स्वाभिमान

- विश्वराज अधिकारी

मैले उसलाई सोधे- बाबु तिमीलाई शहर लाने अंकलले खाने लगाउने राम्रो व्यवस्था मिलाइ दिएका थिए, होइन?
उसले उत्तर दियो ‘एक दमै राम्रो व्यवस्था गरि दिनु भएको थियो। आफ्नै सन्तान जस्तो गरेर राख्नु भएको थियो, मलाई। आफ्ना सन्तानहरु र म बीच वहाँबाट कुनै किसिमको भेद भएको थिएन। म वहाँका सन्तानहरु सुत्ने कोठामा नै सुत्थ्ये। एउटै भान्सामा खान्थ्ये।’
मैले थप प्रश्न गरे- अनि पढ्ने पनि गरेका थियौ, बाबु?
उसले भन्यो ‘त्यो शहरको एउटा अति नै राम्रो स्कूलमा दस कक्षामा भर्ना गरि दिनु भएको थियो। अनि अंग्रेजी र हिसाब का लागि ट्युशन राख्ने कुरा पनि गर्नु भएको थियो, मेरो लागि………….।’
उसले थप्यो ‘मैले कुनै घरायसी काम पनि गर्नु पर्थेन, अरुहरुले आफ्नो घरमा राखेकाहरुलाई भाँडा माज्न, लुगा धुन लगाए झै। म वहाँको छोरा झै थिएँ, त्यहाँ।’
मैले अर्को प्रश्न गरे- अनि बाबु, कहिले काहि कुट्ने वा गालि गर्ने गर्थ्ये कि तिमीलाई, शहर लाने ती अंकलले। अनि केही यता उति, यस्तो त्यस्तो ………………….?
मेरो प्रश्न पूरा नहुँदै उसले भन्यो ‘वहाँ जस्तो भद्र मान्छेबाट त्यस्ता कार्यहरु हुने कल्पना पनि गर्न सकिँदैन। त्यस्तो सज्जन मान्छे यो संसारमा पाउन गार्हो छ। वहाँलाई भगवान नै भन्न सकिन्छ।’
उसको यो कुराले मलाई अर्को प्रश्न गर्नदेखि रोक्न सकेन। मैले अन्तिम प्रश्न सोधे- अनि बाबु, त्यति राम्रो घरबाट किन भागेर आयौ त? किन गुमायौ त्यति राम्रो पढ्ने लेख्ने अनि राम्रो मान्छे बन्ने औसर? किन आयौ फेरि यै गरिबीको दलदलमा भास्सिन?
उसले जबाफ दियो ‘अरु सबै कुरा त ठिकै थियो। तर शहर लाने त्यो अंकलले जहिले पनि, जो सुकै वहाँको घरमा आउँदा, मेरो परिचय आउने मान्छे संग गराउँदा, यसरी भन्नु हुन्थ्यो- यो केटा पढ्नमा अति नै राम्रो छ, अनि भलादमी पनि उत्तिकै। यसका बाबु आमा अति नै गरिब भएको र पढाउन नसकेकोले मैले यसलाई यहाँ पढाउन ल्याएको। वहाँले जहिले पनि त्यसरी भन्ने यी वाक्यहरु सुन्दा सुन्दा मलाई दिक्क लाग्यो। त्यहाँ नबस्ने निधो गरे। अनि भागेर आएँ त्यो घरबाट, आफ्नै घरमा।’

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 12 माघ, 2069

लेखकका अन्य रचनाहरु