प्रेम जीवन मात्र हैन मृत्यु पनि

- नन्दलाल आचार्य

प्रिय मित्र,

कान हुनेसँग शब्द सुनाइन्छ, मन हुनेसँग मन साटिन्छ । अहिले तिम्रा लागि भनी शब्द सुनाउनुको कुनै अर्थ छैन । तिमीकहाँ मेरो मन पठाउने ध्येयले निरर्थक शब्दहरूको लहर बनाउँदै छु । घर जलिसकेपछि दमकल आउनुको कुनै मूल्य हुन्न । मन बुझाउने प्रयत्नस्वरूप मन खोल्दै छु । सिकेका सबकहरू पैmलाउँदै छु । एक छोरी र एक छोराले घेरिएकी, काखमा तिम्रो अनुहार हेर्न नपाएको गर्भे टुहुरो छोरालाई लिएकी, रूञ्चे र श्वेत वस्त्रमा प्रस्तुत भएकी, बेल्टारको कुनै घरको आँगन पोलेर भित्र्याएकी तिम्री धर्म पत्नीको दिनचर्या केवल घाम ताप्नुछ, तिम्रै यादमा आँसु बगाउनुछ र पछुतोका शब्दहरू जोडेर एक्लै, एक्लै बरबराउनुछ ।
मित्र, म नसम्भूmँ भन्छु, सम्झी हाल्छु । जुन कुरोलाई विर्सन खोजिन्छ, त्यही कुरो बरोबर याद आइरहनु नै मानवीय स्वभाव हो क्यारे । तापिन ती पाटाहरूलाई एकै पटक बिर्सन प्रयत्न गरेँ । । आफ्नो दिमाखलाई शुद्ध र सादा पार्न चाहेँ । भनेजस्तो हुँदो रहेनछ मित्र ! तिम्रै यादगारका धेरैधेरै कुराहरू मेरै वरपर छन् । ती कुरा देख्नासाथ मन नथामिँदो रहेछ, एकाएक भक्कानिँदो रहेछ । कहिले काहीँ एक्लै म खुब रून्छु । तिम्रै यादमा आँखाबाट आँसु बगाउँछु । कोही, कसैको मनभित्र पस्न कोही नसक्ने रहेछ ।
जब त्यो दृश्य अगाडि आइदिन्छ, जब तिमी मन अगाडि तेर्सिदिन्छ््यौ, मन भक्कानिन्छ । मन थाम्न सक्दिनँ । मुस्किलले दबाएर राख्छु तर अश्रुधारा बर्षिन कसैले रोक्न सक्दैन । किनकिन म आफैँ थेगिन सक्दिनँ । मलाई थाहा छैन । मेरो रगतको नाता यस समाजसँग छ तर तिमीसँग थिएन । तर, भावनाको नाता पो विराट हुँदो रहेछ । रगतको नाताभन्दा भावनाको नाता कयौँ गुणा ठूलो हुँदो रहेछ । अभावमा पो माया–ममता बर्षंदो रहेछ । यत्तिविघ्न विक्षिप्त मनोदशा हुनुमा पक्कै पनि तिमी र म बीचको अघोषित कार्यगत एकताको लामो श्रृङ्खलाले हो । नत्र मन यसरी किन मडारिन्थ्यो, जल्थ्यो र भुट्भुटिन्थ्यो ।
मित्र ! तिम्रो निर्दोष चरित्र सम्झन्छु । सारालाई आफ्नै परिवारजन सम्झने व्यवहार याद गर्छु । तिम्रो त्यो निष्कपट चञ्चलता र शिष्ट चुलबुलेपनको महसुस गर्छु । बिर्सेको भानमा हराउन खोज्छु र पनि सक्दिनँ । म के गरूँ ? भन मित्र ! म के गरूँ ? तिम्रो सम्झनामा छट्पटिएर नबसे के गरूँ ? म मनबाट तिमीलाई कागजमा उतार्न लेख्दै छु । सदाको लागि बिर्सन यसो गर्दै छु । केबल एक पटक लेखेपछि पुनः कहिल्यै नलेख्ने सोचमा उभिएको छु ।
धिक्कार छ, लाजपचेको समाजलाई, गतिछाडा त्यस कुरूप सोचलाई र निर्दयी परिस्थितिलाई ! यत्तिखेर तिम्रो मायालु लवज र निर्दोष आवाजले मलाई झकझकाइरहेछ, व्युझाइरहेछ, बेचैनीमा पारिरहेछ । कताकता म तिनै शब्दहरू सुनिरहेको छु– ‘ यार ! जिन्दगी यस्तै हो । धर्म पूरा गर्दै जानुपर्छ । जसका छोरी जीवनमा आए पनि खुशीसाथ जिउँनुपर्छ । संसारलाई हँसाएर जिउँनुमै जिन्दगीको साँचो आनन्द छ !’
तिम्रो बोली पटकपटक सुनिरहेको छु । अहिले पनि वरपर गुञ्जिरहेझैं लाग्छ । तर, तिमीले त हँसाउँदा, हँसाउँदै रूवाएर गयौ । तिमी हामीलाई छाडेर किन गयौ ? यार, असी वर्ष उमेर काटेका बाबुआमा तिम्रा साथमा थिए, कलकलाउँदा छोराछोरी वरपर थिए, भरभराउँदी शिक्षित धर्मपत्नी साथमा थिइन्, दुःख–सुखले सिर्जना गरेको दुई तले महल फत्तेपुर बजारमा थियो । धन, मन र ऐश्वर्यले भरिपूर्ण आधा दर्जन अधिक दाजुभाइ थिए, सरकारी जागिर थियो, क्याप्टेन हुन अब केही बेर लाग्दैनथ्यो । यार ! तिमीसँग के थिएन, भन के थिएन ! मेरो यो आँखा र निष्कपट मनले त भनिरहेछ– ‘सबथोक तिमीसँग थियो ! मेरो सङ्गत त छैन तर पतिपत्नीका बीच अघोरै प्रेम थियो, विश्वास थियो । बजबुत संसार थियो । नचर्ककने, नहल्लने, नथर्कने धरोहर थियो । प्रौढ मातापिताको स्याहारसुसार गर्न पाउँदा तिमी भाग्यवानी ठान्दथ्यौ, सासुससुराको सेवाटहलमा समर्पित हुन पाउँदा र पतिदेवको मुहारमा खुशी नाचेको हेर्न पाउँदा तिम्री धर्मपत्नी पनि आफूलाई सौभाग्यवती ठान्थिन् । तर, आँखा लागे सत्रुका ! एउटा सत्रु होइन, दुइटा सत्रु होइन, थरीथरीका सत्रु भए ! तिम्रो प्रेममय नजरले कसैलाई थोरै पनि अविश्वास गर्न सकेन । तिम्री पत्नीको कोमल हृदयमा पनि कसैले जहर प्रवेश गराएको पत्तै भएन । दुर्भाग्य ! अन्जान, अन्जानैमा के के भयो, भयो ! परिणाम नसोचीकन काम भयो । नचर्ककने, नहल्लने, नथर्कने तिम्रो पारिवारिक संसार एकै पटक क¥याक्कै भाँचियो र गल्र्यामगुर्लुम खस्यो । सबै जना छाँगाबाट खसेझैं भए ।’
अरू के नै लेखूँ र ! मैले पढेको र तिमीलाई सुनाउन चाहेको दार्शनिक ओशोका जीवन बारेका केही कुरा यहाँ उल्लेख गर्नु सान्दर्भिक ठान्दछु– मेरा प्रिय आत्मन्, जीवनको खोजका सम्बन्धमा केही कुरा तपाईंहरूलाई भन्नेछु । हामी जसलाई जीवन भन्दछौं, त्यसलाई जीवन भनी बुझ्ने कुनै कारण छैन । र, हामी जसलाई जीवन भनिरहेका छौं त्यो जीवन होइन भन्ने स्पष्ट नहुञ्जेल, यथार्थ जीवनको खोज प्रारम्भ हुन सक्दैन । अन्धकारलाई नै कसैले प्रकाश मान्ने हो भने प्रकाशको खोज हुन सक्दैन । र, मृत्युलाई नै कसैले जीवन मान्ने हो भने जीवनबाट वञ्चित हुन पुग्छ ।
असाध्यै थोरै व्यक्तिहरूलाई मात्र जीवन उपलब्ध हुन्छ । जन्म सबै व्यक्तिले पाउँछन् र अधिकांश व्यक्तिहरू जन्मलाई नै जीवन सम्झिने भूल गर्छन् । जेलाई हामी जीवन मान्दछौं, त्यो केवल एउटा जीवन पाउने अवसर हो– पाउने वा गुमाउने । किनकि त्यसबाट जीवन पाउन पनि सकिन्छ र जीवन गुमाउन पनि सकिन्छ ।
हामीले जेलाई जीवन भनी जानेका छौं, त्यो केवल एउटा अवसर हो, त्यो एउटा सम्भावना हो । त्यो एउटा बीउ हो, त्यसमा केही विकसित हुन पनि सक्छ र नहुन पनि सक्छ । बीउ व्यर्थै रहने, त्यसमा कुनै टुसा नपलाउने, कुनै फूल नफुल्ने, कुनै फल नफल्ने पनि हुन सक्छ । दुवै कुराको सम्भावना छ । र, आजसम्म जस्तो भएको छ, अधिकांश व्यक्तिहरूको बीउ व्यर्थै रहन जान्छ । असाध्यै कम व्यक्तिको जीवनमा टुसा पलाउँछ, फूल फुल्छ र सुगन्ध आउँछ । यस्ता थोरै व्यक्तिहरूलाई हामी पुज्दछौं, उनीहरूलाई सम्झन्छौं, तर एउटा के कुरा सम्झदैनौं भने ठ्याक्कै त्यस्तै बीउ हामीले पनि पाएका छौंं र ठ्याक्कै त्यस्तै सुगन्धको प्राप्ति हामी पनि गर्न सक्छौं ।
महावीर, कृष्ण वा क्राइष्टलाई देखेर पनि जसको मनमा मभित्र पनि ठ्याक्कै त्यस्तै बीउ छ र म पनि ठ्याक्कै उनीहरूकै जीवन जस्तै जीवनलाई उपलब्ध हुन सक्छु भन्ने अपमानको बोध जन्मदैन, उसको सबै पूजा व्यर्थ हुन्छ, सबै ढोंग हुन्छ र पाखण्ड हुन्छ– एउटा कुरा । त्यो पीडाबाट जोगिन नै हामीले कृष्णलाई, बुद्धलाई, महावीरलाई भगवान्््््् बनाएर राखेका छौं । यसै पीडाबाट जोगिन । किनकि यदि उनीहरू पनि मनुष्य हुन् भने हामीमा आफू मनुष्य हुनुको ग्लानि प्रारम्भ हुनेछ । यदि उनीहरू पनि हामी जस्तै मनुष्य हुन् भने हामी जोगिने कुनै ठाउँ, कुनै सम्भावना रहने छैन । त्यसैले जोगिनका लागि अपमानले, पीडाले, दुःखले उनीहरूलाई भगवान््््, ईश्वरका पुत्र, तीर्थंकर र खै के–के हो अबुझ कुराहरू हामीले उनीहरूमाथि लादेका छौंं ।
सबै नै हामीजस्तै मनुष्य हुन् । सबै मनुष्य थिए । तर केही मनुष्य–बीउ ठीक तरिकाले विकसित हुन्छन् र तिनभित्र परमात्माको प्रकाश प्रकट हुन थाल्छ । धेरै बीउ विकसित हुन पाउँदैनन् । धर्मको कुनै सम्बन्ध छ भने त्यो यसै कुरासँग छ कि सबै बीउहरू जे हुनुपर्ने हो त्यो हुन पाऊन् । जे उनीहरूभित्र छ त्यो प्रकट होस् । र, त्यसका लागि सबैभन्दा पहिलो आधारभूत, जरूरी कुरो, जुन म आज तपाईंहरूलाई भन्दै छु, जवसम्म, हामी जुन दिशा हिँडिरहेका छौंं र जे गर्दै छौंं त्यो एकदमै गलत छ भन्ने सम्झना नआउञ्जेलसम्म, कुनै क्रान्ति, कुनै परिवर्तन र कुनै मोड सम्भव हुनेछैन ।
यो करिव– करिव जसलाई हामीले जीवन जानेका छौंं त्यो दिन–दिनै, विस्तारै–विस्तारै मर्दै जानुभन्दा बढी केही पनि होइन । र, लामो मृत्युलाई जीवन भन्न सकिँदैन । सत्तरी वर्षमा एउटा मान्छे मर्छ, यो सत्तरी वर्षसम्म मर्ने क्रिया चल्छ । सय वर्षमा कोही मर्दो होला, कोही पचास वर्षमा मर्दो होला । यो मर्ने लामो क्रियालाई नै हामी जीवन सम्झेर चुप लागेर बस्छौंं ।
हिजो तपाईं जतिको हुनुहुन्थ्यो, आज त्यसभन्दा एक दिन कमको हुनुभयो । भोलि अझ एक दिन कमको हुनुहुनेछ । तपाईं जेलाई उमेर बढेको मान्नुहुन्छ, त्यो उमेर घटेको हो । र, जुन जन्म–दिनहरूलाई तपाईं जन्म दिवस भनेर मनाउनुहुन्छ, ती केवल मृत्यु नजिक पुग्ने कोशेढुङ्गा हुन् । सबैतिर दौडेर अन्त्यमा मृत्यु नजिक पुगेको थाहा पाइन्छ । जतासुकै दौडियोस्, जेसुकै गरियोस्, र हजारौं उपाय गरिन्छ, हजारौं व्यवस्था गरिन्छ, हाम्रा यी सबै दौड–धुप मृत्युबाट जोगिने उपायभन्दा वढ्ता अरू केही होइनन् । कोही सम्पत्ति थुपार्छन्, कोही प्रतिष्ठा थुपार्छन्, पद थुपार्छन्, शक्ति बढाउँछन् .......सबै चेष्टा एउटै कुराबाट जोगिनलाई हो कि भोलि मृत्यु आउनेछ, त्यसका विरूद्ध म कुनै सुरक्षा, कुनै सिक्योरिटीको व्यवस्था गरौं । तर सबै व्यवस्था भताभुङ्ग हुन्छन्, र मृत्यु आएरै छोड्छ ।
मृत्युसँग जोगिने कुनै उपाय छैन । हामी जतासुकै भागौंं, हामी मृत्युतिर नै भाग्छौं । भाग्नुले केवल मृत्युसम्म पु¥याउँछ ।
जो भाग्छ, ऊ मृत्युसम्म पुग्छ । त, के हुन सक्ला भने दरिद्र विस्तारै–विस्तारै दौडला । उससँग घोडा छैन, घोडाविना नै दौडला । समृद्ध ठूलो घोडामा दौडला, र राजाहरू असाध्यै तीव्र चाल भएका घोडामा दौडलान् । तर, अन्त्यमा घोडाविनाका मान्छेहरू पनि त्यहीँ पुग्छन् र घोडावालहरूपनि त्यहीँ नै पुग्छन् ।
उपाय के छ ? बाटो के हो ? के गर्ने ? त्यसैले पहिलो कुरो जे म तपाईंलाई भन्न चाहन्छु– तपाईं जे गर्दै हुनुहुन्छ, त्यसले तपाईंलाई मृत्युसम्म पु¥याउनेछ । र, यो कुनै अनौठो कुरो होइन । आजभन्दा पहिला पनि जे गरिएको छ, त्यसले मृत्युसम्म पु¥याएको छ । थोरै व्यक्तिहरू मृत्युबाट जोगिएका छन्, र, उनीहरूले जे गरे त्यो तपाईं गरिरहनु भएको छैन । मनुष्य जातिको इतिहासमा थोरै व्यक्तिहरू मात्र मृत्युबाट जोगिएका छन् । र, उनीहरूले जे गरे त्यो तपाईं गरिरहनु भएको छैन । त्यसैले तपाईं जे–जस्तो तयारी गरिरहनु भएको छ, त्यो मृत्युको तयारी हो । त्यो प्रिय लागे पनि, अप्रिय लागे पनि तथ्य र सत्य के हो भने हामी सबैको तयारी मृत्युको तयारी हो ।
यी तीन दिनमा म तपाईंहरूसँग मृत्युको तयारीका कस्ता लक्षण हुन्छन् र जीवनको तयारी कसरी हुन सक्छ भन्ने निवेदन गर्न चाहन्छु ।
हुन सक्छ, तपाईंभित्र पनि जीवनलाई बुझ्ने र पाउने आकाङ्क्षा होला । वस्तुतः त्यस्तो कुनै मनुष्य छैन, जसभित्र जीवन पाउने आकाङ्क्षा नरहेको होस् । तर पनि कुनै पागलपन छ, कुनै ठूलो पागलपन छ, कुनै गहिरो पागलपन छ, जसबाट पूरै मनुष्य जाति ग्रसित छ । नयाँ बच्चाहरू आउँछन् र त्यही पागलपनबाट दीक्षित हुन्छन् । सम्भवतः यस्तो हुनु स्वभाविक पनि हो । यदि नयाँ वच्चा दीक्षित नहुने हो भने हामी पागलजस्ता लाग्नेछौं । महावीर जुन दिन घर छोड्छन्, मान्छेहरू उनलाई पागल भन्छन् । बुद्ध जुन दिन घरबाट भाग्छन्, त्यो दिन उनलाई पनि पागल सम्झिइन्छ, र, क्राइष्टलाई पनि पागल भनिन्छ । सम्पूर्ण मनुष्य जाति पागल छ, त्यसैले जहिल्यै पनि कुनै सद्धे मान्छे जन्मिँदा पागल बुझिन्छ ।
मनुष्य जाति कुनै असाध्यै गहिरो पागलपनबाट ग्रसित छ । कुनै असाध्यै ठूलो विक्षिप्तताले हामीलाई गाँजेको छ । हाम्रा नयाँ केटा–केटीहरूलाई हामी त्यसैमा दीक्षित पार्छौं । जुन केटा–केटीहरू नाइँ भन्छन्, उनीहरू पागलजस्ता देखिन्छन् । हामी उनीहरूलाई जवरजस्ती ठीक पारेर त्यही पागल हुने बाटोमा घिसार्छौं । त्यसैले यो संसारमा स्वस्थ हुनु वडो खतरनाक कुरो हो । र, जुन मान्छे स्वस्थ हुन्छ, उसले स्वस्थ हुनुको ठूलो मूल्य चुक्ता गर्नुपर्छ । कसैले गोली खानुपर्छ, कसैले विष पिउनुपर्छ वा कसैले सूलीमा झुण्डिनुपर्छ । पागलहरूको संसार हो, त्यसैले स्वस्थ मान्छेहरू यहाँ सह्य हुँदैनन् । यो पागलहरूको संसारमा जो जति ठूलो पागल हुन्छ त्यति नै प्रिय हुन्छ । किनकि ऊ आफ्नैजस्तो लाग्छ, ठीक त्यही बाटोमा हिंँडिरहे जस्तै लाग्छ, जुन बाटोमा हामीहरू हिँंडिरहेका हुन्छौंं ।
फेरि, जीवन एउटा अवसर हो । जति क्षण हामी गुमाउँछौं, त्यसलाई पुनः पाउने कुनै उपाय छैन । र, जीवन एउटा अवसर हो, त्यसलाई हामी कुनै पनि प्रकारले, कुनै पनि रूपमा परिवर्तन गर्न सक्छौं । हामी त्यसमा जे गर्छाैं, त्यसबाट जीवन परिवर्तित हुन पुग्छ । केही व्यक्तिहरू त्यसलाई सम्पत्तिमा परिवर्तन गर्छन् ! जीवनभरि, जीवनका समस्त अवसरलाई, सम्पूर्ण शक्तिलाई सम्पत्तिमा परिवर्तन गर्छन् । तर, मृत्यु जहिले पनि अगाडि उभिएको हुन्छ, सम्पत्ति व्यर्थ हुन पुग्छ । केही व्यक्तिहरू जीवनभरि श्रम गरेर अवसरलाई यशमा, कीर्तिमा परिवर्तन गर्छन् । यश हुन्छ, कीर्ति हुन्छ, अहङ्कारको तृप्ति हुन्छ, तर जतिखेर मृत्यु अघिल्तिर उभिन्छ, अहङ्कार, यश र कीर्ति सबै व्यर्थ हुन पुग्छन् ।
तपाईंको जीवन व्यर्थ गएन भनेर परीक्षण केले गर्नुहुन्छ ? परीक्षण एउटै छ, मृत्यु अघिल्तिर आउँदा तपाईंले जीवनमा जे कमाउनुभएको छ, त्यो व्यर्थ हुनु भएन । तपाईंले जीवनका अवसरलाई जे कुरामा परिवर्तन गर्नुभएको छ, सम्पूर्ण जीवनलाई जुन दाउमा लगाउनुभएको छ, मृत्यु अघिल्तिर उभिँदा त्यो व्यर्थ हुनु भएन, त्यसको सार्थकता रहिरहनु प¥यो । मृत्युसमक्ष जे सार्थक हुन्छ, त्यही नै वस्तुतः सार्थक हुन्छ, बाँकी सबै व्यर्थ हुन्छन् । त्यसैले पुनः दोहो¥याउँदै छु– मृत्युसमक्ष जे सार्थक हुन्छ, केवल त्यही सार्थक हुन्छ, बाँकी सबै व्यर्थ हुन्छन् ।
यो असाध्यै थोरै व्यक्तिहरूलाई मात्र थाहा छ । यो परीक्षण, यो मूल्याङ्कन, यो दृष्टि असाध्यै थोरै व्यक्तिहरूसँग मात्र छ । तपाईंसँग छ कि छैन, सोच्न निवेदन गर्छु । यस कुरामा थोरै विचार गर्नुहोला– म जीवनभरि दौडेर जे थुपार्छु, जे पनि– पण्डित्याइँ थुपारांैला वा धन थुपारौंला वा धेरै व्रत बसेर तपश्चर्या थुपारौंला वा धेरै यश कमाऔंला वा केही किताव लेखौंला वा केही गीत गाऔंला तर अन्ततः जतिखेर मेरो सम्पूर्ण जीवन अन्तिम परीक्षणमा हुन्छ, त्यतिखेर मृत्यु समक्ष त्यसको कुनै सार्थकता रहन्छ कि रहँदैन ?
यदि हुँदैन भने, आजै सचेत हुनु उचित हुन्छ । र, त्यस दिशातर्फ सङ्लग्न हुनु पनि उचित हुन्छ, म कुनै त्यस्तो सम्पदा निर्माण गर्न सकूँ, त्यस्तो कुनै शक्ति पनि निर्माण गर्न सकूँ र प्राणभित्र कुनै त्यस्तो ऊर्जा जन्माउन सकूँ कि मृत्यु समक्ष हुँदा मभित्र केही होओस्, जुन मृत्युबाट जोगियोस्, मृत्युले त्यसलाई नष्ट गर्न नसकोस् । यो हुन सक्छ । र, यदि यो हुन नसक्ने हो भने सबै धर्महरू वाहियात हुन्, व्यर्थ हुन् । यस्तो भएको छ, आज पनि हुन सक्छ र हरेकको जीवनमा हुन सक्छ । तर यो आकाशबाट झरेर हुँदैन, न त यो दानमा पाइन्छ । र, न यसलाई चोरी नै गर्न सकिन्छ, न त कुनै गुरूको पाउमा बसेर सित्तैमा पाउन सकिन्छ । यो अरू कोहीबाट पाउन सकिँदैन । यसलाई त जन्माउन सकिन्छ, यसको त सिर्जना गर्न सकिन्छ । यसलाई स्वयम् आफ्नो श्रम, र आफ्नो जीवन, र आफ्नो सङ्कल्प अनि आफ्नो सम्पूर्ण शक्तिको प्रयोगबाट निर्माण गर्न सकिन्छ । तर यो निर्माणको दिशातर्फ त्यतिञ्जेलसम्म पाइला उठ्दैन, हामी जे गर्दै छौंं, त्यसलाई हामीले ठीक बुझुञ्जेलसम्म पाइला उठ्दैन । हामी जसरी बाँचिरहेका छौंं, त्यसलाई हामीले ठीक बुझुञ्जेलसम्म यस दिशामा पाइला उठ्न सक्दैन ।
जीवन हाम्रो कतै भ्रान्तिमा छ, कतै गलत छ । हाम्रो दिशाले हामीलाई कुनै त्यस्तो बाटोमा पु¥याउँदै छ, जुन कतै पुग्दैन, त्यस्तो बोधको आवश्यक्ता छ । र, त्यो बोधको जन्मका लागि आफ्नो जीवनलाई मृत्यु समक्ष राखेर तौलनुलाई म परीक्षण मान्दछु । एकदिन तौलनुपर्छ तर त्यो समयमा गर्नलाई केही पनि वाँकी रहेको हुँदैन । त्यसैले जो पहिलादेखि नै तौलन थाल्छ उसले पक्कै केही गर्न सक्छ । उसको जीवनमा केही हुन सक्छ, उसको जीवनमा कुनै क्रान्ति घनिभूत हुन पुग्छ । आजदेखि नै तौलनु जरूरी छ । प्रतिदिन तौलनु जरूरी छ ।
मर्ने कुरा नै हामी टाढा राख्छौंं, त्यसबाट एक हात टाढै बस्छौंं । तर तपाईंं जतिसुकै टाढा बस्नुस्, मृत्युको तपाईंंसँग प्रेम छ, त्यो धेरै दिन टाढा रहँदैन । जीवनका सम्वन्धमा विचार गर्नेले मृत्यु सर्वाधिक निश्चित भएको पाउँछ । त्यसो हो भने, त्यही सर्वाधिक निश्चित तथ्यलाई नै चिन्तनको प्राथमिक तत्व किन नबनाउने ? त्यसलाई नै विचारेर जीवनको दर्शन किन नउभ्याउने ? फेरि, जीवनको फिलोसफी, जीवनको दर्शन जे–जस्तो भए पनि त्यो त्यसै मृत्युको जगमा किन नठड्याउने ? यही सुनिश्चित आधार हो र वाँकी सबै आधार त अनिश्चित छन् । यसलाई नै किन हामीले आधार नमान्ने ? र, जुन तथ्यसँग आज नभए भोलि लडाइँ लड्नै पर्छ, त्यसलाई पक्रेर किन आजै लडाइँ नलड्ने ? जो आज त्योसँग लड्न राजी हुन्छ, जसले आज त्यसलाई चिन्तन गर्न थाल्छ, उसको सम्पूर्ण जीवनको गति र दिशा बदलिन पुग्छ । उसको जीवन कहाँबाट कहाँ पुग्छ ! जो मृत्युलाई आजै चिन्तन गर्न समर्थ छ । र, आजै चिन्तन गर्ने साहस गर्छ । आजै त्यसलाई अघिल्तिर राख्छ, पछिबाट हटाउँछ । आज त्यसलाई स्विकार गर्नेे ऊ, उसका पाइला र उसका श्वासले मृत्युको दिशातिर हिँड्न बन्द गर्नेछन् । उसका सामु फेरि एउटा नयाँ ढोका, एउटा नयाँ बाटो खुल्नेछ ।
मित्र ! दार्शनिक ओशोका यी कथन अघि सारेर मैले तिमी मार्फत् जगत्लाई जीवन र मृत्यु वारे सत्य–तथ्य बोध गराउन चाहेको हुँ । जीवनका यी दुबै पाटालाई स्वीकारेर जीवनरथ हाँक्ने मान्छेले मात्र जीवनलाई पनि जित्छ र मृत्युलाई पनि पराजित गर्छ । तर, तिमीले जित्दाजित्दै हा¥यौ र हार्दा हार्दै जित्ने प्रयत्न नै गरेनौ । प्रेममय संसारलाई आँखा चिम्लेर अङ्गालो हाल्यौ । आँखा उघारेको भए, यो दिन देख्नुपर्ने थिएन् । मैले तिमीबाट सिकेको पाठ हो–‘प्रेम गर तर सम्पूर्ण प्रेम नखन्याऊ । आफूसँग नराखी खन्यायौ भने प्रेमले नै तिमी जल्न पुग्छौ । अतिशय प्रेमले क्रोधलाई जन्म दिन्छ । अनि, त्यसले जीवनको घाँटी दाबी मृत्युको सयर गराउँछ !’
अन्तमा, परलोकी त्यो तिम्रो आत्माले सुख–शान्ति भेटोस्, शोक सन्तप्त तिम्रा इहलोकी परिवारजनले सन्तोषी संसार पुनजीर्वित गर्न सकून् भनी परमात्मा समक्ष प्रार्थना गर्दछु । साथै, जीवन देख्नेले मृत्युलाई पनि चिनून् र मृत्यु देखि भाग्नेले जीवनको अर्को अध्यायका रूपमा मृत्युलाई बुझ्न सकून् भनी कामनाका साथ पत्रान्त गर्दछु । धन्यवाद !

तपेश्वरी–१, गल्फडिया, उदयपुर








प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 9 मङ्गसीर, 2069

लेखकका अन्य रचनाहरु