जीवनमा कला

- नन्दलाल आचार्य

जीवन कलायुक्त हुनुपर्छ । कलाविहीन हुनु मानव हुनुबाट बञ्चित हुनु हो । भनिन्छ, शिव सर्वकलाले सम्पन्न थिए, कृष्ण पनि सोह्र कलाले सम्पन्न थिए साथै राम समेत केही कलाले युक्त थिए । आजका हामी मान्छे कलाकारितामा विश्वास नराख्ने भुल गरिरहेका छौँ । खालि धनोपार्जनमा ध्यान लगाइरहेका छौँ । कलाले धन मात्र उपार्जन गर्दैन, जीवको धरोहर समेत निर्माण गर्दछ । अतः कलाको सम्मान हुनुपर्छ । सानो काम भनेर तुच्छरूपमा लिने सोचको विपक्षमा नउभिई हामी जीवनवोध गर्न सक्दैनौँ । हामीमा के–कस्ता कला छन् र के–कस्ता कामकाजको सम्मान गर्न सक्नुपर्छ भन्ने कुराको आभाष दिन र लिन व्यवहारोपयोगी जम्मा चाँैसठ्ठी वटा त्यस्ता कलाको अध्ययनमनन र चिन्तन आवश्यक हुन्छ । ती हुन्–
(१) गायन, (२) वादन, (३) नर्तन, (४) नाट्य, (५) चित्रकारी, (६) विशेषकच्छेद्य (टीकाटाला गर्नु), (७) तण्डुलकुसुमावील (चामलका दानाले फूलबुट्टा बनाउनु), (८) पुष्पास्तरण (फूलैफूलको श्रृङ्गार रच्नु), (९) अङ्गराग (बुकुवा–पाउडर आदि लगाउनु), (१०) मणिभूमिका–कर्म (घर सजाउनु), (११) शयनरचना (विछ्यौना सजाउनु), (१२) उदकवाद्य (जलतरङ्ग बजाउनु), (१३) उदकाघात (पचका हान्नु), (१४) चित्रायोग (उमेर वा अवस्था परिवर्तन), (१५) माल्यग्रन्थन (माला गाँस्नु), (१६) केशशेखरापीड (कपालमा फूल सजाउनु), (१७) नेपथ्य–योग (पोशाक फेर्नु), (१८) कर्णपत्रभङ्ग (ढुङ्ग्री, काँटा लगाउनु ), (१९) गन्धयुक्ति (अत्तर आदि लगाउनु), (२०) अलङ्कार–योग (गहना पहिरनु), (२१) इन्द्रजाल (चटक गर्नु), (२२) कौचुमार–योग (रूपरचना), (२३) हस्तलाघव (हल्का हातले चाँडो काम गर्नु), (२४) सूपकर्म (खाना पकाउने काम), (२५) पानकादि भोजन (सर्वत आदि बनाउनु), (२६) सूचिकर्म (सिलाइको काम), (२७) सूत्रक्रिया (धागो, बत्ती आदि कात्नु), (२८) वीणा–डमरुवाद्य (सितार, तबला आदि बजाउनु), (२९) प्रहेलिका (जान्ने–गाउँखाने कथा, कविता रच्नु), (३०) प्रतिमाला (अन्त्याक्षरी मिलाएर श्लोक भन्नु), (३१) दुर्वाचक–योग (कठिन पदहरूको अर्थ पत्ता लगाउनु), (३२) पुस्तक–वाचन (राम्ररी पुस्तक पढ्नु), (३३) नाट्यकला (हाउभाउ झिकेर नाटकहरू खेल्नु, खेलाउनु), (३४) समस्यापूर्ति (एक पाउमा अरू पाउ थपेर श्लोक पूरा गर्नु), (३५) पट्टिकाबाण–विकल्प (मेच, कुर्सी आदि बनाउनु), (३६) तक्षकर्म (काठको मर्मत गर्ने काम), (३७) तक्षण (सिकर्मी काम), (३८) वास्तुकर्म (घर आदि बनाउने काम), (३९) रूप्यरत्न–परीक्षा (सुन, चाँदीको काम), (४०) धातुकर्म (धातुको काम, ढलोट आदि), (४१) मणिराग–ज्ञान (जुहारती काम), (४२) आकरज्ञान (खनिज विद्या), (४३) वृक्षायुर्वेद–योग (बगैँचा बनाउने काम), (४४) सजीवद्यूत (चरा, भेडा आदि लडाउने काम), (४५) शुकसारिका–प्रलापन (सुगा–मैना पालेर पढाउनु), (४६) उत्सादान (तेल मालिस गर्ने काम), (४७) अक्षर–मुष्टिका कथन (साङ्केतिक शब्द वा अक्षरबाट कुरा गर्नु), (४८) म्लेच्छितविकल्प (विदेशी भाषाहरू जान्नु), (४९) देशभाषा–ज्ञान (देशका विभिन्न भाषा जान्नु), (५०) पुष्पशकटिका निमित्तज्ञान (प्राकृतिक लक्षणद्वारा शुभाशुभ कुरा जान्नु), (५१) यन्त्रमातृका (जन्तरमन्तर गर्नु), (५२) धारण–मातृका (रक्षाबुटी बाँध्ने काम), (५३) सम्पाठ्य (अर्काले पढेको सुनेर त्यस्तै पढ्नु), (५४) मानसी–काव्यक्रिया (कविता, काव्य आदि रच्दै सुनाउनु), (५५) अभिधानकोश–छन्दोज्ञान (शब्दकोश र छन्दका लयहरू जान्नु), (५६) क्रिया–विकल्प (क्रियाको प्रभाव बदल्नु), (५७) छलितयोग (ठगी वा ऐयारी गर्नु), (५८) वस्त्रगोपन (लत्ताकपडाको हिफाजत), (५९) द्यूतक्रीडा (जुवा), (६०) आकर्षकक्रीडा (पासा, बुद्धिचाल आदि खेल), (६१) बालक्रीडन (केटाकेटीको खेल), (६२) वैनायिकी (नम्रता, शिष्टाचार), (६३) वैतालिकी (हात्ती, घोडा आदि सधाउनु), (६४) वैजयिकी (लडाइँ, कुस्ती, कसरत आदि) ।
कलाका रूपरङ्गका बारेमा केस्राकेस्रा केलाउन जमर्को गर्ने हो भने बालकको गर्भावस्थादेखिकै अध्ययन हुनुपर्छ । बच्चाले गर्भदेखि नै सिक्न थाल्छ । उसको सादा दिमाखमा समाजका कुराहरू भरिँदै जान्छन् । यसको ज्वलन्त उदाहरण हो– स्वस्थ बच्चा जन्मनासाथ रुनु । उसको रुवाइको कारण हो– वातावरणीय असहजता । आमाको गर्भमा भएभन्दा विल्कुलै फरक अनुभूति धर्तीको स्पर्श अर्थात् वाह्य वातावरणले दिने हुनाले बच्चा जोडजोडले रोएको हो । ऊ असहज वातावरणका विरुद्ध उभिन्छ र सहज वातावरणको माग गर्दछ । त्यस बखत बच्चाअनुकूलको वातावरण बनाइदिनु संरक्षकहरूको परम कर्तव्य हुन आउँछ । तत्पश्चात् उसले विस्तारै, विस्तारै परिवारजन र सामाजिक पृष्ठभूमिअनुरूप भाषा र व्यवहार सिक्दै जान्छ । दिनानुदिन ज्ञान बटुल्दै जान्छ । कुन कुरो ठीक र कुन कुरो बेठीक भनेर कारण सहित वोध गराउँदै लैजाने काममा संरक्षकहरू जुट्छन् । सत्य कुराले ठाउँ लिँदा सर्वस्विकार्य हुन्छ, असत्य कुराका निम्ति भने आपत्तिजनक हुन्छ । ठक्कर खाँदै र दर्द सहँदै बच्चा सिकाइको महासागरमा हेलिन्छ । कलाको अङ्कुरण गर्भमै हुन्छ तर विकास र विस्तार भने विस्तारै–विस्तारै हुँदै जान्छ । समाजमा हरेक सदस्यहरूका आ–आफ्नै खालका दायित्व हुन्छन् । त्यस्ता दायित्व पूरा गर्न समेत हामीमा कला विद्यमान हुनु जरुरी हुन्छ ।
थरथरीका अनुभूतिले थरिथरीका कला जन्माउँछ । कसैलाई गुरु नथापीकन, केवल किताब पढेर र यदाकदा अरूले चलाएको निरीक्षण गरेर मैले कम्प्युटर–टङ्कन सिकेँ । त्यो तत्कालीन अवस्थामा कामचलाउनका लागि थियो । त्यसका लागि कीबोर्डमा देवनागरी लिपिका वर्णहरू टाँसेको थिएँ । तिनै वर्णहरू हेरिहेरीकन एकै हातले टङ्कन गर्थें । त्यसैमा लत बस्यो । एक दिन अरूको कम्प्युटरमा टङ्कन कार्य गर्नुप¥यो । त्यस बेला मरेतुल्य भएँ । कारण त्यहाँ टाँसिएका वर्णहरू थिएनन् । पछि दुबै हातको प्रयोग गरी टङ्कन गर्ने भरमग्धुर प्रयास गरेँ । असफलता मात्र हात लाग्यो । गुरु नथापीकन भएन भनेर कम्प्युटर प्रशिक्षककहाँ पुगेँ । उनले कुरा सुनिसकेपछि गम्भीर भएर भनेँ– ‘अरूका निम्ति कम्प्युटरको आधारभूत ज्ञान हासिल गर्न पन्ध्र सय लाग्छ तर तपाईंका लागि तीन हजारमा एक पैसा कम हुँदैन ।’ झन् केही मात्रामा सिकेको मान्छेलाई कम होला कि भनेको त उल्टै दोब्बर लिने विचार प्रकट हुनुको रहस्य पछि मात्र बुझेँ । मैले नियम विपरीत टङ्कन सिकेको रहेछु । मेरो दिमाखमा ज्ञान हैन, भुस भरिएको रहेछ । दिमाखको त्यो भुस फ्याल्न प्रशिक्षकले थप समय र श्रम दिनुपर्ने भएको हुँदा डब्बल शुल्क तोकेका रहेछन् । उनी मलाई शून्यबाट नै सिकाउन चाहँदा रहेछन् । त्यसका लागि मेरो दिमाख खाली हुनुपर्ने थियो । त्यस बेला म अनधिकृत तवरको ज्ञान हानिकारक हुन्छ भन्ने ठोस निर्णयमा म पुगेको हुँ । वास्तवमा सैद्धान्तिक बाटो हुँदै शून्यबाट सिकेको ज्ञान दीर्घकालीन हुन्छ, फलदायी हुन्छ । सुरुमा सिकाइमा पाइला राख्न गाह्रो पर्छ तर टेकिसकेपछि गन्तव्यको यात्राउन्मुख हुनका लागि सहज र सरल हुँदैहुँदै जान्छ । त्यसैले सिक्नुपर्ने कुराका निम्ति दिमाख खाली हुनु जरुरी हुन्छ । म जान्ने र बुझ्ने मान्छे हुँ भनेर अचाहिँदो गर्व गर्नेले सिकाइ कार्यलाई उचित गति दिन सक्दैन । यसले आफूमा कला जन्माउन अवरोध खडा गरिदिन्छ ।
ज्ञान अथाह छ । कला महासागर हो । यथोचित ज्ञानका लागि, यथोचित कलाकारिताको उन्नययनका लागि जहिल्यै पनि हाम्रो दिमाख खाली नै हुन्छ । दिमाख खालीको अर्थ ‘विल्कुलै सादा दिमाख’ बुझ्नु सर्वथा अनुचित हुनेछ । दस लिटर पानी अट्ने घैलामा पाँच लिटर मात्र पानी छ भने घौला आधा खाली छ वा पचास प्रतिशत भाग मात्र खाली छ भन्न सकिन्छ । मान्छेका दिमाखमा भएका कुराहरूलाई यत्ति खाली र उत्ति खाली भनेर एकिनका साथ भन्न सकिन्न । अर्कातिर बालबालिका जिज्ञासु हुन्छन् । आफ्ना जिज्ञासाले समाधान भेटून् भनेर खोजयात्रामा सङ्लग्न हुन्छन् । हामी पनि जीवनपर्यन्त केही न केही कुरा सिकिरहेकै हुन्छौँ । आजसम्म ज्ञानगुनका कुराले दिमाखलाई भरेर चुपचाप रहन सक्ने मान्छे संसारमा पैदा नै भएको छैन । हामी जीवनका हरेक मोडहरूमा ठक्कर खाँदै र चोट सहँदै बाँचिरहेका छौँ । ज्ञानगुनले दिमाख भरिएको हुँदो हो त हामी अन्तर्यामी हुने थियौँ । अर्कातिर आजसम्म जति मान्छे जन्मिए र जे जति यश कमाए, जे जति कीर्ति फिँजाए ती सबैले आफ्नो दस प्रतिशतभन्दा बढी दिमाखलाई प्रयोगमा ल्याएकै छैनन् । दस प्रतिशत पनि नभरिएको दिमाखलाई खाली भन्नु नै उपयुक्त होला । अझ स–साना बच्चाहरूको स्थिति अझ नाजुक हुन्छ । यसमा धेरै किसिमका तर्कको आवश्यकता नै नपर्ला । अतः कसैको पनि दिमाख भरिएको हुन्न । सबैको दिमाख खाली नै रहन्छ तर सादा भने होइन । त्यसैले त कोही पनि सर्वकला सम्पन्न हुन्न भनिएको हो ।
कलाको संसार व्यापक छ । सङ्कुचित धरातलमा कलालाई राखेर सीमित तुल्याउन सकिन्न । त्यसैले ढुङ्गाको काप फोरेरै भए पनि पीपल उम्रन्छ, झ्याङ्गिन्छ । बच्चाहरूका लागि सामाजिकीकरणमा आवश्यक पर्ने आदर, सम्मान, श्रद्धा, अनुशासन एवं नैतिकताजस्ता कुराहरू चाहिन्छन् भन्दैमा सिकारुको कलाकारिताको गला निमाठ्ने काम हुनु दुर्भाग्य हो । आदर, सम्मान, श्रद्धा, अनुशासन एवं नैतिकताजस्ता कुराहरू सिकेर सिकिने अनि घोकेर घोकिने कुरा होइनन् । कुनै सिद्धान्त पढेर वा कसैको देखासिकी गरेर जानिने कुरा पनि होइनन् । यी त स्वतःस्फुर्त जन्मने र अङ्गिकार गर्दै जाने कुरा हुन् । हामी अग्रजहरू बच्चाहरूलाई भन्छौँ– धुम्रपान नगर, मद्यपानमा नभुल, असत्यका पछि नलाग, सत्यको मार्ग नछोड, ठूलालाई आदर गर, सानालाई माया बाँड आदित्यादि । उनीहरू हाम्रा अगाडि त्यस किसिमको कर्म नगर्लान् तर अनुपस्थितिमा नगर्न भनेकै कर्म गर्र्न पुग्छन् । हाम्रो शारीरिक शक्तिका सामु नतमस्तक बन्लान् तर काबु बाहिर अनुशासनहीन हुन पुग्छन् । गलत कर्म गरेको फेला पारेमा हामीले हाम्रो विवेक सामु झुकाउन प्रयत्न गर्नुको सट्टामा शक्ति सामु झुकाउन खोज्नुको परिणाम सुखद हुन्न । हाम्रो इच्छा विरुद्धका कर्म बच्चाले गर्दा हामीलाई दुःख लाग्छ तर इच्छाविरुद्ध आदर, सम्मान, श्रद्धा, अनुशासन एवं नैतिकताजस्ता कुराहरूको बोझ बोकाउँदा उनीहरूलाई चाहिँ दुःख लाग्दैन ? अवश्य लाग्छ । फलतः हामी आजका बच्चाहरूको उछृङ्खलपनका सिकार हुन्छौँ र बदलामा उनीहरू हाम्रो शारीरिक शक्ति र अहङ्कारका सिकार हुन्छन् । समाज पालाको पैँचोमा नै चलिरहेछ । यस नियतिबाट मुक्तिका लागि आ–आफ्नो ठाउँबाट मूल्य चुकाउनुपर्ने बेला आएको छ ।
यी तमाम कुराहरूको छिनोफानोका निम्ति ठूलै मानसिक बहसको खाँचो छ । वर्तमान समयमा देखिएका समस्याहरूको जरो सामाजिकीकरणका निम्ति भनेर जबरजस्ती लादिने आदर, सम्मान, श्रद्धा, अनुशासन एवं नैतिकताजस्ता कुराहरू नै हुन् । अझै पनि हाम्रो सोच सुध्रन सकेको छैन । समाज दशकौँ पछि पर्दा पनि हामे मनमा पुरातनवादी भजन–कीर्तनकै धङ्धङ्ती छ । सोचमा परिष्कार खट्केको छ, सोचमा ऊध्र्वगामी परिवर्तन गर्ने अठोट धरासायी भएको छ ।
कलाको विकास वाल्य अवस्थादेखि नै हुनुपर्छ । यसले स्वतन्त्रता खोज्छ । यसले अनियन्त्रण खोज्छ । जहाँ जति निरङ्कुशता हुन्छ, त्यहाँ त्यति अराजकताले ठाउँ ओगट्छ । जहाँ जति बढी स्वतन्त्रता हुन्छ, त्यहाँ त्यत्ति नै तीव्र गतिमा मौलिक विकासले गति लिन्छ । कलिलो बिरुवालाई मलजल आवश्यक हुन्छ । त्यो पनि बिरुवाको आवश्यकता अनुकूल हुनुपर्छ । प्रतिकूल मात्रामा मलजल भए बिरुवा सप्रनुको सट्टामा मर्न जान्छ । हो, त्यस्तै हामी प्रतिकूल तवरले मलजल गर्न उद्यत छौँ । तुरुन्तै बच्चामा सामाजिकीकरणका गुण अन्तर्निहित हुनुपर्छ भन्ने रट लगाइरहेका छौँ । हाम्रो हतारो हाम्रो हितमा होला तर बच्चाको अहितमा छ । बच्चा शारीरिक, मानसिकरूपले सबल भएको छैन, हामी भने सामाजिकीकरणको गीत फलाक्छौँ । अनि, प्रतिकूल नतिजा नआएर के आउँछ त ? अनि, उनीहरूमा कला जन्माउने सवालमा हामीहरू असफल नभए को हुन्छ त ?
अझ स्पष्टताका साथ बुझ्नुपर्ने कुरा के हो भने हामी अग्रज हाम्रा नानीहरूको लागि लायक बन्नुपर्छ । सर्वप्रथम हामी स्वयम् आदरणीय, सम्माननीय, श्रद्धेय, अनुशासित एवं नैतिकवान् हुनुपर्दछ । हामी अग्रगामी समाजमा समायोजन हुने गुणले सम्पन्न रहनुपर्छ । अठोटका साथ पक्रिएको बाटो मोड्नुहुन्न । हामी जे जस्ता क्रियाकलाप अङ्गीकार गर्छौं, त्यसलाई हुबहु जसो उतार्ने प्रयास स–साना नानीहरू गर्छन् । हामीले सिकाउँदैमा असल बानीव्यहोरा नानीहरूले सिक्ने होइनन् । हामीले देखाएको र गरेको बानीव्यहोरा मात्र उनीहरूले सिक्ने हुन्, नक्कल गर्न प्रयास गर्ने हुन् । आफू अनैतिकताको मार्गमा उभिएर नैतिकताको भाषण गर्दैमा नानीहरूलाई नैतिकवान् पार्न सकिन्न । आफू भने अनुशासनहीन हुने र नानीहरूलाई अनुशासित बन भन्ने गर्नाले पनि यथोचित प्रतिफल भेट्दैन ।
कलायुक्त बन्न गहिरिएर आफ्नै मनको अध्ययन गर्नुपर्छ । सदियौँदेखि समाजले लादेका तमाम् थोत्रा सिद्धान्त र परिपाटी विरुद्ध उभिने अठोट लिनपर्छ । अनि मात्र बन्दनीय कार्य गर्न सकिन्छ । समाजको हितमा छ भन्दैमा यथास्थितिवादी सोचलाई मलजल गर्दा अल्पकालीन हित होला तर त्यसबाट समाज दशकौँ पछाडि पर्दछ । समाज अगाडि बढ्ने काम गर्नका लागि सबैखाले कलाको सम्मान हुनुपर्छ । यस खाले सोचलाई साकार रूप दिन नेपाली समाज एक दिन न एक दिन वाध्य हुनेछ । त्यसका लागि धेरै काल पर्खनु पर्दैन । त्यो समय सङ्घारमा उभिएर ढोका ढक्ढकाइरहेको छ । हामी भने आग्लो लगाएर भित्रै गुम्सिरहेका छौँ । र, पनि आँखी झ्यालबाट चियाउन भने छाडेका छैनौँ । हामीले आग्लो खोल्नु जरुरी छ । नयाँ सोचयुक्त मान्छेलाई स्वागत गर्नु आवश्यक छ ।
आमा त्यो आउँछ र ?
‘हो बा, त्यो आउँछ ।
त्यो विहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।
त्यसको कम्मरमा झुण्डिएको, शीतजस्तै टल्कने
तिमी एक हतियार देख्नेछौ,
त्यसैले ऊ अधर्मसित लड्नेछ ।
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभन्दा पनि
बढ्ता छोइने भएर आउँछ ।’
(गोपालप्रसाद रिमालको ‘आमाको सपना’बाट)
संसार नाङ्गो सत्यमा आधारित छ, नाङ्गै रहन दिनुपर्छ । प्राकृतिकरूपमै रहन दिनुपर्छ, जलप लगाएर क्षणिक मनमोहक पारी अरूलाई भ्रममा अल्झाउनु सर्वथा अनुचित ठहरिन पुग्छ । नानीहरूको प्राकृतिकपनलाई स्वागत र सम्मान गर्ने विचारले स्थान भेट्नुपर्छ । भोलिको दिन उनीहरूकै हातमा रहने हुनाले आजको दिन मज्जाले भोग गर्ने वातावरण मिलाइदिनुपर्छ । आजको भोग गरेर कला आर्जन गरेकाहरूले नै भोलिको समाजलाई नेतृत्व प्रदान गर्न सक्छन् ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 11 कार्तिक, 2069

लेखकका अन्य रचनाहरु