मझधारमा एक मन

- सन्जु बजगाईं

“नागेन्द्र हाराय त्रिलोचनाय.............।” श्रीमती उपाध्याय बिहान बेलुकी नित्य पाठ गर्छिन् ।

“ईफ आई वेर अ बोई..........।” छोरीलाई बिओन्से नित्य सुन्नु पर्छ ।

“यू आर ब्युटीफुल........ईट्स ट्रयु ।” छोरो जेम्स बल्न्टको पछि नै लागेको छ ।

“वाईन ओपनर...........?” श्रीमान् उपाध्यायलाई हरेक साँझ बोर्दो वाइनको बोतल खोल्नु पर्छ ।

देख्दा एउटै ब्रम्हाण्डका चार दिशाहरु..................... ।

आज पनि श्रीमती उपाध्यायले साँझको पाठ सकिन् । किन हो पहिले जस्तो पूजापाठले मन शान्त हँुदैन उनको । देउतामा विश्वास घटेको पनि कसरी मान्नु ? विश्वासमै संसार अडेको छ । श्रीमती उपाध्याय धमिलिएको मन बोकेर टीभी कोठामा पसिन् ।

शुक्रबार न हो ! आफ्नै कोठाको कुनाको बार उपाध्यायको स्वागतमा खुलिसकेको थियो । उतिखेर छिमेकी ग्याब्रियलाको नक्कल गरेको । के भन्नु ! अहिले त्यही नक्कल गलपासो भएको छ श्रीमती उपाध्यायलाई । त्यतिबेला ग्याब्रियलाको घरको सानो बार कम्ति राम्रो लागेको थिएन उनलाई ! खालखालका ह्वीस्की, रम, ब्राण्डीका महङ्गा बोतलले ¥याक भरिएको देखेर श्रीमती उपाध्याय कस्तो भुतुक्कै भएकी !

तिनै बोतलका लस्करहरु अहिले झल्झलि आँखामा आउँछन् र मुख लोपारिदिएझैं गर्छन् श्रीमती उपाध्यायको । त्यही मुख लोपार्याईको पीडासँगै बारमा बोतल खोलेर ग्लास भर्दै गरेको लोग्नेलाई आँखा तर्काउँदै हेर्छिन् उनी । ग्याब्रियलाको लोग्नेलाई जस्तो कहाँ सुहाउनु ! धोती फेरेर भान्सामा छिर्ने संस्कारको चरम रुपान्तरण पटक्कै चाख लाग्दो लाग्दैन उनलाई ।

“चियर्स......!” रुटिन अनुसार उपाध्यायको वाईन ग्लास उठिसकेको थियो ।

“अब यो चियर्सको ढर्रा छोड्नुस् र भोली नै टिकट बुक गराउनुस् ।” श्रीमती उपाध्याय चियर्सको प्रतिउत्तरमा सर्किदिईन् ।

“देश अनुसारको भेष ! केको चिन्ता लिएकी ? ग्लासमा वाईन उठाएर पनि कसैले पीडाका कुरा गर्छ ?” उपाध्यायले सहज पारामा भने ।

खान नपाएर मर्नुभन्दा खाएरै मर्नु निको । कत्रो हण्डर खपे उपाध्यायले यो जीन्दगी पाउँन । जीन्दगी सुखसँग जीउँने रहरले ढुन्फुन्याएर बेलायत एम्बेसीमा च्याँखे थाप्ने राममान भट्टकहाँ पु¥याएको थियो उनलाई । नभन्दै पासपोर्टमा छाप लाग्यो ! भट्टलाई मोटै रकम बुझाए त्यसबापत अनि छाती फुलाएर निस्किए समुद्रपार ।

बेलायतमा पाईला हाल्ने बेला उपाध्याय बलिष्ठ तन्नेरी थिए । आँखाका मध्यविन्दुहरु झरिला थिए । जोश र जाँगरको खानी थियो तैपनि काठमाण्डौंको एयरपोर्टमा प्लेन ‘टेकअफ’ हुँदा जति गर्वको अनुभुति भयो उति हिथ्रोको ‘रन वे’मा ‘ल्याण्डिङ्ग’ हुँदा भएन । घरभित्र गर्जन बाहिर म्याउँ ! लिन आएका स्याञ्जाली मित्र दखेपछि बल्ल सासको गति सामान्य भएको थियो ।

हण्डर, कष्ट, नियम–कानुन, सभ्यता, हाईपोक्रेसी, डिप्लोमेसी, ईमान्दारीता, समयको महत्व आदी ईत्यादी घरतिर न तिनले सिके न त सिकाईयो । जब लन्डनको एउटा शहरमा कामको मेलो बसाउन लाग्दा ती सबको आवश्यक्ता प¥यो तब पो थाहा पाए ।

‘मिस्टर यू–पाध्याय यू आर सो...ईनोसेन्ट !’ बल्ल हात लागेको काममा पनि ग्राहकसँग ‘डिल’ गर्न नजानेपछि कम्पनिको म्यानेजरले गुड बाई भनेको अहिले जस्तो लाग्छ उनलाई ।

पहिलो कामले केही दिएन । जिन्दगी मज्जाले जीउँछु भन्ने सपनालाई आँशु बनाएर पिउँनु नार्मदी हुन्थ्यो त्यसैले हण्डरहरु सिसिफस भएर खप्न बाध्य भए । हुनत अनिकालमा को राजा को रैती ? अनि बिस्तारै भेटेजति सबैखाले काम गरे उनले । सिटीभरी जेलिएका सव–वेभित्रको ओहोर–दोहोरले पाँच बर्षको अवधिमै धन कमाउने तिर्सना निकै मेटिदियो ।

तर लोभी आँखा पापी मन ! विदेश भनेकै प्लस र माईनसको शिलसिलामा चल्छ जस्तो ! कमाएर कहिल्यै नपुग्ने ! उनी पनि निकै बर्ष पछि मात्र बल्लतल्ल बेहुलो बन्न घरदेश पुगे । मागी बिवाह गरे । त्यसको छ महिनापछि श्रीमतीलाई पनि लण्डन ल्याए । घरजम राम्रै भएको ठान्छन् र सन्तोष गर्छन् हिजोआज । तर केही महिनादेखि भने श्रीमती उपाध्यायको किचकिचले हैरान छन् उनी ।
.....................................



श्रीमती उपाध्यायले घडी हेरिन् । रातको नौ बज्यो । उपाध्यायको बोतल आधा सिध्यिएको थियो तर छोराछोरी भने अझै घर आईपुगेका थिएनन् । शुक्रबार त नआए पनि हुन्थ्यो जस्तो लाग्छ उनलाई । छोराछोरीको ‘लेट नाईट’, लोग्नेको जाँड पियाई, अरु कति छन् कति चिन्ताका कुरा । घडीको सेकेण्ड सूईसँग प्रतिष्पर्धा गर्दै मन दगुर्छ यता र उता । तर समयलाई कसले जित्ने ? बाहिरको सानो कौसीमा निस्किन्छिन् । उनको मनमा रात छिप्पिए जसरी चिन्ता पनि छिपिन्छ । बाहिरका कसलाई सुनाउनु ? सबै बन्चरोका धार जस्ता छन् । तिनले थाहा पाए मन त छिनेकै छ तन पनि छिनाउन बेर नलाउलान् ।

कतिबेर उभिन सक्नु चिसो सिरेटोमा ! उनी छटपटिदै भित्र पस्छिन् र उपाध्याय छेऊ गई मौन बस्छिन् ।

“पिउँने हो अलिकति ?” जँड्याहालाई जाँड पाए के चाहियो ? धुम्धुम्ती झोक्राएर छेवैमा बसेकी श्रीमतीतिर फर्किदै सोधें उपाध्यायले ।

“छोरी यस बेलासम्म घर आएकी छैन । के आनन्दले रक्सी पिएको हो ?” आगोको भुङ्ग्रो जस्तो जवाफ फर्काईन् श्रीमती उपाध्यायले ।

“तिम्री छोरी......! होईन हाम्री छोरी ! के ऊ भर्खर खुट्टा टेकेर उभिन थालेकी हो र ? पखेटा पलाईसके । पखेटा पलाएको प्राणीलाई उड्न दिनु पर्छ ।” वाईनको घुटसँगै छल्किए उपाध्याय ।

“डाँडाघरेका खलकको यो गति मरेर गएका पितृले माथिबाट हेरिराखेका होलान् । देश त छोड्यौ अब कलिकति भएको धर्म पनि छोड ।” सत्तोसराप गरिन् श्रीमती उपाध्यायले ।

निकैबेर जुहारी चल्यो दुवैको ।

श्रीमान् उपाध्यायको वाईन ग्लास घरिघरी छेवैको बोतलमा ठोकिन्छ र टिङ्–टिङ् आवाज आउँछ । टीभीको ‘स्काई प्लस’ च्यानलमा केन्याको एउटा गाउँमा चेतनामुलक परिवर्तन भएको बिषयबस्तुमाथि बनेको डकुमेन्ट्रीको कत्रो तामझाम ! चाख मानेर हेर्छन् उपाध्याय, मानौ जीन्दगी उनका लागि उत्सव हो ।

“हैन कस्तो माथि हाम्रो ईलामतिर जस्तो पो देखायो त ! चियाका बगान ! लौ माटोको रङ्ग पनि मिल्ला जस्तै । हेर त ! गाडी कुद्ने सडकमा हाम्रैतिर जस्तो बिस्कुन सुकाएका !”

घरदेशै पुगे जसरी रौसिए उपाध्याय । आफ्नो माटोको रङ्ग, बनौट मुटुमै गडेको हुने जहाँ पुगेपनि । अपवाद को पो होला ?

“ईलाम र केन्या उस्तै देखेपछि अब हप्सीको कुरो के ठुलो भो र !” किन छोड्ने शिलशिला ? थपिन् श्रीमती उपाध्यायले ।

लोग्नेको कुरामा चाख छैन उनलाई । के केन्या ? के मलेसिया ? कामकुरो एकातिर कुम्लो बोकि ठीमीतिर लागेका लोग्नेले कहाँ पुर्याउने हुन् ? श्रीमती उपाध्याय लाचार सुँकसुँकाउँछिन् । धेरै अर्थ बोकेको उनको पश्चाताप पुर्ण सुँक्सुकाई, उपाध्यायले त्यसको अर्थ मारे त बुझुन् ! उनले आनन्द बुझेका छन् अर्थात ‘युरोपियन लाईफ’ ।

“आज त त्यो म्याडम ओकराकसँग जम्काभेटै भो ! कस्ती प्रफुल्ल थिई मूर्दा ! कानैछेउ आएर हाम्रो केही लाग्दैन बेकार त्यति लामो मित्रतामा फोहोर नफ्याँक भनेर गई ।” श्रीमती उपाध्यायको पनि किलकिले कहाँ हुनु ! लोग्नेको गाली खाईने थाहा हुँदाहुँदै पनि सुनाएरै छोडिन् ।

“मैले अफ्रिकन स्टोर नजानु भनेकै हो । भिण्डी र खोर्सानी नखाए के मरिन्छ ? गयो अनि समस्या लिएर आयो ।” उपाध्याय खनिए श्रीमतीतिर ।

“नगएर के गर्नु ? चामल दुई पाउण्ड भए पनि त्यही सस्तो छ । भिण्डीको के कुरा ? लौका, करेला, तरुल सबै त्यहीं ताजा पाईन्छ ।” बाध्यता सुनाउन त नम्र हुनै पर्यौ नि ! श्रीमति उपाध्याय पनि नम्र भएर बोलिन् ।

“त्यसो भए म्याडम ओकराकसँग नजर्किनु । उनले पनि तरकारी चामल किन्न त्यहीं जानु पर्छ क्यार ! त्यसमाथि आर्किटेक पढ्दै गरेको छोराकी आमा ऊ !” उपाध्यायको कुरामा खरोपन देखियो ।

हुनत म्याडम ओकराकले के बिगारेकी छ र ? अफ्ठ्यारो पर्दा सहयोग उसैले गरी । आफ्ना देशका चिनेजानेका त कता थिए कता ! अहिले पनि सहयोग गर्नु परे तैयार छ ऊ । आखिर उसको के दोष ? उसले त भनिसकी –‘हामी अरु नजिक भयौ ।’ श्रीमती उपाध्याय आफैं ओकराकसँग बटारिन थालेकी ।

ताना र बानाबिच लोग्नेस्वास्नीको मनभित्रको पारो आ–आफ्नै पारामा चढ्यो । के पो गर्न सक्छन् तत्काल श्रीमान् उपाध्यायले ? वाईन बोतल हातमा लिएर घुमाउँछन् । मिनेट नपुग्दै हातबाट बोतल चिप्लिएर खस्छ । डङ्रङ् आवाजले श्रीमती उपाध्याय झसङ्ग हुन्छिन् ।

“धन्न ........! हेर फुटेन ।” उपाध्याय बहादुरी ठान्दै बोतल देखाउँछन् ।

“भाग्य फुटिसक्यो बोतलको के कुरा ! जे भए पनि केही त गर्नै पर्छ नि ! बाबु भएर यसरी आनन्दले जाँडपानी पिएर बस्न मिल्छ ।” श्रीमति उपाध्यायको वकालत एक हिसाबले ठीकै थियो ।

“उता देशमा त जातीय विभेद अन्त्य भएर जातीय समानताको कुराले ठाउँ लियो भने हामी पनि यता महादेशीय समानतामा जानुपर्छ । हा.....हा....हा....!” जाँड लागेपछि उपाध्याय बाबु नभएर सस्तो नेता भएर बोल्न थाले ।

“आफूले कति दुःख गरेर हुर्काएकी छोरी उतै नेपालतिर लगेर राम्रो खान्दानी बाहुन केटासँग बिहे गरिदिउँला भन्ने थियो.......!” सुँक्क–सुँक्क सुनिन्छ श्रीमती उपाध्यायको रहरमा ।

“हैन चिन्ता किन ? केटो अफ्रिकन भएर के भो ? हामीभन्दा पढेलेखेका छन् आमाबाबु । तिनको जागिर हेर त ! केटो पनि आर्किटेक पढ्दै छ भनेको होईन ?” उपाध्यायले त जङ्गिएर समर्थन पो गरे ।

“उसो भए छोरी बिग्रको हेरिराख्नु ।” श्रीमती उपाध्याय लाचार हुन्छिन् ।

“मैले जति गर्नु पर्ने दुःख चिन्ता पहिल्यै गरिसके । अब यो रोगी ज्यानले कति नै पो थेग्ला ? चार बर्ष....? पाँच बर्ष......? म्याक्सिमम् दशदेखि बाह्र बर्ष ! छोराछोरी के ठिक के बेठीक जान्ने भैसके । खान नपाएर मर्दैनन् यी । हण्डर खान्छन् र चेत्छन् । यो पश्चिमा संस्कारमा भिजे उनीहरु । हाम्रो हस्तक्षेप मन पराउन्न । धन्न भगवान् ! गाँजा चरेसको लतमा लागेनन् भनेर चित्त बुझाउ । गर्ल फ्रेण्ड र ब्याईफ्रेण्डको कुरामा हामीले टाउको दुखाएर साध्ये हुन्छ भन्या ।” उपाध्यायले औला ठड्याई ठड्याई भने ।

दुई जोईपोईको विचारमै भिन्नता भएपछि कसको के लाग्छ । आफू ताक्छु मुढो बन्चरो ताक्छ घुँडो ! श्रीमती उपाध्याय फेरी बाहिरको कौसीमा निस्किईन् ।

आँगनमा कसैको केही चालचुल छैन । छोरीको फोनको स्वीच अफ छ । छोराकोमा डायल गर्दा ‘यू ह्याभ रिच्ड ईन भ्वाईस मेल बक्स’ भन्छ । कस्तो एक्लोपन ! कहिलेकाहीं त जीन्दगीलाई भकुण्डो खेल्न मन लाग्छ उनलाई । सबैथोक पाएर पनि माथि आकाशका जूनताराले केही आनन्द दिदैनन् अर्काको माटोमा । उनी आकाश हेर्छिन् । आधा चन्द्रमा, लाखौं ताराहरु , परिपरी बहेको उस्तै हावा.....! के फरक छ र ? तरपनि आफ्नो देशको आँगनबाट हेर्दाको जस्तो अनुभुत किन नभएको ? न पुर्ण नेपाली न पुर्ण बिदेशी ! दुई डुङ्गामा खुट्टा राखेर हिडेको मान्छेको गन्तब्य कसले अन्दाज नगर्ला ? मनभित्र कुराहरु छिचिमिरा निस्किए जसरी निस्कन्छन् क्षणभरपछि झर्ने पखेटा लिएर । बाध्यता ! उनले यो ठाउँ छोडेर भन्ने बित्तिकै उडिजान कहाँ मिल्छ ?

उनको ध्यान तान्यो तल आँगनको झिलिक–मिलिकले । सेतो रङ्गको बिएमडब्ल्यु कार रोकियो । कारको ढोका खोलेर छोरी निस्किई । म्याडम ओकराकको छोरो पनि अर्कोतिरको ढोकाबाट निस्कियो । राजेश खन्ना र हेमा मालिनीको पुरानो हिन्दी फिल्म जस्तो ! उनले आफ्नै छोरी आफैसँग नितान्त पराया भएको माथिबाट हेरिरहिन् ।

“मिस यु........।” केटोको आवाज सुनियो ।

“जस्ट टु मोर मन्थ ! द्यान आई विल वी उईद यू फरएभर.......!” छोरीले घरको मूल ढोकानेर उभिएर बोलेको चर्को आवाज माथि कौसीसम्म पुग्यो ।

अन्तत: म्याडम ओकराकले जिती छाडि । उसले छेवैमा उभिएर बेस्सरी गिज्याएको भान भो श्रीमती उपाध्यायलाई । उनका हातखुट्टा लुला भएर आए । बाहिरको चिसो सिरेटोको के प्रभाव ? श्रीमति उपाध्यायको निधार पसिनाले पुरै भिजिसकेको थियो । भित्र कोठामा टक्.....टक्.....बजेका छोरीका जुत्ताका हिलहरु अब उनका लागि टाढा–टाढा भैसकेका थिए ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 13 पौष, 2069

लेखकका अन्य रचनाहरु