नारायणी जीवनको गतिमा बग्छ

- रमेश सायन

नारायणी आसपासमा छु । साँझको एउटा रातो घाम धनीराम थारुको माछा मार्ने जालको अगाडिपछाडि पौडिरहेको छ । लाग्छ, यो साँझे घाम धनीराम थारुसँग बिदा माग्न उसको निधार भएर पानीमा पौडिरहेको छ । वारीपारि डुंगा तैरिहेका छन् । माछा मार्ने केही ठिटौलेहरु स्कुल पोसाकमै अइपुगेका छन् । केही थारु सुन्दरीहरु नदी किनारमा तैरिहेका छन् । पानीमा पौडिरहेको घाम कुनै शब्दसँग नसमेटिनेगरि कामुक उत्तेजनामा छ । सिंगो नारायणी रातो रगंमा पोतिएको छ । केहि पानी हाँस र बकुल्लाहरु घामको रंग चोर्न आइपुगेका छन् । पारी चितवनको जंगलमा चराहरुले लुकाइरहेको एउटा कुमारी संगीत नारायणीमा पौडिदैछ । म डुंगामा उभिएर कविहरु सम्झिरहेको छु । यो दृष्यसँग उनिहरुको काल्पानिक अनुहारको उत्तेजना सम्झिरहेको छु । उनीहरुको रहर र आँखाको लय सम्झिरहेको छुु । भावभंगी सम्झिहेको छु । केही कविलाइ त फोनैबाट सुनाइदिएँ घामको रंग र चराहरुको संंगीत, माझिको जाल र सुन्दरीको कपालबाट खसेको अन्तिम थोपा पानीको तप्केनी ।
मंसिरे हतार भर्खरै सकिएको छ । नारायणी आसपासका थारु भिलेजहरु फुर्सदमा छन् । अबेरसम्म तराईमा घाम खस्दैन । कारणमा बाग्लो हुस्सु छ । तथापि धर्म नछाडि नारायणीमा रंग थप्न आइपुग्छ साँझको रातो घाम । हात्ती सवार टुरिस्ट निकैबेर टोलाइरहन्छ किनारमा उभिएर । हातले पानी छुन्छ र घाम समात्न खोज्छ । पारी चितवनमा जंगल सफारी गरेर फर्कनेहरु घामलाई पछाडि पारेर थारु भिलेजमा बासबस्न आउँदैछन् । कोहि कोहि बयल गाडामा चडेर सुस्तरी लामा फाँटहरु आँखाले नापिरहेछन् । के सोच्दा हुन् यी दुरदराजबाट आइपुगेका फिरन्ते यात्री ।
नदी किनारको चौरमा तीन बृद्ध थारु आमाहरु घामको अन्तिम विदाइमा उभिएझै डिलैमा उभिएका छन् । तीनै जनाको अनुहारमा पाको हिउँद छ । गोधुली साँझ कुल्चेर गाइबाख्रा फर्काइरहेका छन् गोठ तिर । अनुहारको झेलिदो मासुले बुढ्यौलीको प्रमाण खोज्न गाह्रो हुँदैन । त्यही पनि पुरानो ट्याटुको दाग सुहाएकै छ पाखुरामा । अनुहारमा घामजस्तै सुकिलो मुस्कान छ । कपालमा नारायणीको पुराना हिउँद वर्षादका सेता चिन्नहरु छन् । उनीहरुको ओरिजिनल थारु अनुहार क्यामरामा कैद गर्न खोजें । तर, ती बुढो अनुहारमा पनि मध्य जवानीको लाज हाबी हुन्छ । केही बेरको अनुरोध पछि तीनै जना लाइनमा उभिन्छन् तर लुकाइदिन्छन् अगिको हाँसो , अगिको मुस्कान, अगिको अनुहारको तेज । म त्यत्तिकै गल्छु ।
पाइलैपाइलामा घामपानीको कला भेटिन्छ । पेन्टिगं चित्र जस्तो छ नारायणी । यता नवलपरासी झरेपछि मेरो फुर्सदिला शनिबार थारु भिलेज आसपास बितेका छन् । नारायणीे किनारमा पल्टेर आकास हेरी टोलाउँनुको आनन्द अर्कै छ । साना दुःखहरु विर्सन यता आउँछु । ठूला खुसिहरु साटन यता अउँछु । घाम पानीको रंग बेजोड सुहाएको छ, यो जंगलको वीचभागमा । एउटा फिरन्तेको लागि यो भन्दा धेरै सुन्दरता खोज्न कहाँ जानु छ र अन्त ।
नदी छेउ पल्टेर विर्सदै छु, जीवनमा कहिल्लै नसुहाउने आकार । अखबारका हेडलाईनहरु । सडक दुर्गटनाका दृश्यहरु । राजनैतिक समाचारका मेल बेमेलहरु । सबै विर्सदै छु । राजमार्ग छिचोलेर यहाँसम्म आइपुग्दैन देशको चिन्ता । जीवनको योजना र कार्यान्वयनका लामा सुचीहरु । बालुवामै खसि हरायो प्रेमिकाको डायरी र पुराना यादहरु । आमाको दिर्गरोग । मेरै अनुहारको अन्तिम हुलिया । मृत्युको चेतना । जीवनका हार जीतहरु । बिजय— पराजयहरु । सबैथोक भन्दा माथि छ यो नारायणी किनार । ॐ जीवन । म एक्लो छु । यहाँ मेरो संसार छ । यो नदीको किनारा विशाल छ । शान्त छ । यहाँ जीवनको तेज छ । गति छ । छुट्टै किसिमको लय छ । मलाई कसैले यो बालुवामा उफ्रदै गरेको देखे एउटा आफु अनुकुल परिभाषित चित्र भनि ठान्दो हो ।
म विहानको घाम सँगै यता आइपुगेको हुँ । तर, हुस्सुले म तिर ओर्लदै गरेको घामको बाटो आँखामा पर्न दिएन । पल्टिरहें चिसो बताससँग । बिहान आउँदा अर्कै थियो यो बगरको रुप । पानीको रंग । बतासको स्पर्श । अहिले फेरिएको छ । विहान एक हुल कागहरु यतैबाट जंगल पसेका थिए । कुहिरोमा काग एक गजबको संयोग । कता हराए हराए उड्दा उड्दै । पाइलाबाट जीवन हराए झै । सपना, रहर हराए झै । फरार भए कागका बथान । लगे एउटा कर्कस निजी संगीत जो लिएर आए थे आफैसँग । म पनि हराउन के बेर जीवनकोे बृत्तबाट । मेरो आयतन खुम्चन के बेर यो हिउँदे नारायणी खुम्चे झै । जीवन यही नारायणी त हो नि, कहाँ कहाँबाट बग्दै बग्दै ओरालो खस्छ । म आमाको काखबाट बगे नारायणी माथि हिमालबाट बग्यो । आमा र हिमाल उस्तै त हो । कहाँ पुग्नु छ नदीलाई ? र भेट्नु छ गन्तव्य । ओरालै बगिरहन्छ । न फुर्सद छ, न हतारको बेग । एक चालमा दौडिरहेछ वरपर सेताम्मे कास फुलाएर धिमा हिउँदे नारायणी ।
म पनि त बगिरहेछु । मृत्युको महासागरतिर । जीवन पनि त चलायमान छ । चलिरहन्छ । नदी झै बगिरहन्छ । यो नारायणी थुनेर कहाँ रोकिन्छ । जीवन पनि त रोकिदैन । जन्मनु मृत्युको लागि नै हो । मुहान पनि बग्नकै लागि हो । म जन्में मर्छु । नारायणी जन्म्यो बग्छ । मेरो मृत्यु झै यो नदी महासागरमा विलाउँछ । त्यस बेला मेरो आँखाको नारयाणीले आफु बग्नुको परिभाषा कहाँ पाउँला । माथि—माथिबाट बगि आएर सागरमा जम्नुको पीडा कसरी अनुभूत गर्ला । यो छातिमा नचाइ हिड्ने माझीको डुगांको चाल नारायणीले, महासागरमा कसरी सम्झला ? ओरालो बग्दै गए सिंगो नारायणी नुनिलो गन्दमा फेरिएला । ॐ नारायणी ।
मेरा पुर्खाहरु विलाए, र म आँए । म पनि विलाउँछु र मेरा सन्तानहरु आउँछन् । उनीहरु पनि मृत्युको महासागरमा विलाउँछन् । आखिर आउँने विलाउने क्रम नदी बग्नु जस्तै हो । बगिरहन्छन् । यो सिंगो मानबसभ्यता बगिरहन्छ ।
घाम हेर्दाहेर्दै विलायो । आखाबाट खस्यो । अब रंगहरु कतै छैन । विस्तारै धमिलो कालो रंगमा फेरियो नारायणी । बिहान अर्कै थियो । अगिसम्म पानीमा रंग घोलिरहेथ्यो र अहिले एकदम कालो भएको छ । ठ्याक्कै फेरिदो जीवन बगेको छ, नारायणी ।
नारायणीले बेद बगाइ लान्छ । कुरान, त्रिपिटक, बाईबल बगाइ लान्छ । यशु लैजान्छ । बुद्ध, कृष्ण, पैगम्बर महमद बगाइ लान्छ । मस्जिद, मन्दिर, गुम्बा, चर्च बगाइ लान्छ । नदी सबै आस्थाहरुको बेग हो । नदी आस्थाको पनि आस्था हो । यो सँग भेद छैन, विभेद छैन । आफ्नै रुप छ । आकार छ । यो धर्म चिनेर प्यास मेटाउँदैन ।
मेरो छायाँ हरायो । हिजो साँझ पनि हराए थियो । घाम थियो र छायाँ थियो । अहिले घाम छैन र छायाँ छैन । यसैगरि जन्मेदेखि हरेक साँझ छायाँ हराएको छ । अब विस्तारै जीवन पनि हराउँछ र एउटा जीवित संसार सधै छायाँ हराए झै हराउँछ, घाम बाट । म नदी किनारामा आजको छायाँ हराएर फर्कदै छु । डुब्दै गरेको घामसँग आजको अन्तिम आयु बाँचेर पर्केदै छु । आजको मेरो आयु यही नारायणीले बगाइ लग्यो ।
फर्कदै गर्दा अलिकति जंगलको बाटो हिंड्छु । अग्ला रुखहरुबाट पातहरु खसिरहेका छन् । पातमा एक किसिमको लय छ । यसमा पनि जीवनको संबाद छ । यी पातहरु पनि समयसगैँ बगिरहेका छन् । यी हाँगाहरुमा पनि समयको तेजाब छ । यी रुखका जराहरुमा पनि बेग छ । पुरै अध्यारो भैसकेको छ । थारु भिलेजको अलिकति बिजुलीको चमक आँखामा देखिदै छ । सम्झन्छु, अगिका ती बृद्ध थारु मुस्कान । नारायणी साँक्षी बसेको उनीहरुको थोते मुस्कान पनि ओरालै बगेको छ नत्र मुस्कानसँग जीबनको के लेनादेना हुँदोहोर मुस्कानकमा बुढ्यौली चडदो हो ।
सीधा सेतो बाटोमा म एक्लो छु । पछाडि फर्केर हेर्छु । निकै पर नारायणी यो तराईको शीतमा ओसिलो बगेको छ । आफ्नै गतिमा जीवन बगेको छ ।



प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 7 पौष, 2069

लेखकका अन्य रचनाहरु