फेन्टासी, यथार्थ र लेखकिय जीवन

- चन्द्र घिमिरे

चालिसको दशकले पाउलो हालेको वर्षहरू । धरान थियो मादक । मताउने यतिसरो कि हामी कविताको फेन्टासीमा बाँच्थ्यौँ । कवितामा जीउने भन्दा अर्को साँध सर्पन देख्दैन्थ्यौँ । बजिया...यो सबै गर्ने गराउने धरानै थियो कि ! केही अर्थाेक पनि थियो त उमेर !

हिंड्नै पर्ने बटमलाइनका केही सडकहरू थिए । भानुचौक, चतरालाइन, पुतलीलाइन, फुस्रे, देशीलाइन, छाताचौक, विजयपुरहरू । पुरानो बजार भएपछि जुरेको नयाँ बजार पनि । एउटा गोलार्धमा सानो यूरोप धरानको बिर्तामा थियो— घोपा–क्याम्प । बेलायती आर्मीका गोरा छालाका धनीहरू त्यहाँ बस्थे । तिनीहरू बेला–बेलामा घोडचढी गर्दै मेरै अगाडीबाट गुज्रिँदा म फेन्टासीको टाटेपाटे घोडामा उफ्रन्थेँ ।

नजिकै चारकोसे वनमा चोरले कुलेलम ठोके जस्तो गोरेटो र राजमार्ग भाग्थे । दर्शनार्थी र तिनका अछेता पर्खेका मन्दिरहरू बाझेका दाजुभाइझैँ विजयपुरभरि थिए । देशीलाइन सिद्राको गन्ध नथाकिकन हम्कि राख्थ्यो । मंगलबारे चिया पसलमा भोटेपुल र रत्नचोक बीचको ताजा ग्याँग फाइटको गफ चुटिन्थियो । झ्याप्ले शिवेले खैनी ओँठमा दबाउँदै लगत पेश गथ्र्यो । ‘आँखो देखा हाल’ कसकसले कति दनक दियो र खायो । मेरो कविताको फेन्टासी दौड्न्थ्यो मेरो गुन्द्रुके कपाल थप बिगार्दै ।

पानमाराकी भट्टराइनी बज्यै दुध बेच्न सेउती खोला तर्दै हुन्थिन । भेडेटारतिर राजारानीको देवान साइँला लामपाते रायोको डोको धरान खसाल्दै हुन्थ्यो । आइएस्सीकी गोलो अनुहारकी मिरा हात्तिसार क्याम्पस उक्लन्थी । मेरो साथी दिले उर्फ दिल बहादुर क्यारम बोर्डमा फुर्तीले क्विन खान्थ्यो । यस्तैमा मेरो काव्यिक फेन्टासी बिहानको घामझैँ बिरालो चालमा हुर्कन्थ्यो ।

धरानलाई दुई तिरबाट बाँकटे हानेका सर्दु खोला र सेउती खोला । पन्चकन्या वनमा धराने राजेश खन्नासँग मुमताज डेटिँग गर्थिन रे पहिले । एक जोडी धराने चेलीहरू राजेश खन्नाका खातिर घर छाडेर एकदिन मुम्बइ हान्निएको खबरले छोरीका अभिभावकलाई सँधै पिरोल्थियो । मेरो पुस्तामा धराने सँस्करणका कमल हसनसँग सल्केकी रति अग्निीहोत्री डेटिँग गर्थिन । पन्चकन्या वनको पोथ्रामा छलिएर । फेन्टासी सँगसँगै ।

पन्चायत समयमा पव्लिक स्कूलको चौर उदार थियो । जुलुस र नाराहरू एकसरो बजार परिक्रमा गर्थे । यस्तैमा जनमत संग्रह थियो । भाषण चल्दा चल्दै खैरो रंगको पुरानो चेक कोट लाएका गिरिजाबाबुलाई पव्लिकको मन्चमा पुलिसले लतारेको देख्नु प¥यो । कैलेकहीँ अनौठा अनुहार झुल्किन्थे छाताचोक तिर । हाम्रा कानसम्म कुद्दै खबर आइपुग्थ्यो । अमुक भूमिगत पार्टीका कामरेड हुन् । यी सप्पै राजनीतिक फेन्टासी रन्काउन काफी थिए ।

सबैलाई फेन्टासीको भागशान्ति थियो । ब्रिटिश आर्मीमा भर्ती लाग्ने अर्को लर्को । खाली चौर नदेख्दै दगुर्ने । कल्पन्थे छुट्टीमा घर फिरौँला । नरमायाँलाई यसपाला सिन्दुर हालौँला र घडेरी जोरौँला । बसपार्कमा खलाँसी गर्ने उत्तरकुमारको बुबा डिकबहादुर ड्राइभर बन्ने दाउ लाउँथे । सबै फेन्टासी ।

धनकुटे रोड बन्दै थियो पैँतिस साल अघि । एकरात किचकन्नी देखियो रे । देख्ने कामदारले दिनमा नदेख्ने र राती–राती मात्र देख्ने । सेतो सारी लाएर भर्खरै खनेको बाटोमा कसैलाई कुरेकी । खबर बाटो खनाउने गोरासापकहाँ पुगेछ । गोरा साप दिउँसोले हेर्दा पहरो फुटाउँदा एउटा ठूलो ढुंगो पल्टेको पाए । जतन साथ गाडीमा लोड गराए । किचकिन्नी मन्सियो । बाटो खन्ने कामदारले सन्चो माने । पछि सुनियो त्यो कुनै बहुमूल्य पत्थर थियो । धन कमाउन असफलहरूलाई यो फेन्टासी वितरणमा आयो ।

कवि वेणु आचार्य एकदिन निकै सिरियस देखिए । मसिनो स्वरका दाइले चश्माको नम्बर डाक्टरले दिँदा पनि किन्न नसकेको सुनाए । यसैले कविता नलेखेको गुनासो गरे । यस्तैमा दाइलाई स–सानो खर्च दिने अवसर मलाई पनि जुरेको छ । दाइको पिउने बानीको बद्ख्वाइँ चल्थ्यो दाइ–सर्कलमा । आदरणीय वेणु दाइ कविताको फेन्टासीमा बाँच्दैछन् ।

अर्का नरेश शाक्य दाइ । एकपल्ट भेट्न पुगेँ । धरानमा भाडाको सटरजस्तो एक्लो कोठामा । कविता लेखेका नोटबुकहरू बिस्कुन पल्टेका । ती ‘होलटाइमर’ कविले बिहे गर्न पनि नभ्याएका । झुस्स नाबालक दारी नमिलाइ राखेका । दोस्तोवयस्की, कामुका उपन्यास पढदा भेटिन्थे यस्ता पात्र । पृथक फेन्टासीमा होम्मिएका ।

‘होलटाइमर’ बारे कोलकातामा हिँजोमात्रै सुनिल गंगोपाध्यायलाई कोट््याएँ । सुनिल दाले कवि मित्र एलन गिन्सवर्गलाई सम्झिए । गिन्सबर्गले कहिलै जागिर खाएनन । भन्थे रे ‘सुनिल...कविले २४ घण्टा कवि बाँच्नु पर्छ’ । सुनिल दा थप्छन् अमेरिकामा ‘होलटाइमर’ बन्न संभव थियो । प्रवचन दिएको पारिश्रमिकले । भारतमा असंभव । मैले कोलकाताको आनन्दबजार लगायत अनेकन पत्रिकाहरूमा काम गरेँ ।

चैत्र २०६९ को एकदिन गफिँदै थियौँ कवि मित्र मनु मन्जिलसँग । प्रसँग आयो ‘अर्को जमात’ का धराने कवि रमेश के.सी.को । उनी पनि विगतमा गिन्सबर्गबाट प्रभावित ! गिन्सबर्गलेझैँ जीवनलाई अर्गनाइज नगर्नु उनको परिचय बनेथ्योे । मनु बोले ‘कविले पनि जीन्दगीलाई अर्गनाइज गर्न सक्छ’ । जेहोस रमेश फेन्टासीमा बेरिएका एउटा ज्यूँदो उदाहरण हुन ।

मसँग मास्टर बनुँला भन्ने स्वप्न थियो । त्यो पनि कुनै गरिब र विकट गाउँमा । जाजरकोटे आली टेक्दै हिँडेको देख्थेँ । बाजुराको कुनै स्कूले ब्लाकबोर्डमा चक घोटदै गरेको पाउँथे । हुम्लामा कतै हेड मास्टर भाको देख्थेँ ।

जिउन थोरैले फेन्टासी जारी राख्छन् । धेरैले रियालटीसँग अँगालो हाल्छन् । कसैले ती दुवैको एउटा इक्विलविलियम जुराउँछन् । लेखकको परिवार र समाजले पूर्ण–फेन्टासी शायदै रुचाउला ! आखिर समाज बजारबाट निर्देशित छ । बजारको कोरियोग्राफीमा तामझाम हुन्छ । बजारले फेन्टासीमा हैन, यथार्थमा बाँच्न उपभोक्तावादको स्कूलिङ दिन्छ ।

चवालिस सालमा काठमाण्डौ छिरेँ । फेन्टासीबाट ‘सर्कने’ क्रम त्यहीँनेर शुरु भएथ्यो । पैले नेपाल राष्ट्र बैँक र पछि नेपालको सरकारी सेवामा छिरेँ । मेरा समकालीक कवि मित्र श्रवण मुकारुँगले फेन्टासीमा जिउने कोसिस गरे । अझै गर्दैछन् । कुनै जागिरको पुच्छर निमोठ्दै हिंडेका छैनन । मैले त्यो सकिन क्यार ! शायद बैरागी काइँलाले सके । जगदिश घिमिरेले भ्याएनन क्यार !

यर्थाथको शरणमा पुगेपछि जागीरमा चुर्लम्म भएँ । जागीरले मेरो समय कब्जामा लियो । स्वतन्त्रता फुकाल्दियो । एउटा साँघुरो घेरामा बस्नु पर्ने भो । दश र पाँचको रुटिनभित्र बाँधिनु पर्ने भो । यस्तैमा लेखनलाई प्राथमिकता दिन सकिन । दुई दशक चिप्लेर खसेछ मेरो उमेरको आकाशबाट । कविताबाट पर सरेर ।

सरकारी जागीर साहित्य मैत्री छैन । साहित्य र सरकारी जागीर सँगै जान गाह्रो मान्छ । साहित्यमा आउन ईच्छुकहरूलाई सरकारी जागीरमा आउन म उत्साह दिन्न । सबूत छु म आँफै । छँदाखाँदाको दुई दशक गुमाएँ । ‘मौन शिविर’का सशक्त कवि विमल कोइराला आफैँ मौन भएथे ।

लु का चर्चित उपन्यासकार नयनराज पाण्डे सुनाउँछन् । यथार्थका पछि भाग्दा कैले फिल्म बनाउन दौडिएँ । अरु के गरँे–गरेँ जिउन । त्यस्तैमा पन्ध्र वर्ष सिध्याएँ । ऐले सक्रिय साहित्यमा फिरेको छु । कसो लु जस्तो उत्कृष्ट कृति बेपत्ता भएनछ उनको !

जागीरमा सन्केर बस्छ समय । ऊ रुटिनमा आबद्ध हुन्छ । समय नहुँदा ऊ भित्रको कुनै लेखन प्रोजेक्ट त्यसै मुर्झाएर बस्छ । एकदिन बिस्मृतिबाट घरबिदा लिन्छ । बिस्तारै भित्रै मर्छ । मरेको समवेदना कतै ननिस्कनेगरी । यस्तै भाको छ मलाई ।

जागीरमा बात लाउने नियम कानून छन् । आचारसंहितामा गर्ने भन्दा नगर्नेको लिष्ट लामो हुन्छ । यो ध्वँसवादी ज्यादा हुन्छ । जागीरे आचारसंहिताले उसको बिस्तारै हत्या गर्दै लैजान्छ । कुनै स्लो पोइजनझैँ ।

मलाई कैलेकहीँ वेश्यालय जान मन लाग्छ । कथाका पात्रहरू बुझ्न । गल्लीको कुनै मदिरालयमा पस्न र बस्न मन हुन्छ । कविताका प्लटहरू टिप्न । कुनै हाटमा भूइँमा बसेर चटकेको चट्क घण्टौँ हेर्दिन मन लाग्छ । तराइको कुनै मेलामा ‘मौतका कुंवा’ हेर्न मन हुन्छ । बात लाग्ने डर र तथाकथित प्रोटोकलले म त्यो सक्दिन ।

नेपाली साहित्यमा समूहगत चर्को मोर्चाबन्दी छ । समूह भएपछि एउटाले अर्कोलाई कन्याउने, अर्कोलाई फेरि अर्कोले कन्याउने । अझ ठूला मिडियाहाउससँगै भए ‘अलेक्जेण्डर द गे्रट’ पक्का । एकै बलिङमा अनेकौँ पुरस्कार । यो माहोलमा जागीरे लेखक बजारमा ‘लेक्टोजिन–बेबी’ भैmँ पछारिन्छ । कवि श्यामलले मलाई सुनाए ‘पोलिटिकली इनकरेक्टनेस’ खतरनाक छ ।

पागलपनको खाँचो हुन्छ लेखनमा । मेरो जागिरले पागल भएको सहँदैन । पागल भए त्यही अतो थापेर अवकाश दिने कानून छ । लेखकिय ‘एब्नर्मालिटी’ उर्जा हो । यो अनिवार्य नियतिबाट गुज्रिन दिँदैन हाकीम उत्पादन गर्ने हाम्रा जागीरे संस्थाहरूले । यसैलाई देखेर होला गिन्सबर्गले जागीरविहीन चौबिस घण्टे लेखकको वकालत गरेथे ।

घर पनि कैलेकहीँ बैरी भइदिन्छ । मेरै श्रीमती कैलेकहीँ झिँझो मान्छिन् । घण्टौँ लेखन र पठनमा झुण्डिएको देखेर । बास्तवमै लेखकले अन्याय गर्ने रैछ परिवारप्रति । लेखककी स्वास्नी दुखान्त बाँच्छे । लोकप्रिय लेखकसँग पाठक खुसी भएपनि परिवार खुसी नहोलान ? मेरो छोरो सौरभ दुइ–तीन वर्षको छँदा मेरो किताब मिल्काउँथ्यो च्यात्थ्यो । उल्लाई लाग्यो होला किताब पढ्दा बाबु हुनुको नियम उल्लँघन गर्दै थिएँ ।

सृजना–साधनाले ज्यामितिय उर्जा माग्छ । त्यो साधारण जीवन शैलीबाट शायदै संभव छ । यथार्थमा बाँचेको लेखकले यूनिक प्लट भेट्टाउँछ । तर कतिपयमा समाज विरुद्ध र कतिपयमा राज्य विरुद्ध लेख्नु पर्ने हुन्छ । लेख्ने र नलेख्ने ‘द्धन्द्ध’ हुन्छ । आखिर प्लटलाई थन्काएर मन मार्छ । लेख्दापनि यति बिम्बात्मक लेख्छ त्यो संपे्रषणीय हुँदैन । बिम्बात्मक र दुरुह लेखन सौन्दर्यका लागि मात्र लेखिएका होइनन होला । छल्नका लागि पनि होला !

एनडिटिभीमा लाइभ बहस चल्दैछ । दिल्ली विश्वविद्यालयका भीसि, लेखक चेतन भगत तथा शिक्षाविदहरू । दिल्ली विश्वविद्यालयमा यस वर्ष १०० प्रतिशत कट–अफ तोकेको बारेमा । सोध्छन् चेतन भगत म पचासी प्रतिशतले बाँचे । कता लैजाँदैछौ तिमीहरू यी होनहार विद्यार्थीहरूलाई ? यो प्रतिस्पर्धाको मामला हो । साहित्य अछुतो छैन । लेखक चाहे बाँचोस फेन्टासीमा, चाहे यर्थाथमा । चाहे होलटाइमर, चाहे पार्टटाइमर । चासो छ, कति संस्करण निक्लियो ? मार्कसिट बोकेको विद्यार्थी जस्तो लेखक ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 13 पौष, 2069

लेखकका अन्य रचनाहरु