अश्रुमिश्रित नयन र डुबिसकेको घाम

- गोकुल भण्डारी

ओ टुरिस्ट ! तिमी साँच्चै फर्केर आयौ हगि? तिमीले इमेलमा आफ्नो आइटिनरेरि पठाउँदासम्म पनि मलाई विश्वास लागेको थिएन| झन्डै चालिस वर्ष अगाडि तिमीले भावुक भएर लेखेको चिठीको जवाफ समेत मैले फर्काइन, रिसाएर हैन भन्ने त तिमीले बुझिसकेकै थियौ | वास्तवमा तिम्रो चिठी एउटा कविता थियो, कवितामा सवाल जवाफ हुदैन, त्यसैले चुपचाप पढ़िरहें- तिमीलाई आश्चर्य लाग्ला त्यो चिठी अझै पनि म सँग सुरक्षित छ –एउटा ऐतिहासिक दस्ताबेज जस्तो| बेलाबेलामा मन विरक्तिएको बेला त्यहि चिठी बोकेर म एक्लै स्वयम्भू र चोभार जान्छु र तिमीले देखेको काठमांडू हेर्न खोज्छु | खैर, म के देख्छु त्यो त तिमीले पनि छिटै थाहापाइहाल्छौ नि तिम्रो २/४ दिनको बसाईमा|
चार भन्ज्यांग भित्र थाई एयरवेज पस्ने बित्तिकै पहिरोले बगाएका डाँडाहरु, खडेरी परेका खेत र अस्तव्यस्त छरिएका कंक्रिटका जंगलहरु देख्ता साँचै नढाँटि भन त तिमीलाई अर्कै ठाउँमा आए जस्तो लागेन? पैसा नपुगी पिलर उठाएर छोडेका बिना रंगका घरहरु, विस्तारका नाम भत्काइएका बाटाहरु र साथमा बुंगबुङ्ति उडेको धुलो देख्ता तिम्रो दृष्टि अब साँचै क्षितिजसम्म नपुगीकनै बिलाउँछ| अनि एउटा कुरा सम्झन्छौ- कसरी एयरपोर्टमै अन्धकारले तिमीलाई स्वागत गरेको थियो र बिजुलीको आविष्कार हुनुभन्दा अगाडिको आदिम युगमा एक्कासी आइपुगेको तिमीलाई अनुभूति भएको थियो? हामी लोडशेडीङ् गरेर धुमधामसंग साँचिकै औंशी झैँ तिहार मनाउंछौ नि अचेल |
धन्यवाद तिम्रो उपहारको निम्ति| तिमीहरुले सदा संसारलाई लिएर नै दिन जान्यौ – धर्मशास्त्र लियौ अर्थशास्त्र दियौ, मेसिन दियौ, ठूला ठूला ट्रक र ट्रयाक्टर दियौ, प्लास्टिकका कहिलै नओइलाउने फूल दियौ, हाम्रो चमेली लिएर सट्टामा महँगो अत्तर दियौ | नागार्जुनको द्वन्दात्मक अध्यात्मवाद लिएर मार्क्सको द्वन्दात्मक भौतिकवाद दियौ| | भर्खरै पनि त कम्प्युटर दियौ र सट्टामा कसरी हामीसंग कम्प्युटर चलाउने मान्छे लियौ | बुद्ध लियौ र नजानिदो तवरले युद्ध दियौ- सुन्छु योग र ध्यानको धेरै सेसन चल्छ रे आजकाल तिमीले कामगर्ने अफिसहरुमा – लेडी गागा र जस्टिन टिम्बरलेक् को फेसन चल्छ नि हाम्रा पनि निम्न माध्यमिक स्कुलहरुमा| भैगो यो लेनदेनको कुरालाई अहिले यहि थातिराखौं |

मेरो साथी, तिम्रो इतिहास म जान्दछु किनभने त्यो फगत् ५०० सय बर्ष पुरानो छ | मैले भर्खरै तिमीले पठाइदिएको १ घण्टे सिडीमा तिम्रो इतिहास आद्योपान्त हेरें नि| तिमी पश्चिमाहरू यहाँ आउँदा हामी कति खुशी हुन्छौ त्यो तिमीहरुलाई के थाहा ? तिमीले खर्चिने डलरले हाम्रो जोरो आएको अर्थतन्त्रलाई सिटामोल जस्तै काम गर्छ|
दरबारमार्गका चिल्ला सडक र संगैको नाङ्लो बेकरीमा तिमीलाई म आज लान्न किनभने त्यो हाम्रो प्रतिनिधि पात्र हैन| बरु जाउँ एकपल्ट फेरि बौद्ध र स्वयम्भूतिर जहाँ गेरुबस्त्र पहिरेका भिक्षुहरु देखेर अघिल्लोपल्ट तिमी कति आल्हादित भएका थियौ|
उफ्; भर्खरै जुघांरेखी बसेको त्यो केटोको आँखालाई हेर त| कुन्नि कुन् पश्चिमा गायकको नक्कल गरेर उसले कस्तरी कपाल ताछेको छ| आफ्नी १५ बर्षे प्रेमिका लिएर बर्जित फल खान ऊ यता आएको हो र उसले लट्ठ भएर हेरेको दृष्टि सम्भोग दृष्टि हो – यस्तो दृष्टि जुन शरीरको रंग र आरोह अवरोहमै अल्मलिएर एक क्षणमै स्खलित हुन्छ| उसले हातमा प्रेयर व्हिल जसरी बोकेको बस्तु तिम्रै आइपोड हो जसबाट अब ऊ छुट्टिन सक्दैन| अंग्रेजीमा फेल भएर क्लासबाट भागेको त्यो केटो कुनै विक्षिप्त, चर्को गानाको तालमा निकै नै बुझेर डुबे जसरी खुट्टा हल्लाइरहेको देख्यौ तिमीले? (दिक्क नमान, भोलि तिमीलाई म म्याथ्यु रिकार्डसँग भेट गराउन कपनको शेचेंन मोनास्टरि लान्छु जहाँ तिमीले खोजेको सम्यक दृष्टि जरूर पाउनेछौ) हाम्रो कुराकानीको दौरान बिगतमा कसरी तिमी मलाई एक पेग थप्ने बारम्बार अनुरोध गर्थ्यौ| मोहभंगको यो स्थितिमा पेगमा रमाउन छाडेर अचेल म मौनतामै बस्छु – त्यसैले आऊ बर्तमानको तिम्रो सफल राष्ट्र र इतिहासको मेरो महान राष्ट्रको सम्झनामा एक छिन मौन बसौं|
स्वयम्भूका आँखामा प्रज्ञा र करुणाको चित्र देखेर तिमी गएपछि यहाँ निकै रक्तपात मच्चियो, त्यसो त शक्ति र शासनका निम्ति हत्या रोकिएको नै पो कहिले छ र? तिमीले मुग्ध भएर हेरेका यी नीला पहाडहरु छन् नि – तिनीहरुकै काखमा कयौं हत्या भएका छन् – त्यसैले यी आतंकित पहाडहरु हुन्| तिनीहरुको खुट्टा हुदैन, त्यसैले भाग्न सक्दैनन् र अझै यहीं विवश उभिरहेका छन्| अब त सेता हिमाल मुनि लहरै फुलेका गुराँस र लालुपातेमा समेत रगतको छिटा परेको छ | तिमीले यसरी नै हिमाल हेर्दा कति प्रसन्न चित्तले एकपल्ट भनेका थियौ – “यो आँखाहरुको देश हो, दृष्टि भएकाहरुको देश हो” तिमी विश्वास गर्न सक्दैनौ- अहिले यो अन्धाहरुको देश भएको छ| आऊ अतिथि – आज म तिमीलाई थुप्रै किसिमका आँखाहरु देखाउँछु- रजस्वला नहुदै बलात्कृत भएकी यी सानी अबोध केटीका आँखा हेर, अरबमा काम गर्न गएको छोरोको लास पो आइपुग्ने हो कि भनेर हडबडाइरहेका यी बूढी आमाका आँखा हेर, पसलमा सामान किन्न गएको भाइ नफर्कुन्जेलसम्म व्याकुल भएका यी दिदीका आँखा हेर- यी सबै त्रस्त आँखाहरु हुन्| आऊ अब एकछिन् बन्द भएका आँखाहरु हेरौं- मंचमा हात उचालेर ठुल्ठुलो स्वरमा चिच्याइरहेको त्यो मोटो मान्छे अथवा टायरमा सलाई कोर्न ठिक्क परेको त्यो पातलो केटो देख्यौ? अत्तर छरेर कामुक स्पर्शको खोजीमा स्वास्नीलाई घरमै छाडेर डान्सबारतिर लम्केको त्यो सुटेड-बुटेड भलाद्मी देख्यौ? बेकरीमा आइस्क्रिम खाएर निस्कंदा सडकमा कुकुरसंगै निदाइरहेका केटाकेटी देखेर ओठ लेप्राउने त्यो व्यापारी देख्यौ? यी सबै बन्द आँखाहरु हुन्| आज नेपाल बन्दको दिन पर्यो-नत्र अरु धेरै बन्द आँखाहरु तिमीलाई म देखाउँथें | तिमीले दिएको चार्ल्स डार्विनको डिसेन्ट अफ् म्यान पढें जसमा बाँदरबाट विकसित हुदैं आधुनिक अवस्थामा मान्छे आइपुगेको व्याख्या छ| तर विकासको यो क्रम हाम्रो पक्षमा भने उल्टो दिशातिर बगे जस्तो लाग्छ |
ओ टुरिस्ट – आऊ एकपल्ट चोभार जाऊँ- जहाँ तिमीले एउटा बालकलाकारको चित्र र देवलको नक्सा हेरेका थियौ र सहिष्णुता एवं सहअस्तित्वमाथि लामो व्याख्यान गरेका थियौ| आज ती सब छैनन्- तर टाढाको स्तम्भ जस्तो चिम्नी देख्छौ ? त्यो एउटा सिमेन्ट कारखाना हो जुन बिभिन्न राजनीतिक वादको भूँवरीमा परेर आज बन्द भएको छ र त्यो गाउँका युवाहरु रोजगारीका निम्ति पर्देशिएका छन्| त्रस्त आँखाहरु मात्र बसोबास गर्ने त्यो गाउँ- बिन्ति छ हामी घुम्न नजाउँ|
मेरो साथी – तिमीलाई भोक लागेको होला; मलाई याद छ तिमीलाई गरम गरम मोमो मन पर्छ| तर परिस्थिति अहिले बेग्लै छ; बुढो, रोगी भैसीको मासुबाट बनेको मोमो खाएर मलाई लाग्दैन तिमी सकुशल वापस फर्कन सकौला, त्यसैले आऊ उ त्यो रातोमाटोको घरमा गएर स्याउ किनेर खाऊं| मोमोको कुरा गर्दा त्यो गरीब ज्यापूको पोलिओ ग्रस्त छोरोको याद आयो जसलाई देखेर तिमीले अष्टाङ्गीमार्ग दर्शनको स्वस्फूर्त प्रतिपादन गरेका थियौ| अहिले त्यो बालक प्रौढ भएको छ र उसका आमाबाबु दुबै मरिसकेका छन्| अनि उसको घरमा अब बौद्ध धर्मको कुनै पनि अवशेष बाँकी छैन; रोग निको हुने आशामा पानीमा हिड्न सक्ने प्रभुको शरणमा गए पछि उसले पुस्तौंदेखि जम्मा भएका मूर्ति र थाङ्काहरु सबै बेचिदियो| अझै पोलिओले ग्रस्त, अचेल ऊ घरभित्रै टोलाएर बसिरहन्छ| ऊ थप एक जोर त्रस्त आँखा भएको छ|
मेरो साथी- मलाई माफ गर – चालिस बर्षको लामो अन्तरालपछि आउँदा पनि मैले तिम्रो स्वागतमा तिमीले लेखेजस्तो एउटा मीठो कविता लेख्न सकिन – सट्टामा यो निराशाको प्रलाप लेखें| मलाई लाग्छ- एउटा लामो परम्परा, एउटा सृङ्खला, अनिर्वचनीयताको एउटा क्रम कुनै पनि बेला यहाँ टुंगिन सक्छ| यहाँका मान्छेको आस्था र विश्वासमा भूकम्प गैसकेको छ; अब सांचैको भौतिक भूकम्प आउँदा बचेखुचेका मन्दिर, चैत्य र यी जीर्ण देवालयहरु ध्वस्त हुनेछन्, ग्राउण्ड़ जिरोको त्यो अवस्थामा फेरि स्वयम्भूमा कमलको फूल नफूल्ला, मंजुश्री नआउलान्, अनि सम्यक दृष्टि बोकेका भिक्षुहरु पनि यहाँ नहोलान् | त्यसैले आऊ अन्तिम पल्ट फेरि यो उपत्यकालाई परिक्रमा गरेर प्रणाम गरौं| एकपल्ट फेरि नागार्जुनको चतुष्कोटि तर्क सिद्धान्तको आधारमा हाम्रो अस्तित्वको छलफल गरौं जहाँ हुनु, नहुनु, दुवै हुनु र नहुनु, हुनु र नहुनुमा कुनै पनि नहुनु सबै सम्भव छ; एकपल्ट फेरि आर्तस्वरमा मृत्योर्मा अमृतं गमय पाठ गर्दै हाम्रो अमरत्वको कामना गरौं| सूर्य डुबिसकेछ; आँशुले भिजेका यी आँखाहरु चिम्लेर आऊ निकै बेर मौन बसौं|
(शंकर लामिछानेको अर्धमुदित नयन र डुब्न लागेको घाममाथि गरिएको सामयिक चिन्तन)

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 12 फागुन, 2069

लेखकका अन्य रचनाहरु