धन्य! चुनावमा उठिन्

- विश्वराज अधिकारी

छर छिमेकमा घुम्दा, शहरको चोकतिर जाँदा, साथीहरुले भन्न थाले- दिवाकर, उठ, यो पटकको चुनावमा। तिमी अवश्य पनि विजयी हुने छौ। पढे लेखेको मान्छे, भद्र भलादमी अनि, इमान्दार पनि उत्तिकै। जागिरे जिवनमा तिमीले एक रूपैयाँसम्म पनि कहिले घुस खाएको प्रमाण छैन। सारा जागिरे जिवन अभाव र कष्टमा बितायौ। भन्सारमा दसौं वर्षसम्म काम गर्दा पनि एक पैसा घुस खाएनौ। सारा जनताको मुखमा छ तिम्रो इमानदारीको कथा। चिया पसलमा गयो, सभा समारोहहरुमा गयो, विवाह उत्सव आदि आदिमा, मान्छेले कुरा गर्ने विषय नै हुन्छ तिम्रो व्यक्तित्व, निष्कलंक छवि। चर्चा गरिने विभिन्न विषयहरु मध्ये तिम्रो व्यक्तित्व पनि एक हुन पुगेको छ, आज भोलि, दिवाकर।
तर मलाई आफू चुनावमा बिजयी हुने भन्नेमा पटक्कै विश्वास लागेको थिएन। मलाई त्यसरी नउचाल भनेर केहीलाई हप्काएँ पनि। मेरो बारेमा मानिसले गरिने गफहरुलाई हावाको रुपमा लिएँ, अर्थहीन ठाने।
चुनावमा खडा हुन मानिसले मलाई दवाब दिने क्रम रोकिएन। मलाई पढाउने, उमेरले ज्यादै पाको, गुरु सम्मले पनि भन्नु भयो ‘दिवाकर, अहिले राजनीति, सत्ता, शक्ति र धन हात पार्ने व्यापारमा रुपान्तरित भएको बेला, राजनीति र नेताहरुको व्यवहार गन्हाँउने नाली भएको अवस्थामा, यसलाई सफा पार्न तिमी जस्ता इमान्दार र स्वच्छ छवि भएकाहरु राजनीतिमा आउन नितान्त आवश्यक छ, र आउनु पर्दछ पनि। राजनीतिलाई सहि दिशामा हिँडाउन तिमी जस्ता इमान्दार व्यक्तिहरुको खाँचो छ। अहिलेको यो डरलाग्दो समय, गणतन्त्र होइन, गुटतन्त्र र लुटतन्त्र हो।’
राजनीतिमा आउन, चुनाब लड्न धेरै जनाले दबाब दिन थाले पछि मलाई पनि आफ्नो व्यक्तित्वको विश्लेषण गर्न मन लाग्यो। मैले आफूसँग प्रश्न गरे- एउटा नेतामा हुनु पर्ने कुन गुण, विशेषता छैन र म मा? पढे लेखेको छु। समाजशास्त्रमा पि यच डि सम्म गरेको छु। एक बौद्धिक व्यक्तित्वको रुपमा समाजमा स्थापित छु। लोकप्रिय पनि उत्तिकै छु जन समुदायमा।
जनताको दबाबले मेरो मन बिस्तारै चुनावमा उठ्ने पट्टि ढल्किन थाल्यो। मनमा चलेको केही हप्ताको अन्तरद्वन्द पछि चुनावमा उठ्ने निधो गरे मैले। तर कुन राजनैतिक दलमा लाग्ने भन्ने कुराको टुङ्गो लगाउन भने सकिन, तत्काल।
केहीले यो दलमा लाग्नुस भने। कहिले त्यो दलमा। तर धेरैले, कुनै पनि दलमा नलागेर एउटा छुट्टै दलको स्थापना गर्नुस, त्यो दलको अध्यक्ष हुनुस भन्ने सल्लाह दिए। आफूले पनि सोंचे- कुनै राजनैतिक दलको सदस्य हुने हो भने त्यो दलले मलाई चुनावमा उठ्न अवश्य पनि टिकट दिँदैन। कुनै पनि राजनैतिक दल भित्र, त्यसका कार्यकर्ताहरुले चुनाबमा उठ्न, टिकट पाउन, महाभारतको युद्ध झै युद्ध गर्नु पर्छ, यो लुट तन्त्र, गुट तन्त्रको जमानामा। अनेक किसिमका जालझेल गर्नु पर्दछ। दाउपेंच खेल्नु पर्दछ। राजनैतिक दलका टाउकेहरुले आफ्ना अघि पछि गर्नेहरुलाई नदिएर मलाई के दिन्छन, टिकट। त्यसैले आफ्नो एक छुट्टै राजनैतिक दल दर्ता गराएँ। दलको नाम ‘समाजवादी इमान्दार सर्वपक्षीय दल’ राखे।
मैले राजनैतिक दल स्थापना र दर्ता गराएको खबर जिल्ला भरि, चारैतिर फैलियो। सबैले त्यसमा चाँसो देखाए। र खुसी पनि व्यक्त गरे। त्यस्तो मैले अनुभव गरे। मैले दलको नाम दर्ता गराएको खबर आगो झै फैलियो मेरो चुनाव क्षेत्रमा त। मैले अनुमान पनि गर्न सकेको थिन म यति लोकप्रिय हुन सकौला भनेर। मेरा सुभेच्छुहरुले भने अनुसार म मेरो चुनाव क्षेत्रमा मात्र होइन राष्ट्रियस्तर मै चर्चाको विषय बनेको रहेछु। अहिलेका स्वार्थी नेता र दिशाहीन राजनीतिबाट थाकेको जनताको ठूलो जमात नै रहेछ मेरो पछाडि।
मलाई मेरो लोकप्रियताले निकै हौसला प्रदान गर्यो। चुनाव आउनु दुई महिना थियो, ठाँउ, ठाउँमा भाषण दिन आरम्भ गरे। मैले भाषण गर्न थाले पछि मौरी जस्तो हुल बाँधेर मान्छेहरु सुन्न आउन थाले। देशमा व्याप्त रहेको जातीय मनोमालिन्य, आपसी शंका उपसंका, कलहको कुरा गर्दा श्रोताहरु ज्यादै गंभिर हुन्थ्ये। भविष्यमा निस्वार्थ, कसैको पनि पक्ष नलिएर, इमान्दारीपूर्वक आफ्नो चुनाव क्षेत्र मात्र होइन, सम्पूर्ण राष्ट्रको नै मैले कसरी विकास गर्ने छु भन्दा सुन्नेहरुको आँखामा खुसी र मुहारमा मुस्कान झल्किन्थ्यो। वर्तमानका नेता र तिनका दलहरुको कुकृर्तको बारेमा मैले लामो लामो भाषण गर्दा त तालीको गडगडाहट नै हुन्थ्यो।
मेरा भाषणहरु पनि ज्यादै लोकप्रिय हुन थाले। धेरै ठाउँहरुबाट आमन्त्रण आउन थाल्यो भाषण गर्न। मेरो भाषण जनताले ढुंगा जस्तो स्थिर भएर सुन्न थाले। मेरो आम सभालाई कतैबाट कसैले बिथोल्ने प्रयास गर्नु असम्भ मात्र भएन बरु उल्टो अरु उम्मेदबारका आम सभाहरु खाली हुन थाले, वहुसंख्यक जनता मेरो भाषण सुन्न आउन थालेकोले।
जनताको समर्थनको बाढी केवल मेरा सभाहरुमा मात्र उर्लेर बग्न थालेको स्थितिले मलाई ज्यादै उत्साही तुल्यायो। आशा र विश्वास दुबै जागेर आयो। मैले कल्पना समेत पनि गर्न थाले, म मन्त्री, प्रधान मन्त्री भए पछि मैले कस्ता कस्ता काम गर्ने, जुन देश र जनताको पक्षमा होस। मेरो व्यक्तिगत स्वार्थ भन्दा धेरै टाढा होस।
मैले, मेरा चुनावी भाषणहरुमा भन्न थाले- म विजयी भएर, यदि मन्त्री भएमा, सरकारी निवासमा बस्दिन, अति साधारण आवासमा बस्छु। आम नेपालीले थेग्न सक्ने सवारीको साधन, साइकल प्रयोग गर्छु। पदमा बसरे विदेश कहिले पनि जान्न, राष्ट्रले धेरै पैसा खर्च गर्नु पर्ने स्थिति उत्पन्न हुन दिन्न। दाजु, भाइ, दिदी, बहिनी, आफन्त वा कार्यकर्ता कसैले लाई पनि मेरो पदको प्रभाव प्रयोग गरेर जागिर लगाउँ दिन। पदबाट हटे पछि न त कुनै भौतिक न त कुनै आर्थिक, कुनै पनि किसिमको सुबिधा लिने छैन। परम्परादेखिको संस्कार, जुन वहुसंख्यक जनताले मान्दै आएका छन, हरुको अपहेलना गर्ने वा तिनलाई भत्काउने काम गर्दिन। सबै जात जाति, भाषा भाषीलाई एक जुट पार्ने, मिलाएर लाने काम गर्ने छु। जातीय कलह, क्षेत्रीय मनोमालिन्य हुने कुनै पनि किसिमको प्रचार गरेर हिँडदिन। आफ्नो स्वार्थका लागि दल फोड्ने, जोड्ने र जनतालाई भड्काउने काम गर्दिन। मासिक तलब, जुन श्रेणी विहीन कर्मचारीले पाउँछ, अर्थात ज्यादै कम लिन्छु।
मेरो यस्ता विचारहरु सुनेर भाषण सुन्न आउनेहरु हर्षले गद्गद हुन थाले। धेरैले, नेता भनेको यस्तो पो हुनु, भनेको मैले आफ्नै कानले सुने पनि।
म चुनावमा विजयी हुनेमा ढुक्क भए। देश र जनताको सेवा गर्ने मेरो उद्देश्य पुरा हुन थालेको देखेर हर्षले विभोर भएँ, पनि।
चुनावको दिन आयो पनि। विहानैदेखि मत दाताहरु पुग्न थाले, मतदान केन्द्रहरुमा। मत दिएर आउने केहीले यस्तो पनि भने - दिवाकर दाइ ढुक्क हुनु होस, तपाँईको विजय सुनिश्चित छ, तपाँई सांसद हुनु भयो। तपाँई जस्तो योग्य र इमान्दार उम्मेदबारले नजिते अरु कसले जित्ने?
मतदान सम्पन्न भएको केही घण्टा पछि नै मत गणना शुरु भयो। म आफू विजयी हुने कुरामा ढुक्क भएकोले जोसुकैलाई प्रतिनिधि राखे पनि मेरो मंजुरी हुने भने, सरोकारबालाहरुलाई।
चुनावको परिणाम आयो। परिणाम सुनेर म छक्क परे। आकाशबाट खसे जस्तो भएँ। जनतालाई, देशलाई सताउने तिनै नेताहरु भारी मतले विजयी भए। मैले केवल पाँच मत पाएको रहेछु। ती मत कस कसको होला भन्ने अनुमान गर्न मलाई कठिन भएन। एउटा मत मेरो आफ्नै, एउटा मत मेरी श्रीमतीको र बाँकी तिन ओटा मत मेरै तिनवटी छोरीहरुको हुनु पर्छ भनी अनुमान लगाउन मलाई गार्हो भएन।
चुनाव परिणामले मलाई निकै दिक्कदार बनायो। बौलाउन मात्र सकिन। आफ्नो टाउकोमा आफैले हिर्काउन थाले। मेरो छेउमा सुति रहेकी मेरी पत्नी, मालती, ले मेरो हात समातेर के गरेको यस्तो भने पछि म झसँग भए। सपना पो देखेको रहेछु। सपना हेर्न बन्द भइ सकेको थियो तर निद्रा भने पुरै टुटेको थिएन। अर्ध निद्रा मै मेरो मुखबाट निस्कयो – धन्य! चुनावमा उठिन, जनताले त मूर्ख पो बनाउने रहेछन, मलाई।
त्यो मध्य रातमा पनि, छोटकारीमा, त्यो सपना बारे मालतीलाई भने। मालतीले हाँस्दै भनिन् ‘चुनावमा उठ्ने इच्छा मनको, कतै, कुनै कुनामा छ भने फालि हाल्नुस। यो जमानामा तपाँई जस्तो इमान्दार मान्छेले चुनावमा जित्ने कुनै सम्भावना नै छैन। चुनाबमा उठ्नु भयो भने, सपनामा देखे झै, मूर्ख मात्र बन्नु हुनेछ। उल्लू बनाउने छन, मतदाताहरुले, तपाँईलाई।
यो गणतन्त्रको जमानामा, यो नया नेपालको जमानामा।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 27 आश्वीन, 2069

लेखकका अन्य रचनाहरु