स्रष्टासँगको वार्ता: आलमदेवी–रानीमहलको यात्रा

- राजेश कुमार अर्याल

जाँगर आफूमुखी हुन्छ, अल्छीपन अरूमुखी । अल्छीलाई खेद्ने सामाजिक मान्यता नै छ । शरीरका अंगहरूमा तिघ्रो अलि बढी अल्छी हुन्छ क्यारे । कैडा लाग्ने तिघ्रा र फर्कने खुट्टालाई फेरि खेद्ने रहर जाग्यो । प्रदुषणहीन हावामा सास फेर्न आलमदेवी गाउँमा पुग्ने, प्रेम जागृत गराउने रानीघाट दरबारमा कविता र गजल वाचन गराउने, तिव्र वेगकी कालीजस्तो पवित्र नदीमा पौडने । जीवन रूपी उकाली चढ्ने र ओराली झर्ने । सिर्जनशील साहित्य यात्राको साइत निस्कियो चौबिस चैत्र, दुइहजार अससठ्ठी । बार थियो शुक्र । ‘सिर्जनशील’ भन्दा बुझिन्छ अरूले गरेको भन्दा आधुनिक र समय सुहाउँदो कार्य । ‘साहित्य’ के ? सोचाई आउँछ कविता, गजल, कथा, निबन्ध । ‘यात्रा’ प्रतिको बुझाई छ पैदल, गाडी र जहाजमा । पुग्दैन त्यति मात्र बुझेर सिर्जनशील साहित्य शिविरलाई । जवाफ मिल्छ, सिर्जनामा पोख्त, अनुभवी साहित्यकारहरू आएका । भिन्नाभिन्नै वातावरण र संस्कृतिबाट मिसिएका स्रष्टाहरू । फरकफरक हुन्छ तिनीहरूको चेतनास्तर र सैद्धान्तिक ज्ञान । विषय दिएर होइन, भूगोल, समाज र क्रियाकलाप लिएर सिर्जना गर्न प्रेरित गर्ने थलो हुन्छ यो ।
हिंडाईको भुटभुटी थियो तनमा । आनन्द थियो मनमा । सिर्जनशील साहित्य यात्रा चल्यो दमकडाबाट मध्यान्हको १२ बजे । छोडें यात्राको साधन बन्दोबस्त गर्न शालीनताका प्रतिमूर्ति छन्देली कवि देवी नेपाल र धीर स्वभावी राधाकृष्ण शर्मालाई । टिँ टिंट्को आवाजले फेरि मोह जाग्यो, साधन विना निस्किएको मान्छेलाई । रोकियो मोटरसाइकिल तर रहेछ कारण अन्य । छापामार शैलीमा दमकडा आइपुगेछ प्रहरी । लाइसेन्स थिएन कि व्लू बुक । चलेको छ यतिखेर नियमानुसार मापसे र ट्राफिक चेक जाँच । आक्रोसले होस् कि प्रशंसाले सर्वसाधारणको मुखमुखमा झुण्डिएकी छन् कानुन पालनको कार्यतालिका बनाएकी महिला डिएसपी मीरा चौधरी । जोगिनी खोलापल्तिर प्रतिक्षारत थिए यमुना, रिमा र छवि । पाइतालाले केही डोब पार्न नपाउँदै मोटरसाइकिल र मिनीट्रक आइपरे । फेरियो मुड र पालो पाए पैतालाले । शासकले रातो घेरा लाएर राखेको गाउँ, स्वाभिमानीको पौरखले चिनाएको ठाउँ मदनपोखरालाई माइती मान्न थालेको बाँसटारी उत्तिखेरै भिडकियो । नगरपालिकामा गाभिएको वडा नम्बर चौध थियो एकदशक अगाडि मदनपोखराबाट छुट्टिएको । राज्यपुनर्संरचनाको वहश चलाएकाले संवाद गर्नुपर्ने नागरिक छन् यहाँ, गाह्रो छ मन मिल्न भूगोल मिसाए पनि । कुरुक्षेत्रको युद्धमा परेको भए कृष्ण हुने राधाकृण्ण र धनुकाँड लिने देवी नेपाल मिसिए । भ्यानवाललाले दुर्गाप्रसाद अर्याल र पुर्षोत्तम अर्याललाई बस चढाए । भट्भटे ल्याएका रामप्रसाद अर्यालले बसमा नचढी चढे बारुदखान । त्यति कुराएन जति सोचिएको थियो बाँसटारी प्रतिक्षालयले । बेलाबखत अस्पतालमा बिरामी कुरिएको छ, मैरोमा लाशै पनि । यहाँ त केवल सँगै जाने सहयात्री । चर्चाले पहाडकी रानी तानसेनलाई उछिनेकी कमलपोखरीलाई छोडेर हिंड्यो बस ।
‘बस छु्टछ एक बजे टुँडिखेलबाट’ उर्दि थियो सर्जकहरूलाई समयमा हाजिर हुने । डोर हाजिरा लाउँदा पो समयमा नपुगे मेलो लागिन्न । यो त न झारा थियो न परिमो मेलो । जाँगरियाहरू मदनपोखरा, दमकडा, बाँसटारी, बर्तुङ्ग हुँदै तानसेन टुँडिखेल आइपुगे तर आइपुगेनन् बजारबासी । समयमा नआइपुग्दामा सर्जकहरूलाई थिएन कुनै अपशोच । मिसिए धवलका युवराज, साहित्य समाजका राजेन्द्र, वाङ्गमयका गोपाल । भीमसेन टोलमा थपिए चण्डिभञ्ज्याङ्गका मोहन र ठूलो लुम्पेकका सुन्दर । तानसेनबाट २ बजे हिड्यो बस् । चिन्ता थियो आयोजकलाई साँझ ढिलाभए हुनुपर्ला गन्तव्यविहीन । आलमबासी झन् उत्सुक थिए, मोवाइल फोन आउँथ्यो घरिघरि । ज्ञानबहादुर राना पुजेरी मात्र रहेनछन्, आतिथ्यता र प्रेमका पनि पुजारी रहेछन् ।
अमरनारायण मन्दिर नजिक पुग्दा नपुग्दै मिल्क चकलेट हात लाग्यो । जाँगर गर्न खोजेकैले सायद जिब्रोले मिठोमसिनो पाउँछ, अल्छी गर्न खोज्दा गोडाले खस्रोधस्रो । स्वादे जिब्रो, अल्छि तिघ्रो न हो जिब्रो पड्कायो । अरूको सामन्नेमा धेरैले भन्छन् यात्रा सजिलो हुन्छ । यात्रा रुचाउन्न भन्ने बिरलै भेटिन्छन् । साधन, स्थान र शैलीका आधारमा यात्रा भन्ने गरिन्छ, जस्तो पैदल यात्रा, साइकिल यात्रा, मोटरसाइकिल यात्रा, बस वा जहाज यात्रा । थियो यो आधी बाटोे पैदल, आधी यात्रा गाडिको । यात्राको आदत बस्यो, सकिन्न छोड्न । बरु शारीरिक र मानसिक पीडा खप्ने तर यात्रा नछोड्ने । राइडाँडा पुग्दा मान्छे आउलान् भनेको आउँछ फोन कविताको । पर्खनुस्, म आउँदैछु । आफ्नी श्रीमती लिन आएका एक शिक्षकको साधन मागे । माग्ने कुरा राम्रो हुँदै होइन । डर थियो, कृष्ण देवकोटा झैँ भुतुक्कै हुनुपर्ला । झलझली संझिरहें, ‘लाइट, मोटरसाइकिल र स्वास्नी अरूलाई दिएको छैन ।’ घोरबन्दा, गाबटुङ्ग, खोरबारी हुँदै पोखराथोक पुग्दा उस्तै प्रतिक्षामा थिए हरि भट्टराई र गोविन्द खनाल । आरेभञ्ज्याङ्गमा थिए । चैतका काफल लिएर बाड्न आतुर कृष्ण पहारी र ज्ञानु न्यौपाने । बसले हावा किन्दा बेर भयो र पढियो अखबार । ‘नन्स्कूप’ तर सबैका दृष्ट्रि परेका, ‘फालिने भो सडकका घरटहरा’ । सुने रविन्द्र, भविन्द्र, धनेन्द्रसमेतको छाप्रो जान्छ । यतिखेरका इन्द्रहरूको आशन डगमगाएछ । नपाइने रे, लोकमार्गका पच्चिस मीटर, फिडर सडक पन्ध्र र जिल्ला सडक दश मीटरमा घर बनाउन । मध्य प्रहरको घामले तातेको सडक, आत्तिएका चालकका कारण साट्न भ्याइएन फाटेका मनस“ग मन । झस्किरहेका थिए सडककिनाराबासी, दिमागमा घुसेको डोजर आतंकले । नियात्राकारलाई झन् तर्सायो, यात्रीहरू चढेको गाडी हर्नले ।
केही यात्री छतमा चढेका छन् घुमाउरो सडक र गाडिको गति सहन नसकेर । केही आफ्नै कथाव्यथा, सम्पति र छोराछोरीको कुरा सुनाउँदैछन् बाटो काट्न भनेर । केही मानिसहरू आफ्नो विगतभन्दा बाहिरको संसार निस्कन खोजेका छन् तर तीनैलाई लागको छ गाडिको मात । रिगंटा लाएर को को घुमे पुरा हेक्का भएन तर धेरैले घुमेको ठाने अँगाहखोला, राम्दी, मालुङ्गासम्मका रूखहरू । रोकियो गाडि जिरोमा । कालीगण्डकी ए जलविद्युत परियोजना सुरु गर्दा लोकमार्गसँग जोडिने नापोको आरम्भ थलो थियो यो । बज्रपात सह्यो शुन्यता चिर्दै निस्किएको गाडीले । हुण्डरी खेलायो गुठी पार गर्दानगर्दै असिनापानी, भेल र चट्याङ्गले । संझनामा आए लोकगायक पुरुषोत्तम न्यौपाने र शर्मिला गुरुङ्ग, ‘मिमीमुनी काली थुनेको अन्तै माया लाइछयौ रे मायाले, साँच्चै हो कि हल्ला सुनेको ।’ मिर्मी आफू त मायालु देखिन्थ्यो तर आक्रोसित थिए मिर्मी पुगेका यात्रीहरू । तातेको सडकमा परेका पानीका बुँद उफ्रे झैँ उफ्रिए बसभित्रका यात्रीहरू । थिएन कुरो ठूलो, आफ्नो गाडिमा थोरै भएर यात्री ओरालेका गाडि चालकले भनेका थिए ‘ल झर्नुस् आज बिर्घा गाडि जान्न सक्दैन ।’ नयाँ ठाउँ पुग्ने उत्सुकता थियो साहित्यकारलाई तर जानेकै ठाउँमा रोक्ने वहाना चालकलाई । रोकियो बस एक घण्टा । ज्यान तानितानि मिर्मीफाँट नियाले भेषराज सुवेदी, गोविन्द नेपालले । चहारे मोहन, गुराँशले बजारलाई । चियाको सुर्को तान्नसमेत भ्याए राजेन्द्र गोपाल सिंहले । हुँइकियो बस मिर्मीफाँट हुँदै गहलाम, भुस्टुङ्गतर्फ । मान्छे तैरिरहेका देखिन्थ्यो कालीगण्डकीमा चलेको स्टिमरमा । ठूलो सहायता गरेको छ आवागमनमा स्टिमर अर्थात इन्जिनयुक्त डुंगाले स्याङ्ग्जा, गुल्मी र पर्वतबासीलाई । भुस्टुङ्गमा पुग्दापुग्दै बसको टायर पञ्चर, गाडि व्यवसायीलाई विदा गरी थालियो पैदल यात्रा । दौडको यात्रा होइन, छैन कसैलाई उछिन्न । पञ्चमीको पाइला पनि होइन, कहीँ नपुग्ने घुमाई । पुग्ने गन्तव्य छ आलमदेवि । दूरी छ अब करिव १० किलोमिटर । समयसीमा लगभग दुई घण्टा । झमम्क साँझ परेको थियो आलमको देउराली पुग्दा । चिनजान र ढोगभेट चल्यो, प्रतिक्षामा बसेका ज्ञानबहादुर, लेखबहादुर र थमानसिंह रानाहरूसँग । पसिना ओभाएपछि बास लागियो एक घरमा दुई जनाका दरले । दुई भनेकामा चार पाहुना लागे तेजबहादुर रानाको घर । स्वाद फेरिफेरि थियो, बटुक, काब्रोको अचार, गहते सेमिको दाल, लोकल कुखुराको फ्राई मासु, दही, ध्यू र तीन पाने । कपाकप गयो, गुरुगुरे आँटो र ताजा दही । सन्तोष खनाल, मोहन राना, सुन्दर लिलामी र म बन्यौँ प्रेमकला थापा भाउजुको त्यो आदर र आत्मियता पाउने । समाजले अनुत्पादक मान्ने साहित्यका यात्री, त्यसमा सिर्जना कम गर्ने भावन बढी गर्ने समूह परेछ । सोच्दासोच्दै भुसुक्कै निधाइएछ, तिर्ने कसरी त्यो आतिथ्यताको मूल्य ? आसामी बनिएला कहिले सधैको ऋणी ।
भाले बास्यो, भुकभुके उज्यालोपछि । निद्रा भाग्यो कुकुर भुकेपछि । तन्द्रा जाग्यो, छिङ्गछङ्ग् चुराको आवाज सुनिएपछि । दैलोकुचो, कुँडोपानी, घाँसपरालमा महिला नै अगाडि देखिन्थे । रोजीरोजीका स्फूर्त गर्ने साधन थिए चराचुरुङ्गीको चिरबिरावट, ढिंकी जाँतोको चाल, पानी लिन झरेका आलमबासीका उन्मुक्त हाँसो । न चाहियो व्यायाम घर न चाहियो जिमखाना । मोहित बनाउने सुन्दर दृष्यहरू थिए कोट, लामटार, खरक टोल र लेखनाथ पाण्डे तथा कल्याण पाण्डेको घर रहेको गाउँ पोखरडाँडा । घरधुरी एकसय एक, मगर मात्रै पचहत्तर । उक्लियौँ संकटपूर्ण जीवन विताएका जनताको अपार स्नेह लिएर । आलममा रहेछन् ठूला बारीका पाटा, उब्जनी पनि राम्रै हुने मकै, गहुँ, कोदो र सिल्टुङ्ग । किन्छन् चामल, तेल, र तरकारी, बेच्छन् दाल र गेडागुडी गाउँलेले । अभावै देखियो पानीको र सुविधाजनक बाटोको । अरव, मलेसिया, कतार भरिएका रहेछन् युवाहरू । कोही भर्ती हुन गएको रहेनछ पछिल्लो पन्ध्रवर्ष यता गोर्खा पल्टनमा । आधा घण्टाभित्र चार जनाबाहेक सबै जम्मा भइसकेका थियौँ आलमदेवी मन्दिरमा । आशौजमा रहनुभएका श्यामकृष्ण शर्मालाई लिएर रामकृष्ण ज्ञवाली निस्किएपछि खिचिए मनग्ये तस्वीरहरू । चल्ने तस्वीरमा कैद भए गुल्मीको ठूलो लुम्पेक अस्लेवा, रामबारी, चेहमी, पादी धुसेनी, स्याङ्गजाको बिर्घा, श्रीकृष्णगण्डकी, आलमदेवी, चण्डिभञ्ज्याङ्ग कारिकोट, पाल्पाको तानसेन बतासे, भैरवस्थान, बौघागुम्हा, छेर्लुङ्ग, अर्गली, खानीगाउँ दैलातुङ्ग र रानीघाट । मानिसहरू विश्वास गर्दछन्, नेपाल एकीकरण संभव हुनुको कारण आलमदेवीको कृपाकटाक्ष र सुदृष्टि थियो । वरदायिनी आलमदेवीप्रतिको आस्था हो शाहवंशीय परिवारको, आराधना, भक्ति र भाकलपूजाको निरन्तरता । प्रचलन रहेछ बलि चढाउँने कालो सुँगुर र मन्दिर घेर्ने रगतको धाराले । डाँडो छ आग्नेयबाट वायव्यतर्फ फैलिएको, वैघा आग्नेयतिर र लसर्घा वायव्यतिर । मन्दिर छ लर्सघा डाँडामाथि । पूरानो किल्ला आकारको चौगिर्दा पर्खाल, चौपाटी आकारको पेटी । चौकुनामा बुर्जा, चारैतिर ढोका र बिचमा पूजाको चौको । ध्वजापताका चढाउने भीमसेनपातीको रुख । फेदमा गाडिएको छ, तामपत्र मानिने खाँडो जागेको घण्ट । पूजारी छन् केवल मगर कुमार केटाहरू । कुमार ती हुन् जो ब्रतवन्धछेवर गरेका, विवाह नगरेका, स्त्रीप्रसङ्ग सपना र विपनामा नगरेका बालकहरू । नजाने रहेछन् मन्दिरभित्र स्थानीय महिलाहरु । यहाँका मूलसमस्या हुन् खानेपानीको अभाव, बाटो, पूजा गर्न जाने दर्शनार्थीलाई बस्ने पाटी पौवा ।
दर्शन देवीको र अवलोकन आलमदेवीको गरेपछि खेली गाउँदै झरे सर्जकहरू । दुम्को उठ्यो बगैँचामा, नचनियाँ थिए शोभाखर । देखाई भोगाईलाई सिर्जना कोर्न थाले सर्जकहरू भालेबासमा बसेर । भवन नभएको विद्यालयका परीक्षार्थी जस्ता देखिन्थे साहित्यकारहरू । प्यास लागेका बेला संझना आयो कालीपारसम्म प्रख्यात भएको तामाको कारिकोट ग्रागीको । रैथानियाले बताइदिए चण्डिभञ्ज्याङ्ग र आलमदेवीका प्रख्यात थलोहरू । छायाँ पोथ्रापोथ्रीको र दायाँबायाँ कालीगण्डकी पारेर स्रष्टाहरूले देखे आलमदेवी र रानीमहल । संझे देश र जनता, लेखे प्रकृति र सम्पत्ति । ‘अलप’ कविता लेखे सायदै लेखेका प्राध्यापक टंक भट्टराईले । डर रहेछ साँच्चिकै अलप हुन्छिन कि भविष्यमा आलमदेवी ।
अनेक नेता
र अभिनेताबाट
आश्वासनको पोको पाएको आलम
राजतन्त्रको पोको फुस्किएपछि
गणतन्त्रको रापतापले सेकिदै गर्दा
भन्न खोज्दैछ
अलम ! अलम !! अलम !!!

मानिसको इच्छा न हो भ्रमण । कमै वस्तुले लिन्छन् मानिसले जति तृप्ति, उल्लास र अनुभूति । रमाए साहित्यकारका मन नयाँनयाँ स्थानको दृश्यावलोकन र सम्पर्कले । राजनेताहरू, क्याम्पसका प्रशासक र शिक्षकहरूले समेत गरे नयाँ रचना । एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले रानीमहल हेरेर लेखे, शीर्षक पनि राखे ‘रानी’ ।
‘रानी हरेकका हुन्छन्
आफ्नी रानीलाई
अर्काले हेरको कसैलाई मन पर्दैन ।
देशको रानी सबैको हुनुपर्ने
तर कसैको हुन सकिनन् ।’
गैरेले अनेरास्ववियुको नेतृत्वमा रहँदा साहसिक कार्य गरेका थिए, कालापानीमा देशको झण्डा गाड्ने, गायक प्रविण गुरुङ्गको हत्यारा पारश विरुद्ध जेहाद छोड्ने, शाही शासनको विरोधमा सडक मोर्चा सम्हाल्ने । उनले साहित्यकारसँगको यात्रालाई देश र जनताका पक्षमा गरिएका आन्दोलनकै हाराहारीको महत्व दिए । स्रष्टा र सर्जकसँग एकाकार भएर अनुहारमा उज्यालो देखाए । मान्छे आफैमा अन्तिम हुन सक्दैन तर सामुहिक निर्णय सर्वाधिक महत्वको बन्छ । जो सबैको हुन चाहन्छ, उ कसैको हुन सक्दैन । यसको ज्वलन्त दृष्टान्त हो रानीमहल । काली उत्तरवाहिनी भएका ठाउँमा बनेको रानीमहल वर्षौदेखि खण्डहर बनेको छ । खड्ग शमशेरले तेजकुमारीको संझनामा प्रदर्शन गरेको प्रेमको प्रतिक हो त्यो ।

अर्नी खुवाए आलमबासीले स्वादिलो कोदाको रोटी र तिख्र गहतेको सिरौँला । डम्म पेट बनाएर डकार गर्दै लागे सर्जकहरू अन्तिम गन्तव्यस्थलतर्फ । त्यसै भनेका रहेनछन् विदेशीले, ‘नेपालीलाई आँखाको अभ्यास चाहिन्न ।’ सानोतिनो उपचार गर्दाेरहेछ आँखाको हिमाल, पहाड, डाँडाकाँडा, सुन्दर छटा र सौन्दर्यको आकर्षणले । यात्रीहरू बिर्साउँदै छन् गाउँको सत्यनारायण पूजा र भैली खाने परम्परा ।
टंक दाई सुरै छन्
हेर दाँत पूरै छन्
कहाँ गयो गैराको साँइलो,
रानीघाटमा हुँदैछ रमाइलो
भर्खरका जवानै पनि बिचबीचमा लोटछन् सालको पातमा लर्किएर । बजारमा खान छैन चाहिने कुरा, छैन बोल्न मनका कुरा पनि । नलोटुन् किन ? दाम्लो चुडाँएर फुकेको भैसीँ जस्ता फुक्काफाल भएकाहरू । फुक्काफाल नहुन् र किन ? छोइएका कि झैँ गरेर सडकमा हिंडेकाहरू । लोट्दैपोड्दै ओरालो झरेकाहरू पोखरडाँडा, रानीवनमा हुँदै पुगे सटुका । अविराम गीत झिके कमल खत्री र टंक भट्टराईले भने फिता कसेर मादलको ताल मिलाए मोती केसीले । घाम माथिसम्म पुगिसकेको थियो सटुका पुग्दा । गर्मीले सताएन, भोकले तिल्मिल्याएन मनको चौचौले गर्दा । अघाउन्जेल भात खायौँ, घरघरमा पाहुना बनेर । कपाकप गयो, साहु कान्छाको घर सीता पाण्डेले दिएको एक थाल भात र एक कटौरा दाल । पाहुनालाई चिन्ने संस्कार लिएर जन्मिएका रहेछन् थानेश्वर पाण्डे । फोनका भरमा हुल जाँदाखेरि त्यत्रो स्वागत त्यस्तो व्यवस्थापन । धीत मरुन्जेल हे¥यौँ सटुका फाँट र लहलह झुलेका गहुँका बाला । कुलोपानी लाग्ने र तीन खेती हुने उब्जाउ जग्गा । ठीक रहेछ खानबस्न तर रहेनछ निस्कने बाटो । यातायातको असुविधाले छोडेका रे ताल्चा झुण्डिएका घरवालाले । रमायौँ, प्रकृति खेलेको र जीवन भुलेको देखेर । कोशेली फुकायौँ कविताहरू ठूलो आँगनमा पुगेर । हेरे बार्दली, कौशीमा बसेर, सुने दलान, पेटी र बरन्डामा बसेर । गाउँलेको आँगनमै कविता सुन्ने उत्कठ चाहना थियो तर कार्यक्रम गर्ने वचन थियो रानीमहलमा वाचन । घुम्ने इच्छा तीव्र थियो तर थिएन समय । ग¥यौँ सौदावाजी र राख्यौँ स्नेहसम्बन्ध र बढ्यौँ अगाडि बिदावारी भएर । सटुकाबासीको माया गाँसियो सयपत्री भएर, रङ्गियो गुराँस भएर । सुरम्य क्षण बन्यो यो, यात्रा जीवनको । गर्दछ यात्रा सूर्य र पवनले, घुम्छ पृथ्वी र तारामण्डल पनि । हाँस्छ हिमाल यात्रीसँग, सम्बन्ध गाँस्छ पहाड पदयात्रीसँग । तर यहाँ पुलकित थिए यात्री र प्रकृति दुबै । टाढैबाट देखियो, नील गण्डकीको जगमा उज्यालो रानीमहल । रौराले गीतका नयाँ गेडी बनाए, ‘मायाँ तिमीाई देखेथे झुलुक्क, तिम्ले पनि हेरिथ्यौ पुलुक्क ।’ प्रेमको सच्चाई थियो यो दरबार । कालीगण्कीको उत्तरवाहिनी तटमा उभिएको छ यो प्रेमप्रतिक । आदर्श प्रेममा ठडिएको थियो यो महल । उक्लिए नदीबाट, सुन्दर खुडकिला हुँदै मूल ढोकासम्म । १९५० मा बनेको, संरक्षण नपाएर खण्डहर बनेको महल छामे । पल प्रतिपल स्पर्श गरे, रोपेका रहेछन् भित्तो कोर्नेले प्रतिशोधको न कि प्रेमको । हेरे दायाँबाया, छरेका रहेछन् फोहर गर्नेले विषबीज, न कि प्रेमबीज । आएका रहेछन् पर्यटक गोलीगठ्ठा बोकेर, रहेनछन् प्रेमका उपहार बोकेर । गने झ्याल ढोका, मन्दिर र कोठाचोठा । मन थियो सुली चढाउन हर्ने र हराउन हाल्नेलाई, चोर्ने र चोर्न सघाउनेलाई । हुन्छ के फगत सपनाले । सर्जहरूले पालैपालो विम्वमा कविता सुनाए, रानीघाट, आलमदेवीका । यात्रा सडक कविताकै नयाँ रूप थियो । हो कटुवालले कविताको अर्को रूप । तरङ्गको पाँचौ यात्रालाई निरन्तरता दिए साहित्य यात्रीहरूले समस्या उठाउने र गाउँवेशी जगाउने कामको । दिए नेपाली साहित्यलाई शिष्ट, प्रेम र श्रृंगारिक रचनाहरू । सुनाउँदै थिए देवी नेपाल ‘सपनाको दोष’ । अन्य स्रष्टाहरू चिच्याए, ‘झुटो कहिल्यै टिक्दैन, साँचो प्रेम कहिल्यै डुब्दैन ।’

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 27 आश्वीन, 2069

लेखकका अन्य रचनाहरु