अर्को सालको दसैं

- डीग बहादुर तामाङ्ग

सोह्र्रश्राद लागीसकेको छ, श्रावण र भदौको अविरल बर्षापछि, बल्ल आश्विन महिना शुरु भएपछि माथि लेखाली टोलतिर पनि डम्म भएर बस्ने बादल आफ्नो ठांउ छोडेर कतै गै सकेको जस्तो देखिन्छ । बेंसीमा आषाढमै पाक्ने मकै तर लेखतिर भदौको अन्ततिर मात्रै भांच्न शुरु हुन्छ । हिराकी आमालाई निद्रा आउन छाडीसकेको छ, दशैताका कतै सिलगुडीतिर लागेका दुइभाई छोराहरु ठूले र कान्छो पो टु्प्लुक्क आउने पो हुन् कि भनेर
घरछोडेर गएको धेरै बर्ष बिती सक्दा पनि आशा मारिसकेकी छैनन् हिराकी आमाले । विहाना झिस्मीसेसंगै करिब चार बजेतिर उठ्छिन र जांतोमा मकै पिन्न थाल्छिन । बाहिर तिर दशैताकको किरकिर गर्ने किराहरु गीत गाउन मस्तनै छन, घरमाथिको गोगनको हांगामा बसेर हुचिल हुं हुं गर्दै कतै मुसा शिकार गर्न पाइन्छ कि भनेर भुंइतिर आंखा लगाउदै बसेका छन । हिराकी आमा जांतोसंगै आफूले आफ्नो तरुनीको बेलामा खकाले बेंसीमा गोठमा बस्दका खेरीकोे तामांग घांसी गीत गाउंदै मकै पिंनी रहेकी हुन्छिन् । उता कान्छी छोरी धोपिनी र ठूलीकान्छी मस्तसंग सुतिरहेका हुन्छन् । मकै पिनी सक्छिन् र मतानमा गएर एक अंगालो दाउरा लिएर अगेना छेउमा राखेर आगो बाल्छिन, खड्कुंलो बसाउछिन्, चुलोमाथि गाग्रीबाट पानी खन्याउंछिन्, पानी उम्लेपछि सखारै पिंदेको मकैको पिठो खडकुंलामा ओरिहिएर ढिंडो पकाउछिन र सेलाएपछि मर्चा हालेर अगेनाको कुनामा सबैभन्दा ठूलो डालोमा पकाएको ढिंडोलाई छोपेर, खाली गाग्रोलाई कम्मरमा राखेर पंधेरोतिर लाग्छिन, पानी लिएर आइसकेपछि मात्र दुइटी छोरीहरु उठेर हात मुखधुन तिर लाग्छन । आमाले मकै भुटेर छोरिहरुलाई दिदै भन्छे यसपाली त न दाईहरु पो आउने हो कि दशैमा, जाउं छोरी हो कमेरो त पारी भित्तातिरै पाइन्छ, तर रातमाटो भने माथि तितेचौरनिर नगइ सुख छैन, नवरथा लाग्ने बित्तिकै घरलाई लिपपोत गर्न पायो भने राम्रो देखिन्छ, । हीराकी आमा सानीछोरी घरैमा बसेर खान पकाउने र गाईभैंसीलाई बाहिर सार्ने, बाख्रालाई घांस दिने भनी अराउछिन, हेर “धोपेनी तिमी चांहि घरमा बसेर घांस काट्नु भात, तिहुंन पकाएर राख्नु, ठूली कान्छी र म गयौं रातो माटो लिन” । करिब आधा घण्टा जति हिंडे पछि गाउंभरिका सबै जना जम्म हुन्छन् माथि कांकलिंगको डांडामा, अंगेरीको पातमा सुर्र्तीको बिंडी बनाएर झुलोचक्मकको आगो सक्लाकएर सुर्ती तान्न लाग्छन् कोहि पोल्टाबाट मकै झिक्दै चपाउदैमा व्यस्त देखिन्छन् ।

सिरुवाबारीको कान्लाहरु प्वालैप्वाल भै सकेको थियो, गाउभरिका मानिसहरुले रातोमाटो झिकेर । हिराकी आमाले करिब छ पाथी जति माटो भरिन् थुन्सेमा र ठूलीकान्छीलाई चार पाथीजतिको रातोमाटोको भारी बोकाएर ओरालो लागिन् । घरमा खसी बोका केहि नभएकोले गैरीटोले शम्शेरदले दशैमा रांगा काट्ने रे त्यतैबाट चार रुपियांको मासु ल्याउन पर्ला यदि काले र च्यांवा दशैंमा आयो भने केहि व्यवस्था गरौला भनेर मन मनै छोरीलाई अगाडि लगाएर आउंछिन् । करिब विहानको १० बजेतिर घरमा आई पुग्छे र भारी बिसाएर आंम्खोराको पानीले हातमुक धुइवरी छोरी धोपिनीले पकाएकी च्याख्लाको भात, हरियो कांक्रोको, अचार तोरीको साग, अलिकति मोइ लिएर खाना बस्छे, उन्को मन र आंखा भने आहले खोलातिरको बाटोमा राखेर कतै झुलुक्क दुइभाइ छोराहरु टुप्लुक्क आई पुग्छन् कि भनेर । आमाले निकै दाइहरुको लागि पिर गरेको देखेर ठूली कान्छीले आमालाई फकाउंछे , “होइन आमा दाइहरु आइ हाल्नु हुन्छ नि किन त्यसरि पिर मान्नु भएको ?” यदि दशैंमा आउनु भएन भने पनि तिहारमा त पक्कै आउनु होला । आमा भन्छे हेर तिमीहरुलाई के थाह दशैंमा सबैजना भएर संगै बसेर खाना पाए पो दशैं जस्तो हुन्थ्यो । बाह्र( पन्ध्र दिनमा आज राखेको जांड रक्सी पार्न हुन्छ, मेरा छोराहरु आए भने मासुसंग घरमा पारेको रक्सी र घैयाको भातसंग ख्वाउंला “नानीहरु, हेर तिमीहरुलाई मैले कस्तो दुःख गरेर पालेकी छु तिमीहरुलाई के थाह” । तिमीहरुको बाबुले हामीलाई छाडेर गएपछि (मृत्यु भएपछि) पनि मैले सबैखतेबारी बांजो राखिन, तिम्रो दाज्यू कालेलाई (सुकाठोकरकी पहिनस्या तामाङ जातिको एउटा थर) ठूली भुरीलाई बुहारी बनाएर ल्याउला भन्दाभन्दै उनि पनि अर्कै केटा संग पो गइछन् । अब दाइहरु आएपछि दशैपछि तिहार, तिहारपछि मंसिर लाग्ने बित्तिकै दाईको विवाह गर्नु पर्छ र बुहारी ल्याएपछि मलाई ठूलो भरथेक हुन्छ, मलाई त्यति सास्ती हुदैन । दशैंको फूलापातीको दिन घरमाको चौरमा पिंङ हालेको हुन्छ, छोराहरु आएको छैन बुढीको मनमा चयन छैन । ठूलीकान्छी लुगासिउने रुपानेको घरमा विहानै देखि गएकी थिइन फर्किकी छैन । भन्ज्यांगको हुलाकी थपक्क आउंछन् पिंडीमा बस्छन् खै आमा १ दाइहरु आउनु भएको ? खै नानी त्यो सिलगडीभनेको देशमा आफू जानु सक्ने भए यिनीहरुलाई कठालो समातेर ल्याउंथे नसकेपछि के गर्नु आउलान नि त अर्को सालको दशैमा । उता छोराहरु सिलगडीबाट खर्साङतिर जादैं होलान नि । आफनो मन छोराहरुमाथि छोराहरुको मन ढुंगामाथि भने झै भयो आमालाई । छोराहरुको पत्र खल्तीमा छ तर हुलाकी कांइलोलाई पत्र देखाउन मन छैन, एकमनले पत्र नदिइ जाउ कि जस्तो गर्छ तर त्यो भित्र के लेखेको छ, राम्रोखबर भए त बुढी रमाउलिन नत्र भने ... हुलाकीलाई अप्ठेरो महसुस भै रहेको थियो, उन्को मन नमानी नमानी “ लौ आमा दाईहरुले पठाएको पत्र दिन आएको पत्र थमाउदै, हुलाकी भन्छ । बुढीको अनुहारमा खुसीले निरासको ठाउ लिन्छ । लौ बाबु तिमीले नै पढेर सुनाईदेउ न त । पत्रमा लेखिएको हुन्छ, स्वस्तीश्री आगे ताहां राजभएको महतारीको चरण कमलमा सेवाढोग, हामीहरु हालै सिलगडीबाट आसामको तेजापुर भन्ने ठाउतिर लागेको छौं, आसम रैफल भन्ने पल्टनमा भर्ना भएका छौं, हाम्रो तलब कम्पनी ६० साठी पाउने भएका छौं, अर्को बर्षको दशैंमा हामीहरु आउनेछौं यो खबरले हीराकी आमा खशीले हुलाकीतिर हेर्दै भन्न लागिन ” खबर भनेको त यस्तो पो ल्याउन पर्छ बाबु “ अब तिमी कार्कीको छोरा जांड खादैनौ, लौ यो विउलाई राखेको ठूलो कांक्रो लिएर जाउ ,मज्जाले अचार बनाए खाएस, फेरि पनि यस्तै खाले पत्र लिएर आउनु तिमीलाई भगवानले रक्षा गरुन्, दशैं राम्रोसंग मनाएस” ।

अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 11 कार्तिक, 2069

लेखकका अन्य रचनाहरु