उत्तरआधुनिकवाद र बाहुल्य विस्फोट

- गोपीकृष्ण ढुंगाना पथिक

उनले अचानक फड्को मारे । फड्को हो, लेखनीको । छ दसकदेखि निरन्तर साहित्यमा कलम चलाइरहेका एक वृद्धले अचानक साइबर राइटिङ रोजे । २०१३ सालका उनै जगदीश शमशेर राणाले २०६९ सालमा आएर आफूलाई उत्तरआधुनिकवादमा ढाले । र तयार भए ‘विस्फोट’ का लागि । अनि जन्माए, ‘उत्तरआधुनिकवाद र बाहुल्य विस्फोट’ ।
राणाले शुक्रबार साँझ सञ्चारकर्मीसँग जमघट गरे । तर ‘विमोचन’ गराएनन्, गरेनन् पनि । न त अन्तक्र्रिया नै गराए । क्लिष्ट पारामा एकोहोरो उत्तरआधुनिकवाद र त्यसको प्रभाव अर्र्थात् बाहुल्य विस्फोटसम्बन्धी विश्वभर छरिए । र अन्त्यमा भने, ‘साहित्य अध्ययन र लेखनका क्रममा मलाई वर्तमान विश्वले तान्यो । यसैमा खिचिँदै गएँ, लाग्यो उत्तरआधुनिकवादले बाहुल्य विस्फोट निम्त्याइरहेको रहेछ । त्यसैले साहित्य छोडेर साइबर राइटिङतिर लागें ।’
लखतरान अस्तित्व,
निराशावाद,
तर्कविहीन परिस्थिति,
पूर्णज्ञानको धारणाबारे नै चित्तविभ्रम...
कथित उत्तरआधुनिक युगको गर्भमा जन्मेका केही नैराश्य या हतोत्साही विचार या भावनालाई संक्षिप्तिकृत गर्दै राणा पुस्तकको थालनी गर्छन् । उनले उत्तरआधुनिकवादलाई पश्चिमबाट आएको हावाको संज्ञा दिएका छन् । ‘हामी पूर्व र दक्षिणकाहरू त कोही साम्राज्यवादीको थिचाईमा परेर, कोही तानाशाहीहरूको रजाइँमुनि दबेर, लाचारी र अभावमा पनि सन्तोष लिएर उँघेर र सुतेर बस्यौं, धेरै कालसम्म’, सेतोख्याकको आख्यान र नरसिंह अवतारजस्ता आख्यानका धनी उनी लेख्छन्, ‘... यत्तिकैमा विज्ञान र तकनीकीको विस्तार अप्रत्यासित ढंगमा बढ्न गयो ।’ युगको प्रवाह, बाहुल्य विस्फोटको प्रभाव र उत्तर आधुनिकवादका अभिलक्षणहरूको व्याख्या गरेका छन् राणाले कृतिमा ।
साहित्य समीक्षाका सिद्धान्तकार जगदीश शमशेर राणा कहिले सिमला बस्छन् त कहिले काठमाडौं । विद्यालयदेखि विश्वविद्यालयको पढाईमा प्रायः प्रथम स्थान ओगट्ने उनले नेपाली भाषासाहित्यमा पनि प्रथमको हाराहारीमै पुग्ने प्रयास गरेको पाइन्छ । कति शक्तिशाली सम्प्रेषण गर्छन् साहित्य त्यसको लेखाजोखा त सेतोख्याकको आख्यान र पछिल्लो यो कृति उत्तरआधुनिकवाद र बाहुल्य विस्फोट पढ्ने पाठकले अवश्यै गर्नेछन् । ‘के यो बालुल्इवाद या विखण्डनको स्थितिलाई मानेमा, विशुद्ध उदारवादी या प्रगतिशील राजनीतिक सिद्धान्तलाई पर सारेर, जस्तो स्थिति सिर्जना भयो त्यसैलाई सकारेर अकर्मण्यतालाई खपेर बस्नु त ?’, उनले लेखेका छन्, ‘उत्तरआधुनिकवादसँगै देखा परेका विखण्डन र उदासिनताको स्थितिलाई रमालाएर सकर्नाले साझा र सामूहिक सक्रियताको समाजवादी लक्ष्यको जरो काटेर खुला बजारको सिद्धान्तलाई प्रोत्साहित गर्नु त हुँदैन ? यस्तो प्रवृत्तिलाई कसरी रोक्नु ?’
दुई खण्डमा विभाजित ‘उत्तरआधुनिकवाद र बाहुल्य विस्फोट’ को पहिलो खण्डमा उत्तरआधुनिक वाद र विवाद, उत्कृष्ट र साधारण संस्कृति वास्तुकला र अन्य प्रसंग, उत्तरआधुनिककालमा चित्रकला, एलेक्ट्रोनी प्रवेश र उत्तरआधुनिक काल, मूलबाटो कता ? हामी कता ?, अर्थहरूको पछिल्तिरका अनेक अर्थहरू, उत्तरआधुनिक चिनारी व्यक्तित्वको रूपान्तरण, उत्तरआधुनिक दृष्टिले मान्छेको अहंलाई खोतल्दै र उत्तरआधुनिकवाद र भूराजनीतिको विश्लेषण गरेका छन्। यसैगरी, दोस्रो खण्डमा उत्तरआधुनिकवादी दृष्टिकोणले संयुक्तराज्य अमेरिका, ल्याटिन अमेरिका, यूरोप महाद्धीप र अँध्यारो महाद्धीप अफ्रिकालाई नियाल्ने प्रयत्न गरेका छन् । उनले योक्रममा चीन, भारत, नेपाल, उत्तर र दक्षिण कोरिया, सुदूरपूर्वमा सूर्योदय र मध्यपूर्वी देशहरूलाई पनि एक्काइसौं शताब्दिको आँखाले नियालेका छन् ।
उसो त देखेसुने र भोगेका कुरा नै कृतिमा समेटेका छन् । तर पनि खासगरि युवा पुस्तालाई सोच्नमात्र होइन, चिन्तन नै गर्न बाध्य पारेका छन् समसामयिक घटनाक्रमप्रति । लेखकले दाबी गरेका छन्, ‘विषयमात्र होइन, शैली पनि फरक छ ।’ कार्लमाक्सलाई राजनीतिक दर्शनका महर्षिको संज्ञा दिँदै राणाले माक्र्सले दर्शनमा आधुनिकवादको नयाँ ढोका खोलेपछि त्यसको प्रभाव सबैतिर सबैमा फैलिएको उल्लेख गरेका छन् । कृतिमा साहित्यदेखि संस्कृतिसम्मका सबै पक्ष समेटेर विश्लेषण गरेका छन् ।
समग्रमा, ‘अन्तर्राष्ट्रिय विषयमाथिको चिन्तन’ लाई कृतिमा पोखिएको छ । विश्व भ्रमण गराएर राणाले पाठकलाई स्वेदशप्रति सोच्न बाध्य पार्दै कृतिलाई यसरी टुंग्याएका छन्, ‘आजको नयाँ नेपालमा विभिन्न राजनीतिक र वर्गीय दलहरूको हानाथापले जनता लाचार र थकित भए भने कुन सहारा या कुन बाटो लेलान्, यो बाहुल्य विस्फोटको उत्तरआधुनिक जमानामा ?’

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 27 माघ, 2069

लेखकका अन्य रचनाहरु