सम्वेदनाको मलामी

- विश्वराज अधिकारी

मेरो एक बयोवृद्ध छिमेकीको अन्तेष्टिमा भाग लिन म पशुपतिनाथ मन्दिर नजिक रहेको आर्यघाटमा पुगेको थिए। मृतकका पाँच छोराहरु सहित करिब ३० या ३५ का संख्यामा मलामीहरु उपस्थित थिए, त्यहाँ। चिता जलि रहेको थियो, अर्कोतिर मलामीहरु कुराकानि गर्दै थिए।
मृतकको जेठो छोरा ‘बुआले निकै दुख पाउनु भएको थियो। दश वर्षदेखि ओछ्यानमा नै हुनु हुन्थ्यो। दिसा पिसाब सबै ओछ्यानमा नै हुन्थ्यो। अब त्यो दुखबाट मुक्ति पाउनु भयो वहाँले।’
मृतकको कान्छो छोरा ‘उमेर पनि निकै भइ सकेको थियो बुआको। नब्बे पुग्न थाल्नु भएको थियो’।
मृतकको माइलो छोरा ‘निकै खर्चिलो हुँदै गएको थियो बुआको उपचार। महिनाको ५० हजार रुपैयाँ लाग्थ्यो, केवल औषधि र उपचारमा मात्रै। मैले नै बेहोर्दै आएको थिएँ त्यो खर्च, बुआ कान्छो भाईको घरमा बसेको भएता पनि।’
एक छिमेकी ‘काका जानु भयो, वहाँकै लागि राम्रो भयो। त्यस्तो जिन्दगी वहाँको लागि नै पनि निकै कष्टकर थियो। अब भने त्यो कष्टबाट सदाका लागि छुटकारा पाउनु भयो।’
अर्को एक छिमेकी ‘ठूलो बुआलाई स्यहार सुसार गर्ने, रेखदेख गर्नेलाई पनि निकै गार्यो भइ सकेको थियो, अनि झर्को लाग्दो पनि।’
तेस्रो छिमेकी ‘हुन पनि, अर्काका लागि बोझ बनेर कत्ति बाँच्नु……………………………………….?’
मलामीहरुको कुरा सुन्दा लाग्थ्यो त्यहाँ मानिसहरु मृत्यु-शोक होइन, मृत्यु-उत्सब मनाउन उपस्थित भए जस्तो। ती कुरा गर्नेहरुतिर मेरो कान बेला बेलामा आकृष्ट भएता पनि ध्यान भने जलि रहेको चितामा नै स्थिर थियो।
मृत्यु जुन सुकै अवस्थामा पनि दुखदायी हुन्छ। उपभोक्तावादीहरुले मृत्युको परिभाषा नया किसिमले दिएको मलाई भने पटक्कै मन परेन। एउटा जिवनको अन्त्य भएको स्थितिमा पूर्ण दुखी हुनुको सट्टा खुसी हुनु पर्ने कुनै पनि कारण र अवस्था मैले देखिन। म निकै दुखी थिए त्यो मृत्युबाट।
जलि रहेको चिताको नजिकमा चलिरेका ती सम्वादहरुले निकै पीडित बनायो मलाई। तर त्यो भन्दा पनि अति पीडित बनायो मलाई मानिसहरुमा मर्दै गएको सम्वेदनाले। त्यहाँ केवल एउटा लाश मात्र जलेको लागेन मलाई। अनगिन्ति सम्वेदनाहरु पनि जलि रहे झै लाग्यो मलाई, त्यो लाश सँग सँगै। अनि लाग्यो, सम्वेदनाको मलामी भए जस्तो।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 4 फागुन, 2069

लेखकका अन्य रचनाहरु