मान्छेको जुनी!?

- सञ्जय बिष्ट

हेरेर हर्कमानलाई मुस्कुराई। मुस्कुराउने हेरेर अरूहरूसितजस्तै हर्कमान पनि मुस्कुरायो। त्यसरी सामाजिक प्राणी हुनुको औपचारिकता वरण गर्नुपर्दा हर्कमानको हिँड़ाइ मन्द भइसकेको थियो तर उसले भने हिँड़्न छाड़िसकेकी थिई।
‘‘चिन्नुभएन कि!’’ भनी उसले। त्यतिन्जेल हर्कमानले आफूलाई पहिला मुस्कुराउँदै आफूतिर आएर यसो भन्नेको अघिल्तिर उभ्याइसकेको थियो।
उभिएर बजारबिचमा चिन्नलाई अनुहारमै हेर्नुपर्दा आफूअघि उभिएकी स्त्रीको, हर्कमानलाई असजिलो लाग्यो। अनुहारभरि छरिएको असजिलो हर्कमानको पढ़ेपछि उसले भनी, ‘‘म भाउजू।’’
हर्कमानलाई आपद् पर्यो। चिन्नेले चिनाउँदैछ आफूलाई। नचिनेर उभिरहनु चिनाउनेको कत्रो अपमान।
‘‘एस. पी. दाजु...,’’भनी स्त्रीले।
हर्कमानको मस्तिष्कमा एउटा पुरानो अनुहार उज्यालियो। त्यो अनुहारको सामञ्जस्य यो अनुहारमा खोजथाल्यो हर्कमानले। कत्रो भिन्नता? ऊ छक्क पर्यो। हात जोड़ेर गरेर नमस्कार भनिसकेथ्यो हर्कमानले। ढिलो चिनेकोमा माफ माग्यो उसले।
‘‘नभेटेको पनि धेरै भयो,’’ सजिलो बनाउन खोजी स्थिति हर्कमानको निम्ति।
त्यसपछि छोरी सोध्यो हर्कमानले। बुहारी, नानी सोधी उसले। पॉंच-6 मिनटजति उभिएर बजारबिचमा, के भनुँ सोची-सोची भनेर पुरानो चिनजानको औपचारिकता पुरा गरे दुवैले।
छुटेपछि छक्क परेको हर्कमानले ‘हट्! सिन्काजस्तो मान्छे’मनमनै भन्यो।
पैँतालिसको काममा जॉंदा अन्तिमपल्ट देखेको हो। मर्छ, बॉंच्दैन—हर्कमानभित्र दह्रो विश्वास पह्लाएको थियो झन्डै दस वर्षअघिको त्यो दिन सेतो लुगामा बेह्रिएकी शारीरिक र मानसिक दुवै पिरले ग्रस्त स्त्री देखेपछि।
दुई-तीन महिनापछि माइत गई कमानतिर, हर्कमानले सुन्यो।
बिरामी पनि, छोरी सानी। कसरी सक्छ बस्न? गएकै राम्रो—हर्कमानले सोचेको थियो। त्यसपछि उसले ‘‘छ अरे कमानतिरै’’ सुन्यो। भेटेको आज हो।
उद्देक मानिरहेको हर्कमान घर फर्किरहेछ। आज पहिला आफ्नी स्वास्नीलाई र भोलि अफिसमा पुराना कर्मचारीहरू जम्मैलाई सुनाउँछ ऊ यो कुरा। जे होस् यस समय उसको हृदय र मस्तिष्कमा एस.पी. शर्मा छ। एस.पी. शर्मा अर्थात् सूर्यप्रकाश शर्मा।

छोरी जन्मिएपछि एस.पी. शर्माले नगरपालिका कार्यालयमा नियुक्ति पाएको हो—तेस्रो श्रेणीको कर्मचारीको रूपमा।
छोरी भाग्यमानी भनेर काम पाउनुको श्रेय जम्मै छोरीलाई दिई—सूर्यप्रकाशकी स्वास्नीले।

सू़र्यप्रकाशभन्दा एक वर्ष कान्छो हो हर्कमान जागिरमा। उमेरले कान्छै पॉंच -6 वर्षजति हो कि! तर सिनियर हुँ भनेर घमण्डले कहिले फुलेन एस.पी. शर्मा अरूजस्तो हर्कमानअघि। काम बरू जानेको आफूले हर्कमानलाई जम्मै सिकायो। उनीहरूमा आत्मीयता बढ़्दै गयो। नजिकिँदै गए उनीहरू ।
हृदयबाटै खुशी भएको, हर्कमानले कहिल्यै देखेन एस.पी. शर्मालाई। प्राय: जसो अव्यक्त विषादको बादल मड़ारिरहेको अनुहार लिएर अफिस आउँथ्यो ऊ, केही अबेर पनि। मलिन अनुहार लिएर आफ्नो काम गर्थ्यो। थोरै बोल्थ्यो। तर बेलुकी घर जान जहिले पनि हतारिन्थ्यो।
त्यो दिनभरि झोक्राएर बस्यो ऊ अफिसमा । टेबरभरि फायलहरू फैलिएका थिए। उसले एक-दुईपल्ट दुई-तीन फायल खोलेर हेर्यो तर लगत्तै बन्द पनि गरिहाल्यो। तीन बजेतिर आफ्नो चौकीबाट उठेर ऊ हर्कमानको टेबलअघि आयो र भन्यो, ‘‘भाउजू अलिक सन्चो छैन।’’
भन्न नसक्ने हर्कमानले ‘‘जॉंदा भइहाल्छ नि,’’ भन्यो।
सोध्नुपर्ने मान्छेलाई पनि जाऊँ कि नजाऊँ नसोधी बिनाआज्ञा ऊ अफिसदेखि बाहिरियो।
भोलिपल्ट ढिलो पनि, त्यही मलिन अनुहार लिएर अफिसमा आयो एस.पी. शर्मा।
‘‘कस्तो हुनुहुन्छ भाउजू?’’ हर्कमानले सोध्यो।
‘‘बेल्का तल चोकमा पर्खिनु भनेको छु। आज डाक्टर देखाउनु पर्यो।’’ भन्यो उसले।
‘‘बिमारी के?’’ जान्न चाह्यो हर्कमानले।
बिमारी यही हो चाहिँ भन्न सकेन उसले तर आफ्नी स्वास्नी निक्कै कमजोरी भइसकेको कुरा अवगत गरायो उसले हर्कमानलाई।
अलिक दिनपछि आइतबार सूर्यप्रकाश एउटी स्त्रीसँग बजारमा हर्कमान गइरहेतिरबाट आइरहेको थियो।
नजिक भएपछि उनीहरू, हर्कमान छक्कै पर्यो। आश्चर्य मान्दाको अनुहारलाई नमान्दाकै बनाएर हर्कमानले स्त्रीलाई नमस्कार गर्यो।
वेगसित आएको दु:खको छालले निथ्रुक्क भिजेको जस्तो अनुहारको सूर्यप्रकाशले ‘‘डाक्टरको-बाट’’ भनेर आफ्नो स्वास्नीलाई हेर्यो।
सूर्यप्रकाशकी स्वास्नीले दृष्टि अघिल्तिरका मान्छेको भिड़लाई दिई केही बेर।
उनीहरू छुट्टिएपछि हिँड़्दै हर्कमानले निक्कै अघि देख्दाको सूर्यप्रकाशकी स्वास्नी सम्झ्यो।
अर्कै भइसकेछ—भन्यो मनमनै।
एउटै शिशुको जन्मपछि शारीरिक रूपमा ज्यादै कमजोर भएका परिचित केही स्त्रीहरूका अनुहार सम्झनामा देख्यो उसले। अरू को-को सम्झन आफ्नो मस्तिष्कलाई जोड़ दियो हर्कमानले। सम्झने कोसिसमै हिँड़िरहेको उसको भेट एकजना चिनेको मान्छेसँग भएपछि उसले सूर्यप्रकाश, उसकी स्वास्नी, चिनेका घट्नेहरू जम्मै बिर्स्यो।
तर हुँदैनन् सप्पै।—नभएका नानी जन्मिएपछि पनि दुब्लीहरू सम्झ्यो त्यो मानिससँग छुट्टिएपछि।
‘‘भेट्यौ भने चिन्दैनौ तिमी। आकार मत्रै छ खालि।’’ राति आफ्नी स्वास्नीलाई हर्कमानले भन्यो । भनेर केही महिनाअघि उसकी छोरी पाइदिने उसकी स्वास्नीको अनुहारमा निक्कै बेर हेरिरह्यो हर्कमानले।
पहेंलो, बत्तीले हो त्यो।—मनमनै भन्यो।
छोरी जन्मिएपछि अलग्गै सुत्न थालेको हर्कमानलाई ‘‘जानोस्, सुत्नोस्,’’ भनी उसकी स्वास्नीले। गह्रौँ मन लिएर हर्कमान त्यहॉंबाट उठ्यो।
हप्ता दिनपछिको कुरा हो। सोमबारको दिन थियो त्यो। आउन सक्दिनँ, सक्दिनँ होला केही नभनेको एस.पी. शर्माले शनिबारको दिन। एघार बजेसम्म अफिस आएन।
अब आउने कुरै थिएन।
‘‘भाइ,’’ सुनेर हर्कमानले शिर उठायो।
अघिल्तिर आफ्नो नामको अर्थको विपरीत सूर्यप्रकाश उभिएको थियो। बाह्र नाघिसकेको थियो त्यो बेला।
‘‘हिज बेलुका निक्कै साह्रो भई भाउजू। लगेर एडमिट गरेको छु।’’भन्यो कान्तिहीन अनुहारको सूर्यप्रकाशले हर्कमानलाई। हेर्यो वरिपरिका अरूलाई पनि। जोड्यो ‘‘तपाईँहरूलाई भनिराखुँ भनेर...’’
पॉंच-सात सेकेन्डजति त्यहॉं कोही बोलेनन्।
‘‘कहॉं?’’ सोध्यो को एकजनाले।
‘‘भिक्टोरिया। माथिल्लो तला। पैँतालिस नम्बर।’’ भन्यो एस.पी. शर्माले।
बेलुका हर्कमान, जितेन, कुमार सँगै जाने भए। बिरामीको अवस्था कस्तो छ? खान्छ-खॉंदैन थाहा नभएका तीनैजनाले बजारबाट एउटा-एउटा पोलेथिन हातमा झुन्ड्याए।
सुतेकी स्वास्नीको खुट्टापट्टि बसेको रहेछ सूर्यप्रकाश। देखेर उनीहरूलाई उठ्योे। भन्यो, ‘‘आउनुहोस्। बस्नोस्, बस्नुहोस्।’’ स्वास्नीको खुट्टा छेउछाउ देखाएर।
‘‘हवस्, हुन्छ-हुन्छ,’’ भन्यो हर्कमानले। कुमारले पनि, भनेर बसेन। उभिरह्यो। तिनीहरू दस-बाह्र मिनटजति त्यहॉं उभिए।
—डाक्टर समयमा आउँदैन।
—क्याल्पोल, प्यारासिटामोलबाहेक सबै बाहिर किन्नुपर्छ। सरकारी भन्नु त्यत्तिकै लागि मात्रै।
—अर्को अस्पतालको आवश्यकता पुरानो भइसक्यो।
—सानो भएर मैला भएको यो।
—नहुनुपर्ने। एकदम पक्षपात हुन्छ यॉं।
—प्रत्येक सिस्टरले एकपल्ट प्लोरेन्स नाइटिङ्गेलको जीवनी पढ़्नुपर्छ।
दस-बाह्र मिनट उभिँदा तिनीहरूले प्रकट गरेका मतहरूमध्ये प्रमुख यी थिए।
जाने बेलामा हर्कमानहरूलाई ‘‘लेखेर पठाउँछु। नआउनु पर्यो अलिक दिन।’’ सूर्यप्रकाशले भन्यो।
अरू त गए,गएनन् तर हर्कमान पॉंच दिनपछि पुन: अस्पताल गयो। सूर्यप्रकाश थिएन अस्पतालमा। उसकी स्वास्नी सुतिरहेकी थिई।
‘‘कस्तो हुनुहुन्छ?
‘‘दाजु कहॉं गए?
‘‘सुर्ता नगर्नू। बिमार अझ तेल्ले बनाउँछ। जाती भइहाल्छ।’’हर्कमानले सूर्यप्रकाशकी स्वास्नीलाई भन्यो।
सिँढ़ीबाट झरेर चेपको मासु दोकानमा उसले आधा केजी मासु किन्यो।
बेलुकी आफ्नी स्वास्नीलाई दाहिने हातको चोर औँला ठड़्याएर उसले भन्यो,‘‘इत्रु भइसकेको छ। मलाई त आशा लागेन। बिचरा एस.पी. दाजु...’’ भनेर ‘‘तिमी खाना किन ठिकसँग खॉंदैनौ,’’ भनेर पनि खुब करायो।
जबरजस्ती धेरै मासु, झोल पनि स्वास्नीलाई खान लगायो हर्कमानले।
लामो समयसम्म छोरीलाई हेर्दै स्वास्नीसँगै बसिरह्यो ऊ।
राति वल्लो कोठामा सुतेको हर्कमानलाई लामो समयसम्म निद्रा लागेन। स्वास्नी सुतेको कोठामा जाने इच्छालाई कुनि किन उसले दबायो। दबाइरह्यो।
बजेको थियो होला बाह्र जति। निद्रा अझ पनि लागेको थिएन उसलाई।
उसले आफ्नी स्वास्नीलाई बोलायो, ‘‘सीता।’’
अँध्यारो कोठामा हर्कमानको स्वर भयपूर्ण ठुलो बज्यो।
सास थामेर हर्कमानले स्वास्नीको स्वर पर्खिरह्यो।
केही बेरपछि हर्कमानले पुन: स्वास्नीलाई बोलायो, ‘‘सीता।’’
‘‘हन निद्रा लागेन क्या हो तपाईँलाई!’’ पल्लो कोठाबाट उसकी स्वास्नी कराई।
हर्कमानले लामो सास फेर्यो र मनमनै भन्यो—छ्या! मनमा पनि बिच्चा-बिच्चाको कुरा आउँछ।

एस.पी. शर्मा कार्यालय नआएको पन्ध्र दिन भइसकेको थियो। बेलुका निस्कु-निस्कु भन्दाभन्दै के नमिलेर हर्कमान तेस्रोपल्ट अस्पताल जान पाएकै थिएन।
त्यो दिन अर्थात् एस.पी. शर्मा कार्यालय नआएको पन्ध्रौँ दिन हर्कमान ढिलाएर कार्यालय पुग्यो—बाह्र बज लाग्दा। आफू ढिलाएको थाहासित हतारिँदै कार्यालय पुगेको हर्कमानले कार्यालयको मूल ढोकासम्म नखोलिएको देख्दा छक्क पर्यो।
देखेर चपरासीलाई ‘‘के हो यो? खै अरूहरू?’’ सोध्यो।
‘‘गइसके जम्मै एस.पी. दाजुकोमा।’’ पर्खेको लामो समयदेखि उसले, अँध्यारो अनुहारको चपरासीले सुनायो।
यद्यपि हर्कमानलाई केही समयसम्म केही बोल्नै आएन।
‘‘हिजो राति खसेछ,’’भन्यो चपरासीले।
बजार आइपुगेको हर्कमानले मनमनै भन्यो—आऽऽऽ ठिकै छ।
एक बट्टा धुप किन्यो। खादा सम्झ्यो, किनेन। फूल-सुल ठिक। खादा हाम्रो होइन—भन्ने पक्षमा छ हर्कमान।
धुप एक बट्टा किनेपछि ऊ एस.पी. शर्माको घरतिर हानियो। माथि डॉंड़ाबाट उसले एस.पी. शर्माको घरआँगनको भिड़भाड़ देख्नुसँगै धुपको तिक्खर वासना थाहा पायो। वासना हो यही तर किन कहिले प्रिय, कहिले अप्रिय?—उसले मन्दिरको यस्तै वातावरण र यो वासनामय वातावरणको तुलना गर्नखोज्यो।
मरेर भुइँमा लड़ेको लाश र त्यो दु:खमा विह्वल जीर्ण शरीर दुवै एकसाथ आँखामा पर्यो हर्कमानको।
निक्कै बेरपछि ‘‘अचम्म!’’ छेउमा उभिएको कुमारलाई हेरेर भन्यो उसले।
आफूलाई पनि लागेकै कुमारले हर्कमानलाई हेर्यो मात्रै भनेन केही।
गालामा दुवैपट्टि पाहाड़ उठेको, आँखा भॉंसिएका दुवै, होला अट्ठतिस-चालिसको तर साठीको जस्तो देखिने एस.पी. शर्मा फूल र खादा ओढ़ेर भुइँमा लड़िरहेथ्यो। सूर्यप्रकाशको घरमा मृत्युकै खबर सुनेर पुगेको हर्कमानलाई तर सूर्यप्रकाशको लाश देखेपछि जीवन ज्यादै खेलॉंची लाग्यो।
घरदेखि लाश निकाल्दा दुई-तीनजना स्वास्नीमान्छेले समाएकी स्व. सूर्यप्रकाशकी विधवा जिउ नै छाड़ेर रोइरहेकी थिई। त्यही समय असाध्यै कमजोरी सूर्यप्रकाशकी स्वास्नी देखेर हर्कमानले पुन: एउटा दुर्घटनाको आशङ्का गरेको थियो।
एउटै कार्यालयको नजिकको कर्मचारी हुनुको अर्थमा मन-मस्तिष्कमा उही दुर्घटनाको आशङ्का बोकेर तीन-चार दिन लगातार हर्कमान सूर्यप्रकाश नभएको सूर्यप्रकाशको घर गयो। सॉंझमा गएको ऊ केही बेर गाउँका केटाहरूसँग क्यारम खेल्थ्यो। तास खेल्दैन्थ्यो, हेर्थ्यो खालि। तर ढिलो भनेको दस बजे ऊ आफ्नी स्वास्नी र सानी छोरी भएको घर आइपुग्थ्यो।
उसले आफ्नो उपस्थिति अनिवार्य ठानेको थियो त्यसैले अघिल्लो दिन र भोलिपल्ट पनि ऊ दिनभरि त्यहीँ थियो तर कार्यालयका अन्य कर्मचारीहरू कामकै दिन मात्र गए। पैँतालिस दिनको कामको चाहिँ खबर हर्कमानलाई घरमै आयो। हर्कमानलाई मात्रै। पैँतालिसको काममा जॉंदा अन्तिमपल्ट देखेको हो। मर्छ,बॉंच्दैन।—हर्कमानभित्र दह्रो विश्वास पल्हाएको थियो झन्डै दस वर्षअघिको त्यो दिन—सेतो लुगामा बेह्रिएकी शारीरिक र मानसिक दुवै पीरले ग्रस्त स्त्री देखेपछि ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 2 चैत्र, 2069

लेखकका अन्य रचनाहरु