'कान्छो सार्की कथासङ्ग्रह' : विश्लेषणात्मक अध्ययन

- उपेन्द्र पागल

पृष्ठभूमि
मलाई थाहा छैन मान्छेले मान्छेलाई कसरी चिन्दछ र गहिरो मूल्याङ्कन गर्न सक्छन् । मैले कृष्णलाई कंशको दरवारमा जाँदा भगवान श्रीकृषलाई विभिन्न वय, मनस्थिति र आचरण अनुसारका मान्छेहरूले आफू अनुकुल देखेझैं चिनेको होइन तर बुझेको छु । बुझेको कुरा हृदयमा रहन्छ जसलाई शब्दद्वारा चित्राङ्कन गर्न सकिन्न जस्तो लाग्छ । संवेदनको चोखो अभिव्यक्ति क्षमता लिएको पुरुषको रुपमा मैले कृष्णलाई मानेको छु । ऊ पत्रकारको सर्टिफिकेट लिएर व्यवसायमा उठेको मान्छे जस्तो लाग्छ । तर व्यवसाय नै सर्वस्व हो भन्ने नठानेकोले ऊ एक अत्यन्त गहन संवेदनलाई पनि परिवेश र परिस्थितिमा मिलाएर प्रस्तुत गर्न सक्ने असाधारण क्षमता भएको मान्छे हो भन्ने कुरा मैले एउटा लामो समय भित्रको सङ्गतमा रहेर पनि ४।५ वर्षको पछिल्लो सङ्गतले बुझेको हुँ ।
उसमा असाधारण भाषिक क्षमता छ । नियात्रामा होस, स्तम्भ लेखनमा होस, निवन्धमा होस या कथामा होस् जुन विधा समाते पनि भन्नु पर्ने कुरा बाँकी नराखी निथारेर भन्ने अर्थात् सम्पूर्णता लेखन गर्नसक्ने क्षमता उसमा देख्छु । कविताको क्षेत्रमा मनु मञ्जिल, नारायण तिवारी कथा क्षेत्रका पुण्य खरेल, भवानी क्षेत्री अनि कृष्ण अधिकारी यी सबै एउटै साँचामा ढालिएका दुई पाटाहरू हुन जस्तो लाग्छ । मलाई पूर्वाञ्चलका यी उदीयमान र स्थापित लेखकहरूको व्यूह स्वरुप हुन यिनीहरूले नेपाली कथा कविता क्षेत्रका पूर्वाञ्चलका हस्तीहरू हुन् ।
यस कथा सङग्रहका कथाकारले लेख्छु भनेर कहिल्यै लेखे होलान् जस्तो लागेको छैन जब उसमा मन र विचारले घर जमाउँछ र फत्किएर छड्किन थाल्छ अनि नलेखि नसक्ने अवस्थामा पुगेपछि मात्र उसले लेखेका कथाहरू हुन् । कृष्णले जुन वस्तु छुन्छ नि त्यो वस्तु पारसमणिले जुनसुकै धातुमा छुँदा पनि सुन भएझैं सुन्दर रुपाकृति र कलात्मकता पाउँदो रहेछ भन्ने अनुभूति गर्न यसै सङग्रहका कथाहरूलाई प्रमाणको रुपमा लिन सकिन्छ ।
यति सुन्दर र संवेदनशील हृदय लिएको कृष्णको अल्छेपनको मूलकारण हामीले नै खोतल्नु पर्ने हुन्छ र क्षमताको प्रदर्शन गर्न नचाहने कृष्णले बुझाउन सक्नु पनि पर्छ । प्रतिभा पोको पारेर खोपामा राख्यो भने त्यो तुहेर जान्छ । प्रातिम क्षमता भएका व्यक्तिहरू मैले निकै देखेको छु । उनीहरू क्षमताको प्रसङ्ग उठाएर तपाइहरूका प्रातिभ क्षमतालाई पुस्ताहस्तान्तरण गरिदिनुहोस् भनेर स्रष्टा क्षमता भएका व्यक्तिलाई आग्रह पनि गरेको छु तर उनीहरूले त्यसको वास्ता गरेनन् र आफू जीवितै हुँदा एउटा कृति पनि दिन सकेनन् र आफ्नो अवसान पछि छोराछोरीहरूले प्रकाशन पनि गरिदिएनन् । ती धेरै मध्ये एक हुन् मेरा सहपाठी स्व. डिल्ली प्रसाद भट्टराई र अर्का सहकर्मी मित्र हुन् स.प्रा. गिरीधरण शर्मा अरुहरू पनि त्यस्ता थुप्रै साथीहरू हुनुहुन्छ जसको नाम लिनु उचित लागेन ।
विषय प्रवेश
२०५६ सालमा प्रकाशित भएको उनको संस्मरणात्मक निवन्ध सङग्रह ‘जर्मन यात्रा’ मैले पहिले नै पढेको थिएँ । २०५२ साल देखि म सुकुना जाने र ९।१० वजेतिर फर्कने क्रममा भेटघाट हुन्थ्यो । म उनलाई उक्साउने पनि गर्थें तर सधैं व्यस्त कृष्णले अवसर पाउन सकेको थिएन ।
अफिसर्स क्लव सुनसरीको वार्षिक मुख पत्र मेरा आफ्नै किताव र जुहीका विभिन्न अङ्कहरू छाप्ने क्रममा हाम्रो अलिक बाक्लो भेट हुन थालेको हो । २०६५।६६ का विच दुई वर्ष र साहित्यिक सद्भाव यात्राका ११ औं यात्राहरू भित्र हामी अलि बढी रूपमा बाक्लियौं । हाम्रो सानिध्य औपचारिकता बाट हटेर अत्यन्त निकट र व्यवहारिक हुन थाल्यो र हामी कथाका प्लट सोच्ने, विमर्श गर्ने र लेख्नु पर्छ भाइ कृष्ण भन्ने र उसले त्यस प्लटको कथा नसुनाइ नछाड्ने प्रविधि र चाल मैले अवलम्बन गरें । त्यसै सन्दर्भको पहिलो कथा हो कान्छो सार्की । परिवेश चित्रण संवेदनाको गहन र कल्पनाको प्राचुर्य रहेको उनकै जीवनको अर्को पाटोको प्रस्तुति झैं लाग्ने यो कथा सुनेपछि कृष्णमा आख्यानकार व्यक्तित्वको उज्यालो पक्ष देखेको थिएँ र यस कथालाई लघु उपन्यासमा रुपान्तरण गर्न पनि भनेको थिएँ ।
काठमाण्डौ गएका वेला ढाड सड्किएर ८।९ दिन थला पर्दा दोश्रो देखि.....सम्मका कथाहरू काठमाण्डौ वस्दाका सिर्जना हुन् । त्यसपछि अरु ५।६ वटा कथा थप्न भनेको थिएँ । हामी इटहरी विराटनगर गर्दा पनि उनका कथाहरूको नवीनपन र प्रस्तुति शैली संवेदनशील भावाभिव्यक्तिका वारेमा भनिरहन्थें जे उसमा क्षमता थियो । त्यसलाई म त्यत्तिनै भन्थें र उसमा आत्म विश्वास मात्र जगाउने काम गरीदिन्थें । एउटा हीरामा भएको कोइलाको दाग मात्र हटाइदिने गर्थें । ज्योति त हीरा भित्र आफैंमा थियो । त्यही ज्योति लिएर ३ वर्ष अगाडि नै प्रकट हुनु पर्ने कथाकार २०६७ को पटाक्षेप र ०६८ को नयाँ दैलो उघार्दै प्रकट हुन लागेको खुशी छ मलाई भने आख्यानकार व्यक्तित्वको ३ वर्षको इतिहास खण्डित बनाएको पीडा पनि छ ममा । कान्छो सार्की तिनै पीडा र खुशी भित्रको एउटा एल्वम हो ।
‘कान्छो सार्की’ शीर्षक कथा सङ्ग्रह भित्र जम्मा १७ वटा कथाहरू संग्रहित रहेका छन् र यो छिट्टै प्रकाशित पनि हुँदैछ । यस भित्र रहेका कथाहरूमा संवेदन, संप्रेषणीयता संवेगको ...पाइन्छ । यी तीन तत्वका कारण पुस्तक छोएपछि छाड्न मन लाग्दैन । यी कथाहरूले चयन गरेका पात्र, परिस्थिति र परिवेशले कही रुवाउँछन् कहीं खुच्चिङ भनाउँछन् कहीं परिस्थिति जटिलताको उपस्थिति गराएर त्यसबाट मुक्ति लिन्छन् र मकानवियताको वकालत गर्छन् । एउटा कुनै पात्र उभ्याएर उसका चारित्रिक विशेषताहरू खोतल्दै संवादात्मक शैलीका माध्यमद्वारा तर्क सम्मत तरिकाले मानव मनका अन्तर तह सम्म पु¥याउनु त्यस मन भित्रका सत्यहरू उद्घाटन गराएर पाठक मन छयाङ्ङ पार्न सक्नु कथाकारको ठूलो विशेषता र प्रवृत्ति रहेको पाइन्छ । कथा सिर्जनाको ढाँचा संगठन विकास र प्रवृत्ति हेर्दा लेखकले यी कथाहरूलाई प्रथम चरणका रचना अन्य गाह्रो हुन्छ । यी अभ्यासिध चरणका कथा होइनन भन्े भान हुन्छ तर यी कथा उनको कथा यात्रा प्रारम्भ गराउने कथाहरू नै हुन् ।
कथाको विश्लेषण
यस सङग्रहको पहिलो कथा एउटी आइमाइ हो । यस कथामा प्रयोग भएकी यो आइमाइ स्वावलम्वी, स्वाभिमान युक्त विदुषी र साहित्य प्रेमी गुणग्राही स्वभावकी छ । प्रोफेसरको जागिरबाट निवृत्ति भरणमा निस्किएर पनि सानो चियापसल गरिरहेकी पतिले छोराका निम्ति अर्को विवाह गरेकाले भौति अंश पति र धन सम्पति केही नलिएकी साहित्यको मर्मज्ञ विदुषी हुन् इष्टा ।
यसमा अर्का पात्र छन् सुधर्मा यिनी राम्रा साहित्यकार र दार्शनिक पनि हुन् । यिनैको एउटा कितावको दर्शनका कारण आत्महत्या गर्न लागेकी इष्टाले यो जीवन लिइन र सुधर्माको खोजीमा आएर भेट्टाइन् पनि तर साहित्यमा लागेर सम्पति कमाएन भनेर उनकी पत्नी र छोराले त्यागिदिएका छन् । दिल्लीमा नाच्ने र गाउने होटल खोलेर बसेको सुचना छ । सुधर्मा नारायणीको बृध्द आश्रममा बसेका छन् ।
यस कथाले नारी जातिका दुई भिन्न वर्गको स्वार्थि र ऐश आराम परक चरित्र र विवेकशील स्वावलम्वी र स्वअस्मिता वोध गर्न सक्ने वर्गको प्रतिनिधित्व गरेको छ । सुधर्माका माध्यमद्वारा असल साहित्यकारको संरक्षण त परै जाओस् पहिचान सम्म गर्न नसक्ने देशका साहित्यिक संस्था रसरकारलाई पनि इष्टाले चुनौति दिएर सुधर्माको संरक्षण गरेकी छन् ।
‘त्यो कुकुर पनि अब रहेन’ यो कथा माओवादी सैनिक क्याम्प भित्र हुने गरेका ज्यादतिपूर्ण कार्यवाही र परपिडकहरू एवं यौन लिप्सामा टाँसिएका जुका जस्ता कमाण्डरहरूको कथा हो । अनि त्यही क्याम्पमा मारिएको आफ्नो लोग्नेका हत्याराहरू सँग प्रतिशोध लिनसक्ने एउटी साहसी र बहादुर नारी शक्तिको पनि कथा हो । ‘केही पाउन केही गुमाउनु पर्छ’ भन्ने धारणा लिएकी १ छोराकी आमा र एकल महिलाले आफ्नो अस्मिता दाउमा राखेर पनि आत्मदाहा दवाएर पनि प्रतिशोध लिएरै छाडेको कथा हो । यसमा मानवीय विवेक एउटा कुकुरको जति पनि हुन नसकेको गहन व्यङ्ग्य समेत पाइन्छ ।
तेस्रो कथा ‘कान्छो सार्की’ हो । यो कथाको शैली निवन्धात्मक र पूवै दीप्तिमा आधारित छ । निस्काम कर्म योगी कान्छो सार्कीमा भएको निश्छल पन, सोझोपन, स्नेही भावना, वालप्रेम पशुप्रेम एवं सहयोगी र श्रमशील चरित्रको उद्घाटन गरि पहाडी गाउँको अत्यन्त विपन्न वर्गमा पर्ने .....व्यक्तित्वको ...भरिएको पाइन्छ । कान्छो सार्कीमा भएका रुढीगत मान्यता, धर्मभिरु पना र ठट्यौले पन सबैलाई आदर र सहयोग गरेका कारण आफ्नो लागि पनि सवैले सहयोग पाएकाले मिलनसार एवं उदार व्यक्ति चरित्र लिएको छ । गोरुलाई आफ्नो बाउका रुपमा मान्ने यसमा पशुवाच्य वा इशारा पनि बुझ्न सक्ने हक्ति रहेको छ ।
लेखकको वाल्यकालको साथी र साथी भन्दा बढी अभिभावकका रूपमा यस पात्रलाई त्यहाँको प्रकृति, जनजीवनको संकेतका साथै कथाकारले आफ्नो गाउँ दिङ्लाको सिलचुङ् गा.वि.स.को जामुने गाउँ प्रति वाल्य मोहलाई जीवनको उत्तरार्ध प्रवेशका चरणमा त्यस महामानव र गाउँ प्रति सम्मान जन्माएको पाइन्छ । संवादात्मक, वर्णनात्मक, संवेदना र अन्तरद्वन्द्व युक्त अलङ्कृत भाषाको प्रयोगका कारण कथा संप्रेषणीय बन्न पुगेको पाइन्छ ।
चौथो कथा ‘अर्काको छोरो’ हो । यस कथामा आन्तरिक द्वन्द्व र फ्रायडीय मनोविश्लेषण म पात्र अर्थात् लाजवन्तीका माध्यमद्वारा उद्घाटन भएको पाइन्छ । लाजवन्तीको पति रोहण हो । ऊ आफ्नै अफिसलाई आएको कोटामा अमेरिका जानेमा चुनिएको छ तर ऊ लाजवन्तीलाई एक्लै छाडेर अमेरिका जाने उत्साह लिएको छैन । आफ्नै पत्नीका कारण ऊ अमेरिका जान उद्यत हुन्छ र एउटा छोरालाई वोडर्स गराइदिएर घरधन्दा र श्रीमतीको साथीको निम्ति आफ्नो गाउँबाट आमा पोइल गएकीले दुःख पाएको कुन्दन भन्ने केटालाई ल्याएर घरमा राखिदिई श्रीमती सँग विदाइ भएर रोहण अमेरिका अध्ययनका निम्ति साढे तीन वर्षका निम्ति जान्छ ।
लाजवन्तीका आन्तरिक द्वन्द्वको प्रवलता बढ्दै जान्छ । ऊ रातमा निदाउन सक्तिन र एकदिन कुन्दनलाई आफ्नै ओछ्यानमा सुताउँछे । यसपछि एकदिन रोहणको फोन आउँछ ऊ अरु दुई वर्ष आउन नपाउने भयो । लाजवन्तीलाई भाउन्न हुन्छ ।
विदेश गएका लोग्नेमान्छेहरूकी श्रीमतीहरूको भेला हुने ठाउँ लाजवन्तीसँग विचार मिल्ने साथी रामेश्वरीकोमा गएर भेला भएका आइमाईहरूले छिल्लिएको सुनेर आफू पनि हाँसोमा हाँसो मिसाउँछे ।
आज राति कुन्दनको शरीर उसले छामेर नापी र रोहणले लिएर आएको अवस्थाको पनि कल्पना गरी मनोकल्पना भित्र रोहण कुन्दनमय भयो । उसलाई कुन्दनले तेल लगाइ दिएको जिउ थिचिदिएको पनि संझी र कुन्दनका गुप्ताङ्गहरू उत्तेजित बनाएर ऊ निदाई । विहान उठ्दा कुन्दनले असजिलो माने पनि लाजवन्तीले असजिलो मानिन । अन्त्यमा लाजवन्ती रोहणकै कल्पनामा प्रथम दिवसीय सुहागरात संझिरहेको आनन्द लिइरहेको अवस्थामा रोहणमा कुन्दनलाई पाउँछे र ऊ पनि योग्य भएको ठह¥याउँछे । अन्तरद्वन्द्व र कल्पनाको अत्यन्त रोचक र उत्तेजक यौन कथा बन्न गएको पाइन्छ ।
पाचौं कथा ‘अतृप्त यात्रा’ हो । यो कथा अहिलेका काला व्यापारीहरूको प्रतिनिधिमूलक कथा हो । यसमा ४ प्रकारका चरित्रहरूको उद्घाटन भएको छ । १. काला वजारी गर्ने व्यापारी दुःखेन्द्र दास, २. एक नैतिकवान सेवा निवृत्त मास्टर.... ३. दुःखेन्द्रलाई छाडेकी श्रीमती सरिता ४. दुःखेन्द्रकी छोरी रिना र छोरा ५. दुःखेन्द्रकी टाइपिष्ट ।
दुःखेन्द्र पढाइमा त्यति तेज नभएपनि सामान्य व्यक्तित्वबाट व्यवसायको कारण उठेर प्रगति गर्दै अन्तराष्ट्रिय व्यापारीको रूपमा सम्पत्ति, ख्याति र सम्मान प्राप्त व्यक्तित्वका रूपमा विकसित भएको कथाको केन्द्रिय व्यक्तित्व हो । यसमा सम्पत्ति नै सबै थोक हो सम्पत्तिबाट जे पनि उपलब्धि हुन सक्छ भन्ने उसको अहम् आफ्नै पारिवारिक विद्रोह विखण्डित अवस्थाले भताभुङ्ग भएको छ र विगलित अवस्थामा पुगेपछि आत्मवोध लिएको छ ।
अर्का सेवा निवृत्त शिक्षक छन् । यिनी आत्म सन्तुष्ट स्वस्थ छन् अरुलाई पनि सन्तष्ट एवं स्वस्थ हेर्न चाहन्छन् । शिक्षक भएकाले आफ्ना विद्यार्थी र चिनेजानेका व्यक्तिहरूको हित र प्रगति हेर्न चाहन्छन् ।
सरिताले दुःखेन्द्रसँग प्रेम विवाह गरेकी हुन् तर दुःखेन्द्रको सम्पत्ति मोह तिर मात्र लहसिएको व्यवहार र परिवार प्रतिको अनास्था कारण उनको हृदयबाट प्रेम उखेलिएकोले घर नफर्कने निर्णय लिएर माइतीको सहारामा बसेर सम्पत्ति विहीन तर सुखी जीवन बाँच्न चाहेकी छ ।
दुःखेन्द्रकी छोरी रिना एस.एल.सी. परीक्षा दिएर १६ वर्षकै उमेरमा मास्टरलाई अभिभावक मानेर एउटा इलेक्ट्रीक दोकाने सँग विवाह गरी सानो र सुखी गार्हस्थ जीवन प्रारम्भ गरेकी छ ।
दुःखेन्द्रकी अफिसकी टाइपिष्ट केटीले चाहिं दुःखेन्द्रको गलित जीवन स्वीकार गर्न इन्कार गरी दुःखेन्द्रलाई आत्मचेतना प्रदान गरेकी छ ।
यस कथा मूल सार हो सम्पत्ति मात्र केही होइन स्वास्थ्य र पारिवारिक माया प्रेमको नै ठूलो महत्व रहन्छ भन्ने उद्देश्य सञ्चार गर्नु हो जुन कार्यकारणका....बाट सफल कथा बन्न गएको छ ।
छैटौं कथो ‘आधुनिकता’ हो । यस कथामा पूर्व दीप्ति शैलीको प्रयोग गरी काशीरामको कथा व्यक्त छ । गाउँको स्वतन्त्रता र शहरको खोक्रो आडम्बरी र सिनो जस्तो गन्हाउने पन प्रति वितृष्णाको अभिव्यक्ति र विधुरहरूले वुहारी नाति नातिनीहरू परित्याग गरेर वृध्दाआश्रमको आश्रय लिनु पर्ने परिस्थितिको दुई पुस्ता वीचको संवेदनाको खाडलको संकेत र संवेदना युक्त कथा हो यो । आनि आधुनिकता प्रति संवेदनाहीन सन्तानहरू प्रति गहन व्यङ्ग्य पनि हो । जुन् काशीरामको र उनकी स्वर्गीय पत्नी विशालाक्षीको केन्द्रीयतामा र छोरा वि.ए. राम आधुनिक बुहारी आधुनिक नाति नातिनीका परिधियता र वृध्दाश्रमका माध्यमद्वारा व्यक्त छ ।
काशीरामले त्यस मान्छेको हात एउटा नोट लिए । हावामा हल्लाएर मेनेजरलाई सोधे– मेनेजर वावु यो के हो ?
एक हजारको नोट ।
यो मेरो छोरो हो त ?
हैन ।
यसमा आत्मा छ ?
छैन ।
यसमा प्रेम देखिन्छ ?
देखिंदैन ।
काशीरामले नोट त्यो मान्छेलाई फिर्ता दिएर भने–वावु ! नोट त मैले पनि कमाएँ । घिउ बेचेर कमाएँ, खसी बोका बेचेर कमाएँ, कोदो मकै बेचेर कमाएँ तर मैले सन्तान कमाउन पिकन छु, प्रेम कमाउन सकिन छु । यो पैसा तिम्रो हाकिमलाई फिर्ता लगिदेऊ र के भनिदेऊ भने सत्तरी नाघेको वृध्दालाई कटकटे नोटको दया होइन माया चाहिन्छ । मद्यौरु पर्दा टाउकामा राखिदिने न्याना हात चाहिन्छ.......।
सातौं कथा ‘छोरी’ हो । यस कथाकी केन्द्रीय पात्र अर्चना हो । डेढ वर्षको हुँदा आफ्नो वावु वितेकाले वावु भन्न नपाएकी, आमाले छोरी अङ्गभर गर्ने शर्तमा दोश्रो घर वसाएकी मातृ पितृ स्नेह बाट वञ्चित ट्राफिक प्रहरीमा काम गर्ने केटीको कथा हो यो । यस कथाका समाख्याता एक विवेकहील, तार्किक र स्नेहशिक्त वृध्द व्यक्ति हुन् । उनैका माध्यमद्वारा अर्चनाको शून्य मन र जीवन कथाको उसमा भएको संवेदनशील हृदयको कोमल भावुभ मनस्थितिको ज्ञात हुन्छ । यस पात्रले म म पात्रका माध्यबाट अर्चनाले अटुट कामनाको वा आमा दिदी वहिनीहरूले भरिएको ममतापूर्ण र विवेकी र संवेदनशील परिवार भित्र आफूलाई एक सदस्यका रूपमा स्थापित गर्न सफलता पाएकी छ । यो कथा बुझ्न र रुन अनि विरेचित हुन यो कथालाई अद्योपान्त पढ्नुपर्छ ।
आठौं कथा ‘पिण्डको जोहो’ हो । छोरा नहुने युगलहरू प्रति धर्मभिरुले गर्ने उपदेशको श्रृङ्खला पछि निदाएका युग दम्पतिहरूको मनाकांक्षा खास गरेर पुरुषका माध्यमद्वारा स्वप्न शैलीको प्रयोग गरी लेखिएको कथा हो । यही स्वप्न भित्रै छोरा जन्मिन्छ, हुर्कन्छ, बढ्छ र कक्षा १२ सकेर ऊ सहर गएपछि एकदिन वेलायत जाने भिसा लिएर आउँछ र उसको सुन्दर भविष्यको निर्माण गर्न वेलायत जाने भन्छ । उसलाई विदाई गरेपछि कथा वक्ता म पात्रको निन्द्रा टुट्छ । उसकी छोरीले ठूलावालाई संवोधन गरेर भन्छे– “भाइ त कुहिरेको देशतिर गयो ठूला बा ! अब त हाम्रो वावालाई हामीले नै पिण्ड खान दिन्छौं ।”
अहिलेको आधुनिकता र रूढीवादी धर्म भिरुतापूर्ण समाज प्रति यस कथाले गहन व्यङ्ग्य गरेको पाइन्छ ।
नवौं कथा ‘मृत्यु सुख’ हो । यो कथा आफ्नै कोठेवारीमा गोमन सापले टोकेर आफ्नै गाडिमा अस्पताल पुगुञ्जेल र अस्पतालको उपचार क्रममा ३ घण्टाका अर्थात् जीवन शक्तिहीन स्वप्निल अवस्थाको तान्द्रिक सुख हो भने यो कथा सुनेर प्रभावित हरि कृष्णले आफूले भोग्न चाहेको मृत्य सुखको कथा जोडिएको यस कथामा हरिकृष्णको आत्म जीवन दर्शन पनि उद्घटित भएको ऊ आफ्नी श्रीमती रुक्मिणीलाई अन्त्य अवस्थामा संझाउँदै भन्छ– “हामीलाई अलग अलग मस्तिष्क दिएको छ ः अलग अलग सोच्ने तरिका र सामथ्र्य दिएकाो छ । अलग अलग इन्द्रिय दिएको छ । यस मानेमा प्रकृतिको आशय के हुन्छ भने– तिमी मेरो ..........। कथा भित्र आरोपित यही हरिकृष्णको दर्शन हो र ऊ शान्त र सुखी भएर मृत्यु सुख भोग्न चाहन्छ जो सबैको अन्तिम परिणति नै हो ।
दशौं कथा ‘स्पर्श (आत्मविक्रय)’ हो । यसमा एउटा होटलमा जीवनको वाध्यता बोकेर देह व्यवसाय गर्न आएकी एउटी आइमाईको मार्मिक कथा एउटाा टेवुलबाट सुरु भएर त्यही टेवुल मै अन्त्य भएको छ । तपाईं के लिने ? बाट प्रारम्भ भएको पारुको कथा...जसरी सगरमाथा चढ्ने असफल आरोही पुनः प्रयास गर्छ तपाइँ पनि लक्ष्य भेदको अर्को प्रयासमा निश्चय नै आउनु हुन्छ बाट टुङ्गिएको छ ।
यस कथामा कथाकार पारुको मन खोतल्न एउटा कुशल र चलाख वकिल झैं लागेका छन् । उनी पारुको जीवनका उज्याला र अँध्यारा पक्ष र विवशता, वाध्यता र कर्तव्य वोधका त्रिवेणी खोतलेर राखिदिन सफल छन् । पारु भन्छे– मेरो आफ्नै ठहर छ म वहार भएकी लाल पुर्जाकी एक टुक्रा हुँ । यहाँ कति भेडाहरू चरेर गए । कति गाईगोरुहरू चरेर उग्राए । कति भैसीहरू आहाल बसे । कति कुकुरहरू, स्यालहरू र व्वाँसाहरू मेरै छाती कुल्चिएर एकले अर्कालाई ङुर ङुराएका छन् । बाघहरू गर्जिएको छन् । कति विरालाहरूले मेरो गर्भमा विष्टा लुकाएर गएका छन् ।
हाम्रो समाजका यौन पिपासुहरूका सिङ्गो र विविधतापूर्ण चित्र विम्व पारुका मुखबाट भनाएका छन् र समाजलाई गहन व्यङ्ग्य दिएका छन् । छोटा छोटा संवाद र अनपढ भएपनि अनुभवले खारिएको पारुका तर्क, विचार र कर्तव्य वोधी व्यवहार र आफ्नो भविष्य वोध समेत गराएका छन् ।
अन्त्यमा पारुलाई प्रश्न गराउँछन्– तयाईं कुन ग्रहको मान्छे हो ? तिमी र म अघिल्लो जन्ममा एउटै ग्रहमा थियौं विस्र्यौ कि कसो ? मैले ठट्टा गरें ।
एघारौं कथा ‘जीवन र कला’ हो । सङ्ग्रहको छोटो कथा हो । यसमा एउटा कलाकार र एउटा कलाप्रेमी व्यक्तिका संवादबाट वुनिएको कथा चित्र भित्र सुख, शान्ति सन्ताषको प्रतीक प्राकृतिक सौन्दर्य निर्माण गराउँछ र त्यसलाई फेरि नास गराउँछ । कलाकार कालो पोतिदिन्छ । कलाप्रेमी यी दुवै उज्यालो प्रकृति र अन्धकार दुवै सत्य मान्दछ र फेरि सूर्य सहितको प्राकृतिक दृश्य निर्माण गर्न लगाउँछ तर चित्र तयार हुँदाहुँदै त्यस कलाप्रेमीको त्यसै स्थानमा मृत्यु हुन्छ ।
केही दार्शनिक जस्तो केही बुध्द दर्शनसँग प्रभावित जस्तो लाग्ने यो कथा रहस्य र यथार्थको सङ्गम रहेकोझैं लाग्छ । कलाकारले भन्ते (बौध्द भिक्षुकहरूलाई आदरपूर्वक गरिने सम्बोधन) सम्बोधनले र ‘निर्वाण’ शब्दले त्यही व्यञ्जन दिन्छ ।
बाह्रौं कथा ‘नियती’ सङ्ग्रहको सबै भन्दा छोटो र मार्मिक कथा हो । एउटा युवक र अन्धा वृध्दाका माध्यमबाट कथाको विकास भएको छ । चराचुरुङ्गी चमेरो र लाटोकोसेराहरूको पनि प्रयोग गरिएको छ । आफ्नो नियती आफैं भोग्न चाहने वृध्द, युवाहरूले धेरै काम गर्न बाँकी रहेकोले तिमी अगाडि बढ्नु पर्छ भन्ने सन्देश पनि दिइएको पाइन्छ ।
तेह्रौं कथा ‘अफ द रेकर्ड’ हो । यसमा एकालापि संवाद प्रयोग गरिएको छ । धनवीरको आगोले डढाएको लालपुर्जाको नक्कल लिन अड्डामा आएको छ । सुव्वा संवाद विहीन भएपनि संवादको सङ्केत बुझिन्छ । ५०००।– बाट दलाली गर्दै अन्त्यमा धनवीरले छोरालाई दवाइ गर्न ल्याएको रु. ५००।– निखारेर लिएपछि उसको काम गरिदिन्छ र धनवीरको प्रश्नमा ऊ भन्छ–“हैन, इमान्दारिता । तपाइँको काम आधा घण्टामा सिध्याइदिन्छु, इमान्दारिपूर्वक ।”
कथा सकिन्छ तर कर्मचारी तन्त्रमा रहेको घुस्याहा प्रवृत्ति र छोराको औषधी किन्न ल्याएको पैसा समेत घुस ख्वाएर आफ्नो काम लिन वाध्य जनताका विवशताहरू भने विकसित हुँदै नै गइरहेका छन् ।
चौधौं कथा ‘परिवर्तन’ हो । यो धार्मिक आडम्बरको खोक्रो पनमा उभिएको रूढीवादी समाज र त्यसलाई परिवर्तन गर्न चाहने पं. गङ्गासागर अनि गङ्गासागरले पुरा गर्न नसकेको कार्य बाशीको महाविद्यालयमा अध्ययन गरी पं. राम सरोवरबाट दीक्षित दया सागरले पूरा गराएर आफ्ना वावु र गुरुको इच्छा पूर्ण गराई जातको कामी भपनि राम्रो कलाकार धर्मदासलाई ....मन्दिर भित्र प्रवेश गराएर धार्मिक पाखण्डी पनमा परिवर्तन गराएका छन् । उनका वावुले भनेको– “मान्छे जन्मदै वर्ग, जात र धर्मको सीमा भेद लिएर मान्छे जन्दैन ।” भन्ने विचारलाई दयासागरले पूर्णता दिएका छन् ।
दयासागरले धर्मदासलाई भन्छन्– “काका ! तपाईं अधम त त्यसवेला हुनुहुनेछ, जुनवेला सम्म यी तमाम अछुतहरूलाई छुत बनाउन यो मन्दिरमा पस्नु हुन्न ।”
सामाजिक कुरीतिलाई परिवर्तन गर्न र नयाँ दिशाबोध दिने काम शिक्षित र दीक्षित पण्डितहरूबाट हुनु पर्छ । धार्मिक पण्डाहरूबाट समाजलाई मुक्त गराउनु पर्छ भन्ने सन्देश यस कथाले अगाडि सारेकाले सार्थक रहेको छ ।
पन्ध्रौं कथा ‘प्रेम दिवस’ हो । यस कथामा रविन्द्रनाथ ठाकुरले रेलयात्रामा अलपत्र पारेर छाडेका पात्र पात्री अनुपम र अपरिचीतका वीचमा मिलन विन्दु प्रेम दिवसका दिन गराइ दिएर ती हराएका पात्रहरूलाई न्याय दिएका छन् र जोडी ढुक्कुरको प्रणय लिलाका विम्वद्वारा कथालाई जीवन्तता दिएको पाइन्छ ।
सोह्रौं कथा ‘एउटा क्रान्ति’ हो । यस कथाकी आमा राममाया छोरी शकुन्तला र वेहुलो सुखराम र उसको वावु धनीराम एवं गाउँले युवाहरू र एकजना वुज्रुक वूढा रहेका छन् । समस्याको समाधान पनि यिनै वुज्रुक वूढाबाट भएको पाइन्छ ।
यो कथा समस्यामूलक कथा हो । यसको समस्या दहज प्रथाको घिनलाग्दो सामाजिक संस्कार हो । धनीरामको दहेजको लालच र छोरा ओभरसियर भएकालेले राम्रो प्रकारको दहेज पाउनु पर्ने उसको आशय वेहुली शकुन्तलाले चकनाचुर पारिदिएकी छ । गाउँलेहरूको ऐक्यवद्धता र सहयोगी भावनाको उपयोग भएको देखेरपराजीत धनीरामले घोसेमुन्टो लगाए पछि ‘एउटा क्रान्ति’ कथा समाप्त भएको छ अनि दहेजमा राल काड्ने वावुहरूलाई क्रान्तिकारी जवाफ र व्यङ्ग्य प्रस्तुत छ ।
सत्रौं कथा ‘भविष्य’ हो । यस कथाले नाति, हजुरबा र हजुर आमाको माध्यमबाट नेपाली जाति र जनताको अन्धकारमय भविष्य रहेको सङ्केत गरिएको पाइन्छ । उज्यालो देखि डराउनेहरू....उहिलेका राणाहरू र अहिले नेतृत्ववर्गको उज्यालो भविष्य देखि डराउने प्रवृत्ति प्रति व्यङ्ग्य कसिएको छोटो र मार्मिक कथा रहेको पाइन्छ । वर्तमानले नै उज्यालो भविष्य निर्माण गर्न सक्नु पर्छ भन्ने सन्देश वूढीको दैलामा उपस्थित देखाएर प्रतीकात्मक र अभिव्यञ्जनात्मक रूपमा दिइएको पाइन्छ ।
अठारौं कथा ‘जीवन हारे पछि’ हो । यस कथामा आधुनिक युग देशको वेरोजगारी अवस्था सम्पत्तिका निम्ति युवाहरूले विदेशिनु पर्ने र वयोवृद्ध वावु आमाले आफ्ना छोरा छोरीको सहारा होइन गाउँका मिल्दाजुल्दा व्यक्तिहरूको सहारामा सहयोग लिनुपर्ने वाध्यता र विवशता यस कथाको केन्द्रीय कथ्य हो । छोराहरू भएर पनि वृध्द वृध्दाहरूको सहारा वन्न नसकेको संवेदनहीन सभ्य समाज समस्याको ऐना हो ।
यस कथाका धनराज र धनलक्ष्मी श्रीमान श्रीमती हुन् । ३ जना छोरा विदेशीएका छन् । वूढा ढाड दुःख्ने विमारीले आहत छन् र वूढी आछ्यान परेकी छन् । औषधी ल्याइदिने सहयोगी नपाएर छटपटि एका छन् ।
धनलक्ष्मीका तर्क सङ्गत र दार्शनिक संवा एवं धनराजका भुक्तभोगी अनुभवलाई संवादका माध्यमबाट व्यक्ताएर कथाभित्रको तुहलताको सिर्जना भएको पाइन्छ ।
हावा हुरीले क्रमशः घरको ३ वटा टिन उडाएको छ । यी तीनवटा छोराहरूका प्रतीक हुन् । हावा र विजुली आधुनिकताका प्रतीक हुन् भने वर्षात्ले ओछ्यान भिजाएको छ, यो चाहिं धनराज र धनलक्ष्मीका जीवनका कारुणिक विम्व प्रस्तुत गर्ने प्रतीक हो । यी प्रतीकहरूका कारण कथामा भाव गहनता आएको छ । औंसीको रातमा आफ्नी धनलक्ष्मी अन्तिम अवस्थामा पुग्दा पनि सहारा विहीन भएका धनराजको यो कारुणिकता हृदय भित्र चस्स विझ्न पुग्छ । कथाको सफलता नै यही संप्रेषणीयता र कौतुहलताको सन्निवेश रहेको छ ।
उन्नाइसौं कथा ‘विस्थापित मानवता’ कथाका चम्पक र दिगम्वरका माध्यमद्वारा तराइमा फैलिएको धार्मिक, जातिगत, राजनैतिक माटोको कारण उत्पन्न विकृतिका कारक भएर मानवता विहिन भएको समाज दिगम्वर (सवै दिशा ढाक्ने आकाश)....माध्यमद्वारा व्याप्ति पाएको घटना उपस्थित गराई एउटा वालक र छोरीका माध्यमद्वारा शत्रुता विहीन वाल हृदयको संवेदना र दुःखीरामका माध्यमद्वारा कथाको संवेदनशील पक्ष र सन्देश प्रवाहित भएको पाइन्छ । यस कथाको मूल वैचारिक पक्ष मानवताको खोजी रहेको पाइन्छ ।
कथावस्तु
यस सङ्ग्रहका सवै कथाहरू सामाजिक यथार्थ, मानसिक संवेदना र मनोवैज्ञानिक यथार्थमा आधारित रहेर उपस्थापन भएका पाइन्छन् ।
कथानक ढाँचा र समस्यामूलकता
यस सङ्ग्रहका कथाहरूको संरचना सामाजिक समस्यामूलकतामा आधारित रहेका पाइन्छन् । संवेदनशीलता यी कथाहरूका उपलब्धिहरू हुन् ।
एउटी आइमाइ, त्यो कुकुर पनि रहेन, कान्छो सार्की, अतृप्त यात्रा, आधुनिकता, छोरी, पिण्डको जोहो, स्पर्श, नियति, परिवर्तन, एउटा का्रन्ति, जीवन हारेपछि जस्ता कथाहरू अत्यन्त संवेदनशील सामाजिक अवस्थाहरूको चित्रण पाइन्छ । अर्काको छोरो यौन मनोविज्ञान र दमित वासनाको उद्घाटन गर्ने मनोवैज्ञानिक कथा हो भने जीवन र कला वौध्द दर्शनको स्पर्श रहेको निर्वाण प्राप्ति, अफ दि रेकर्ड भ्रष्ट कर्मचारीहरूको घुस्याहा प्रवृत्तिको उद्घाटनः प्रेम दिवस आधुनिक युगको प्रेम दिवस सँग सम्वन्धित भएपनि सामाजिक कथा नै ठहर्छन् ।
सवै कथाहरू मानव जीवनका समस्याहरू छन् । त्यस कारण यो सङ्ग्रह समस्यामूलक कथाहरूको सङ्ग्रह बन्न गएको पाइन्छ । एउटा मुख्य पात्र उभ्याएर कथाकार उसका मनोदशाहरूलाई उउटा राम्रो वकिलले उसलाई कुनै यातना नै नदिई मनोवैज्ञानिक रूपमा वयान लिएझैं क्रमशः उद्घाटन गराउँदै लैजान्छन् र संवेदना र अनुभूतिको स्थितिमा पु¥याएर कथालाई जीवन्त रूप दिंदै पाठकमा दीर्घकालीन प्रभाव प्रसार गर्न सक्षमताको प्रदर्शन गर्दछन् ।
पात्र विधान
कृष्णका यस कथा सङ्ग्रहमा पात्र विधानको नीति दुई प्रकारले लिएको पाइन्छ । ‘कान्छो सार्की’ कथा उनले पहिले कान्छो सार्कीका चरित्रगत विशेषता लिएर तदनुकुल परिवेश दिंदै चरित्र विकास गरेका छन् । त्यसै गरी अतृप्त यात्रा, आधुनिकता, छोरी, मृत्यु सुख, स्पर्श, जीवन र कला, नियती, अफ द रेकर्ड, परिवर्तन, एउटा क्रान्ति, र जीवन हारेपछि जस्ता कथाहरू पनि पहिले पात्र सिर्जना गरी तदनुकुल परिवेश, कथ्य, भाव र सन्देशको प्रसारण गरी संवेदनशीलता, कौतुहलता, सम्प्रेषणीयता दिन सफल भएको पाइन्छ भने अर्काको छोरो, त्यो कुकुर पनि रहेन पिण्डको जोहो, प्रेम दिवस जस्ता कथाहरू पहिले कथाको कल्पना गरी तदनुकुल पात्रहरू र परिवेश चित्रण गरेको झैं भान हुन्छ ।
इष्टा, सुधर्मा, कृष्ण, म, रोहण, लाजवन्ती, कुन्दन, दुःखेन्द्र, सरिता, रिना, अर्चना, काशीराम, विशालाक्षी, जयन्ती, राहुल, पारु, गङ्गाधर, दयासागर, धर्मदास, रामसरोवर, राममाया, शकुन्तला, सुखराम, धनीराम, धनराज, धनलक्ष्मी, चम्पक, दुःखीराम, दिगम्वर आदि पात्रहरू कथामा उपस्थित रहेका छन् । यी पात्रहरूले कथालाइृ गहन वनाउन र अर्थ क्षेपण गर्न वा व्यङ्ग्य कुनैले प्रतीकात्मक अर्थ वहन गरेका छन् भने कुनैले चरित्रमा प्रवृत्तिलाई वहन गरेका छन् । त्यसकारण पात्रहरूको चयन अभिधात्मक मात्र नभएर व्यञ्जन मूलक पनि रहेको पाइन्छ । कुनै पात्रहरू धर्मसँग सम्वन्धित रहेका छन्, कुनै पात्र सामाजिक सद्भाव व्यक्त गर्न प्रयुक्त छन्, कुनै पात्र सन्तान हुँदाको सुखानुभूति र नभए सरहको पीडाको अनुभूतिका वीचबाट गुज्रन वाध्य वृध्दावस्थाको मानसिक विम्व र वाध्यात्मक स्थिति व्यहोर्न वाध्य पात्रहरूका रूपमा रहेका छन् ।
इष्टाले मित्रतापूर्ण सद्व्यवहार भरी अस्मिता र अस्तित्व वोधको प्रतिनिधित्व गरेकी छन् भने सुधर्माले आफ्नो जीवन साहित्य सिर्जना गर्नु नै धर्म ठानेका छन् । रोहणले आर्थिक र वौध्दिक उचाइको प्रतिनिधित्व गरेको छ भने लाजवन्तीले आन्तरिक र अचेतन मनोद्वन्द्वले उनको लाजवन्ती नामलाई क्षति पु¥याएको पनि पाइन्छ । अतृप्त यात्राको दुःखेन्द्रकी छोरी र छोरीकी मुख्य पात्राहरू दुवैको नाम अर्चना नै रहेको पाइन्छ । चरित्र विकासका दृष्टिले यी दुवैका आन्तरिक चाहना आदर्श प्रेम प्राप्त गर्नु नै रहेको छ । धन सँग सम्वन्धित पुरुष नाम र स्त्री नामहरू पनि छन् तर यी नामहरू दुःखद घटनाका कारण दुर्घटना व्यहोर्न विवश पनि रहेका छन् । त्यसै गरी दुःखीरामको वर्तमान र भविष्य पनि दुर्घटित भएको पाइन्छ । त्यसकारण कृष्णको कथाहरूमा चरित्रहरू नाम र व्यवहार र उनीहरूले खेलेका भूमिका अनुसार सवल, संवेदनशील र वैचारिकतामा समेत अव्वल रहेका पाइन्छन् । कथाकारको सफलताको कारक उसले कथाका निम्ति चयन गरिएका पाहरूले पनि विशेष रूपमा सघाएको पाइन्छ । गतिशील पात्रहरूको चयन हुनु कथाकारको विशिष्ट विशेषता हो भन्नुपर्छ ।
परिवेश विधान
यी कथाहरूमा परिवेश चित्रण पात्रका कृयाकलापका माध्यमबाट उपस्थित भएको पाइन्छ । भौगोलिक हिसावले गाउँ, शहर र वृध्दाश्रमहरू रहेका छन् भन्ने समयगत परिवेशका रूपमा भने कुनै समय वृउत्तमा नबाँधिएको भए पनि विहान, दिउसो, राती जस्ता समयगत परिवेश र आधुनिकताको अति क्रमित वर्तमान नै प्रायः कथाहरूको सङ्केत गरेको पाइन्छ । त्यसकारण यी कथाहरू कालजयी कथाहरू वनेर जीवन्त रूपमा लिएका पाइन्छन् ।
द्वन्द्व विधान
प्रायः सबै कथाहरूमा आन्तरिक द्वन्द्व प्रवल रूपमा रहेको पाइन्छ । जुन आन्तरिक द्वन्द्वका कारणले नै कथाहरू सर्व संवेद्य र प्रभावकारी वन्न सकेका छन् । यस सङ्ग्रहका २ कथा ‘एउटी आइमाई’का सुधर्मा र इष्टा अनि ‘आधुनिकता’का काशीराम वृध्दाश्रमको आश्रयमा रहन बाध्य छन् । परिवर्तन र एउटा क्रान्ति कथाको द्वन्द्व समाजको धार्मिक रुढीवादी धार परिवर्तन गर्न चाहने ब्राम्हण र ब्राह्मणहरूको विचको द्वन्द्व छ भने ‘एउटा क्रान्ति’ दहेज विरोधी सभ्य समाजको क्रान्तिकारी कदमको दह्रो उदाहरणको रूपमा प्रस्तुत छ । स्पर्श कथामा आन्तरिक र मनोवैज्ञानिक द्वन्द्व छ । ‘छोरी’ अतृप्त यात्राका पात्रहरूमा आन्तरिक द्वन्द्व र आंशिक परिधीय रूपमा वाह्य द्वन्द्वको प्रस्तुति रहेको छ । ‘जीवन हारेपछि’का धनराजको टिनको छानु उडाउनु पानी घरभित्र पस्नु र औंशीको रात जस्ता प्रतीकहरूले कथात्मक द्वन्द्व प्रक्षेपणमा सघनता धनराजको जीवनको कारुणिकता र निस्साह पनको उनका मनोद्वन्द्वको उद्घाटन गराउन सफलता प्राप्त छ । यी माथि उल्लेखित कथाहरू नमुनाका उदाहरण मात्र हुन् प्रायः सवै कथाहरूमा आन्तरिक द्वन्द्व रहेको पाइन्छ ।
द्वन्द्व विधानका दृष्टिले हेर्दा कृष्णका कथाहरूले ग्रहण गरेको द्वन्द्व विधान विश्वेश्वर प्रसाद कोइरालाका र रमेश विकलका कथाहरूका एकदम सन्निकट रहेका पाइन्छन् तर कथाका पात्रहरूलाई संवादमा ल्याएर पात्रहरूका मनोदशा केलाउने सन्दर्भ, प्रस्तुति शैली चाहिं कृष्णको आफ्नो निजिपन रहेको पाइन्छ अर्थात् शैलीले आफ्नो गोरेटो आफैं वनाएको पाइन्छ ।
कथाहरूको रूप विन्यास
कृष्णका कथाहरूको रूप विन्यासका सन्दर्भमा हेर्दा प्रायः सवै कथाहरूमा सरल र छोटा छोटा वाक्य विन्यास भएकोले सरल भाषिक कलाको प्रयोग रहेको पाइन्छ । सरसर्ती हेर्दा अभिधामूलक जस्ता कथा लागेपनि ती कथाहरू भित्र जीवन जगतको यथार्थ भोगाइ प्रतिविम्वित रहेको र जीवनको उत्तरार्धमा ती पात्रहरूले भोग्नु परेको जीवन सत्यको अनुभूति भित्र व्यङ्ग्य चेतना रहेकोले सवैको जीवन शून्य वोधबाट टुङ्गिएको छ भने कहीं उत्साह छ, कहीं शान्त छ, कहीं क्रान्ति छ, कहीं सङ्घर्ष छ । जसरी पनि जीवन भोगन विवश मानवको यथार्थ विम्व प्रस्तुत भएको छ ।
अलङकृत भाषिक प्रयोग यस कथालाई सफल वनाउने अर्को महत्वपूर्ण कडीका रूपमा रहेको पाइन्छ । उपमा, रूपक अनुप्रासीयता यसका उदाहरणहरू हुन् ।
उपमा÷अलङ्कार
हामीलाई भेट्न कोही आउँदैनन् । यहाँ हामी टुहुरा जस्तै छौं । – अतृप्त यात्रा
हामीले अनाथ र टुहुरा जस्तो वालापन विताउनु प¥यो । – अतृप्त यात्रा
फित्कौलीले हानेको मट्याङ्ग्रा जस्तै काशीरामको अन्तर मन वतासिएर जीवनको रमणिय इतिहासमा अवतरण भयो । – आधुनिकता
कस्तो अगुल्ठो जस्तो तातो ? के तिमीलाई ज्वरो आएको छ । – आधुनिकता
खोक्रो आडम्वरी शहर पनि सिने जस्तो गन्हाउन थाल्यो । – आधुनिकता
घर मालिकलाई झम्टिए जस्तो झम्टन वेर छैन । – अर्काको छोरो
ओछ्यानमा भैंसीका जस्ता सिङ भएको महिषासुर मृत अवस्थामा थियो । – त्यो कुकुर पनि अव रहेन
वाघले मृगको पाठो अचेटो जस्तो । – त्यो कुकुर पनि अव रहेन
भोकाएको व्वाँसाले जस्तो अङ्ग प्रत्यङ्ग धिन्न थाल्यो । – त्यो कुकुर पनि अव रहेन
कैदलको रूख जस्तो प्रकृति छ उसको पनि । – छोरी
रूपक÷अलङ्कार
दुःखेन्द्र तिमीलाई दलित रूपी–दुर्योधनका सेनाले चक्रव्यूहमा परिसकेछन् । – अतृप्त यात्रा
जीवन एउटा कहाली लाग्दो परिवर्तन भोगेर.............। – अतृप्त यात्रा
आफूलाई रणचण्डी ठानें । – त्यो कुकुर पनि अव रहेन
म वरद भएकी लालपूर्जाकी एक टुक्रा धरती हूँ । – स्पर्श
उत्प्रेक्षा÷अलङ्कार
उज्यालो नभए हुन्थ्यो भन्ने थियो दुवैलाई । – आधुनिकता
विम्वात्मक प्रस्तुतिका नमुनाहरू
१. एक दिन सिरिषे पाखाका गोरेटामा नरसिङगा उरालिए । वारीका गह्रामा भतेर लाग्यो । म पराजित भएँ । – एउटी आइमाई
२. सृष्टिकर्ताले प्यासको पनि सृष्टि गरेको छ पानीको पनि सृष्टि गरेको छ । – एउटी आइमाई
३. युध्द लडिरहेकै छौं, लडिरहने छौं तर यसतो प्राप्ति सधैं हुँदैन मलाई यो समय युध्दमय जीवनबाट एकछिन मुक्त भएर भोग्ने इच्छा छ । उसले कामातुर भावमा भन्यो । – त्यो कुकुर पनि अव रहेन
४. देख्तै नदेखि कसरी थाहा पायौ ? भनन ! मैले कर गरें । मेरो वाउले भनेको उसले हल गोरु तिर देखायो । म झन छक्क परें । – कान्छो सार्की
५ बाहिर कठाङ्ग्रिएर वसेको कान्छालाई भित्र बोलाएँ । भारी विसाएर ऊ टुक्रुक्क बस्यो । क्षत्री दाइका जोर पत्नीहरूले सोधे– यी दाइ के थरका हुन् नि ? – कान्छो सार्की
६. यसले तन्नेरीको खुटकीलो टेकिसकेको छ । यसलाई अव मैले धेर जिस्काएँ भनें घरमा पालेको डमरु हुर्कंदै जाँदा घर मालिकलाई झम्टिए जस्तो झम्टन वेर छैन । – अर्काको छोरो
७. अर्चनाको अनुहार फेरि नीलो भयो, हरियो भयो, हेर्दाहेर्दै रातो रगत चुहिएला जस्तो भयो । – अतृप्त यात्रा
८. उसले अञ्जुली खोली र ... तिर इशारा गर्दै भनी– यसबाट । मलाई कसैले स्नेह पूर्वका दिएको यो नै पहिलो उपहार हो जीवनको । यसलाई म यो धुवाँमा नाक थुनेर पहेंलो बनाउदिन । मेरा लागि बाँकी जीवन बाँच्ने शक्ति हो यो । यसलाई म कन्तुरमा राखेर पूजा गर्छु । – छोरी
घरमा पस्ता पुच्छर हल्लाउँदै विक्की आउँछ । उसले गर्ने स्वागत मैले उसलाई दिएको आत्मीयताको उपज हो । – छोरी
उपयुक्त केही विम्वहरूको टिपोटद्वारा कृष्णका कथाहरूमा भएका विम्वात्मक प्रस्तुतिहरूको आँकलन गर्न खोजिएको छ ।
प्रथम विम्वद्वारा नेपाली साँस्कृतिकताको विम्व प्रस्तुत गर्दछ र कथाको प्रसङ्गमा यसले लोग्नेको पुनर्विवाहको कारण नारीले दुर्घटना भोग्नु परेको बाध्यात्मक र आशङ्काको स्थितिको पनि सङ्केत दिन्छ ।
दोश्रो विम्वले प्रेमका सन्दर्भमा दार्शनिकता र यथार्थताको विम्व जागरण गरी एउटी नारीमा भएको खुला हृदयको जानकारी प्रस्तुत गर्छ ।
तेस्रो विम्वले एउटा युध्दरत तर कामातुर व्यक्तिको विम्व र एउटी प्रतिशोधाक्षी महिलाको आत्म निर्णयको विम्व प्रस्तुत गर्दछ ।
चौथो विम्व पशुजातिमा हुने ध्राण शक्ति र आफूलाई माया गर्नेहरूप्रति रहेको चासोको विम्व प्रस्तुत गर्दछ ।
पाँचौं विम्वले जाडो र हिमवर्षाको प्राकृतिक प्रकोपको विम्व मानवियता र जातीय संकीर्णताका विम्वहरू प्रस्तुत गरी मानवीय संवेदनाको महत्व व्यक्त गर्दछ ।
छैटौं विम्वले एकातिर कुन्दनको वयस्कताको सङ्केत गर्दछ भने डमरुको उदाहरणद्वारा आशङ्ककित भविष्यको पनि सङ्केत गर्दछ ।
आठौं विम्वमा एकजना मास्क दिने व्यक्ति र एउटी केटीका विचको स्नेहसिकत र भरोसापूर्ण भेटको एकल संवाद छ तर यस संवादका विम्वले त्यस केटीको भविष्यको सनिश्चितताको, मायाको सागर पाएको संवेदनशीलताको र सुन्दर उपलब्धिको सङ्केत गरेको पाइन्छ ।
अन्त्यन्त विवेकशील, स्वामीभक्त, उत्कृष्ट सेवकका रूपमा रहेको विक्की (कुकुर) को मानवीय मूल्य र प्रेम आँकलन गर्ने क्षमतायुक्त विम्व प्रस्तुत गरेर छोरीका नयाँ वावु म पात्रको दयावीर भन्दा पनि मायावीर चरित्रको उद्घाटन गर्न प्रयोग गरिएको पाइन्छ ।
उपर्युक्त केही विम्वहरूलाई नमुनाका रूपमा प्रस्तुत गरी कान्छो सार्की कथा सङ्ग्रकमा विम्वहरूको प्रचुरता रहन सकेकोले कथाले विशिष्टता प्राप्त गर्न सकेको छ भन्ने सङ्केत गर्न खोजिएको मात्र हो ।
उखानतुक्काहरूको प्रयोग
१. भालुको मन खनिउँ माथि.....
२. भीरबाट लडेको ढुङ्गोले पनि वास पाउँछ । विस्थापित मानवता
सूक्तिमा उक्तिहरू
हैरान अवश्य भएँ तर निराश भइन । – एउटी आइमाई
सृष्टिकर्ताले प्यासको पनि सृष्टि गरेको छ पानीको पनि सृष्टि गरेको छ । – एउटी आइमाई
केही पाउनको लागी केही गुमाउनै पर्छ । मैले मनमनै दोहो¥याएँ । – त्यो कुकुर पनि अव रहेन
भाउजु ! नरिसाउनुहोस् ! ज्यान भन्दा ठूलो जात हुँदैन । – कान्छो सार्की
उज्यालो नभए हुन्थ्यो भन्ने थियो दुवैलाई ।
तिनीहरूले एकले अर्कालाई आँखा उठाएर हेर्न सकेनन् । – आधुनिकता
जीवन एउटा कहाली लाग्दो परिवर्तन भोगेर अगाडि बढिसकेको थियो । – आधुनिकता
खशी यति सुन्दर हुँदोरहेछ । खशीमा आँसु झर्दा पनि यति आनन्द प्राप्त हुँदो रहेछ । मेरो जीवनको पहिलो अनुभव हो यो । – छोरी
रसभाव
रस भावका दृष्टिले पनि यी कथाहरूको विश्लेषण हुन सक्ने अवस्था छ । त्यसरी हेर्दा एउटी आइमाई वीरोचित शान्त रसभाव, त्यो कुकुर पनि रहेनमा वीररस र शान्त रस, कान्छो सार्कीमा संवेदना र सामाजिकताको यथार्थ साथै कारुणिक रसभाव, अर्काको छोरोमा अचेतन मनले चेतनलाई वस बनाएको यौन जन्य श्रृङ्गारिक भाव, अतृप्त यात्रामा विखण्डित पारिवारिक परिस्थितिका कारण विद्रोह कारुणिकता, आधुनिकतामा शान्त रस भाव छोरीमा वात्सल्य र भक्तिभाव, पिण्डको जोहोमा सामाजिक रुढीवादी परम्परा प्रति असन्तष्टि, मृत्यु सुखमा जीवन सत्य वोध र मृत्युको दर्शन, स्पर्शमा एउटी नारीले बाँच्न र बचाउनका निम्ति आफ्नै अस्तित्व दाउमा राखेर पनि बाँच्न विवश नारी र नारी अस्मितालाई पैसाको वलमा खरिद गर्ने भ्रष्ट पुरुष समाजको चित्र विम्व र व्यङ्ग्य छ । यसमा पनि कारुणिकताको छिपछिपे पाइन्छ । जीवन र कलामा वौध्द दर्शनको निर्वाण र सुन्दर संसार अभिव्यञ्जित र चित्रीत रहेको छ । नियति एउटा परिपक्क अन्धा वृध्दको जीवन दर्शन उपस्थित छ । अफ द रेकर्ड एउटा नयाँ प्रकारको एकालापी संवाद युक्त नयाँ शैलीको कथा छ र यसले सरकारी कर्मचारीहरूको घुस्याहा प्रवृत्तिको यथार्थ प्रस्तुत गर्दछ । परिवर्तन सामाजिक धार्मिक रुढी र जातीयताको संकीर्ण घेरा प्रति विद्रोह गरी परिवर्तनकामी सन्देश प्रवाह गरेकोले धर्म वीर रस प्रवाहित गर्न सक्षम कथा मान्नु पर्छ । प्रेम दिवसमा श्रृङ्गार भाव व्यक्त छ । एउटा क्रान्ति दहेज प्रथाको घिनलाग्दो खेल प्रति गहन व्यङ्ग्य र प्रतिकार गर्न सफल कथा भएकोले यो कथा सामाजिक वीरता वहन गर्न सक्षम कथा मान्नु पर्छ । भविष्य छोटो र गहन व्यङ्ग्य लिएको कथा हो । विगुली प्रशासन राजनीति कर्मीहरू प्रसित लक्ष्य गरी भावि पुस्ताको भविष्य विगार्ने अध्यारो भिœयाउने रूप दिइएको पाइन्छ । जीवन हारेपछि प्रतीकतात्मक छ । यसले कारुणिकताकै प्रवाह गरेको पाइन्छ ।
व्यङ्ग्य
प्रायः कान्छो सार्की भित्रका सबै कथाहरू भित्र व्यङ्ग्य चेतना कुनै न कुनै रूपमा रहेकै पाइन्छ । जीवन सवैको व्यङ्ग्य नै हो एउटा ग्लासको पानीमा लालगेडी हाल्दा लालगेडी नाच्दै गएर पींधमा वसेझैं सुटुक्क बस्छ । कृष्णका कथा भित्र व्यङग्य खाना खाँदा चट्नीले विशिष्ट प्रकारको स्वाद दिएझैं व्यङ्ग्यका सङ्केतहरू सूक्तिमय सङ्केतका रूपमा पाइन्छ । यस कथा सङ्ग्रहका कथाहरूको मूल उद्देश्य सामाजिक यथार्थ र मनोवैज्ञानिक यथार्थलाई सान्दर्भिक बनाएर नारीका अहम् र उनीहरूका स्वाभिमानहरू वाध्यताहरू आफ्नै भरमा बाँच्न चाहने इच्छाहरू एवं आधुनिक युगको अतिक्रमण र भौतिकता तिर लहसिएको मानव सभ्यताका कारण धनवीर धनलक्ष्मी जस्ता चरित्रले निस्सहाय भएर अन्तिम अवस्था भोग्न वाध्य एवं काशीराज जस्ता वृध्द चरित्रहरू इष्टा सुधर्मा जस्ता चरित्रहरूले वृध्दाश्रमको आश्रयी भएर वस्न वाध्य हुनु जस्ता कथानकहरूले व्यङ्ग्यको कसिलोपन दिएका छन् । जसलाई हामी व्यञ्जना वा ध्वनीका रूपमा निरुपण गर्न सक्तछौं ।
अन्त्यमा
कृष्णका यी कथाहरू हेर्दा प्रारम्भिक चरणका कथा हुन भन्न सकिंदैन । कथाको उपस्थापन गर्ने मूल आधार भनेको भाषा हो । उसमा भएको भाषिक कला र गरेको पत्रकारिताबाट खारिएको पाइन्छ । त्यसै भाषिक कलाको उपयोग, कल्पना चातुर्य, सूचनात्मक, सूयात्मक र प्रतीकात्मक प्रविधि एवं पात्रहरूको मन रविचार खोतल्ने प्रवृत्तिका कारण उनका कथाहरू सर्व संवेद्य, संवेदनशील र प्रभावकारी बन्न सकेको पाइन्छन् ।
कथाका घटकहरूको प्रस्तुति झण्डै विश्वेश्वर प्रसाद कोइराला र रमेश विकलका कथाहरूका सन्निकट रहेपनि पात्र चयनका प्रविधि, परिवेशको सङ्केत र संवेदनशील भावाभिव्यक्ति, विचारको जलपका कारण कृष्णका कथाहरू कृष्णकै जस्ता भएर मौलिक पहिचानयुक्त प्रविधि लिएका पाइन्छन् । यिनको शिल्प चातुर्य रहर लाग्दो र लोभलाग्दो पनि वन्न सकेको पाइन्छ र आफ्नै छुट्टै विशेषता कायम गर्न सकेको पनि पाइन्छ ।

मधेसा–१

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 7 पौष, 2069

लेखकका अन्य रचनाहरु