धन्दुकारी

- नन्दलाल आचार्य

“स्कुल जो बौवा ! तनखा कटतो त कि खेभी ?” (स्कुल जा बाबू ! तलब कट्यो भने के खान्छस् ?) डाँडा पारीका जून भएका बुबाले ढोका ढकढकाए ।
“जल्दी आ बौबा ! बेर भ’जेतौ त हमर नही कही ।” (छिटो आइज बाबू ! ढिलो भयो भने मलाई नभन नि ।) आमाले चेतावनीको भाषा बोलिन् ।
ऊ भने कोठाभित्र गुनगुनाई रहेछ । धेरै हल्ला ग¥यो भने रिसाउला भनेर बुबा आमाले बोलाउनै छाडे । श्रीमती आएर ढोका ढकढकाई । उसले कुनै प्रतिक्रिया देखाएन ।
वित्यो ! स्कुल जाने समय वित्यो । र, पनि ऊ बाहिरिएन ।
“ई बेटा त अगती भ’गेल ।” (यो छोरो त धन्दुकारी भयो ।) बाबुले रिसले धिकारे ।
“ग्यास आओर चौरके पाई नही देतै त हम देखा देबै ।” (ग्यास र चामलका लागि पैसा दिएन भने म देखाइदिन्छु ।) आमा पनि झर्कोफर्को गर्न थालिन् ।
घरपरिवारका मान्छेले खाना खाने वेला भयो । तैपनि ऊ बाहिरिएन ।
सधैं समयको ख्याल गरेर स्कुल पुगिसक्ने मान्छे कोठाभित्रै गुनगुनाइरहेको पाउँदा परिवारजनहरू तीन छक्क परिरहे । परिवारको भरणपोषण गर्ने एक्लो मान्छे आज बेखबर छ । सबैलाई चिन्ता थपियो । कतै दिमाख त विग्रिएन । शंकाउपशंका उब्जन थायो । उसैको प्रतिक्षामा सबै भोकै बसे । कसैलाई खाना खान मन भएन ।
नभन्दै ऊ निस्कियो र ‘आबै छी’ (आउँदै छु) भन्दै बाहिरियो । आधा घण्टा वितायो र ऊ फर्कियो । आमाको हातमा चार हजार रुपैयाँ थम्याइ दियो ।
सबै जना फेरि छक्क परे । महिनाभरि बोर्डिङ्ग स्कुल जाँदा चार हजार रुपैयाँ थम्याउने मान्छे, आज आधा घण्टामै थम्याइरहेछ । कतै दुई नम्बरी धन्दामा त फस्न थालेन ! शङ्का निवारण नगरी भएको थिएन ।
भएको चाहिँ के रहेछ भने– चित्रलेखा साहूनीको जेठो छोरो आशुतोष सिंह उपन्यासकार बन्न चाहँदो रहेछ । कसैले एउटा उपन्यासको पाण्डुलिपी गोप्यरूपमा उपलब्ध गराएमा पन्ध्र हजारसम्म इनाम दिन्छु भन्दो रहेछ । आफूले दुई वर्षदेखि लेख्दै आएको उपन्यासको पाण्डुलिपी नाम मेटेर बेच्न त उसलाई मन रहेनछ । तर, ऊ आर्थिक विपन्नताले गाँज्दा घुँडा टेक्न वाध्य भएको रहेछ । केही अंश बाँकी रहेकाले विहानभरि समय लागेको र अहिले त्यो आशुतोषको हातमा पुगिसकेको जानकारी दिन समेत ऊ पछि परेन । अर्कातिर उपन्यास प्रेसमा जाना साथ बाँकी रकम हात पर्ने आश्वासन पाएको कुरा समेत बताइदियोे ।
उसको वर्णन सुनेर बाबु–आमा र पत्नीलाई लज्जावोध भयो ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 16 मङ्गसीर, 2069

लेखकका अन्य रचनाहरु