जीवनवाहिनी प्रकृतिका प्रयोक्ता कवि गुराँस

- उपेन्द्र पागल

कवि भाइ हिमालका कविताका विषयमा केही बोल्नु पूर्व टङ्क आचार्य केही उक्तिहरु टिप्नु सान्दर्भिक ठान्दछु । उनले भनेका छन्–“गुराँस पुरानो मान्यता विरुध्द नयाँ प्रयोगको शैलीमा आएका छन् । भविष्य कसरी बनाउँछन् भन्नु भन्दा पनि परिवेशले कस्तो स्थिति सिर्जना गर्ने हो त्यो मुख्य कुरा छ । गुराँस राष्ट्रिय फूल हुन्, राष्ट्रिय सौन्दर्य हिमाल छ उनीसँग र फूल रमाउलान्” भनेर कविता सङ्ग्रहको विषयमा सूत्रात्मक रुपमा स्पष्ट र गहकिलो अभिव्यक्ति दिइसकिएकोले आफूले चाहिँ के भन्नु भन्ने विषयमा केही अन्योलग्रस्त छु । अनि तर कवितामा यो सङ्कुचन रह्यो भने कवित्व न्याय हुँदैन । यसरी अभिव्यक्त गर्नु भन्दा पहिले उनको हाँगाका फूल म माथि कसरी खस्यो र मैले कसरी उनको प्रेम भुल्न सकिन भन्ने कुरा म बुझाउन सक्तिन भनेर टङ्कजीले ठोकुवा नै गर्नु भएको छ । वर्तमान कालिक व्यापक विश्व परिवेशका विविधता भित्र कवि, लेखकले पस्नु पर्ने सङ्केत पनि गर्नु भएको पाइन्छ । तर यहाँ भन्नु पर्ने कुरा के छ भने गुराँसजीका यस सङ्ग्रहमा सङ्कलित रचना र मझ्यौला आयामका ३६ वटा कविताहरु मात्र रहेका छन् । तिनै ३६ वटा कविताहरु हेरेर मात्र उनको लेखनमा सङ्कुचन रह्यो भन्नु भन्दा पनि उहाँले सङ्कुचित क्षेत्र नै आफ्नो कविताको विषय बनाउनु भएको रहेछ भने पनि त्यो उहाँको नेपाली कविता क्षेत्रको एउटा नवीन प्रयोगको आविष्कार मान्न सकिन्छ ।
देवकोटाले ३६,००० भन्दा बढी कविता लेखे होलान्, गुराँसको यस प्रथम प्रयासले नै उनको निश्चित गारेटो मापन गर्न सकिन्न पनि तर उनलाई प्रकृतिकै कवि, प्रकृति+मानवीय संवेदनाका प्रकृतिमय कवि भन्न र मान्न सकिन्छ अनि उनलाई मानवताका पुजारी, जिजीविषा प्रति अनुराग राख्ने, सतत प्रयासका गीता दर्शनवादी, प्रतीकात्मक अभिव्यक्तिगत सौन्दर्य, भावानुकुल बिम्ब सिर्जनाका प्रयोक्ता कविका रुपमा पनि चिन्न सकिने रहेछ । अझ छक्क पर्नु पर्ने कुरा त के पनि रहेछ भने उनको असीम आशाका फूल फुल्न नपाउँदै कोपिला फूल अनायासै तुषारो परिदिन्छ (३९ पेज) यस कवितामा मान्छे छैन र पनि त्यो सीमान्तहीन आशाभित्र मानवीय स्वभावनै व्यञ्जित भएको पाइन्छ । त्यसकारण कवि प्रकृति भित्र मानवीय जीवन र मानवीय जीवनभित्र प्रकृतिको अन्योन्याश्रित सम्बन्ध देख्छन् । फूलहरुका सौन्दर्य बिम्ब भित्र मानवीय अस्मिता, तारा, जून र वादल भित्र मानवीय जीवनका कारुणिकता खोला नाला भित्र मानवीय कर्तव्य पथको निरन्तरता, उकाली ओराली भित्र जीवनपथको उत्थान पतन आदि देख्नु उनको सूक्ष्मातिसूक्ष्म दृष्टिचेत र रुसोको ‘व्याक टु दि नेचर’ प्रकृतितिर फर्क भन्ने कुराको प्रभाव मान्न सकिन्छ । यो उनको आभ्यासिक चरणकै कवितामा पनि (केहीलाई छाडेर) उनका कविता कलाका रुप पक्ष अभिव्वयक्ति शैली र कविताको बुनोट हेर्दा भविष्यको निम्ति प्रशस्त कवितात्मक सम्भावना बोकेको छ भनेर महसुस गर्न सकिने साक्ष यो सङ्ग्रह नै रहेको छ भन्न सकिन्छ ।
यस सङ्ग्रहका विषयमा चन्द्र अधिकारीजीले पनि “मानव वस्ती (पृ.६३) र सकलमा (पृ.५८)का केही हरफहरु टिपेर गुराँसका कविताको यथार्थ मूल्याङ्कन गर्नु भएको र गुराँसले आफ्ना अभिव्यक्तिले टिपेका विषयहरुको सान्दर्भिकताको सङ्केत शैलीका विषयमा पनि सङ्केत गरिसक्नु भएको देखिन्छ ।
उपर्युक्त पृष्ठभूमिमा टेकेर गुराँसका यस सङ्ग्रहका विषयमा विवेचना गर्नु समयोचित नै ठहर्ने सोचिएको छ । यस सङ्ग्रह भित्र सङ्कलित ३६ वटा कविताहरु रहेका छन् । यी सबै कविता हेर्दा कविताको लघुतम रुप हाइकु, टुक्रा (मुक्तक) फुटकर कविता, गजल, गीतका ढाँचामा संरचित पाइन्छन् । त्यसकारण गुराँसको कविता सिर्जनाको शिल्प पक्षमा पनि विषययको जस्तै विविधता रहेको पाइन्छ । सूक्ष्मता र सरलता भित्र पनि भाव र विचार गहनता यथार्थ परक पृष्ठभूमिमा रहेको पाइन्छ ।
सङ्ग्रहमा दोस्रो क्रममा रहेको ‘जून रोएको रात’ शीर्षकको संरचना हाइकुको ढाँचामा संरचित छ । यसलाई ५ हाइकु भनेर शीर्षक दिंदा पनि हुने थियो तर भाव गहनताका निम्ति कविले शीर्षक दिएर हृदयहीन देवता, सौन्दर्यको भ्रम, घाम डुबेपछि जून रोएको संवेदना, अन्धकार र अन्यायमा अचेतनहरुले रुनु परेको, अवर्णनीय वासना आनन्ददायक सुगन्ध मीठो भै झ¥यो जस्ता विम्वमय कोलाज (फोसे एल्वम) चित्र बनेको पाइन्छ ।
पन्ध्रौं कविता अपसोस (अफसोच हुनुपर्ने) शीर्षक कवितामा ४ मुक्तकहरु रहेका छन् । परम्परा विपरित यसमा पनि शीर्षक नै राखिएको छ । यसलाई पनि प्रयोग गरेका छन् कविले । किन भने हामी नेपाली हिमाल र प्रकृतिका विविध रङ्गमय सम्मिश्रण स्वरुप शिरमा ढाका टोपी लगाउने हाम्रो संस्कार र संस्कृति नै रहेको छ । यस शीर्षक रखाइमा पनि नेपाली संस्कृतिको नै संस्कार पाइन्छ ।
नवौं कविता ‘मेरो प्यारो मातृभूमि’ शीर्षक दिएर नेपाली लोकलयमा संरचित छ । लोकलयको १६ आक्षरिक ढाँचामा २ हरफे श्लोक हुनु पर्नेमा त्यसको क्रम भङ्ग भएको पाइन्छ । २५ हरफमा संरचित छ र ७४ वटा शब्दहरु रहेका छन् । गेयात्मकताको विशिष्ट गुण यसमा पाइन्छ । नेपाली प्रकृतिकै माध्यमबाट देशभक्ति गायन गरिएको छ ।
तीसौं कविता ‘सकल’ शीर्षकमा ४ मुक्तकहरु रहेका छन् । यी मुक्तकहरुमा पूर्वी दर्शनको ‘तमसोमा ज्योतिर्गमय’ गीताको जीवन दर्शन, मायावाद, अहिंसावादी बुध्द दर्शनको पुनराविस्कार रहेको पाइन्छ ।
बत्तीसौं कविता ‘त्यो भिखारी’ मुक्तकाकार संरचनामा एउटा भिखारीको कारुणिक जीवन चक्रलाई टिप्दै अहिलेको संवेदनाहीन समाजमा भिखारी जस्ता विपन्नहरुको पनि जिजीविषा अध्ययन भएको यथार्थ विम्व प्रस्तुत छ । ११ हरफ र २४ शब्दमा संरचित लघुतर रचना रहेको पाइन्छ ।
चौंतीसौं कविता ‘शोकमा’ मा पनि १२ हरफ र २४ शब्दहरुबाट संरचित रहेको छ । यस कवितामा प्राकृतिक विम्व फूल, हावा, छाया र मानवीय विम्व साथी रहेका छन् । थोरै शब्दमा जीवनको कारुणिक पक्षको उद्घाटन गर्न सक्नु गुराँसको संरचना पक्षको सवलता मान्न सकिन्छ ।
पैंतीसौं कविता ‘मानव बस्ती’ १३ हरफ र २२ शब्दमा चित्रात्मक शैलीको प्रयोग गरी डाँडा, दोछायाँ, खोला, फूल, कालो तुवाँलो जस्ता प्राकृतिक विम्वहरुको प्रयोग गरी नेपाली जातिको उज्यालो र अँध्यारा पक्षको दोछायाँ (अर्धचेतनशीलता) कै कारण नव युवाहरुले पलायन खोज्दै विदेशिनु परेकोले देशको राजगार विहीन अवस्थाको समेत अभिव्यञ्जना रहेको पाइन्छ ।
माथि उल्लेख गरिए बाहेक अन्य कविताहरुमध्ये सबैभन्दा ठूलो आयाम लिएको फुटकर कविता बाह«ौं क्रमको ‘आशा’ शीर्षक कविता हो । यो कविता ३ खण्डका ९२ हरफ र २५० शब्दमा संरचित रहेको छ । आशमा आशाको आर्थी व्यापकतालाई प्रकृतिबाट (मानवीय स्वभावमय) मान्छे जहिले पनि आशाकै त्यान्द्रोमा अडिएर रहन्छ भन्ने भाव अभिव्यञ्जित रहेको छ । जीवनका ३ विम्वहरु दुःख, उन्मुक्ति र सुखद भविष्यको परिकल्पना गरी घामलाई चेतनाको अन्धकारलाई अज्ञानताको प्रतीकको रुपमा प्रयुक्त गरिएको पाइन्छ ।
अन्य बाँकी कविता र तिनको सारवस्तु विश्लेषण ः
१. ‘नरोऊ तिमी’मा कवि प्राकृतिक वस्तुहरु पशु पन्छीमा पनि संवेदना रहन्छ तर मानवमा कारुणिकता हराएर संवेदनाहीन भएको वर्तमानमा पौराणिक मिथकको ध्रुवजस्तै अटल वैचारिकता लिएर कर्म गर्दै जाऊ भन्दै गीताको कर्मवादलाई सिरानी लगाउन पुग्छन् ।
३. भूतलमा शीर्षक १० आक्षरिक ढाँचामा संरचना गरी लाली गुराँसझैं फुलौं र भेदभावको अन्त्येष्टि गरी बन्धुत्वको भावना र मानवताको अस्तित्वको वीजारोपण गरौं भन्ने आग्रह गरिएको पाइन्छ ।
४. ‘अन्धो भिखारी’ ८ आक्षरिक ढाँचामा रचित कवितामा भिखारीका कारुणिक र दयनीय अवस्थाप्रति सहानुभूति राख्दै उसप्रति माया र दया राख्नुपर्ने आग्रह साथ मुक्तिको कामना गरिएको छ ।
५. ‘तिमी भित्र म’ कविताले विभिन्न प्राकृतिक विम्वहरुको उपस्थापन गरी अनुरक्त प्रेम प्रसङ्गलाई प्रकृतिकरण, संस्कृतिकरण र चिरन्त बनाइएको छ ।
६. ‘मुटुको व्यथा’ कविताको संरचना ५५ हरफ र १३२ शब्दमा संरचित रहेको छ । संवेदनाहीन मान्छेका भीडमा पनि मान्छेका जिजीविषाहरु पहाड भएर ठडिएको छ निरन्तर कर्मशील मान्छे माथि उठ्न खोज्छ तर लाछिएर तलै झर्छ, चराचुरुङ्गीहरुको स्वतन्त्र र निश्चित बास छ तर मान्छेको चाहिँ वास नै छैन र पनि गाँस बासको खोजिमा हिडेको मान्छेको कुनै अस्तित्व नभएको वा हुन नसकेको भाव व्यक्त छ ।
७. ‘गन्तव्य’ शीर्षकमा निरन्तर कर्मशील रहेर संवेदनाहीन वर्तमानकालिक समाजमा वज्र नै परे पनि सहेर अगाडि बढेमा आफ्नो लक्ष्य प्राप्ति हुने कुरा अभिव्यक्त छ ।
८. ‘आफैंले चिन्नु पर्छ’ मा मान्छेको कर्तव्यबोध गराउँदै कर्मवादी दृष्टिकोण लिएर शत्रु, मित्र, हिंसा, अहिंसा आफैंले चिन्नु पर्ने भाव व्यक्त छ ।
१०. ‘जीवन र जगत’ मा दिनरात, जीवन, मृत्यु पाउनु गुमाउनु नै जीवन हो, यो निरन्तर चलिरहेको छ भन्ने भाव व्याक्त छ ।
११. ‘लालीगुराँस’ मा फूल, वतास, पालुवा कोइली, छहरा, पहरा जस्ता प्राकृतिक विम्व उपस्थित गरी नेपालीले लालीगुराँस झैं (राष्ट्रिय भावनाको प्रतीक) भएर नेपाल आमाको शिरमा सुन्दर सपना भएर सजिइदिनु पर्ने भाव व्यक्त गरी लालीगुराँसलाई मानवीकृत गरिएको पाइन्छ ।
१३. ‘आमा’ कविको जन्म दिने आमा र जन्मिएको जन्मभूमि प्रतिको संवेदना र कर्तव्यबोध रहेको पाइन्छ ।
१४. ‘जिन्दगीका सपनाहरु’ मा मान्छेका जन्मनु र मर्नुका क्रम उपक्रमहरु शाश्वत सत्य रहेको छ । जन्मसँगै जीवनप्रतिको आशाहरु पलाउँछन् ती सुन्दर फूलहरु फुल्ने र झर्ने क्रम बढ्दै जान्छ तर जिन्दगी पारपाई नसक्नु छ त्यसकारण पीडामा आँसु बनेर झर्छ भनिएको छ ।
१६. ‘यो धरातल भित्र’ मा बूढी आमा, किसान, डाँडा पखेरा, लालीगुराँस, तारा जस्ता प्रतीकात्मक विम्वहरुको चयन गरी रोग, भोक र शोक ज्युँका त्युँ रहेकोले धरती र आकाशका ताराहरुले आँसु झारिरहेको भाव व्यक्त छ ।
१७. ‘काँडा भित्रको फूल’ मा फूलको सौन्दर्य र कलात्मकतालाई जीवन सौन्दर्यका रुपमा फुल्ने भावलाई प्रकृतिमैं आलम्वित बनाई प्रस्तुत गरिएको तर कसैले पनि फूलमा रहेको पीडा बुझ्न नसकेकोमा कवि मन चिन्तित रहेको पाइन्छ ।
१८. ‘बीराङ्गना पासाङ्ल्हामु सेर्पा’ मा प्रसिध्द पर्वतारोही बीराङ्गना प्रति श्रध्दाका भाव व्यक्त गर्दै उनको अपराजेय शौर्यको प्रशंसा गरिएको छ ।
१९. ‘फुल्न नसकेको फूल’ मा मानव मस्तिष्क भित्र रहेका असीम आशा र सुखद कल्पनाका फूलहरु तुषारापात भएर फुल्नै नपाई ओइलिएर झर्छ भन्दै एउटा गरीव र विपन्न वर्गको सपना चकनाचुर भएको विम्वलाई प्राकृतिक प्रतीकहरुका माध्यमबाट विम्वित गरिएको पाइन्छ ।
२०. ‘पहाडकी रानी’ १० आक्षरिक ढाँचामा रचिएको यो गेयात्मक कविता हो । यसमा पहाडी प्रकृतिको सुन्दरुतम चित्र प्रस्तुत गर्दै प्राकृतिक सौन्दर्यलाई रानीका रुपमा रुपायित गरिएको पाइन्छ ।
२१. ‘लाहुरेको संझनामा’ आर्थिक प्रलोभन वा भौतिकताको मोहले लाहुर गएका छोराहरुका अनिश्चित भविष्य प्रति चिन्तित बूढा बाबु आमा र चेलीबेटीको आकुल सम्झना र विरह व्यञ्जित रहेको पाइन्छ ।
२२. ‘आजको मान्छे’ आजका मान्छे भनाउँदा मान्छेहरुको बीचमा विकसित भइरहेको स्वार्थपरकता, अवसरवादिता र प्रतिघातिपन, विश्वाघात र प्राणाघात गर्न पल्किएका मान्छेका विद्रूप र विकृत अवस्था र मनोदशाहरु प्रति व्यङ्ग्य गर्दै अन्त्यमा सबैले मर्नु नै पर्ने शाश्वत सत्य उद्घाटन गरिएको पाइन्छ ।
२३. ‘मोती’ मा पहाडबाट निस्किएको अनमोल मोती अर्थात् नव युवाहरुले आफ्नो कर्म अनुसारको फल पाउन नसक्ने र सागरमा डुबेर हराउनु पर्ने भाव व्यञ्जित रहेको पाइन्छ ।
२४. ‘अविराम रोइरहेछ’ मा प्रकृतिलाई आलम्बन बनाई विषादका विम्व उजागर गरी वर्तमान कालिक मेची–काली सम्म नै व्याप्त रहेका विषादका यथार्थ विम्व र संवेदनशील भाव व्यक्त छ ।
२५. ‘स्मृति तलमा’ मा चौतारो, वरपिपल, खहरे खोला, गुराँस, कोइली, विविध प्राकृतिक प्रतीकात्मक विम्वहरु ग्रहण गरी चौतारी = आश्रय स्थलको रुपमा रहेको स्वदेशको विम्व उपस्थित गरिएको पाइन्छ ।
२६. ‘तिमी’ सार्वनामिक शीर्षक दिएको यस कवितामा कर्मवादी, उत्पादनशील परिश्रमी बनेर दुःखीहरुको सहारा बन्दै चेतनशील, शान्तिप्रिय र कर्तव्यनिष्ठ नागरिक बन्न आह्वान गरिएको पाइन्छ ।
२७. ‘जागीर’ शीर्षक कवितामा नातावाद, कृपावादको दलदलमा फँसेको देशका जनताका छोराहरुले रोजगारी पाउन नसक्नुको तथ्य र पीडा व्यक्त छ ।
२८. ‘श्रद्धा’ शीर्षक कवितामा देखिएको वा नदेखिएको कुनै पनि आदर्श गुण र विशिष्टता युक्त कुरा अहिलेको कालिक परिवेशबाट हराउँदै गएको र सबैका पैताला मुनि थिचिएर थिलथिलो भएको जीवन र मृत्युको दोसाँधमा पुगेको एवं मानिसकै भीडबाट हराउँदै गएको भाव व्यक्त छ ।
२९. ‘संझनाभित्र’ मा अतीत कर्मशील रहेका मान्छेहरु जस्तोसुकै पीडामा पनि निरन्तर रुपमा अगाडि बढिरहेको विगतको स्मृति विम्व उपस्थित गर्दै वर्तमानका मान्छेहरुले पनि त्यही दुःखद बाटो नै अवलम्बन गर्नु परिरहेको विवशताको भाव व्यक्त छ ।
३१. ‘सृजनाको फूल’ यो कविता गजल÷गीतको ढाँचामा लेखिएको छ । मनको भारी विसाएर मनको भाव पोख्न आतुर कवि सामुहिक र ऐक्यवध्द भएर बाँच्न चाहने भाव व्यक्त गर्दै सुन्दर सिर्जनाको फूल रोप्न चाहेका छन् । प्राकृतिक विम्वका माध्यमद्वारा संरचित सुन्दर कवितात्मक अभिव्यक्ति रहेको पाइन्छ ।
३३. ‘धरतीको धुलो’ यस कवितामा गन्तव्य सबैको एकै हुन्छ सुख र दुःख भोगाइ नै जीवनको गन्तव्य रहेको सबैको भोगाइ एउटै भए पनि दुःख र सुख चाहिँ त्यहाँ पुग्न नसकेको विचार व्यक्त गर्दै मानव जीवन आँसु र पीडा भित्रै गतिशील भएर रहँदा रहँदै पनि जीवनको अन्त्य हुने भाव व्यक्त छ ।
३६. ‘कालचक्र’ शीर्षक कवितामा जीवन सौन्दर्यको प्रतीक फूललाई प्रतीकात्मक साधन बनाएर जीवन दर्शनको साध्य प्रस्तुत गरिएको यस कवितामा मानव जीवनको गन्तव्य अग्रगामी हुन्छ, परिवर्तनशील जीवनचक्र घुमिरहन्छ, जीवनको अटल आस्था र गहिराई बुझिनसक्नु र पार पाइनसक्नु रहेको छ, ईश्वरीय मुस्कान र सौन्दर्य पाएका फूलहरु ती = गतिशीलता, यी = गतिशीलता अबरुध्द फूलहरु ओइलाएर झर्ने शाश्वत सत्य प्रस्तुत गरिएको पाइन्छ ।
अलङ्कार योजना ः
यस सङ्ग्रहका कविताहरुमा अन्त्यानुप्रास, उत्प्रेक्षा, उपमा, रुपक आदि अलङ्कारहरुको प्रयोग भएकोले भाषिक सौन्दर्य प्राप्त गर्न सकेको पाइन्छ । अलङ्कृत भाषा, कोमल भावानुभूति, संवेदनशील संरचना र वर्णनात्मक शैलीका कारण गुराँसका कविता गुराँस जस्तै सुन्दर र रहरलाग्दा बन्न सकेका पाइन्छन् ।
विचारले भावलाई र भावले विचारलाई कुनै अवरोध वा क्षति नपु¥याएकोले कवितामा विचारको सन्तुलन र भावको उहापोह पनि पाउन सकिन्छ ।
मधेशा–१, सुनसरी

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 19 माघ, 2069

लेखकका अन्य रचनाहरु