कोलकाता, सुनिल दा र एलेन गिन्सबर्ग

- चन्द्र घिमिरे

“कोलकातामा कविको पूजा चल्छ” एलेन गिन्सबर्गले बिगुल फुकिदिए । अमेरिकी साहित्यमा वाल्ट ह्विटम्यान पछिको ‘लिजेण्ड’ मानिने गिन्सबर्ग र कोलकाता बीच डेटिङ चल्दै थियो । त्यो प्यार दुःखान्त फिल्ममा झैँ एकतर्फे थिएन । यसै मेसोमा १९६८ मा गिन्सबर्गले ‘लाष्ट नाइट इन कोलकाता’ कविता लेखिदिए । यसो भन्दै गिन्सबर्ग र कोलकाताको मायाको बयान हाल्ने सुनिल गंगोपाध्याय अर्थात सुनिल दा । उनलाई खोज्दै कलकत्ते गल्ली सुँघ्दै हिंडे म एकदिन ।

कोलकातामा गर्मीको माफियागिरी चल्छ वष्र्यौनी । गर्मीले सेकेको ज्यान नानझँै बाफिन्छ । २०१२ जूनमा साठी भन्दा बढीले ज्यान जिम्मा लगाए । यही समाचार थमाउँछ टेलिग्राफ दैनिकले । सुनिल दाको खोजिमा गरियाहाट हुँदै मेण्डाभिला गार्डेनमा पुग्दा मेरो गाडी सुस्तायो । मेरो सामु जुरुक्क उभियो पारिजात बिल्डिङ ।

अपार्टमेण्ट ए२÷९ मा सुनिल दाको त्यो हस्तिनापुर । कसैलाई कुरे जस्तो दाको बैठक । त्यो रैछ खाली र चन्किमन्न । छानि छानि बस्न दिने दिलदार बैठककक्ष । दिवालसँग अँगालो हालेका बेशरम पेण्टिङहरू । बबाल रैछन् ती पेण्टिङहरू । ‘गितार वादक’ नामको पेण्टिङले मलाई गिरफ्तार ग¥यो । छेद पर्ने गरी आँखा गाडेँ ।

‘सेप्टेम्बर अन जेस्सोर रोड (१९७१)’ कवितामा गिन्सबर्गले सुनिल दाको नामै किटे । बँगलादेश लडाइँको बेला १९७१ नोभेम्बर १४ देखि १६ सम्म गिन्सबर्ग सुत्केरी कुनो पसे । निक्लँदा हातमा थियो बाफिँदो त्यो कविता । तात्कालिन पूर्वी पाकिस्तानबाट पश्चिम बंगालमा पसेको लाखौँको ‘मानव बाढ’लाई कविताको क्यामेराले क्ल्कि गर्दिए गिन्सबर्गले ।
“...मैले आँफैलाई विगतमा गरेको के यही थियो ?
कवि सुनिललाई सोधेँ मैले के गर्नु पर्नेछ ?...”
‘सेप्टेम्बर अन जेस्सोर रोड’ कविता, १९७१ बाट ।

गिलो–गिलो गरी कम्लाए सुनिल दा । गिन्सबर्गको नामैसँग । ‘सुनिल प्लिज आइ देउ’ । बोलाएथ्यो उसले मलाई न्यूयोर्कमा । म र पत्नी जाने तयारीमा थियौँ । छिटो आउन फेरी ताकेता लायो । .....लगत्तैपछिको खबरले उसले दुनियाँ छाडेको सुनायो । १९९७ अप्रिल ५ मा ऊ जाँदा रुलाउनु रुलायो । मिस गरेँ ...सँधैका लागि । उफ, मलाई समेत रुलायो दालाई रुलाउने त्यो फ्लासब्याकले !

अर्को कविता “थिङस आइ विल नट डु (नस्टल्जियाज)” मा पनि गिन्सबर्गले दाको जिक्र गरे । त्यो थियो नाजुक कविता । मृत्युको ठ्याक्कै पाँच दिन अघि पारेर ३० अप्रिल १९९७ मा लेखेको उनको अन्तिम कविता ।
“...भगवान जगन्नाथ पुरी फेरी जाउ, कैले नफर्क बिभुम
टिपोटहरू टिप खाकी बी बाबाको बयानहरू
अथवा सुन फिलिपसँग मद्रास संगीत महोत्सव
अथवा जाउ चिया खान सुनिल र युवा कफिपसले कविहरूसँग...”
‘थिङस आइ विल नट डु (नस्टल्जियाज)’ कविता, १९९७ बाट

गिन्सबर्ग नगल्ने पहाड थिए । युद्धलाई छाँस्दै ‘अमेरिका’ (१९५६) कवितामा ‘अमेरिका तिमी कैले देवदूत बन्नेछौ ?’ लेखे । भियतनामको लडाई होस वा आणविक हतियार । असहमती मात्रै जताएनन । बौद्धीक बहस छरेर अमेरिकीहरूलाई सडकमा ल्याइ पु¥याउने एक थिए । “मेरो पुस्ताको सबैभन्दा अब्बल दिमाग ध्वस्त पारिएको देखेँ मैले....” यो ऐतिहासिक घोषणा गर्ने गिन्सबर्ग नै थिए ।

पश्चिमा गिन्सबर्ग सँधै पूर्व फर्केर बसे । पूर्वेली (ओरिएण्टल) दर्शनशास्त्र छिचोल्न कृष्णवादबाट शुरु गरे । बौद्धवादमा पुगेर अडिए । ‘उसलाई भूतै चढेको थियो भारतीय समाजको’ सुनिल दा हुगली नदि जस्तो बोल्दै गए । १९७१ मा देवानन्दले खेलेको ‘हरेराम हरेकृष्ण’ फिलिमको ‘दम मारो दम...’ गीत गाउँथ्यो । बनारसमा पचास डलर खर्चेेको सानो पोर्टेबल हार्मोनियम कविता पाठ गर्दा सँधै च्याप्थ्यो । हिप्पीवादमा सल्केका यी ‘बीट’ पुस्ताका गिन्सबर्ग ।

उट्पट्याङ गिन्सबर्गको अस्त्र थियो । कैले नाङ्गो खुट्टाले हिँड्थे भारतीय भूमीमा । गरिबका लागि भन्दिए । आँफू नाङ्गिएको नग्नतालाई अध्यात्मिक नग्नता भन्दिए । ‘अमेरिकी समाजमा गिन्सबर्गले रिभ्युल्युशनाइज ग¥यो’ दा बोल्दै गए । त्यतिन्जेल पहिरनमा अमेरिकी समाज निकै टाइट थियो । परिचय सुटमा माग्थ्यो । ‘कस्ट्मर विद्आउट सर्ट एण्ड सुज आर नट परमिटेड’ बोर्ड टाँगेका रेष्टुरेण्टहरू हुन्थे । पहिरन हेरेर मात्र ग्राहकलाई अनुमती दिन्थे । त्यो भत्काउन गिन्सबर्ग लागि परे । सुट लाउने जुत्ता नलगाउने । जे गर्दा परम्परा भत्किन्छ त्यही गर्ने ।

गज्जबको कन्ट्रास्ट थियो गिन्सबर्ग । खाली खुट्टै हिड्दिने । पोशाक जेमन्तै लाउने । फाटाको सेकेण्ड–हेण्डमा चल्दिने । अर्कोेतर्फ, ब्राण्डेड लुगा भनेछि हुरुक्क हुने । सुनिल दा एकपल्ट हे¥या–हे¥यै भए । दामी ब्राण्डेड सर्टमा गिन्सबर्ग देखेर । सोधि हाले दाले ‘ए ! कसरी किन्यौ ?’ बच्चाझैँ बोले गिन्सबर्ग । हालै मरेका एक धनी मित्रका विधवाको दयाले यो जडाउरी जु¥यो ।

प्रसिद्ध गायक बब डाइलन र गिन्सबर्ग सँगै ओर्लिए बँगालमा । सन् १९७१ मा । बँगलादेशबाट छिरेका करीब ७० लाख शरणार्थीहरूको सहयोगार्थ । गीत लेख्ने गिन्सबर्ग र गाउने डेलोन पैसा उठाउँदै हिँडे । कोलकातातिर बरालिँदै सँसारको ध्यान ताने । भियतनाम लडाइँ रोक्न एकपाली हेनरी किसिन्जरसँग फोनमा जङ्गिए ।

शँकालु बँगाली मित्रहरू पनि हुन्थे ‘तिमी गिन्सबर्गका पछि धेरै लाग्यौ’ । खासमा उल्ले भन्दा नि उल्लाई हामीले धेरै प्रभाव पारेका थियौँ । उसले पूर्वीय दर्शन र सृजित आन्दोलनलाई पश्चिममा उभ्याइ रह्यो । त्यत्रो उँचाइको स्कलर ऊ अक्सिडेण्टल समाजका लागि सर्वसुलभ थियो । भेटिने कैले गँगामा डुबुल्की मार्दा । कैले कोलकाताको गल्लीका गाईबस्तुसँग बरालिँदा ।


गिन्सबर्गको यौन पक्ष अर्को उदेक थियो । समलैङ्गीक सम्बन्ध नसुन्ने त्यसबेलाको समाज । ठाडै अस्विकृत गरिने समलिङ्गी सम्बन्धका गिन्सबर्ग उपभोक्ता थिए । पुरुष मित्र पीटर ओर्लोभ्स्की उनकी पत्नि थिइन । उनीहरू आजीवन सँगै रहे । पीटर साथी होइन स्वास्नी हो भन्दिन्थे नधकाइ ।

एरिजोना जाँदा सुनिल दालाई गिन्सबर्गले आफ्नै एरिजोना डायरी सुनाए । एरिजोना विश्वविद्यालयमा गिन्सबर्ग चर्चित ‘हाउल’ कविता पाठ गर्दै थिए । एउटा स्रोताले कविता पटक्कै नबुझेको प्रसँग उप्काए र चुनौती दिए । गिन्सबर्ग भलाद्मी पाराले आफ्नो लुगा खोल्न लागे । पुरै ‘नग्न’ भएपछि नम्र भएर प्रष्टाए । मेरो नग्नतामा कविताको सम्पूर्ण अर्थ खुल्छ । अर्बेला पनि उनी भन्थे “कवि दुनियाँको अगाडी सँधै नग्न हुन्छ” । दर्शकहरू स्तव्ध भए । सनसनी बेच्ने मिडियाले राम्रो व्यापार गरे ।

पाठकले गिन्सबर्गलाई कैलै कन्जूस्याइँ गरेनन । लेखकीय ख्याति नाप्ने ‘पोजिटिभिस्ट’ बजार चर्कै गणितिय हुन्छ । यसको ब्यारोमिटरले कति संस्करण र कति प्रति बिकेको विवरण माग्छ । लेखकसँग विधार्थीको जस्तो मार्कसिट मागिन्छ । १९५६ मा छापिएको ‘हाउल’ कविता सँग्रह एक मिलियन भन्दा बढी बिक्यो । सन फ्रान्सिस्को पुलिसले १९५७ मा छापा हानेको उक्त पुस्तकको रेकर्ड बिक्रिले सबैलाई जिब्रो टोकायो । त्यो अघि कवि बाइरनको दश हजार प्रति बिकेको लगत थियो ।

जर्मनी आप्रवासी यहुदी अभिभावकका सन्तान गिन्सबर्ग अमेरिकामा दोस्रो पुस्ता थिए । सिजोफ्रेनियाबाट आमा सताइए पछि हुर्कँदो गिन्सबर्गले आमा नाओमीको न्यानो काख गुमाए । आमाले खेपेको हण्डरको साक्षी थिए । उनकी आमामाथि कष्टको मिसिसिपी निकै लामो बग्यो । उपचारका लागि विद्युत्तिय झटकाको प्रयोग भो । केही नलाग्दा आजभोली प्रतिबन्धित दिमागी अप्रेसन लोबोटोमी समेत गरियो । उनकोे चर्चित पुस्तक ‘काद्दिस’ आमाको पीडालाई सर्लक्क उतारेको आमा–काव्य बन्यो ।

न्यूयोर्कमा गिन्सबर्ग एउटा गरिब प्रदेशमा बसे । न्यूयोर्कको त्यो तल्लो पूर्वी भागमा रहेको कालाहरूको सस्तो टोलमा थिए यी अजूबा । १९६४ देखि बसेको त्यो अपार्टमेण्ट थिएन । ठूलो हल थियो । हलभित्र एउटा कुनो शयनकक्ष । अर्को कुनो भान्सा । अर्को कुनो अध्ययन कक्ष । अर्को कुनो बैठक । पारदर्शी र लथालिङे बसाइ । सुनिल दा दम्पती ओहायोमा एक वर्षको फेलोसिप पाएर न्यूयोर्क टप्किँदा देखे गिन्सबर्गको त्यो फ्रिडम हल । त्यहाँ कैयौँ दिनसम्म खाना पाक्दैन्थ्यो । पाउरोटी तथा रेडिमेड खाना खाएर काम चलाउँथे । कैलेकहीँ त गाँजा तानेर पनि भोक भगाउँथे ।

गिन्सबर्गको फ्रिडम हलका फ्रिडम उपभोक्ताले अनेक रुपहरू देखाउँथे । एकदिन दा गिन्सबर्गसँग गम्भिर वार्तामा थिए । एउटी आइमाइ च्यापेर त्यही हलको अर्को कुनोमा गिन्सबर्गकी स्वास्नी पिटर प्रेमरत थियो । अर्र्को एक साँझलाई दाले बिर्सेका छैनन् । ‘तिमीसँग सेक्स गर्न सक्छु ?’ ग्रिन्सबर्गले सोधेको एकछिन त दाले पत्याएनन । पत्याए पछि भन्दिए ‘नो प्रोब्लेम...सिन्स आइ नेभर गेट प्रेग्नेण्ट ?’ दुवै डल्लो परेर हाँसे । थामिएपछि गिन्सबर्गले बिट मा¥योे ‘भैगो तिमीसँग यो हुँदैन सुनिल’ ।

‘मेरिज’ कविताका चर्चित कवि ग्रेगरी कोर्सो नियमित अनुहार थिए गिन्सबर्गकहाँ । ती पनि बिट पुस्ताका खाँबो । तरुनी खुत्रुकै पार्ने अनुहारका धनी । तर पैसामा अलि छट्टु । एउटी धनी आइमाइसँग पल्केको चर्चा भन्किन्थ्यो । चाहिएको त्यस आइमाइलाई थियो उसको झिल्के प्रेम र उल्लाई पैसा । एकदिन उसलाई पैसाले निकै पिरोलेछ । सुनिल दासँग गिडगिडाउन थाल्यो । सम्झे गिन्सबर्गलाई । ‘कोर्सो चुँइयाँ छ....पैसा कैलै नदिनु । तिर्दैन यस्ले ।’ हदै गरेपछि मरोस त भनेर दाले दिएछन् । किन हो त्यो पल्टको पचास डलर घुरायो कवि कोर्सोले । अर्को जमातका धराने कवि मित्र स्व.टंक घिमिरेलाई सम्झेँ । कवि चोर हुँदैन भन्थे उनी ।

अर्को सँगत भो सुनिल दाको ज्याक केरुआकसँग । बिट पुस्ताको एक अगुवा । सन फ्रान्सिस्को काव्य पुर्नउत्थानका बेला गिन्सबर्गको अभिन्न दोस्त । सड्चालिसै वर्षमा १९६९ मा रक्सीले बितेको गिन्सबर्गको दोस्त र उपन्यासकार । प्रसिद्ध उपन्यास ‘अन द रोड’ को सृजक । उपन्यास लेख्न हुटहुटाउँथ्यो दालाई । १९६७ मा कोलकातामा फिरेका दासँग जागिर थिएन । खबरपत्रिकामा कोलम लेख्दै गुजारा गर्दै थिए । एक दिन त्यसबेलाका प्रसिद्ध सम्पादक सागर मोइ घोषले करकर गरे । आनन्दबजार प्रकाशनको ‘देश’ म्यागजीनमा दुर्गापूजा संस्करणका लागि धारावाहिक उपन्यास लेख्न ।

आख्यान लेखनको आग्रहसँग दाको एकाएक जम्काभेट भो । टाउकोबाट तात्तातो सिजलर खनाएजस्तो भो । कैले उपन्यास नलेखेका दा ! उपन्यासकार ज्याक केरुआकलाई सम्झे । ‘सुनिल...उपन्यास लेखन सबैभन्दा सजिलो’ । स्टेशनमा झ्याउ मानेर गाडी पर्खि बसेको यात्रु छ । कतिखेर कुन बस आयो ? त्यो यात्रु कता गयो ? त्यल्लाई लखेट्दै जाउ । उपन्यास तयार । ‘नछोड भैरे नछोड’ भो उन्लाई । ख्यालख्यालमै १९६६ मा ‘आत्मप्रकाश’ उपन्यास बजार आइपुग्यो । दा लोकप्रिय आख्यानकार बने ।

सुनिल दाबाट फिर्दा बाटाभरि गिन्सबर्ग र नित्सेलाई सम्झेँ । नित्से भन्थे “म पागल हुुँ तर मेरो पागलपनाको अर्थपूर्ण कारण छ ।” नित्सेबाट फुत्केपछि समयको विरोधाभासपूर्ण अवतारमाथि गमे । आजै बिहान किशोर पहाडी दाइबाट खराब समाचार सुनेथेँ ‘कृष्णभूषण बल दाइ बित्नु भो’ । आजै महान लेखक सुनिल दासँग यो वार्ता जुु¥यो । त्योपनि बिसौँ शताव्दीकै महान कवि गिन्सबर्गसँग भोगेको पहिलो–हाते वृत्तान्त सहित ।
(भारतीय लेखक सुनिल गंगोपाध्यायसँग कोलकातामा गरिएको वार्तामा आधारित)

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 9 मङ्गसीर, 2069

लेखकका अन्य रचनाहरु