याङग्रीको टाउको र आँखाको गति

- रमेश सायन

यो एउटा मुडको यात्रा हो । मुडिहरुमात्र यसरी हिंड्न सक्छन् ।
नेपाल मेडिकल कलेजमा मृगौलामा स्टोनको अपरेसनको पालो पर्खेर बसेके छु । डाक्टरले फेरि अर्काे हप्ता बोलायो । दवाइ दियो र पठायो । अझै अर्काे हप्ता हेरौँ भनेको छ ।
कवि बाबु त्रिपाठीलाई घुम्न जाउँ भनें ।
उनको फुर्सदै छैन ।
के गर्नु यो हप्ता ?
नचिलाउने ठाउँमा पनि चिलायो । टाउको भित्र गिदी चिलिायो । पैतालाको नसा चिलायो । डाडको मेरुदण्ड चिलायो । त्यसै शंकर लामिछाने भन्दैनन्— ‘फुर्सदमा जिउँ चिलाउँछ ।’
कसैलाइ नभनी बालाजु आँए । गाडि चडें र लागें एक्लै गोसाई कुण्ड ।
नुवाकोट पुगे पछि । माथि थाप्लोमा दरबार देखियो । गाडिबाट ओर्लें । आज यतै घुमौँला र भोलि रसुवा तिर लागुँला । एकलै डुले नुवाकोट । माथि दरबारसम्म हिंड्दै गए । फन्को मारें । एकपल्ट सम्झें राजाका पुर्खाहरुलाई । दरबार भन्दा अलि माथि पुगेको थिएँ । एक टुक्रा हाड भेटें । यो पक्कै पृथ्वी नारायण साहाको हुनु पर्छ । हाड ओल्टाइ पल्टाई गर्दै थिँए माथिबाट भुक्तै कुकुर आयो र मलाई झम्ट्यो । सायद यो उसको भाग हुनु पर्छ । हातमा उठाइराखेको हाड फालिदिए । कुकुरले लग्यो । अब पृथ्वीनारायणको हाडमा मेरो अधिकार छैन । यसै गरि लगे होलान अंग्रेजले उसबेला मेरो देशको आधा सिमाना ।
भोलि पल्ट बिहान रसुवा लाग्ने सुर गर्दै थिए । कसैले रसुवा बन्दको सूचना हावामा छरेर गयो । लु आज बन्द । काठमाडौँबाट आएका बसहरु फर्के । बससँगै म पनि फर्कें, जुन बाटो आएँ थिए त्यहि बाटो ।
फर्कदा फर्कदै सम्झें बिनायोजना घुम्ने साथीहरुको नाम ठेगाना । अब एक जना कुनै साथी भेटे, जाने छु हेलम्बु यात्रामा । नभन्दै आर.के.अदिप्त गिरी जाने भए, मसँग । उनी देशको फोटो खिच्छन् र देश चिनाउँदै हिंड्छन् —ब्रमान्डको कुना कुना । उनी दुर देशसम्म आफ्नो फोटाहरु पुर्याउँछन् ।
आजकाल उनको परिचय कवि, गजलकार भन्दा उपल्लो बिन्दुमा पनि छ —फोटो ग्राफर ।
सुन्दरी जलबाट यात्रा चिसापानी पुगेर अडियो । चिसापानीको अनुहार हामी पुग्दा नपुग्दै अध्यारोले खोसि लग्यो । स्थानियहरु आगोको रापमा गीत गाउँदैछन् । गीतमा मिसिदैछन् हामी जस्ता फिरन्तेहरु ।
हामी बसेकै होटलमा अष्ट्रेलियन किशोरीहरुको एक झुण्ड छ । भोलि बिहान यिनीहरु समात्नेछन् उदाउँदै गरेको घाम । र, ओठको रेखामा कुदाउनेछन् खुसिको मुस्कान् ।
‘भोलि बिहान कति बजे घाम उदाँउछ यहाँ ?’ एउटी सुन्दर किशोरीले सोधी
‘पाँच बजे ।’
‘हिउँदको मैना पाँच बजे !’ पत्याईन मोरीले ।
‘साडे छ बजे ।’ आर.के. बोल्यो ।
‘धन्यबाद !’
सासै नफेरी एक गिलास वियर सकि ।
मैले पिउन छाडें । आँखाले उसको अनुहार पियो । म मातें । मातन पिउँनै पर्ने रैनरछ । म आज, यो किसोरीलाइ देखेर उसै मातेको छु ।
‘कति राम्री मोरी । फक्रदै गरेको फूलको थुंगो जस्ती ।’—मैले भनें ।
‘हैन फूल भन्दा राम्री फूल औइलाउँछ । झर्छ ।’— आर.के. बोल्यो
‘यो पनि बूढी हुन्छे । मर्छे । त्यस कारण यो फूल जस्ति मात्र हो ।’— मैले भनें ।
ड्ड
भोलि पल्ट हामी उठ्नु अगाडिनै किसोरीहरु बारदलीमा स्ल्पिङ ब्याग ओडेर सनराइज कुरि रहेकाछन् । आकासको गर्व रातो भएर आयो । टकुरामा कुनै प्रिय कवि उभिए झै उभिने छ —घाम । र, मिसिने छ—अनुहारको खुसिमा ।
एक किसोरी चिच्याइ ‘हाउ ब्युटिफुल !’
‘तिमी यसबेला कसलाई सम्झन्छौ ?’—मैले सोधें ।
‘सिड्निको व्वाई फ्रेन्डलाई । आइ मिस माइ हार्ट । ’
कति काउकुति लाग्यो होला यो कलिलो घाममा व्वाइ फ्रेन्ड सम्झदा । मोरीको अनुहार घाम जस्तै रातो भयो ।
आर.के. क्यामेरामा घाम समातिरहेछ । हिमालको टाकुरा टाकुरामा खसेको रातो घाम । हरिया डाँडामा पोतिएको घामको रगं । बतासको कामुक स्पर्स । खैरिनीको अनुहार । पालै पालो समाति रहेछ —क्यामेरामा ।
‘तिमीले पहिलो पल्ट घाम उदाएको देखेकि हौ ?’
‘हो ।’
‘तिम्रो देशमा घाम उदाउँदैन ?’
अलि अग्लि मोटि, हाँसी । र, भनि —‘उदाउँदै घरेको घाम अग्ला घरहरुले छेकिदिन्छन् । यसरी पाहाडको कापबाट पृथ्वीमा खसेको घाम पहिलो पल्ट देखेके हूँ ।’
‘यो सुन्दर नेपालमा सधै घाम, यसै गरि उदाउँछ ।’
चिसापानी बाट हिंड्ने बेला हेलम्बुको बाटो सोध्यांै । हेल्मबु पुग्न पाँच दिन लाग्छ अब । हाम्रो हिंडाइको गति सुस्त छ सात दिन पनि लाग्न सक्छ ।
हिंड्दा हिंड्दै खुट्टाले लौरो टेक्न खोज्यो । बाटामा लौरो बेच्न बसेको बूढो मान्छेलाई सोधें —‘बा यो लौरोको कति ?’
‘तीस ।’
‘बिसमा दिनु न । ’
‘हुँदैन । तिमीले ऐले नलगे । खैरे आउँछ । चालिसमा लैजान्छ ।’
लौ मलाइ त सुबिधा पो रैहिछ । तिस तिरें र लौरो किनें ।
बाटामा आर.के. फोटो खिच्छन् । कसैले क्यामेरामा अनुहार दिन्छन् । कसैले गालि गर्छन् । बिहान चिसापानी मुनि एउटाले कुटुँला झै गरेर झम्ट्यो । क्यामरा देखे भैँसी तर्सदो रहेछ । दाम्लो चुटाएर बेपत्ता उफ्रने ।
‘साले हरामीहरु मेरो भैँसी तस्र्याे भने एक लाख तिराउँछु । ’
खल्ति छाम्यौँ हजारका दुइ चार पत्ता छन् ।
हामी ओरालै ओरालो बेपत्ता दगु्यौँ ।
थाङमुनी भञ्ज्यङको ठाडो उकालोमा हामीले एक अर्कालाई सुनायौँ, आ—आफ्नो किशोर प्रेमका कथा । आधा उकालो आर.के.को प्रेमले कटायो आधा मेरो प्रेमले ।
हिउँदे कलिलो घाम चिपलिङको ठिक टाकुरामा उभिएको छ । त्यो डाँडाम एउटै मात्र सानो होटल रहेछ । दाल भातको —दुइसय । आधी घण्टा मोबाइल चार्ज गरें— एक सय । ए गाँठे ! पैसा कता राख्ने ।
त्यहि डाँडामा आइ पुगे पोखराका यम परियार, उनका एक साथी र स्वीजरल्यडकी मा्यानी । अबको हेलम्बु यात्र अज रमाइलो हुने भो । आजको बस ताकेर हिंडियो —गोल्फु भञ्झ्यङ ।
लाप्चाको टाकुरामुनी हिमाललाई अनुहार देखाएर फुलेको छ— एक बोट गुराँस । के बिनी जवानी चडेछ ? बेलान कुबेला फुलेको छ । सायद यसको बोटमा मौसमको विर्य समय अगाबै खस्यो र अबैद्यानिक गर्वधारण ग्यो । यो लेकमा पुसको पहिले हप्ता मस्त बैंसमा फुलेको गुँरास मा्यानीले शिरमा सिउरी र हिमाल तिर फर्केर मुसुक्क हाँसि । गोरो अनुहारमा, रातो गुँरास, त्यो बुढी पनि सुन्दरी देख्खी ।
गुँरासले उसलाई बकायो— ‘नेपाल इज मस्ट ब्युटिफुल कन्ट्रि ।’
‘धन्यबाद मा्यानी ।’
तिमीले हिउँ देखेकी छौ, हिमाल देखेकी छैनौ । मैले हिमाल देखेको छु, हिउँदेखेको छुइन । म तराइको रैथाने । हिउँ भेट्न यसरी दगुरेको छु, जसरी तिमी हिमाल हेर्न दगुरेकी छौ ।
आजको साँझ गोल्फु भञ्झ्यङ सोचे जस्तै भयो । औधी चिसो रहेछ । बतास थेगिनसक्नु गतिमा दौडदो रहेछ । सामुन्ने आँखामा हिमाल छ । सायद त्यहि हिमालबाट बतास यता बेगमा ओर्लदै छ ।
कुखुराको भालेको मुल्य पच्चिस सय । कसले कुखुरा खाने ? पाँच जना छौ खसी नै आँट्यो तीन हजार÷ पैतिस सयमा सानो तिनो खसि भेटिदो रहेछ । मूल्य थाहा भयो । तर खसी बजारमा कतै पाइएन । साँझ प्यो गाउँ जान सकिएन । अन्ततः तीनटा भलेमै चित्त बुजाउन प्यो ।
मा्यानीले खासै मासु रुचाइन । तिनचार ओटा आलु खाइ र सुती । मलाई मर्छे भन्ने डर लाग्यो । दिन भरिको यत्रो हिंडाइ, राती आलुको भर । यमलाई सोधें —‘यो राती भोकले मर्दिन ?’
‘मर्दिन यसको आहारा नै यति हो । भोलि पनि यसै गरि हिंड्छे ।’
यमसँग मा्यानी पुरानो चिनजान रहेछ ।
मा्यानी, हाम्री आमा भन्न सुहाउने उमेर कि छे । यम र मा्यानीको प्रेम सम्बन्ध छ । मा्यानीलाई पटक पटक नेपाल तानि ल्यउँने एउटा शक्ति छ यससँगको प्रेम । यमलाई पनि मा्यानीको प्रेमले स्वीजरल्याडसम्म पु्याएको छ ।
ड्ड
भोलिपल्ट बिहानै हामीे गोल्फु भञ्झ्यङबाट उकालो लाग्यौँ । हिंड्नेबेलामा अलिक पाका जस्ता देखिने होटल साहूलाई सोधें ‘बा अचेल नेपाली टुरिस्टहरु कतिको हिंड्छन् यो बाटो ?’
बाले भने—‘हिंड्छन बाबु हिंड्छन नेपाली खैरैहरु पनि धेरै हिंड्न थालेकाछन् ।’
निकै माथि सम्म सम्झि सम्झि हाँस्यौ । साहेद मा्यानी पनि हाँस्थि होला तर उसलाई हामीले सुनाएनौँ ।
योजनामा आजको बास ठाडेपटि ( ३८०० मि.) रसुवाम हुने छ । तर, दिउँसै कुटुमसाङ बसिने भैयो । अब हिंड्न नसकिने अवस्था छौँ । मा्यानी पनि कुटुमसाङमा हिमालसँग जिस्कने मुडमा छे ।
कुटुमसाङबाट यांग्री हिमाल नजिकै देखियो । अहिले हिउँ परेको छैन । डाँडाहरु नङै छन् ।
‘लोप्सामा लोसार अगाडि नै हिउँ परेन भने अनिकाल लाग्छ’ । एकजना शेर्पाले भन्यो । मैले लोप्सा सोधैं । आँखै अगिको अग्लो डाँडो रहेछ ।
यांग्रीको टाउकामा सेतो गुम्बा देखिदै छ । जहाँ रानी राजेश्वरीलाई लगेर राखिएको थियो । आर.के. र मेरो अन्तिम यात्रा त्यहि यांग्री सम्मको हो । यमको टिम मेलम्चीघ्याङ र तरकेघ्यङ हुँदै तलै तल झर्ने छ ।
कुटुमसाङमै हुँदा मेरो दायाँ घुडाको हड्ढी अचानक दुखन थाल्यो । बिहान चिप्लेर लडेको थिए । सायद त्यसकै असर हुनु पर्छ । हिंडुनजेल खासै दुखेको थिएन बसे पछि सहनै नसकिने गरि दुख्यो ।
अचानकको दुखाइले अचानक यात्रा रोकिदियो । आर.के र म अब फर्कने निर्णमा पुग्यौँ । बिस्तारै चनौटे झरेर गाडि चड्ने छौ ।
कुटुमसाङमा दालभातको तीनसय पचास । लु नखाने । बरु तल कतै गाउँम पकउँन लगाएर खाने । हामी यात्राको बीच बाटो बाटै फर्कदै छौ । स्थानियलाई सोधेको चनौटे झर्न तीन घण्टा लाग्छ ।
मेरो घुडो सहनै नसक्ने गरि दुखेको छ । यसतो रोगी यात्रामा रहर गर्ने ?
गाउँ त निकै तल रहेछ । गाउँ भेट्नै तीन घण्टा लाग्यो ।
चनौटे त काहाँ हो काहाँ ?
गाँउ भेटियो तर मान्छे कोहि छैनन् । एउटा पसल भेटियो त्य पनि बन्द । चाउचाउ पनि खान पाइएन । माटै चपाउँ झै गरि भोक लागेको छ । घुडो चल्नै नसक्ने भयो । आर.के.रुख बुटा देखि चुच्चो डुङ्गा सम्मको फोटो खिच्दैछन् ।
तल गाउँको फेदिमा तामाङहरुको घ्यावा रहेछ । सिंगो गाँउ घ्याव खान गएको छ । हामी पनि घ्यावमै पुग्यौँ । एउटाले थालमा दाल, भात, तरकारी र एक गिलास रक्सी ल्याएर दियो । पहिले त नखाउँ जस्तो लागेको थियो । पछि भोक सम्झियौँ र खायौँ । आज सम्म खाएको सबै भन्दा मिठो दाल भात कसको नममा खाइयो थाहा भएन । मर्नेको नम सोध्न विर्से छौँ ।
आर.के.ले कलचर फोटो खिचे र माथि यांग्री तिर हेरे । मैले फरफराई रहेको घ्यावाका तीन रंगे झन्डा हेरें र मृत आत्मलाई श्रद्धानजलि दिएँ ।
फर्कदा आँखाको गति फेरि यांग्रीको टाउकामा पुगेर उभियो । र, पैतलाको गति ओरालै ओरालो खस्यो ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 19 फागुन, 2069

लेखकका अन्य रचनाहरु