भाउजू विधवा भइन् (?)

- सञ्जय बिष्ट

आजसम्ममा भिन्ना-भिन्नै दुईवटा कारणले, भिन्ना-भिन्नै दुईवटा शैलीमा, दुईपल्ट देखेँ मैले भाउजू रोएकी।
नयॉं सुन्ने, नयॉं बुझ्ने र नयॉं हेर्ने इच्छाको तर म सानै थिएँ त्यो समय।
ठुलो सॉंझ परिसकेको थियो, आमाहरूले थाहा पाएर कुरा गरेको सुन्दा। भात पस्की आमाले। चुह्लाको छेउमा आमाकै छेउमा बसेर खाई सकेर हेर्ने इच्छाको म ओछ्यानमा पसेँ। रातभरि निद्राले खोसेपछि त्यो इच्छा भोलिपल्ट बिहानै ब्युझेको मलाई फकाई दिएकी थिई।
हिजो ठुलो सॉंझको इच्छाकै भएर मैले आमालाई सोधेको थिएँ, ‘‘जाऊँ आमा?’’
‘‘पर्दैन इत्रु भएर,’’ एघारको म इत्रु नै थिएछु।
आमालाई टेरेर म गइहालिनँ तर नटेरेर गएर पुगेँ केही बेरपछि नै।
सुनेर उभिएँ म दैलोमै। ठुलो आवाजले होइन तर सुन्ने रुँदै थिई एउटी स्वास्नीमान्छे। घुँड़ामा कुइना टेकाएर अनुहारलाई दुवै हत्केलाले छोपेर घोप्टिएर बसेकी थिई रुने काठको पिरामा। अलिक परतिर खोसेलाको पिरामा बसेकी थिई बड़ी।
‘‘बस्दिनँ म। बस्दै बस्दिनँ।’’ रुनेले रुँदै भनी।
सधैँ निसङ्कोच स्वाट्टै भित्र पस्नुसक्ने म उभिरहेको थिएँ दैलोमा। बड़ीले देखी र एउटा हातले भुइँमा टेकेर बल गरेर उठी अनि बढ़ी मतिर बड़ी।
‘‘जा तँ पर्तिर खेल्।’’ बड़ीले भनी अनि थपी ‘‘जा-जा, घर जा।’’
अकमक्क परेको म केही क्षण आँगनमा उभिएँ।
‘‘बस्दिनँ म यहॉं। पुर्याइदिइहाल। आजै पुर्याइदेऊ। बस्दिनँ म...’’ सुनेँ मैले।
आँगनमै पनि सुनिदैथ्यो रुवाइ।
रुने स्वास्नीमान्छे नै नारायण दाजुले हिजो बेलुकी ल्याएको उसकी स्वास्नी हो भन्ने अनुमानसित मैले हिँड़्न शुरू गरेँ। बिहा गर्दा किन रुनु?—लागेको थियो त्यो बेला तर घर पुगिहालेको मैले गएर आएको थाहा पाउँलान् र फेरि गाली खाइएला भन्ने ठानेर कसैलाई केही भनिनँ।
त्यो दिनको तीन-चार दिनपछि हुनुपर्छ—सफा लुगा लगाएर गएँ म बड़ीकोमा नारायण दाजुको बिहामा। बिहामा गएको म बिहामा पुगिनँ तर। गाउँमा कतिवटा बिहा देखिसकेको थिएँ मैले। त्यहॉं बिहाको वातावरण नै थिएन। मानिसहरू थोरै थिए। माइक पनि थिएन, हल्ला पनि थिएन। एकपटि दुईवटा र एकपटि तीनवटा गाड़िएका मल बॉंसका मसिना बलिया घोँचाहरू समाएर केराका मसिनै थाम र पातैसितका पैँयूका डाक्लाहरू उभिएका थिए। बिचमा उठेको चारपाटे माटोको थाकमा रातो र सेतोले ताराजस्तो बनाउँदै थिए चिनेको बाहुन बाजे।
घरबाट हिँड़्दाको खुशी हराएको मैले, पूजा पो रै’छ।—मनमनै भनेँ।
आमा भित्र पसिसकेकी थिई।
म आँगनमा बाजेहरूकै नजिक उभिरहेँ।
उभिरहेको मलाई चिनेको बाजेले ‘‘चाबो चिन्छस्?’’ सोधे।
कुरा नबुझेको मलाई केही भन्नु आइहालेन।
‘‘चिन्दैनस् चाबो?’’ सोधे फेरि।
‘‘अँह,’’ मैले त्यतिन्जेल चाबो चिनेको थिइनँ।
तर भाउजूलाई मैले पहिलोपल्ट देखेको त्यही दिन हो—यदि शरीर देखेर अनुहार नदेख्नु, नदेख्नु र अनुहार मात्रै देख्नु पनि देख्नु हो भने।
भित्रबाट निस्किएर आँगनमा पूजातिर आएकी थिई भाउजू दुई-तीन दिदीहरूसित—रातो नयॉं साड़ी लगाएकी, घिउ रङ्गको मजेत्रो शिरैदेखि ओढ़ेकी तर राम्री अनुहार देखाएकी। मैले भाउजूलाई त्यही क्षण पहिलोपल्ट देखेको हो।
म सुन्दरता देख्ने दृष्टिको त्यही समय थिएछु। सुन्दरता बुझ्ने मन-मस्तिष्कको उही समय थिएछु।
पहिलोपल्ट देख्दा मलाई भाउजू राम्री लागेको थियो। के मन पर्यो भनेर सोधेका भए मलाई कसैले त्यो समय, म उत्तर दिनसक्ने थिइनँ। सुन्दरताको सही र अन्तिम व्याख्या हुन नसक्ने हुँदा आज पनि मसित उक्त प्रश्नको उत्तर छैन तर अहिले पनि म विश्वस्त छु—त्यो समयकी भाउजू सॉंच्चै राम्री थिई।

त्यसपछि पनि अघिजस्तै कुद्दै-उफ्रँदै दिनहुँजस्तो गएँ म त्यहॉं। कारणले पनि अकारण नै पनि। कतिपल्ट केही पुर्याउन गएँ, कतिपल्ट केही ल्याउन गएँ। न पुर्याउन न ल्याउन पनि बेहिसाब गएँ। गइरहँदा म भाउजूसित पनि नजिकिँदै गएँ। भाउजूसितको सामिप्यले मलाई त्यस समय मजस्तै साथीहरूको सङ्गतिले भन्दा धेरै आनन्द र रमाइलोपन दिँदथ्यो। तर मैले राम्री भाउजूलाई खुशी भाउजू पनि धेरै समयसम्म देखिनँ।
मलाई राजु जन्मिएको थाहा छ। त्यो समय म केही बुझ्ने भएको थिएँ।
छोरा जन्मिएपछि भाउजूको अनुहारमा पोतिएका नैराश्य र उदासी धेरै मात्रामा पखालिएको मैले देखेँ।
मलाई रीता जन्मिएको पनि थाहा छ। त्यो समय म धेरै बुझ्ने भएको थिएँ।
छोरी जन्मिएपछि मैले प्रत्येकपल्ट हँसिलो भाउजूलाई भेटेँ।
नयॉं भाउजू अब अर्कै भइसकेकी थिई, पुरानो भइसकेकी थिई।
अर्कै भइसकेकी, पुरानो भइसकेकी भाउजूले एक दिन मलाई भनी,‘‘हेर हेर्दा-हेर्दै मरद भइसक्यो। जुङ्गाको रेखी पनि देख्नु थालिसक्यो।’’

अब मेरो संसर्ग बद्लियो। सङ्गति बद्लियो। मैले आफूलाई आफूजस्तै केटाहरूको समूहमा पाउन थालेँ। हाम्रो कुराकानीको विषय बद्लियो। हामी दबिएको स्वरमा कुरा गर्ने भयौँ।
हामी दसमा पढ्थ्यौँ।
गाउँदेखि विद्यालयको दुरी झन्डै दुई किलोमिटरको थियो। बिचमा अर्को कुनै गाउँ थिएन।
विद्यालयबाट बेलुकी फर्कँदा गाउँदेखि निक्कै पर डॉंड़ामा आइपुगेर हामीले पहिले आगो फुक्यौँ। आगो बलेपछि सुन्दरले गोजीबाट रिजेन्ट सिग्रेटको बट्टा निकाल्यो। बलिरहेको कलामेको सिटा तान्यो।
‘‘के भन्यो?’’ सोध्यो त्यसले गणेशलाई।
‘‘अहँ, मानेन।’’ सुनेर काले त्यो अझ काले भयो।
नौमा पढ़्ने अनितालाई त्यो खुब मन पराउथ्यो।
‘‘पत्याउँदैन,’’ मैले पहिल्यै भनिदिएको थिएँ।
‘‘पत्याउँदैन तँलाई मैले भनेको होइन?’’ मैले फेरि भनेँ।
‘‘किन पत्याउँदैन? यो लुला-लङ्गड़ा छैन। बैरा छैन, लठेप्रो छैन, डरले भनिनस् होला तैँले।’’ भन्यो श्यामले।
‘‘भनेँ, आम्मा कस्सम।’’ गणेश सानु-सानु कुरामा पनि कसम खान्थ्यो।
‘‘कस्तो-कस्तोले कस्तो-कस्तोलाई पत्याइरा’को छ, त्यसले यसलाई नपत्याउनु।’’ भनेर पत्याउने कस्तोले पत्याएको कस्तोलाई बुझाउनु श्यामले नारायण दाजु र भाउजूको उदाहरण दियो र अझै थप्यो, ‘‘छोड़्दे पाउँछस् झन राम्री।’’
‘‘नारायण दाजुले त्यो भाउजू कसरी ल्याएको तिमारलाई थाहा छ?’’ प्रसङ्गवश सोध्यो गणेशले।
‘‘जसरी सुकै ल्याओस्, ल्यायो हैन? आयो होइन?’’ रिसायो श्याम।
‘‘कसरी ल्याएको नारायण दाजुले भाउजूलाई?’’ सोधेँ।
‘‘थाहा छैन तिमारलाई?’’
थाहा थिएन ‘‘छैन’’ भनेँ।
‘‘अर्जुन दाजु चिन्छस् हैन?’’ सोध्यो त्यसले।
‘‘पुलिसमा हुने?’’ बल्ल बोल्यो सुन्दर।
पुलिसमा हुने, म सानु हुँदा बेला-बेला देखेको, पछिबाट विवाह गरेपछि स्वास्नीलाई पनि उतै कता लगेर गाउँ नै बिर्सने एउटा स्वस्थ र राम्रे युवकको धमिलो अनुहार मेरो स्मरणले आँखालाई दियो।
होइन होला, होइन होला लाग्दै सुनिरहेँ। त्यसले सुनाई सक्दा पनि मलाई होइन होला लागिरहेथ्यो।
‘‘होइन होला है।’’ मैले भनेँ।
‘‘सोध्न अरूलाई।’’ त्यसले भन्यो।
विश्वास र अविश्वासको भारी बोकेर म घर पुगेको थिएँ।
छिमेकी भाउजूलाई म देखिरहन्थेँ। भाउजू कुनै-कुनै दिन हाम्रो घर आउँथी। भेट्दा म सधैँ भाउजूको अनुहारमा उही पुरानो नैराश्य र वेदनाको भाव खोज्थेँ तर व्यक्तिन्थ्यो त्यो अनुहारबाट नित्य सन्तोषको भाव।
आश्चर्य लाग्थ्यो मलाई। साह्रै अचम्म लाग्थ्यो। यत्ति भयङ्कर सम्झौता? म सॉंच्चै छक्क पर्थेँ।
कसरी स्वीकार गरी होली त्यस्तो पुरुषलाई पहिला लोग्नेको रूपमा? त्यसपछि कसरी टुसायो होला प्रेमले आँकुरा? बढ़ेर त्यसले कसरी प्राप्त गर्यो होला यो वसन्त?

निहुँ मात्रै भयो लड़ेको। दाहिने खुट्टै नचल्ने भयो नारायण दाजुको। कति दिनसम्म अस्पताल राखेर तर जस्तो लागेका थियौँ उस्तै ल्यायौँ घर। झाड़ा-पिसाब ओछ्यानमै गराउँथ्यो पहिला तर बिस्तारै गरेकै पनि थाहा नपाउने भयो बिरामी।
स्वास्नीको लोग्नेप्रतिको सेवा देखेर मलाई ईश्वर रहेछ नै भन्ने लाग्थ्यो। तर बिस्तारै देब्रे खुट्टाले पनि चल्नु कम्ती-कम्ती गर्दै दाहिनेकै सिको गरेर चल्नै छाड़्योे।
मान्छेको रूपमा जन्मिएर मान्छेले जस्तो बॉंचै नपाई जीवन बित्ने रहेछ भाउजूको —मलाई लाग्थ्यो। अर्को कुरो, चाहे आइपरेका दु:खहरूको सामना गर्न मान्छेले उनैबाट सिक्नुसक्छ भन्ने पनि मलाई लाग्थ्यो।
तर नारायण दाजु अब धेर दिन बॉंच्दैन भन्ने पनि मलाई लाग्थ्यो।
‘‘जानुहोस् है, साह्रो छ अरे नारायण दाजु।’’ हिजो सॉंझ घर पसेको मलाई श्रीमतीले भनी।
मैले आश्चर्य मानिनँ। जानु हतार पनि गरिनँ।
‘‘चिया नखानु?’’ सोधेँ।
म पुग्दा सुतेको बिरामीवरिपरि पॉंच-सातजना बसेका थिए। पलङमा दाजुको खुट्टापटि टुक्रुक्क बसेकी थिई भाउजू।
बिरामीको अनुहारको नजिक अनुहार पुर्याएर ‘‘दाजु’’ भनेँ मैले।
मलाई हेरेन पनि उसले। कम्ती खुल्ला आँखाले उँभो हेरेको थियो।
‘‘चिन्यौ मलाई?’’ कराएर सोधेँ।
‘‘सुन्दैन,’’भिजेको स्वरमा भाउजूले भनी।
‘‘आमालाई उता लैजाऊँ,’’ मैले रीतालाई भनेँ।
बॉंच्दैन होला लागेको थियो मलाई, अब बॉंच्दैन लाग्यो।
अप्ठ्यारो, ध्यार-ध्यार आवाजसित फेर्दैथ्यो सास। मलाई बॉंच्दैन त्यही कारण पनि लागेको थियो। तर त्यो सास फेराइको अस्वाभाविक आवाज क्रमश: घट्दै गएर श्वास-प्रश्वास स्वाभाविक भयो। सामान्य मान्छेकै जस्तो सामान्य भयो।
नमर्ने रै’छ—मलाई लाग्यो।
निक्कै बेरसम्म नारायण दाजुले नबिमारी मान्छेले जस्तो सास फेर्यो। भयपूर्ण आवाजसित बढ़ेको श्वास-प्रश्वासको असामान्य गति घट्दै आएर सामान्य रहिरह्यो निक्कै बेर तर सामान्य श्वास-प्रश्वासको गति क्रमश: घट्दै गएर फेरि असामान्य बन्दै गयो।
म याद गर्दै थिएँ। सास फेराइ बर्खाको खहरे हिउँदको हुँदैथ्यो।
मैले दुब्लो नारायण दाजुको सानु नाड़ी समातेँ।
छाड़ेर बाहिर निस्केँ।

रोएकी रोएकै थिई हिजो रातिदेखि नै। आज भित्रबाट निकाल्दा त जिउ छाड़ेर रोई भाउजू। बॉंचुको उद्देश्यजस्तो भएर लामो समय रहेकोले छाड़ेर जॉंदा रुने स्वास्नीमान्छेहरूझैँ रोई। साह्रै रोई।
‘‘मलाई पनि सँगै लैजाऊँ..., पनि भन्दै थिई।
‘‘...बस्दिनँ म यॉं। बस्दै बस्दिनँ।’’ अब बॉंचु निस्सार ठान्दै थिई।
मैले अर्जुन दाजुलाई सम्झेँ।
एउटा दृढ़ भरोसा, सपना र अनेक कल्पनासित जसलाई लोग्नेको रूपमा सहर्ष स्वीकार गरेर भाउजूले आफ्नो घर छाड़ेकी थिई, जसले उसलाई थोरै समयमै कल्पनातीत संसार दियो—त्यो पुरुष अस्तित्वहीन बन्यो होला उसको मन-मस्तिष्कबाट? बन्यो भने कहिले, कसरी बन्यो होला? मेरो मन नमानेर के हुन्छ? वातावरण, यो स्थितिभन्दा ठुलो अर्को प्रमाण हुनै सक्दैन भाउजूको सम्झनामा अर्जुन दाजुको मृत्युको।
थाहा हुने अरूका मनमा के थियो म जान्दिनँ तर मैले भने एउटा सद्दे मान्छेलाई देखाएर, ल्याएर, अर्कै लठेप्रो मान्छेसँग झुक्काएर विवाह गरिदिएपछि स्वीकार्नु परेको लोग्नेको मृत्युमा स्वास्नी यसरी रुन्छ?-को असमाधानीय जिज्ञासासित कसले हो दिएको केही सिन्के धुप पक्रेँ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 11 कार्तिक, 2069

लेखकका अन्य रचनाहरु