मान्छे

- नारायण तिवारी

‘‘उः, बाहुन आयो !’’ म सुनिरहेको छु । मैले नसुन्ने गरी बोलेको भए पो नसुन्नु ! उनीहरू सबै मलाई, अलिकति छिसिक्क रिस उठ्यो कि ‘बाहुन’ भनिहाल्थे । खुसी हुँदा हरि भन्थे । कहिले त ‘हरिया’ पनि भनिदिन्थे । म मुरमुरिन्थेँ । उनीहरू कोही नेवार थिए, कोही क्षत्री । एउटा साथी राई पनि थियो र अर्को गुप्ता थियो । हुन त सबै मेरा समवयी साथीहरू नै थिए तर म साथीको ‘समानता’ भन्दा अलि तल झरेको थिएँ । मानौँ, म साथीहरूको माझमा जात नमिल्ने दमाईं थिएँ वा कामी थिएँ वा यतै तराईमधेसतिरको दुसाध, पासवान थिएँ । अहिले यति बेला तराईतिर चल्ने गरेको आन्दोलनको नाराको ‘खस’ जाति खाले बाहुन म मेरा साथीहरूको नजरमा थिइनँ, जसले चलाखी गर्न जान्दछ, जो देश हाँक्छ, जो सधैँ अगुवा छ । बरु लुते बाहुन थिएँ । यो सबै हुनुका पछाडि एक मात्र कारण थियो— मेरो गरिबी ! म बाहुन पनि थिएँ कि थिइनँ, थाहा छैन मलाई तर यति थाहा छ— म गरिबचाहिँ अवश्य थिएँ ।
‘‘ए बाहुन ! किन ढिलो ?’’ मेरो नेवार साथी बद्री बोल्दै थियो झर्किंदै ।
‘‘हो त, किन ढिलो गरेको हरि ?’’ गुप्ताले अलि बिस्तारै, अलि नझर्किंदै नाम काढ्यो ।
‘‘हे ! यो बाहुन पहिलेदेखि यस्तै हो । छाड्दे, जाऊँ छिटो... ढिलो भइसक्यो ।’’ क्षत्री साथी बोलिरहेको थियो ।
राई साथी केही नबोली चुपचाप थियो । मानौँ, ऊभित्र पनि ढिलो भएकोमा विरोधको ज्वालामुखी फुटिरहेको छ । किनभने ऊ हँसिलो थिएन । उसको अनुहार कालो भएर झन् अँध्यारो देखिएको थियो ।
‘‘तिमीहरू सहरमा ठाँटले बस्छौ । मैले गाउँबाट आउनुपर्छ । हुँदैन त ढिलो...!’’ मैले प्रतिवादमा यति बोलिदिएको थिएँ ।
‘‘ए ! साइकल कहाँ राखूँ हँ ?’’ म फेरि बोल्दै थिएँ ।
‘‘सधैँ कहाँ राख्थिस् ?’’ यति भत्रासाथ बाघले झैँ झम्टेर क्षत्री साथीले साइकल तानेर मलाई घचेड्यो— ‘‘हिँड् छिटो, छिटो हिँड् । मेरो घरमा राखेर आइज ।’’
बजार अड्डाचोकबाट सबैभन्दा नजिक उसकै घर पर्दथ्यो । म साइकल घिस्याउँदै अघि बढेँ । क्षत्री साथी मनोजले एक हातले मलाई र अर्को हातले साइकललाई मानौँ घचेट्दै, दौडाउँदै थियो ।
उसको घरको बरन्डामा पु¥याएर मैले साइकल राखिदिएँ र हामी दुवै हतारहतार फेरि फक्र्यौं ।
हामीलाई पर्खिरहेका अरू तीन जना साथीहरू छटपटछटपट गरिरहेका थिए । नेवार साथी मोहनले नै सबैभन्दा पहिले मेरो नाम राखिदिएको थियो । ‘बाहुन’ म थिएँ तर नेवार मोहनले मेरो नाम राखिदिएको थियो र बारम्बार न्वारान गरिरहन्थ्यो । सबैभन्दा बेसी पीडित म उसैबाट थिएँ । अँ, सबैभन्दा धनी पनि उही नै थियो । धनी मात्र कहाँ, ऊ त सहरको ठूलो ठेकेदारको छोरो । सहरमा बनिरहेको ‘सुस्वास्थ्य मेडिकल कलेज’ को करोडौँको बिल्डिङको ठेक्का उसैले प्राप्त गरेको थियो । ए होइन, होइन— उसले होइन, उसको बाबुले प्राप्त गरेको थियो । तर उसले नै भन्दा पनि केही फरक थिएन किनभने ऊ बाबुको दाहिने हात हुन नसकेको भए पनि देब्रे हातचाहिँ अवश्य बनेको थियो ।
‘‘ए बाहुन ! तँलाई दसै बजे आइपुग्नु भनेको होइन ? एघार बजाउँछस्, अझै बाह्र बजाउन खोज्छस् ?’’
एक मनले त सालेको घाँटी समातूँ र कालो चस्मा फुकालेर हुŒयाइदिऊँझैँ लाग्यो । फेरि खुनको घुँट पिउँछु । यो मोरो यस्तै हो भन्छु । एकपल्ट क्याम्पसमा योसित झगडै मच्चिएको थियो । अहिले त बाहुन मात्र भन्छ, त्यस बेला त झन् ‘‘नाक चुच्चे काले बाहुन’’ भन्थ्यो बारम्बार । क्याम्पसमा उसका लागि मलाई बोलाउने अर्को नामै थिएन । मेरो विद्रोहले भीड नै जम्मा गरिदिएको थियो । सबैले छुट्ट्याइदिएका थिए, उसले भनेको थियो— ‘‘मजाक गरेको नि ! तँसँग मजाक पनि गर्न नहुने ?’’
‘‘यस्तो भद्दा मजाक ! मेरो आत्मसम्मानलाई नै मटियामेट गरिदिने पनि कहीँ मजाक हुन्छ ?’’ मैले भनिदिएको थिएँ ।
‘‘तँ र म लँगौटिया साथी होइन ? खोपी खेल्ने साथी होइन ? गुच्चा खेल्ने साथी होइन ?’’
‘‘हो ! तर मलाई सधँै हेपेरै बोल्नुपर्छ त ? एकै दर्जामा राखेर बोल्न मिल्दैन ?’’ मैले भनिदिएको थिएँ ।
त्यस दिनपछि क्याम्पस पढुन्जेल ऊसँग बोलचाल बन्द भयो ।
त्यस दिनदेखि ऊ पनि बोलेन, मैले पनि बोल्न आवश्यक ठानिनँ ।
सँगै हिँड्थ्यौँ, सँगै बस्थ्यौँ तर अहँ बोलचाल भएन । मनोज क्षत्री, मोहन श्रेष्ठ, प्रभु गुप्ता सबै साथीहरू लँगौटिया थियौँ । त्यसैले मनोज र अरूहरू हाम्रो बीचको झगडा देखेर मुसुमुसु हाँस्दथे । तैपनि मनोजचाहिँ भन्दथ्यो, ‘‘यो बाहुनलाई नचलाओ । यसलाई बिझ्छ, ऊ अलि भावुक छ !’’
मलाई थाहा थियो, तिनीहरू मलाई किन चलाउँथे ? म गरिब थिएँ— त्यसैले हेप्थे । नभए त हेप्नुपथ्र्यो गुप्तालाई, त्यो त्यस्तो किन हुँदैनथ्यो ? अहिले तराईतिर चलेको आत्मसम्मानको लडाइँअनुसार त म खस–बाहुनले गुप्तालाई हेप्नुपर्दथ्यो । तर मेरा नजरमा गुप्ता सम्मानित साथी थियो । वास्तवमा ऊ मिलनसार प्रवृत्तिको पनि थियो । उसका बाबुबाजे पनि व्यापारी थिए । देवानगन्जमा बस्थे पहिला उनीहरू । पछि विराटनगर भित्रिएका हुन् । विराटनगरमा उसको हजुरबाले स्थापना गरेको ‘सुरेश राइस मिल’ अहिले पनि चलिरहेको थियो । विराटनगरको प्रमुख स्थानमा रहेको मिल चलाइरहेका थिए उसका बाबु र ऊ भएर....। सहरमा केही नभए पनि मिल भएका मानिस हुनेखाने नै मानिन्थे । तर मेरो साथी गुप्तालाई धनको घमन्डी मैले देखिनँ । ऊ मलाई त्यतिविधि हियाउँदैनथ्यो ।
आज सबै भेला भएका थियौँ र जाँदै थियौँ मेरै लागि । सबै साथीहरू लागेका थिए मेरै लागि....। मेरो न्वारान गर्ने नेवार साथी मोहनसित क्याम्पसमा पढ्दा बोलचाल बन्द भए पनि क्याम्पस सकिनासाथ बोलचाल सुरु भइसकेको थियो । अहिले ऊ मेरै लागि, मैलाई पर्खिएर बसिरहेको थियो ।
राई साथी हितमान घोसेमुन्टो लगाएर बसेको थियो मेरै लागि । ऊ पनि बी. कम. सँगै पढेको साथी । ऊसितको ‘दोस्ती’ पछिको हो; गुप्ता, क्षत्री र मोहनझैँ ऊ लँगौटिया साथी थिएन तर पछि हाम्रो समूहमा आएपछि नछुट्टिने गरी समावेश भयो, लँगौटिया साथीजस्तै नै ऊ पनि भयो ।
ऊ पहाडको धनी बाबुको छोरो थियो । सुरुसुरुमा उसले मसित सम्मानित व्यवहार नै ग¥यो तर पछि....? नेवार साथी मोहन, क्षत्री साथी मनोज र गुप्ता साथी प्रभुको मप्रतिको ‘हेपाहा’ व्यवहार देखेर अन्जानमै उसले पनि मलाई हेप्न थालिसकेको थियो । नबोली–नबोली, झर्केर, हाउभाउले ऊ मलाई हेप्थ्यो ।
‘‘म बाहुन भनेर हेपेको होइन, तिमीहरूले । म केको बाहुन ? न जप गर्छु, न ध्यान गर्छु, न धोती लाउँछु, न टुप्पी पाल्छु, न आतेपाते गर्छु ? होइन म बाहुन होइन । मलाई कामी भने पनि हुन्छ, सार्की भने पनि हुन्छ, भोटे भने हुन्छ, यतै तराईको दुसाध, पासवान जे भने हुन्छ तर म बाहुन होइन, प्लिज मलाई बाहुन भनेर नहेप !’’ यस्ता प्लिज र ‘गिडगिड’ त कति गरेँगरेँ । कहिले आपूm पनि साथीहरूसितै जिस्किएरै यसो भनेँ । कहिले नजानिँदो पाराले गम्भीर भएरै भनेँ ।
व।स्तवमा मैले मान्छे हुन चाहेँ— कुनै जाति होइन ।
मेरा बा हलो जोत्नुहुन्थ्यो । हलो जोतेर भए पनि गाउँबाट सहर पढ्न पठाउनुभयो । ‘आतेपाते’ उहाँले पनि जान्नुभएन, बाहुन भनेर के गर्नु ? आफ्नो पाँच कट्ठा खेती जमिन र मुखिया बाको हली, यही थियो हाम्रो बाको जजमानी ! न संस्कृत पढ्नुभयो, न नेपाली । निरक्षर बाआमाले मलाई पढेलेखेको ‘मान्छे’ बनाउन खोज्नुभयो । हुन सक्छ— मुखिया बाको हली हुँदा कति पटक हप्की खाएर, मलाई हप्की खानु नपर्ने छोरो बनाउन खोज्नुभएको । हुन सक्छ— मुखिया बाको प्रताडनाबाट आफ्ना सन्तानले पनि प्रताडित हुनु नपरोस् भत्रे चाहना रोज्नुभएको ।
आखिर बा रगत छादेर असमयमै बित्नुभयो । सारा गरिबहरूको नियति जस्तो हुन्छ, त्यस्तै नियति मेरो ‘बाहुन’ बाले भोग्नुभयो असमयमै मृत्यु वरण गरेर । आमा त्यसपछि पीरले नै थला पर्नुभयो । मेरी एक मात्र प्यारी बहिनीलाई छाडेर, मलाई छाडेर बा मर्नुभएको दुई वर्षमै आमा पनि मर्नुभयो । मैले बी. कम. को पढाइ पूरा गर्न सकिनँ । बहिनीको जिम्मेवारी काँधमा आएपछि मैले बाको बिँडो थामेँ । साथीहरू ठूलठूला, धनीमानी बाबुका छोरा थिए । ममा गरिबीको हीनताबोध त छँदै थियो, झन् दबेँ । त्यसपछि साथीहरूसितको सम्पर्क पूरै विच्छेद भयो ।
एकपल्ट मोटरसाइकलमा देवानगन्ज जाँदै गर्दा मलाई गुप्ताले देख्यो— ‘‘तँ त्यही हाम्रो साथी हरि होइनस् ? के हालत बनाएको ?’’ त्यस बेला उसले मलाई धानको बीउ उखेलिरहेको देखेको थियो ।
अर्को एक पटक सहर जाँदा अचानक राई साथी हितमानले देख्यो र दाँतमा औँला राख्यो— ‘‘ओहो हरि ! तिमी किन यस्तरी दुब्लायौ ?’’ यद्यपि ऊ भत्र चाहिरहेको थियो, किन यति दरिद्र देखिन्छौ ? मैले उसको आँखाबाट अनुमान लगाएको थिएँ ।
त्यसै गरी मनोजले, मोहनले पनि मलाई पटकपटक सहरमा भेट्टाए र स्नेह व्यक्त गरे । किन यस्तो ? भन्दै मेरो अवस्थाप्रति सहानुभूति जताए ।
‘‘जसको बाबु हुँदैन, तिनीहरूको हालत यस्तै हुन्छ ।’’ मैले भनेँ तर भत्र चाहन्थेँ— जोसित पैसा हुँदैन, उसको हालत यस्तै हुन्छ ।
यी मिल्ने साथीहरूसितको सम्पर्क सदाका लागि पूर्ण विच्छेद हुन सकेन । व्यवहारले साथीहरूप्रति पूर्ण संलग्नता पनि राखिरहन असमर्थ बनेँ तर भेट हुँदै रहे । सम्बन्धलाई पूरै पृथक् राख्न मैले पनि चाहिनँ र सहर गएका बेला उनीहरूसित भेट्दै पनि गरेँ, बोल्दै पनि गरेँ ।
बहिनीको बिहे भयो, यथाशक्ति । टाढा कहाँ जानु, घरगाउँकै केटा उसैले रोजी, जिम्मा लगाएँ । जातपात हेरिनँ, खाली उसले रोजेको हेरेँ— ठीकै लाग्यो र टीका लगाइदिएँ ।
उनै ज्वाइँले मेरा लागि आफ्नो मामाको छोरीको कुरा चलाए र जिम्मा लगाए; मैले स्वीकार गरेँ । बिहेको बाजा, बरियाँती, नाचगान हामी दाजुबहिनी, ज्वाइँ र ज्वाइँका बाबुआमा जम्मा भएर आपैmँ पूरा ग¥यौँ । पण्डित पनि पढाएनौँ, पूmलमाला लगायौँ, सिन्दूर हाल्यौँ र ग¥यौँ बिहे ।
सहरका साथीहरूले भने, ‘‘बिहे गरिस्, बोलाइनस् ।’’
शक्ति भए पो बोलाउनु ! केही बोलिनँ, ट्वाल्ल परेँ ।
साथीहरूले पनि बिहे गरे, धूमधामले गरे हुनन्— खोइ कहाँ बोलाए !
मैले ‘शक्ति’ नभएर बोलाइनँ । उनीहरूले दरिद्र देखेर बोलाएनन् । मैले सोचेँ ।
जे होस्, भेट्दा बोल्छन्; जसरी होस् बोल्छन् । हेपेर होस्— साथी मान्छन् । नभए मैले गिडगिडाएपछि ‘हिँड्न त जाऊँ, भेटौँ अग्रवाल साथीलाई’ किन भन्थे ।
सहरको धनाढ्य अग्रवाल परिवारको छोरो प्रमोद हामीसितै पढ्थ्यो । मैले एक्लै भेट्ने, भत्रे आँट गरिनँ । साथीहरूसित कुरा राखेँ— गिडगिडाएँ । यति
आत्म–असम्मानी थिइनँ म, तर भएँ । मेरा दुई बालक छोराछोरीको अनुहार देखेर म आत्म–असम्मानी भएँ । नझुक्ने शिर झुकाएँ । तिनको भविष्य मुखिया बाको टहल र मेरो पैतृक पाँच कट्ठा खेतीले पूरा गर्न सक्दैनथ्यो । त्यसैले म केटाकेटीको भविष्यका खातिर आफ्नो आई. कम. पासको डिग्री बोकेर भौँतारिएँ ।
साथीहरूसित पीर पोखेँ र आइतबार प्रमोद अग्रवालकहाँ चारै जना साथी गएर भत्रे निधो भएको थियो । यस बेला हामी प्रमोद अग्रवालकहाँ जान हतारिइरहेका थियौँ ।
‘‘के छ मोहन ?’’ प्रमोदले पालैपालो सबैसित हात मिलायो ।
‘‘अरे यो हरिलाई के भयो रे ?’’ अग्रवाल साथीले मेरो वेशभूषालाई सङ्ककेत ग¥यो— मलाई लाग्यो ।
‘‘यसकै लागि त तिमीकहाँ आएको !’’ क्षत्री बोल्यो ।
‘‘अब तिमीले यो हरिलाई आफ्नै कुनै कारखानामा अल्झाइदिनुप¥यो ।’’ राई साथी बोल्यो । सधैँ गम्भीर हुने राई साथीले मेरा लागि पनि गम्भीर भएर बोलेको देखेर मेरो मनमा ऊप्रति श्रद्घा जागेर आयो । म भावुक भएँ र आँखामा आँसु उमारेँ ।
‘‘हेर प्रमोद ! यो बाहुनले सारै दुःख पायो । आखिर यो हाम्रै साथी त हो, होइन ? यसलाई साथी सम्झेर तिमीले कुनै काममा लगाइदिनैपर्छ ।’’ उही नेवार साथी मोहनले प्रमोदसित मेरो लागि यति जोड दिएर बोलेको देखेर म फेरि भावविह्वल भएँ । मैले बिर्सिएँ, मोहनले मलाई सधैँ खसालेर बोल्ने गरेको पनि बिर्सिएँ । उहिलेको झगडा त झनै बिर्सिएँ । सम्झिएँ त अहिले, परेको बेला मेरा लागि साथी मोहनले गरेको नोकरीको प्रयास...! ‘केही लागेन भने पख न पख, म मेरो बाबुलाई भन्छु’— मोहनको यो आश्वासन पनि सम्झिरहेँ ।
क्षत्री साथी मनोजले पनि भिटो दिएर सिफारिस ग¥यो— ‘‘तिमीले जसरी भए पनि यसलाई काम लगाइदिनुपर्छ ।’’
‘‘अरे बाबा ! तिमीहरू कस्तो कुरा गर्छौ ! यो हरि मेरो साथी होइन ? ल भोलि नै देखि तिमी मेरो अफिसमा आउने ! जागिर पक्का !’’
— जागिर पक्का !
— जागिर पक्का !
— हरि तेरो जागिर पक्का !
नेवार करायो, क्षत्री करायो, गुप्ता पनि, चुपचाप बस्ने राई साथी पनि करायो ।
अरू त अरू, जागिर दिने प्रमोद पनि करायो— ‘‘जागिर पक्का ! हरि तिम्रो भोलिदेखि जागिर पक्का !’’
अचानक मेरा आँखाबाट आँसुका बलिन्द्र धारा बगे । भक्कानो फुटेर मेरो बोली पनि अवरुद्घ भयो ।
सबै छुटे; आआफ्नो बाटो लागे । भोलि आउने बाचा गरेर म छुट्टिएँ । म मनोजसँगसँगै साइकल लिन उसको घर गएँ ।
साइकल टिपेँ र बिदा मागेर गाउँतिर लागेँ ।
परेको बेला साथ दिने नै साथी हो । यी मेरा साथीहरूले मलाई हेपे पनि, जिस्क्याए पनि परेको बेला साथ पनि दिए । मेरा यी सबै साथीहरू सच्चा साथीहरू हुन्, सच्चा साथीहरू रहेछन्— मैले सोचिरहेँ । मलाई कति बेला घर पुगेर श्रीमतीलाई यो खबर दिऊँ भइरह्यो । कति बेला छोराछोरीलाई बोकेर उफारौँ भइरह्यो । त्यसैले मैले जोडजोडले साइकलमा पाइडल चलाइरहेँ, साइकल स्पिडमा कुदाइरहेँ....!

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 9 मङ्गसीर, 2069

लेखकका अन्य रचनाहरु