छोडेर जानेहरु

- सीमा आभाष

बग्ने पानीमुनिको ढुङ्गो झैं
लेउ लागेर छोडिएपछि पिँधमा
कहाँ चिसो भन्न पाए र
 
इन्द्रेणी ओराल्ने गरेका
उपत्यका कहाँ विलाए 
माझीले चलाउन छोडेको
डुङ्गा किनारमा छोिड
जलकुम्भी झैं तैरदै
कुन बाटो रोजे
सेता हाँस बनेर

घरमा पुज्ने भूमें देउता ढोगी गएपछि
घरमुनि  सेताम्मे फूल्ने अम्बकका रुखछेउ 
किन फर्किएनन्
घण्टी फूल फूल्दै झर्दै गरेको यामको बेवास्तागरी
आलुबखडाका फूलमा ओर्लने न्यानो घामको छायाँ नाप्दै
किन पश्चिम भज्याङ तरेर
कोशीको बगरै बगर लस्करै गईरहे
सहनाई बजाउँदै
सेतो फेटा गुतेर

छोडेर गएपछि
नदिले किनार भत्काएको छैन
बढाएको छैन बगर
नीलो दहमा पौडने माछाका भुराहरु बढेका छैनन्
बिहान खस्नु अघि नदीले गाउने भाका फेरिएको छैन
हिंडेभन्दा टाढा पुगेको छैन भज्याङ छिचोल्ने बाटो
बेहुली चरीले उज्यालोको रंग फेरेको छैन

त्यहाँभन्दा पर ठोक्किएको छै बतास
जहाँ छोडिएको थियो
माहुरीको घार जस्तो सुन्दर पुख्र्यौली थलो

किन फर्कदैनन् छोडेर जानेहरु
बचेरा उडेको चराको गुँड जस्तै
टुहुरो बनाएर देउराली
न्यास्रो मानेर चुपचाप उभिरहेको वरपिपल नसम्झी
बाढीतिरै सोहोरिएर
जिउभरिको कपडा च्यातिउाजेल बगीरहँदा
दोभानको किनारैपिच्छे
छोडिएको छाँया खोज्दा खोज्दै
हराएको वयस्कपन
ढुङ्गामा थुपारेर
बेसरम च्यातिएको
बुढो धोती जस्तै
गाँस्न नमिल्ने जिन्दगी घिसारी
दोभानमा थकाई बिसाएर
मुठ्ठिभरि घाँस च्यापेर
खच्चड हिँड्न छोडेको
र जूनकिरी बल्न छोडेको गल्लीका
काँडा कुल्चँदै
किन गईरहे छोडेर जानेहरु
दियालो बाल्दै
जीवनभर गाईएका सुमधुर धुनसँगै ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 2 माघ, 2064

लेखकका अन्य रचनाहरु