति भनेर कमरेड विश्वासले विदा मागे ।

यत्रो उमेर भरीका ‘एन्टीरोयलिस्ट’ कमरेड । रोयल तथा किङ जस्ता शब्द सुनेर उनको रगत तात्दथ्यो । त्यसको लागि क्रान्ति गरेका थिए । पढ्दै गरेको पढाई छाडेर क्रान्तिमा होमिएका थिए । देशमा गणतन्त्र ल्याउनमा आफ्नो पनि ठूलो योगदान भएको ठान्दथे उनी । रोयल शब्द किन मन पराउँदथे त ? रोयल होटलमा सुतेर उनको क्रान्तिकारिता पानी पानी भएर जाने निश्चित ठाने । अब के गर्ने रात कटाउनै पर्यो । कमरेड गैसके । एकै रातमा क्रान्तिमा खिया त नलाग्ला नि । मनमनै सोँचे ।

होटलको किङ साइजको बेड रातभर बिझायो । रात छटपटी मै बित्यो ।

बिहानै सात बजे कमरेडले होटेलका कोठा ढकढकाए । अनिदो आँखा र थकित अनुहार देखे कमरेडको । लामो हवाइजहाज यात्रा र मन नपरेको रोयल होटलको बसाईले उनलाई गलाएको थियो । तर विश्वास कमरेडले उनको थकाई मात्र पढे । त्यो उनले पढे जस्तो ठ्याक्कै थिएन ।

‘कमरेड यो होटलमा नबसौं । खर्च पनि धेरै हुन्छ । यहाँको खानाले मलाई फाइदा नगर्ने भयो ।’ कमरेड अटलले भने ।

उनको कुरा सुनेर उनलाई अचम्म लाग्यो । उनलाई सजिलो होस् भनेर त्यत्रो पैसा तिरेर होटलमा राखेको ? उनलाई नै मन नपरेपछि के गर्ने ? त्यत्रो गुन लाएका कमरेड । जसको सहयोगका कारण उनी बेलायतको रैथाने जस्तै भएका छन् । नाई भन्न सक्ने स्थिति थिएन उनको ।

‘त्यसो भए कमरेड, दिनभरी यतै बस्नु होला । साँझमा घर लैजाउँला । मेरो काममा पुग्न ढिला हुन आँट्यो म जान्छु अहिले ।’ बतास जस्तै उनी उडेर गइहाले ।

दिनभर कमरेड अटल छटपटी रहे । लन्डनमा हुने कसैको फोन नम्बर थाहा थिएन । बाहिर टाढा जाने आँट गरेनन् । हराइएला भन्ने डर थियो । घडी हेर्दै कहिले होटेलको लबी त कहिले रिसेप्सन गरिरहे । घरिघरि होटेलको गेटसम्म पुग्दथे । फर्केर आइहाल्दथे । प्रजातन्त्र र गणतन्त्रको बेला पटक पटक जेल पर्दाको जस्तै अनुभूति भयो । त्यो शाही होटेलको शाही सत्कार भन्दा जेलको कोठरी आनन्ददायी लाग्यो ।

थाकेर लखतरान भएका कमरेड विश्वास राती आठ बजे आइपुगे ।

‘कामको चापाचाप थियो कमरेड ढिला भयो ।’ कमरेड विश्वासले बिवशता पोखे ।

‘जाउँ अब ?’ कमरेड अटलले भने ।

‘हुन्छ, जाने अब !’ कमरेड विश्वासले आश्वस्त पारे ।

रिसेप्सनमा होटल बुकिङ क्यान्सिल गर्न केही बेर समय लाग्यो । कमरेड अटलले हाते झोला बोके । उनले दुइटै सुटकेश घिसार्दै निकाले ।

कमरेड विश्वासले झलमल्ल बत्ति बलेको सहरको सफा सडकमा गाडी दौडाए । अटल कमरेडले झ्यालबाट लन्डनको विकाश र सभ्यता हेरे । बिजुली बत्ति जस्तै उज्याला अनुहार भएका मानिसहरु देखे । गोराको देश । मान्छेहरुको भीडमा गोरा अनुहार मात्र हैन काला, चाइनिज, इन्डियन लगायत धेरै राष्ट्रका विभिन्न जातिका मानिस देखे । ‘.....अब मानिसको अन्र्तराष्ट्रिय जाति हुनेछ...’ भन्ने कम्युनिष्टको अन्र्तराष्ट्रिय गीत सम्झना भयो उनलाई । पश्चिमबाटै आएको कम्युनिष्ट व्यवस्था । सबै जातिका मानिस देखेपछि उनलाई मानिस अन्तर्राष्ट्रिय जाति थालेको ठाने । तर उता नेपालमा चाहीँ के भएको हँ ? मनमनै सम्झे । जातजातिको नाममा राज्य सिमाना कोरेको पटक्कै मन परेको छैन उनलाई । हुन त यही विषयमा बोल्दा उनलाई पार्टीबाट कार्यवाही भएको थियो । आत्मआलोचना गरेपछि कार्यवाही फिर्ता लिएका हुन् । नत्र नव कम्युनिस्टहरुले षड्यन्त्रमा पारेर झण्डै जोगी बनाउनै आँटेका थिए उनलाई ।

‘कमरेड अटल, यो विदेशमा काम र पैसाले हामीलाई दास बनाएको छ । भोलि बिहानै मैले काममा जानु पर्दछ । बच्चाहरुलाई स्कूलमा छाडेर तपाईकी भाउजू पनि काममा जान्छिन् । तपाईं केही घण्टा एक्लै घरमा बस्नु पर्ने हुन्छ । भोलिलाई एकजना कमरेडलाई भनेको छु उहाँले तपाईंलाई घुमाउनु हुनेछ । मेरो त यो हप्ता सातै दिन काम होला जस्तो छ । छुट्टी मिलाएको थिएँ । तर एक जना स्टाफलाई पुलिसले पक्रेर लगेकोले मेरो छुट्टी कटौति होला जस्तो छ । तै पनि भनेको छु हेरौं के हुन्छ ?’ कमरेड विश्वासले आफ्नो बाध्यता पोखे ।

के भन्न सक्थे र ? हुन्छ नि भने उनले । कमरेड विश्वासको कुरा सुनेर उनलाई दुःख लाग्यो ।

‘वेम्ली स्टेडियम’लाई आधा चक्कर लगाएपछि ‘सर जोसेफ रोड’मा गाडी रोके कमरेड विश्वासले । टायलले छाएको साना होचा घर । उस्तै देखिन्थे हरेक घर । घर नं. ११४, कण्ठ बनाए कमरेड अटलले ।

गाडीबाट झोला र सुटकेश झिके । ढोका अगाडि पुगेपछि डोर बेल थिचे । माथिबाटै ढोका खुल्यो । दुबै जना दोस्रो तलामा उक्ले । कमरेडका दश र बाह्र वर्षका दुइ छोरीले स्वागत गरे ।

‘यी दुइ मेड इन बेलायत हुन् ।’ कमरेड विश्वासले गर्वसाथ आफ्ना उत्पादनको ‘ट्रेड मार्क’ बताए ।

पार्टीको अनुमति बेगर विबाह गरेर कार्यवाहीमा परेका कमरेडले कत्रो हण्डर खानु परेको थियो ! अन्तरजातिय विबाह गरेको कारण घरको ढोका दुबै जनालाई बन्द भएको थियो । कमरेड अटलकै हिम्मत, सल्लाह र सहयोगका कारण उनीहरुको प्रेम झाँङिग्एर विबाहमा परिणत भएको थियो । विबाह फस्टाएर कमरेडहरुलाई सन्तान सुख प्राप्त भएको प्रत्यक्ष देखे ।

कमरेड अटलले सुटकेशबाट गुँदपाकको प्याकेट निकालेर छोरीहरुको हातमा राखिदिए । उनीहरुले ओल्टाइ पल्टाइ गरेर बडो अचम्म मानेर गुँदपाकको प्याकेटलाई हेरे ।

‘यसमा एक्सपायर डेट रहेनछ । यस्तो त खानु हुन्न ! भो म त खान्न !’ ठूली छोरीले गँुदपाक टी टेबलमा राखिदिइ । उसले राखेपछि सानी छोरीले पनि खान्न भनेर पन्छाइ । कमरेड अटल छक्क परेर हेरिरहे ।

भित्री कोठामा पुजाको घण्टी बजि रहेको थियो । कमरेड अटलले अनुमान गरे साँझको आरती गर्ने सायद भाउजू हुनु पर्दछ ।

केही बेरपछि पुजाको प्रसाद सहित भाउजू आइन । कमरेडले अभिवादन गरे । भाउजूले प्रसाद र टिकाले स्वागत गरिन । राजनीतिमा होमिएपछि पहिलो पटक हो नास्तिक कमरेडले भगवानको टिका प्रसाद ग्रहण गरेको । ‘धर्म भनेको अफिम हो’ भनेर खुब घोकेका थिए ती कमरेडहरुले ।

‘हामीले हाम्रो संस्कृति बचाई राखेका छौं विदेशमा पनि ।’ कमरेड विश्वासले प्रष्टीकरण दिए ।

कमरेड अटलले सरसर्ती नजर लगाए कोठा भरि । बडेमानको रंगिन टेलिभिजनमा कार्टुन फिल्म चलिरहेको थियो । कोठाको कुनामा ठूलो ‘एक्वारियम’मा रंगीचंगी माछा पौडि खेलि रहेका थिए । डेस्कटप कम्प्युटर, ल्यापटप कम्प्युटर, महँगा मोबाइल फोन छरपस्ट थिए । कमरेडले सबै सबै पूजिवादी सुख सुविधा त्यहाँ देखे । गाडीमा त उनी चढेरै आएका थिए । कमरेडले ठूलो आर्थिक छलाङ मारेका अनुमान गरे ।

खाना खाए । बेग्लै स्वादको खाना ! खानापछि भलाकुसारी गरौंला, पार्टीका कुरा र गतिविधी गर्नुपर्ला भन्ने लागिरहेको थियो कमरेड अटललाई । बाहिर फरबरी महिनाको जाडो, अत्यन्त चिसो थियो । हिटर चलाएर तातोमा एक सरो लुगामा बसेका थिए सबै । कमरेडलाई अति गर्मी भयो । लगाई राखेको मोटो ज्याकेट र गलबन्दी झिके । उनी पनि एकसरो लुगामा बसे ।

कमरेड भाउजूको स्वस्थानी व्रत चलिरहेको रहेछ । स्वस्थानी व्रत कथा वाचन गर्न कमरेड विश्वास पलेटी मारेर बसे । भाउजू कमरेडले फूल थमाईन कमरेड अटललाई । हात जोडेर अटल कमरेडले बस्नु पर्ने बाध्यता भयो । बडो लय हालेर कमरेड विश्वासले कथा वाचन गरे । राजनीति गर्दा भाषण गर्न सिपालु कमरेडको कथा वाचन गर्ने शैली पुराण वाचक दिनबन्धु पोखरेलको भन्दा कम लागेन । गतसाल आफू पढेको गाउँको स्कूललाई उच्च माध्यमिक विद्यालय बनाउन लगाएको पुराणमा लोकलाज र बाध्यताका कारण पोखरेलको कथा वाचन सुनेका थिए । कमरेड बिश्वासको कथा वाचन शैली सुन्दा दिनबन्धु पोखरेललाई विस्थापित गर्न सक्ने क्षमता देखे ।

हिजो जस्तै लाग्छ कमरेड विश्वाससँग चिनियाँ सास्कृतिक क्रान्तिको मोडेलको क्रान्तिको लागि दुर्गम गाउँका मन्दिर भत्काउँदै हिँडेको । पुजारी बाहुनको टुप्पी काटिदिएर सांस्कृतिक क्रान्ति गरेको । क्षेत्री, बाहुनको चुल्होमा सुंगुरको पाठो छिराएर छुवाछुत अन्त्य गरेको । उनीहरुले अर्काको आस्था र विश्वासलाई जर्बजस्ती भत्काउन प्रयास गरेका थिए उति बेला । त्यो पार्टीको नीति थियो कि थिएन उनीहरुलाई थाहा थिएन । तर उनीहरुले आफ्नै नियम कानून चलाएका थिए आफ्नो आधार इलाकामा ।

दुइवटा अध्याय पढि सकेपछि कमरेडले विधिवत रुपमा किताव बन्द गरे ।

‘भगवानले दिँदा रहेछन् । भगवानकै कृपाले यहाँसम्म आएर यो सफलता हात लाग्यो ।’ भाउजूले कमरेड अटलको हातमा फूल प्रसाद थमाउँदै भनिन ।

ब्यापारीसँग चन्दा उठाएको पार्टीको पैसा पार्टीमा नबुझाइ दलाल मार्फत यहाँसम्म आएको कुरा कमरेड अटललाई राम्ररी थाहा थियो । भाटे कार्यवाहीबाट उनैले जोगाएका थिए । श्रमशिविर पुग्नबाट बचाएका थिए । देखेको सत्य कुरा बोल्न नडराउने अटल कमरेडलाई भाउजू कमरेडको कुरा मन परेन । मन नपरेर के गर्नू ! बहस गर्न चाहेनन् । उनी पाहुना भएर उनको घरमा आएकाले सबै चुपचाप सुनिरहे ।

सुत्ने तयारी भयो । बैठक कोठामा सुत्ने प्रवन्ध गरियो । आफू बसिरहेको सोफा खाटमा परिणत भयो । फोल्डिङ गर्न मिल्ने त्यो सोफा खाट पनि बनाउन मिल्ने रहेछ । दिनभरी सोफा, आवश्यकता परे खाट ! उनलाई बडो आश्चर्य लाग्यो । कमरेड विश्वासले रातभरी त्यो खाटमा आफूलाई तन्काई रहे ।

जाडो महिनामा लन्डनमा बिहान आठ बजे मिर्मिरे उज्यालो हुन्छ । हिउँदमा खासगरी जनबरी र फरबरी महिनामा घाम उदाउने र अस्ताउने समय टेलिभिजन र रेडियो भन्छ मात्र कतिदिन घाम नै देखिदैन ।

सधैँ झैं अँध्यारो मै कमरेड बिश्वास उठे । उनी उठ्नु अघि नै कमरेड अटल ब्यूझिसकेका थिए । एकले अर्कालाई बाधा पुर्याउन चाहेनन् । कमरेड विश्वासले बिहानै काममा निस्कनु थियो । तातो कफीको गमक बैठक कोठा भरि फैलियो । कफी पिएर उनी निस्के । उनि निस्केको एकछिन पछि भाउजू कमरेड उठिन । भान्सा र कोठामा दौडी दौडी बच्चा र आफूलाई तयार पारिन । सबैलाई ब्रेकफास्ट बनाइन । कमरेड अटलले पनि सँगै खाए ।

‘एक जना कमरेड तपाईलाई लिन आउनु हुन्छ, उहाँसँगै जानु होला ।’ ढोकाको चाबी थमाउँदै बच्चा लिएर भाउजू कमरेड पनि दौडिन ।

कमरेडको मेसिन जस्तो दिनचर्या देखेर उनलाई दुःख लाग्यो । लागेर के गर्नू ? त्यसैमा उनीहरु रमाएका छन्, यत्रो आर्थिक प्रगति गरेका छन् ।

विहानको दश बजे डोरबेल बज्यो । कमरेडले ढोका खोले ।
खाईलाग्दो रातो पिरो मानिसले आफ्नो परिचय सहित अभिवादन गरेर कस्सेर हात मिलायो । कमरेडलाई अनुमान गर्न गाह्रो भएन, पहिले यीनी पनि संगठनमा हिँडेका हुन भनेर ।

कमरेडलाई लिएर कहाँ जानू ? कुनै निश्चित गन्तब्य थिएन । कहिले बस तथा जमिन मुनी चल्ने रेल चढेर दिनभर लन्डनको एउटा सानो कुनाको चक्कर काटिरहे । साँझमा एउटा ठूलो इन्डियन खाद्य सामाग्रीको ‘ग्रोसरी स्टोर’ भित्र दुवै कमरेड पुगे ।

साँझ स्टोर बन्द गर्ने समय हुन लागेको थियो । कामबाट थाकेर फर्केकाहरु हतारमा किनमेल गर्दै थिए । उनीहरुले परैबाट कमरेड विश्वासलाई देखे । स्टोरभित्र कमरेड विश्वास घोडा जस्तो दौडिरहेका थिए । गधा जस्तै काममा जोतिएका थिए । उनी कुनै बेला ग्राहकको प्रश्नको जवाफ दिँदै हुन्थे । कुनै बेला पैसा तिर्ने काउण्टरतिर दौडिरहेका हुन्थे । कुनै बेला भित्र गोदामबाट सामान बाहिर ल्याउँदै गरेका हुन्थे । उनको आँखा र ध्यान काममा मात्र थियो । उनले कमरेडहरुलाई देखेनन् । ग्राहकको भीड र कमरेडको दौडधुप देखेर उनीहरु स्टोर बाहिर आए । त्यहीँ कमरेड विश्वासलाई पर्खि बसे ।

पसलका ग्राहक र काम गर्ने कामदार देख्दा सो पसल भारतियको हो भनेर अनुमान गर्न गाह्रो भएन अटल कमरेडलाई । काम सकेर बाहिर निस्के विश्वास कमरेड । अनेपेक्षित रुपमा ढोका अगाडि कमरेडहरुलाई देख्दा उनी झस्के ।

‘किन आउनु भएको यहाँ ?’ कमरेड विश्वासले रिश मिस्रित स्वरमा भने ।

‘दिनभरी घुमेर ढीला भयो । कमरेडलाई तपाईंको घरसम्म छाड्न मलाई टाढा हुने भयो । हामी यतै नजिकै भएकोले यहाँसम्म आएको ।’ त्यो स्पष्टिकरण उनलाई चित्त बुझेन ।

पछि फेरि भेट्ने भनेर उनी बिदा मागेर हिँडे । कमरेड विश्वासले फेरी गाडी हुँइक्याए । बाटामा अटल कमरेडले दिनभर घुमेका ठाउँका बारेमा बताए । कुरा गर्दै जाँदा आफ्नो स्वभाव अनुसार मनमा लागेको कुरा स्पष्ट भनि हाल्ने बानी देखाए ।

‘कमरेड, कमसे कम त्यो इन्डियनको काम नगरेको भए हुने नि । हामी त्यत्रो वर्ष भारतिय विस्तारवाद, इन्डियनको हेपाहा प्रवृत्तिको बिरोध गदै आएको मान्छे ।’

कमरेड अटलको यस्तो कुरा सुनेर कमरेड बिश्वासले चलिरहेको गाडीमा एक्कासी बे्रक दबाए । गाडी घस्रिदै गएर अगाडि रोकियो । कमरेड विश्वासले लामो स्वास ताने । आफूलाई फेरी सामान्य रुपमा ल्याए । पछाडिबाट अर्को गाडीले हर्न बजायो । गाडी फेरी स्टार्ट गरेर अगाडि बढाए र सडक छेउमा पार्किङग् गरे ।

‘कमरेड, अर्काले छोएको नखाने कट्टरपन्थीले तिर्थ यात्रामा निस्कनु र परदेश लागेपछि यो काम गर्दछु र त्यसकोमा त्यो काम गर्दिन भन्नेलाई मृत्युले पर्खिबसेको हुन्छ । इन्डियन प्रवृत्तिसँग हाम्रो लडाईं हो, इन्डियनसँग त होइन नि कमरेड । त्यसो त उसको बाबुआमा नै यहाँ जन्मेका हुन् । सत्ताको लागि इन्डियनको गुलामी गर्नु र बाँच्नको लागि इन्डियनको काम गर्नु अलग अलग कुरा हुन । परदेशमा कसकोमा कुन काम, के काम, भन्ने हुँदैन ।’ कमरेड विश्वासले उत्तेजित हुँदै राजनैतिक जवाफ दिए ।

कमरेड बिश्वासको जवाफले कमरेड अटल रन्थनिए । तुरुन्तै स्थितिलाई साम्य पार्दै कमरेडको प्रशंसा गर्दै भने– ‘कमरेड भो अब जाउँ नेपाल । तपाईं जस्तो लगनशिल, जुझारु कमरेडको खाँचो छ । क्रान्ति अधुरो छ । हामीले धेरै काम गर्नुछ । यति खट्ने हो भने त उतै पनि थुप्रै पैसा हुन्छ ।’

कमरेड अटलको कुराले कमरेड विश्वास गम्भिर भए । जवाफ फर्काएनन्, मौन रहे । उनको मौनताभित्र अटल कमरेडले थुप्रै कुरा खोजे । ‘दुइचार वर्ष विदेशमा काम गरेपछि गरिबीबाट मुक्ति मिल्ने छ । फर्केर आएपछि पार्टीकै काममा लाग्ने छु’ भनेको सम्झे । कमरेड बिश्वासले धन कमाउन थालेपछि पैसाको लोभमा अब यतै बस्ने कुरा अनुमान गर्न गाह्रो भएन । अब उनले कमरेड बिश्वास र आफूबीचमा ठूलो वर्गिय खाडल देखे ।

पार्किङग् गरिएको गाडी भित्र ल्याम्प पोस्टको मधुरो प्रकाशको उपस्थिति थियो । गाडी भित्र मौनता थियो । कमरेड विश्वास पुरै पूँजीवादी तथा अवसरवादी भएको ठहर गरे कमरेड अटलले । उता कमरेड अटल अझै पनि जडवादी कम्युनिस्ट नै रहेको ठोकुवा गरे कमरेड विश्वासले । चुपचाप दुबै जना एक अर्कालाई हेरिरहेका थिए ।

लन्डन, बेलायत





















प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 2 चैत्र, 2069

लेखकका अन्य रचनाहरु