कुनै एउटा बस्तिमा

- अबीर खालिङ

अवोध ती मानिसहरूको बस्तिमा सँधैं त्यस्तै हुन्थ्यो ।
चटकेहरू आउँथे र चटक देखाउँथे , मानिसहरूको सपनालाई आफ्नो मुठ्ठीमा देखाउँथे अनि दिग्भ्रमित पार्थे । धेरै अघिदेखि यो क्रम चलिरहेको थियो । उनीहरूको आस्था र भरोसासँग खेलेर ती चटकेहरू अंतत: कतै जान्थे । जुवामा हारिएर पैतृक थलो गुमाए झैं ती मानिसहरू पुर्पुरोमा हात राखेर फेरि अर्को चटकेको प्रतीक्षा गरिरहन्थे ।
एकपल्ट त्यस्तै चटके त्यो बस्तिमा आयो र नयाँ सपना देखायो। मानिसहरू मक्ख परे उसको चाटुकारिमा र चटकमा सम्मोहित भए । झोलामा बोकेको थियो उसले विभिन्न रंगका सपनाहरू । मानिसहरूले बिर्से उनीहरूको कष्ट र ठगाइको लामो इतिहास । तृषित काकाकुल झैं उनीहरू झुम्मिए त्यो चटकमा । चटकेको असली अनुहार देखेका थिएनन् उनीहरूले तर उसको अलौकिक लिलाबारे सुनेका थिए।
उनीहरूका बंदकी परेका सपनाहरू, नमेटिएका तृष्णाहरू , नभोगिएका स्वर्गिक पलहरू , पहुँचदेखि परका चिन्हारीहरू, अस्मिताहरू , आकांक्षाहरू, सबै चटकेले उसको रंगीन झोलाभित्र देखायो। विडम्बना के थियो भने त्यस बस्तिका मानिसहरू युगौंदेखि तृषित थिए । परिचयहीनताले ग्रस्त थिए र नामहीन बाँच्नुको आइरोनी भोगिरहेका थिए ।
धेरै अघि पनि एउटा चटकेले यस्तै चमत्कारिक घोषणा गरेको थियो – मानिसहरूले विस्वास गरे र धैर्य साँचेर बसे ।
न पहाड़ नाँग्दै कुनै नदी आयो, न अनावृष्टि समाप्त गर्न अकासबाट महावृष्टि नै भयो। सुख्खाले गाउँ चरचर फुटेको थियो, प्यासले रुखहरू ओइलाएका थिए, खड़ेरीको मारले बस्ति मरासन्न अवस्थामा पुगेको थियो। मानिसहरू एकार्कालाई हेर्दै शंका गर्दै हिँड्थे । कहीं प्यास मेट्ने लाल्सामा उसको रगतको प्यासी नबनोस् । शंकाको दुबो मौलाएर फैलिएको थियो तर विस्वास तुहेर सकिएको वैला बेला थियो त्यो। प्रत्येकको आँखाबाट बिष पोखिन्थ्यो र कालकुटका बालीले खेत भरिएको थियो।
साँझ परेपछि चितुवा गाउँ पस्थ्यो र सपनाको शिकार खेल्थ्यो । कहिले तल्लो घरमा , घरि माथिल्लो डाँड़ामा । हच्केका सपनाहरूले वास खोज्दै अन्तै जानु पर्थ्यो। कति बलात्कृत सपनाहरूले संघारमा आत्महत्या गर्नु पर्थ्यो । चटकेले के सम्मोहनको मंत्र फुकेको थियो कोनि मानिसहरू धैर्य गरेर बसे , आशाको दीयो जलाएर घरको अँध्यारो आँगनमा मौन बसिरहे । आउने दिनले व्यंग्य बोकेर आउँछ भन्ने थाहा थिएन उनीहरूलाई ।
चालिस दिन चालिस रात धुनी लगाए उनीहरूले । सम्पूर्ण बस्ति जलेपछि त्यो यज्ञ सकिएको थियो। त्यहाँ पनि आफ्नै सपना मात्र खरानी भएको पाए । के फसाद, मुक्तिको धुनीले आफ्नै घर जलेको यथार्थ थियो त्यो । डड़ेलो लागेको बनको असहाय मृग भएर उनीहरूको चेतना छटपटाइरहेको थियो।
चटकेको चटक भने सकिएको थिएन ।
संजीवनी बुटीले बस्तिको कष्ट निवारण गर्छु भनेर फेरि ऊ लागिपरयो । मानिसहरू पुन: उत्साहित भए । दैवी चमत्कारको आशामा उनीहरूले फेरि बिस्वास बेचेर आस्थाको घड़ेरी निर्माण गरे ।
मस्तिष्क थियो तर विचारहीन , मुख थियो तर बोलीहीन । आँखाले हेर्थे मात्र, देख्दैन थिए । कान तिलस्मी कुराले भरिएको थियो।
विचित्रको गणतांत्रिक नागरिकहरू थिए उनीहरू । बोल्दैन थिए, सुन्थे मात्र । अचम्भ लाग्दो कुरा त के छ भने उनीहरूलाई स्वर्गीय आनन्द त्यसैमा लागिरहेको थियो। त्यो आनन्दको तहबाट उनीहरू तल उक्लन चाहँदैन थिए। झन् अचम्भको कुरा त यो पो छ – ‘युवा समुदायको पशु परिवर्तन’। चटकेको झोलीमा चेतना बंदकी परेपछि युवाहरू घाँस खोज्दै चार पाउले हिँड्न थालेका थिए । कालकुटको बालीमा चरिरहन्थे तीहरू । पशुपनको जीवितिले उनीहरूलाई थप आनन्द प्रदान गरिरहेको थियो।
पोस्टरमा उदाउँथ्यो उनीहरूको विद्वत्ताको घाम । भाग्यको बल्झन हानिबस्थे उनीहरूले स्वार्थको जुवामा । हार्थे आफ्नो पैतृक किपट र आमाको चीरहरणमा उन्मादित हुँदै स्खलनको भोग गर्थे । चटकको करामत थियो कि वा श्रापित सन्ततिलाई ॠणात्मक आशिर्वाद। हार्ने खेलमा अभ्यस्त थिए उनीहरू । एकपल्ट यस्तो मोड पनि आयो उनीहरूको जीवनमा कि आत्मा बेचेर पनि उनीहरू हार्ने खेल खेल्नु उद्द्यत भए । व्यंग्य बोकेर फूल फुल्न छाडेको थियो , जून खुल्न छाडेको थियो र हिमालले हाँस्न बिर्सेको थियो। ‘फगत हामी पाइतला हौ , पाइतला ‘ भनेर रमाइरहन्थे उनीहरू ।
एकदिन अचम्भले पराकाष्ट नाघ्यो । साँझ जस्तो परेको थियो , हुन त दिन साह्रै देखेका थिएनन् त्यहाँकाहरूले । एउटा अभूतपूर्व भविष्यवाणी गर्दै चटके आयो- पहिला त उसले डमरू बजायो र सबैको ध्यान आफूतिर खिँच्यो अनि आफ्नो परिचय सुनायो, ऊ देवदूत भएर आएको थियो । भविष्यवाणी यस्तो थियो-जति छोराहरू यो बस्तिमा जन्मेका थिए, तीहरू साह्रै निकम्मा थिए । उनीहरूको जन्मले धरतीको बोझ थपेको थियो, अन्नका किरा थिए ती सब , त्यसैले अबका जन्मने छोराहरू नजन्मी तुहिनेछन् । कसैको घरमा यदि कुनै छोरा जन्मेछ भने त्यो श्रापित पुत्र हिजड़ा हुनेछ औ झ्याली पिट्दै पराजयको गीत गाउँदै नाच्नु सिवाय उसको अर्को काम हुने छैन ।
मानिसहरू स्तंभित भए र पुन: साविक हुँदै गए। जीवनको अर्थ हार्नु सिवाय केही नभएपछि सपना देख्नु उनीहरूको अधिकार थियो । चटकेको झोलामा देखेका थिए नक्कली सपनाहरू , प्लास्टिकका सपनाहरू । त्यसैमा उनीहरूको मन बसेको थियो । त्यहाँदेखि उता उनीहरू सोंच्न चाहँदैन थिए।
ती अवोध मानिसहरू विचित्रका सपना देख्न खप्पीस थिए। कहिले स्वर्ग उनीहरूको चरणमा हुन्थ्यो, कहिले उनीहरू पाताल प्रदेशमा रजाई गरिरहेका हुन्थे । ती बस्तिका मानिसहरूलाई धैर्य र विश्वासको निम्ति राष्ट्रिय कैयौं पुरस्कारले पनि पुरस्कृत गरिएको थियो। आमा-बाबु , दाजु-भाइ, इष्टमित्रमा होइन, अंजान अचिनारु मानिसलाई विश्वास गर्थे र त्यही व्यक्तिले जीउनुको अर्थ सार्थक बनाउँछ भन्ने उनीहरूको तर्क र विश्वास थियो । यसोभन्दा उपयुक्त हुनेछ कि मानवीय संवन्धले उनीहरूको बस्तिमा अर्कै अर्थ ग्रहण गरिसकेको थियो। भाई र दाईको साइनोले व्यंग्यको जामा लाएर मूल सड़कमा हिँडिरहन्थ्यो ।
कुनै जोगी आएन त्यो गाउँमा अनि फेरी पनि फुकेन । भालेहरू पनि बास्न छाडेको थियो । रात र दिनको अर्थ उनीहरूले भुलिसकेका थिए। हिमाल हिमालजस्तो रहेन, गुराँस गुराँस जस्तो बाँचेन र धुपीका सघन बनले निराशाको बाक्लो धुन सुनाउँथ्यो। चटकको असर कृषि, बन जंगल, पर्यावरण सबैमा परेको थियो। माछाहीन खोलामा पानी कम बिष ज्यादा बग्थ्यो। चराको गीतले बिर्सेको त्यो बस्तिमा साँच्चै बस्तित्व बाँकी रहेको थिएन ।
अमिलो बँचाईको यो मृत अवस्थामा चटकेको पुनर्जन्म हो कि रूपान्तरण भइसकेको थियो। नयाँ भेष , नयाँ सुर-राग र नयाँ बाँसुरी बोकेर नयाँ चटके बस्तिमा पसिसकेको थियो। उसको झोलाले त्यहाँका अवोध मानिसहरूलाई झन विचित्रको सपना देखायो। मानिसहरूले खान पिउन बिर्से । त्यो स्वतस्फुर्त आमरण अनशनले बस्तिलाई ढाक्यो। चटके भने निमग्न बाँसुरी बजाइरहन्थ्यो, मानिसहरू अनशनमा बसिरहन्थे। सपनाको कुनै जात हुँदैन , सपनाको कुनै रंग हुँदैन भन्ने नजान्ने ती सोझाहरूलाई जीवनमृत भनेर द्वेषको रस पिलाइएको थियो । शंकाको घड़ेरीमा उनीहरू अनशन बसेका थिए।
बाँसुरीको मादक धुनले बस्ती गुंजियो ।
मानिसहरूले मुग्ध भएर भने, - ‘आह ! कस्तो मोहनीमय धुन ।‘
साँच्चै उनीहरूले यस्तो धुन अघि कहिल्यै सुनेका थिएनन, भने,- ‘वाह ! स्वर्गीय धुन। ‘
बिस्तारै एक एक गर्दै उनीहरू बाँसुरीको त्यो तिलस्मी आवाजको पछि लागे , त्यो आवाज डाँड़ापारिबाट आइरहेको थियो। कस्तो मायावी आवाज थियो त्यो मानौ इशुले आफ्ना भक्तहरूलाई कलवेरिको डाँडामा डाकिरहेछ ।
पछ्याउँदै, ठेलाठेल गर्दै उनीहरू गए, समुद्र मन्थनमा जहाँबाट कालकुट बिष निस्क्यो, त्यही ठाउँबाट त्यो कारुणिक बाँसुरीको आवाज आइरहेको थियो। सपनाको करिश्माई खेलबाट सम्मोहित ती अवोध मानिसहरू केही नसोची पसे समुद्रमा। सपनासँगै बस्ति रित्तो भयो।
नोट विशेष:
अहिले पनि सपनासँगको भर्चुअल भेटघाटले बस्ति त्रस्त छ ।











प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 26 फागुन, 2069

लेखकका अन्य रचनाहरु