अनुसन्धान

- अबीर खालिङ

लेखकको मृत्यु पछि उनीहरू एक ठाउँ भेला भएका थिए । कुन ठाउँ , कुन प्रहर, कुन उद्देश्यले उनीहरू लाई थाह थिएन ।
कोही कविजस्ता थिए ।
कोही नेताजस्ता थिए।
कोही गायकजस्ता थिए ।
कोही आफिसका कर्मचारीजस्ता , वेश्याजस्ता, दलालजस्ता , जस्ताहरू नै ज्यादा थिए।
पात्राता उनीहरूलाई स्वीकार थिएन र स्वको संधान पो उनीहरूको अभिष्ट थियो कि भनेर यहाँ अनुमान लगाइएको हो । उनीहरू कठपुतली थिएनन । सुनियोजित यात्रालाई उनीहरूको पाइला पनि थिएन। हिड्थे मात्र , कहाँ पुगिन्छ, थाह थिएन । मखुण्डो लाएका उनीहरू चामे, गौंथली , रणे , म्याउची , रबि , एमके, बरी , अनुराधा कोही थिएनन कि ?
एकजनाले जिन्दगीको स्यामपटमा सबैलाई यो कार्य दिएको थियो , त्यसैमा सबै अल्मलिरहेका थिए ।
1॰ समाधान गर –{ (इच्छा / कर्तव्य )—(सुख / दु:ख)= जिंदगी } ।
2॰ सास फेरेको दिनदेखि मान्छेले आँखा चिम्लेको दिनसम्म कति दिन बाँचेको हुन्छ अनि कति मरेको हुन्छ ?
नेताजस्तोले भन्दै थियो –‘ प्रश्नको पहाड़ ठड़ाउनु सजिलो छ तर उत्तरको सिड़ी चड्नु गाह्रो छ । जिंदगी भने कै खेलहरूको भाग शेष हो, उत्तर शून्य हुनु पर्ने ।‘
नाटकका पात्रजस्ताले भन्यो – ‘पार्श्वबाट किन सधैं थपिएको समस्याको मात्रा । जति थियो यथेष्ट थियो। हामीले नमागेको किन हाम्रो भाग भाको ? म त मैले जाने कै उत्तर सही मान्छु । अरुको उत्तरले जे भनोस । ‘
त्यसपछिका समयहरू अल्मलका थिए, केही धर्मरका थिए।

सधैं उत्तरले कहीबाट निर्देशित भएपछि विरोध प्रदर्शनको अभिष्ट हाम्रो यो भेटघाट होइन त ? बदनाम छौं हामी हाम्रो बस्तीमा । दिइएकै उत्तरले समस्याको समाधानमा लागिपर्दा हाम्रो नियति उनीहरूको हातमा बन्दकी परेको भुल्यौ ? शिरसँग बाँच्न नजान्नेले पाइलाको नियति भोग्नै पर्छ । ‘ कति बेला उसको मुखबाट छुटे यी शब्दहरू आफै छक्क परे । बोलिएको लागेको थिएन उसलाई ।
‘पाठको उद्देश्यले छाक टारेर धेरै बाँचियो । हाम्रा पुर्खाहरू महामुक्तिको बाटो नपाएर गुम्सिएर बाँचे, बिते, बिताइए । विवेकको झ्याल खोल्ननै नपाई उनीहरूलाई नियंत्रित / निर्देशित जिंदगीको किताब रट्न लगाइयो । ‘ कोही एकजना बोलेको सुनियो तर को बोलेको हो चिन्न सकिइरहेको थिएन । मखुण्डो उनीहरूको ठूलो हतियार थियो, त्यही हतियारले उनीहरूले यो खेल खेलिरहेका थिए ।
‘नाम दिएर बदनाम गर्नेहरूको अन्त्य भईसकेको छ । ‘
‘भईसकेको छ.... भईसकेको छ। ‘ अचानक नारा गुंजियो ।
के भईरहेको छ होइन, कसरी भईरहेको छ , एउटा प्रमुख मुद्दा थियो ।
कति वर्षदेखि मौन बाँचेकाहरूको सानो आवाज नै पनि बुलन्द हुंदोरहेछ । थर्किएको भएको छ उनीहरूको बाँच्ने परिवेश र संसार । हिड़ाइएका उनीहरू युक्ति खोज्दै हिड्ने भएका थिए।
‘बोलाइएकोमात्र बोल्ने ए निमुखा ....यसो ऊभो हेर , झ्याल खोल, अंध्यारोको वास उठिसकेको छ हाम्रो जिंदगीबाट । जिंदगीलाई शहरका शृंखलावद्ध बिजुलीका ल्याम्पोस्टजस्तो मिलाएर पनि हामी बाँच्न सक्छौ, छारिएका बिस्कुन जस्ता भताभुङ्ग पनि । हाम्रो नियतिको डोरी हाम्रो हातमा छ । ‘ कसले कसलाई भन्यो तर हर्षोल्लासको माहौल भने बड़दै जाँदै थियो ।
अनियंत्रित थिए तिनीहरू ।
स्वतन्त्रताको सक्दो उपभोग गर्ने लाल्सामा उनीहरू थिए ।
कोही गीत गाउथे खुशीले , कोही नाच्थे मुक्तिवोधले । कालिक बन्धन र परिवेशजन्य चिन्ता थिएन र विसंगति , वाध्यता ,परिस्थिति ,नियति उनीहरूको शब्दकोषबाट लोप भईसकेको शब्द थियो। महामुक्तिको भोजले मात्तिएका थिए उनीहरू ।
संदिग्ध कालको राजमार्गमा उनीहरूको जुलूस हिडिरहेको थियो । नयाँ जीवनको नयाँ अनुभूतिले आनंदित र प्रफुल्लित थिए उनीहरू । आफ्नो इच्छाको गीतले जीवनसंगीत भरिएको उन्मादित मुहूर्त्तमा बाँच्नुको उत्स भोगिरहेका थिए ।
‘आऔ, हाम्रो विजयको पताका त्यो ड़ाड़ामा फहराऔ । ‘ कुनै एकजनाले भनिनसकदा नै सबै उकालो कुद्न होडबाजी गर्न थाले । कुद्थे सबै तर पाईला सरेको थिएन । भ्रमको यो खेलबाट उनीहरूले मुक्ति पाएका थिएनन । जुक्ति पनि जुरेको थिएन ।
एउटाले हास्दै भन्यो – ‘ पूर्णतया स्वतन्त्रताप्राप्त नभइंजेल हाम्रो यात्राले गन्तव्य पक्रन सक्दैन । हाम्रो मुक्ति आंदोलन जारी राख्नुपर्छ , उन्माद र उल्लासको यो घड़ी होइन । ‘
विरोधको चर्को स्वर जताततै गुंजियो ।
‘कठपुतली बाँच्ने यसलाई मार्नुपर्छ, यो , यो सदीको निम्ति थोत्रो भइसकेको छ र यसले हाम्रो स्वको सन्धानलाई नै मार्ने षडयन्त्र रच्दैछ । ‘ आक्रोशित एउटा आवाज सुनियो।
ढुंगा हानेको पनि सुनियो , कराएजस्तो पनि सुनियो ।
अनियंत्रित , असुनियोजित ,विशृंखल ती मखुण्डोधारीहरूको अन्तिम परिणतिचाहि अहिलेलाई अनुसन्धेनीय नै छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 11 फागुन, 2069

लेखकका अन्य रचनाहरु