ल्हासो कालिञ्चोक

- रमेश सायन

सहरको उज्यालोभन्दा अलि पर । चिसो तर फोहोरी बतासभन्दा अलि टाढा । संगीत बिथोल्ने हल्लाभन्दा उ पल्लो भूगोल, इन्द्रेणी आकाशलाई छेकेर समयको युद्ध गर्ने बिहानभन्दा माथिल्लो मिरमिरे र पहिलो पल्ट आफैँलाई चिमोटेर ब्युँझाउनुपर्ने प्राकृतिक सोन्दर्यको समाधिमा छु, यतिखेर ।
यहाँ मैले आफैँलाई राम्ररी सम्झेको छुइनँ । अरुलाई सम्झने कुरा त झन् शून्यभन्दा पनि तल खसेको छ ।
म यो उमेरसम्म आइपुग्दा मेरो पैतलाले धेरै भूगोल छामेको छ । टाउकोमा हिमाल, पहाड, तराईको घाम ठोक्किएको छ । अनुहारमा समयले पोतेको घाम पानीकोे रंगीन रेखाको सुदूर सुरुङ छ । तर पहिलो पल्ट यसरी हिउँ राम्ररी छुन पाएको हुँ, हत्केलाले राम्ररी खेलाउन पाएको हुँ । जुत्ता खोलेर राम्ररी खाली खुट्टा उफ्रन पाएको हुँ ।
धन्यवाद मिंगुर शेर्पा ।
काठमाडौँको हल्लाखल्ला, धुलो र फोहोरको बीचतिरै मलाई कालिन्चोकको यात्राको निम्तो दिएका थिए मिगुंरले । उनी पेसामा होटल र यातायत व्यवसायी हुन् । टुरिजम क्षेत्रमा पनि राम्रै रुचि राख्छन् । मिंगुरले, मलाई शेर्पा लवजमा कालिञ्चोकको सोन्दर्यता सुनाइरहँदा मन हत्तारिरहेको थियो । त्यसको ठिक चार दिनपछि म चरिकोट पुगिसकेको थिए ।
मिंगुरले हामीलाई साना जिपबाट यत्रा गर्ने सल्लाह दिइरहेका थिए । तर सुनिल कार्की र मैले मोटोरसाइकलको यात्रा रोज्यौँ । चरिकोटबाट उकालो चढ्दै जाँदा आँखै अगाडिको गौरीशंकरको उचाइ पनि घाँटीभन्दा माथि उक्लन नसकेको जस्तो लाग्थ्यो । कुइरो लिगलिग कोटको दौडमा द्रव्य शाहको अगाडि घलेहरू जस्तो मात्र देखिन्थे । कुइरोको उचाइभन्दा माथिको यत्रामा हामी छौँ । जसोतसो मोटर दौडाउन सक्ने मात्र बाटो छ । लम्बाइ छ चौडाइ छैन । कतै–कतै श्रमिकहरू बाटो बनाइरहेका भेटिन्छन् आँखाले छाम्न सकुन् झेलको उचाइ छ । फेदीको कल्पना मात्र गर्न सकिन्छ । हतारमा पात खसिरहेको डरलाग्दो जंगलको बीचैबीच उकालै उकालोको यत्रा । उचाइ उचाइ नै हो रहेछ जतिमाथि गयो उति रमाइलो । उति आन्नद । त्यसै मान्छेहरू सगरमाथाको दौडमा ओइरो लागेका होइन रहेछन् ।
बिहानको नौ बजेको छ । तल चरिकोेबाट उकालो लागेको दुई घण्टा बितिसकेको छ । कुरीबजारमा भाँडामा जमेको पानी एक सुन्दरी युवतीले सानो घनले फुटाइरहेकी थिइन् । एक्कासी हिउँहरूको सेताम्मे बस्तीमा पुग्दा म चिच्यएँछु, कराएँछु, आँखाबाट आँसु झरेछ । म हिउँमाथि छु आँखाले हिउँ छामिरहेछ । हत्केलाले हिउँ समातिरहेछ । पैतलाले हिउँ नै टेकिरहेछ । सानो तर सुन्दर कुरीबजार शान्त छ औधी शान्त । साहेद सबै सुन्दर कुरा शान्त हुन्छन् । मलिन हुन्छन् । नरम हुन्छन् । त्यही भएर फूल शान्त भएको होला, शिशुको अनुहार मलिन भएको होला । संगीत मनलाई समेत पगाल्न सक्नेगरी नरम भएको होला ।
हिउँमा उफ्रिदा म राम्रैसँग लडेको छु । घुँडामा चोट लागेको छ तर दुखाइको गति मन्द छ । दुखाइतिर ध्यान गएको छैन । यही चोट काठमाडौँको हल्लाखल्लामा लागेको भए यो दुखाइको गति राम्रै हुने थियो होला । म हतारमा डक्टरकोमा पुग्थे । हतारमा पेनकिलर खाने थिएँ । एक्सरे गर्थँे र हतार मै चिन्तामा डुब्थे होला तर यहाँ त्यस्तो केहीको आवश्यकता महसुस भएको छैन । कुनै हिउँले भरिएको भित्तो, कुनै रुखको बुटो, कुनै चुच्चो ढुंगो, संगीतको शैलीमा उभिएका पहाडका थुम्का सबै क्यमेरामा कैद गरिरहेँ । बासी र चिसो खाना नपाइने कुरीका यी सुन्दर होटलहरूमा खाना अर्डर गरेको दुई घण्टापछि मात्र पाइँदो रहेछ । वा नाकै ठोकिने उकालो बाटोको अन्तिम टाकुरामा कालिन्चोक भगवतीको दर्शन गरेर आएपछि मात्र ।
कुरी बजारमा होटलहरू मात्र छन् । खानेपानीका पाइपहरू हिउँले पुरेको छ । मुहान जमेको छ, धाराको टुटीबाट पानी खस्दैन । हिउँ उमालेर खाइन्छ हामीले पनि हिउँ पगालेर पानी खायौँ । कालिन्चोक भगवतीको मन्दिर पुग्ने रहर छ तर आँखाले उकालो नाप्दा मनसँग पैतलाले ठूलै युद्ध गर्नुपर्छ जाउँ कि नजाउँको अन्तमा मनले युद्ध जित्छ र पैतला लुखुर लुखुर उकालो लाग्छ । राम्रै हिँड्नेलाई पनि दुई घण्टा लाग्दोरहेछ । हामी तराईमा हुर्केकाहरूलाई समयको सीमा तोकेर भन्न नसकिने रहेछ । तर हामीलाई थकाइको कतै महसुस भएन । कतैकतै भीरसँग रम्रै डरसम्म लागेको हो । हात खुट्टा दुवै टेकेर उकालो चढिरह्यौँ । फेदीतिर स्थानीयले लौरो टेकेर जानु भनेर सुल्जाइरहेका थिए । तर हामीले लौरो टेकेर हिम्मत घटाएनौँ । एक÷दुई हुल यत्रु माथि मन्दिर पुगेर ओराले झरिरहेका थिए । उनीहरूको अनुहार युद्ध जितेर फर्केको बहादुरको अनुहार जत्तिकै उज्यालो थियो । कतिलाई चाहिँ उकालो चढ्दा चढ्दै बाटोमै जित्यौँ र अगाडि बढ्यौँ । केही मोटा मान्छेहरू हाम्रो पातलो शरीर देखेर इष्र्या गरिरहेका थिए । सुनिल त्यो भीरमा पनि बाघ सम्झन्थे र भन्थे यहाँ अहिले बाघ आए हामी के गर्नु ? म बेसमारी हाँस्छु मेरो हाँसो पहाडमा ठोकिएर फेरि एक मिठो लयमा मैतिर फर्कन्छ । बिचरा बाघ यो उकालोमा कसरी चढ्न सक्छ र यहाँसम्म आइपुग्छ ? लु आइनै हाले पनि यहीँ भिरबाट लडेर मर्छ । हाम्रो गफ सुनेर यत्रुहरू मझैले हाँस्छन् र केही सेकेन्ड भए पनि उकालेको पीडा राम्ररी बिर्सन्छन् । ३,८४३ मिटर अग्लो यो टाकुरामा पैतला एक बिन्दास पारमा बिसाउँछौँ । फनफनी घुम्छौँ । सानो चौडामा फैलिएको यो टाकुरामा कालिन्चोक भगवतीको छानो बेगरको मन्दिर छ । त्रिशुलै त्रिशुलको भीड छ । हिन्दु र बुद्ध धर्म मान्नेहरू एकै ठाउँमा जम्मा हुन्छन् । आ–आफ्नै विश्वास बिसाउँछन् । आ–आफ्नै शैलीमा भगवती रिजाउँछन् । चारैतिर मन्त्र लेखिएका ध्वजा टाँगिएको छ । केही औधी डरलाग्दो ठाडो सिँडी चढेर यहाँसम्म पुगिन्छ । माथि टाकुरामा गणेश हिमाल, गौरीशंकर, लाङटाङ हिमाल निधारसम्म आएर उभिन्छ । आँखैभरि हिउँ नै हिउँ जम्छ तलको कुरीबजार उठेर हिँडिहाल्ला जस्तो लाग्छ । भिर पहराहरू हामीसँग बोलुँलाझैँ गर्छन् । थकाइ भोक प्यास सबै बिर्सिन्छ । बतासको कलिलो स्पर्श उस्तै मिठो संगीत उस्तै लय मिसाउने ती चुच्चाचुच्ची टाकुरा त्यो अन्तिम मनवीय पैतला टेकिने भूगोल । हो, त्यो भन्दामाथि कुनै मानवीय बस्ती छैन । अघि उकालो चढ्दाचढ्दै लागेको थियो ईश्वरलाई यति अप्ठ्यारो ठाउँमा अएर किन बस्नु परेको होलो । तेतै कुरीबजारकै छेउतिर बसेको भए पनि भैहाल्थ्यो नि । अहिले बल्ल थाहा भयो । ईश्वर भनेको सौन्दर्य हो रहेछ । वा ईश्वरलाई पनि हामीलाई जस्तै सोन्दर्य मात्र मन पर्दाेरहेछ ।
यहाँ जताततै कविताको संगीत छ । जताततै महाकवि देवकोटा उभिन्छन् । रिमालका सपना बाँच्छन् । चराहरूले नापेका आकाश भेटिन्छ । नगबेली नदी देखिन्छन् । वर्डस्वर्थ झर्ना बनेर उभिन्छन् ।
यसपछि हामी ओरालो झर्छाँै । अघि नै अडर गरेको खाना खान्छौँ । शेर्पाहरूको आफ्नै लवजको गफ सुन्छौँ । ईश्वरमाथिको तर्क सुन्छौँ । पे्रमिल छ बतासको स्पर्श, चिसो तर एउटा मादक बास्ना हिउँ माथिमाथि दौडन्छ, त्यतिकै मैले यो ठाउँमा आफैँले आफैँलाई चिमोटेर बिउँझाएको होइन रहेछु । स्थानीयहरूको बहस सुनिरहेको छु । बुद्धिष्टहरू बलि चढाउन हुन्न भन्दारहेछन् । उनीहरू यही कुरामा तर्क बलियो बनाउँदा रहेछन् तर हिन्दुहरू बर्षैैभरि बलि भाकेर राख्छन् । जिउँदा पशुपंछिहरू यो ठाडो उकालोमा घिसार्दै पु¥याउँछन् र अन्तिम पल्ट हिमालको सौन्दर्य देखाएर मार्छन् । सम्झन्छु ती बलिमा चढ्ने पशुपंछिले पनि पीडा कम भएको महसुस गर्छन् होला यो विशाल सौन्दर्यको अगाडि ।
चरिकोटबाट केही घण्टाको मोटर यत्रापछि पुगिन सकिने रहेछ यो ठाँउमा । अब हामी फर्कन लागेका छौँ । कुरीबजारका होटलहरूमा बेसमारी आतित्थ्य पायौँ जसले औधी मिलनसार आफन्तको सम्झना दिलायो । फेरि भोलिदेखि भीडभाडमा गज्याङमज्याङ जिन्दगी बाँच्नु छ । आफूलाई अगाडि दौडनु छ ।
फेरि मनले भन्छ ल्हासो कालिञ्चोक ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 15 कार्तिक, 2069

लेखकका अन्य रचनाहरु