अर्जुन खोलाको तीर उपन्यासको सर्वेक्षण

- उपेन्द्र पागल

भालुकमारी लङ्का असम (भारत)मा २००८ साल कार्तिक १३ मा माता दिव्येश्वरी र पिता समशेर बहादुर पराजुलीका जेष्ठ सुपुत्रका रूपमा जन्मिएका हुन् । आसाममा जन्मिएका भएता पनि २००६ सालमा उनी आफ्ना बाबु आमासँगै नेपाल फर्किएर आफ्नो अध्ययन, लेखन र स्वतन्त्र पत्रकारिता क्षेत्रमा लागेर आफ्ना उर्जाशील स्वभावको विकास गरेका हुन् । दर्शन शास्त्रमा एम.ए. गरी समाजशास्त्रको समेत अध्ययन गरेका ऋतु आसीक आफू २३ वर्षको उमेर मंै ‘के भनेर सम्झाऊँ ! मेरी छोरीलाई’ (कविता सङ्ग्रह २०३१)का माध्यमबाट नेपाली यथार्थवादी साहित्यका क्षेत्रमा प्रवेश गरेका हुन् भने उनका आफ्ना मौलिक कृतिका रूपमा कविता, आख्यान र पत्रकारिता सम्बन्धी गरेर ११ वटा साना, ठूला, वृहद ग्रन्थहरूको प्रकाशन गरिसकेको देखिन्छ ।
उनले सम्पादनको क्षेत्रमा २०३३ प्रवेश गरी वर्तमान सम्म गोरेटो २०३३, नयाँ पाइलो २०३४, अभिवादन २०३५ र तेश्रो विश्व २०३९ समेत साप्ताहिक पत्रिकाहरूको सम्पादन र २०४० मा शान्तिक्षेत्र सम्बन्धी प्रस्तावको अध्ययन विश्लेषण र प्रतिवद्धता सम्बन्धी संयुक्त सम्पादन र जीवनीमूलक अन्वेषणात्मक कृति (१), ऐतिहासिक योद्धा मनमोहन अधिकारी २०५३ (२), मुक्ति योद्धा निर्मल लामा २०५८ (३), आस्थाका शहीदहरू भाग–१ २०६७ जस्ता वृहद ग्रन्थहरूको समेत सम्पादन र प्रकाशन गरिसकेका छन् ।
उपन्यास र यसको अर्थ ः–
जीवन जगत्को यथार्थ चित्रण किम, कथम, केन, किद्दशी, कुत्र आदि प्रश्नहरूको उत्तर आउने किसिमले विम्वात्मक र प्रतीकात्मक एवं लयात्मक एवम् आलङ्कारिक भाषाको प्रयोग गरी चरित्रहरूको प्रस्तुति गर्नु र फिक्सन वा एपिसोडहरूको साहचर्यलाई क्रमबद्ध रूपमा प्रस्तुत गरिने गद्य भाषिक कला नै उपन्यास हुन्छ । उप+नि.अस्+घञ् (अ) = ‘उपन्यास’ शब्द निस्पत्ति हुन्छ । अस् धातुको तात्पर्य राख्नु र उपन्यास=शब्दले नजिक राख्नु भन्ने अर्थ दिने हुँदा फिक्सनहरूको क्रमबद्ध रखाइनै उपन्यास हुन्छ भनी परिभाषित गर्न सकिन्छ ।
पूष्ठभूमि ः–
ऋतु आसीकका ३ वटा कविता सङ्ग्रह, २ लघुउपन्यास अठोट (२०४७)को प्रकाशन पछि त्यसै सालमा ‘अर्जुन खोलाको तीर’ लघु उपन्यास पनि प्रकाशित भएको पाइन्छ । यस लघु उपन्यासको पृष्ठभूमि अर्जुन खोलाको तीरमा यौन व्यवसाय अपनाएर जीवन निर्वाह गर्ने समाजमा अति तल्लो जातिका रूपमा मानिने वादी जातिका महिलाहरूमा भएको पीडा दुःख र उनीहरूको विवशतालाई उद्घाटन गर्नु रहेको पाइन्छ । २०४६ सालको जनआन्दोलन पछिको निर्वाचनको सन्दर्भ समेत गाँसेर यस उपन्यासको प्रारम्भ गरिएको पाइन्छ । यस उपन्यासको कथावस्तुलाई बढाउने पत्रकार रञ्जन र वादी महिला वविता र भुवनेश्वर रहेका छन् ।
औपन्यासिक संरचना ः–
यस लघु उपन्यासको संरचना जम्मा २५ वटा ३÷४ पौने पेजदेखि बढीमा ४ पेज सम्म फैलिएका फिक्सनहरूको संयोजन गरी प्रकाशकीय बाहेक ..... पेजमा फैलिएको पाइन्छ । सरल कथ्यभाषा, संवाद दृश्य वर्णनको त्रिवेणीको प्रयोग गरी संक्षिप्तता र सूत्रनात्मक प्रविधि अँगालिएकोले औपन्यासिक कथ्य उद्देश्यमूलक र संप्रेषणीय रहेको पाइन्छ ।
संक्षिप्त कथावस्तु ः–
उपन्यासको प्रारम्भ हुनुभन्दा पहिले भिन्न लयका २÷२ हरफद्वारा वादी जातिका महिलाहरूलाई उद्बोधन र प्रेरणामूल सन्देश र “युवा हो ! मुलुकलाई फेर्न उठौं !” शीर्षकमा उपन्यास लेख्नुको मूल उद्देश्य वर्गीय जागरणका रूपमा दिएर अनि मात्र उपन्यास ‘अर्जुन खोलाको तीर’ प्रारम्भ भएको छ ।
उपन्यासमा प्रथम एपिसोड लमही बजारको परिदृश्य, चुनावी चहल पहल र एउटी विपन्न १८ वर्षीय वालिका दवाइ दोकानबाट निस्किएर तिरष्कृत हुँदै भएपनि दृढ निश्चयका साथ अगाडि बढेको बिम्ब प्रस्तुत छ ।
दोस्रो एपिसोडमा अर्जुन खोलाको पश्चिम पट्टिको तीरमा बनेका साना साना झुपडीमा बसोबास गर्ने वादी जातिका १५ देखि २२ वर्षसम्मको उमेर समूहका केटीहरू र तिनीहरूसँग मनोरञ्जन गर्न आउने यौनकर्मीहरूका विम्व प्रस्तुत गर्दै रञ्जनले ववितालाई छानेर उसको जीवनी बताउने आग्रह गरेका छ अनि वविताका आँखामा आँखा गढाएर हिप्नोटिज्म (वंशीकरण)को प्रविधि अपनाई वविताको जीवनी बुझेको छ ।
सानै उमेरमा बाबु मरेकाले साहूको ऋण तिर्न आमाले नै आफूलाई बाध्य पारी एउटा साहुसँग रु. ३०००।– लिएर आफूलाई भोग गराएको र त्यस रात तीन जनासँग यौन सम्पर्क गर्दाको हृदयविदारक अवस्था, विवशता र पीडाको प्रस्तुति समेत गरेको पाइन्छ ।
तेस्रो एपिसोडमा रञ्जन र संजय ववितासँग विदा भएर आफ्नो गन्तव्य तिर लागेको र रञ्जनका अन्तरमनमा वविताहरूको अन्तरविकास गराएर जातीय उत्थान गराउन चाहने विचार र वविताको मनमा पनि अन्तरद्वन्द्वको सिर्जना भएको छ ।
चौथो एपिसोडमा वविता र ईश्वरीहरू नुहाउन गएका अवस्थाका संवादहरूका माध्यमबाट ववितामा रञ्जनप्रति विश्वास जागृत भएको र वदिनीहरूले उनीहरूलाई भोग्न आउनेहरूबाट पु¥याउने पीडाको सङ्केत र वविताको वैचारिक द्वन्द्वको सङ्केत दिइएको छ ।
पाचौं एपिसोडमा सञ्जय र रञ्जनका संवादका माध्यमबाट बदिनीहरूको जीवन परिवर्तन गराएर उनीहरूलाई स्वाभिमानको जिन्दगी बाँच्न दिने उपायका वारेमा रहेको चिन्ता व्यक्त छ ।
छैटौं एपिसोडमा पारिलो घामको विम्व प्रस्तुत गर्दै वादी वस्तीका भडुवाहरूको क्रियाकलाप र वदिनी युवतीहरूका ग्राहक आकर्षणका निम्ति गरिएका कृयाकलापहरूका लघुविम्वहरू प्रस्तुत गरिएको छ ।
सातौं एपिसोडमा रञ्जन र वविताको संवादको माध्यमद्वारा रञ्जनले गरेको पत्रकारिताको कर्तव्यमूलक सन्देश सङ्कलन गर्न प्यूठान गएर फर्किएको वविताले आफूलाई साथै लाने हो ? भन्ने जिज्ञासामूलक प्रश्न र रञ्जनले आफू विवाहित भएको विवाह नै गर्न नसक्ने तर जीवन बदले र समाजमा स्थापित हुनलाई सहयोग गरी उत्प्रेरणा प्रदान गर्ने कुरा गरेको छ अनि वविताले नारायणघाट घर भएको अविवाहित ठेकेदारले ववितालाई अपनाउन चाहेको रहस्य खुलाइएको छ र राती रञ्जन वविताकोमा नै गफ गरेर बसेको छ ।
आठौं एपिसोडमा वविता अर्जुनखोलाबाट नुहाएर आएपछि भरे रातीका लागि भिनाजुले ग्राहक रिजर्भ गरेको कुरा वताएपछि रञ्जनले ववितालाई आफ्नो जीवन बदल्ने कुराबाट विचलित नहुन आग्रह गर्दै उनको जीवनको यथार्थवारे पुस्तक लेखेर अर्को भेटमा उपहार दिने कुरा गरी विदाइ भएको छ ।
नवौं एपिसोडमा भाले बासेपछि उज्यालोको चहक नआए पनि भिनाजुले रिजर्भ गरेको स्थानीय व्यापारी उसको ग्राहक ब्युँझिएपछि प्रयोग गरेका अपशब्दहरू ग्राहकरूका प्रतिनिधिमूलक भएर आएका छन् र त्यो बजारतर्फ लागेको दृश्य विम्व प्रस्तुत छ ।
दशौं एपिसोडमा वदिनी महिलाहरूका विवशताहरू, पीडाहरू, उनीहरूले पेटका निम्ति अपनाएको पेशाका कारण अस्तित्वविहीन हुनुपरेका परिस्थिति, आफ्नै हूँ भन्नेहरूले पनि ग्राहकहरू खोजेर विदेशी स्वदेशी सबै जात र वर्गका लागि केटीहरूको उपभोग गराउने नेपालीहरूको दलाल प्रवृत्ति र सामाजिक विकृतिको उद्घाटन भएको छ भने लखनौ देखिका मान्छेहरू समेत त्यहाँ आउने गरेको सूचना पाइन्छ ।
एघारौं एपिसोडमा सूर्यको मिर्मिरे उज्यालो फैलिन लागेको र त्यस वादी वस्तीमा वदिनीहरूलाई उपभोग गर्न गएका यस समाजका पुरुषहरूले हतार हतार आ–आफ्ना गन्तव्यतिर पलायन गरेको सामाजिक दृश्य विम्वका साथै वविताले आजदेखि देहव्यापार नगर्ने निश्चय र साथी ईश्वरीले यस देहव्यापारको जीवनदेखि विरक्तिएको र उनीहरूका इच्छा आकांक्षाहरू सबै मार्नु पर्ने वितृष्णापूर्ण अभिव्यक्ति दिएर वादी वस्तीका महिलाहरूले भोग्नु परेका विवशताहरूको विम्वात्मक प्रस्तुति रहेको छ ।
बाह«ौं एपिसोडमा सूर्य उदाएर अर्जुन खोलामा किरण छताछुल्ल भएको प्राकृतिक सौन्दर्यको विम्व प्रस्तुत गरी खोलापारिका थरुनीहरू पानी भर्न आएको राती र वादी वस्तीका वदिनीहरू नुहाउन उक्त खोला तर्फ गइरहेका सामाजिक विम्वहरू प्रस्तुत गरी वविताकी सहृदयी साथी ईश्वरीसँगको संवादका माध्यमद्वारा वविताले वैवाहिक जीवनमा प्रवेश गर्ने अठोट र ईश्वरीलाई आफ्ना लुगाफाटो लिन र यस जीवनबाट मुक्ति पाउन आफैंले त्यस बाटोको खोजि गर्नु पर्ने कुराको अभिव्यक्ति रहेको छ ।
तेह«ौं एपिसोडमा वविताले स्नान कर्म सकिएपछि अर्जुनखोलाको पानी अञ्जुलिमा लिएर आफ्नो शिरमा छर्किएर अर्जुन खोलालाई सम्मान गर्दै साक्षी राखेर आफ्नो नव जीवन प्रवेशको दृढ संकल्प गरेकी छन् ।
चौधौं एपिसोडमा वादी जातिका बूढा र युवाहरू खाना पकाउने र केही लुगा धुन व्यस्त रहेको वादीहरूको दैनिकी र सामाजिक विम्व प्रस्तुत गर्दै ९ बजे विहानको समय विम्व र ववितालाई जीवन साथीका रूपमा अपनाउन चाहने भुवनेश्वरको घर नारायणघाटको गीतानगरमा भएको, उसको विद्यार्थी जीवनको विम्वात्मक सन्देश र वादी जीवनका वारेमा अध्ययन गर्न अर्जुन खोलाको तीरमा पेटी कन्ट्रयाक्टरको रूपमा रहेको, ववितालाई जीवनसँगीनीका रूपमा अपनाउन वादी वस्ती छाड्ने वेलामा ईश्वरीसँग वविताले विदाइ लिएका प्रसङ्गहरू आएका छन् ।
पन्ध्रौं एपिसोडमा १० वर्ष वितिसकेको सूचना छ । दश वर्षसम्म भुवनेश्वर र (वविता) वेलकुमारीले के के गरेर विताए भन्ने कुरा सोह«ौं एपिसोडमा सङ्केत मात्र छ ।
सोह«ौं एपिसोडमा वेलकुमारीको १० वर्षे जीवनले शिक्षा ग्रहण गरी शिक्षिका भएको, सामाजिक कार्यकर्ताको रूपमा रही महिला हकहित एवं उत्थानका निम्ति र महिला आफैंले लिनुपर्ने, दायित्व वहन गर्ने नेतृ नारीका रूपमा आफूलाई रूपान्तरण गरिसकेको, वेलकुमारी आफूलाई पारदर्शी बनाएर आफूले दश वर्ष अगाडि भोगेको जीवन र अहिलेको जीवनमा रूपान्तरण गराउने श्रेय पत्रकार रञ्जन र आफ्नै पति भुवनेश्वरलाई दिएकी छन् ।
सत्रौं एपिसोडमा रञ्जन वरालको झापाको दमक वजारको उत्तर तर्फको घर, पोखरी, कुखुराको लामो टहरो हाँस, कुखुरा आगनको फूलवारीद्वारा गाउँले जीवन पद्धति र कुखुरा चारो हालिदिने फुलमतीयाका माध्यमबाट मिश्रित जातीय संस्कृतिको सूचना समेत दिंदै रञ्जन वरालले वेलकुमारीको जीवनी सम्बन्धी पुस्तक अन्तिम चरण पु¥याएको सूचना दिइएको छ ।
अठारौं एपिसोडमा पुस्तक प्रकाशित भएको र यस पुस्तकमा विशेषतः वादी जातिको उत्थान र जीवन परिवर्तन सम्बन्धी विषय रहेको र वादी वस्तीमा उक्त पुस्तक निःशुल्क वितरण गरी युवाहरूमा समेत जाँगर ल्याउने पर्ने सन्देश दिइएको र ‘पुनर्जन्म’ नामले प्रकाशित भएको पुस्तक वेलकुमारीले पसलबट किनेर ल्याई पढिसकेको सूचना छ ।
उन्नाइसौं एपिसोडमा वेलुको पतिले पनि त्यही पुस्तक किनेर ल्याएको पति पत्नीका वीच भएको संवाद पछि भुवनेश्वरले आमाको नाक चिमोटी दिएपछि छोरी सिर्जनाले पनि आमा प्रति बढी संवेदनशील भएर बुबाको नाक टोकी दिएकीले वाल मनोविज्ञान पनि उपस्थित भएको छ ।
वीसौं एपिसोडमा वेलकुमारीको प्रस्तावमा रञ्जनलाई भेट्न छोरी सिर्जना सहित तीनै जना उनले दिएको ठेगानामा जाने छोटो निश्चयात्मक सङ्केत दिइएको छ ।
एक्काइसौं एपिसोडमा रञ्जनको भूइँ घर, उसको सुत्ने कक्ष र ऊ विरामी परेको अनि अन्तिम अवस्थाको सङ्केत गरिएको छ । अन्तिम कार्य पूरा गर्न कलम समातेको र लेख्न थालेको सूचना छ ।
वाइसौं एपिसोडमा रञ्जनले एउटा प्याकेट नासोको रूपमा राखी दिन छोरीलाई अह«ाएको, उसको मृत्यु भएको र गाउँलेहरूको लस्कर रञ्जनको घरतर्फ आएको दृश्य विम्व प्रस्तुत छ ।
तेइसौं एपिसोडमा रात्रिकालीन वसबाट भुवनेश्वर, वेलकुमारी र सिर्जना दमक पुगेको, एउटा वीद्यार्थीको सहायताले रञ्जनको घरमा पुगेको सूचना दिइएको छ ।
चौवीसौं एपिसोडमा रञ्जनले लेखेको चिठ्ठी, उसले लेखेको पुस्तक ‘पुनर्जीवन’ र वेलकुमारीले चुँडिएका टाँक सिएर लगाइदिएको पुरानो सेतो सट सहितको प्याकेट गीताञ्जलीले हस्तान्तरण गरेको र वेलकुमारीले चिठ्ठी पढेर भावविह्वल भएको दृश्य विम्व प्रस्तुत छ ।
पच्चीसौं एपिसोड उपन्यासको अन्तिम भाग हो । यस भागमा दमकका किसान, मजदुर, दलित जनजातिद्वारा रञ्जनको श्रद्धाञ्जली सभाको आयोजना भएको र त्यसमा वेलकुमारी, भुवनेश्वर र सीर्जना गीताञ्जली, कृष्णा आदिको पनि सहभागिता रहेको र हजारौंको जुलुस वेलकुमारीले बोकेको रञ्जनको रङ्गाइएको सर्टको ध्वजा नै कम्युनिष्टहरूको झण्डाको प्रारूप थाम्न असंख्य हातहरू बढिरहेको सङ्केत दिइएको छ ।
चरित्र चित्रण ः–
औपन्यासिक चरित्रले कुनै सामाजिक वर्ग, जाति, पेशा वा मनोवैज्ञानिक स्तरको प्रतिनिधित्व गर्दछ अनि उपन्यासमा प्राण भर्ने काम यसै चरित्र चित्रणले नै गर्दछ । यस ‘अर्जुन खोलाको तीर’ उपन्यासमा उपन्यासकारले अप्रत्यक्ष वा नाटकीय पध्दतिको प्रयोग गरेका छन् अनि उपन्यासकारले सङ्केत, घटना, मनोवाद र संवादको समेत प्रयोग गरेको पाइन्छ ।
यस उपन्यासका मुख्य पात्रका रूपमा पत्रकार रञ्जन बराल र अर्जुन खोलाको तीरमा यौन व्यवसाय गर्न बाध्य भएकी वादी जातिकी १८ वर्षीय केटी वविता भनिने गरेकी वेलकुमारी रहेका छन् भने सहायक पात्रका रूपमा भुवनेश्वर थपलिया र ईश्वरी रहेका र वजारको कञ्जुस, कुरूप र अखरखोटे साहु रहेका छन् भने गौण र सूच्य पात्रहरूमा वेलकुमारीकी आमा, भिनाजु र अन्य बदीनी महिला पारिपट्टिका थरुनीहरू आदि रहेका पाइन्छन् ।
रञ्जन बराल ः पेशाले पत्रकारका रूपमा रहेको झापाको दमक निवासी विपन्न पारिवारिक स्थिति रहेर पनि समाज सुधारका निम्ति प्रेरणामूलक दृढ विचार लिएको, वामपन्थी आस्थामा विश्वास राख्ने दृढ निश्चयी नवयुवक छ । परिवर्तनकारी चेतना, सांगठनिक शक्ति लिएको उदार र मानवतावादी विचार युक्त रहेको छ । जसको उत्प्रेरणाले अर्जुन खोलाको तीरमा यौन व्यवसाय गरेर बस्ने बादी जातिका महिलाहरूको जीवन बदल्न वेलकुमारीलाई प्रतिनिधि पात्रका रूपमा लिएर सत्प्रयास गरेको देखिन्छ । जातीय विकास, उत्थान र परिवर्तनका निम्ति त्यही जातिनै अग्रसर भएमा मात्र उत्थान सम्भव छ भन्ने विश्वास लिएको व्यवहारवादी छ । दमकमा बसेर पनि उसले विपन्न जाति, दलित वर्ग र किसानहरूको जीवन बदल्न सांगठनिक कार्यका निम्ति नेतृत्वदायी भूमिका निर्वाह गरेको पाइन्छ । त्यसकारण सबैको श्रध्दाको र प्रेरक पात्रका रूपमा उपस्थित रहेको पाइन्छ । ववितासँग आँखामा आँखा जुधाएर कुराकानी गरेको छ । यसो गर्नु हिप्नोटिज्म (वशीकरण)को प्रविधि प्रयोग गर्नु जस्तो देखिन्छ । त्यसकारण यो पात्र जातीय उत्थान र विकासका लागि उत्प्रेरक र नेतृत्वदायी भूमिका निर्वाह गरेकोले यो पात्र उपन्यासको मूल नायक ठहर्दछ ।
वेलकुमारी ः वादी जातिको गाना वजाना गरी एवं सामन्तहरूका निम्ति यौन सहचरीका रूपमा समेत काम गरी जीवन निर्वाह गर्ने जातिकी प्रतिनिधि पात्रका रूपमा रहेकी छ । यौन व्यवसायमा रहेका वेला यस पात्रको नाम वविता रहेको छ । आफ्नो बाबुको अन्त्य भएपछि साहुको रिण तिर्न एकजना साहुलाई रु.३०००।– लिएर छोरीलाई सुपुर्दगी गरेकी र त्यस रात ३ जनाले उसलाई भोग गरेपछि यौन व्यवसायीका रूपमा आफूले दुई वर्ष अघिदेखि यही पेशा अँगालेकी १८ वर्षीय वालिका छ ।
वेलकुमारीलाई यस नारकीय जीवनबाट उन्मुक्ति दिंदै वैवाहिक जीवनमा प्रवेश गराई आश्रय दिने नारायणघाट देखि दक्षिण गीतानगरमा घर भएको भुवनेश्वर थपलिया हो । यससँग वैवाहिक जीवनमा प्रवेश गरी सामाजिक कार्यकर्तृका रूपमा आफूलाई उभ्याउँदै आठ वर्ष पछाडि शिक्षिकाका साथै महिला उत्थानका निम्ति नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन् । साना साना वालवालिकाका चेतनाको विकास, नैतिकताको विकास गराउँदै उनीहरूलाई आत्मनिर्भर बनाउन शिक्षक शिक्षिकाको महत्वपूर्ण योगदान रहन्छ । समाज सेवा गर्नु भनेको आफूलाई समाजको उत्थानमा समर्पित गर्नु पनि हो । यी दुवै क्रियाकलापमा भएको सक्रियताले समाजमा आफ्नो व्यक्तित्व पनि प्रतिष्ठापित हुन्छ । त्यसकारण सुधारवादी चेतना, पारदर्शीपन र नेतृत्वदायी भूमिका समेत लिएकी नारीका रूपमा उपन्यासकी नायिका बन्न पुगेकी छन् ।
भुवनेश्वर थपलिया ः यस पात्रको घर नारायणघाटको दक्षिण गीतानगरमा पर्छ । विद्यार्थी जीवनदेखि नै विद्यार्थी र जनताको हक हितको निम्ति प्रतिवद्ध भएर लाग्ने स्वभाव लिएकोले अर्जुन खोलाको तीरमा बसोबास गर्ने वादी जातिको जीवनलाई नजिकबाट नियाल्न उसले पेटी कन्ट्रयाक्टर भएर काम गर्न थालेको थियो । यसै सन्दर्भमा वविता (वेलकुमारी)सँगको भेटले उसको नारकीय जीवनबाट उन्मुक्ति दिएर वैवाहिक जीवनमा प्रवेश गराएको छ ।
यस घटनाबाट मान्छेले समाज परिवर्तन गर्न गराउन व्यवहारिक र प्रयोगशील बन्न सक्नु पर्छ भन्ने सन्देश प्रवाहित भएको पाइन्छ । भुवनेश्वर र वेलकुमारीको मिलन र नयाँ जीवन प्रवेशले यही सन्देश दिन्छन् । त्यसकारण यो पात्र उपन्यासको सहनायकका रूपमा रहेको देखिन्छ । रञ्जनले उत्प्रेरकको भुमिका निर्वाह गरेको छ भने वेलकुमारीको विषयमा अर्थात् त्यस जातिकी प्रतिनिधि पात्रलाई लिएर, त्यहाँका अवस्था, वाध्यता, संस्कृतिका संकेतहरू समेत टिपेर ‘पुनर्जन्म’ नामक जीवनीमूलक कृति रञ्जनले लेखेर वादी जातिको उत्थानका निम्ति भुवनेश्वर भएर युवाहरूले, वेलकुमारी भएर युवतीहरूले उठ्नु पर्ने आग्रह गरिएको सङ्केत पाइन्छ ।
स्थानीय व्यापारी (अखरवोटे साहु) ः यो पात्र यस उपन्यासको खलपात्र हो । वादी वस्तीमा कस्ता कस्ता संवेदनाहीन र धनको रवाफ देखाउने, समाजका निकृष्ट मान्छेहरूको प्रतिनिधिका रूपमा खलनायकको उपस्थिति गराइएको छ । यसमा वादी जातिका यौन व्यवसायीहरूले भोग्नु परेका पीडा, हृदयविदारक अवस्था र जीवनको वाध्यताको प्रतिविम्व उपस्थित गराउन प्रयुक्त छ अनि जसको नैतिकता र आचार छैन, जसमा संवेदना छैन, ती व्यक्तिहरू अध्यारामा मनपरि गर्छन् उज्यालो देखि (चेतना देखि) डराउँछन् भन्ने सन्देश दिन प्रयुक्त छ ।
खलनायक (केही उरन्ठ्याउला केटाहरू) ः ‘अर्जुन खोलाको तीर’मा उपन्यासको सामाजिक पृष्ठभूमिको स्पष्टताको संकेतका निम्ति प्रयुक्त भएका छन् । यी पात्रहरू पनि सहायक पात्रका रूपमा रहन सक्छन् किनभने यिनै पात्रहरूका संकेतका माध्यमद्वारा वदिनीहरूले आफ्नो व्यवसायभित्र आइपर्ने संकटको उद्घाटनको संकेत पाइन्छ ।
सहायक ः–
ईश्वरी ः यो पात्र वविता (वेलकुमारी)की अत्यन्त मिलनसार साथी हो । आफूले नयाँ जीवनमा प्रवेश गर्ने गोप्य कुरा यसैपात्रलाई वताएकी छ र आफ्ना सरसामान लुगाफाटाहरू सबै तिमीले नै लिनु भनेकी छ । “ईश्वरी तिम्रो पनि त्यस्तो दिन आउने छ । त्यसको खोजी आफैंले गर्नुपर्छ” भन्ने उत्प्रेरणामूलक सल्लाह पनि वविताले यस पात्रलाई दिएकी छ ।
सिर्जना ः भुवनेश्वर र वेलकुमारीकी ४ वर्षीय छोरी हो ।
कृष्णा ः रञ्जन वरालकी श्रीमती हुन् । उपन्यासमा कुनै भूमिका नदेखिए पनि पोखरी, मत्सपालन, कुखुरापालन, हाँस पालन र घरको आँगनमा फूलवारी सजाएको परिवेशले यिनी जाँगरिली र उत्साही र व्यवहारिक महिलाका रूपमा देखिन्छिन् ।
गीताञ्जली ः रञ्जन बरालकी कान्छी छोरी हुन् । यिनले बाबुले अह«ाए बमोजिम काम गरी पुस्तकको प्याकेट बनाइदिएकी छिन् । अनि बाबु प्रति स्नेहशील र संवेदनशील देखिन्छिन् ।
यी पात्रहरूको उपन्यासमा त्यति ठूलो भूमिका नरहेपनि उपन्यासको सारवस्तुको विकास निम्ति सहयोग नै गरेको पाइन्छ ।
सूच्य पात्रहरू ः
वेलकुमारीको स्वर्गीय बाबु, वेश्यावृतिमा बाध्य पारेर संलग्न गराउने आमा, लखनऊ र भारतीय शहरबाट आउने यौन कर्मीहरूलाई वदिनीको व्यवस्था गरिदिने वेलकुमारीको भिनाजु (बाँध योजनाको चौकीदार) अनि दिदी आफ्ना हावभाव र संवेदनशील अङ्ग प्रदर्शन समेत गरी ग्राहक आकर्षण गर्ने १९÷२० वर्षे वदिनी केटीहरू, आफ्नै छोरी र आफ्नै दिदी बहिनीहरूलाई समेत यौनकर्मी ग्राहक जुटाउने भडुवाहरू र पुलनेरि भात पकाइरहेका बुढा र युवा आदि रहेका छन् । अर्जुन खोलाको तीरमा बस्ने वादी जातिका दैनिकी, संस्कृति र पीडाहरूको सङ्केतका निम्ति यी अदृश्य रूपमा रहेर पनि सूच्य रहेका अनि मञ्चीय नभएर पनि संकेत भने गरेका छन् ।
पर्यावरण ः– उपन्यासमा प्रयुक्त पात्रहरूले कार्यव्यापार गर्ने र घटनाहरू घट्ने स्थान, समय र त्यसको मानसिक प्रभाव नै पर्यावरण हो । यो एउटा परिस्थिति पनि हो । यसमा देश, काल र परिस्थिति पनि उपस्थित रहेको हुन्छ ।
देशकाल र वातावरण ः–
यस उपन्यासको कार्यव्यापार भएको स्थान दाङ जिल्लाको दक्षिणी भेगको लमही बजारको छेउमा पर्ने अर्जुन खोलाको तीरमा रहेको वादी वस्ती, चीतौन जिल्लाको गीतानगर, झापा जिल्लाको दमक बजार रहेका छन् भने परिधीय रूपमा लखनौ (भारत), नेपालगञ्ज, प्युठान आदि पनि आएको पाइन्छ ।
.....सालको चुनावी प्रचार प्रसारको माहौल, प्राकृतिक विम्व, चराचुरुङ्गीका आवाज सूर्योदय, दिन, साँझ, रात आदिका विम्वहरूले उपन्यासलाई यथार्थमूलक र विश्वसनीय बनाउन सकेको छ ।
यसमा भाव वाहिनी प्रकृतिको प्रयोग गरी औपन्यासिक भाव परिमण्डलको उपस्थिति गराई सूर्यलाई नव चेतनाको प्रतीकका रूपमा र नदीलाई निरन्तरताका र धार्मिक आस्था एवं जीवन वाहिनीका रूपमा प्रयोग गरिएको पाइन्छ ।
यस उपन्यासको वातावरणले प्रारम्भमा चुनावी माहोलको सङ्केत गर्छ अनि वादी वस्तीमा रहेका यौन व्यवसायी वदिनीहरूका वाध्यात्मक मनस्थितिहरू नेपालमा यी जातिले पाएको यौन व्यवसायको स्वतन्त्रता र उनीहरूले यसलाई आफ्नो जातीय संस्कृतिको रूपमा पाएको स्वीकृति, केही चेतनशील व्यक्तित्वहरूद्वारा यस प्रकारको उनीहरूको जीवनबाट उन्मुक्ति दिलाउने उन्मुक्त हुने सोचको विकास गर्न गराउन उद्यत रहेको, दुःख, सुख, क्षोभ, संवेदना, पीडा आदिको व्यवस्थापन भएको पाइन्छ ।
संक्षेपात्मक र सूचनात्मक संकेतात्मक एवं चित्रात्मक पद्धतिको अवलम्बन गरिएकोले उपन्यासको सारवस्तु संप्रेषणीय र उद्देश्यमूलक बन्न सकेको पाइन्छ ।
दृष्टि विन्दु ः–
यस उपन्यासमा बाह्य (तृतीय पुरुष) दृष्टि विन्दुको प्रयोग गरिएको पाइन्छ । यस दृष्टि विन्दुमा पर्ने सर्वज्ञ र हस्तक्षेपी दृष्टि बिन्दुको प्रयोग नगरी निर्वैयक्तिक दृष्टि विन्दुको प्रयोग गरेको, वर्णन भन्दा संवादको प्रचुरता एवं कही कही लेखकद्वारा सामान्य संकेतात्मक जानकारी दिदै फिक्सनहरूलाई जोड्ने कार्य गरेको पाइन्छ ।
उपन्यासको सारवस्तु ः–
यस ‘अर्जुन खोलाको तीर’ उपन्यासको सारवस्तु भनेको यहाँको वादी वस्तीमा बस्ने वादी जातिका विषयमा गरिएको स्थलगत निरीक्षणका सन्दर्भबाट उब्जिएकको उपन्यास भनी लेखकले “युवा हो! मुलुकलाई फेर्न उठौं” भन्ने शीर्षकमा स्वीकार गरेका छन् । त्यसकारण यो उपन्यास यथार्थवादी प्रगतिवादी चेतनाले भरिएको वादी जातिका उत्थान र उनीहरूले स्वीकारेको संस्कृति र समाजले मान्यता प्रदान गरेको यौन व्यवसायबाट अवकाश दिलाएर कसरी उनीहरूलाई मर्यादित जीवन जिउने वातावरण प्रदान गर्न सकिन्छ ? त्यसैको निराकरण गराउन वेलकुमारी जस्ती सचेत पात्र र भुवनेश्वर जस्ता क्रान्तिकारी चरित्रहरू एवं रञ्जन जस्ता पत्रकारको अहम भूमिकाले त्यसप्रकारको परिवर्तन गराउन संभव छ भन्ने यथार्थ देखाउँदै संभावनाको प्रस्तुति गर्नु रहेको पाइन्छ । त्यसकारण यस उपन्यासले यथार्थको सूक्ष्म निरीक्षण गरी कलात्मक प्रस्तुतिकरण गर्नु नै यस उपन्यासको उद्देश्य वा सारवस्तु रहेको पाइन्छ ।
भाषा शैली ः–
यस उपन्यासको भाषाशैली सरल र संप्रेषणीय रहेको छ । आलङ्कारिक भाषा, कथ्य भाषा, लेख्य भाषा र उखान तुक्का र लोकोक्तिको प्रयोगले गर्दा लघु उपन्यास भएर पनि यथार्थवादी प्रगतिवादी चेतनाले गर्दा संप्रेषणीय बन्न सकेको छ ।
उखान – वगेको खोला फर्केर आउँदैन । पृ. ३८
लोकोक्ति – सम्मान पाउँदा पात्तिने गरिन । अपमान हुँदा पनि ज्यादा घवराइँन । पृ. ३८
लोकोक्ति – जुन थालमा खायो त्यसैमा छेद पार्ने हुइँन । पृ. १०
रूपक, उपमा – भावनाको समुद्र बोकेर हात्ती जस्तै लमक लमक हिडिरहेकी थिइन ।
प्रतीक र विम्व ः–
यस उपन्यासमा प्रयुक्त सूर्य = चेतनाको प्रतीक, खोला = निरन्तरता, जीवनदायिनीको प्रतीक, चराहरू = स्वतन्त्रताको प्रतीक, मिर्मिरे उज्यालो = डरको प्रतीक, अँध्यारो = अचेतनताको प्रतीक भएर आएका पाइन्छन् ।
विम्व ः–
मकै वेच्ने साना नानीहरू, डिम्बा बेच्ने एउटा कालो कालो तन्नेरीको विम्वद्वारा नेपाली विपन्न वालक र भारतीयहरूले नेपालमा गर्ने गरेको रोजगारी प्रस्तुत गर्छ अनि लमही बजार क्षेत्रमा टाँसिएका सूर्यछाप पोष्टर र भित्ते लेखनहरूले यस क्षेत्रमा रहेका पहाडीमूल र मधेशी मूलक जातिहरूको मिश्रित वसोवास एवं कम्युनियष्टहरूको वोलवाला बढी रहेको सङ्केत गर्दछन् ।
गति र लय ः–
यस उपन्यास सिर्जनामा लेखकले दृश्यात्मक पध्दति र संक्षेप पध्दति दुवैको प्रयोग गरेका छन् । दृश्यात्मक पध्दतिको प्रयोग गरी पात्रहरूको संवादको प्रयोग गरेर उनीहरूका मानसिक अवस्था, मनोद्वन्द्व, मनोलाप, सामाजिक गतिविधि, रीति, स्थिति आदिको प्रस्तुति गरिएको छ भने संक्षेप पध्दति अन्तर्गत छोटा छोटा वाक्य, छोटा छोटा फिक्सनहरूको प्रयोग गर्दै उपन्यासको गतिलाई तीव्रता दिएका छन् भने यही द्वन्द्वका कारण उपन्यासले आफ्नो लय पनि प्राप्त गरेको पाइन्छ । यस उपन्यासमा रहेका प्रत्येक फिक्सनहरूले अन्योन्याश्रित भएर आवध्द रही लय प्राप्त गरेका छन् ।
द्वन्द्व व्यवस्थापन ः–
यस ‘अर्जुन खोलाको तीर’ उपन्यासमा द्वन्द्वको व्यवस्थापन चरित्रहरूको माध्यमबाट गरिएको पाइन्छ ।
 चुनावी प्रचार वाजीमा वामपन्थी र दक्षिणपन्थी बीचको आन्तरिक द्वन्द्वको संकेत पोष्टरहरू र भित्ते लेखनका माध्यमबाट संकेत गरिएको छ ।
 मकै बेचेर जीवन निर्वाह गर्ने वालक र अण्डा बेचेर जीवन निर्वाह गर्ने कालो युवकमा आर्थिक द्वन्द्व रहेको छ ।
 पत्रकार रञ्जनमा सामाजिक परिवर्तनकामी विचारको द्वन्द्व रहेको छ भने जीवनको आरोह अवरोहका बीचको आन्तरिक द्वन्द्व प्रवल रहेको छ ।
 वविता (वेलकुमारी)मा आफूले भोगिरहेको जीवन र परिवर्तनकामी चेष्टाका बीचको प्रवल द्वन्द्व आन्तरीक द्वन्द्वका रूपमा प्रकट भएको छ ।
 वेलकुमारीकी आमामा ऋणको भार बढेकाले आर्थिक द्वन्द्व प्रवल रहेको छ र ऋणबाट मुक्त हुन आफ्नी १६ वर्षे छोरीलाई रु.३०००।– लिएर यौनकर्मीहरूलाई सुम्पिएकी छन् ।
 वेलकुमारीकी साथी ईश्वरी र शर्मिलामा पनि यथास्थिति र परिवर्तनकामी इच्छाहरूका बीच द्वन्द्व रहेको छ ।
 भुवनेश्वरमा चाहिं समाज परिवर्तनकामी चाहना र त्यसलाई व्यवहारमा परिणत गर्ने चाहना लिएकोले यथास्थिति र परिवर्तनकामी संघर्षका बीचको आन्तरीक र वाह्य द्वन्द्व प्रवल रहेको पाइन्छ ।
यसरी अध्ययन गर्दा यस उपन्यासलाई द्वन्द्व प्रधान उपन्यासका रूपमा पनि मूल्याङ्कन गर्न सकिने सामाजिक, आर्थिक, कारुणिकता आदिका विविध द्वन्द्वहरू केलाएर हेर्न सकिने आधार उपन्यासमा पाइन्छ ।
शीर्षकको सार्थकता ः–
यस उपन्यासले अर्जुन खोलाको तीरमा रहेको वादी वस्तीको समग्र चित्र प्रस्तुत गर्नु र त्यसैको जीवन चक्रलाई परिवर्तित गरी नयाँ जीवन तर्फ उन्मुख गराउने रहेको पाइन्छ । त्यसकारण वादी जातिको सम्पूर्ण वस्तीको प्रतिनिधित्व गर्ने भएकोले अर्जुन खोलाको तीर शीर्षक राखिनु उपयुक्त प्रतिनिधिमूलक र प्रतीकात्मकताका दृष्टिले पनि सार्थक रहेको पाइन्छ ।
उपन्यासले लिएका केही विशेषताहरू ः–
१. अहिले सम्मका कुनै साहित्यकार, उपन्यासकार वा कथाकारका नजरमा नपरेका वादी जातिलाई उपन्यासमा स्थान दिइनु ।
२. दृश्यात्मक र सूचनात्मक र संक्षेप पध्दतिको प्रयोग गरी वादी जातिको व्यवसायमा परिवर्तन गरी उनीहरूलाई सामाजीकरण गराएर प्रतिष्ठापूर्ण जिन्दगी दिन सकिने संभावना प्रस्तुत गर्नु ।
३. फिल्ड निरीक्षणको क्रममा यो उपन्यास जन्मिएकोले प्रगतिवादी यथार्थवादी उपन्यास बन्न सक्नु र अनुसन्धानमूलक उपन्यास पनि बन्न सकेको पाइन्छ ।
४. सैद्धान्तिक वकालत उपन्यासले कतैपनि नगरेकोले यो उपन्यास अत्यन्त संप्रेषणीय र सन्देशमूलक रहेको पाइन्छ ।
५. यस उपन्यासको मूल केन्द्र मानवतावादी र समानतावादी छ एवं परिवर्तनकामी चेतनाबाट प्रभावित रहेको पाइन्छ ।
६. ऋणमा डुबेकी आफ्नी आमाको वाध्यात्मकता र लाचार अवस्थाका कारण इच्छा नभएर पनि आमाकै कारणले १६ वर्ष पुगेकी वेलकुमारीले यौन व्यवसायमा धकेलिनु परेको यथार्थ प्रस्तुत छ ।
७. वादि जातिका साँस्कृतिक परम्पराहरू, वाध्यताहरू पनि संकेतात्मक रूपमा प्रस्तुत गरिएको पाइन्छ ।
८. वेलकुमारी जस्ता संघर्षशील, सचेत र दृढ निश्चयी नारी, रञ्जन जस्ता चेतनशील पत्रकार र भुवनेश्वर जस्ता क्रान्तिकारी युवकहरूले आफ्नो समाज र जातीयताको उत्थान गर्न सक्छन् भन्ने सन्देशमूलक अठोट प्रस्तुत गर्न सफल रहेको छ ।
९. सरल र वोलीचालीको भाषा, संक्षेप पध्दति र संकेतात्मकताद्वारा उपन्यास संप्रेषणीय र उद्देश्यमूलक बन्न सकेको पाइन्छ ।
१०. प्रस्तुतीकरणको शैलीले ऋतुको आफ्नै मौलिकपन अवलम्वन गर्न सकेको पाइन्छ ।
११. ऋतु आसीक पत्रकार पनि भएकोले पत्रकारिताको सूचनात्मक प्रविधिको छाप यस उपन्यासमा पनि रहेको पाइन्छ ।
१२. भारतका दलित साहित्यकार एकेडेमी, भारत (विहार) नामक संस्था दिल्लीद्वारा स्थापना गरिएको डा.अम्वेडकर विशिष्ट पुरस्कार (१९९४ ई.) प्राप्त गर्न सफल कृति स्वयम् विशिष्टिकृत हुनु ।






प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 16 मङ्गसीर, 2069

लेखकका अन्य रचनाहरु